बहुतै लोकप्रिय दुई उपन्यास ‘ट्वीलाइट’ र ‘हंगर गेम्स’ शृंखलाका फिल्महरूलाई दर्शकले निकै सराहना गरेको पाइएपछि ती उपन्यासका प्रिक्वेललाई बजारमा ल्याउने तयारी लेखिकाद्वयले गरेका छन् ।

‘हंगर गेम्स’को प्रिक्वेल ६२४ पृष्ठ लामो ‘द ब्यालेड अफ सङबर्ड्स एन्ड स्नेक्स’ उपन्यास आउँदो मे १९ मा रिलिज हुने भएको छ ।

सुजाने कोलिन्सले लेखेको यो उपन्यासमा पनेम भन्ने ठाउँमा १२ क्षेत्रबाट आएका एक केटा र एक केटीबीच बाँच्नका लागि गरिने संघर्षलाई रोचकता प्रस्तुत गरिएको बताइएको छ ।

पेनममा आफ्नो अस्तित्वका लागि युवायुवतीहरूले लड्ने लडाइँ भने त्यहाँका धनीमानीको मनोरञ्जनका लागि हुने गरेको छ ।

यो उपन्यासमा ‘हंगर गेम्स’को मुख्य खलपात्र कोरिओलनस स्नोलाई युवाका रूपमा प्रस्तुत गरिएको छ । पनेमको निरंकुश शासक हुनुअघिको घटना यस उपन्यासको मुख्य विषय रहेको छ ।

रोचक त के छ भने उपन्यास बजारमा आउनुअघि नै यसको फिल्म बनाउने सम्झौता भइसकेको छ । यस फिल्मलाई अघिल्ला तीन फिल्मकै निर्देशक फ्रान्सिस लरेन्सले निर्देशन गर्ने बताइएको छ ।

यसैगरी स्टेफनी मेयरको बहुचर्चित भ्याम्पायर उपन्यास शृंखला ‘ट्वीलाइट’को प्रिक्वेल उपन्यास ‘मिडनाइट सन’ आउँदो अगस्त ४ मा रिलिज हुने भएको छ ।

यसमा उपन्यासको मुख्य पात्र एडवार्डको कोणबाट घटनाक्रमहरूलाई पुनः मूल्याङ्कन गरिएको छ । यसले एडवार्डको पृष्ठभूमिलाई मज्जाले केलाइएको छ, जुन यसअघिका उपन्यास शृंखलामा भने क्रिस्टिनको दृष्टिकोणबाट देखाइएको थियो ।

‘मिडनाइट सन’को लेखन कार्य जारी रहँदा नै सन् २००८ मा इन्टरनेटमा चुहिएको थियो । त्यसयता यसको परिष्कृत रूप पस्कन लेखिका स्टेफनीलाई दबाब परिरहेको थियो ।

यी दुवै शृंखला संसारभर करौडौँ प्रति बिक्री मात्र भएनन्, यसमाथि बनाइएका फिल्म शृंखलालाई पनि उत्तिकै रूचाइएको थियो ।