साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चिनियाँ मूलका प्रथम नोवेल पुरस्कार विजेता उपन्यासकार गाओ सिनजेन

गाओ सिनजेन

रेखाचित्र: कृष्ण मर्सानी

डाइनामाइट जस्तो विष्फोटक पदार्थका आविष्कारक अल्फ्रेड नोवेलले आफूले कमाएको अकुत सम्पत्तिबाट नोवेल पुरस्कारको स्थापना भएको हो । कहिलेकाहीं विवादमा परे पनि, कहिलेकाहीं पुरस्कार निर्णयकर्ताहरुबीच चर्काचर्की परे पनि यो पुरस्कारको महत्व र महत्ता विश्वव्यापी छ । हरेक वर्ष नोवेल पुरस्कारको घोषणाको प्रतीक्षा अत्यन्त व्यग्रतापूर्वक गरिन्छ र घोषणा भएको लगत्तै विश्वव्यापी चर्चा हुन्छ । यो नै नोवेल पुरस्कारको गरिमाको परिचायक हो ।
विभिन्न अन्य क्षेत्रसहित सन् १९०१ देखि प्रदान गर्न थालिएको साहित्य क्षेत्रमा दिइने नोवेल पुरस्कार सदा चर्चाको केन्द्रमा रहिआएको छ । विशेष गरी यो पुरस्कार एशियाली मुलुकका नगन्य लेखकले पाएका छन् । मुख्यतः युरोप अमेरिकाका लेखक लेखिकाहरु यो पुरस्कारबाट अत्यधिक सङख्यामा पुरस्कृत भएका छन् । तथापि यो पुरस्कार क्यारेबियन क्षेत्र पुगेको छ, अफ्रिका पुगेको छ र एशियालाई पनि समेटेको छ । भारतका रविन्द्रनाथ ठाकुर, इजरायलका स्यामुयल युसेफ येगनान, जापानका आसुनारी कावावाता र केन्जाबुरो ओयले यो पुरस्कार पाएपछि जापान नै दुईवटा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो एशियाली मुलुक हुन पुग्यो ।
तर अत्यन्त पुरानो–प्राचीन साहित्यिक परम्परा भएको चीनले साहित्यतर्फको नोबेल पुरस्कार नपाएको चाहिं कम्युनिष्ट राज्य भएकोले भन्ने प्रचार छ । त्यो कुन हदसम्म ठिक वा बेठिक हो– त्यो आफ्नो ठाउँमा छ । तर पनि चिनका अहिलेका प्रख्यात साहित्यकारमध्ये कसै न कसैले निकट भविष्यमा वा आउने वर्ष सो पुरस्कार पाइहाल्ने हुन् कि भन्ने अन्दाज गर्न पनि कुनै वर्ष छाडिएको छैन ।
यस्तो अवस्थामा सन् २००० को साहित्य तर्फको नोवेल पुरस्कार चिनमा जन्मेका तर सन् १९८७ देखि फ्रान्समा निर्वासित जीवन बिताइरहेका चिनियाँ लेखक गाओ शिङ जेनलाई प्रदान गरियो । यसबाट दुईवटा काम भयो– एक पहिलोपल्ट चिनियाँ लेखक साहित्यतर्फको नोवेल पुरस्कारबाट सम्मानित भए । दोस्रो चिनलाई यो पनि जवाफ भयो कि– देख्यौ, साम्यवाद त्यागेर प्रजातन्त्रको पक्षमा जानेलाई नोवेल पुरस्कारको ढोका कसरी खुल्दछ ?
सन् १९४० मा उत्तरी चिनको जियाङसी प्रान्तमा जन्मेका गाओले स्कूले शिक्षा सरकारी विद्यालयबाटै प्राप्त गरेका हुन् भने विश्व विद्यालयको उपाधि चाहिं बेइजिङ विश्वविद्यालयबाट हात पारेका हुन् । उनले विश्वविद्यालय उपाधि फ्रान्सेली भाषा साहित्य विषयमा प्राप्त गरेका हुन् । त्यसपछि उनको अभिरुचि वाङ्मयतर्फ बढ्यो । तर माओको, सांस्कृतिक क्रान्तिको अवधिभर उनलाई पुनर्शिक्षा कार्यक्रमका लागि क्याम्पमा पठाइयो र झण्डै ६ वर्ष कडा श्रमयुक्त जीवन बिताउन बाध्य हुनुपर्यो ।
गाओले सन् १९६२ मा बेइजिङ फरेन स्टडिज विश्वविद्यालयको फ्रान्सेली विभागवाट स्नातकोपाधि प्राप्त गरेका थिए । त्यसपछि उनले चाइनिज ईण्टरनेशनल वुकस्टोरमा काम थाले । सन् १९७० को दशकमा भएको ” डाउन टू द कण्ट्रीसाइड मुभमेण्ट” का कारण उनलाई कारवाहीस्वरुप उनका प्रारम्भिककालीन सम्पूर्ण लेखन नष्ट गर्न बाध्य बनाइयो र ६ वर्षका लागि आहुई प्रान्तमा ६ वर्षको कठोर एवम कडा श्रममा खटाइयो । उनले निग्गाइ काउण्टीको गाङ्कु माध्यमिक विद्यालयमा केही समय चिनियाँ पढाए । बल्ल सन् १९७५ मा उनलाई वेईजिङ फर्कन दिइयो ।
सन् १९७७ मा उनले चिनियाँ लेखक संघको वैदेशिक सम्बन्ध विभागमा काम गरे । अनि सन् १९७९ मा उनले प्रख्यात साहित्यकार बा जीन सहितको साहित्यिक टोलीमा पेरिस भ्रमण गरे । पछि उनी बेईजिङ पिपुल्स आर्ट थियटरका स्कृन राइटर तथा नाटक लेखक बने ।
गाओ चिनियाँ नाट्य साहित्यमा अमूर्त नाटकका प्रणेता मानिन्छन् । उनका नाटकहरु “सिग्नल अलार्म”(१९८२) र “बस स्टप”(१९८३) उनी बेईजिङ पिपुल्स आर्ट थियटरमा नाटककारका रुपमा काम गर्दा प्रदर्शन भएका थिए । युरोपेली रङ्गमञ्चबाट प्रभावित उनको प्रख्याती बढ्यो । उनका ” द प्रिमिटिभ” र “द अदर शोर” ले खुल्ला रुपमा सरकारको राज्य नीतिको आलोचना गरेको छ ।
सन् १९८६ मा उनलाई फोक्सोको क्यान्सर भयो । उनले यो समयमा १० महिना लामो पदयात्रा गरे याङ्गशे नदीको क्षेत्रमा । यो पदयात्राले नै ” पहाडको आत्मा” उपन्यास जन्माएको हो, जसले उनलाई विश्वविख्यात बनायो ।
उनका नाटकहरु चिनबाहेक तत्कालीन युगोस्लाभिया, हङकङ, बेलायत, अमेरिका , जापान, जर्मनी, स्वीडेन, पोल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, ईटाली लगायतका मुलुकमा प्रदर्शन भएका छन् ।
लेखन र चित्रकारितामा दिनको १६ घण्टा हालको समयमा सदुपयोग गर्ने गाओको सबभन्दा महत्वपूर्ण नाटक ‘बसस्टप’ हो । यो नाटकमा स्यामुयल वेकेटको ‘गोदोको प्रतीक्षा’को पुन:स्मरण गरिएको छ । यो नाटक सार्वजनिक भएपछि चिनियाँ अधिकारीहरुले यसलाई ‘आध्यात्मिक प्रदूषण’ को संज्ञा दियो । यो सर्वप्रथम १९८३ मा सार्वजनिक गरिएको थियो । त्यस्तै सन् १९८९ को तियेनमेन स्क्वायरको घटनामा आधारित नाटक ‘फ्यूगिटिव’ ले त उनका कृतिहरु चिनमा प्रतिबन्ध लगाउनुपर्ने बनाइदियो ।
उनको सबैभन्दा महत्वपूर्ण र प्रख्यात उपन्यास चाहिं ‘पहाडको आत्मा’ हो । यो अंग्रेजीमा अनुवाद भएपछि विश्वब्यापि ध्यान आकर्षण गर्न सफल भयो । यस उपन्यासका मुख्य पात्रले याङ्से नदीको किनारमा दस महिना लामो पदयात्रा गरेको बर्णन छ ।
गाओका प्रारम्भिक रचनाहरुका सम्पूर्ण पाण्डुलिपिहरु १९६६ देखि १९७६ सम्मको साँस्कृतिक क्रान्तिका बीच जलाउनु परेको थियो । यसले उनलाई लेखकिय स्वतन्त्रताको औचित्यलाई अझ सम्वेदनशील रुपमा बुझ्न मद्दत तुल्यायो । स्यामुयल वेकेटको आधुनिकता र युजेनको अमूर्तताले प्रभावित गाओले उनीहरुका कृतिहरु फ्रान्सेलीबाट चिनियाँ भाषामा रुपान्तर गरेका छन् । बिशौं शताब्दीका उत्तरार्धका थोरै अति महत्वपूर्ण चिनियाँ नाटककारमध्ये एक मानिने गाओ नै यस्ता प्रतिभा हुन् जसले चिनको सिमा नाघेर विश्व विख्यात ‘विश्वग्राम अवधारणा’ मा आफूलाई समाहित गरे ।
नोवेल पुरस्कारको घोषणा हुने बित्तिकै उनले भने –“यौटा चिनियाँको लागि यो साँच्चै नै महत्वपूर्ण कुरा हो किनभने चिनमा नोबेल पुरस्कारको चर्चा निकै ‘तातो’ विषय हो ।”
वास्तवमा आफ्नो लेखकीय स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको लागि गाओले चिनलाई त्यागेर फ्रान्समा ‘राजनैतिक शरणार्थी’ को रुपमा बस्न जान परेको हो । अहिले त उनी फ्रान्सेली नागरिक भै सकेका छन् ।
हार्भर्ड विश्व विद्यालयका चिनियाँ साहित्यका प्रोफेसर ओ फान ली को मतानुसार – उनले विश्वग्राम को अवधारणाालाई प्रतिनिधित्व गर्छन् । उनको चिनसँगको सम्बन्ध स्मृतिमा मात्र सीमित छैन । इतिहासमा मात्र सीमित छैन नत राजनीतिमा मात्र सीमित छ । उनी यी सबलाई नीजि खोजको रुपमा कथ्यमा समाहित गरेर लेखन यात्रामा हेलिन्छन् ।
चिनियाँ मूलका गाओ अहिले त चिनियाँ भाषामा जत्तिकै सहज र स्वाभाविक रुपले फ्रान्सेली भाषामा लेख्न सक्तछन् ।
वास्तवमा सन् १९७९ सम्म त उनका रचनाहरुले प्रकाशनको मुखै देख्न पाएका थिएनन् । तर सन् १९८० मा उनले व्यापक रुपमा यात्रा गरे र प्रशस्त कथा, नाटक र निबन्धहरुका पुस्तक लेखे । यिनै पुस्तकहरुले माओका साँस्कृतिक अवधारणा र प्रतिबद्धताहरुलाई बहसमा ल्याई दिए जुन चिनियाँ सरकारी अधिकारीहरुको टाउको दुखाइको कारण भयो । अन्तत्वगत्वा उनले देश त्याग्ने जस्तो पीडादायी निर्णयमा पुग्नु पर्यो ।
गाओसँग अहिले जन्मभूमि छैन । कर्मभूमि मात्रै छ । तर महत्वपूर्ण कुरो उनीसँग मातृभाषा छ । जोसेफ ब्रोडस्कीले धेरै वर्ष अघि भनेका थिए– “मसँग मेरो जन्मदेश छैन त के भो ! मातृ भाषा त छ नि !”
गाओलाई यो भनाई शत प्रतिशत लागु हुन्छ ।
साहित्य र रङ्गमञ्चमा विश्वविख्यात यी प्रतिभाको अर्को पाटो चित्रकला पनि हो । उनको ख्याती चित्रकलामा पनि छ । उनी मसी र वास पेण्टिङ गर्छन् । उनको कला प्रदर्शनी पेरिस, न्यूयोर्क, सिंगापुर, जर्मनी, ताइवान लगायतका स्थानमा प्रदर्शन भएका छन्, तिनले व्याप्ति पाएका छन् ।
गाओले सन् २००० मा साहित्यतर्फको नोवेल पुरस्कार पाउनुअघि सन् १९९५ मा जर्मनीको डाड फेलोशिप तथा पाएका थिए । नोवेल पुरस्कार पाएपछि पनि उनी पुरस्कृत र सम्मानित हुने क्रममा निरन्तरता छ । उनलाई सन् २००१ मा चाइनिज युनिभर्सिटी अफ हङकङ र नेशनल सन यात सेन युनिभर्सिटी तथा सन् २००२ मा नेशनल चियाओ तुङ युनिभर्सिटीले मानार्थ विद्यावारिधि प्रदान गरे । सन् २००२ मै फ्रान्सेली राष्ट्रपतिबाट ज्याक सिराकबाट लिजन अफ अनर सम्मान पाए । त्यस्तै सन् २००३ मा फ्रान्सको मर्साइल्स शहरले उनको सम्मान गर्यो । सन् २००५ मा नेशनल ताइवान युनिभर्सिटीले मानार्थ वाद्यावारिधि प्रदान गर्यो । सन् २००६ मा न्यूयोर्क पव्लिक लाइब्रेरीले लायन्स अवार्ड प्रदान गर्यो ।
गाओले नोवेल पुरस्कार वितरण समारोहमा “द केस अफ लिटरेचर” शिर्षकमा व्याख्यान दिएका थिए जसमा उनले लेखकीय स्वतन्त्रताकै वकालत गरे । सन् १९८७ देखि फ्रान्समा निर्वासित जीवन विताईरहेका उनलाई स्वदेश फिर्तिको बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भनेका थिए, “ जुन तेशले आफ्ना कृतिहरु नष्ट गरेको छ, प्रकाशन वितरण र प्रवेशमा रोक लगाएको छ, त्यहाँ कसरी जान सकिन्छ ?”
निसन्देह यौटा लेखकको लागि यो भन्दा ठूलो विडम्वना अरु के हुन सक्छ ? तर गाओ यही नियति बोकेर वाचिरहेका छन् । लेखकीय स्वतन्त्रताको वकालत गरिरहेका छन् ।

 

प्रतिक्रिया
Loading...