” खा माछा खा यो चारो खा ।”
“कति ताजा छन् तिनीहरू, त्यो पनि ६०० फीट गहिरो यत्तिको चिसो पानीमा पनि अनि यति अँध्यारोमा राति फेरि फर्केर आउनू अनि चारो खानू है ?”
उसले शुरूमा बल्छीको डोरी हल्का तन्केको महसुस गर्यो । सायद मार्लिनलाई सार्डिनको टाउको फुटाउन गाह्रो परेर होला निकै जोडले डोरी तान्यो त्यसले । तर त्यसपछि केही चालचुल छैन ।
“आइज माछा आइज” बूढो चिच्च्यायो । फेरि फर्केर आइज है ? अनि चारो पनि सुँघ्नू नि । मीठो छैन र चारो ? (सार्डिन माछा) स्वादिलो टुना पनि राखिदिएको छु बल्छीमा मैले । साह्रो चिसो छ अनि मीठो पनि । लाज नमानिकन खा है माछा लाज नमानिकन ।
बूढीऔँला र चोरऔंलाको बीचमा डोरी च्यापेर अन्य डोरी र माछाको गतिविधि पनि सँगसँगै नियाल्न थाल्यो बूढो । माछा तलमाथि गर्दै थियो । फेरि उसले पहिलेकै हल्का स्पर्श अनुभव गर्यो ।
” अब चाहिँ अवश्य चारो खान्छ यसले । ” बूढो जोडले चिच्च्यायो -“हे ईश्वर ! चारो बुद्वि देऊ यसलार्इ ।” तैपनि चारो खाएन माछाले चारो खाएको बूढोले अनुभव गरेन ।
“अहँ कतै जान सक्दैन ऊ । प्रभु येशुलाई थाहा छ ऊ कतै जान सक्दैन अर्थात् कतै गएको छैन पनि । फेरि फर्केर आउँदै होला । न बल्छीमा पो परिसक्यो कि कतै ।”
बूढोले त्यसपछि डोरीमा हल्का स्पर्श अनुभव गर्यो । औधि खुसी भयो ऊ ।
“फर्केर आएको मात्र छ । सायद अब चाहिँ चारो खाला कि ।” मनमनै भन्यो बूढोले ।
हल्का रूपले डोरी तन्केपछि ऊ औधि खुसी भयो | त्यसपछि डोरी निकै तन्केको र पत्याउनै नसकिने गरी गहुँगो महसुस गर्यो बूढोले । साँच्चिकै मार्लिन बल्छीमा परेको थियो । उसले जगेडा राखेको डोरीको दुईवटा गुजुल्टोबाट डोरी छोड्दै गयो । डोरी जति जति तल जान्थ्यो उति उति बूढोको औंलाबाट क्रमशः डोरी सर्दै जान्थ्यो । उसले अझै डोरीमा निकै गहुँगो अनुभव गर्यो | यद्यपि उसका बूढीऔंला र अन्य औंलाको दबाब अगोचर थियो ।
“कत्रो माछा हो यो ।” बूढो भन्दै थियो । मुख छड्के पारेर कतै जाँदैछ यो । एकापट्टि मुखमा चारो राखेर घुमिरहेको छ माछो ।”
उसले मनमनै सोच्यो, “फर्केर आउँछ अनि निल्छ चारो ।” कसैलाई भनेन उसले काम बिग्रेला भनेर । ठूलै माछा बल्छीमा परेको थाहा पाइसकेको थियो बूढोले । टुना मुखमा राखेर रातभरि यताउति गरिबस्छ भन्ने उसलाई थाहा थियो । त्यति नै खेर बूढोले माछा चलमल गर्न छाडेको थाहा पायो तर डोरी भने अझै गह्रैँ थियो । डोरीमा वजन बढ्दै गएकाले डोरी छाड्दै गयो उसले । डोरीमा बोझ बढेकोले होला सिधै तल जाँदै थियो पानीभित्र ।
“अब चाहिँ चारो भेटेजस्तो छ मार्लिनले । अब यसले मज्जाले चारो खान्छ ।”
दुईवटा गुजुल्टोको पूरै डोरी जोडिदियो बूढोले । बूढो अब तयार भयो । साथमा भएको डोरी बाहेकै बूढोसित दुईहजार चालिस फीट लामो डोरीको गुजुल्टो जगेडा थियो ।
बूढोले भन्यो, “अझै खा माछा । अझै खा । राम्रोसित खा ।” “राम्ररी खाइस् भने बल्छीको टुप्पोले तेरो मुटु छेड्ला र मर्लास् ।” बूढोले मनमनै सोच्यो । “धन्दा नमान मलाई सुइरो रोप्न दे । तयार छस् हैन तँ ? डुङ्गा जतिकै लामो होला हैन त ?”
“अहिले ।” बूढो चिच्च्यायो । उसले हिर्काएर एक गज जति डोरी तान्यो । भएजति बल लगाएर । पटक पटक माछालाई हिर्कायो । डुङ्गामा अडेस लागेर डोरी हल्लाउँदै फेरि हिर्काउन थाल्यो ।
केही भएन । माछो बिस्तारै याताउति जान थाल्यो । बूढोले एक इन्च पनि माथि उचाल्न सकेन मार्लिनलाई । बूढोको डोरी ठूलाठूला माछाका लागि बनेको हुँदा निकै बलियो थियो । अनि डोरी काँधमा राखेर डोरीबाट पानीको थोपा उछिट्टिने गरी तान्यो ।
त्यसपछि माछाले बिस्तारै आवाज चित्कार दिन थाल्यो पानीभित्रै । माछाले डुङ्गालाई तान्न थालेको थाहा पायो उसले ।
माछाले तान्न थाल्यो मलाई डुङ्गा बिस्तारै उत्तर पश्चिमी दिशातिर सर्न थाल्यो । शान्त समुद्रमा माछाहरू बिस्तारै तर निरन्तर गतिमा चलमल गर्दै थिए । चारो पानीमै थियो अझै । तर खासै उसले गर्नुपर्ने काम केही थिएन । “यतिबेला केटो साथमा भैदिएको भए ।” बूढो जोडले करायो । “माछाले तान्न थाल्यो । म डोरी छिटोछिटो छाडिदिन्थे । सकेसम्म मैले उसलाई समात्नै पर्थ्यो । चाहेजति डोरी दिनैपर्ने भयो मैले उसलाई | हे ईश्वर । धन्यवाद छ तँलाई । ऊ यताउति घुम्दैछ । तलतिर गएको छैन तै ।”
“यदि मार्लिन तलतिर गै हाल्यो भने के गर्ने होला म केही जान्दिन । आवाज निकाल्यो अर्थात् मरिहाल्यो भने के गर्ने त्यो पनि थाहा छैन मलाई । तर म केही त गर्छु गर्छु । मैले गर्न सक्ने थुप्रै काम छ ।”
काँधको बलले डोरीसँगै अँठ्यायो बूढोले । उसले माछाको डोरीको गतिविधि नियाल्यो । डुङ्गा बिस्तारै उत्तर पश्चिम दिशातिर बहन थाल्यो ।
बूढो मनमनै सोच्न थाल्यो -“अब यो माछो मारिन्छ धेरैबेर टिक्दैन यो ।” तर चारघण्टा बितिसक्दा पनि माछो त अझै अविचलित पानीमा पौडिदै थियो, डुङ्गा तान्दै । बूढो अझै काँधको बलले डोरी अँठ्याइरहेकै थियो पहिले जस्तै ।
“दिउँसै बल्छीमा परेको माछो अझैसम्म देख्न पाइन मैले ।” बूढोले भन्यो ।
माछो बल्छीमा पर्नुअघि उसले छवालीको टोपी लगाएको थियो । निधारमा घाउ परिसकेको थियो टोपीले । निकै तिर्खाएको थियो बूढो । घुँडा टेकेर उभियो ऊ । डोरी नहल्लाइकन डुङ्गाको छेउमा राखेको पानीको बोतल तान्यो एक हातले । अलिकति पानी पियो बिर्को उघारेर । आराम गर्यो अलिबेर । डुङ्गामा ढल्किएर पाल बेरेर राखेको खाँबोमा बसेर केही नसोची आराम गर्ने चेष्टा गर्यो । खालि कसरी सहने भन्ने मात्रै सोच्यो ।
पछाडि फर्केर हेर्दा बूढोले कही कतै जमिन देखेन । केही फरक पर्दैन त्यसले । बूढोले सोच्यो । म प्रायःजसो हवानाबाट आएको उज्यालोमा डुङ्गा चलाउँदै निस्किन्थँ । घाम डुब्न अब दुईघण्टा मात्र बाँकी छ । अब त्यो घाम डुब्नु अघि नै आउन पनि सक्छ । आएन छ भनेपनि जुन झुल्किन अघि त जसरी पनि आउँछ आउँछ । मलाई थकाइ लागेको छैन । कुनै अङ्ग खुम्चेको छैन । बलियै छु जस्तो लाग्छ । स्वस्थ छु म । माछाको मुखमा बल्छी परेकै छ । तर अचम्म ! कस्तो जोडले तानेको त्यसले डोरी र डुङ्गा । बल्छीले मुख त थुनेकै हुनुपर्ने । एकचोटि देख्न मात्रै पाए । म त्यसलाई मजा चखाएर छाड्थेँ । मलाई मेरो प्रतिद्वन्दी कस्तो रहेछ हेर्न मन छ ।
रातभरि माछाले न त दिशा बदल्यो न त बाटो नै । रातभरि तारा गनेर बस्नु मात्रै भो बूढोलाई । घाम डुबेपछि बूढोको शरीरको पसिना ओबायो ।
“न म उसलाई केही गर्न सक्छु न त उसले मलाई नै केही गर्न सक्छ ।” उसले मनमनै सोच्यो । यही अवस्था कायम रहेसम्म त्यसले धेरै बेरसम्म तानेर लान सक्दैन । डुङ्गाको एक छेउमा उभिएर पिसाब गर्यो बूढोले । आकाशको तारा हेरेर उसले आफ्नो बाटो ठीक छ छैन जाँच्यो । काँधको डोरीले धिपधिपे प्रकाशको काम गरेको थियो । हवानाबाट आएको उज्यालो मधुरो थियो । बत्तीको उज्यालोले पूर्वतर्फ लाँदै थियो उनीहरूलाई | बूढोले सोच्यो, “हवानाबाट आएको आँखै तिर्मिराउने उज्यालो पक्रिन नसके पूर्वतिर लाग्न वाध्य हुन्छौं हामी ।” मान्छेले सही बाटो पक्रयो भने घणटौँसम्म निगरानी गर्नुपर्ने हुन्छ उसको आजको ग्रान्ड लीगमा बेसबलको खेल कस्ताो रह्यो । साथमा रेडियो भैदिएको भए कति मज्जा हुन्थ्यो होला । रेडियोको कल्पना गर्नु पनि बेकार छ । जे गर्न लागेको हो त्यही मात्र सोच् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।