जेन सियाबेटारी
अहिले हामी जस्तो अवस्थाबाट गुज्रिरहेका छौँ, यस्तो अवस्था आउला भनेर कसैले पनि कल्पिएको थिएन । तर पख्नुस्, साहित्यकारहरूले चाहिँ कल्पेका थिए । त्यसबारे पछि कुरा गराैँला तर अहिले त हामी भयमा छाैँ । के होला र कसो होला, आफ्नो ज्यान जोगिएला कि नजोगिएला भन्ने पीरमा छाैँ । बाँच्ने भरमग्दुर प्रयासका बीचमा हामीले सामाजिक दुरी, एकान्तबास, बन्दाबन्दीजस्ता नयाँ शब्दावलीमा अभ्यस्त हुन थालेका छाैँ ताकि नयाँ कोरोना भाइरसको संक्रमणको गति सुस्त हुन सकोस् र ज्यान जोगाउन सकियोस् ।
यस्तो बेलामा साहित्यमा रूचि राख्नेहरूलाई पुस्तकले एकाकीपन हटाइरहेको छ । वास्तविक संसारबाट टाढा लैजान सघाउ पुर्याइरहेको छ । पुस्तक हाम्रो साथी बनिरहेको छ । केहीको रूचि भने अनाैठो हुन्छ, आफूले अहिले जे भोगिएको छ, त्यसबारे पहिले कतै लेखिएको छ कि भनेर खोज्ने, जान्ने र बुझ्ने चासो हुन्छ । त्यसैले त यस अवधिमा महामारीमाथि लेखिएका पुस्तकहरूको माग पनि उत्तिकै बढेको छ ।
नभन्दै महामारीकाे वास्तविकता नजिक रहेर व्याख्या गरिएका कयौँ उपन्यास छन् । तिनै उपन्यासहरूबारे यहाँ हामी संक्षिप्तमा चर्चा गर्नेछाैँ । तिनले हामीलाई महामारीका बेला मानिसहरूले भयावह अवस्थाबाट कसरी पार गरे र तिनबाट हामीले के सिक्ने भनी बुझाएका छन् ।
बेलायती लेखक ड्यानियल डेफोले सन् १७२२ मा लेखेको किताब ‘अ जर्नल अफ द प्लेग इयर’मा सन् १६६५ मा बेलायतको राजधानी लन्डनमा फैलिएको प्लेगको महामारीका बारेमा विस्तारपूर्वक लेखेका छन् । सो भयावह चित्रण त्यो बेलाको हरेक घटनालाई हुबहु उतारेजस्तो देखिन्छ । ती घटनामध्ये कतिपय त अहिलेको कोरोना संक्रमणका बेलाको प्रकोपसँग मिल्दोजुल्दो पनि छ ।
ड्यानियल डेफोको पुस्तक सन् १६६४ को सेप्टेम्बरबाट शुरू हुन्छ । त्यो बेला हल्ला चल्छ, युद्ध शुरू भयो रे र हल्यान्डमाथि आक्रमण भयो रे । हल्लाको तीन महिनापछि डिसेम्बरमा १६६४ मा लन्डनमा पहिलो संदिग्ध मृत्युको खबर फैलिन्छ । १६६५ को वसन्त याम आइपुग्दा नपुग्दै लन्डनमा कयौँ मानिसको मृत्यु भएको चर्चा चल्न थाल्छ । फलानो र चिलानो पनि प्लेगका कारण बितेछन् भन्ने चर्चा सर्वत्र सुनिन थाल्छ ।
यसपछि लन्डनमा नयाँ नियम लागू हुन्छ । ती नियम ठीक त्यस्तै किसिमका छन्, जुन अहिले चार सय वर्षपछि पनि बन्दाबन्दीको नाममा हामी घरभित्र बस्न बाध्य भएका छौँ । त्यो बेला लन्डनमा सबै किसिमका सार्वजनिक कार्यक्रम, रक्सी भट्टी, रेस्टुराँजस्ता कुरामा प्रतिबन्ध लगाइएको थियो । खुला खेलमैदान बन्द गरिएका थिए, कुस्ती हुन छाडेको थियो ।
डेफो लेख्छन्, ‘लन्डनबासीका लागि सबैभन्दा घातक कुरा के थियो भने उनीहरू यति लापरवाह थिए कि चेत्दै नचेत्ने ! घरबाहिर ननिस्कन गरिएका कयौँ अनुरोध लत्याएर सर्वसाधारण गल्लीमा घुम्न निस्कन्थे, सामान किन्न भिडभाड नै हुन्थ्यो । जुन बेला घरमा बस्नु अनिवार्य थियो, केहीका लागि भने त्यो बेला रमिता थियो । हुन त केही मानिसहरू यस्ता पनि थिए, जो नियमलाई कडाईका साथ पालना गर्दै घरबाहिर निस्कदैन थिए ।’
अगस्त महिना आइनपुग्दै प्लेगले हिंस्रक रूप धारण गर्यो । परिवारका परिवार, बस्तीका बस्ती महामारीले निल्यो । तर ड्यानियल डेफोका अनुसार, डिसेम्बर १६६५ सम्म आइपुग्दा महामारीको प्रकोप अलि सुस्त हुन थाल्यो । कतिपय रोगी पनि निको भइसकेका थिए । सहरको स्वास्थ्य सुध्रन थालेको थियो । यसपछि लन्डनबासी सडकमा निस्केर ईश्वरको बन्दना गर्न थाले ।
चार सय वर्षअघिको यो महामारीको वातावरण अहिलेजस्तै देखिदैन त ? अहिले पनि त लगभग त्यस्तै वातावरण छ । तनाव बढेको छ । हैन र ?
ड्यानियल डेफोले जस्तै अल्बेयर कामुले पनि महामारीको बखान बडो अद्भूत तरिकाले गरेका छन् । कामुले ‘द प्लेग’ उपन्यासमा अल्जेरियाको ओराँ सहरमा आएको प्लेगको महामारीबारे वर्णन गरेका छन् । उन्नाइसौँ शताब्दीमा ओराँ शहर, प्लेगका कारण वास्तवमै उजाडिएको थियो ।
कामुको चित्रणमा पनि हामी आजकै जस्तो झलक देख्न सक्छौँ । सुरूमा त स्थानीय नेताले यसलाई महामारी मान्न नै अस्वीकार गरे । ‘जबकि सहरको गल्लीमा मरेका मुसाहरूको थाक थियो,’ कामुले लेखेका थिए ।
उनको उपन्यासमा एउटा अखबार छ, त्यसमा एक जनाले प्रश्न उठाउँछन्, ‘हाम्रो सहरका मालिकहरूलाई यी मरेका मुसा मानिसका लागि कति खतरनाक हुन्छन् भन्ने थाहा छैन र ?’
यस पुस्तकमा कथा बयान गर्ने पात्र छन्, डाक्टर बर्नार्ड । ऊ भन्छ, ‘मृत्युले कुन पलका लागि मेरो प्रतीक्षा गरेको छ, त्यो मलाई थाहा छैन । अन्त्यमा के हुन्छ, मलाई त्यसबारे पनि थाहा छैन । अहिलेलाई म यत्ति मात्र जान्दछु, मानिसहरू रोगी छन् र तिनलाई उपचारको आवश्यकता छ । अनि यस महामारीमा कसैगरी बचेका मानिसका लागि एउटा पाठ पनि हुनेछ कि वास्तवमा सबैभन्दा अप्ठेरा बेलामा सबैभन्दा बढी जरूरी चिज भनेको मानिसले मानिसलाई माया गर्नु नै रहेछ ।’
सन् १९१८ मा स्पेनिस फ्लुको महामारीले पनि संसारको रूपरङ नै परिवर्तन गरिदिएको थियो । यस महामारीका कारण संसारभर कम्तीमा ५ करोड मानिस मारिएका थिए । जबकि त्यसको ठीक अघि भएको पहिलो विश्वयुद्धमा एक करोड मानिसको ज्यान गएको थियो । तर युद्धको नाटकीय घटनाका कारण यस महामारीको प्रभाव भने लुकाइदियो ।
पहिलो विश्वयुद्धमाथि त अनगिन्ती उपन्यास लेखिए तर स्पेनिस फ्लुको महामारीका बारेमा उति धेरै लेखिएनन् । लकडाउन कारण घरमा बसिरहेकाहरू भौतिक दुरी कायम राख्दै आफ्नो दैनिकी गुजारा गरिरहेका छन् । १९३९ मा बेलायती लेखिका क्याथरिन एन पोर्टरले ‘पेल हर्स, पेल राइडर’ उपन्यासमा स्पेनिस फ्लुको महामारीबारे वर्णन गरेकी छन् । पोर्टरको उपन्यासकी पात्र मिरान्डा जब बिरामी पर्छिन्, त्यो बेला एडम नामक उनको साथीले भन्छ, ‘साह्रै खराब समय चलिरहेको छ । सबै थिएटर, पसल र रेस्टुराँ बन्द छन् । हरेक गल्लीमा दिनभर मान्छेको लास मात्र निस्केको देखिन्छ । रातभर एम्बुलेन्स दौडिरहेको मात्र सुनिन्छ ।’
लेखिका क्याथरिन पोर्टरले मिरान्डाको ज्वरो र औषधिका बारेमा लेख्छिन् । हप्तौँसम्म उनी ओछ्यान परेपछि जब उनी निको हुन्छिन् र बाहिर निस्कन्छिन्, युद्ध र फ्लुका कारण कसरी संसार बद्लिएको रहेछ भन्ने देख्छिन् । स्वयं क्याथरिन पनि स्पेनिस फ्लुका कारण झन्डैझन्डै मृत्युको मुखबाट बचेर निस्किएकी थिइन् ।
सन् १९६३ मा द पेरिस रिभ्युलाई दिइएको अन्तरवार्तामा क्याथरिन पोर्टरले भनेकी थिइन्, ‘फ्लुपछि ममा अनौठो परिवर्तन आएको थियो । जब म रोगमुक्त भएँ, त्यसपछि बाहिर निस्केर समाजमा घुलमिल हुन थालेँ । सामान्य हुनका लागि निकै समय लागेको थियो । वास्तवमै म बाहिरी संसारबाट एक्लीझैँ भएकी थिएँ । र, सोही कुरा मेरो उपन्यासमा पनि प्रतिविम्वित भएको छ ।’
एक्काइसौँ शताब्दीमा पनि विश्वले महामारी नझेलेको होइन । सन् २००२ मा सार्स, २०१२ मा मर्स र २०१४ मा इबोला भाइरसको प्रकोपका कारण सहरहरू आवतजावत शून्य भएका थिए, कयौँले जिन्दगी गुमाएका थिए भने बाँचेकाको जीवन आर्थिक रूपमा ध्वस्त भएको थियो । महामारीले फेरि पनि मान्छेको पीडा बयान गर्ने एउटा साहित्यिक मौका दिएको थियो ।
मार्गरेट एटवुडले सन् २००९ मा इयर अफ द फ्लड नामक उपन्यासमा यस्तै एउटा संसार कल्पेकी थिइन्, जसमा एउटा महामारीपछि मानिस लगभग समाप्त नै भएर जान्छन् । जसमा एउटा यस्तो महामारी आउँछ, मानौँ पानीबिनाको बाढी आएको होस्, जसले हावामा तैरिदै सहरका सहर जलाएर ध्वस्त बनाउँछ ।
यो महामारीमा जो सीमित मानिस बाँच्छन्, तिनीहरू यति एक्लो महसुस गर्छन् कि यसलाई लेखिका मार्गरट एटवुडले निकै मिहिन तरिकाले व्याख्या गरेकी छन् । उपन्यासमा टोबी नामक एक महिला छे जो विरानो आकाशतिर हेरेर सोच्छे, ‘यो धर्तीमा कोही त पक्कै बचेको हुनुपर्छ । यो पृथ्वीमा म मात्र एक्ली न हुँली ! अन्य पनि होलान् । सायद केही साथी या केही दुस्मन त पक्कै होलान् ! अनि, तिनको भेट कसैसँग भयो भने साँची ती साथी नै बन्छन् कि दुस्मन नै भइरहँदा हुन् !’
उपन्यासमा अर्की एक पात्र छे, रेन नामक नृत्यांगना । ऊ यत्ति एउटा कारणले बाँच्छे कि कुनै ग्राहकसँग सुतेपछि उसका कारण कुनै रोगबाट ग्रस्त हुन्छे । यही कारण उसलाई एकान्तमा राखिएको हुन्छ । त्यो एकान्तिक घरमा कोही पनि जाँदैन । घरको कोठाभित्र एक्लै बसेको बेला के गर्ने ? ऊ मात्र आफ्नो नाम लेखिरहन्छे ताकि आफू एक्लो महसुस नगरोस् । कम्तीमा साथीको रूपमा आफ्नो नाम त छ ! यस्तो बेलामा रेन भन्छे, ‘महिनौँसम्म तपाईं एक्लै बस्नुभयो भने तपाईं को हो भन्ने नै बिर्सनु हुनेछ ।’
एटवुडको उपन्यास पृष्ठभूमिमा पनि जान्छ । त्यो बेला कसरी प्रकृति र मानिसको सन्तुलन बिग्रियो भन्ने बताउँछ । सत्ताधारी कम्पनीले बायोइन्जिनियरिङमार्फत प्रकृतिलाई जिस्क्याएका थिए । यस कार्यको विरोध टोबीजस्ता पर्यावरण कार्यकर्ताले ती बहुराष्ट्रिय कम्पनीको विरोध गरेका थिए ।
कुनै पनि महामारीमा आधारित कथाकहानीले हामीलाई आकर्षित गर्छ किनभने मानिसले एकअर्कासँग मिलेर यसको सामना गर्छन् । दुस्मन यस्तो हुन्छ, जुन मानिस हुँदैन । त्यस्तो बेला मानिसमा असल र खराबको फरक नै मेटिन्छ । हरेक पात्रसँग बच्नका लागि उत्तिकै मौका हुन्छ । पापी मर्ने र धर्मात्मा बाँच्ने भन्ने हुादैन । यो एक किसिमले समाजवादी संसार बन्न पुग्छ ।
चिनियाँ मूलकी अमेरिकी लेखक लिङ माले सन् २०१८ मा ‘सेभरेन्स’ नामक उपन्यास लेखेकी थिइन् । यसमा अन्य मुलुकबाट अमेरिकामा बसेका मानिसहरूको कथा पनि छ । जसमा केन्डेन्स चेन नामक युवतीले कथालाई अघि बढाउँछे । ऊ बाइबल छाप्ने एउटा कम्पनीमा काम गर्छे । सन् २०११ मा न्युयोर्कमा आक्रमण गर्ने एउटा काल्पनिक ‘सेन फिभर’ महामारीका कारण जम्मा नौ जना मानिस बाँच्छन् । जसमध्ये केन्डेन्स पनि छ । लिङ मा लेख्छिन्, ‘महामारीपछिको सहरको आधारभूत ढाँचा तहसनहस हुन्छ । इन्टरनेट बर्बाद भएको छ । बिजुलीको ग्रिड पनि बन्द भएको छ ।’
केन्डेन्सले पछि थाहा पाउँछे, यसबाट बच्नका लागि एउटै तरिका मात्र छ र त्यो तरिका भनेको आफ्नो समूहको अगुवा बबले बनाएको धार्मिक नियमको पालना नै हो । बब एउटा पुरानो आइटी प्रोफेसनल हो, तर पछि उही बबसँग उसले विद्रोह गर्छे ।
लिङ माले उपन्यासमा जस्तो अवस्था कल्पना गरेकी थिइन्, त्यस्तो अवस्था त अहिले हामीले भोग्नु परेको त छैन तर लिङ माले यस्तो कल्पना गरेकी छन्, जसमा महामारीले तहल्का मच्चाएर जान्छ र संसारमा समाज निर्माण गर्नुपर्ने चुनौती भने हुन्छ । एउटा संस्कृति निर्माणको प्रश्न उठ्छ । जो बाँचेका छन्, तीमध्ये अब सत्ता कसको हातमा हुन्छ त भन्ने प्रश्न उठाउँछ । कुन धार्मिक परम्परा मान्ने ? यसलाई कसले तय गर्ने ? मानिसको निजताको अधिकार कसरी बचाउने ? यस्ता अनेकन् प्रश्न उपन्यासले उठाउँछ ।
यसैगरी एमिली सेन्ट जोन मन्डेलको २०१४ मा आएको उपन्यास ‘स्टेसन एलेभेन’ पनि उस्तै छ । विश्व महामारी विष्फोट हुन्छ । जसमा ९९ प्रतिशत जनता सखाप हुन्छन् । ती एक प्रतिशतलाई उपन्यासका मुख्य पात्रहरू, जो सेक्सपियरको नाटक देखाउने समूह हुन्छ, त्यो समूहले मनोरञ्जन दिन्छन् । स्टेसन एलेभेनको कथा चौधौँ शताब्दीका बेलायती कवि ज्यफ्रे चाैसरको क्यान्टरबरी टेल्ससँग मिल्दोजुल्दो छ । ज्यफ्रेले पनि युरोपलाई ध्वस्त बनाउने ब्ल्याक डेथ (प्लेग)कै आधारमा लेखेका थिए ।
मेन्डल उपन्यासमा प्रश्न उठाउँछिन्, जब सारा आपत सकिन्छ, त्यो बेला कला के हो भन्ने कसले तय गर्छ ? के सेलिब्रिटीको व्यवहार नै संस्कृति रहन्छ ? कुनै भाइरसले मानवतामाथि आक्रमण गर्छ भने त्यो बेला नयाँ संस्कृतिको निर्माण कसरी हुन्छ ? पहिलेका कला र संस्कृतिमा यस्ता महामारीले के परिवर्तन ल्याइदिन सक्छन् ?
यतिबेला संसार कोविद १९ रोगले आक्रान्त छ । अहिलेको अवस्थामा पनि महामारी उपन्यासहरूको भूमिका तयार भइरहेको होला । आउँदा दिनमा पनि कथावाचकहरूले हामीलाई यसरी नै महामारीको वर्णन त अवश्य गर्लान् । कोरोनाकालको अन्त्यपछि महामारी साहित्यमा के कस्ता नमुना देख्न पाइएला ? मानिसहरूबीचको सामुदायिक भावनालाई कसरी व्यक्त गरिएला ? हामीबीच रहेका अनगिन्ती नायकका बारेमा हामीले के पढ्न पाऔँला ?
(बिबिसी कल्चरमा प्रकाशित आलेखको सम्पादित अंश ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।