साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हेनरी जेम्सको चर्चित उपन्यास ‘डेइजी मिलर’ शृंखला ११

Chovar Blues Mobile Size

चार

श्रीमती वाकरले डेइजी नराम्रो आचरण भएकी युवती हुन्‌ भने तापनि विन्टरबोर्नले उनको कुरामा पटक्कै विश्वास गरिरहेका थिएनन्‌ । डेइजी राम्री र प्रतिभा सम्पन्न युवती हुन्‌ भन्ने भ्रममा उनी अझै पनि थिए। पिन्सियन बगैँचामा आफूले डेइजीसँग गरेको व्यवहारले उनको चित्त दुखिरहेको विन्टरबोर्नले महसुस गरेका थिए, त्यसैले डेइजीलाई उनको प्रशंसा गरी खुसी पार्नको लागि भोलिपल्ट उनी डेइजी र उनको आमा बसेको होटलमा गएका थिए। विन्टरबोर्नले डेइजी होटलमा भए नभएको होटलका कामदारसँग सोधे, तर उनीहरू मुखामुख गरेर हाँसिरहेका थिएनन्‌ । उनले उनीहरूबाट श्रीमती मिलर र उनकी छोरी होटलमा नभएको थाहा पाए | पर्सिपल्ट पनि विन्टरबोर्नले आफ्नो भेट्ने क्रम पुनः दोहोर्याएका थिए, तर दुर्भाग्यवश त्यस दिन पनि उनले ती आमा-छोरीलाई भेट्न सकिरहेका थिएनन्‌ । त्यही दिन साँझ श्रीमती वाकरले भोज समारोहको आयोजना गरेकी थिइन्‌ । विन्टरबोर्न र श्रीमती वाकरको पछिल्लो कुराकानी अमैत्रीपूर्ण एवं दयारहित भए तापनि उनले श्रीमती वाकरबाट भोजको समारोहमा निम्ता पाएका थिए। उनी श्रीमती वाकरको भोजको समारोहमा अतिथिको बिचमा थिए । श्रीमती वाकर, बिदेशमा बस्ने विभिन्न अमेरिकी नारीमध्ये एक थिइन्‌। उनले विदेशमा बस्दा युरोपेली समाजको अध्ययन गरेकी थिइन्‌। उनलाई विभिन्न युरोपेली भाषाको समेत ज्ञान थियो । यो भोजको समारोहमा तिनले विभिन्न प्रकारका संस्कृति र संस्कारमा जन्मेका मानिसहरूलार्इ निमन्त्रणा गरेकी थिइन्‌। श्रीमती वाकरले आयोजना गरेको यो भोजको समारोह अध्ययन गर्नको लागिपाठ्यपुस्तक जस्तै देखिएको थियो । विन्टरबोर्न उपस्थित हुँदा त्यहाँ डेइजी थिइनन्‌ । उनले केही समयपछि डेइजीकी आमा एकदम लाज र पश्चाताप मान्दै एक्लै भोजको समारोहमा उपस्थित भइरहेको देखे। उनको कपाल ठुलो निधारमाथि अरू बेलाभन्दा बढी खुजुमुज्ज भएको थियो । तिनी श्रीमती वाकर भएतर्फ गइन्‌ र विन्टरबोर्न पनि त्यतैतर्फ लागे ।

“तपाईँले देख्नुभयो होला, म यहाँ एक्लै आएकी छु। म यसभन्दा अगाडि विशेषतः रोममा कहिल्यै पनि भोज समारोहमा एक्लै उपस्थित भएकी थिइनँ । म पहिलो पटक एक्लै उपस्थित भएकिले यस्ता समारोहमा कस्ता उपहार ल्याउनुपर्दछ, कस्तो पोसाकमा उपस्थित हुनुपर्दछ र त्यहाँ गइसकेपछि के के कुरा गर्नुपर्दछ भन्ने थाहा नभएकाले मलाई ज्यादै डर लागिरहेको थियो । मैले यस समारोहमा प्यान्डोल्फ वा युजिन वा अरू कोहीलाई साथमा लिएर आउन चाहिरहेकी थिएँ तर डेइजीले मलाई एक्लै पठाएकी थिइन्‌। म यस्ता समारोहमा एक्लै उपस्थित हुन बानी परेकी नै छैन,” आत्तिँदै श्रीमती मिलरले भनिन्‌।

‘हामीले यहाँ तपाईँकी छोरीलाई युवासाथीको साथमा भेट्न पाउँदैनौं र ?’ चासो राख्दै श्रीमती वाकरले सोधिन्‌ ।

‘अँ, डेइजीले सम्पूर्ण लुगा लगाइसकेकी छिन्‌, उदास हुँदै श्रीमती मिलरले भनिन्‌ । उनी ऐतिहासिक दार्शनिका नभए पनि उनलाई सधैँ आफ्नी छोरीको समसामयिक जीवनको प्रगतिको ज्यादै कम महत्त्वपूर्ण घटनाको समेत जानकारी हुनुपर्दथ्यो । ‘डेइजीले रात्रीभोजन अगाडि यहाँ उपस्थित हुनकै लागि भनेर लुगा लगाइसकेकी हुन्‌। उनको साथमा एउटा इटालेली युवक पनि थिए। डेइजीले उनलाई तपाईंले आयोजना गर्नु भएको भोज समारोहमा ल्याउन चाहिरहेकी थिइन्‌ । तिनीहरू अहिले पियानोको सङ्गीतमा व्यस्त भइरहेका छन्‌। तिनीहरूले पियानो बजाएर छिटै सक्दैनन्‌ होला जस्तो देखिन्थ्यो। गिओभानेलिले मन्त्रमुग्ध हुनेगरी पियानो बजाउँदछन्‌। मलाई लाग्दछ, तिनीहरू चाँडै नै यहाँ आउनेछन्‌, आशावादी हुँदै श्रीमती मिलरले भनिन्‌ ।

sagarmani mobile size

‘तिनी यस्तो तरिकाले आउँछिन्‌ जस्तो मलाई लाग्दैन,’ श्रीमती वाकरले भनिन्‌।

‘अँ रात्रिभोजनभन्दा अगाडि नै लुगा लगाएर तिनघण्टा पर्खिरहनुको कुनै अर्थ हुँदैन भनी मैले डेइजीलाई भनेकी थिएँ | गिओभानेलिसँग पियानो बजाउँदै बस्नको लागि ती राम्रा लुगा लगाउनुको अर्थ मैले बुझ्न सकिरहेकी थिइनँ’ हेइजीकी आमाले उत्तर दिइन्‌ ।

‘यो त एकदम बेखुसीको कुरा हो । यो मैले उनीप्रति गरेको साहसपूर्ण गुनासोको बदला हो। तिनी यहाँ आएपछि म तिनीसँग बोल्नेछैन,’ श्रीमती वाकरले रिसाउँदै विन्टरबोर्नलाई सम्बोधन गरेर भनिन्‌।

डेइजी एघार बजेपछि श्रीमती वाकरले आयोजना गरेको भोजको समारोहमा आएकी थिइन्‌ तर त्यो अवसरमा एउटा युवतीको लागि मात्र पर्खेर स्वागत गरिएको थिएन। उनले साथमा एउटा युवकलाई पनि लिएर आएकी थिइन्‌। डेइजी बिस्तारै हिँडिरहेकी थिइन्‌। उनी हिँड्दा हल्का आवाज निस्किरहेको थियो। उनी ज्यादै राम्री र खुसी देखिएकी थिइन्‌ । उनी मुस्कुराउँदै गिओभानेलिसँग गफ गर्दै अगाडि बढिरहेकी थिइन्‌ । उनले साथमा ठुलो पुष्पगुच्छा लिएर आएकी थिइन्‌ । भोजको समारोहमा उपस्थित भएका सबै अतिथिले कुरा गर्न छाडी फर्केर उनैलाई हेरिरहेका थिए । डेइजी सिधै श्रीमती वाकर भएनिर गइन्‌ । ‘तपाइँले म आउनेछैन भनी ठान्नुभयो कि भनेर चिन्ता मान्दै मैले आमालाई म आउँदैछु भनी पठाएकी थिएँ। मैले गिओभानेलिलाई उहाँ यहाँ आउनुभन्दा अगाडि केही कुरा अभ्यास गराउन चाहेकी थिएँ। तपाईंलाई थाहा छ ? उहाँले राम्रो गीत गाउनुहुन्छ। मैले उहाँलाई यस समारोहमा तपाईंको लागि गीत गाइदिन अनुरोध गर्न चाहन्छु। उहाँ गिओभानेलि हुनुहुन्छ। मैले उहाँलाई तपाईँसँग परिचय गराइसकेकी थिएँ, होइन र ? उहाँको एकदम मिठो स्वर छ अनि उहाँलाई कर्णप्रिय गीतको ज्ञान छ र उहाँले ती गीत राम्रोसँग गाउन सक्नुहुन्छ। मैले उहाँलाई यो समारोहमा तपाईंका अतिथिका लागि पनि गीत गाउने बनाएकी छु। अब हाम्रो होटलमा तपाईंले आयोजना गरेका भोजको समारोहको अवसर निकै महत्त्वपूर्ण हुनेछ ।’ यी सम्पूर्ण कुरा डेइजीले मीठो, तेजिलो र स्पष्ट सुनिने स्वरमा श्रीमती वाकरतर्फ हेर्दै र कोठामा विस्तारै हिँड्दै भनेकी थिइन। यी कुरा भन्दा उनले श्रीमती वाकरको काँधमा धेरैपटक मुसारिरहेकी थिइन्‌ । ‘मैले चिनेका मानिस यो समारोहमा कोही हुनुहुन्छ त ?’ डेइजीले श्रीमती वाकरलाई सोधिन्‌ ।

‘मलाई लाग्दछ, हरेकले तिमीलाई चिन्नुहुन्छ !’ आश्चर्य मान्दै श्रीमती वाकरले भनिन्‌ । तिनले हतारिँदै गिओभानेलिलाई अभिवादन गरिन । उनी सम्मानपूर्ण तरिकाले उभिइरहेका थिए। उनी मुस्कुराइरहेका थिए। उनले सेता दाँत देखाउँदै शिर निहुराएर अभिवादन फर्काएका थिए अनि जुँगामा ताउ दिँदै आफ्ना आँखाहरू माथितिर घुमाएका थिए। उनले एउटा सभ्य इटालेलीले रात्रिभोजमा अनुकरणीय सम्पूर्ण उचित नियमको पालना गरिरहेका थिए। उनले ज्यादै राम्रोसँग आधादर्जन जति गीत गाएका थिए, तर श्रीमती वाकरले गिओभानेलिलाई गीत गाउन अनुरोध गर्ने मानिसलाई चिन्न सकिरहेकी थिइनन्‌ । डेइजीले गिओभानेलिलाई गीत गाउन नभनेजस्तो लाग्दथ्यो। इेइजी गिओभानेलीले पियानो बजाउँदै गीत गाएको ठाउँबाट टाढा थिइन्‌ । उनले मधुरो स्वरमा दाबी गर्दै भनिन्‌, ‘यी गीतको सबैले प्रशंसा गरिरहेका छन्‌। यस्तो काम अझ धेरै मानिसको बिचमा भए कति राम्रो हुन्थ्योहोला त ?’

‘लौन नि ! यी कोठा कति साना हुन्‌ ! हामी यहाँ त नाच्न सक्दैनौँ, ‘ डेइजीले विन्टरबोर्नलाई भनिन्‌ तर उनले विन्टरबोर्नलाई पाँच मिनेट अगाडि नै भेटिसकेकी थिइन्‌ ।

‘हामी नाच्न सक्दैनौँ भनी म निराश भएको छैन। म नाच्न नै चाहन्नँ, ‘ विन्टरबोर्नले भने ।

‘तपाईं साँच्ची नै नाच्न चाहनुहुन्न । तपाईँ ज्यादै घमण्डी मानिस हुनुहुन्छ । मलाई लाग्दछ, तपाईंले श्रीमती वाकरसँगको टाँगायात्रामा आनन्द लिनु भयोहोला,’ डेइजीले भनिन्‌ ।

‘अहँ, यो यात्राबाट मैले आनन्द लिन सकिरहेको थिइनँ । मैले तपाईंसँग यात्रा गर्न मन पराएको थिएँ,’ विन्टरबोर्नले भने।

‘हामीले रमाइलो आनन्द लिएका थियौँ। मेरो लागि त यो यात्रा एकदम राम्रो भएको थियो तर तपाईंले श्रीमती वाकरले भनेजस्तै अमैत्रीपूर्ण कुरा कहिल्यै सुन्नु भएको थियो त ? उनले बिचरा गिओभानेलिलाई एक्लै छाडी मलाई आफ्नो टाँगामा यात्रा गराउन चाहेकी थिइन्‌। यसो गर्नुको कारण उचित थियो त ? मानिसका विचार फरकफरक हुन सक्दछन्‌ तर मलाई लाग्दछ, उनको यस्तो विचार क्रूर थियो। गिओभानेलिले त यो यात्रा दस दिनसम्मको हुनुपर्दछ भनिरहनु भएको थियो,’ डेइजीले भनिन्‌ ।

‘उनले तपाईँसँग यति लामो टाँगायात्रा गर्ने कुरा नगरेको भए हुन्थ्यो । उनले एउटी गाउँले अमेरिकी युवतीसँग सार्वजनिक मूल सडक हुँदै आफूसँग यात्रा गर्ने प्रस्ताव नराखेको भए हुन्थ्यो,’ विन्टरबोर्नले भने ।

‘सार्वजनिक मूल सडकमा ? त्यसोभए उहाँले मलाई कुन ठाउँमा यात्रा गर्ने प्रस्ताव राखेको भए हुन्थ्यो त ? तैपनि पिन्सियोमा सार्वजनिक मूल सडक नै छैनन्‌ ? मलाई अचम्म लाग्दछ, म गाउँले अमेरिकी युवती होइनँ । मैले जानेसम्म अमेरिकी युवतीसँग यस्तो यात्रा गर्ने समय नै हुँदैन । मैले बुझ्न सकेकी छैन, किन त्यस्ता विचार राख्ने नारीको लागि मेरो बानी परिवर्तन गर्ने ? डेइजीले मायालु नजरले उनलाई हेर्दै भनिन्‌ ।

‘विवाहपूर्व धेरै युवासाथीसँग सम्बन्ध स्थापना गरेर ज्यादै रमाइलो आनन्द लिने बानी भएका धेरै युवतीलाई मैले भेटेको थिएँ । तपाईंको बानी पनि उनीहरूको जस्तै भएकोमा म दुःखी छु,’ विन्टरबोर्नले गम्भीर हुँदै भने।

‘मेरो बानी वास्तवमा तिनीहरूको जस्तै छ। म उनीहरूको जस्तै बानी भएकी एकदम खराब र कसैसँग नमिल्ने युवती हुँ। तपाईँले कहिल्यै यस्ता बानी नभएका राम्रा युवतीको बारेमा सुन्नुभएको छ ? तर मलाई लाग्दंछ, तपाईंले मलाई राम्री युवती भन्नुहुने छैन,’ मुस्कुराएर विन्टरबोर्नलाई एकोहोरिएर हेर्दै डेइजीले भनिन्‌ ।

‘तपाईं ज्यादै राम्री युवती हुनुहुन्छ। म चाहन्छु, तपाईंले केवल मसँग मात्र विवाहपूर्व मायाप्रीति गाँसेर ज्यादै रमाइलो आनन्द लिनु राम्रो हुन्छ। केवल मसँगमात्र ।’ विन्टरबोर्नले आफ्नो कुरा स्पष्टरूपमा भने।

‘ए ! तपाईँलाई धन्यवाद, धेरै धन्यवाद छ। मैले विवाहपूर्व धेरै युवासाथीसँग सम्बन्ध स्थापना गर्दै चरम आनन्द लिइरहेकी छु । मैले कल्पना गर्नैपर्दछ, तपाईँ मलाई यस्तो आनन्द दिने अन्तिम युवा हुनुहुन्छ, तर तपाईँले ज्यादै अमैत्रीपूर्ण व्यवहार गर्नुहुन्छ भन्न पाउँदा म एकदम खुसी छु,’ डेइजीले भनिन्‌।

‘तपाईँले ज्यादै बढी नै कुरा गर्नुभयो कि !’ विन्टरबोर्नले भने ।
डेइजीले खुसी भएर हाँस्दै भनिन्‌, ‘यदि मैले तपाईँलाई रिस उठाउन सक्ने अर्को मिठो कुरा भेट्टाएमा पछि नै भन्नेछु।’

‘त्यसो नगर्नुहोस्‌ न ! जब म रिसाउँछु, म सधैँको लागि एकदम अमैत्रीपूर्ण व्यवहार गर्ने हुनेछु। यदि तपाईंले मसँग सम्बन्ध स्थापना गरी चरम आनन्द लिन चाहनुहुन्न भने कम्तीमा पनि पियानो बजाउने साथीसँग त्यो आनन्द लिनबाट रोकिनुहोस्‌ । तिनीहरूलाई यस्तो कुरा थाहा नै हुँदैन,’ विन्टरबोर्नले भने।

‘मलाई लाग्दछ, तिनीहरूले यस्ता कुरा केही पनि बुझेका रहेनछन्‌, डेइजीले आश्चर्य मान्दै भनिन्‌ ।

‘न त यहाँका अविवाहिता युवतीले नै यो कुरा बुझ्दछन्‌,’ विन्टरबोर्नले भने।

‘यस्तो लाग्दछ, विवाहिता नारीहरूले भन्दा अविवाहिता नारीहरूले यो कुरा उचित तरिकाले बुझ्दछन्‌’ डेइजीले भनिन्‌ ।

‘अँ, जब तपाईं कुनै पनि ठाउँका स्थानीयवासीसँग व्यवहार गर्नुहुन्छ, तपाईं त्यो ठाउँको संस्कार अनुसार चल्नुपर्दछ । विवाहपूर्व युवक र युवतीबिच मायाप्रीतिको सम्बन्ध स्थापना गरी रमाइलो आनन्द लिने संस्कार त विशुद्ध अमेरिकी संस्कार हो। यो संस्कार रोममा छैन। जब तपाईं सार्वजनिक ठाउँमा तपाईँको आमाबिना गिओभानेलिसँग देखिनुहुन्छ भने, अनि….,’ विन्टरबोर्नले भने ।

“कस्तो अचम्म ! बिचरी आमालाई के को दोष ।’ डेइजीले रोकिँदै भनिन्‌।

‘यद्यपि तपाईंले गिओभानेलिसँग चरम आनन्द लिइरहनु भएको होला तर गिओभानेलिले त्यसो गरिरहेका छैनन्‌। उनले तपाईंसँगको सम्बन्धलाई योभन्दा फरक दृष्टिकोणले हेरिरहेका छन्‌,’ विन्टरबोर्नले भने ।

‘उहाँले तपाईँले जस्तो मन नपर्ने सुझाउ दिएर मलाई दिक्दार बनाइरहनु भएको छैन । तपाईँले सबैकुरा जान्न चाहनुहुन्छ भने सुन्नुहोस्‌, हामीले एकआपसमा चरम आनन्द लिइरहेका छैनौँ । हामीहरू केवल असल मित्र हौँ । अझ ज्यादै घनिष्ठ मित्र पनि हौँ,’ डेइजीले भनिन्‌ ।

‘ए, तपाईँहरू एक अर्कालाई माया चाहिँ गर्नुहुन्छ, अनि तपाईंहरूले चरम आनन्द नलिएर कुनै अर्कै काम गरिरहनु भएको छ त ?’ विन्टरबोर्नले भने।

डेइजीले विन्टरबोर्नलाई यस विषयमा खुलस्तरूपमा आफ्ना व्यक्तिगत विचारको बारेमा कुरा गर्ने अनुमति दिएकी थिइन्‌ । विन्टरबोर्नले आफ्नो यस्तो विचारले डेइजीको चित्त दुखाउला भन्ने अपेक्षा गरेका थिएनन्‌ तर उनी उठिन्‌ र रिसले रातो अनुहार बनाउदै विन्टरबोर्नको चित्त दुख्ने तरिकाले भनिन्‌, ‘तपाईंलाई थाहा छ ? विवाहपूर्व रमाइलो आनन्द लिन अभ्यस्त भएका अमेरिकी युवतीहरू संसारमै आशा गरेभन्दा फरक प्राणी हुन्‌ ।’ विन्टरबोर्नलाई झ्वास्स मुखमा हेर्दै फेरि भनिन्‌, ‘गिओभानेलिले चित्त दुखाउने कुरा त कहिल्यै गर्नुभएन नि ! ‘

विन्टरबोर्नले अचम्म मानिरहेका थिए। उनले डेइजीलाई हेरिरहेका थिए। गिओभानेलिले गीत गाइसकेका थिए। उनी डेइजी भएको ठाउँमा आए। तपाईँ मसँग चिया पिउन अर्को कोठामा जानुहुन्न र ?’ डेइजीको अगाडि निहुरिँदै मुस्कान सहित गिओभानेलिले भने ।

डेइजी विन्टरबोर्नतर्फ फर्कदै मुस्कुराउन सुरू गरिन्‌। उनले झन्‌ अचम्म माने । उनलाई यो व्यर्थको हाँसोले कुनै कुरा स्पष्ट पारिरहेको थिएन तर यसले साँच्ची नै क्षमाशीलताको रमाइलो र जन्मजात मायालु स्वभाव झल्कारहेको थियो । ‘विन्टरबोर्नले मलार्इ चिया पिउन निमन्त्रणा गर्ने कुरा कहिल्यै पनि गर्नुभएन त ! ‘ विन्टरबोर्नको चित्त दुख्ने गरी डेइजीले भनिन् ।

 

प्रतिक्रिया
Loading...