कुनै पुस्तक उठाउँदै गर्दा के तपाईं यो सोच्नुहुन्छ– यो पुस्तकको उमेर कति होला? भर्खरै निस्किएका किताब मात्र ‘हेर्ने’ बानी लागेका हामी अधिकांशले यस्तो नसोच्न पनि सक्छौँ।

यसै पनि किताबको दुनियाँमा आफ्ना लागि प्रेरणा दिने ‘पुस्तक’ निकै कम फेला पर्छन्। मैले यस्तै एउटा पुस्तक केही दिनअघि फेला पारेँ। त्यही भएर पनि सोच आयो, यो किताबको उमेर कति भयो होला?

नेपोलियन हिल

किताबको नाउँ हो– थिंक एन्ड ग्रो रिच। यस किताबबारे इन्टरनेटबाट केही जानकारी पनि लिएँ। बुझेँ– किताबको पनि इतिहास हुन्छ, कथा हुन्छ, मानिसको जस्तै। अझ किताब र मानिसको मिश्रित कथा त झनै रोचक हुँदोरहेछ।

पुस्तकको दर्शन थियो, ‘जुन कुरा तपाईं सोच्न सक्नुहुन्छ र त्यसमाथि विश्वास गर्नुहुन्छ, त्यो चिज तपाईंले अवश्य हासिल गर्न सक्नुहुन्छ।’ यस सिद्धान्तमा यसपछि लाखौँ पुस्तक लेखिइसकेका छन्। करोडौँ सर्वसाधारणमा यसको अद्भूत असर परिसकेको छ। यस पुस्तकबाट नेपोलियनले खोजेजस्तै सफलता पनि हात पारे।

यस किताबका लेखक ओलिभर नेपोलियन हिल अमेरिकाको भर्मन्टस्थित वाइज काउन्टीमा सन् १८८३ मा जन्मिएका हुन्। नेपोलियन १० वर्षको छँदै उनकी आमाको देहान्त भयो। बाल्यकालमा नेपोलियन अलि भङ्ज्याहा थिए। उनी आफ्ना बाबु जेम्सको सिकार खेल्ने बन्दुक बोकेर वरिपरिका गाउँलेलाई तर्साउँथे। कुन बेला गोली हानेर कसलाई सिध्याउने हुन् भन्ने सधैँ त्राहिमाम भइरहन्थ्यो।

बुवा जेम्सले चाँडै बिहे गरे, नयाँ पत्नी मार्थाले सौताको छोरोलाई लालनपालन गर्न थालिन्। चाँडै नै मार्थाले ऊर्जाशील छोरोलाई आफ्नो पोल्टामा पारिहालिन्। गाउँलेहरू नेपोलियनका बदमासी सुनाउँदै गाली गर्न घर आइपुग्थे, उनले आफ्नोछेउमा राखेर भन्थिन्– ‘मेरो छोरो बदमास छैन। बढी ऊर्जावान् मात्र हो। उसको त्यो ऊर्जाको सही सदुपयोग भएको छैन। त्यो हासिल गर्न मलाई केही समय लाग्छ, त्यतिन्जेल मलाई समय दिनुस्। म विश्वास दिलाउँछु, मेरो छोराले त्यसपछि तपाईंहरूलाई दुःख दिने छैन।’

मार्थाले नेपोलियनलाई ‘नेप’ भनेर बोलाउँथिन्। एक दिन उनले नेपलाई भनिन्, ‘तिम्रो यति मीठो बोली छ, किन त्यो बोली लेख्दैनौ। तिमीमा लेखक हुने राम्रो गुण छ।’

नेपले भने, ‘मलाई लेख्न आउँदैन।’

‘म सिकाइहाल्छु नि, किन चिन्ता गर्छौ?’ मार्थाले भनिन्, ‘तिमी लेख्ने कुरामा चासो दिन्छौ भने तिमीलाई एउटा राम्रो टाइपराइटर किनिदिन्छु। तर, त्यसको साटो तिमीले बन्दुक चलाउन छाड्नुपर्छ।’

टाइपराइटर पाउने लोभमा उनी बन्दुक छाड्न तयार भए। मार्थाले भनिन्, ‘तिमी लेखेरै धनी र चर्चित हुन सक्छौ र संसारले तिमीलाई चिन्नेछ।’

संसारले चिन्ने कुराले उनी अझ बढी टाइपराइटरतर्फ आकर्षित भए।

नियतिको खेल

१५ वर्षको उमेरमा नेप ग्रामीण अखबार निकाल्ने एउटा कम्पनीको फ्रिलान्स रिपोर्टर नियुक्त भए। पछि अखबार छाडेर म्यागेजिनतर्फ आकर्षित भए। त्यो बेला ‘बब टेलर’ म्यागेजिन निकै प्रख्यात थियो। त्यसमा शक्ति र सम्पत्ति हासिल गर्न चाहनेका लागि सल्लाह दिइन्थ्यो। यहीँ काम गर्दा उनले त्यसबखतका अमेरिकाकै सबैभन्दा धनी व्यक्ति ७३ वर्षीय एन्ड्रयु कार्नेगीसँग अन्तर्वार्ता लिने अवसर पाए। त्यो मौका नै उनको जीवन परिवर्तित गर्ने क्षण बन्न पुग्यो। कार्नेगी स्टिल उद्योगका मालिक थिए र त्यसबखत उनको धन र दानको खुबै चर्चा हुन्थ्यो।

अन्तर्वार्ताका क्रममा कार्नेगीले आफ्नो जीवनका उतारचढावलाई एक–एक गरी बयान गरे, निजी उपलब्धिको सूत्रको रहस्य खोले, जसलाई नेपले मनन गरे।

‘हरेक पुस्ताले आफ्नो जीवनमा उपलब्धि हासिल गर्न हरेकपटक ट्रायल एन्ड एरर अर्थात् प्रयास गर्नु, असफल हुनु र बल्ल सफल हुनु समयको बर्बादी हो। हरेक सफल व्यक्तिको सफलतासूत्र बुझेर त्यसलाई पछ्यायो भने हामी अझ बढी सफल हुन सक्छौँ,’ कार्नेगीले त्यस भेटमा सुझाव दिँदै भनेका थिए, ‘तिमी त्यो सूत्र खोज र संसारलाई बताऊ। उपलब्धिको दर्शन बाँड। देशका सफलतम अगुवा र व्यापारीका साझा कथा, प्रेरणा र उपलब्धि बताऊ। त्यसले सर्वसाधारणलाई सफलताको महŒव बुझाउनेछ।’

कार्नेगीले नेपलाई जिस्क्याए र चुनौती दिँदै भने, ‘२० वर्षसम्म तिमी यस्ता सिद्धान्तको खोजीमा लाग, हरेक शक्तिशाली, सफल र उम्दा व्यक्तिको सफलताको फिलोसफी संकलन गर। यसका लागि धनी, सफल र उम्दा मानिस म तिमीलाई नै चिनाइदिउँला!’

यो प्रस्ताव सुनेपछि नेप खुसीले उफ्रिए। उनले जीवनमा पहिलोपटक कुनै उद्देश्य पाएका थिए। मनमाफिक बाटो फेला पारेका थिए। यसपछि उनले दुई दशक अनगिन्ती ठूला घराना र व्यापारीलाई भेट्ने यात्रामा निस्किए। थियोडोर रुजबेल्ट, थोमस अल्बा एडिसन, जोन डी रकफेलर, हेनरी फोर्ड, अलेक्जेन्डर ग्राहम बेल, किङ जिलेट र त्यस समयका अन्य एकसे एक सफल उद्यमीलाई भेटे।

फलदायी भेट

सन् १९०८ ताका उनी राजधानी वासिङ्टन डीसीमा बस्थे। उनले अखबारमा दुलही चाहिएको आसयको विज्ञापन गरे। विज्ञापन गर्दा जुन सम्भावित दुलहीले भेट्न उनलाई घर बोलाइन्, ती युवतीसँग उनको बिहे हुन त सकेन तर ती युवतीकी आफन्त पर्नेलाई भने उनले रूचाए। ती युवती थिइन्, फ्लोरेन्स एलिजाबेथ हर्नर। उनले फ्लोरेन्ससँग सन् १९१० जुनमा बिहे गरे। उनीहरूका तीन सन्तान भए– जेम्स, नेपोलियन ब्लेयर र डेभिड।

घरबार भए पनि उनले सोचेजस्तो सफलता हात परेको थिएन। त्यसैले सन्तानलाई राजधानीमै छाडेर उनी एक्लै सिकागो सरे र १७ वर्ष बिताए, आफ्ना सन्तानसँग कमै समय बिताए।

सिकागोमा उनले विज्ञापन लेखक, चक्लेट विक्रेता तथा कसरी सामग्री बिक्री गर्ने भन्ने सुझावकर्ताका रूपमा काम गरे। उनले हुलाकमार्फत् आफ्नो ज्ञान लिन चाहनेका लागि ‘करेस्पोन्डेन्स कोर्स’ चलाएका थिए। सन् १९१४ मा अमेरिका पहिलो विश्वयुद्धमा होमियो। उनले राष्ट्रपति वुड्रो विल्सनलाई आफू युद्धभूमिमा जान इच्छुक रहेको भनी पत्र लेखे। नेपले विल्सनको अन्तर्वार्ता निकै अघि लिएका थिए, त्यो पनि कार्नेगी रिसर्च प्रोजेक्टमा काम गर्दाताका। त्यो बेला विल्सन प्रिन्स्टन विश्वविद्यालयका अध्यक्ष थिए। विल्सनले नेपलाई टपक्क टिपे। देश युद्धभूमिमा जान आवश्यक रहेका बेला नेप जनतालाई उत्तेजित पार्ने प्रोपोगन्डा लेखकका रूपमा छानिए।

युद्ध सकिएपछि भने उनलाई आफू लेखकका रूपमा स्थापित हुने विश्वास भयो। त्यस समयका सिकागोका चर्चित प्रकाशक जर्ज विलियम्सलाई भेटेर एउटा म्यागेजिन निकाल्न आग्रह गरे। ‘गोल्डेन रुल’ नामक पत्रिका हरेक महिना छापिन्थ्यो र त्यसमा बाइबलका भजन, सुसमाचारका कथानक र पाठहरू हुन्थे। त्यस समयका चर्चित र सफल व्यक्तिका कथा पनि छुटाइँदैनथ्यो। त्यस बेला यो पत्रिकामा उनी आफै लेख्थे, सम्पादन गर्थे। निस्कनेबित्तिकै पत्रिका ‘हिट’ भयो।

खतरनाक महत्वाकांक्षा

सन् १९२० मा उनले आफ्ना सिद्धान्त र लेखनीको देशव्यापी लेक्चर टुर चलाए। यसको सफलतालगत्तै उनका व्यापारी साथी विलियमले पत्रिकामाथि आफ्नो स्वामित्व दाबी गरे। हुन पनि उनैको सहयोग र साथमा पत्रिका सुरु गरेका थिए। पत्रिकामा नेप कामदारभन्दा बढी थिएनन्, कानुनी रूपमा। यसबाट दिक्क भएर उनी न्युयोर्क बसाइ सरे। न्युयोर्कमा पनि आफ्नै सोचको नयाँ पत्रिका ‘नेपोलियन हिल्स म्यागेजिन’ सुरु गरे। अप्रिल १९२१ मा सुरु हुनेबित्तिकै पत्रिका हिट भयो।

कुनै विषयको ज्ञान हुनु एउटा कुरा हो भने आर्थिक रूपमा व्यवस्थापित हुनु अर्को। पत्रिका त चल्यो, तर पत्रिका चलाउन लिएको ऋण समयमै तिर्न नसक्दा पत्रिका बन्द हुन पुग्यो। असफलताले भुइँमा पछारिन पुगेका नेप पुनः आफ्नै गोडामा उभिनुपर्ने भयो। उनी ओहियो राज्य बसाइ सरे र एउटा बिजनेस कलेजमा पत्रकारिता, विज्ञापन र पब्लिक स्पिकिङ पढाउन थाले। त्यसै बेला उनको भेट क्यान्टन डेली न्युज पत्रिकाका प्रकाशक डोनाल्ड मिलेटसँग भयो। मिलेटले नेपोलियनलाई ‘सफलताका सिद्धान्त’माथि पुस्तक लेख्न आग्रह गरे। उनले हौस्याउँदै भने, ‘तपाईंसँग यत्तिको अनुभव र कैयौँ संकलित चिजबिज छन्। त्यसैबाट एउटा पुस्तक लेख्न सक्नुहुन्छ।’

त्यो बेला ओहियोमा लागूपदार्थ ओसारपोसार, कुलत र अन्य विषयको अति समस्या थियो। स्थानीय प्रशासनले ती समस्यामा आँखा चिम्लिएको थियो। विद्यालय पढ्ने केटाकेटी लागूपदार्थले समस्याग्रस्त थिए। मिलेटले आफ्नो अखबारमा यिनै समस्या औँल्याउँदै स्थानीय प्रशासनमाथि दबाब दिइरहेका थिए। मिलेटलाई साथ दिँदै नेपले पनि ओहियोका गभर्नरमाथि दबाब दिइरहेका थिए। अचानक १९२६ को जुलाइमा मिलेटलाई कसैले उनकै घर अघिल्तिर गोली हानी हत्या गर्‍यो। नेपोलियनलाई पनि गोलीले कुरेर बसिरहेको थियो, तर त्यस रात कार बिग्रेर रातभर घर जान नपाउनाले उनको ज्यान जोगियो। यो थाहा पाउनेबित्तिकै उनी ज्यान जोगाउन वेस्ट भर्जिनिया भागे।

एउटा निर्णायक घडी

नेपले अझै चाहेजस्तो सफलता पाइररहेका थिएनन्। उनले कार्नेगीको स्याबासी र मिलेटको हौसला सम्भि्कए। अन्ततः उनले किताब लेखी छाड्ने निर्णय गरे। किताबको प्रस्ताव लिएर उनी कैयौँ प्रकाशककहाँ पुगे। कैयौँ अस्वीकृतिपछि कनेक्टिकटका प्रकाशक एन्ड्रयु पेल्टन उनको पुस्तक छाप्न राजी भए। नेपको आठ खण्डको ‘ल अफ सक्सेस’ (सफलताका नियम) पुस्तक १९२८ को मार्च २६ मा बजारमा आयो। पछिल्ला ५० वर्षमा आरिसलाग्दो उपलब्धि हासिलकर्ताको सफलतासूत्रको संकलन थियो यो। पुस्तक बजारमा निस्कनेबित्तिकै हलचल नै मच्चियो।

पुस्तकले मासिक दुई हजार पाँच सय डलर कमाएर उनलाई दिँदै थियो। यसपछि बल्ल उनले आफ्नी पत्नी फ्लोरेन्स र तीन छोरालाई कनेक्टिकट बोलाए। उनले त्यही सफलता सिकाउने विद्यालय खोल्ने योजना बुने। यही बेला अमेरिकामा आर्थिक मन्दी सुरु भयो। उनको आम्दानी नराम्रोसँग सुक्यो। उनको सक्सेस स्कुल खोल्ने योजना त्यत्तिकै तुहिन पुग्यो।

अरुको जीवनमा आशा र हौसला ब्युँताइरहने भित्री इच्छाले उनलाई चैनले बस्न दिएको थिएन। उनी ‘आशाको सुसमाचार’ फैलाउन उत्तिकै इच्छुक थिए। ठीक यहीबेला अमेरिकी राष्ट्रपति फ्रांकलिन डेलानो रुजबेल्टले उनलाई ‘नेसनल रिकभरी एडमिनिस्ट्रेसन’मा सहभागी हुन आग्रह गरे। यस संस्थाको उद्देश्य आर्थिक मन्दीका कारण सर्वसाधारणमा छाएको निराशालाई हटाउनु र जनतामा आत्मविश्वास बढाउन प्रेरित गर्न विविध किसिमको कार्यक्रम सञ्चालन गर्नु थियो। यो उनले खोजेजस्तै काम थियो, अस्वीकार गरेनन्। उनी फेरि पनि आफ्नी प्यारी पत्नी र तीन छोरादेखि टाढा भए। यसले उनीहरूको जीवनमा असहज वातावरण ल्याइदियो। फ्लोरेन्सले उनीसित पारपाचुके मागिन्। सन् १९३५ मा दुवैले पारपाचुके गरे।

यसपछिका दुई वर्ष उनले वासिङ्टन डीसीमा राष्ट्रपतिको नजिक रहेर काम गरे। राष्ट्रपतिको प्रशासनमा रहेर उनले गज्जबका आशावादी भाषण लेखे, यादगार पंक्ति कोरे। त्यसबखत राष्ट्रपति रुजबेल्टले भनेको ‘हामीले डरबाहेक कसैसित डराउनु छैन’ निकै चर्चित रह्यो।

थिंक एन्ड ग्रो रिच (सोच्नुस् र धनी बन्नुस्)

राष्ट्रप्रतिको सेवा सकिएपछि उनी पुनः पठनपाठनमा फर्किए। सन् १९३७ मा अट्लान्टा राज्यमा छँदा उनले २९ वर्षीया युवती रोजा लि बिल्यान्डलाई भेटे, लगत्तै उनीसँग पनि बिहे गरे। बिहेपछि रोजाको सहयोगले अर्को पुस्तक लेख्न भ्याए– थर्टिन स्टेप्स टु रिचेज। महिनौँको सम्पादन र पुनर्लेखनपछि प्रकाशक एन्ड्रयु पेल्टनको हातमा पुस्तक राखिदिए। प्रकाशकले पुस्तक ‘ल अफ सक्सेस’ भन्दा एकरत्ति फरक नभएको भन्दै पुस्तक छाप्न अस्वीकार गर्‍यो।

रोजालाई झनक्क रिस उठ्यो। उनले प्रकाशक पेल्टनलाई भनिन्, ‘अलि गहिरो गरी पढ्नुस्। एउटै मान्छेले लेखेको, सफलताबारे नै लेखिएको पुस्तक सुरुमा हेर्दा उस्तै त भइहाल्छ नि! गहिरिएर हेर्नुभयो भने त फरक पाउनुहुन्छ।’

रोजाको भनाइपछि मात्र उनी पुस्तक छाप्न राजी भए, तर पुस्तकको नाउँ परिवर्तन गर्ने सर्तमा। पुस्तकको नाम राखियो, ‘युज योर नुडल टु विन मोर बुडल।’ यो नाम रोजालाई चित्त बुझेन। छापिनुअघि नै किताबको नाम राखियो, ‘थिंक एन्ड ग्रो रिच’, जुन नेपको जीवनकै सबैभन्दा सफल कृति बन्न पुग्यो।

यो पुस्तकको पहिलो संस्करण तीन सातामै सकियो। यतिन्जेलसम्म देशको आर्थिक मन्दी समाप्त भइसकेको थियो। हेर्दाहेर्दै यो पुस्तक १० लाखभन्दा बढी बिक्री भयो। अहिलेसम्म यस पुस्तकलाई ‘आत्मोन्नति’ (सेल्फ इम्प्रुभमेन्ट) माथि लेखिएको उम्दा पुस्तक मानिन्छ। संसारभरि यो पुस्तक तीन करोडभन्दा बढी बिक्री भइसकेको छ। त्यसबखत भर्खरै आर्थिक कंगाली पार गरेका अमेरिकी जनताका लागि यो एउटा आशा जगाउने पुस्तक थियो।

पुस्तकको दर्शन थियो, ‘जुन कुरा तपाईं सोच्न सक्नुहुन्छ र त्यसमाथि विश्वास गर्नुहुन्छ, त्यो चिज तपाईंले अवश्य हासिल गर्न सक्नुहुन्छ।’ यस सिद्धान्तमा यसपछि लाखौँ पुस्तक लेखिइसकेका छन्। करोडौँ सर्वसाधारणमा यसको अद्भूत असर परिसकेको छ। यस पुस्तकबाट नेपोलियनले खोजेजस्तो सफलता हात पारे।

सन् १९४० मा नेपोलियन हिलको आम्दानी १० लाख डलर पुग्यो। पहिलोपटक उनी करोडपति बने। तर, यस सफलताले रोजा र नेपको वैवाहिक जीवनमा खतरा ल्याइदियो। छोडपत्रपछि रोजाले ‘थिंक एन्ड ग्रो रिच’ पुस्तकको रोयल्टी पाइरहने भइन्। पारपाचुकेपछि नेप सडकमै आइपुगे।

दिक्दार भएर नेप साउथ क्यारोलिना राज्यमा पुगे, त्यहाँको एउटा कलेजका अध्यक्ष तथा पत्रिकाका प्रकाशक विलियम प्लमर ज्याकोब्सलाई उनले भेटे। कलेजमा आफू आत्मोन्नतिको पाठ्यक्रममा पढाउन इच्छुक रहेको बताए। यहाँ उनले १६ खण्डको ‘मेन्टल डाइनामाइट’ पाठ्यक्रम तयार पारे। जसै पुस्तक छापिन तयार भयो, दोस्रो विश्वयुद्ध सुरु हुनै लागेकाले अमेरिकाभरि कागजको खडेरी पर्‍यो। किताब छापिएन।

सकारात्मक मानसिक प्रवृत्ति

हरेक असफलताले सफलताको बीज बोकेर हिँडेको हुन्छ भन्ने जीवनसिद्धान्तमा हिँडेका नेपोलियन जीवनमा कहिल्यै हतास भएनन्। यस किसिमको विश्वास उनकी सौतेनी आमाले भरिदिएकी थिइन्। हिलले जहिले पनि शिक्षित महिलासँग संगत गरे। पछिल्लो समय पनि उनले ज्याकोब्स प्रेसमा काम गर्दै रहँदा ४७ वर्षीया एनी लोउ नर्मनसँग संगत गर्न पुगे। संगत ‰याङ्गिँदै गर्दा १९४३ मा बिहे गरे। यो जोडी क्यालिफोर्निया सर्‍यो, त्यहाँ उनले पढाउने काम थाले। पढाउने क्रममा एकपटक उनी सिकागो जानुपर्‍यो, जहाँ उनको कम्बाइन इस्योरेन्स कम्पनी अफ अमेरिकाका मालिक डब्लु क्लेमेन्ट स्टोनसँग भेट भयो। क्लेमेन्टले निराशाका बेला ‘थिंक एन्ड ग्रो रिच’ पुस्तक पढेका थिए। पुस्तकबाट उनी यति धेरै प्रभावित भए कि आफ्ना प्रत्येक कर्मचारीलाई यो पुस्तक उपहार दिएका थिए। पुस्तक उपहार पाएपछि जसजसले पढेर आफ्नो जीवनमा लागु गरेका थिए, तिनले कम्पनीलाई ठूलो योगदान दिन सके। चाँडै नै कम्पनी निराशाजनक अवस्थाबाट अमेरिकाकै ख्यातिप्राप्त कम्पनीमा बौरिन सफल भएको थियो।

क्लेमेन्टसँगको भेटपछि नेप मख्ख हुने भइहाले। दुवैबीच गज्जबको दोस्ती जम्यो। सन् १९५२ मा नेप ६९ लाग्दै थिए, क्लेमेन्टसँग मिलेर शृंखलाबद्ध पुस्तक, पाठ्यक्रम, लेक्चर, रेडियो र टेलिभिजन कार्यक्रम उत्पादन गर्ने कम्पनी सुरु गरे। १९५४ मा उनीहरूले ‘सक्सेस अनलिमिटेड’ पुस्तक निकाले। यसले ‘सक्सेस’ नामक म्यागेजिन निकाल्ने बाटो खोल्यो। नेपोलियनले यसअघि नै ‘हिल्स गोल्डेन रुल’ र ‘नेपोलियन हिल्स म्यागेजिन’जस्ता म्यागेजिन निकालिसकेका थिए। यो पनि उनको सूचीमा थपियो।

नेपोलियन हिल र क्लेमेन्ट स्टोन मिलेर पछि ‘सक्सेस थ्रु अ पोजिटिभ मेन्टल एटिच्युड’ पुस्तक बजारमा ल्याए। यो पुस्तक सन् १९६० को बेस्ट सेलर बन्यो। ८७ वर्षको उमेरमा सन् १९७० मा नेपोलियन हिलको निधन भयो। निधनलगत्तै डब्लु क्लेमेन्ट स्टोनले नेपकी पत्नी एनी लोउ हिललाई नेपोलियन हिल फाउन्डेसनको निर्देशकका रूपमा नियुक्त गरे। यस संस्थामार्फत् दिवंगत पतिको सिद्धान्तको प्रचार गर्नु उनको उद्देश्य थियो। यसमा साथ दिन क्लेमेन्ट तयार थिए। क्लेमेन्ट स्वयं पनि नेपोलियनको सिद्धान्तलाई टेकेर सफल भएका थिए। उनी नेपका सिद्धान्त संसारभर पुर्‍याउन चाहन्थे र संसारलाई प्रेरित गर्न चाहन्थे।

यो पुस्तक त्यही चाहनाको एउटा प्रतिरूप हो। तपाईं जति उत्प्रेरित बन्नुहुन्छ, नेपको आत्माले उति शान्ति पाउनेछ।

प्रकाशित: ९ वैशाख २०७४ ११:४२ नागरिक शनिबार