“ए पाखे, तिनीहरूले तँलाई कति तलब दिन्छन् हँ ?”
“मलाई पुगेकै छ । म खुसी छु ।”
“मलाई नभन्ने ? हँ पाखे ? असल मान्छे । बफादार नोकर | दिल्ली कस्तो लाग्यो ? मन पर्यो ?”
“अँ । मन पर्यो ।”
“सिमाझ्याँक्ने, झुटो बोल्छस् मसँग ? तँ यहाँ कुहिरोको काग भाछस् । अनि तँलाई दिल्ली मनपर्छ ? तलाई त पक्कै दिल्लीसँग वाक्क भाछ ।”
उसले मेरो काँधमा हात राख्न खोज्दै थियो, तर म वाक्क मान्दै पछि सरे ।
उसको दुबी थियो । कालो अनुहारको बिचमा गुलाबी रङ्गको ओठ । म यो रोगको बारेमा केही बताउन चाहन्छु । यसले हाम्रो देशका धेरै गरिबहरूलाई सताएको छ । यो कसरी हुन्छ मलाई थाहा छैन, तर यो रोग लागेपछि खैरो छाला गुलाबी रङ्गमा बदलिन्छ । यो रोग लागेपछि दसमा नौ जनाको नाकमा अथवा गालामा छिर्केमिर्के तारापुञ्ज जस्तै दाग देखिन्छ । कसैको पाखुरामा तातो पानीले पोलेको जस्तो दाग देखिन्छ भने कसैको त पूरा शरीरकै रङ बदलिएर बाटामा भेट्दा अमेरिकन नै हो कि जस्तो लाग्छ । तपाईं टक्क अडिएर वाल्ल
परेर हेर्नुहुन्छ । नजिकै गएर छुन मन गर्नुहुन्छ । अनि बल्ल थाहा पाउनुहुन्छ कि त्यो हामीजस्तै मान्छे, तर दुबीले गर्दा नक्कली गोरे भएको रै छ ।
यो ड्राइभरको त ओठको मात्र रङ्ग बदलिएको हुनाले सर्कसमा देखिने ओठमा रङ लगाएको जोकर जस्तै देखिन्थ्यो । त्यसको अनुहार देख्दा मेरो पेट नै बाउँडियो, तर पनि सबै ड्राइभरले भन्दा मलाई उसैले माया गर्थ्यो । त्यसैले म उसकै नजिक बस्थेँ ।
हामी विशाल बजारको बाहिर थियौँ । हामी एकदर्जनभन्दा बढी ड्राइभरहरू किनमेल गर्न गएका हाम्रा मालिकहरूलाई पर्खेर बसेका थियौं । हामीलाई मलभित्र जान मनाही थियो । यो कुरा हामीलाई थाहा थियो । हामी कार प्रार्किङको बाहिरपट्टि गोलो घेरा बनाएर चुरोट पिउँदै गफ गर्दै थियौं । छिनछिनमा कसै न कसैले पानको पिचकारी छोड्थ्यो ।
दुबी ओठे ड्राइभर पनि अन्धकारबाटै आएको हुनाले उसले म कहाँबाट आएको हो भन्ने सजिलै बुझ्यो र मलाई दिल्लीमा बाँच्न के गर्नुपर्छ भन्ने सल्लाह दिन थाल्यो ताकि म बसको छतमा बसेर अन्धकारमा फर्कन नपरोस् ।
दिल्लीको बारेमा जान्नै पर्ने कुरा के हो भने सडकहरू राम्रा छन्, तर मान्छे
खराब । पुलिस त खत्तमै । तपाईंलाई सिटबेल्ट नबाँधी गाडी चलाएको देखे भने, सय रूपियाँ घुस दिनुपर्छ । हाम्रा मालिकहरू पनि यति महान् छैनन् । जब मालिकहरू अबेर रातिको भोजमा जान्छन्, हामीलाई सारै सकस हुन्छ । तपाईं कारमै सुत्नु पर्छ । लामखुट्टेले जिउँदै खान्छ । मलेरिया सार्ने लामखुट्टे भए त ठिकै छ तपाईं अझै २ हप्तासम्म गफ लाउन सक्नुहुन्छ, तर डेङ्गुवाला लामखुट्टे पर्यो भने त फसाद । बुझ्नुस् कि अब काल आयो । बिहान २ बजे आएर मालिकले गाली गर्दै झ्यालमा हान्छ । ह्वास्स बियर गन्हाउँछ, त्यसमाथि ऊ घर नपुगन्जेल कारमै ढ्वाँ ढ्वाँ पादिरहन्छ । जनवरीमा चिसो अति बढी हुन्छ । यदि तपाईंलाई मालिक आज अबेर रातिको भोजमा जाने हो भन्ने थाहा छ भने, एउटा सिरक लिएरै आउनुस् कारमित्र ओढेर बस्न पाइन्छ । यसरी लामखुट्टेबाट पनि जोगिन सकिन्छ । कारमा कुरेर बस्दा बस्दा वाक्क लाग्छ, अनि तपाईंलाई केही पंढ्ने कुरा चाहिन्छ । तपाईं पढ्न त जान्नुहुन्छ नि होइन त ? ठीक छ । कारमा बसेर पढ्न साह्रै मजा हुन्छ । मलाई यो सब एकजना ड्राइभरले सिकाएको ।
उसले मलाई बडो आकर्षक खोल भएको एउटा पत्रिका (म्यागजिन) दियो, कट्टुमात्रै लगाएकी नग्न महिला नजिकै उभिएको पुरूष देखेर डराएजस्तो गरी बिस्तारामा पल्टेकी छ ।
“मर्डर विक्ली”
मूल्य- ४.५०
एक्स्लुसिभ टु स्टोरी : “ए गुड बडी नेभर गोज टु वेस्ट”
मर्डर/रेप/रिभेन्ज
म अब तपाईंलाई यो पत्रिकाको बारेमा भन्छु । ‘मर्डर विक्ली’ को बारेमा पक्कै पनि हाम्रा प्रम. ले केही पनि बताउनुहुन्न । यो त यहाँका सबै पत्रिका पसलमा पाइन्छ । यसकै छेउमा सस्ता खालका उपन्यास राखिन्छ जुन यो सहरका भान्से, धराले, माली जस्ता नोकरहरूको प्रिय पाठ्य सामग्री हो । ड्राइभरहरू पनि एउटै बारीका मूला हुन् । प्रत्येक हप्ता यो आफ्नो हुनेवाला हत्यारासँग डराएकी अर्धनग्न केटीको तस्बिरको आकर्षक खोल भएको अङ्कमा प्रकाशन हुन्छ, यौटा ड्राइभरले किन्छ र सबैले पालैपालो पढ्छन् ।
महामहिम, यो सुनेर तपाईं नडराउनुहोला । महामहिम, तपाईंको पहेँलो निधारबाट पसिनाका थोपा नझरून् । दिल्लीका सबै भान्से र ड्राइभरले यो पढ्छन्, तर सबैले आफ्नो मालिकको गर्धन छिनाउन जाँदैनन् भन्ने चाहिँ होइन । वास्तवमा उनीहरू चाहन्छन् नै । वास्तवमा अरबौँ नोकरले आफ्ना मालिकको गला दबाउने कुरा कल्पना गरिराखेकै हुन्छन् । त्यसैले भारतीय सरकारले यो पत्रिका छापेर गल्लीहरूमा जम्मा साँढे चार रूपियाँमा उपलब्ध गराउँछ ताकि गरिबले पनि किन्न सकोस् | तपाईं देख्नुहुन्छ कि यो पत्रिकाको हत्यारा कि त मानसिक सन्तुलन बिग्रेको या यौन कुण्ठाले विक्षिप्त व्यक्ति हुन्छ जसको अनुसरण कुनै पाठकले गर्न चाहँदैन । अन्त्यमा त्यो हत्यारा एउटा इमानदार र परिश्रमी पुलिसद्वारा
गिरफ्तार हुन्छ या त बौलाएर आफ्नी आमा या प्राइमरी र गइमरी स्कुलको शिक्षिकालाई बडो मनै छुने खालको चिठी लेखिछोडेर आफ्नै तन्नाको पासो लगाएर मर्छ वा ऊ आफैँले मोज गरेकी महिलाको दाइबाट लखेटिन्छ, पि टिन्छ र घाँटी दबाएर मारिन्छ । यदि तपर्इँको ड्राइभर पनि ‘मर्डर विक्ली’ को पाना पल्टाएर हेर्दै छ भने, पीर नमानी आानन्दले सुत्नोस । तपार्इलार्इ कुनै खतरा छैन । तपाईंको र हाम्रो अवस्था फरक छ,तर तपाईंको ड्राइभरले जब गान्धी र बुद्धको बारेमा पढ्न थाल्छ, अनि बल्ल श्रीमान् जियाबाओ तपाईंले कट्टुमा पिसाब फेर्नुहुन्छ ।
मलाई देखाइसकेपछि दुबी-ओठे ड्रइभरको पत्रिका बन्द गर्यो र बसिरहेका ड्राइभरहरूको भिडमा मिल्काइदियो | कुकुरहरूले हड्डीको टुक्राका लागि दौडेजस्तो उनीहरू त्यो छोप्नलाई हारालुछ गरे । उसले लामो हाइ गर्दै मतिर हेर्यो । अनि सोध्यो-
” ए पाखे ! तेरो मालिकको के व्यवसाय छ हँ ?”
“खै मलाई थाहा छैन ।”
“ए पाखे, तँ बफादार बनेको हो कि मूर्ख ? तेरो मालिकको पुर्ख्यौली कहाँ हो हँ ?”
“धनबाद ।”
“त्यसो भए ऊ कोइला व्यापारी होला । सायद कुनै मन्त्रीलाई घुस ख्वाउन आएको होला यहाँ । कोइलाको व्यापार त घटिया काम हो ।”
उसले फेरि हाई गर्यो र भन्यो, “म पनि एउटा कोइला व्यापारीकै गाडी चलाउँथेँ । कामै नलाग्ने व्यवसाय, तर मेरो अहिलेका मालिक फलामको व्यापारी हो । उसको अगाडि कोइला व्यापारी त ऋषिमुनि जस्ता देखिन्छन् । तेरो मालिक कहाँ बस्छ नि ?”
मैले हाम्रो अपार्टमेन्ट ब्लकको ठेगाना बताएँ ।
“मेरो मालिक पनि त त्यहीँ बस्छ नि । ए हामी त छिमेकी पो रैछौँ है !”
नसरीकनै मतिर टाउको तेर्स्यायो । उसको ओठले छोला कि भनेर म तर्किए । यताउता हेर्दै कानेखुसी स्वरमा सोध्यो, ‘ए पाखे । तेरो मालिकलाई केही चाहिन्छ ?’
“तिमीले के सोध्या ? मैले त बुझिनँ ।”
“तेरो मालिकलाई विदेशी रक्सी मनपर्छ | विदेशी राजदूतावासमा काम गर्ने मेरो एकजना साथी छ । उसको त्यहाँ सम्पर्क छ । तलाई विदेशी दूतावास र विदेशी रक्सीबाट पैसा कमाउने खेलको बारेमा थाहा छ ?”
मैले अनभिज्ञता जनाएँ ।
“पाखे ! त्यो खेल के हो ? सुन, यसको चर्को कर लाग्छ । त्यसैले दिल्लीमा साह्रै महँगो छ । दूतावासहरूमा यो ‘फ्रि’ मा आउँछ । विदेशीहरूले त्यो रक्सी आफैँ खानुपर्ने, तर ब्ल्याकमा बेच्छन् । म उसलाई अरु चिज चाहिए पनि मिलाइदिन सक्छु । उसलाई गोल्फको बल चाहिन्छ कि ? अमेरिकी कन्सुलेट अफिसमा मैले चिनेको मान्छे छ जसले बल चाहियो भने मलाई बेच्छ । उसलाई आइमाई (केटी) चाहिन्न ? त्यो पनि म मिलाइदिन सक्छु । केटै चाहिए पनि क्यै छैन ।”
“मेरो मालिकले यस्तो काम गर्दैनन् । उनी सज्जन मान्छे छन् ।”
दुबी ओठे मुसुक्क हाँस्यो, “सबै सज्जन त छन् नि । खराब को छ र ? अनि उ हिन्दी गीत सुसेल्न थाल्यो । अरू सबै चुपचाप थिए । यौटा ड्राइभरले पत्रिकाको कुनै कथा पढ्दै थियो । एकछिन मैले विशालबजारतिर हेरेँ ।
डरलाग्दो दुबी ओठेतिर हेरेर भनें, “म तपाईंलाई यौटा कुरा सोधूँ ?”
“ठीक छ सोध् न । पाखे तलाइँ थाहै छ म तेरा लागि जे पनि गर्न सक्छु ।”
“यो आइमाईको पोस्टर झुन्डिएको घर जसलाई ‘मल’ भन्छन्, सामान किनमेल गर्ने ठाउँ होइन ?”
“हो त । ठीक भनिस् ।”
“अनि त्यो नि ?” देब्रेपट्टिको सिसै सिसाले बनेको घर देखाउँदै सोधेँ, ‘त्यो पनि ‘मल’ नै हो ? त्यहाँ त आइमाईको पोस्टर झुन्ड्याएको छैन त ।”
“पाखे त्यो मल होइन । त्यो अफिस हो । त्यहाँबाट मानिसहरू अमेरिका फोन गर्छन् ।”
“कस्तो फोन ?”
“खै ! त्यो त मलाई थाहा छैन । मेरो मालिककी छोरी पनि तिनै एउटा भवनमा काम गर्छिन् । मैले साँझ आठ बजे ल्याएर छोडिदिन्छु । उनी बिहान २ बजेमात्र घर फर्किन्छिन् । बोराको बोरा पैसा कमाउँछिन् र दिनभरि ‘मल’ मा खर्च गर्छिन् ।” ऊ झन् नजिकै आयो । दुबी भएको ओठ जोड्ला जोड्ला जस्तो गरी भन्यो, “यो तेरो मेरो बीचको कुरा । आश्चर्य लाग्छ । खै के हो ? केटीहरू ती भवनमा साँझ जान्छन् र बिहान आउँदा थुप्रै पैसा लिएर आउँछन् ।”
उसले मलाई आँखा झिम्क्यायो र भन्यो, “पाखे, अरू के सोध्छस् ? तँ त बडो उत्सुक खालको मान्छे रैछस् ।”
मैले ‘मलबाट बाहिर आउँदै गरेकी लाई देखाएँ ।
“त्यो तँलार्इ कस्तो लाग्यो त ? मन पर्यो ?” ।
म लाजले भुतुक्कै भएँ र भनेँ, “के सहरका आर्इमाइहरूकाे हाम्रो गाउँका आइमाईको जस्तो काखीमा र तिघ्रामा रौँ नै हुँदैन ? “
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।