बालबालिकाको अत्यधिक डिजिटल मिडियाको प्रयोग अभिभावकहरूका लागि एउटा ठूलो चुनौती बनिरहेको छ । यो चुनौती चिर्न कस्ता नियम लगाइनु जरुरी छ ?

बालबालिकाको ‘स्क्रिन टाइम’ मुद्दा किन बनिरहेको छ ?
पहिलो पुस्ताको आइफोनले बजार पिटेको मात्र १३ वर्ष भयो । नेटफ्लिक्स पनि त्यही बेला स्ट्रिमिङ बजारमा आएको थियो । यसले आधारभूत रुपमै मोबाइलमा लामा भिडियो हेर्ने व्यवहारमा परिवर्तन गरिदियो । आइप्याड पनि १० वर्षभन्दा केहीको बढी भयो । टेलिभिजन र भिडियो गेम भने केही दशकदेखि अड्डा जमाएर बसिरहेका छन् । तर जब स्मार्टफोन र ट्याब्लेटको ‘बुम’पछि जुनसुकै बेला जहाँसुकै डिजिटल कन्टेन्ट हेर्न मिल्ने बन्यो, एउटै व्यक्तिले मोबाइल, ट्याब्लेट, ल्यापटप, डेस्कटप, स्मार्ट टिभीजस्ता डिजिटल प्लेटफर्ममा समय बिताउने वातावरण बन्न थालेपछि त्यसको उत्ति नै सदुपयोग हुने भइहाल्यो । हजुरबा हजुरआमासँग च्याट गर्नेदेखि साथीहरुसँग ह्वाट्सएप र भिडियोगेम खेल्नेदेखि अनेकन् काममा तिनै स्क्रिनको ‘सदुपयोग’ हुन थाल्यो । यसै कारण सन् १९९० को दशकदेखि बालबालिकाहरुले स्क्रिन टाइम दोब्बरले वृद्धि भएको छ । अफकम नामक संस्थाले गरेको सर्भेअनुसार बेलायतमा पाँच देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुले २ घण्टा ११ मिनेट अनलाइन बस्ने गरेका छन् । यस्तै एक घण्टा ५२ मिनेट त उनीहरुले टेलिभिजन हेरेरै बिताउने गरेका छन् ।

विज्ञहरुले कति समय राम्रो मान्छन् ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) दुवै संस्थाले दुई वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरुलाई मोबाइल वा टेलिभिजन हेर्ने बानी नलगाउन सुझाव दिन्छन् । त्यस्तै दुईदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरुले एक घण्टाभन्दा कम समय हेर्न उपयुक्त मानिरहेका छन् । त्यो पनि उच्च स्तरीय कन्टेन्ट भएका टेलिभिजन मात्र हेर्न दिनु उपयुक्त हुने उनीहरुको सुझाव छ । यसैगरी ६ देखि १० वर्ष उमेर समूहका बालबालिकाहरुलाई डेढ घण्टा मात्र हेर्न दिइनुपर्ने, ११ देखि १३ वर्षका बालबालिकालाई हरेक दिन बढीमा दुई घण्टा मात्र हेर्न दिइनुपर्ने धारणा राखेका छन् । हुन त यी दुवै संस्थाले यो समय तोकिदिएको भए पनि यसका पछाडि के कस्ता वैज्ञानिक कारण छन्, उनीहरुले त्यत्ति नै समय किन तोके भन्नेबारेमा कुनै स्पष्ट वैज्ञानिक कारण र धारणाहरु प्रकट गरेका छैनन् । डब्लुएचओका विज्ञहरुले गुणस्तरहीन कन्टेन्ट दिइँदा बालबालिकाहरुको दिमागले त्यस्तै कुरालाई आफ्नो मानक बनाउने हुनाले जहिल्यै पनि उच्च स्तरीय कन्टेन्ट (भिडियोको स्तर वा कन्टेन्टको स्तर) हर्ने वातावरण बनाउनुपर्ने धारणा राखिएको हुनसक्ने विज्ञहरु बताउँछन् । तर बेलायतको रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थ (आरसिपिसिएच)ले भने टेलिभिजन वा मोबाइलमा कति समय बिताउने भन्ने खास समय भने तोकेको छैन ।

स्क्रिन टाइमका कारण कुप्रभाव परेको कसरी थाहा भयो ?
बढीभन्दा बढी स्क्रिनमा समय बिताउने बालबालिकालाई के कति कारणले क्षति पुग्यो, उनीहरुलाई त्यसले ‘विषाक्त’ बनाइरहेको छ वा हानि पुगिरहेको छ भन्नेबारे अहिलेसम्म खास प्रमाण फेला परेको छैन । तर स्क्रिन टाइम बढी खपत गर्ने बालबालिकाहरुलाई हानि पुगिरहेको तर्फबाट सबैको एक मत छ । रमाइलो त के छ भने डिजिटल कन्टेन्ट र यससम्बन्धी प्रविधि नयाँ भएका कारण सुदूर भविष्यसम्म यसले कस्तो प्रभाव पार्नेछ वा पारिरहेको छ भन्नेबारे अहिले नै निष्कर्षमा पुग्न नसक्नु स्वाभाविक हो । नयाँ प्रविधिमा धेरै अनुसन्धान हुन बाँकी नै छ । मोबाइल, ट्याब्लेट, भिडियो गेम कन्सोल, डेस्कटप, ल्यापटपजस्ता सामग्रीमा डिजिटल कन्टेन्ट हेर्ने वा खेल्ने बानीलाई हिजोआज ‘स्क्रिन टाइम’ भन्न थालिएको छ । यसमा स्कुले होमवर्कदेखि अश्लील फिल्म हेर्नुसम्मका क्रियाकलाप पर्छन् । यसमा यति धेरै विविधता छ कि विश्लेषण गर्न हम्मेहम्मे पर्न थालेको छ । त्यसो त केही अध्ययन नभएका भने होइनन् । केही अध्ययनले बढी ‘स्क्रिन टाइम’ लिने बालबालिकामा मोटोपन बढाउने, डिप्रेसनको समस्या तथा कमजोर शैक्षिक परिणामजस्ता समस्या देखिएका छन् । तर सँगैमा यसमा के देखिएको छ भने गरिब बालबालिकाहरुले बढी स्क्रिन टाइम लिने, उनीहरुले नै स्वास्थ्यवर्द्धक खान्की कम पाउने, उनीहरुकै शैक्षिक गुणस्तरयुक्त पठनपाठन नहुनेजस्ता समस्या देखिएकाले अध्ययन निष्कर्ष चाहिँ स्क्रिन टाइमकै दोष देखाउन अलि मिलिरहेको छैन । खासमा वृहद् सामाजिक समस्याका कारण बालबालिकामा पनि त्यसको असर देखिएको हुनसक्छ तर त्यो असरलाई स्क्रिन टाइम कुप्रभावका रुपमा व्याख्या गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे अझै निष्कर्ष निकाल्न सकिएको छैन ।

के उसो भए कुप्रभाव छैन त ?
बढीभन्दा बढी स्क्रिन टाइम खपत गर्ने बालबालिकाहरुलाई गम्भीर किसिमको समस्या आइपर्ने अध्ययनहरुले त देखाएकै छ । खासगरी सामाजिक सञ्जालमा साइबर बुलिङ, अनलाइन राक्षसहरुले बालबालिकाको अश्लील भिडियो बनाउनेदेखि लिएर अनेकन् समस्या त देखिएकै कुरा हो । यस्तै स्क्रिनहरुबाट निस्कने नीलो प्रकाश बालबालिकाहरुको सुत्ने शैलीमा ठूलो बाधा पुर्‍याइरहेको छ । र, यसले बालबालिका मात्र होइन, वयस्कहरुलाई समेत समस्यामा पारिरहेको छ । तर आरसिपिसिएचले भने स्क्रिन टाइमले पारेको कुप्रभावको सिधा कारण भने सर्वसाधारणले त्याग्दै गएको ‘सकारात्मक गतिविधिहरु’ नै हो भनिरहेको छ । भनाइको अर्थ, बालबालिका होऊन् या वयस्क ‘सकारात्मक गतिविधि’ गर्नै छाडेका छन् । सकारात्मक गतिविधि भनेको सुत्नु, कसरतजन्य क्रियाकलाप गर्नु, खेल्नु, पढ्नु तथा सामाजिक अतरक्रियामा सक्रिय सहभागिता जनाउनुजस्ता कुराले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा ठूलो सकारात्मक भूमिका खेल्छ । जब यस्ता शारीरिक गतिविधिलाई स्क्रिनमा आधारित गतिविधिले विस्थापित गर्छ, त्यो बेला एउटा ‘अवसरको मूल्य’ अवश्य चुकाउनु पर्छ ।

उसो भए मस्तिष्कलाई स्क्रिनले प्रभाव पार्दैन त ?
हुर्कंदै गरेको मस्तिष्कले निरन्तर रुपमा नशाहरुसँग सम्बन्ध विस्तार गरिरहेको हुन्छ । कम प्रयोग गरिएका नशा वा कोशिकाहरुलाई यसले छाड्दै गरेको हुन्छ । अनलाइन गेमिङ प्रणाली र सामाजिक सञ्जालहरु यस्तो किसिमले बनाइएको हुन्छ कि त्यसले मस्तिष्कको पुरस्कार प्रणालीलाई बढी प्रोत्साहित गर्छ । भनाइको अर्थ, जे कुराको पुरस्कार पाइन्छ, त्यसैमा मात्र ध्यान केन्द्रित गर्ने प्रवृत्ति मात्र यसले विकसित गर्छ । कम पुरस्कार वा हामीले कम ध्यान दिएका वस्तुतर्फ ध्यानै नदिने वा त्यसलाई नजरअन्दाज गर्ने प्रवृत्ति यसले बढाइदिन्छ । यसले हाम्रो मस्तिष्कको काम गर्ने क्षमता, तिनको आधारभूत आधारशीला नै परिवर्तन गरिदिन सक्छ । बालबालिकाहरुको मस्तिष्कलाई अति सक्रिय (ओभर स्टिमुलेट) गरिदिएर धान्नै नसक्ने तृष्णा बढाइदिन सक्छन् । यसले एउटा पूरा बालबालिकाको पुस्ता नै सम्हाल्न नसक्ने मनोदशा बोकेर हुर्कन थाल्छन् । त्यस्ता पुस्ता आउँदो समाजका लागि कत्तिको खतरनाक बन्न सक्छन् भन्ने कुरा अझै अध्ययन हुनै बाँकी छ । यस किसिमको समस्यालाई हाल ‘गेमिङ डिसअर्डर’ (गेमिङ विकृति) नामकरण गरिएको छ । अनलाइन गेमिङ वा स्क्रिन गेमिङका कारण जन्मिएका यस्ता नशाका कोशिकामा आएका यस्ता परिवर्तन अन्य किसिमका कुलतझैँ देखिनु निश्चय नै खतरनाक कुरा हो । अत्यधिक स्क्रिनको प्रयोगले सामाजिक र शैक्षिक विकासमा नराम्रो प्रभाव परेको त अध्ययनहरुले नै देखाइसकेको कुरा हो । तर पनि यस्ता अध्ययनहरुले मिश्रित परिणाम पनि देखाएका छन् । खेलकुदहरुले मोटोर फङसन बढाउँछ भने एकअर्कासँग सहकार्यमा पनि सकारात्मक भूमिका खेल्छ । अनलाइन गेमिङको समस्या प्रयोगकर्ताहरुको ध्यान केन्द्रित नहुनसक्ने पनि देखिएको छ तर यस्तो समस्या खराबै हुन्छ भन्ने पनि छैन । केही समयको प्रयासपछि उनीहरुले दीर्घकालीन ध्यान केन्द्रित गर्ने खुबी हासिल गर्न सक्छन् ।

उसो भए अभिभावक कति चिन्तित हुनुपर्छ त ?
आरसिपिसिएचका सल्लाहधिकारीहरु भन्छन्, ‘स्क्रिनमा बढीभन्दा बढी समय बिताउँदा आइपर्ने समस्याका बारेमा जे जति कुरा उठिरहेका छन्, तिनलाई अतिरञ्जित ठानिनु हुँदैन । यो वास्तविक समस्या हो र बालबालिकाहरुको स्क्रिन टाइमलाई घटाउनका लागि अभिभावकहरुले सक्रिय रुपमा भूमिका खेल्नुपर्छ । बालबालिकासँग कुराकानी गर्न ढिला भइसक्यो । खासमा उनीहरुको सामाजिक गतिविधि र सुताईमा प्रभाव पार्ने किसिमको भइसक्यो भने उनीहरुको समय घटाउन ढिला भइसक्यो ।’ २०१९ मा ३५ हजारभन्दा बढी बालबालिकाहरुसँग गरिएको एउटा सर्भेमा कमभन्दा कम स्क्रिन टाइम बिताउने बालबालिकाहरु हरेक तरहले स्वस्थ रहेको देखिएको थियो । अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका अनुसार स्क्रिनमा जे चलेको भए पनि त्यो अन भइरहनुभन्दा बरु थोरै समय त्यो चलाउने र काम सकिएपछि निभाउने बानी बसाल्न जरुरी छ । मध्यम किसिमले स्क्रिन टाइम उपयोग गर्दा ‘मनोवैज्ञानिक’ रुपमा पनि राम्रै प्रभाव परेको देखिएको छ । तर अमेरिकाको एएपीले गरेको एउटा अध्ययनले भने बालबालिकाहरुले सबै किसिमका डिजिटल प्लेटफर्मलाई बढीभन्दा बढी प्रयोग गर्दा त्यसले धेरै किसिमका हुर्काइसम्बन्धी र स्वास्थ्यसम्बन्धी चिन्ता बढेको देखिएको छ । उसको भनाइ छ, यो चिन्ताजनक कुरा हो ।

हामीले स्क्रिन टाइमको खराबीबारे ठ्याक्कै उत्तर फेला पार्न सक्छौँ त ?
अबका केही वर्षभित्रमा यो सम्भावना न्यून छ । स्क्रिन टाइमका खराबी र समस्याबारे ठूला शोधहरु भर्खरै शुरु भएका छन् । ग्रोइङ अप डिजिटल अध्ययन हालै शुरु भएको छ र यसले संसारभरिका शिक्षक, अभिभावक र बालबालिकाहरुसँग प्रश्न सोधिरहेको छ । तर हाललाई पहिल्यै केही कच्चा अध्ययनले निकालेका निष्कर्ष भने छँदैछन् । जसले भन्छ, अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई कमभन्दा कम समय स्क्रिनका लागि छुट्याउन भूमिका खेल्नु पर्छ । बढीभन्दा बढी बाहिरी गतिविधिमा प्रेरित गर्नुपर्छ । खाना खाँदा र सुत्दाका बेला स्क्रिन चलाइरहनुपर्ने अवस्थाबाट बालबालिकालाई मुक्त राख्नुपर्छ । ओछ्यानबाट डिजिटल डिभाइसहरुलाई टाढै राख्नुपर्छ । बालबालिकाहरुले स्क्रिनमा के हेरिरहेका छन्, के गतिविधि गरिरहेका छन् तिनको चियोचर्चो अभिभावकहरुले गरिरहनुपर्छ । उनीहरु त्यहाँ कति लामो समयसम्म छन् भन्दा पनि के गर्दैछन् भन्नेमा ध्यान दिनु आवश्यक छ । अभिभावकले सन्तानलाई एउटा स्वरुपमा ढाल्नुपर्छ । कुनै पनि आकार वा स्वरुपमा ढालेर गरिएका गतिविधिले बालबालिकालाई फाइदा पुर्‍याउँछ किनभने उनीहरुको मस्तिष्क त्यस्ता कुरा चाँडै टिप्ने किसिमको हुन्छ । बालबालिकालाई स्क्रिन छुनै नदिने शैलीले सम्भवतः काम गर्दैन । हिजोआजका अधिकांश क्रियाकलापहरु डिजिटल र स्क्रिनमा आधारित भइसकेका छन् । अभिभावकले ध्यान दिनै पर्ने कुरा चाहिँ स्क्रिन नभएको अवस्थामा उनीहरुको हालत खराब हुनु भएन । उनीहरुले त्यो अवस्था सम्हाल्न सक्ने हुनुपर्छ । ‘स्क्रिन आधुनिक जीवनको एक भाग बनिसक्यो,’ आरसिपिसिएचका अध्यक्ष प्राध्यापक रसेल भाइनर भन्छन्, ‘बोतलबाट जिनी निस्किसक्यो । हामीले त्यसलाई पुनः बोतलभित्र छिराउन सक्तैनौँ ।’

अभिभावकको स्वाभाविक चिन्ता
ईशापूर्व ३७० मा महान् दार्शनिक प्लेटोले लेखन कलाको आविष्कारप्रति चिन्ता व्यक्त गरेका थिए । उनको भनाइ थियो, लेखन कलाको विकाससँगै मानिसको स्मरणशक्ति कमजोर बनाउने छ ।
त्यसबेलादेखि अहिलेसम्म जे जे नयाँ नयाँ मिडियाको विकास भएको छ, चाहे त्यो प्रिन्टिङ मेसिनको आविष्कार होस् या रेडियो–टेलिभिजन, भिडियोदेखि कम्प्युटर गेमसम्म, ती सबै चिजलाई अभिभावकहरुले हियाउन, होच्याउनसम्म होच्याएका छन् । तिनको सकारात्मक पक्षतर्फ भने रत्तिभर पनि ध्यान दिइएन । यतिबेला डिजिटल क्रान्तिपूर्व जन्मिएका र पछि जन्मिएकाहरुबीच कित्ताकाट भइरहेको छ कि वास्तवमा स्मार्टफोनभन्दा पहिले जन्मिएका र पछि जन्मिएका बालबालिका बीचको अपेक्षा, ज्ञान, डर र धेरै कुराहरु गडबडाइरहेको छ । स्क्रिनको शक्तिशाली चुम्बकीय क्षमताका कारण अभिभावकहरु डराइरहेका छन् । तिनले मानिसका कयौँ गतिविधिलार्इृ साँध लगाइसकेको छ । तिनले बालबालिकाको जीवनलाई नयाँ आकारमा ढालिरहेका छन् । यो अभिभावकले चाहेर भइरहेको छैन । अरुकै कारणले भइरहेको छ । यस्तोमा अभिभावकहरु डराउनु स्वाभाविक पनि हो । वयस्कहरु यसमा गलत छन् भन्न पनि सकिने अवस्था छैन किनभने द ग्रोइङ अप डजिटल अध्ययनबाट के पत्ता लगाइएको छ भने अधिकांश शिक्षकहरुले आफ्ना विद्यार्थीहरुमा ध्यान केन्द्रित गर्ने समस्या बढेको पाएका छन् । विद्यार्थीहरु कम संवेदनशील भइरहेका छन् । भावनात्मक रुपमा उनीहरू बढी नै व्यवधानमा परिरहेका छन् । बेलायतमा मात्र सामाजिक सञ्जाल तथा स्मार्टफोनका कारणले युवाहरुमा मानसिक स्वास्थ्यको समस्या बढिरहेको पुष्टि भइरहेको छ । यस्तोमा अर्को गहन अध्ययनले निष्कर्ष निकाल्नुअघि स्क्रिन समयका बारेमा सबै सचेत हुनु जरुरी भइसकेको छ ।

(२०२० अक्टोबर १० को लन्डनबाट प्रकाशित हुने द विकबाट साभार)