अनुवादः दिपेश मूर्ति पन्त

जापानको सुदूर गाउँमा एउटा गरिब युवा चित्रकार आफ्नो सानो झुप्रोमा बेलुकीको खाना कुरेर बसिरहेको थियो। उसको घरमा काम गरिदिने महिला बजार गएकी थिइन्। ऊ तिनले के-के ल्याउँछिन् होला, अनि उनले टोकरी खोलेर आफ्नो थोरै पैसाले बुद्धिमत्तापूर्वक किनेको के-के चिजबिज देखाउँछिन् भनेर सोचिरहेको थियो। त्यतिकैमा उसले उनको पदचाप सुन्यो। ऊ तुरुन्त बाहिर निस्कियो, ऊ साह्रै भोकाएको थियो।
उनी ढोकैमा उभिरहेकी थिइन्, टोकरी बन्द नै थियो। “भित्रै आऊ,” ऊ चिच्यायो, “टोकरीमा के-के छ भनिहाल त ?”

ती बुढी महिला थरथरी काँप्दै दुवै हातले टोकरी समात्दै भनिन्, “हामी यहाँ एक्लै त छौँ नि !” उनको चाउरी परेको अनुहारमा नम्रता र सुदृढता दुवै झल्किन्थ्यो।

“एक्लै! त्यस्तो पो सोच्नु पर्ने मैले ?”, उसले भन्यो, “हामीले पाहुना पो कसरी आऊन् भन्नु खै! जब हामीसँग उनीहरुलाई स्वागत गर्न केही पनि छैन। मैले राइस केक नखाएको पनि धेरै भइसक्यो, मैले त त्यसको स्वाद पनि बिर्सिसकेँ।”

दिपेश मूर्ति पन्त

उसले उदास सुस्केरा हाल्यो, उसलाई राइस केक, म: म:, अनि स्विट बिन्सले भरिएको केक खुब मिठो लाग्थ्यो। उसले साथीहरुसँग बसेर चिनियाँ माटोको कपमा चिया पस्किदै शायद सानी राजकुमारीजस्तै फुलेका आरुका सुन्दर फूलहरूको बारेमा छलफल गर्न रुचाउँथ्यो।

तर हप्तौँ भयो कसैले पनि उसका चित्रहरू किनेको छैन। त्यो गरिब चित्रकारले भात र त्यो खस्रो माछामै सन्तुष्ट हुनु परिरहेको छ। यदि उसको चित्र अझै बिकेनन् भने त्यो पनि अब असम्भव हुनसक्छ।

उसका आँखा अहिले पनि त्यही टोकरीमा अडिएका थिए। शायद, ती बूढी महिलाले एक या दुई वटा सलगम र आरुका केही दाना किन्न सक्षम भएकी छन् कि !

“हेर्नुहोस्,” उनले चित्रकारतिर हेर्दै भनिन्, “यस्तो लाग्छ, मलाई यी मुसाहरुले ब्युँझाइरहेका हुन्छन्।” त्यो सुनेर चित्रकार खुब हाँस्यो, “मुसाहरु! यो गरिबको घरको भुइँमा खानाको एक टुक्रा त झरेको हुँदैन । त्यहाँ मुसाहरु किन पो आऊन् र?”

उसले महिला तिर हेर्यो, उसको मस्तिष्कमा भयानक डर उत्पन्न भएको थियो, “तिमीले खानको लागि केही पनि ल्याइनौ?”

“ठीक भन्नुभयो,” महिलाले दुःखी हुँदै भनिन्।

चित्रकारले भन्यो, “तिमीले घरमा बिरालो ल्यायौ ।”

महिलाले झुक्दै भनिन्, “हजुरलाई सबै थाहा छ नि !”

चित्रकार जुरुक्क उठ्यो, कोठामा लामो-लामो पाइला चाल्दै, आफ्नै कपाल लुछ्दै भोक र रिसले बडबडाउन थाल्यो, “बिरालो, बिरालो ।”

ऊ चिच्यायो, “तिमी पागल त भइनौ, हामी यहाँ भोकले मरिरहेछौँ। तिमीले अझ एउटा राक्षस लिएर आयौ ? नभएको खाना अझ बाँड्नलाई ! शायद हरेक रात हाम्रो रगत चुस्नको लागि ठीक छ यो। रातमा अचानक ब्युँझदा हाम्रा घाँटीमा ती दाह्रा गडेका र ती लाल्टिनजस्ता आँखामा हेर्नु ? तर तिमी सही छौ, हामी यस्तो दुःख झेल्नु भन्दा त एकै पटकमा मरेर त्यो शैतानको दाह्रामै चढ्न पाए धेरै उपयुक्त हुन्थ्यो ।”

“तर तर! त्यहाँ राम्रा बिरालाहरु पनि त हुन्छन् !” ती बुढी महिला रोइन्, “त्यो सानो केटोको कथा बिर्सनु भयो? जसले त्यो खण्डहर भएको मन्दिरको भित्तोमा बिरालाका चित्र कोरेर आफ्नो झुपडीमा सुत्न गएको थियो। उसले भोलिपल्ट बिउँझिदा आफ्नो आडमा भयङ्कर ठूलो मुसो मारिरहेको फेला पार्यो, जो उसलाई खान आएको थियो ! मलाई भन्नुस् त, त्यो भयानक मुसोलाई कसले मारेको थियो? थाहा छ ? त्यो भित्तोको बिरालोको पञ्जामा रगत लागेको थियो। पछि त्यो सानो केटो हजुरजस्तै राम्रो चित्रकार भएको थियो ।” उनी सुक्सुकाउँदै थिइन्, “केही बिरालाहरु त राम्रा पनि छन्।”

उनी रुन थालिन्। चित्रकार रोकियो अनि ती महिलालाई हेर्न थाल्यो। उनको उज्यालो काला आँखाहरूबाट आँशुको धारा चाउरिएको गाला हुँदै बगिरहेको थियो। ऊ किन रिसाउनु पर्थ्यो र ? ऊ पहिला पनि त भोकै बस्ने बानी परिसकेको थियो !

“ठीक छ, ठीक छ,” उसले भन्यो, “कहिलेकाहीँ राक्षसलाई घरमा राख्दा पनि सौभाग्यशाली नै होइन्छ, किनकि यसले अरु राक्षसहरुलाई घरमा आउन दिँदैन। तिम्रो यो बिरालोले खाने त पक्कै छ। शायद यसले हाम्रो लागि पनि केही खानाको व्यवस्था गर्ला कि ! हुन त हाम्रो लागि यहाँ भन्दा नराम्रो त के नै होला र !”

ती महिला अति कृतज्ञ हुँदै शिर निहुराउँदै भनिन्, “हजुरको जस्तो दयालु हृदय भएको मानिस यो शहरमा कोही छैन !” अनि उनी त्यो टोकरी बोकेर भान्सातिर जाने तयारी गर्दै थिइन्। चित्रकार पनि उत्सुक थियो र उनलाई रोक्दै भन्यो, “खै! मलाई पनि देखाऊ त !”

ती महिलाले टोकरी भुइँमा राख्दै त्यसको बिर्को उघारिदिइन्। शुरुमा केही भएन, बिस्तारै बाटुलो, सुन्दर सेतो टाउको बिस्तारै टोकरीबाट निस्कियो, दुई ठूला पहेँला आँखाहरुले शुरुमा कोठा सरसरी हेरे, साना पञ्जाहरु टोकरीको डिलमा देखिए अनि टोकरी कत्ति पनि नहल्लाइकन एउटा सानो र सेतो बिरालो बाहिर निस्कियो अनि गुन्द्रीमा मान्छेजस्तै यसरी उभियो कि शायद त्यसलाई स्वागत नै गरिएको होस्। बिरालोको शरीरको दायाँबायाँ पहेँलो र कालो थोप्लाहरु र खरायोको जस्तै पुच्छर उसको प्रत्येक चिज सुन्दर तरिकाले संयोजन भएको चित्रकार स्पष्ट देख्न सक्थ्यो।

“ओहो! तीन रङ्गी बिरालो !” चित्रकारले भन्यो, “शुरुमै किन नभनेको? यो त अति सौभाग्यशाली हुन्छ, म बुझ्छु नि !”

बिरालोले पनि चित्रकारको त्यस्तो मायालु स्वर सुनेर होला, चित्रकारको नजिकै आयो अनि आफ्नो टाउको बिस्तारै झुकाएर उसको खुट्टामा छोयो, शायद उसले मायालु अभिवादन गर्यो।

त्यो देखेर ती महिला खुशीले ताली बजाइन्। चित्रकारले पनि आफ्नो भोक बिर्सियो, उसलाई त्यो बिरालोजस्तो विनीत र नम्र त केही देखेको छु जस्तो लागेन।

“यसको नाम राख्नु पर्यो,” चित्रकारले त्यो थोत्रो गुन्द्रीमा बस्दै भन्यो, “यो हिउँमा सुनको टुक्रा र लाहा परेको जस्तै छ । सेतो सुन्दर फूलमा पुतलीहरु बसेजस्तै छ। यो त …..,” ऊ रोकियो। कोठा आगोमा बसालेको चियाको केतलीको जस्तै आवाजले भरियो।

“ओह! कस्तो तृप्ति,” नि:श्वास छोड्दै चित्रकारले ती महिलासँग भन्यो, “यो त त्यो राइस केक भन्दा पनि राम्रो छ। हामी अहिलेसम्म एक्लै थियौँ, अब हेर ! यसलाई हामी “सौभाग्य” भनेर बोलाउने छौँ।”

हुन त त्यो नामले चित्रकारलाई आफ्ना सबै समस्या, दुःखहरू सम्झायो। “जे होस्, होस्,” उसले कम्मरको पेटीलाई आफ्नो भोको पेटमा बाँध्दै भन्यो, “यसलाई भान्सामा लैजाऊ,” बिरालो बिस्तारै उठ्यो अनि कोमलताका साथ भित्र गयो।

ती बूढी महिलाले पहिलो गीत गाइन्ः

यो बुढ्यौली र गरिबीको चक्रमा
हिउँसरी सेता भए यी कपाल मेरा
खुम्चिएका यी लुगाहरूमा
झनै छ कस्सिएको यो पेटी

त्यो सौभाग्यको मोटो देउता
कसरी छिरोस् त हाम्रो सानु झुप्रोमा

चियाको चुस्कीका आवाजहरु छन्
ती पाहुनाहरुको आगमनजस्तै शून्य

शिर त ठाडै छ तैपनि मेरो
जब लम्किन्छन् मेरा पाइला
ती शहरका गल्लीहरूमा
मेरो हृदय झुक्दैन जहाँ तहाँ
मैले त्यस्तो मालिकको सेवामा छु।

अर्को बिहान चित्रकारले त्यो बिरालो उसको सिरानीमा गुटुमुटु भएर सुतेको फेला पार्यो, “आहा! सबैभन्दा नरम ठाउँ !” त्यो बिरालो तुरुन्त उठ्यो आफूलाई पूर्णता र दक्षताका साथ सफा गर्दै अगाडि बढ्यो।

ती महिला जब बजारबाट फर्किइन् र थोरै खाना बनाइन्, बिरालो चुल्होको नजिक त गएन तर उसले मुख भने मिठ्याउँदै जुङ्गा भने हल्लायो, शायद भोकले होला।

माछाको सुपको कचौरा लिएर आउँदा बिरालो पनि सँगै हुनु पर्ने हो। ओहो! ती महिलाले त्यति माछाको लागि पनि धेरै मिहिनेत गरिन् होला। तर त्यो बिरालोले खानातिर हेर्दै हेरेन।

“यो बिरालोलाई थाहा छ, अर्काले खाएको घुरेर हेर्नु कुनै नम्रताको प्रदर्शन होइन । यसलाई सारै राम्रो तरिकाले हुर्काएको हुनुपर्छ,” चित्रकारले सोध्यो, “यसलाई तिमीले कहाँबाट किन्यौ?”

“मैले यो माछा व्यापारीबाट किनेकी हुँ, यो उसको प्रमुख बिरालोको जेठी चाहिँ छोरी हो,” ती महिलाले भनिन्, “तपाईंलाई थाहा छ, समुद्रको शैतानलाई भगाउन बिरालोबिना एक सिन्को पनि समुद्रमा जाँदैन नि !”

“हा! बिरालोले समुद्रको शैतानलाई कहाँ तर्साउन सक्छ र?” चित्रकारले जवाफमा भन्यो, “समुद्रको राक्षसले त जहाजहरूलाई बिरालोको सम्मानमा छोडिदिने हो, तर्सेर होइन नि !”

ती महिलाले विवाद गर्न चाहिनन्। उनलाई आफ्नो स्थान कहाँ छ भन्ने राम्रोसँग थाहा थियो। त्यो बिरालो अझै पनि भित्तातिरै फर्किएर बसेको थियो।

चित्रकारले सुपको अर्को चुस्की लियो अनि भन्यो, “मलाई भात दिँदाखेरी यो सौभाग्य (बिरालो) लाई एक कचौरा ल्याइदेऊ है ! यो भोकाएको पनि होला।”

जब कचौरा आइपुग्यो, चित्रकारले मायालु स्वरमा सौभाग्यलाई बोलायो। त्यस्तो मायालु र उपयुक्त निम्तो पाएर होला, सौभाग्य भित्तातिर हेर्न छोड्यो, अनि चित्रकारको आडैमा आएर बस्यो।

सौभाग्यले हतार गरेर खाएन, साह्रै भोकाएको भए पनि आधा मात्र खायो । यस्तो लाग्थ्यो, ऊ कसैका लागि बोझ बन्न चाहँदैन । बरु ऊ पनि सहयोग गर्न चाहन्छ त्यो अभावमा, लाग्छ उसले सबै कुरा बुझेको छ।

दिनहरू बित्दै गए। प्रत्येक बिहान चित्रकार बिस्तारै त्यही गुन्द्रीमा बस्थ्यो र साना-साना सुन्दर चित्रहरू बनाउँथ्यो, जुन कसैले किनेनन्: केही दुई तरबार बोकेका लडाकुहरु, केही लामा बादलसरी कपाल कोरिरहेका सुन्दर तरुणीहरु, कुनै चाहिँ शैतानहरू मुखबाट हावा फुकिरहेका, कुनै त निकै हाँसोलाग्दा थिए, जस्तो चन्द्रमाको उज्यालोमा कुदिरहेका खरायोहरु, मोटो मलसाँप्रोले आफ्नो पेट दमाहाजस्तै बजाइरहेको आदि ।

जब ऊ काम गर्न थाल्थ्यो, ती महिला केही थोरै पैसा लिएर बजार जान्थिन्। अरु समय पकाउने, लुगा धुने अनि त्यही थोत्रो झुप्रो पोत्ने सफा गर्ने गर्थिन्। सौभाग्य यस विषयमा बिरालोले केही सहयोग गर्न सक्दैनथ्यो र शान्तसँग घाम तापेर बस्थ्यो, तर खाना चाहिँ सकेसम्म असाध्यै कम खान्थ्यो। धेरै समय बुद्धको चित्रको मुन्तिर टाउको झुकाएर बसिरहन्थ्यो।

“यो बुद्धको प्रार्थनामा लीन छ,” ती महिला त्यसलाई सह्राउँदै भन्थिन्। “होइन हो, यसले झिङ्गाहरु समातिरहेको छ,” चित्रकार भन्थ्यो, “तिम्रो यो छिर्केमिर्के बिरालोको बारेमा तिमी खालि अद्भुत कुरा मात्रै गर्छ्यौ।” शायद चित्रकारलाइ केही चाहिँ अचम्मको लाग्दो हो किनकि उसले हृदय भारी भएको बेला कहिले प्रार्थना गर्दैनथ्यो।

तर एकदिन भने उसले बाध्य भएर यो बिरालो “सौभाग्य” अन्य सामान्य बिरालो जस्तो चाहिँ होइन भनेर स्वीकार गर्नैपर्ने अवस्था आयो। त्यस दिन चित्रकार आफ्नो कोठामा बसेर बाहिर भङ्गेराहरु हंसराज फूलको झाडीको भित्रबाहिर गर्दै उडिरहेको हेरिरहेको थियो। सौभाग्य छायाँबाट एक्कासि उफ्रियो र एउटा भङ्गेरा समात्यो।

एकाएक उसको पञ्जाभित्र एउटा कालो टाउको, खैरा पखेटा, जङ्गली गुलाबका मसिना हाँगाजस्ता खुट्टा र डरले काँतर आँखाहरू देखिए। चित्रकारले ताली बजाएर बिरालोलाई तर्साउने र चरालाई उम्काइदिनेबारे सोच्दै थियो, उसले त्यसो गर्नुअगावै सौभाग्यले आफ्नो सेतो खुट्टा बिस्तारै उठायो अनि बडो कोमलताको साथ भङ्गेरालाई छोडिदियो अनि चरो भुर्र उड्यो।

“ओहो! कति दयालु!” चित्रकारको आँखाबाट आँशु टिल्पिलायो। उसलाई थाहा थियो बिरालो भोको छ अनि ऊ भोक के हो राम्रोसँग जान्दछ। उसलाई लाज लाग्यो, “ओहो! मैले शुरुमा मेरो घर आउँदा यसलाई राक्षस भने के के भने, यो त त्यो बिहारको बौद्ध भिक्षु भन्दा पनि धेरै करुणावान् छ ।”

त्यतिकैमा ती बूढी महिला आफ्नो उत्साह लुकाउँदै त्यहाँ आइन्, “मालिक! त्यो बौद्ध बिहारको प्रमुख भिक्षु हजुरलाई भेट्न आउनु भएको छ। मैले उहाँलाई अर्को कोठामा पर्खाइरहेकी छु।”

“हँ ! यो सम्मान मेरो लागि होला र ? ओहो ! ती प्रमुख भिक्षु मलाई भेट्न आफैँ यहाँआउनु भएको?” चित्रकारले आफैँलाई विश्वास गर्न सकिरहेको थिएन। ती प्रमुख भिक्षु धेरै महत्त्वपूर्ण र सम्मानित व्यक्ति थिए। ती त्यो गरिब र सामान्य चित्रकारलाई भेट्न त्यहाँ आउँछन् भनेर उसलाई विश्वास गर्न गाह्रो भइरहेको थियो।

ऊ उत्साहले झण्डै लडेन, उसले बडो गाह्रोसँग आफूलाई शान्त र संयमित राख्दै उसले आफूसँग भएको अन्तिम मूल्यवान् वस्तु एउटा फूल्दान जो उसको झुप्रोमा हेर्न हुने बाँकी थियो, त्यो दिँदै भन्यो, “छिटो, छिटो, जाऊ अनि चिया र केक किनेर ल्याऊ।”

उसलाई राम्रोसँग थाहा छ कि यसपश्चात उसको कोठा शून्य शोभाविहीन हुनेछ, तैपनि ऊ कत्ति पनि सङ्कोच नमानी त्यो पनि उसले दियो। ऊ चाहँदैनथ्यो कि उसको त्यो महत्त्वपूर्ण पाहुनाका लागि उचित स्वागतको अभाव होस्। भिक्षुलाई त्यही एक मिनेट कुराउन पर्दा पनि उसलाई लज्जा महसुस भइरहेको थियो।

अर्को कोठामा भिक्षु ध्यानमग्न थिए, चित्रकार उनको अगाडि गहन विनम्रता साथ झुक्यो र भिक्षुको आँखा खुल्ने प्रतीक्षा गरिरह्यो। उसलाई भिक्षुको आँखा खुल्न पनि एक शताब्दीजस्तै महसुस भयो। जब भिक्षुले आँखा खोल्यो, उसले फेरि शिर निहुराएर भन्यो कि उनको त्यो पवित्र आगमनले उसको त्यो घर अनन्तकालसम्मका लागि अत्यन्त सम्मानित भयो।

भिक्षुले कत्ति पनि समय खेर नफाली भन्यो, “हामी बौद्ध बिहारका लागि बुद्धको निर्वाणको अन्तिम पलको चित्र चाहन्छौँ । हामीले निकै छलफलपश्चात सबै कलाकारको नाम सहितको कागजहरु विहारको केन्द्रमा रहेको प्रमुख चित्रअगाडि राखेका थियौँ। बिहान सबै कागजहरू हावाले उडाएको थियो। तिम्रो नामको कागज मात्र बाँकी थियो। त्यसैले बुद्धको इच्छा नै सर्वोपरि छ। तिम्रो यो नाजुक अवस्था थाहा पाएर मैले पहिलो किस्ता मैले अहिले नै ल्याइदिएको छु ताकि काम गर्दा तिम्रो मन शान्त होस्। किनकि शान्त तलाउमा मात्र स्पष्ट छायाँ देखिन्छ। यदि विहारले तिमीले कोरेको चित्रलाई स्वीकार्यो भने शहरमा त्यसैको लहर जान्छ। तिमी पनि सफल हुनेछौ।” त्यति भन्दै भिक्षुले कम्मरबाट गरुङ्गो थैली निकाल्यो।

चित्रकारले ती भिक्षुलाई कसरी धन्यवाद दिने, या कसरी संस्कारअनुसार चिया पस्कने भनेर सम्झनै सकेन। उसको सामुन्ने एक पटक नाम र दाम दुवै कमाउने गजबको मौका थियो। उसलाई त त्यो सपनाजस्तै थियो, ओहो किन बुद्धद्वारा ऊ चुनिएको थियो? ऊ यति उदास रहन्थ्यो कि प्रार्थनासमेत गर्न मन गर्दैनथ्यो। के त्यो सानो छिर्केमिर्के बिरालोको प्रार्थना बुद्धले सुन्नुभयो कि? ऊ डराइरहेको थियो, न यो सबै एक भ्रम पो हो कि? त्यो गरुङ्गो थैलीमा रहेको पैसा सबै सुकेका पात पो हुन् कि !

उसले भान्साबाट अनौठो आवाज नसुनेको भए शायद ऊ होशमै आउँदैनथ्यो होला। त्यो दुईथरि आवाज थियो। उसलाई त्यो अचम्मको आवाज छुट्टयाउन गाह्रो भयो। ऊ भान्सामा पुग्दा देख्यो कि ती महिला र बिरालो सौभाग्य प्रफुल्ल मुद्रामा रमाइरहेका छन्। त्यो उनीहरूकै आवाज थियो। एउटा खुशीले रोइरहेकी थिइन् भने अर्को खुशीले म्याउँ म्याउँ गरिरहेको थियो। दुईमध्ये कुनले धेरै आवाज गरिरहेछ, छुट्टयाउन मुस्किल थियो।

चित्रकार पनि त्यो खुशी देखेर उन्मुक्त हाँसो हाँस्यो । अब ऊ पहिलेको जस्तो उदास र दिक्दार व्यक्ति थिएन।

ऊ त नयाँ सानु बालकजस्तै भएको थियो। उसले ती बूढी महिला र बिरालो दुवैलाई अङ्गालोमा उठायो, त्यहाँ तीन जनाको उन्मुक्त र प्रफुल्लित आवाज त्यो थोत्रो जीर्ण भान्साघरमा गुन्जिरह्यो।

बूढी महिला दोस्रो गीत गुनगुनाउँछिन्ः

अब हाँस्न देऊ मलाई रुन देऊ
त्यो अनुपम खुशी छ त्यो अन्त्यमा
ऊ उदाउँछ प्रसिद्धि को शिखरमा
गरिबीको मौलिक जगमा उभिएको
बालुवामा छापिएको पाइला
हो, त्यही महान् संघर्षको
देख्छु म ती कुलिन व्यक्ति पनि
आखिर उभिएका छन् दैलोमा उसैको

अर्को बिहान सूर्योदय अगावै ती महिला उठिन् अनि घर सफा गरिन्। त्यो गुन्द्री चाँदी, काठहरु सुनजस्तै बनाएर घोटिन्। उनी हतार हतार बजार गइन् अनि फूलको एक गुच्छा किनेर ल्याइन् अनि फूलदानमा सजाइन्। हो त्यही फूलदानी जुन फेरि उनले त्यही भिक्षुले दिएको पैसाबाट पुन: किनेर ल्याएकी थिइन्।

सोही समयमा चित्रकारले चिटिक्क पारेर चाडबाडको लुगाले आफूलाई तयार पार्यो, कपाल सर्लक्क कोर्यो, जबसम्म त्यो लाहा जस्तै चम्किएन। त्यसपश्चात दराजमा रहेको बुद्धको चित्र अघि प्राथना गर्न गयो। त्यहाँ बिरालो सौभाग्य पहिले नै बसिरहेको थियो। चित्रकारलाई देखेर ऊ हल्का सर्यो अनि दुवै सँगै चित्रको सामुन्ने शिर झुकाएर बसे।

चित्रकारले आफ्नो हात उठाएर हल्का ताली बजाउँदै प्रार्थना सम्पन्न गर्यो। अन्तिम प्रणाम गरेर ऊ अर्को कोठामा गयो अनि गुन्द्रीमा बस्यो। उसले यस्तो उत्साहित र प्रफुल्लित कहिले पनि महसुस गरेको थिएन।

आजबाट उसले बुद्धको मृत्युको समयको तस्बिर कोर्न शुरू गर्ने निश्चय गरेको थियो जुन गाउँको त्यो बिहारमा झुन्ड्याइने छ अनि उसका छोरा, नाति लगायत कयौँ पुस्ताले त्यो तस्बिर हेर्नेछन्।

त्यो सम्मानले ऊ ओतप्रोत भयो। तर पनि ऊ सीधा भावशून्य भएर भएर बस्यो, जस्तो एक सामुराई लडाकु आफ्नो गुरुको निर्देशन सुनिरहेको छ।

उसको आगाडि न रेशमको गुच्छा छ, न मसीको टुक्रा छ, न फूलजस्तै ब्रसहरु छन्, न मूलको ताजा पानी छ। चित्र बनाउनुभन्दा पहिले ऊ बुद्धलाई बुझ्न चाहने उत्कट अभिलाषाले भरिएको छ।

उसले बुद्धलाई शुरुमा आफूलाई एक हिमाली देशको एक युवा राजकुमारको रुपमा कल्पना गर्न थाल्यो। उसले आफ्नो त्यही थोत्रो घरलाई सिद्धार्थको राजमहलको रुपमा लिन थाल्यो, जसको छतसम्म पुगेका चहकिला काठका विशाल खम्बाहरू झल्किरहेका छन्।
उसले त्यहाँ नजिकै सुगन्धित पानी झरिरहेका सुन्दर झरनाहरु छन्। उसलाई युवा बलिष्ट लडाकुहरुले वरिपरिबाट सुरक्षा दिइरहेका छन्।

उसको कल्पनामा एक युवती लामो सितारको सुन्दर राग छेडिरहेकी छन्। उसलाई त्यो बाहिर रहेको त्यो सानो हंसराजको झाडी एक सुन्दर बन जसमा सुगन्धित र मीठा फलफूलहरू लटरम्म फूलिरहेका छन्, जसका बीचमा रहेको निर्मल पानीको पोखरी जसमा गुलाबी र सेता सुगन्धित कमलका फूलहरु फुलिरहेका छन् भन्ने प्रतीत भइरहेको छ। लाग्छ ती भङ्गेराहरु आकाशमा उडिरहेको सेता राजहाँसहरु हुन्।

त्यहाँ नजिकैबाट एउटा किसानको घोडा हिनहिनाउँदै गयो तर चित्रकारलाई लाग्यो राज तबेलामा रहेका युद्धमा जाने बलिष्ट घोडाहरुको आवाज सुनिरहेको छ, हात्तीहरू कराइरहेछन्। अब ऊ एक सुन्दर राजकुमारीको स्वयंबरमा अरु राजकुमारहरुसँग प्रतिस्पर्धा गर्न जाने तयारीमा छ, जहाँ घोडामाथि सवार उसले घोडा तीव्रगतिमा कुदाएर उसले धनुषबाट छोडिएको उसको तीरले दुईवटा रुखलाई छेडेर गएको छ। अरूको तीरले एउटा मात्र रुखलाई मात्र छेड्न सक्यो। त्यसैले त उसको विवाह यशोधरासँग भयो।

त्यो देखिरहेका सारा जनताहरूले ताली बजाएर उसको सम्मान गरे। त्यो सफलताको उचाइमा पनि चित्रकारलाई यो थाहा भयो कि सिद्धार्थले आफ्ना प्रतिस्पर्धीप्रति कुनै दुर्भावना थिएन। उनी आगो र सौम्यपनको सुन्दर सामञ्जस्य थिए। एउटा मृदु मुस्कान उनको मुहारमा झल्कियो। उनले आफ्नो शिर माथि उठाए, जसरी एउटा हरिण घाँसको मैदानमा विचरण गर्छ। चित्रकारले यी सबै आफ्ना काल्पनिक साथीहरुलाई हेर्यो। सबै युवा थिए, सबै सुन्दर थिए। उनीहरूसँग माग्नुभन्दा पहिले दिने सिद्धार्थको खुला हृदय थियो।

हाँसहरु उसको बगैँचाबाट उडेर जान्छन्, उनीहरुलाई कुनै शिकारीको तीरको कुनै डर छैन। फूलैफूलको झाडीबाट निर्भय भएर मृग निस्किएर विचरण गर्छ। चित्रकार पुरानो झुत्रो कपडामाथि बस्दा पनि त्यो पातलो चकटी रेशमको गद्दाजस्तो लाग्छ। उसका कानहरुमा पनि गरुङ्गा बहुमूल्य धातुका गहनाहरू झुण्डिएका छन्। मोतीको माला उसको घाँटीमा झुण्डिरहेको छ।

जब ती बूढी महिला साधारण मध्याह्नको खाना ल्याउँछिन्, उसलाई लाग्छ- नोकरहरुको लावालस्करले सुनका भाँडाहरुमा साह्रै दुर्लभ खाले खाना पस्किरहेका छन्। जब त्यो बिरालो सौभाग्य एकदम सुस्तरी पाइला चाल्दै भित्र आउँछ, सुनको चप्पल लगाएकी एक सुन्दर नर्तकी उसको मनोरञ्जनको लागि नृत्य गर्दै आउँछिन्।

“स्वागतम्, स्वागतम्,” ऊ भन्छ तर बिरालोले कोठा खालीजस्तो लागेर होला फुत्त निस्किन्छ। चित्रकारको आवाज सुनेर ती महिला पनि भित्र आउँछिन् अनि बिरालोलाई कराउँछिन्, “के भयो तिमीलाई र मालिकलाई विघ्न गरेको?” तर चित्रकारलाई केही पनि फरक पर्दैन, ऊ त अझै पनि राजकुमार सिद्धार्थ नै छ। उसलाई त लागिरहेको छ कि सारा संसार उनीहरुजस्तै आनन्दित छन् जस्तो उसको पिता राजा शुद्धोधनले उसलाई दिएको सुन्दर लहराले युक्त महलका भित्ताहरू भित्र छन्।

दोस्रो दिन पनि त्यसरी नै शुरू भयो। ती महिला सूर्योदय पूर्व नै उठिन्। त्यहाँ धूलोको एक कण नभए पनि उनले पहिलो दिनजस्तै पखाल्ने, बढार्ने र पुछ्ने गरिन्। उनी हतार हतार बजार गएर फूलको गुच्छा किनेर ल्याइन्। चित्रकार पनि चाँडै उठ्यो र आफूमा बुद्धको परावर्तन ल्याउने सक्दो प्रयास गर्यो, त्यसपछि ऊ प्राथना गर्न गयो जहाँ सौभाग्य नार्सिसस् फूल (Dafodil) चम्किरहेको थियो, जस्तो नर्सिसस् फूलको मुटुजस्तै सुनौलो, अनि त्यही फूलको तरेलीमा बसेको कालो बिटल्सजस्तै तर शान्त सौम्य त्यही बुद्धको चित्रअगाडि।

चित्रकारलाई देख्ने बित्तिकै ऊ उठ्यो, शिर निहुरायो अनि बिस्तारै उसको लागि ठाउँ छोडिदियो। उनीहरू सदाझैँ ध्यानस्थ भए, चित्रकारले बेलाबेला हल्का ताली बजाउँथे तर बिरालो पञ्जा भुइँमा राखेर एकदम स्थिर बसेको थियो।

चित्रकार त्यही हंसराज फूलको आडमा भएको कोठामा गयो। उसले आफूमा सिद्धार्थको त्यागलाई आफूमा उतार्ने कोसिस गर्न थाल्यो। फेरि ऊ राजकुमार सिद्धार्थ थियो। उसले एउटा रथ तयार गर्ने आदेश दियो र आज ऊ कुनै पनि पूर्व घोषणाबिना शहर भ्रमण गर्ने निश्चय गरेको थियो।

उसले बूढो मान्छे देख्यो, ज्वरोले थलिएको व्यक्ति अनि मृत्यु भएको अर्को व्यक्ति पनि देख्यो। उसले आफ्नो हातको सुनको बाला हे,र्यो त्यो लाचार थियो त्यसले त्यहाँ केही गर्न सक्दैनथ्यो। ऊ यो देशको राजकुमार भएर पनि लाचार थियो, चित्रकारको शिर भारी भएर आयो। उसले सुगन्धित फूलको गुच्छा सुँघ्यो तर पनि त्यसको सुगन्धको मिठासले उसलाई झनै बिरामी बनाउलाजस्तो भयो। उसलाई उसको छोरो राहुल जन्मिएको खबर दिइयो तैपनि उसले त्यो नवजात शिशुको जीवन कति दुःखदायी छ भन्ने मात्र सोचिरह्यो।

जब ती महिलाले खाना पकाएर ल्याइन्, उसले त्यो एक सिता पनि मुखमा नहाली फिर्ता पठाइदियो। सौभाग्यले जब ऊतिर हेर्यो, उसले सौभाग्यलाई पनि कुनै रमाइलोको लागि कुनै इच्छा नरहेको बतायो। साँझ पर्दै आयो तर चित्रकारको मनोदशा कत्ति पनि परिवर्तन भएन। ती महिलाले पनि सोधिन्, बिरालोले पनि अधीर भएर म्याउँ म्याउँ गर्यो तर उसले सुनेन।

चित्रकारको त्यो कल्पनामा ऊ युवराज सिद्धार्थले सुटुक्क रथ चालक र कण्ठक उसको सेतो घोडालाई बोलायो। उसले छोरो राहुललाई हातमा राखेर निदाइरहेकी पत्नी यशोधरालाई अपलक हेरिरह्यो। अनि आफ्नो बगैँचाको अँध्यारो हुँदै बाहिर निस्कियो।

मस्त निद्रामा निदाइरहेको शहर हुँदै गयो। निष्पट्ट अन्धकार त्यो रात्रिमा ऊ गएको बाटोमा ती ढुङ्गाहरू मात्र चम्किरहेका थिए। अनि ऊ घना जङ्गलको बीचमा पुग्यो, जहाँ उसको पिताको राज्यको सीमा समाप्त हुन्थ्यो। सिद्धार्थले आफ्नो लामो कपाल काट्यो, राजकुमारका पोशाक उतार्यो, आफ्नो तरवारलाई कन्थकको पिठ्यूँमा झुण्डाई दियो ताकि उसले त्यो दरबारमा फिर्ता लैजान सकोस्।

ऊसँग ती जान सक्दैनथे, ऊ संसारले भोगिरहेको गम्भीर पीडाबाट मुक्तिको बाटोमा हिँड्न लागेको छ। तत्कालै चित्रकारले एक घण्टाको अन्तरालमा सिद्धार्थको असीम पीडा भोग्यो, उसले युवा वयको त्यो सुन्दर संसार त्याग्यो।

अर्को बिहान उसले सदाझैँ घरको सरसफाइको आवाज सुनिरहेको छ। ऊ पनि उठ्यो, सक्दो गरिबीको पोशाक पहिरियो अनि सौभाग्यको छेउमा बसेर त्यही बुद्धचित्रको सामुन्ने प्राथना गर्यो। ऊ अर्को कोठामा गयो, उसलाई त्यो हंसराजको बोट र भङ्गेराहरुको चिरविर पनि फिक्का लाग्यो। उसले फेरि आफूलाई सिद्धार्थको स्वरूपमा पायो।

उसले खाली खुट्टा भिक्षाटन गर्दै ज्ञानको खोजीमा हिँडेको पनि चार वर्ष भइसकेछ। अन्त्यमा ऊ एउटा पिपलको रुखमुन्तिर शान्त र स्थिर भयो। अब उसलाई हरेक भयानक वस्तुहरू सुन्दर देखिन थाले, बिहानीपख उसले बुझ्यो किन मानिसहरू दुःखको सागरमा डुबेका छन् र कसरी त्यो दुःखबाट मुक्त हुन सकिन्छ। यही ज्ञानसँगै ऊ त प्रबुद्ध भयो, बुद्ध भयो।

चित्रकारलाई अनन्त शान्तिको महसुस भइरहेको छ, उसले जता हेर्छ उतै प्रेम र करुणा निरन्तर बगिरहेछ, बालुवाको सानो कणदेखि विशाल पहाड। उसले आफ्नो पत्नी र छोरोप्रति जस्तो महसुस गर्थ्यो, हरेक चिजप्रति उसको स्थिति त्यस्तै छ चाहे त्यो रूख या हरिणजस्तै जीवित होस् या पत्थर, समुद्रको छालजस्तै निर्जीवन जो एकदिन मनुष्य बन्नेछन् अनि मानिसको जस्तै दुःखसुख महसुस गर्नेछन्।

जब ती महिला र बिरालो सौभाग्य खाना लिएर आए, उसलाई लाग्यो, उसका पहिलो शिष्यहरु आए अनि उसले उनीहरुलाई जीवनको तत्त्वबोधको बारेमा शिक्षा दियो।

उसले शिक्षासँगै आफ्नो उमेर बढ्दै गइरहेको महसुस गरिरहेछ। जब ऊ असी वर्षको भयो, उसलाई लाग्यो अब मृत्यु निकट छ। उसले देख्यो कि आकाश नीलो र स्वच्छ थियो, सम्पूर्ण शिष्यहरु, सबै देवताहरू, सबै जनावरहरू उसको त्यो अन्तिम यात्रामा सहभागी थिए। तर आश्चर्य! त्यहाँ बिरालो थिएन। चित्रकारले बुद्धको सबै अन्तिम यात्राका चित्रहरू सम्झियो तर बिरालो सबै चित्रमा अनुपस्थित थियो।

“बिरालो बुद्धको अन्तिम यात्रामा सहभागी भएको थिएन,” चित्रकारले सम्झियो, “अर्थात् सौभाग्यले पनि! त्यसैले बिरालोको लागि स्वर्गको ढोका सधैँको लागि बन्द भयो।” त्यो सानु बिरालो सौभाग्यको लागि उसलाई दुःख लाग्यो तर फेरि उसले बुद्धको त्यो ज्ञानमा डुबायो।

एउटा गरिब दुःखी चित्रकारले जो मर्न चाहन्थ्यो, बुद्धको जीवनको सबै पाटाहरू तीन दिनको समयमै बाँच्यो। अब उसले बुद्धलाई साँच्चिकै बुझेको छ, अब उसले बनाउने बुद्धको चित्र सानोमा धेरै कोमल तरिकाले हुर्काएको सबैले आज्ञापालन गरेको (जुन उसले पहिलो दिनमा जानेको थियो) झल्किन्छ अनि दुःख महसुस र संन्यासको यात्रा (जुन दोस्रो दिन उसले भोगेको थियो) र अन्त्यमा अनन्त अखण्ड शान्ति प्राप्त गरेर सबैलाई प्रदान गरेको (जुन उसले तेस्रो दिन भोगेको थियो) प्रतिबिम्बित हुनुपर्छ।

त्यसैले बुद्ध कस्तो देखिनु पर्छ त्यो बुझ्न चित्रकार सुत्यो । चौबीस घण्टा सुत्यो । मानौँ कि उसको मृत्यु भएको होस् भनेजस्तो सुत्यो । यसरी सुत्यो कि महिलाले उसले श्वास फेरेको छ कि छैन भनेर छामिन्, बिरालो पनि आफ्ना सेता पञ्जाहरुको टुप्पोहरुले टेकेर हिँड्यो। चौबीस घण्टाको सुताइपछि चित्रकार उठ्यो, हतार-हतार ब्रस, मसी, मूलको ताजा पानी र ठूलो रेशमी कपडा मगायो र उसले महात्मा बुद्ध एउटा शैय्यामा सुतिरहेका जसको मुहारमा अनन्त शान्ति छल्किरहेको छ, रेशमको त्यो कपडामा चित्र कोर्यो।

चित्रकारले जे जे देख्यो, जे जे भोग्यो, जे जे महसुस गर्यो सबै दृश्यहरु जुन बुद्धको जीवनकाल थियो, त्यो उसले तीन दिनमा बाँच्यो अनि उसके तीन घण्टा भन्दा पनि कम समयमा त्यो रेशमको कपडामा कोरिसक्यो। ती महिला अनि त्यो सानो बिरालोले सो दृश्य आदर र श्रद्धाका साथ हेरिरहे।

महिलाको तेस्रो गीत गुञ्जियोः

हे कुचो! तिमी शान्त भइदेऊ, त्यो माकुरो जस्तै
हे केटली! तिमी बिस्तारै उम्लिदेऊ, मेरी बूढीको कुरो सुन
हे चरी! चिरबिर गर न सुस्तरी, हावा बिस्तारै वह, ती सडकका हल्ला
पवित्र विचार छन् ती मष्तिस्कमा, स्वर्गीय आकाङ्क्षाहरु
जब म ती फलहरू उमाल्छु उसको लागि, चुप लागिदेऊ हे ज्वालाहरु !

अर्को दिन उसले पृथ्वीका, आकाशका देवताहरू, शिष्यहरु जो बुद्धलाई अन्तिम बिदाई गर्न आएका थिए, उनीहरूको चित्र बनायो। कहिले त्यो गाह्रो हुन्थ्यो, कहिले सहज हुन्थ्यो। कहिलेकाहीँ चित्र देखेर सन्तुष्ट हुन्थ्यो भने कुनै देखेर दिक्क मान्थ्यो। ऊ दुब्लाएर नै सकिन्थ्यो होला यदि ती बूढी महिलाले सुप र म: म:ले उसलाई हेरचाह नगरेकी हुन्थिन् भने।

सौभाग्य पनि मख्ख छ, रमाउँदै हिँडिरहेको छ। अचेल उसका लागि घरमा टन्न खाना छ। उसको रौँ रेशमजस्तै झल्किएको छ। उसका साना-साना जुङ्गाहरु झिलमिलाई रहेका छन्। जतिबेला ती महिला यता उता फर्किन्छिन्, सौभाग्य तुरुन्त चित्रकार, उसको रहस्यमयी चित्र, ब्रसहरु हेर्न आइहाल्थ्यो।

“यसले मलाई चिन्तित बनाइरहेको छ,” ती महिलाले भनिन् जब उनले बिरालोलाई बिसौँ पटक चित्रकारको बाहुलीबाट तानेर ल्याइन्।

“यो बिरालोजस्तो फिटिक्कै छैन। यसले ब्रसहरूसँग खेल्न चाहँदैन। तर पनि म बुझ्छु, यसले तपाईंको चित्र बिगार्यो भने त त्यसको सबै दोष त मेरै हुन्छ किनकि यसलाई त्यो बाँसको टोकरीमा बोकेर ल्याउने त मैँ थिएँ,” उनले थपिन्।

चित्रकारले टाउको हल्लायो। एउटा नयाँ विचार उसको मस्तिष्कमा उत्पन्न भयो अनि उसले सानो स्वरमा भन्यो, “सौभाग्यले कुनै नोक्सानी पुर्याउँदैन।” उसले सबैथोक बिर्सेर फेरि चित्र बनाउन तिर नै व्यस्त भयो ।

महिलाले अधीर भएर भनिन्, “त्यस्तै होस् ।” अनि सौभाग्यलाई बोकेर त्यहाँबाट हिँडिन्। बिरालो पनि मखमली गलबन्दीजस्तै उनको घाँटीमा टाँसियो। ऊ खास बिरालोजस्तो देखिन्थ्यो।

करिब आधा घण्टापश्चात बिरालो फेरि भान्साबाट उम्कियो। ऊ सरासर चित्रकारको ठीक पछाडि छायाँमा गएर उभियो, चित्रकार गहन् चिन्तनमा डुबेको थियो। चित्रकारले चित्रमा मान्छे र देवताहरूको चित्र कोरिसकेको थियो। अब ऊ त्यहाँ जनावरको चित्र कोर्न बाँकी थियो, जो बुद्धलाई अन्तिम बिदाइ गर्न आएका थिए।

ऊ सोचिरहेको थियो, कुन चाहिँ जनावर पहिला आउनु पर्छ होला । शायद त्यो ठूलो सेतो हात्ती हो कि? किनकि सबैभन्दा ठूलो र बुद्धको प्रतीक पनि त्यही हो। शायद घोडा पो हो कि, जसले दरबारमा उसको सेवा गरेको थियो। सिंह हो कि, कहिलेकाहीँ सिद्धार्थको राजवंशलाई सिंह नै त मानिएको छ । चित्रकारले सोच्यो, बुद्धले दयालु जीवहरुलाई मन पराउँथे। उसले एउटा कथा सम्झियो।

एकदिन बुद्ध रुखमुनि छहारीमा गहन चिन्तनमा डुबेका थिए। समय बित्दै थियो, केही घण्टापछि रुखको छहारी बिस्तारै सर्दै गयो अनि सूर्यको प्रचण्ड गर्मी उनको खाली टाउकोमा आगोजस्तै वर्षियो। बुद्ध अर्कै धुनमा थिए, उनले त्यसमा ध्यान दिएनन्। एउटा शंखेकिरोले त्यो देखिरहेको थियो अनि बुद्धलाई दुःख हुन्छ भनेर त्यो बेचैन भयो। ऊ चिसो ठाउँबाट घस्रदै निस्कियो अनि भिजेको मुकुट तयार गरेर बुद्धको शिर ढाकिदियो, सूर्य नडुबेसम्म उसका किरणहरू नसेलाएसम्म त्यहीँ कुरिरह्यो। चित्रकारले सोच्यो, “शंखेकिरा पहिलो जनावर हो, जसले बुद्धको लागि बलिदान दिएको थियो । त्यसैले यसैलाई पहिला देखाउनु उपयुक्त हुनुपर्छ।”

शङ्खेकिराको बारेमा सोचिसके पछि उसले यसको चाल, शङ्ख, पहेँलो भिजेको पातजस्तो शरीरको बारेमा सोच्यो अनि ब्रसलाई मसी र पानीमा चोब्यो अनि शङ्खेकिराको चित्र बनायो।

सौभाग्य चित्रकारको छायाँबाट बिस्तारै निस्कियो अनि उसका जुङ्गाहरु बिस्तारै चले, उसले बिस्तारै आफ्नो पञ्जा उठायो अनि शङ्खेकिराको चित्रमा थपथपाउँलाझैँ गर्यो र चित्रकारतिर हेर्यो। “म त मात्र खेलिरहेछु है,” शायद भन्दो हो, “तर यो त सङ्खेकिरो है, सङ्खेकिरो जस्तै ।”

चित्रकार गुन्द्रीमा बस्यो अनि हात्तीको बारेमा सोच्न थाल्यो। उसको त्यो ठूलो आकार अनि ज्ञानको बारेमा सोच्यो। उसले कहिले पनि हात्तीलाई देखेको थिएन, तर उसले एक चिनियाँ चित्रकारले बनाएको चित्रमा भने देखेको थियो। उसले ठूलो सेतो शानदार शरीरमा साना आँखा, गुलाबी धर्का सहितको लामो कान सम्झियो। उसले सोच्यो, यो त भयानक जीव बुद्धको राज्यमा त शाही प्रतीक पो हो त ! बुद्धकी आमाले पनि त बुद्ध जन्मिनुपूर्व सपनामा हात्ती नै देखेकी थिइन् !

त्यसपछि उसले अचम्मको कुरो सोच्न थाल्यो। बुद्ध सिद्धार्थको रुपमा पृथ्वीमा आउनु भन्दा पहिले विभिन्न स्वरूपमा आएर दया करुणाको शिक्षा दिन्थे भनेर उनका अनुशरण गर्नेहरूले विश्वास गर्छन्। चित्रकारले बुद्ध हात्तीको स्वरूपमा अवतरित भएको कथा पनि सम्झियो, जहाँ उनी एउटा मरुभूमिको अब नदेखिने एक पर्वत शृङ्खलामा बस्थे। त्यहाँ कमलको फूलले झिलमिलाइरहेको एक पानीको पोखरीमा तिर्खा मेटाउँथे, जसमा फलहरूले लटरम्म रुखहरूका हाँगा झुकेका हुन्थे।

तर एक दिन तल मरूभूमिमा मानिसहरूको एउटा समूह देखे। उनीहरू बिस्तारै हिँडिरहेका थिए। कहिले एउटा लड्थ्यो कहिले अर्को, एकअर्कालाई उठाउँदै सहारा दिँदै उनीहरू हिँडिरहेका थिए। उनीहरूका निरास विलाप स्पष्ट सुनिन्थ्यो। त्यो हात्तीको मन दयाले भरियो। ऊ त्यो दग्ध मरूभूमिमा उनीहरुलाई भेट्न ओर्लियो।

उसले मनुष्यकै बोलीमा उनीहरुलाई सोध्यो, उनीहरूले कुनै राजाले मर्नको लागि मरूभूमिमा लखेटिएका शरणार्थी भएको बताए। धेरैको मृत्यु भै सकेको कुरा उनीहरूले बताए।

हात्तीले उनीहरुलाई हेर्यो, ती असाध्यै कमजोर थिए। खाना र पानी बिना उनीहरू त्यो मरुभूमि पार गर्न सम्भव थिएन। उसले उनीहरुलाई त्यो तलाउतिर लैजान त सक्थ्यो तर तिनीहरू साह्रै कमजोर थिए। “साहस राख! यो दिशामा तिमीहरूले त्यो पोखरी फेला पार्न सक्छौ, त्यो भन्दा अलि पर भिरालोमा एउटा मृत हात्तीको शरीर फेला पार्ने छौ। त्यसको मासु तिमीहरूले खानु अनि यो पर्वत पार गर्ने शक्ति तिमीहरूले पाउने छौ।” यति भनेर ऊ सबैलाई अभिवादन गरेर बिदा भयो।

उसले आफूलाई त्यो भीरबाट तल मिल्काइदियो जसरी बादलमा चन्द्रमा डुब्दै जान्छ। रुखका आत्माहरुले उसको त्यो बलिदान देखेर उसको शरीरमा आफ्ना फूलहरु वर्षाए।

चित्रकारले हात्तीको त्यो बुद्धिमत्ता, गौरव र करुणाको बारेमा धेरैबेर सोच्यो। त्यसपछि उसको ब्रस फेरि मसी र त्यही निर्मल पानीमा चोबलियो अनि उसले हात्तीको चित्र बनायो।

हात्तीको चित्र सम्पन्न हुनासाथ सौभाग्य चित्रकारको छायाँबाट फुत्त निस्कियो र आफ्ना बाटुला आँखाले त्यो चित्र हेर्न थाल्यो। अनि उसले चित्रकारलाई हेर्यो। “यो कुन जनावर होला है ?” शायद उसले यही भनेको होला, “तर पक्का पनि यसले मेरो जुङ्गादेखि पुच्छरसम्म झन्कार भरिदिएको छ।”

चित्रकार फेरि गुन्द्रीमा बस्यो र सोच्यो। यो पटक उसले घोडाहरूको बारेमा सोचिरहेको छ। हुन त उसले कहिले पनि घोडाको सवारी गरेको थिएन। उसले घोडाहरू देख्दा उनीहरूको भलाद्मी शैली, चम्किला आँखा र सुन्दर घाँटीको सधैँ प्रशंसक रह्यो। घोडा चाहे युद्धको मैदानमा होस् या कतै आफ्नो पुच्छर झण्डाजस्तै फर्फराउने गर्छ।

उसले सिद्धार्थको आफ्नै घोडा कन्ठक जो हिउँजस्तै सेतो जसको काँधमा बहुमूल्य गहना सहितको काठी कसिएको हुन्थ्यो। उसले सोच्यो, त्यो घोडा कति शान्त र उग्र दुवै थियो होला जसले सिद्धार्थलाई अरु राजकुमारहरुको अगाडि विजयी बनायो। उसले कल्पना गर्यो, कण्ठकबिना सिद्धार्थ कसरी दरबार फर्कियो होला, शिर झुकाएर, दुःखी आवाजमा सिद्धार्थको लुगाहरू चिजबिजहरु बोकेर !

चित्रकारले बुद्धको आत्मा एक घोडाको स्वरूपमा अवतरित हुँदाको अर्को कथा पनि सम्झियो। बनारसका राजाको प्रिय त्यो युद्धको घोडा सानो तर उग्र थियो। सात राजाहरू राज्य आक्रमणको लागि आए अनि शहरबाहिर सैन्य शिविर खडा गरेर बसे। प्रमुख लडाकुलाई त्यो घोडा दिइयो र त्यो शिविरमा अचानक हमला गरेर एक एक गरेर छ वटा राजाहरू पक्राउ परे। छैटौँ राजालाई पक्राउ गर्ने क्रममा घोडा गम्भीर घाइते भयो। त्यो देखेर लडाकुले अर्को घोडा मगायो।

घोडाले भन्यो, “यसो नगर्नुस् नत्र पहिलाको मिहिनेत सबै बेकार हुन्छ। अर्को घोडाले त्यो सातौं राजाको शिविरलाई अचम्भित पार्न सक्दैन। त्यसैले मलाई नै यो जिम्मेवारी दिनुहोस् । मैले जे शुरू गरेको छु, त्यो मैले नै अन्त्य गर्छु।” घायल र धेरै रगत बगेर कमजोर भए पनि सो घोडाले बाजको जसरी सैन्य शिविरमा आक्रमण गर्यो। सातौँ राजा पनि पक्राउ पर्यो। बनारसका ती राजा प्रफुल्ल भएर दरबारको मूल ढोकामा स्वागतका लागि आए।

“महान राजा,” घोडाले भन्यो, “यी बन्दीहरुलाई क्षमा दिनुहोस्।” जब उसको युद्ध कवच निकालियो उसको मृत्यु भइसकेको थियो।

चित्रकारले उसको साहस र सज्जनपनालाई मनमा राख्दै ब्रस मसीमा चोप्यो, अनि घोडाको चित्र त्यहाँ बनायो। घोडाको चित्र बनाई सक्नासाथ बिरालो सौभाग्य चित्रकारको छायाँबाट बाहिर निस्कियो। उसले चित्रकारलाई बडो श्रद्धाका साथ हेर्यो।

“यदि जूनकीरीले यो घोडामा आफ्नो प्रकाश पर्यो भने त्यो यहीँ टाँसिन्छ, त्यसले आफ्नो टाउको यहीँ ठोक्छ,” सौभाग्यले यसै भन्यो कि !

ती बूढी महिलाले चौथो गीत गाइन्ः

हाम्रो मालिक बस्छन्
अखण्ड सोचिरहेछन्
उनको हेराई अब दुर्लभ छ
चिया पिउँदा पनि
उनलाई अब ध्यान छैन
कसैको न मेरो न बिरालोको
उनी डुबेका छन् एक अनन्त
आनन्दको सागर, ज्ञानको
उनका हातले जे गर्छन्
ती महान् छन्, म अनि
मैले बनाएको खाना पनि
सहृदयताले त्यो सफलताको
सहयोगी बनेको छ कि
त्यसमै छ मेरो पनि सफलता

अर्को दिन चित्रकारले आफूलाई कोठामा एक्लै बन्द गर्यो। अहिले पनि उसले त्यो सुन्दर हंसराजको झाडीतिर हेरेको छैन। त्यही गुन्द्रीमा बसेर उसले निर्णय गर्यो कि त्यो सेतो घोडाको माथि सेता हाँसहरु उडिरहनु पर्छ। उसले ती हाँसहरुको सुन्दरता र ती पखेटाहरुको उडान कसरी उनीहरूले राजालाई धेरै लामा उडानहरुमा अनुशरण गर्छन्। उनीहरू पानीमा सेता कमलका फूलहरु जस्तै हलुकासँग तैरिन्छन्।

उसले सिद्धार्थको किशोरवयको अर्को कथा सम्झियो। राजकुमार सिद्धार्थ एक दिन आफ्नै बगैँचामा हाँसहरुको हिमालय तर्फको उडान हेर्दै विचरण गरिरहेका थिए। अचानक उनले एउटा तीर छोडिएको आवाज सुने। त्यो निर्दयी तीरले त्यो चरालाई छेडेर गयो। तत्कालै एउटा घाइते हाँस उनको खुट्टा नजिकै झर्यो। किशोर सिद्धार्थ तुरुन्त चरालाई हातमा उठाए उसको शरीरमा गडेको तीर झिकिदिए। त्यो तीर आफ्नो पाखुरीमा गाडे ताकि चराले झेलिरहेको त्यो पीडा महसुस गर्न सकियोस्। उनले त्यो चराको घाउलाई उपचार गरे।

सहयोगीले भनेअनुसार चराको त्यो हालत जिम्मेवार काकाको छोरा भएको पत्तो लाग्यो। सिद्धार्थले जवाफ दिए, “उसले हाँसलाई मार्ने प्रयास गर्यो, मैले बचाउने प्रयास गरेँ। अब महाराजको सल्लाहकारले यसको निर्णय गर्नेछन्।” विवाद आखिर राजपरिषदमै पुग्यो। आखिर हाँस त्यही केटालाई दिइयो, जो पछि बुद्ध भयो।

चित्रकारले सपनाजस्तै सुन्दर हाँसको झल्कोमा ब्रसलाई रङमा चोप्यो अनि हाँसको चित्र कोर्यो।

सदाझैँ चित्र कोरी सक्नासाथ सौभाग्य चित्रकारको छायाँबाट बाहिर निस्कियो अनि गहिरिएर हेर्यो। नम्र भएर चित्रकारतर्फ फर्कियो, “ती उडानहरुको तल बतास छ नि है !” सायद सौभाग्य यही भन्दै छ कि त्यो चरा कोर्नुभन्दा उसको समयको व्यस्ततालाई पनि विचार गरेको भए हुन्थ्यो होला।

चित्रकारले खाना खायो अनि सूर्यका किरण र स्वच्छ हावामा तरोताजा हुनका लागि ऊ आफ्नो सानो बगैँचामा टहलियो। ऊ आफ्नै काममा फेरि फर्किदै थियो, ढोकामा ती महिला भेटिइन् अनि झुकेर अभिवादन गरिन्, “हजुरले आफूलाई यसरी ज्वरोमा डुबाउनु भयो ।” उनले बिस्तारै नम्र भएर भनिन्, “हजुर बुद्ध हुनुभयो, देवताहरू हुनुभयो, त्यो घोडा, हात्ती अनि शङ्खेकिरा र हाँससमेत हुनुभयो। यी सबै त्यो पनि केही दिनमा ! यसरी त यो हजुरको शरीरले कसरी झेल्न सक्छ र यति गहन कुरा ? हजुरको निधार खुजमुजिएको छ, आँखा मैनबत्तीको ज्वालाजस्ता भएका छन्। छिमेकीले हजुरलाई आफ्नो घरमा चियापानका लागि निम्तो पठाएका छन्। मैले वहाँ सिधै आउनुहुन्छ भनेकी छु,” ती बूढी महिलाको स्वरमा दृढता थियो, चाहे त्यो नम्र नै किन नहोस् !

“ढुङ्गासँग विवाद गर्न सकिएला तर महिलासँग विवाद गर्नु मात्र शक्तिको बर्बादी मात्र हो,” चित्रकार करायो। उसले चाँदीको टुक्रा निकाल्यो र महिलालाई दिँदै भन्यो, “जाऊ बजार गएर आफ्नो लागि राम्रो लुगा किनेर ल्याऊ, तिमीले धेरै भयो राम्रो लुगा पनि लगाउन पाएकी छैनौ।”

“धेरै धेरै धन्यवाद छ हजुरलाई,” ती महिलाले रुँदै भनिन्, “म बिरालोलाई त्यही टोकरीमा थुनेर जान्छु, हामी बाहिर गएको बेला त्यसले चित्रलाई गुलियो क्रिम भन्ने ठानेर बिगारिदिन सक्छ।”

चित्रकार अर्को बिहान शान्तिसँग ध्यानस्त भएर भैँसीको बारेमा सोचिरहेको थियो। ओहो! तिनीहरू त कति कुरुप हुन्छन् है, तिनीहरूको टाउकोमा रहेको त्यो बाङ्गो सिङ पनि त्यस्तै हुन्छ। तर तिनीहरू निकै बलिया हुन्छन्। दिनभरि आफ्नो मालिकको लागि खटिन्छन्। ओहो जङ्गलको राजा बाघले आक्रमण गर्दा पनि ती कति आक्रामक हुन्छन् तर पनि गाउँका बच्चाहरु तिनीहरूको पिठ्युमा चढेर चराजस्तै हिँड्छन्।

बुद्धको आत्मा पनि भैँसीको शरीरमा जन्मिँदा त गौरव गर्दैन होला।

यससम्बन्धी धेरै कथामध्ये चित्रकारले एउटा कथा सम्झिरहेछ, जसमा एउटा पवित्र भैँसी जुन एक गरिब किसानको घरमा थियो। एकदिन उसले मान्छेको बोलीमा त्यो किसानलाई भन्यो, “तिमी धेरै गरिब छौ, म तिमीलाई केही सहयोग गर्न चाहन्छु। गाउँलेहरुलाई गएर भन कि मसँग एउटा जनावर छ, जसले सय गाडा ढुङ्गाहरू एकै पटक तान्न सक्छ। उनीहरूले पत्याउने छैनन् अनि तिमी बाजी राख्नु, अनि तिमीले राम्रै धन जित्ने छौ।”

जब सय गाडा ढुङ्गा त्यो भैँसीसँग बाँधियो, किसानले साधारण चालकले जनावरलाई गर्नेजस्तै व्यवहार देखायो। भैँसीले त्यो तौल तान्न सकेन, उसले बाजी हार्यो अनि झनै गरीब भयो।

एक साँझ भैँसीले फेरि भन्यो, “तिमीले मलाई किन धम्क्याएको ? एकपल्ट फेरि बाजी राख पहिलेको भन्दा दुई गुणा तर यसपटक मसँग राम्रो व्यवहार गर्नू।” फेरि त्यही गरुङ्गो ढुङ्गाहरूले गाडा भरिए, फेरि गाउँलेहरू जम्मा भए। यो बेला भए किसानले आफ्नो भैंसीलाई नुहाएको थियो, फूलको माला लगाइदिएको थियो। जब गाडामा उसलाई बाँधियो, उसले भैंसीलाई थप्थपाउँदै भन्यो, “हे बलशाली! आऊ आफ्नो शक्ति देखाऊ ।” भैँसीले आफ्नो सम्पूर्ण तागत लगायो, उसका मांसपेशीहरू चर्मराए। ती सय गाडाहरु बिस्तारै तानियो।

अब चित्रकारले भैँसीको इमान्दारिता र आत्मसम्मानलाई महसुस गर्यो, उसले ब्रसलाई पानीमा चोबल्यो, मसीमा छुवायो अनि भैँसीको चित्र कोर्यो। त्यो सकिनासाथ सौभाग्य उसको छायाँबाट बाहिर आयो। उसको चलढालले ऊ कहीँ न कहीँ असन्तुष्ट छ कि जस्तो देखिन्थ्यो। उसले पुलुक्क चित्रकारलाइ हेर्यो, “भैँसी नै पो?” उसले आफ्नो जुङ्गा हल्का हल्लायो जस्तो उसलाई हल्का खिसी गरिरहेको छ। उसले आफ्नो सेता पञ्जा उठायो अनि हल्कासँग छिउँछिउँ गर्यो।

यस्तो व्यवहारले चित्रकारलाई सौभाग्यप्रति थोरै दिक्क लाग्यो, सोच्यो- अर्को पटक सौभाग्यले आफ्नो प्रशंसाको हिसाब गर्नुपर्ने हुनसक्छ किनकि चित्रकारले अब कुकुरको बारेमा सोच्ने प्रवल सम्भावना थियो।

उसले तिनीहरूलाई साना-साना छाउराहरुको रुपमा सोच्यो जस्तो कि काला आँखा सहितका हिउँका डल्लाहरू ओरालोमा पल्टिएजस्तै छन्। उनीहरू हुर्कंदै जान्छन् उनीहरू आफ्नो मालिकको वफादार हुँदै जान्छन्। उनीहरू घर, निर्जन खेतहरुमा पहरा दिन्छन्, हात चाट्दै अगाडि गुटुमुटु भएर पल्टिन्छन्।

“आहा! कति वफादार हुन्छन्,” उसले सोच्यो अनि बुद्धको कुकुरको स्वरूपको कुनै कथा छ कि भनेर सम्झन खोज्यो तर सकेन। या त उसले बिर्सिसक्यो या कुनै त्यस्तो कथा नै छैन। त्यसले ती घरमा काम गर्ने ती बूढी महिलालाई बोलायो। उनी भित्र आइन् सम्मानपूर्वक झुकिन् ।

“बस!” उसले भन्यो, “तिम्रो मनमा आएको कुकुरको कुनै कथा भन न!” उनले रुमालले आफ्नो निधार पुछिन् अनि बसिन्।

“मेरो गाउँमा,” उनले शुरू गरिन्, “त्यहाँ एउटा मन्दिरको भग्नावशेष थियो। त्यहाँका पुजारी भिक्षुहरूले छोडेपछि त्यहाँ राक्षस र पिशाचहरुको बास थियो। प्रत्येक वर्ष उनीहरूले एक कुमारी केटीको बलिदान माग्दथे, नत्र त्यो ठाउँ नष्ट गर्ने धम्की दिन्थे। त्यसैले प्रत्येक वर्ष एउटा कुमारी केटी टोकरीमा हालेर मन्दिरको छेउमा राखिन्थ्यो र ती फेरि कहिले भेटिदैन थिए।

एकपल्ट एउटी सानी केटीको पालो आयो र उनीसँग शिप्पैतारो नाम गरेको कुकुर थियो। सारा गाउँमा शोकको सेतो रङ छाएको थियो। दिनैभरि सडकसम्म उनी रोएको आवाज सुनिन्थ्यो। तर साँझ पर्नुअघि एउटा अपरिचित शहरमा आयो। ऊ बाटो भुलेको एक सैनिक थियो। अघिल्लो राति ऊ त्यही भग्न मन्दिरमा सुतेको थियो।

“त्यही पिशाच भएको मन्दिरमा?” चित्रकारले सोध्यो।

“हो, त्यही मन्दिरमा,” उनले जवाफ दिइन्, “राति ठूलो हल्लाले ऊ ब्युँझियो । उसको कानमा एउटा आवाज पर्यो, जसमा कसैले ‘यो कुरा त्यो शिप्पैतारोलाई थाहा हुनुहुँदैन है, यदि त्यसले थाहा पायो भने सबैकुरा नष्ट हुन्छ’ भनेको सुन्यो। जब त्यो सैनिकले त्यो कुरा त्यहाँ बतायो, शिप्पैतारो एकदम उत्साहित भयो, पुच्छर हल्लाउँदै भुईं खोस्रियो। अनि शिप्पैतारो त्यही टोकरीभित्र पस्यो। साँझ परेपछि उसलाई त्यही मन्दिरको नजिक छोडिदिए। अरु सबै डराएर फर्किए तर सैनिक त्यहीँ लुकेर हेरिरह्यो।

मध्यरातमा उसले एकदमै डरलाग्दो चिच्याहट सुन्यो। ती आवाज रगत जमाउन प्रशस्त थियो। उसले चिहाएर हेर्यो, उसले देख्यो कि पिशाचहरुको टोलीले टोकरीको ढक्कन खोल्दै रहेछन्। उनीहरूले त्यहाँ डराएकी सानी केटीको ठाउँमा एक आक्रामक कुकुर शिप्पैतारो फेला पारे, जसले उफ्रिएर पिशाचको राजाको घोक्रो फुटाइदियो। त्यो देखेर पिशाचको पूरै टोली भागे र त्यहाँ कहिल्यै फर्केर आएनन्। यसरी शिप्पैतारोले उसको सानी नानी मात्र होइन, पूरै गाउँ बचायो।”

यो कथाको लागि चित्रकारले महिलालाई धन्यवाद दियो। सौभाग्य पनि त्यही बसेर कथा सुनिरहेको थियो। “ती पिशाचहरुले कुन रूप लिए होलान्?” चित्रकारले सोध्यो। “बिरालोहरुको,” महिलाले बिस्तारै भनिन् ताकि सौभाग्यले नसुनोस्। तर सौभाग्यले सुनिहाल्यो, अनि दुःखी भएर महिलातिर हेर्यो अनि बिस्तारै उठेर कोठाबाहिर गयो।

चित्रकारले कुकुरको त्यो निष्ठताप्रति नतमस्तक हुँदै ब्रस मसीमा चोप्यो अनि कुकुरको चित्र बनायो। सौभाग्य यस पटक दिनभरि नै त्यहाँ फर्किएर आएन ।

ती महिलाले पाँचौं गीत गाउँछिन्ः

मेरी प्यारी सानी बिरालु, दुधजस्तै सेती
वसन्तको फूलवारी छ तिम्रो मुहारमा
रेशमजस्तै नरम तिम्रो शरीर
तिमी अद्वितीय छौ तिम्रो परिवारकी
मेरी प्यारी ! तिमी कोमल छौ
कति मिठास छ तिमीमा
तिमी पवित्र छौ, अद्वितीय
तिमी, तिम्रो परिवारकी
मेरी प्यारी ! नसोच तिमीले आफूलाई
त्यो पिशाचको परिवारकी
त्यस्तो परिवारमा तिमीजस्तो
सुन्दर, सुवसिली र अद्वितीय
असम्भव छ जन्मिन पनि।

अर्को दिन जब चित्रकार गुन्द्रीमा बस्यो, त्यहाँ सौभाग्य थिएन। केही समय त उसले त्यो तीनरङ्गे बिरालोको बारेमा केही सोच्नै सकेन। उसले आफ्नो मस्तिष्कलाई मृगतिर मोड्न भने सफल भयो। उसले चित्रमा ती जनावरहरुलाई चित्रित गर्नु थियो, जो बुद्धको अन्तिम बिदाइमा सहभागी भएका थिए तर बिरालो उनीहरूमध्येमा पर्दैनथ्यो।

शुरुवातमा ऊ उदासीमा डुब्यो। बिस्तारै बिस्तारै उसले एक घना सुन्दर जङ्गल कतै उज्यालो, कतै अँध्यारो जङ्गलमा आफूलाई मृगको रुपमा घाँसको झाडी नजिकै पायो। मृग एकदम सावधान, परपरको आवाज सुन्नको लागि अति होसियार कुनै आवाज बिना शान्त उभिरहेको थियो। उसले मृगहरुको ठूलो समूहलाई नेतृत्व गर्दै कहिले गोप्य घाँसे मैदानमा पुर्याउँथ्यो। पानीका स्रोतहरु आफ्नो सुँघ्ने सामर्थ्यबाट प्रतिस्पर्धी समूहले र शिकारीहरुले भन्दा पहिले पत्ता लगाउँथ्यो। कुनै खतरा आइपरे समूहलाई सुरक्षित स्थानमा पुर्याउने जिम्मा पनि उसैको थियो। उसको शरीरका थोप्लाहरु कुनै गहनाभन्दा कम थिएनन्। ऊ मन्दिरमा रहेको सुन्दर पानस भन्दा सुन्दर थियो। उसका आँखाहरूमा लाजालुपन र जंगलीपनको गजबको संयोजन थियो।

बिस्तारै, जब चित्रकार मृग आफ्नो काल्पनिक जङ्गलमा घुमिरहेको थियो बिस्तारै आफूमा बुद्धको आत्मालाई महसुस गर्न थाल्यो। उसलाई थाहा थियो कि ऊ चित्तल हरिण थियो। उसको समूह र अर्को समूहसँगको भेट शिकारीहरुसँग भयो। त्यो समूहको नेता ऊजस्तै सुन्दर थियो। उसको मुटु चट्याङ्गजस्तै धड्किन थाल्यो, आँखाअगाडि अँध्यारो छायो। उसलाई आफ्नोभन्दा पनि आफ्नो समूहको चिन्ता थियो। त्यहाँ शिकारीको नेतृत्व एउटा राजाले गरेको थियो।

राजाले दुवै हरिणका नेताहरुलाई हेर्यो अनि भन्यो, “दुवै अति सुन्दर छन्, यिनीहरुलाई नमार्नु तर तिनीहरूले पाएको जीवनदानको बदलामा अरूलाई हाम्रो भोजमा ल्याउनु पर्छ।” तब त्यो हरिण जसमा बुद्धको आत्मा बसेको थियो भन्यो, “यदि हामीहरू शिकार भयौँ भने प्रत्येक दिन धेरै हरिणहरु मारिनु पर्छ। त्यसैले हामी चिठ्ठाजस्तो तानौँ जसको भाग्यमा मर्ने आउँछ, त्यो स्वेच्छाले मृत्यु स्वीकार गरौँ ताकि झुण्ड सुरक्षित रहोस्।” एकदिन गर्भिणी मृगिणीको भागमा त्यो दुर्भाग्य पर्यो जो अर्को समूहको सदस्य थिई। ऊ आफ्नो नेतासमक्ष गई अनि आफ्नो बच्चा जन्मिने समयसम्म बाँच्न दिनुहोस्, त्यसपछि स्वेच्छाले जान्छु भनेर अनुरोध गरी। त्यो कुरा उसको नेताले अस्वीकार गर्यो। तब ऊ यताको नेतासमक्ष पनि त्यही अनुरोध लिएर आई। उसले त्यो मृगिणीलाई सान्त्वना दिँदै भन्यो, “तिमी आफ्नो समूहमा जाऊ, म तिम्रो स्थानमा जान्छु ।”

चित्रकार जो मृगको स्वरूपमा आफूलाई स्थापित गरेको थियो, उसले जुन कोमलता र करुणा त्यो गर्भको बच्चामा देखायो त्यसले सो मृगको मनमा रहेको सबै आतंक र डरलाई शान्तिमा बदलिदियो। जब मृग राजदरबारमा पुग्यो, भान्से आश्चर्यचकित भयो अनि उसलाई राजा भएको ठाउँमा लाग्यो। राजाले पनि आश्चर्य हुँदै सोध्यो, “मैले त तिमीलाई जीवनदान दिएको होइन र? तिमी किन आएको?”

मृगले जवाफ दियो, “हे राजा! चिठ्ठा त एउटा गर्भिणी मृगिणीमाथि पर्यो। मैले अरुलाई उसको स्थान लिइदेऊ भनेर भन्नु राजाको कर्तव्य होइन, त्यसैले यसको सामना मैले आफैँले गर्नु पर्छ।”

राजा त्यो मृगको उदारता देखेर भावुक भयो अनि ऊ अनि मृगिणी दुवैलाई जीवनदान दियो।

मृग अझै सन्तुष्ट थिएन, त्यसैले उसले दुवै समूहका मृग अनि जङ्गलमा रहेका अन्य मृगहरूको बारेमा मात्र नभई सबै जनावरहरूको बारेमा पनि सोध्यो। राजाले सबैलाई अभयदान दिएपछि मृगले राजालाई आशीर्वाद दिएर फर्कियो।

चित्रकारले मृगको त्यो करुणा र साहसलाई महसुस गरिसकेपछि तुरुन्तै ब्रस, मसीमा चोप्यो अनि मृगको चित्र बनायो। चित्र बनाइसकेपछि, अचानक सौभाग्य चित्रकारको छायाँबाट बाहिर फुत्त निस्कियो। अनि चित्रलाई गहिरिएर हेर्यो, अनि सुस्त स्वरमा “म्याउँ” गर्यो शायद भनिरहेको छ, “यहाँ मेरो लागि कुनै ठाउँ छैन?”

चित्रकारले धेरै जनावरका चित्रहरू बनायो। प्रत्येक जनावरमा कुनै बेला बुद्धको आत्माले बास गरेको थियो या तिनीहरूले बुद्धको सेवा गरेका थिए। तिनीहरू जस्तो काठफोर चरो, त्यो खरायो जो भोको मगन्तेको लागि आफूलाई आगोको भेट चढाउन तत्पर भयो, त्यो सिंह जसले साना बाजहरुलाई बचाएको थियो, त्यो हाँस जसले आफ्ना सुनौला पखेटा त्यो बुढी महिलालाई दिएको थियो, त्यो बुद्धिमान सानु बाख्रा जसले ब्वाँसोहरुलाई बचायो।

उसले एउटा बाँदरको पनि चित्र बनायो, जसमा एक पटक बुद्धको आत्माको बास थियो। जङ्गलमा बाटो भुलेको एउटा मान्छे गहिरो खाल्टोमा खस्यो। उसको पीडादायी आवाज त्यो बाँदरले सुन्यो र उसलाई जोगाउन त्यो खाल्टोमा पस्यो। आफ्नो बलको परीक्षण गर्नको लागि आफ्नो कम्मरमा ढुङ्गा बाँधेर उक्लियो। अन्त्यमा त्यस मान्छेलाई बाहिर निकाल्न सफल भयो। ऊ यस्तो थाकेको थियो कि ऊ सुत्यो। सुत्नुभन्दा पहिले मानिसलाई उसले एक्छिन आफूलाई कुर्न भनेको थियो।

त्यो भोको र थकित मान्छेको मनमा पाप पलायो। उसले सोच्यो, यो बाँदरलाई मारेर यसको मासु खान पाएँ भने घर पुग्ने शक्ति पाइन्थ्यो। उसले त्यहाँ भएको ढुङ्गो उठाएर बाँदरको टाउकोमा हान्यो। भोको अनि थकित हातमा त्यति तागत थिएन। बाँदर चोटले बिउँझियो र छक्क पर्यो, जुन मान्छेलाई उसले बचाएको थियो त्यही उसलाई मार्न चाहन्थ्यो। बाँदरले त्यो मान्छेलाई जङ्गल कटाएर उसको घरको छेउमा लागेर छोडिदियो, चाहे त्यो मान्छे कृतघ्न नै किन नहोस्, उसले त्यहाँ पनि करुणा देखायो।

चित्रकारले सम्झियो कसरी बाँदरले बुद्धलाई फलफूल ल्याएर दिन्थ्यो जतिबेला उनी जङ्गलमा तपस्यारत हुन्थे। बाँदरको बारेमा सम्झिदै उसके ब्रस मसीमा चोप्यो अनि बाँदरको चित्र बनायो। चित्रकारले जति पनि जनावरको चित्र बनाउँथ्यो, त्यति नै सौभाग्य उदास हुँदै जान्थ्यो अनि चित्रकारको मुखमा करुण आँखाहरुले हेर्दै आफ्ना साना पञ्जाहरुले चित्रकारको बाहुला सुम्सुम्याउथ्यो।

बूढी महिलाले छैटौँ गीत गाइन्ः

उनी भोकै छिन्, पातली
रुचि छैन खानामा
हाम्री सानी बिराली
दिनभरि खोज्छु तिमीलाई
रोई रहेछन् मेरो आँखाहरू
तिमी कहाँ छौ कहाँ
फेला पर्दिनौ त आजकाल
तिमी भोकै हिँड्छेउ कहाँ कहाँ
तिमी पातली भइसक्यौ मेरो म्याउँ

एक दिन चित्रकार गुन्द्रीमा बसेर एक मुश्किल समस्याको बारेमा सोचिरहेको थियो जुन पहिले पनि धेरै पटक झेलेको थियो। सङ्खेकिराको भलाद्मीपना, हात्तीको शानदार शक्ति र बुद्धिमत्ता, घोडाको साहस, राजहाँसको अद्वितीय सुन्दरता, भैँसीको धैर्य, कुकुरको स्वामीभक्ति, मृगको उदारता सबैले बुद्धको सेवा गरेका थिए या अझ कसैमा त बुद्धको आत्माको अवतरण पनि भएको थियो। काठफोर चरा, हाँस, सानु बाख्रा, बाँदर सबै अहिंस्रक जनावर नै हुन् । अझ हिंस्रक भनेर चिनिएको सिंहले समेत आफ्नो भोक मेटाउन मात्र हिंसा गर्छ, जनावरको हत्यामा गौरव र मनोरञ्जन गर्दैन।

तर चित्रकारले बाघलाई पनि सम्झियो, जो बुद्धको अन्तिम बिदाइमा त्यहाँ उपस्थित थियो। के उसले पनि बुद्धको आशीर्वाद पाएको थियो होला त? यो कसरी हुन्छ होला। बाघ त धेरै हिंस्रक जनावर हो। तिनीहरू जङ्गलको छहारीमा, झाडीमा लुकेर शिकार गर्छन् उनीहरूका आँखा आगोजस्तै बल्छन्। पानी खाने ठाउँमा समेत उनीहरूले घात लगाएर शिकार गर्छन्। गाउँमा पसेर खेतमा काम गरिरहेका मान्छे, घरको आँगनमा खेलिरहेका बच्चाहरु मारेर खाएको पनि सुनिन्छ। त्यस्तो जनावरले कसरी बुद्धको आशीर्वाद पायो होला। त्यस्तो जनावरलाई बुद्धले कसरी आशीर्वाद दिए होलान्, चित्रकारको मनमा यस्तै यस्तै खेलिरह्यो।

धेरै समयसम्म चित्रकार शान्त भएर बसिराख्यो, अन्त्यमा उसले सम्झियो- बाघले आफ्नो साथी, परिवार र सन्तानहरूको लागि गरेको योगदान अनि उनीहरू खतरामा पर्दा गर्ने संघर्ष त अद्वितीय नै हुन्छ। त्यो नै शायद कारण हुनसक्छ, बुद्धको आशीर्वाद बाघले प्राप्त गरेको। त्यहाँ निर्दयतामा प्रेम छ, अनि प्रेममा निर्दयता। त्यसैले बाघले चित्रकारको प्रेम प्रतिको धारणामा अर्को आयाम थपिदियो।

चित्रकारले भुलिसकेको अर्को कुरा सम्झियो। जसमा उ राजकुमार सिद्धार्थ हुँदा कसरी यशोधरासँग उसको बिहे भएको थियो भन्ने एक एउटा घटना थियो। त्यो एक खुल्ला प्रतियोगिता थियो, जसमा धेरै ठाउँका युवराजहरु प्रतियोगी थिए। उसले घोडामा बसेर जसरी तीरन्दाजी गर्यो, त्यो कसैले गर्न सम्भव नै थिएन। यशोधरा सुनको पाल्कीमा बसेर पर्दा पछाडिबाट त्यो हेरिरहेकी थिइन्। जब ऊ विजेताको रुपमा यशोधराको नजिक गएको थियो, उसले भनेको थियो, “पूर्वजन्ममा तिमी बघिनी थियौ, त्यो बेला पनि मैले यस्तै खुल्ला प्रतिस्पर्धामा भिडेर म बाघले तिमीलाई प्राप्त गरेको थिएँ।” बुद्ध यदि बाघ स्वरूपमा थिए र क्रुर जीवनयापन गरेका थिए भने त त्यहाँ कुनै न कुनै महानता पक्कै हुनुपर्छ। बाघको त्यो प्रज्वलित बलिदानले चित्रकारलाई ब्रस मसीमा चोप्न बाध्य बनायो अनि उसले बाघको चित्र कोर्यो।

बाघको चित्र सम्पन्न हुनासाथ सौभाग्य चित्रकारको छायाँबाट बाहिर निस्कियो। जब उसले बाघको चित्र देख्यो, उसको सम्पूर्ण शरीर थरर काम्यो अनि चित्रकारतर्फ हेर्यो, “अब बाघ नै बुद्धको अन्तिम बिदाइमा स्थान पाउँछ भने त” उसले सोच्यो होला, “बिरालो त सानो अनि धेरै भलाद्मी हुन्छ हैन त चित्रकार महोदय!”

“पक्का पक्का! अबको चित्र तिम्रै हो बिरालो! त्यो महान् पवित्र आत्माले तिमीलाई पनि आशीर्वाद पक्कै दिएको हुनुपर्छ,” चित्रकार अब धेरै सङ्कटमा आइसक्यो। “सौभाग्य!” उसले कोमल स्वरमा बिरालोलाई हातमा उठाउँदै भन्यो, “मैले सकेसम्म बिरालोको चित्र बनाउँथे त्यसले मलाई पूर्णता र सन्तुष्टि दिन्थ्यो तर सबैलाई थाहा छ जनावरहरूमा बिरालो मात्र त्यो जनावर हो जसले बुद्धको शिक्षालाई अस्वीकार गरेको थियो। त्यसैले उसले आशीर्वाद पाएन अनि त्यही दुःखमा होला शायद बिरालोले पिशाचसँग साथ जोड्यो।”

सौभाग्यले उसको सानु बाटुलो टाउको चित्रकारको छातीमा राख्यो अनि म्याउँ गर्यो जस्तो कुनै बच्चा अथाह पीडामा रोइरहेको छ। उसले सक्दो उसलाई संयम राख्ने कोसिस गर्यो अनि ती महिलालाई बोलायो। “यसलाई लागि राम्रो माछा किनेर खान देऊ,” उसले भन्यो, “यो तस्बिर पूरा भएर नपठाएसम्म यसलाई भित्र आउन नदेऊ, यसले उसको र हाम्रो दुवैको मन भाँचिन्छ।”

“त्यही त, यसले चित्र बिगारिदेला भनेर मलाई पनि साह्रै चिन्ता लाग्थ्यो,” उनले भनिन् अनि आफूले बिरालोलाई घरमा ल्याएर ठूलो गल्ती भयो भन्ने महसुस गरिन्। उनीहरूको सारा जीवन त्यही चित्रमा झुन्डिएको थियो।

“त्यसो होइन,” चित्रकारले भन्यो, कुराको गम्भीरता ती महिलाले बुझ्न सकेकी थिइनन्। चित्रकार फेरि आफ्नै धुनमा फर्कियो, ओहो! उसको दरिद्रता कस्तो थियो, अहिले उसको अवस्था कस्तो छ। उसको आगाडि करुणावान् बुद्धको महानिर्वाणको अद्वितीय चित्र उसको हातबाट बनिरहेको थियो, उसले बुद्धको हरेक पाटो आफैँले महसुस गर्यो, उसले चित्रमा मनुष्य, देवतादेखि विभिन्न जनावरहरूको चित्रण गरेको थियो। त्यो रेशमको पर्दामा करुणा, प्रेम, त्याग एकसाथ छल्किरहेको थियो।

तर त्यहाँबाट कोही अहिले पनि अनुपस्थित थियो। भान्साबाट बिरालोको सानो मलिन स्वरको म्याउँ भन्ने आवाज आइरहेको थियो। महिलाले बिरालोलाई खुवाउने प्रयास गरिरहेकी थिइन्। चित्रकारले सोच्यो, “त्यो सानु बिरालोले साँच्चै के सोचेको होला, भलाद्मी छ, नम्र छ, कोमल छ र पनि सधैँको लागि श्रापित पनि छ। अरु सबै जनावरले बुद्धको आशीर्वाद पाएर स्वर्ग गए तर बिरालोको सामुन्ने नै उसको लागि मुक्तिको मार्ग सदाका लागि बन्द भयो।”

“ओहो! म त्यस्तो निर्दयी कसरी हुन सक्छु ?” ऊ बर्बरायो, “यदि त्यो चित्र गलत भयो भनेर बिहारबाट अस्वीकृत हुन सक्छ। भैगो! उनीहरूले त्यसो गर्छन् भने गरून्,” उसले निश्चय गर्यो, “म बरु भोकै मर्छु।” उसले ब्रस उठायो, मूलको स्वच्छ पानीमा चोबाल्यो, मसीमा चोब्यो अनि जनावरको समूहको अन्त्यमा बिरालोको चित्र बनायो।

उसले ती महिलालाई बोलायो। “सौभाग्यलाई लिएर आऊ,” उसले भन्यो, “मैले उसलाई दिनसक्नेसम्मको खुशी पक्कै दिन्छु।” सौभाग्यले जसै ढोकाको चेपबाट चित्र देख्यो, ऊ दौडेर चित्रसामु पुग्यो, धेरैबेरसम्म चित्रलाई हेरिरह्यो। उसले बिस्तारै चित्रकारतर्फ हेर्यो, त्यो उसको हेराइमा अलौकिक र अनन्त शान्ति स्पष्ट महसुस हुन्थ्यो। उसले बडो सम्मानका साथ चित्रकारको सामुन्ने झुक्यो, बिस्तारै शान्त भयो, त्यहीँ उसको मृत्यु भयो।

वृद्ध महिलाले सातौँ गीत गाइन्ः

म कसरी विश्वास गरौँ प्रिय
कसरी रुनु त्यो तिम्रो अनन्त खुशीमा
तिमी मर्यौ भनूँ कि तिमी बाँच्यौ भनूँ
तिम्रो चिहानको वरिपरि
फूल फूलेका छन्, आनन्दको
त्यो आरुका फूलहरूले, सम्मानमा
घण्टी बजाउँछन् तिम्रो मुक्तिको
त्यो सानो पुरानो घण्टीमा
बतास पार हुँदा
बज्दो रैछ
अनन्त खुशीको स्वर
हो प्रिय! अनन्त खुशीको
म भन्न सक्दिन प्रिय! सौभाग्य
तिमी मर्यौ, तिमी पुनर्जीवित हौ।

अर्को बिहान तस्बिर पूरा भयो भन्ने सुनेपछि बिहारको प्रमुख भिक्षु चित्र हेर्नका लागि आए। अभिवादनपश्चात जब भिक्षुले लामो समय चित्रलाई हेरे, अनि बिस्तारै भने, “ओहो! कस्तो अलौकिक चमक!” अनि एकाएक उनको अनुहार कठोर भयो, “यो तिमीले जनावरको लहरको अन्तिममा कसको चित्र कोरेको?”

“यो बिरालो हो,” चित्रकारले भन्यो, उसको हृदय चरम निराशाले बोझिल भयो।

“तिमीलाई थाहा थिएन?” भिक्षु अझै कठोर भएर सोधे, “बिरालोले बुद्धसँग द्रोह गरेको थियो, उसले बुद्धको आशीर्वाद पाएको थिएन, न ऊ स्वर्गको अधिकारी हो ।”

“हो, मलाई थाहा थियो,” चित्रकारले बिस्तारै लत्रिएको स्वरमा भन्यो।

“प्रत्येक व्यक्तिले आफ्नो कर्मको फल भोग्नु पर्छ,” भिक्षुले भने,”बिरालोले पनि आफ्नो दुराग्रहको र तिमीले पनि तिम्रो। कसैले पनि आफ्नो कर्मलाई मेटाउन सक्दैन, म यो चित्र लैजान्छु र भोलि औपचारिक रुपमै तिम्रो यो चित्र जलाइदिन्छु। अब म अर्कै चित्रकारको चित्र बिहारमा राख्नु पर्ला।”

दिनभरि नै ती महिला भान्सामा बसेर रोइरहिन्, उनले बिरालोलाई घरमा ल्याएकोमा पछुताइरहेकी थिइन्। उनले गर्दा चित्रकार बर्बाद भए।

चित्रकार पनि उदास भएर हंसराज फूलको झाडीसँगै बसिरह्यो। उसले बनाएको त्यो चित्र गयो, जसमा उसले आफ्नो जीवन समाहित गरेको थियो।

भोलि त्यो चित्र निर्दयतापूर्वक जलाइने छ। उसको सबै मिहिनेत र आशाहरु नष्ट भए तैपनि उसलाई कुनै पछुतो भने छैन। उसले पछिल्लो दिनमा जति प्रेम, करुणा र बलिदान आफ्नो कल्पनामा बाँच्यो, त्यो सबै सौभाग्यको अन्तिम समयको त्यो महान् खुशीको अघि केही पनि छैन।

त्यो रात चित्रकार आँखा झिमिक्क पनि नगरी त्यो गहिरो रातमा डुबिरह्यो। ती बूढी महिलाले पनि उसलाई केही भन्न सकेकी छैनन्। एउटा धूमिल प्रकाश उसको आँखामा छायो सँगै उसले केही व्यक्तिहरू उसको घरतिर दौडँदै आएको देख्यो। उनीहरूको बीचमा ती प्रमुख भिक्षु पनि थिए।

भिक्षु हतार-हतार भित्र आए। उनी रोइरहेका थिए, “आउनुहोस्, हेर्नुहोस् आज अलौकिक चमत्कार भयो, बुद्धको दया र करुणाको दर्शन हामीले आफ्नै आँखाले देख्यौँ।”

उसले केही बुझ्नै सकेन, छक्क र निःशब्द उनीहरूको पछिपछि ऊ पनि बिहारतिर गयो। गाउँमा, बाटोमा उसले प्रफुल्लित स्वरहरु मात्र सुनिरहेको छ। सबै छक्क छन्, कसैलाई कम्मरको पेटी बाँध्ने सुर छैन भने कसैको मुख खुल्लै छ। सबै गाउँ बिहारमा थुप्रियो।

उसले बनाएको त्यो चित्र बिहारको केन्द्रमा रहेको भित्तोमा राखिएको थियो, त्यहाँ सुगन्धित अगरबत्ती र उज्ज्वल दियोहरु बलिरहेका थिए। जब उसले चित्रलाई राम्रोसँग हेर्यो, ओहो! उसका आँखाहरू एकाएक भरिए, ऊ उभिनै सकेन, ऊ घुँडा मारेर त्यही थचक्क बस्यो र हात जोडेर रुन थाल्यो, “हे महान् दयालु, करुणावान् !”

उसले बुद्धले आफ्नो छातीमा दुवै हात राखेर सुतेको चित्र बनाएको थियो। तर अहिले त बुद्धको हात त आशीर्वाद मुद्रामा त्यहाँसम्म पुगेको थियो, जहाँ जनावरको लहरको अन्तिममा शिर झुकाएर दण्डवत् मुद्रामा बसिरहेको बिरालोको सानु सेतो टाउको थियो जसको मुहारमा प्रदीप्त अलौकिक र अनन्त शान्ति पोखिएको थियो।

त्यहाँ ती बूढी महिलाको आठौँ गीत कतै गुन्जिरहेको थियोः

एउटा महान् रहस्य
म बुझ्न सक्दिनँ
म बुझ्छु केवल
करुणा बुद्धको
जो अनन्त छ
शायद! यही हो मैले बुझ्ने
सबैभन्दा सुन्दर तिमी
अनि तिम्रो करुणा
तिम्रो करुणा।