अल्बेयर कामुको प्रख्यात उपन्यास ‘आउटसाइडर’ (कतिपयले ‘द स्ट्रेन्जर’ नाममा पनि अंग्रेजीमा छापेका छन्) यो नेपाली अनुवाद ‘आगन्तुक’ हामीलाई प्रख्यात अनुवादक हरिहर खनालले उपलब्ध गराउनु भएको हो । उहाँका धेरै अनुदित कृति बजारमा आएका छन् ।
अल्बेयर कामुको परिचय
अल्बेयर कामु १९१३ मा अल्जेरियामा जन्मिएका थिए । उनको बाल्यकाल गरिब थियो तथापि बेखुसी थिएन । उनले अल्जियर्स विश्वविद्यालयमा दर्शनशास्त्र अध्ययन गरे र एउटा पत्रकारका साथै Théâtre de l’équipe नाम भएको नयाँ एवम् प्रगतिशील विचारको नाटक मण्डलीको गठन गरेर त्यसको अगुवा बने । उनका सुरुका निबन्धहरू L’Envers et l’endroit (The Wrong Side and the Right Side) र Noces (Nuptials) मा सङ्ग्रहित छन् । उनी प्यारिस गए जहाँ उनले अल्जेरिया फर्कनुभन्दा अघिसम्म Paris Soir भन्ने अखबारमा काम गरे । उनको नाटक Caligula १९३९ मा प्रकाशनमा आयो । उनका पहिला दुई महत्त्वपूर्ण पुस्तकहरू L’Etranger (The Outsider) र लामो निबन्ध Le Mythe de Sisyphe (The Myth of Sisyphus) उनी प्यारिस फर्केपछि प्रकाशित भएका थिए । १९४१ मा जर्मनहरूले फ्रान्सलाई नियन्त्रणमा लिएपछि कामु प्रतिरोध अभियानका बुद्धिजीवी नेताहरूमध्ये एक भए । उनले Combat नामक भूमिगत अखबार सम्पादन गरे र त्यसका लागि लेखहरू लेखे, जुन पत्रिकाको स्थापनामा उनले सहयोग गरेका थिए । युद्ध समाप्त भएपछि उनले आफूलाई लेखनमा समर्पण गरे र La Peste (The Plague, 1947), Les Justes (The Just, 1949), र La Chute (The Fall, 1956) जस्ता पुस्तकहरूबाट अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे । १९५० को दशकको अन्त्यतिरको समयावधिमा लेखेर र William Faulkner को Requiem for a Nun र Dostoyevsky को The Possessed को निर्देशन गरेर कामुले थिएटरप्रतिको उनको चाखलाई पुनर्जागृत गरे । १९५७ मा उनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । १९६० मा उनी एउटा सडक दुर्घटनामा मारिएका थिए । उनको अन्तिम उपन्यास Le Premier Homme (The First Man) उनको मृत्युको समयमा अपुरो थियो र त्यो १९९४ मा पहिलोपल्ट प्रकाशित भयो । तत्कालै त्यो अत्यधिक बिक्री हुने पुस्तकहरूको सूचीमा पर्यो, व्यापक रूपमा बहुचर्चित भयो र तीसभन्दा बढी देशमा अनूदित र प्रकाशित भयो । कामुका अधिकांश कृतिहरू पेन्गुइनमा प्राप्त छन् ।
सात्रले उनको समवेदना सन्देशमा कामुप्रति यसरी श्रद्धा अर्पण गरेका छन्ः
‘कामु हाम्रो सांस्कृतिक विचार पद्धतिका प्रधान शक्तिहरूमध्ये एक हुन कहिल्यै पनि छाड्ने छैनन्, न त उनले आफ्नै तरिकाले फ्रान्सको इतिहास र यो समाजको प्रतिनिधित्व गर्न नै छाड्ने छन् ।’
०००
::चार::
०००
मैले हप्तैभरि कडा परिश्रम गरेँ र रेमन्ड आयो र उसले चिट्ठी पठाएको कुरा मलाई भन्यो । म दुईचार पटक इम्यानुअलसित सिनेमा हेर्न गएको छु जो त्यहाँ के भइरहेको छ भन्ने कुरा बुझ्दैन । त्यसै कारणले उसलाई अरूले कुरो बुझाइदिनुपर्छ । हिजो शनिबार थियो र हामीले सल्लाह गरेअनुसार मेरी आई । मैले वास्तवमै उसलाई मन पराएँ किनभने त्यसले एकदम राम्रो रातो र सेतो धर्के लुगा र छालाको जुत्ता लगाएकी थिई । जोसुकैले पनि उसका कडा स्तनको आकार देख्न सक्थ्यो र घाममा सुकेको उसको अनुहार एउटा फूलजस्तो देखिएको थियो । हामीले एउटा बस समात्यौँ र अल्जियर्स बाहिर केही माइल पर, चट्टानहरूले घेरिएको र नर्कटले जमिनसित जोडिएको एउटा सानु समुद्र किनारमा गयौँ । चार बजेको घाम धेरै चर्को थिएन, तर पानी तातो थियो र त्यसमा सुस्त गतिमा लामा छालहरू उर्लिरहेका थिए । मेरीले मलाई एउटा खेल सिकाई । पौडँदै गर्दा सबै फिँज मुखमा जम्मा गरेर छालको माथिल्लो सतहबाट पिउनुपथ्र्यो र उत्तानो परेर त्यसलाई आकाशमा फोहोरा छोड्नुपथ्र्यो । यसले फुर्र छर्यो जसले हावामा पगाल्यो वा मेरो अनुहारमा न्यानो वृष्टि गर्यो । तर एकछिनपछि मेरो मुख नुनको चर्कोपनले भतभती फोल्न थाल्यो । त्यसपछि ऊ मसित सामेल भई र पानीमा मसित टाँसिई । त्यसले उसको मुख मेरो मुखमा जोडी । उसको जिब्रोले मेरा ओठलाई शीतल बनायो र हामीहरू एकछिन छालमा लठारियौँ ।
समुद्र किनारमा जब हामीले फेरि लुगा लगायौँ, मेरीले मलाई चम्किला आँखाले हेरी । मैले त्यसलाई म्वाइँ खाएँ । त्यो बेलापछि हामी दुईमध्ये कसैले पनि केही भनेनौँ । हामी बस चढ्न हतारमा जाँदै गर्दा मैले उसलाई समातेँ, हामी घर आइपुग्छौँ र हामीलाई मेरो ओछ्यानमा पछार्र्यौँ । मैले मेरो झ्याल खुलै छोडेको थिएँ र गर्मीको रात हाम्रो शरीर मुसारेर बगिरहँदा आनन्द लागेको थियो ।
आज बिहान मेरी बसी र मैले उसलाई हामीसँगै खाना खान सक्छौँ भनेँ । मासु किन्नका लागि म बाहिर गएँ । म फर्केर घरतिर आउँदै गर्दा रेमन्डको कोठामा एउटी महिलाको स्वर सुनेँ । एक छिनपछि सालामानोले उसको कुकुरलाई गाली गर्यो; हामीले मान्छे हिँडेको र काठको भर्याङमा खुट्टाका पञ्जाले खोस्रेको र त्यसपछि, ’फोहोरी, जुम्य्राहा जनावर भनेको सुन्यौँ र तिनीहरू बाहिर सडकमा गए । मैले त्यो वृद्ध मानिसका बारेमा सबै कुरा मेरीलाई सुनाएँ र ऊ हाँसी । उसले मेरो पाइजामा लगाएकी थिई र बाहुला खुम्च्याएर माथितिर सारेकी थिई । ऊ हाँस्दा निकै हिसी परेकी देखिई । एक मिनेटपछि मैले उसलाई प्रेम गर्छु कि गर्दिन भनेर सोधी । मैले के भनेँ भने मैले केही पनि बुझिन तर के भने मैले त्यस्तो सोचेको थिइन । ऊ दुःखी देखिई । तर जब हामी खाना तयार गर्दै थियौँ, र कुनै विशेष कारणविना ऊ फेरि हाँसी, त्यसपछि मैले उसलाई म्वाइँ खाएँ । त्यै बेलामा हामीले रेमन्डको कोठामा झगडा सुरु भएको सुन्यौँ ।
पहिले हामीले एउटी महिलाको तिखो स्वर र त्यसपछि रेमन्डले ‘तैँले मलाई ठगिस्, तैँले मलाई ठगिस्, मलाई ठगेको पाठ म तँलाई सिकाउने छु’ भनिरहेको सुन्यौँ । केही चिज ढ्याप्प गरेर खसेको आवाजसँगै महिला चिच्याई । तर त्यो कस्तो डरलाग्दो चिच्याहट थियो भने त्यसको आँगन एकै छिनमा मानिसहरूले भरियो । मेरी र म पनि बाहिर निस्कियौँ । महिला चिच्याइरहेकी थिई र रेमन्डले उसलाई पिटिरहेको थियो । मेरीले यो अचाक्ली भयो भनी र मैले केही पनि भनिन । उसले मसित एक जना पुलिस बोलाएर ल्याउन अनुरोध गरी, तर मैले ऊसित के भनेँ भने मलाई पुलिस मन पर्दैन । जे होस्, दोस्रो तलामा बस्ने प्लम्बरसित एक जना पुलिस आइपुग्यो । उसले ढोकामा हान्यो र हल्ला थामियो । उसले झन् बेसरी हान्यो र महिला रुन थाली र रेमन्डले ढोका खोल्यो । उसको मुखमा चुरोट थियो र अनुहारमा मन्द मुस्कान । केटी दौडेर ढोकामा आई र उसले पुलिससित के भनी भने रेमन्डले उसलाई पिट्यो । ‘नाम ?’ पुलिसले सोध्यो । रेमन्डले उसलाई भन्यो । ‘मसित कुरा गर्दा तिम्रो मुखको चुरोट बाहिर झिक,’ पुलिसले भन्यो । रेमन्ड हिचकिचायो, मतिर हेर्यो र चुरोट तान्यो । त्यही बेलामा पुलिसले उसलाई उसको गालामा कसेर झापड हान्यो । चुरोट निकै पर पुगेर खस्यो । रेमन्डको मुखाकृति फेरियो तर ऊ एक छिनसम्म केही बोलेन र त्यसपछि भुइँमा खसेको चुरोट टिप्न सक्छु कि भनेर विनम्र स्वरमा सोध्यो । पुलिसले उसलाई टिपे हुन्छ भन्यो र थप्यो, ‘तर अर्को पटक पुलिसहरूसित हँसीमजाक गर्ने होइन भन्ने कुरा सम्झने छस्’ । यो पूरै समय केटी रोइरहेकी थिई र त्यसले दोहोर्याएर भनी, ‘उसले मलाई पिट्यो, ऊ वेश्यालयमा आइमाई पुर्याउने दलाल हो ।’ ‘सुन्नोस् त अधिकृतज्यू,’ रेमन्डले भन्यो, ‘आफ्नो लोग्नेलाई दलाल भन्नु कानुन विपरीत कुरो होइन र ?’ तर पुलिसले उसलाई ‘मुख बन्द गर्’ भन्यो । त्यसपछि रेमन्ड केटीतिर फर्कियो र भन्यो, ‘पर्खेस् मात्र, मेरो पाल्तु जनावर, हामीहरू फेरि एकअर्कालाई भेट्ने छौँ ।’ पुलिसले उसलाई चुप लाग्न भन्यो र के भन्यो भने केटी जानुपर्छ र पुलिस चौकीमा नबोलाएसम्म ऊ घरमा नै पर्खेर बस्नुपर्छ । उसले के पनि भन्यो भने यति धेरै पिएकोमा रेमन्डलाई अलिकति लाज पनि लाग्नुपर्छ । ऊ हल्लिइरहेको अवस्थामा थियो । त्यसमा रेमन्डले व्याख्या गर्यो, ‘म रक्स्याहा होइन अधिकृतज्यू । म यहाँ तपाईँको अगाडि उभिइरहेको हुनाले काँपिरहेको हुँ । म नकाँपीकन रहन सकिन ।’ उसले उसको ढोका बन्द गर्यो र सबै लाखापाखा लागे । मेरी र मैले खाना तयार गर्ने काम सक्यौँ । तर ऊ भोकाएकी थिइन । मैले खाने कुरा झन्डै सबै खाएँ । ऊ एक बजे हिँडी र म एकछिन सुतेँ ।
तीन बजेतिर मेरो ढोका ढकढक्याएको आवाज आयो र रेमन्ड भित्र आयो । म उठिन । ऊ मेरो ओछ्यानको छेउमा बस्यो । एकछिनसम्म उसले केही पनि भनेन र मैले के कस्तो बितेको छ भनेर सोधेँ । उसले मलाई के भन्यो भने उसले जे गर्न चाहेको थियो त्यो उसले गरेको थियो तर त्यसले उसलाई थप्पड हानेकी थिई र त्यसै कारणले उसले त्यसलाई पिटेको थियो । बाँकी मैले देखेको थिएँ । मैले उसलाई के भनेँ भने मलाई यस्तो लाग्छ यस पटक त्यो साँचो अर्थमा दण्डित भएकी थिई र ऊ खुसी हुनुपर्छ । उसले मञ्जुर गर्यो र के कुरा इङ्गित गर्यो भने पुलिसले जे गर्यो, उसले पाएको थप्पड उसले फिर्ता लिन सक्दैन । उसले के थप्यो भने उसले पुलिसहरूका विषयमा सबै कुराको जानकार थियो र तिनीहरूलाई कसरी चलाउने भन्ने बारेमा विल्कुलै जान्दथ्यो । त्यसपछि उसले पुलिसलाई प्रत्युत्तरमा थप्पड लगाओस् भनेर मैले चाहेको थिएँ कि भनेर मलाई सोध्यो । मैले त्यस्तो कुनै कुरा कत्ति पनि चाहेको थिइन भन्ने उत्तर दिएँ र जे होस् म पुलिस मन पराउँदिन । रेमन्ड खुब खुसी देखियो । उसले म ऊसित बाहिरतिर घुम्न जान चाहन्थेँ कि भनेर सोध्यो । म उठेँ र कपाल कोर्न थालेँ । उसले मलाई के भन्यो भने मैले उसका लागि एउटा साक्षीका रूपमा काम गर्नुपर्ने छ । मैले त्यसो गर्न कुनै आपत्ति छैन भनेँ, के भन्नुपर्ने के थियोे त्यो मात्र मलाई थाहा थिएन । रेमन्डको भनाइ अनुसार मैले गर्नुपर्ने जम्माजम्मी कुरो केटीले उसलाई ठगेकी थिई भन्नु थियो । मैले उसको लागि साक्षीका रूपमा काम गर्न मञ्जुर गरेँ ।
हामीहरू बाहिर थियौँ र रेमन्डले मेरोनिम्ति एउटा ब्रान्डी किन्यो । त्यसपछि उसले बिलियार्ड खेल खेल्न चाह्यो र मैले हारेँ । त्यसपछि ऊ वेश्यालयमा जान मन गर्यो तर मैले नाइँ भनेँ किनभने मलाई त्यस प्रकारको कुरा मन पर्दैन । त्यसैले हामीहरू बिस्तारै घरतिर फर्कियौँ र उसकी पत्नीलाई सजाय दिने प्रबन्ध मिलाउन सकेकोमा ऊ कति खुसी भएको थियो भन्ने कुरा उसले मलाई भनिरह्यो । मैले उसलाई मप्रति धेरै मित्रवत् पाएँ र मलाई लाग्यो यो एउटा राम्रो क्षण हो ।
केही परैबाट मैले वृद्ध सालामानोलाई हडबडाएको अवस्थामा ढोकाको सिँढीमा उभिइरहेको देखेँ । जब हामी नजिकै पुग्यौँ, मैले के देखेँ भने उसको कुकुर ऊसित थिएन । उसले सबै दिशामा हेर्नु, चारैतिर घुम्नु, हलको अँध्यारोमा चियाउनु, अस्पष्ट स्वरमा असम्बन्धित शब्द गुनगुनाउनु र त्यसपछि उसका साना राता आँखाले फेरि सडकमा खोज्न सुरु गर्नु थियो । के भएको हो भनेर जब रेमन्डले सोध्यो, सुरुमा उसले जवाफ दिएन । उसले अस्पष्ट स्वरमा ‘घिनलाग्दो, जुम्य्राहा जनावर’ भनेर कराइरहेको मैले सुनेँँ र ऊ लगातार कचकच गरिरहेको थियो । उसको कुकुर कहाँ थियो भनेर मैले उसलाई सोधेँ । उसले रुखो स्वरमा त्यो हरायो भन्यो । र त्यसपछि एक्कासि छिट्छिटो भन्न थाल्योः ‘मैले सधैँझैँ त्यसलाई कवाज मैदानमा लगेँ । त्यहाँ जात्रामा, स्टल वरिपरि मानिसको हुल थियो । ‘हराएको राजा’ हेर्नका लागि म रोकिएँ । र जब जानका लागि म पछाडि फर्केँ, ऊ त्यहाँ कतै थिएन । वास्तवमा मैले उसलाई लामो समयसम्मका लागि एउटा फिता ल्याउन खोज्दै थिएँ । तर मैले त्यो जुम्य्राहा जनावर यसरी हराओस् भन्ने कहिल्यै पनि सोचेको थिइन ।’
रेमन्डले त्यसपछि के भन्यो भने कुकुर हराएको मात्र हुन सक्छ र यो फेरि फर्केर आउन सक्छ । उसले उनीहरूका मालिकका घरमा फर्केर आउनका लागि दर्जनौँ माइल यात्रा गरेका कुकुरका कथाहरू उल्लेख गर्यो । यसले त्यो वृद्ध मानिसलाई हडबडमा पार्नेजस्तो मात्र देखिन्छ । ‘तर तिनीहरूले यसलाई मबाट टाढा लाने छन्, बुझ्यौ ? कसैले उसलाई मन पराएको खण्डमा मात्र । तर तिनीहरूले त्यसो गर्ने छैनन्, सबै त्यसको लुतोदेखि घृणा मान्छन् । त्यसलाई पुलिसले लानेछ । मलाई थाहा छ तिनीहरूले लान्छन् ।’ त्यसैले मैले उसलाई बेवारिस कुकुर राख्ने ठाउँमा जाउ र उनीहरूले थोरैतिन शुल्क लिएर दिन सक्छन् भनँे । शुल्क कति होला भनेर उसले मलाई सोध्यो । मलाई थाहा थिएन । त्यसपछि ऊ रिसायो । ‘त्यो जुम्य्राहा जनावरका लागि पैसा तिर्नु ? हा ! त्यो मरोस्, मलाई त्यसको कुनै मतलब छैन !’ र उसले त्यसलाई गाली गर्न थाल्यो । रेमन्ड हाँस्यो र भवनभित्र पस्यो । म उसको पछिपछि गएँ र भर्याङको माथिल्लो सतहमा हामीले एकआर्कालाई शुभरात्री भन्यौँ । एक छिनपछि मैले त्यो वृद्ध मानिसको पदचाप सुनेँ र उसले मेरो ढोका ढकढक्यायो । जब मैले ढोका खोलेँ, ऊ एक क्षणका लागि ढोकामा उभियो र भन्यो, ‘कृपया सुन्नोस् त ।’ मैले उसलाई भित्र बोलाएँ, तर ऊ आउन चाहेन । ऊ उसको बुटजुत्तामा हेरिरहेको थियो र उसका लुते हात काँपिरहेका थिए । मतिर नहेरीकन, उसले सोध्यो, ‘तिनीहरूले त्यसलाई मसितबाट लाँदैनन् होला, लैजालान् त श्रीमान् मरसोल्ट । तिनीहरूले त्यो मलाई फिर्ता देलान्, नत्र म के गरुँला ?’ मैले उसलाई के भनेँ भने उनीहरूले कुकुरलाई त्यसको मालिक लिन आओस् भनेर तीन दिनसम्म त्यहाँ राख्छन्, त्यसपछि तिनीहरूले त्यस विषयमा जे ठीक हुन्छ त्यही गर्छन् । उसले चुपचाप मलाई हेर्यो । त्यसपछि उसले भन्यो, ‘शुभरात्री ।’ उसले उसको ढोका थुन्यो र मैले ऊ तल र माथि गरिरहेको सुनेँ । त्यसपछि उसको ओछ्यान चुइँकियो । र बारको दिवालबाट आइरहेको सानो अनौठो खलबलबाट, मैले के महसुस गरेँ भने ऊ रोइरहेको थियो । कुनै कारणले मैले आमाका विषयमा सोचेँ । तर मलाई बिहान सबेरै उठ्नु थियो । मलाई भोक लागेको थिएन र म खाना नखाइकन सुत्न गएँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

