विदेशतिर दुई किसिमका पुस्तक पसल हुन्छन् । एउटा ठूला कम्पनीले चलाएका पुस्तक पसलको चेन कम्पनी र अर्को स्वतन्त्र पुस्तक पसल । ब्रिक एन्ड मोर्टारजस्ता कम्पनी चेन कम्पनी हुन्, जसको नियन्त्रण ठूला लगानीकर्ताहरूमार्फत् हुन्छन् । तिनको सेयर बजारमा कारोबार पनि हुन्छ । स्वतन्त्र पुस्तक पसलेको एक वा दुई वटा पसल हुन्छन् । ठूला चेन शृंखला भएका पुस्तक पसलेको मनमौजी चल्ने भएकाले विदेशतिर स्वतन्त्र पुस्तक पसलेको आफ्नै महत्त्व हुन्छ । स्वतन्त्र पुस्तक पसलेले भने आफ्नो रूचिअनुसारको बेग्लै पसल चलाउँछन् । ठूला पसलेले भने बिक्री हुने पुस्तक वा उनीहरूद्वारा उत्पादित पुस्तकलाई मात्र महत्त्व दिन्छन् । स्वतन्त्र पसलेले भने साना लगानीमा चलिरहेका प्रकाशकलाई पनि उत्तिकै महत्त्व दिन्छन्, तिनका किताबलाई प्राथमिकता दिन्छन् ।

जोन इनग्राम

पछिल्लो समयमा त्यस्ता स्वतन्त्र पसलेहरू घट्दै गइरहेका छन् । झन् कोभिड १९ को महामारीका कारणले घरभाडा तिर्न नसकेर त्यस्ता स्वतन्त्र पसलेले दोकानै बन्द गरिसकेका छन् । बन्द गर्न नसकेकाले सहयोग खोजिरहेका सूचना प्रायः सामाजिक सञ्जालमा छरपष्ट देखिन थालेका छन् ।

यस्तो अवस्था देखेपछि इन्ग्राम कन्टेन्ट ग्रुपका अध्यक्ष जोन इन्ग्रामले द सर्भाइभ टु थ्राइभ कार्यक्रमको घोषणा गरेका छन् । जसअन्तर्गत उनले संकटमा परेका पसलेहरूलाइ सहयोग गर्न इन्टरनेटमा एउटा अभियान सञ्चालन गरेका छन् । उनले सर्वसाधारणबाट २० लाख डलर उठाउने प्रयत्न गरिरहेका छन् ।

जोन इन्ग्राम भन्छन्, ‘सर्वसाधारणले पुस्तक पसल जोगाउनु परो । त्यसका लागि मैले निजी रूपमा केही रकम सहयोग गर्छु, केही ठूला प्रकाशकहरूलाइ पुस्तक पसल जोगाउने अभियानका लागि रकम थप्न लगाउँछु र त्यो रकमले संकटमा परेका पुस्तक पसलको घरभाडा तिरिदिनेदेखि कर्मचारीको तलब बेहोरिदिनेसम्मका कार्य पर्छन् ।’

यदि उनले सोचेजस्तो आउँदो मे महिनाभरि २० लाख उठ्यो भने उनी स्वयंले पाँच लाख डलर दान दिनेछन् । त्यसो त कसैले माग्नेबित्तिकै पैसा पाउने होइन । बुक इन्डस्ट्री च्यारिटेबल (बिन्क) फाउन्डेसनमार्फत् निवेदन दिएर तिनको नियमअनुसार परे मात्र त्यो सहयोग पाइनेछ ।

यस कार्यका लागि अमेरिकाका पाँच ठूला प्रकाशन समूहले पनि सहयोग गर्ने भएको छ ।

त्यसो त सबै स्वतन्त्र पुस्तक पसले विचरा पनि थिएनन् । यसै अवधिमा कयौँ स्वतन्त्र पसलेले आफ्नो पुस्तक बिक्रीलाइ स्थानीय स्तरमा अनलाइन माध्यममा सारे । त्यसो गर्न नसक्ने पसले भने मारमा परे ।

कोरोनाअघि राम्रो व्यापार गरिरहेका तर बन्दाबन्दीले मारमा परेका पसलेका लागि यो कार्यक्रम ल्याइएको जोनले बताए । ‘हाम्रो यो सहयोगले उनीहरूलाइ थोरै भए पनि सहयोग गरोस् भन्ने इच्छा हो,’ जोनको भनाइ छ ।

जोनको यो अभियानमा बुकसप डट ओआरजी पनि अगाडि आएको छ । यसले अढाइ लाख डलर यस अभियानका लागि दान गरेको छ । इनग्राम र बुकसप दुवैको राशी जोड्दा सात लाख ५० हजार पुगेको छ भने ठूला कम्पनीहरू ह्याचेट बुक ग्रुप, हार्पर कोलिन्स, म्याकमिलन र पेइन्गुइन रेन्डम हाउसले संयुक्त रूपमा अढाइ लाख डलर सहयोग गरेका छन् ।

बुक इन्डस्ट्री च्यारिटेबलका प्रमुख कार्यकारी पाम फ्रेन्चले २०० भन्दा बढी पुस्तक पसलेलाइ दामासाहीले १० हजार डलर बाँडिदिने बताएकी छन् । अब यसबाट पनि बढी रकम उठेमा रकम थपिने पनि उनले जनाएकी छन् । ‘यति रकम पाएपछि ती पसलेले लागेको ऋण तिर्नेछन् र केही वर्ष ढुक्क भएर पसल चलाउनेछन् भन्ने मलाइ लागेको छ,’ उनले पब्लिसर्स विक्लीलाइ भनिन् । यो सहयोग रकम जुन महिलाभन्दा अगावै बाँडिने उनको भनाइ छ ।

बन्दाबन्दीका बेला स्वतन्त्र पुस्तक पसलेहरूले आफूकहाँ व्यापार बढाउनका लागि लेखकहरूलाइ निम्त्याउनेदेखि लिएर ससाना कार्यक्रमहरू समेत आयोजना गरेका थिए । तर ती कार्यक्रम पसलको बिक्री बढाउनका लागि उपयोगी साबित भने हुन सकेनन् । अरू बेला यस्ता पसलले लेखक, प्रकाशक र पाठकलाइ समेत गरेको गुनको तिरो यो सर्भाइभ टु थ्राइभ अभियानले तिर्ने अपेक्षा पाम फ्रेन्चको छ ।

शुरूवाती चासो लिने इनग्राम कन्टेन्ट ग्रुपका जोन इनग्रामको चासोपछि ठूला कम्पनी पनि यो अभियानमा मिसिनुले साना पसलेको महत्त्व उजागर गरेको बताएका छन् ।