लन्डनबासी फिल सअ यतिबेला निकै चर्चामा छन् । नहुन पनि किन ? उनको कामै त्यस्तै छ ! मूलतः डिजिटल प्रिन्टमेकरको परिचय बनाएका फिलको चर्चाको कारण चाहिँ हालै बन्दाबन्दीका बेला उनले सिर्जना गरेको एउटा कलात्मक प्रस्तुति नै हो ।
फिलले बुकसेल्फ आर्ट शीर्षकमा एउटा रोचक काम गरे । कोरोना कहरका कारण घरबाहिर निस्कन नपाएपछि उनले घरमै रहेका पुस्तकहरूको एउटा गज्जबको कला प्रस्तुत गरे ।
उनले वास्तविक पुस्तकहरू भेला पारे । ती पुस्तकलाई क्रमशः अर्थ दिने प्रयास गरे । पछि त किताबको शीर्षकहरूबाटै यति अर्थपूर्ण कला बन्यो कि त्यो चर्चामा आइहाल्यो ।
यसका लागि उनले शुरूमा कम्प्युटरमा आफूसँग के कस्ता शीर्षकका पुस्तक छन् भनी छनोट गरे । त्यसलाई क्रमशः मिलाएर राखे । मिलाएर राख्दा किताबको शीर्षक अर्थपूर्ण बनेको हो ।
उनले भेला पारेका पुस्तकलाई क्रमशः पढ्दा यस्तो शब्दहरू बनेका थिएः
द इङलिस प्यासेन्ट ह्याड कट इट अन द बिच । आई सुड ह्याभ स्टेड होम सी सेड । नाउ सी वाज इन क्वारेन्टाइन इन द डार्क हाउस अफ स्प्लेन्डिड आइसोलेसन । स्टिल होप स्प्रिङ्स इटरनल । विद अ लिटल बिट अफ लक । कमन सेन्स एन्ड पर्सनल हाइजिन द कोरोना बुक अफ हरर स्टोरिज् मस्ट इन्ड सुन । अल्वेज रिमेम्बर क्लिन ह्यान्ड्स सेभ लाइभ्स एन्ड ह्वेन इन डाउट डन्ट गो आउट ।
‘घरमा बस्दाबस्दा म यति दिक्क थिएँ कि केही नयाँ काम गरौँ न त भन्ने लाग्यो,’ फिलले भने, ‘कहिलेकाहीँ अल्छीले पनि ठूलो काम गर्दो रहेछ ।’
उनले यसअघि सोसल डिस्टेन्सिङ शीर्षकमा पुस्तकहरूको यस्तै लाइन बनाएका थिए । जसमा पुस्तकहरू मिलाएर राख्दा यस्तो वाक्य बन्न पुगेको थियोः
अ रूम अफ वन्स अन, फार फ्रम म्याडेनिङ क्राउड एन्ड वन हन्ड्रेड इयर्स अफ सोलिच्युड ।
‘मसँग ती किताबहरू रहेको देखेपछि कम्प्युटरमा अक्षरहरू मिलाउन थालेँ,’ उनले भने, ‘मिलाउँदा-मिलाउँदै गतिलो अर्थ दिन थाल्यो । त्यसो त यो बनाउन र अर्थ दिन घण्टौँ लाग्यो तर पनि जब बनाइसकेँ, मलाई निकै मज्जा लाग्यो ।’
सन् २००३ देखि उनले डिजिटल प्रिन्टको काम थालेका हुन् । किताबलाई लाइनै लगाएर अर्थपूर्ण बनाउने कलामा पारंगत भएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले उनलाई सन् २०१३ मा आयोजित विश्वका शक्तिशाली मुलुकहरूको सम्मेलन जि एटमा त्यस्तै डिजाइन बनाउन जिम्मा दिएका थिए ।
पुस्तकलाई अर्थपूर्ण बनाउने उनका यस्ता डिजिटल प्रिन्ट पन्ध्र सय पाउन्डदेखि बिक्री हुने गरेका छन् । संसारभरबाट उनका यस्ता डिजिटल प्रिन्ट कम्तीमा पनि सय वटा जति बिक्री हुने गरेका छन् । संसारभर बिक्री गर्न उनले वेबसाइट पनि बनाएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

