सन् २०२० मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्षभरिमा मन परेका उपन्यासहरूको सूचीमा राखेको उपन्यास ‘लस्टर’ले थोमस डाइलन पुरस्कार हात पारेको छ ।

३० वर्षे राभेन लेलानीद्वारा लिखित यो उपन्यास बेवाक लेखनीको उम्दा नमुना भएको भन्दै पुरस्कार निर्णायक समितिले लस्टरलाई पुरस्कृत गरेको हो ।

पुरस्कारको राशि २० हजार पाउन्ड (२९ हजार अमेरिकी डलर) रहेको छ ।

एउटी काला जातिकी युवतीले श्वेत पुरूषहरूसँग गरेको शृङ्खलाबद्ध डेटिङ र खुला वैवाहिक सम्बन्धका बारेमा उपन्यास केन्द्रित छ ।

३९ वर्षको उमेरमा निधन भएका डाइलन थोमसको नाउँमा स्थापित पुरस्कार ३९ वर्षभन्दा कम उमेरका सर्जकलाई तिनको उम्दा सिर्जनाका लागि प्रदान गर्ने गरिन्छ । लस्टर उपन्यास राभेनको पहिलो प्रकाशित कृति हो ।

यो पुरस्कारको अन्तिम सूचीमा डिमा अल्जायतको ‘एलिगेटर एन्ड अदर स्टोरिज’, राई कर्टिसको ‘किङडमटाइड’, अक्वाकी इमेजीको ‘द डेथ अफ विवेक ओजी’, क्याथरिन लेसीको ‘पिउ’ र केट एलिजाबेथ रसेलको ‘माई डार्क भेनेसा’ परेका थिए ।

पुरस्कारको यस पटकको निर्यायक प्रमुखमा जयपुर साहित्य महोत्सवकी संस्थापकमध्ये एक साहित्यकार नमिता गोखले थिइन् । उनले यस उपन्यासको बेवाकपनाका कारण उनलाई दिन बाध्य भएको गोखलेले बताएकी छन् । ‘पुरस्कारको अन्तिम सूचीमा यति सशक्त उपन्यासहरू थिए कि ती सूचीबाट पुरस्कृत गर्नु लगभग असम्भव नै हुन्छ । तर लस्टरले सबैको मन जित्यो । उनले अमेरिकामा युवा काला जातिकी महिला हुनुको भोगाइमाथि उनले अक्षरशः वास्तविकता केलाएकी छन् ।’

यो पुरस्कार स्वानसी विश्वविद्यालयले प्रदान गर्ने गर्छ । सन् २००६ मा पुरस्कारको स्थापना भएको थियो । गएको मार्च महिनामा छोटो सूचीमा ६ वटा उपन्यास छानिएका थिए । गएको वर्ष अमेरिकाका ब्रायन वासिङ्टनको छोटा कथाहरूको सङ्ग्रह ‘लट’ले यो पुरस्कार हात पारेको थियो ।

पुरस्कार समारोह अनलाइन सम्पन्न गरिएको थियो । अनलाइन कार्यक्रमको पूर्ण भिडियो यहाँ हेर्नुस्ः

[embedyt] https://www.youtube.com/watch?v=6Q5bmSNph4I[/embedyt]