अनुवादः माधवकुमार पौडेल

(ईश्मत चुग्ताइ (२१ अगस्त १९१५–२४ अक्टोबर १९९१) भारतीय उर्दु उपन्यासकार, कथाकार र फिल्ममेकर हुन् । उनले सन् १९३० को शुरुबाट व्यापक रुपमा महिला यौनिकता र नारीवाद, मध्यम वर्गीय विशिष्टता र वर्ग संघर्षजस्ता विषयमा खास गरेर मार्क्सवादी दृष्टिकोणबाट लेख्न थालेकी थिइन् । लिहाफ (सिरक) कथाको लोकप्रियतासँगै उनका कृतिहरुको आलोचनात्मक पुनःमूल्यांकन शुरु भएको हो । पछिल्ला समयमा यो कथाको महत्त्व अझ बढेको पाइन्छ । यस कथाले सामन्ती समाजमा एउटी उपेक्षित श्रीमतीको अपमानित जीवनलाई उजागर गरेको छ । आधुनिक भारतीय समाजको ऐतिहासिक कथा हो, लिहाफ । किनकि त्यहाँ यौन अझै पनि वर्जित मानिन्छ । यो कथा चुग्ताईको सबैभन्दा उत्कृष्ट सिर्जना मानिन्छ । उनका अंगारे र लिहाफजस्ता धेरै लेखनमा भएका सुधारवादी र नारीवादी विषयले यथास्थितिवादीलाई चोट पुग्छ भनेर दक्षिण एसियामा निषेध गरिएका थिए । चुग्ताई हिन्दु, मुस्लिम र क्रिश्चियन परिवारबाट आएकी हुन् । उनी उदारवादी मुस्लिम थिइन् । उनका छोरीहरूले, भदाह, भतिजाहरुले हिन्दुसँग विवाह गरेका थिए । चुग्ताईले खुला सोचका साथ कुरान, गीता र बाइबल पढ्थिन् । स्रोतः विकिपिडिया)

ईश्मत चुग्ताई

जाडो याममा जब म सिरक ओढ्छु, भित्तामा त्यसको छायाँ चलमलाएजस्तो मान्छु र मेरो दिमाग विगतको दुनियाँको पर्दामा एकदमसँग दौडिन थाल्छ । थाहा छैन, के-के कुराहरु याद आइरहन्छन् ।

माफ गर्नुहोला म तपाईंलाई आफ्नो सिरक बारेको रोमान्टिक कथा भन्न गैरहेकी छैन । सिरकलाई रोमान्सको विषयसँग सायदै जोड्न सकिएला । मेरो विचारमा कम्बल कम आरामदायी नहोला तर त्यसको छायाँ भित्तामा नाचिरहने सिरकको जस्तो भयानक हुँदैन ।

यो त्यतिबेलाको वर्णन हो जतिबेला म सानी केटी थिएँ । दिनभर आफ्ना दाइभाइ र उनीहरुका साथीहरुसँग लडिबुडी गर्थें । किन म यति धेरै आक्रामक हुन्छु ? कहिलेकाहीँ यस्तो लाग्थ्यो । मेरो उमेरमा दिदीहरु प्रेमी आकर्षित गरिरहेका हुन्थे तर म भने आफ्नो होस् या पराई, केटा होस् या केटी जोसँग पनि लड्न र भिड्न तयार भैहाल्थेँ ।

यही कारणले गर्दा एक हप्ताका लागि आमालाई आगरा जानुपर्दा मलाई उहाँको धर्म बहिनी कहाँ छोडियो । त्यहाँ मसँग लड्न भिड्नका लागि कोही चरामुसासमेत हुनेछैनन् भन्ने आमालाई थाहा थियो । मेरा लागि यो ठूलो सजाय थियो । हो, आमाले मलाई बेगम जानसँग छोड्नु भयो । उनै बेगमजान– जसको सिरक अहिलेसम्म पनि मेरो दिल दिमागमा तातो फलामको डामजस्तै सुरक्षित छ । बेगम जानका गरिब मातापिताले पाको उमेरका नवाव साहेबलाई ज्वाईं बनाएका थिए किनकि तिनी अत्यन्तै भलाद्मी थिए । नवावका घरमा कोही रण्डी, बजारु महिला देखिन्थेनन् । आफू हाजी थिए र धेरैलाई हज गराएका थिए ।

मान्छेहरुका आफ्नै खाले शोख हुन्छन् । कोही परेवा पाल्छन्, कोइली लडाउँछन् भने कोही कुखुरा लडाउन आनन्द मान्छन् तर उनको एउटा अचम्मको शोख थियो । यस्ता प्रकारका वाहियात खेलप्रति नवाव साहेबलाई घृणा थियो । उनको घरमा त विद्यार्थी/छात्रहरु रहन्थे । गोरो वर्णका, पातलो कम्मर भएका नौजवानहरु जसको खर्चपर्च नवाब आफैँले व्यहोर्थे ।

तर बेगम जानसँग बिहे गरेपछि उनले पूरा साज सजावटका साथ घरमा छोडेर गए । विचरी दुब्ली पातली बेगम एकान्तपनको पीडामा हराउँदै गई ।

थाहा छैन, अब उसको जिन्दगी कहाँबाट सुरु हुने हो । जहाँबाट ऊ जन्मिने गल्ती गरी अथवा त्यहाँबाट जब ऊ एउटी नवाव बेगम बनेर आई । र, खाटमा बिच्छाइएको ओछ्यानमा जिन्दगी बिताउन लागी । अथवा, जब उसले आफू बस्ने बैठक कोठाबाट नवाव साहेबले जम्मा गर्दै, संख्या बढाउँदै गएका नौजवानहरुलाई हेरेर दिन काट्थी । उनीहरुको भान्साबाट बेगमको लागि मिठामिठा परिकार आउँथे । घरको दलानबाट बेगम जान तिनै पातलो कम्मर भएका चुस्त तिघ्रा र सफेद रङका आकर्षक सर्ट लगाएका अत्तरले सुवासित केटाहरुलाई हेरेर बस्थी । भर्भराउँदो आगोको रापझैँ महसुस गर्थी । अथवा, जब शुरु भयो तब हरेक प्रयासका बावजुद पनि नवाव साहेब आफ्नो ठाउँबाट टसको मस भएनन् । उनले नवावको प्रेम र मायालाई आफूसँगै बाँधेर राख्न केसम्म गरिन ? जन्तर लगाइदिई, जादु टुनाको सहारा लिई । धार्मिक पाठ लगाई रातभर । ढुङ्गा पग्लियोस्, न नवाव साहेब ! नवाव जानको मन फाट्यो । किताब पढ्न लागि तर राहत पाइनन् । रोमान्टिक उपन्यास र कुरानका भावुक श्लोकले उसलाई झन् निराश बनायो । उसको रातिको निद्रा हरायो । पश्चाताप, व्यग्र चाहना र वेदनाले ग्रस्त घरपालुवा जनावरजस्तै भई ।

माधवकुमार पौडेल

बेगमलाई लाग्थ्यो, लगाएका सबै लुगा अगेँनामा फालिदिऊँ । कपडा त कसैलाई प्रभावित गर्न लगाइन्छ । नवावलाई अब खासै फुर्सद हुन्थेन । बेगमलाई बाहिर निस्कने अनुमति पनि थिएन । नवाव साहेब आफू पनि दुब्लाउँदै गएका थिए । आफन्तजनहरु भने बेलाबखत आउँथे र महिनौँसम्म बस्थे । विचरी बेगम भने घरभित्रै बन्दी जीवन जिउन बाध्य थिई । यी आगन्तुकलाई देखेर बेगमको रगत उम्लिन्थ्यो । पाहुनाहरु आफैँले मिठामिठा परिकार बनाएर खान्थे र उनीहरुका लागि व्यवस्था गरिएका बिस्तरामा न्यानो भएर सुत्थे । यता बेगम भने नयाँ कपासबाट बनेको सिरक (लिहाफ)का बाबजुद पनि जाडोले कठ्याङ्ग्रिएको महसुस गर्थी । छटपटीमा कोल्टे फेर्दा उसको सिरकबाट विभिन्न आकृतिका छायाँ देखिन्थे भित्तामा तर कुनै पनि ती आकृतिमा उसको जीवनको छायाँ देखिन्थेन । उसो भए यस्तो निरस जीवन किन बाँच्ने ?………त्यस्तो जीवन जो बेगमजान बाँच्न अभिशप्त थिई । तर पछि उसले आफ्नै तालले जीवन जिउन थाली र पूर्णरुपमा आफ्नो बाँकी जीवन बिताई ।
रब्बुले बेगमलाई पतन हुनबाट जोगाई । वा भनौं बेगमको जीवन उद्धार गरिदिई ।

विस्तारै बेगमको दुब्लो शरीर मोटाउँदै गयो । अनुहारमा चमक आउन थाल्यो । सुन्दरतामा निखार आउँदै गयो । अर्धमृततुल्य भैसकेकी बेगमजानको जीवनमा रब्बुको विशेष तेल मालिसले नयाँ जीवन भर्यो । माफ गर्नुहोस्, तपाईंले यो तेल मालिसको नुस्खा (रेसिपी) कुनै पनि पत्रिकामा भेट्नुहुने छैन । मैले पहिलो पटक देख्दा बेगम जान यस्तै चालीस/बयालीस वर्ष जतिकी थिई । सोफामा ढल्की परेर बसेकी महारानीजस्तै देखिन्थी । रब्बुले पछाडिबाट उसको ढाड/कम्मर मालिस गरिरहेकी थिई । वैजनी रङ्गको सलले गोडा ढाकिएका थिए । म उसको व्यक्तित्व देखेर मोहित हुन्थेँ । लाग्थ्यो, घण्टौंसम्म बेगमसँगै बसिरहूँ- उसैको प्रशंसा गर्दै । उसको छालाको रङ मार्बलजस्तै सेतो थियो । कपाल कालो थियो, जतिबेला पनि तेलले नुहाएजस्तो । कपाल चिटिक्क परेको थियो । चिटिक्क पारेर शृङ्गार गरिएको हुन्थ्यो । कपालको एउटा धर्सो पनि यताउता भएको हुन्थेन । आँखा काला-काला सलज्ज थिए । चिटिक्क पारेर उखेलिएका आँखीभौं नशालु आँखामाथि दुई धनुजस्ता देखिन्थे । आँखाका ढकनी गह्रौँ थिए र परेला गाढा कालो । यद्यपि, उनको मुहारको सबैभन्दा आकर्षक भाग ओठ थियो— प्रायजसो लिपिस्टिकले रङ्गाइएका । कनपट र गाला लामो कपालले ढाकेको हुन्थ्यो । कुनै-कुनैबेला एकोहारो हेरिराख्दा मलाई उसको अनुहार बदलिएजस्तो लाग्थ्यो । कुनै लक्का जवान केटाको अनुहार हो कि जस्तो प्रतित हुन्थ्यो….।

उनको त्वचा पनि सफेद, चिल्लो थियो । लाग्थ्यो, कसैले उसको शरीर कसिलोसँग सिलाएको हो कि ! मालिस गराउने क्रममा जब उनी खुट्टा फैलाउँथिन्, म उनका उज्याला गोरा साँप्रा लुकीलुकी हेरेर आनन्दित हुन्थेँ । बेगम जानको कद अग्लो थियो । ह्रृष्टपुष्ट शरीरले गर्दा भीमकाय र जाज्वल्यमान देखिन्थिन् । हातहरु सुडौल र चिल्ला, कम्मर निकै आकर्षक । रब्बुले घण्टौँ लगाएर उनको पिठ्यूँ मालिस गरिरहन्थी । मानौँ, मालिस गराउनु नै उनको जीवनको आधारभूत आवश्यकता हो । केही मात्रामा–जीवनमा अन्य आवश्यकताभन्दा अझ बढी महत्त्वपूर्ण ।

रब्बुको अरु कुनै पनि घरायसी कामको जिम्मेवारी थिएन । ऊ जतिबेला पनि सोफामा अडेस लगाएर बेगमका अङ्गअङ्ग मालिस गरिरहेकी हुन्थी । कहिलेकाहीँ त मलाई रब्बुको अनवरत मालिस कर्मको दृश्य सैह्य हुँदैनथ्यो । मेरो आफ्नै कुरा गर्ने हो भने त मलाई लाग्छ, कसैले बारम्बार त्यसरी छुँदा शरीर सडेर मर्थें होला !

दैनिक मालिस मात्र पर्याप्त थिएन । बेगम जानले नुहाएको दिन, रब्बुले किसिमकिसिमका तेल र पेस्टले दुई-दुई घण्टासम्म मालिस गरिदिन्थी र उसले यस्तो उत्साह र जोशका साथ मालिस गर्थी कि कल्पना गर्दा पनि म बिरामी हुन्थेँ । ढोका बन्द गरिन्थ्यो, ब्रेसियर (ब्रा) खोलिन्थ्यो र मालिस प्रारम्भ हुन्थ्यो । त्यस्तो बेला प्रायः गरेर रब्बुलाई मात्र भित्र बस्ने अनुमति हुन्थ्यो । अरु नोकरहरुले आवश्यक सामग्री ढोकासम्म पुर्याइदिन्थे अनि अस्वीकृतिका शब्द भुनभुनाउँथे ।

वास्तवमा बेगमजान लगातारको चिलाउने (खुजली) बाट पीडित थिइन् । अनेकप्रकारका तेल र मल्हम (बाम)को प्रयोगका बावजुद पनि चिलाई अनन्य र निरन्तर रहिरहन्थ्यो । डाक्टरहरु भन्थे, उनको छालामा कुनै दाग समेत छैन । “यी डाक्टरहरु पागल हुन्… तिम्रो शरीरमा कुनै गडबडी छैन । यो सब शरीरको तापले गर्दा भएको हो,” रब्बु भन्ने गर्थी । बेगम जानलाई एकोहोरो र काल्पनिक तरिकाले मुस्कुराएर हेर्दै ।

रब्बु ! जति बेगम गोरी थिई, त्यति नै काली थिई । अरु केही सेतोको तुलनामा बैजनी रङ्गकी थिई । ऊ तातेको आइरनजस्तै रापिलो देखिन्थी । अनुहारभरि बिफरका दाग थिए । होची, पुड्की, थसुल्ली थिई, पेट भने सानो थियो । उसका हात साना तर चपल र चुस्त थिए । उसका ठूला सुन्निएका ओंठ जतिबेला पनि रसिला देखिन्थे । उसको शरीरबाट एउटा अनौठो, बिरामी गराउने खालको दुर्गन्ध आइरहन्थ्यो । उसका साना, बाक्ला हात निपूणतापूर्वक बेगम जानको शरीरमा चलिरहेका हुन्थे । पहिले कम्मरमा, त्यसपछि पुठ्ठामा अनि अन्त्यमा साप्रा हुँदै गोलीगाँठोसम्म सल्बलाइरहेका हुन्थे । जतिबेला म बेगमजानको नजिकै बसिरहेकी हुन्थेँ, मेरा आँखा उनका अङ्गअङ्गमा दौडिरहेका रब्बुका हातमा टाँसिएका हुन्थे ।

वर्षभरि नै बेगम जान सेतो भुवादार हैदराबादी जालिदार कर्गा कुर्ता र उज्यालो रङको पाइजामा लगाउँथिन् । गर्मी याममा पंखा चलिरहने भए तापनि हल्का पातलो सलले शरीर छोपेकी हुन्थिन् । जाडो याम उनलाई प्रिय लाग्थ्यो । मलाई पनि जाडो याममा बेगमको घरमा बस्न मन पर्थ्यो । उनी घरबाहिर बिरलै निस्किन्थिन् । रब्बुले पिठ्यूँ मालिस गर्दै गर्दा उनी सुकेका फल खाइरहेकी हुन्थिन् । अरु नोकर्नीहरु रब्बुप्रति ईर्ष्या गर्थे ।

‘कुकुर्नी ! बेगम जानसँगै बस्छे, खान्छे र सँगै सुत्छे पनि !’ तिनीहरु रब्बु र बेगम जानका कुरा काटेर बस्थे फुर्सदमा । समूहको कोही एक जनाले रब्बु र बेगमको नाम लिन्थ्यो अनि पूरै समूह ठूलो गफमा मस्त हुन्थ्यो । कस्तो रसिलो कथा बनाएका थिए तिनीहरुले रब्बु र बेगम जानका बारेमा ! बाहिरी दुनियाँबाट पूरै बेखबर बेगमलाई भने यस्ता कुराप्रति कुनै वास्ता थिएन । बेगमको अस्तित्व स्वयंमा र निरन्तरको चिलाइमा केन्द्रित थियो ।

मैले माथि नै बताइसकेँ कि म त्यो बेला सानी केटी थिएँ र बेगम जानको प्रेममा थिएँ । उनी पनि मलाई असाध्यै माया गर्थिन् । आमा आगरा जाने भएपछि मलाई एक हप्ताको लागि बेगम जान कहाँ छोडिएको थियो । घरमा मलाई एक्लै छोड्ने हो भने म दाइभाइसँग झगडा गर्छु, पिटपाटमा पर्छु वा गर्छु अनि बाहिरतिर बरालिन्छु कि भन्ने चिन्ता थियो आमालाई । सो व्यवस्थाबाट बेगमजान र म दुवै खुशी थियौँ । जे भए पनि बेगमजान मेरी आमाकी धर्म बहिनी थिइन् ! अब म कहाँ सुत्ने भन्ने प्रश्न उठ्यो मनमा ? स्वाभाविक रुपमा बेगम जानको कोठामा ! उनको विस्तराको छेउमा अर्को एउटा सानो विस्तरा थियो । हामी राति १०/११ बजेसम्म गफ गर्दै तास खेल्थ्यौँ । त्यसपछि म विस्तरामा जान्थेँ । रब्बु अझै पनि बेगमको पिठ्यूँ मालिस गर्दै थिई म निदाउञ्जेलसम्म ।

‘कुरुप आइमाई !’ म सोच्थेँ ।

अचानक राति ब्युँझिएँ र भयभीत भएँ । चुक खन्याएजस्तो निष्पट्ट अँध्यारो थियो । बेगम जानको सिरक जोडजोडले हल्लिइरहेको/मच्चिइरहेको थियो मानौं कि सिरकभित्र कुनै हात्ती संघर्षरत् छ ।

“बेगमजान…,” डर र त्रासका कारण मुस्किलले शब्द उच्चारण गर्न सकेँ मैले । हात्ती हल्लिन छोड्यो र सिरक सामान्य अवस्थामा झर्यो ।

“के भयो ? चूप लागेर सुत्,” कतैबाट बेगमको आवाज आएजस्तो लाग्यो ।

“मलाई डर लागिरहेको छ,” सासैसासले बोलेँ म ।

“चुप् लागेर सुत् । डराउनुपर्ने यहाँ के नै छ र ? आयातुल कुरसी (कुरानमा उल्लेखित दुष्ट आत्मा भगाउने श्लोक) वाचन गर ।”

“हुन्छ..,” मैले प्रार्थना वाचन गर्न थालेँ तर बीचैमा अड्किएँ । जबकि मलाई उक्त श्लोक कण्ठ थियो ।

रातको त्यो डरलाग्दो दृश्य बिहान हुँदासम्म मैले भुलिसकेकी हुन्थेँ । म अलि अन्धविश्वासी छु । राति डराउने, निद्रामा हिँड्ने र बोल्ने केटाकेटीदेखिकै बानी हो मेरो । सबैले भन्थे ममा दुष्ट आत्माको प्रभाव छ । त्यसैले घटना मेरो स्मृतिबाट हरायो । बिहान उठेर हेर्दा सिरक बिल्कुल निर्दोषजस्तो देखिन्थ्यो ।

तर त्यसपछिका प्रत्येक रात म फेरि ब्यूँझिन्थेँ र बेगम जान र रब्बु सानो आवाजमा झगडा गरिरहेको सुन्थेँ तर के विषयमा उनीहरु झगडा गर्थे मैले स्पष्ट सुन्न सकिनँ र झगडाको खास कारण के थियो ? मैले चाल पाइनँ तर मैले रब्बु रोइरहेको सुनेँ । त्यसपछि बिरालोले प्लेट चाटेजस्तो लपलप आवाज आयो… म भयभीत भएँ र निदाउने कोसिसमा लागेँ ।

अर्को दिन रब्बु आफ्नो चिढचिढे र क्रोधी स्वभाव भएको जवान छोरो भेट्न गई । बेगम जानले उसलाई धेरै प्रकारका सहयोग गरेकी थिई— दुकान किनिदिएकी थिई, गाउँमै जागीर मिलाइदिएकी थिई तर केही गरे पनि ऊ सन्तुष्ट थिएन । ऊ केही समय नवाब साहेबसँग बस्यो । नवाबले उसका लागि नयाँ लुगा र अरु उपहार दिन्थे तर ऊ बिनाकारण त्यहाँबाट भागेर हिँड्यो र कहिल्यै पनि फर्केर आएन । आफ्नी आमा रब्बुलाई भेट्नसमेत फर्किएन ऊ ।

रब्बु छोरालाई भेट्न आफन्तको घरमा गई । बेगमजान उसलाई जान दिन चाहिरहेकी थिइन तर उनलाई रब्बु सहाराविहीन छे भन्ने महसुस भने थियो । त्यसैले चाहेर पनि उसलाई जानबाट रोक्न सकिन।

पूरादिन बेगम जान आफ्नो (तत्त्व) अस्तित्वभन्दा बाहिर भइन् । शरीरका प्रत्येक जोर्नीहरुमा दुखेको आभास भयो तर उनले अरु कसैको पनि स्पर्श सहन सकिनन् । खाना पनि छोडिन् र पूरा दिनभर विस्तरामा पल्टेर बस्थिन् ।

“के म तपाईंको पिठ्यु मालिस गरिदिऊँ बेगम जान…?” तास फिट्दै गर्दा उत्साहका साथ मैले सोधेँ । उनले मलाई घुरेर हेर्न थालिन् ।

“साँच्चिकै गरौँ त मैले ?” तासको गड्डी छेउ लगाएर बेगम जान आनन्द मानेर पल्टिरही । रब्बु अर्को दिन फर्केर आउनु पर्ने थियो तर ऊ आइन । बेगमजानको चिडचिडाहट झन्झन् बढ्दै गयो । एकपछि अर्को कप चिया पिउन लागी लगातार । उसको टाउको झन् दुख्न थाल्यो ।

मैले फेरि उसको पिठ्यूँ मुसार्न थालेँ, जुन टेबुलको माथिल्लो समतल भागजस्तै चिल्लो थियो । बिस्तारै मुसार्न थालेँ र उसका लागि केही काम लाग्ने साबित भएकोमा खुशी भएँ ।

“अलि बढी जोडले…..पट्टी खोल,” बेगम जानले भनिन् ।

“यहाँ ….कुमभन्दा थोरै अलि तल…ल ठीक छ…आहा ! कस्तो आनन्द…,” उनले आफ्नो सन्तुष्टि व्यक्त गरिन् ।

“अझै थोरै पर…,” बेगम जानले निर्देश गरिन्, यद्यपि उक्त स्थानमा उनको हात पुग्न सक्थ्यो तर उनी चाहन्थिन्, मैले नै झड्का दिऊँ त्यहाँ । कति गौरवान्वित भएकी थिएँ म !

“यहाँ…ओह ! अहो, तिमीले त मलाई कुतकुती पो लगायौ ! आह !” उनी मुस्कुराइन् । मैले गफ गर्दै मालिस गरिरहेँ ।

“म भोलि तिमीलाई बजार पठाउँछु… तिमी के चाहन्छ्यौ ?… एउटा सानो खेलौना जो तिमीले चाहेअनुसार सुत्ने उठ्ने गर्छ ?”

“नाईं, बेगम जान ….मलाई खेलौना चाहिन्न… के तपाईंलाई लाग्छ कि म अझै केटाकेटी छु ?”

“के उसो भए तिमी बूढी आइमाई हौ त ?” उनी हाँसिन् ।

“खेलौना नभए म तिम्रो लागि एउटा बबुवा (केटाले खेलाउने खेलौना) मगाइदिन्छु …..त्यसलाई तिमी आफैँ लुगा लगाइदेऊ । मैले तिमीलाई टन्नै टालाटुली दिन्छु । हुन्छ ?”

“हुन्छ, मैले उत्तर दिएँ ।”

“यहाँ,” उनी मेरो हात उठाएर आफ्नो चिलाएको स्थानमा लैजान्थिन् र म बबुवा (खेलौना)को कल्पनामा हराउँथेँ, उनी बोल्दै जान्थिन् । म उनले निर्देश गरेका प्रत्येक ठाउँमा कन्याइदिन्थेँ ।

“सुन… तिमीलाई अरु धेरै फ्रकहरु चाहिन्छ । म भोलि टेलरलाई बोलाएर तिम्रा लागि नयाँ फ्रक तयार गर्न लगाउँछु । तिम्री आमाले लुगा सिलाउन केही कपडा छोडेर जानुभएको छ ।”

“मलाई त्यो रातो कपडा मन पर्दैन… यो त साह्रै कमसल देखिन्छ,” म फतर-फतर गरिरहेकी थिएँ, हात कता-कता दौडिरहेका थिए म बेखबर थिएँ । बेगम जान स्थिर भएर पल्टिएकी थिइन्… हरे भगवान ! मैले हठात्, आफ्नो हात हटाएँ ।

“ए केटी हेर, तिम्रा हात कहाँ छन् ? … तिमीले मेरो करङमा चोट पुर्यायौ,” बेगमजान दुष्ट ढंगले मुस्कुराइन् । म लज्जित भएँ ।

“यता आऊ र मेरो छेउमा सुत…,” मलाई आफ्नो अँगालोमा राखेर सुताइन् । “कति दुब्ली हौ ? तिमी ……तिम्रा करङका हड्डी बाहिर आएका छन् ।” उनले मेरा करङ्गका हड्डी गन्न थालिन् ।
मैले विरोध जनाउने कोसिस गरेँ ।

“आऊ, म तिमीलाई खान्न क्या ! कति कसिलो हो यो स्वेटर ! अनि तिमीसँग लगाउनलाई अलि न्यानो भेस्ट समेत छैन्,” मलाई असजिलो महसुस भयो ।

“मान्छेका करङका हड्डी कतिवटा हुन्छन् ?” उनले प्रसङ्ग बदलिन् ।

“नौ वटा एकापट्टि र अर्कोपट्टि दश वटा,” स्कुलमा स्वास्थ्य शिक्षा पढ्दा जानेको कुरा मन नलागी-नलागी भनेँ ।

“हात हटाऊ त, खै ……हेरम्…एक, दुई, तीन…।”

म भाग्न चाहन्थेँ तर उनले मलाई जोडले समाएकी थिइन् । मैले फुत्किने प्रयास गर्न थालेँ । बेगमजान जोडले हाँस्न थालिन् । जब म बेगमको त्यो क्षणको अनुहार सम्झिदा आजका दिनसम्म पनि मलाई डर लागिरहन्छ । उनका आँखाका ढकनी लत्रिएका थिए, उनको माथिल्लो ओठमा कालो दाग देखिन्थ्यो । जस्तोसुकै जाडोमा पनिओठ र नाकमा पसिनाको थोप्लो टल्किरहेको हुन्थ्यो । हात हिउँजस्तै चिसा हुन्थे, मानौं ती शरीरबाट अलग्गै भएका हुन् कि ! सल शरीरबाट हटेको थियो र मिहिन कर्घा कुर्थामा शरीर मुछेको सेतो पिठोको डल्लोझैं चम्किलो देखिन्थ्यो । कुर्थामा जडित सुनका गह्रौँ बटन खुला र एकातिर हल्लिरहेका थिए ।

साँझ पर्दै थियो । कोठामा अँध्यारोले ढाकिदै थियो । म एउटा अनौठो विचलनले अभिभूत भएँ ! बेगमका गहिरा नीला आँखा ममा केन्द्रित भैरहेका थिए । मलाई भने रोउँरोउँझैँ लाग्यो । उनले मलाई माटोले बनेको खेलौनालाईझैँ बेस्सरी थिचिरहेकी थिइन् । उनको शरीरको ताते गन्धले उकुसमुकुस भएर भागौं कि जस्तो भएको थियो तर पनि फेरि उनी आफ्नै मालिकजस्तो लाग्थ्यो । न म जोडले चिच्याउन सक्थेँ, न रुन कराउन नै !

केही समयपछि बेगम जान रोकिइन् र थाकेर पल्टिन् । उनी जोडजोडले सास फेरिरहेकी थिइन् । उनको अनुहार पहेँलो र निन्याउरो देखिन्थ्यो । मैले सोँचे, उनी मर्न पो लागिन कि ? त्यसैले कोठाबाट छिटोछिटो बाहिरिएँ…।

भगवानको कृपा त्यही रात रब्बु फर्केर आई । म अलि छिट्टै विस्तरामा गएँ सुत्न र सिरकले मुख छोपेँ तर घण्टौंसम्म पनि निदाउन सकिनँ ।

आमाले आगराबाट फर्किन धेरै समय लगाउँदै थिइन् । म बेगम जानसँग निकै भयभीत र त्रसित थिएँ । त्यसैले दिनभर नोकर्नीहरुको साथमा रहन्थेँ । म उनको कोठामा प्रवेश गर्न डराएँ । बेगम जानसँग मलाई डर लाग्छ भनेर कसलाई के नै भन्न सक्थेँ र म ? अनि बेगम जानसँगको मेरो सामीप्य ?

त्यो दिन रब्बु र बेगमजानको झगडा पर्यो । मलाई निको लागिरहेको थिएन यो कुरा । किनकि बेगमको मन मतर्फ निर्देशित हुँदै थियो । बेगमले महसुस गरी कि म बाहिर चिसोमा भौँतारिन्छु र निमोनियाको कारणले मर्छु । “बालिका, के तिमी मलाई सार्वजनिक रुपमा बेइज्जत गराउन चाहन्छ्यौ ? कथंकदाचित तिमीलाई केही भैहाल्यो भने त्यो ठूलो भवितव्य र दुर्घटना हुनेछ ।” बेसिनमा हात धुँदै मलाई छेउमा बस्न लगाइन् । अलि पर्तिर त्रिखुट्टीमा चिया बसालिएको थियो ।

“कृपया चिया बनाऊँ …र एक कप मलाई ल्याइदेऊ,” गम्छाले मुख पुछ्दै बेगमले भनिन्, “म तुरुन्तै कपडा बदल्छु ।”

उनले कपडा बदलुन्जेलसम्म मैले चिया पिएँ । शरीर मालिस गर्ने बेलामा उनी मलाई बारम्बार बाहिर पठाउँथिन् । मभित्र जान्थेँ, काम सकेर बाहिरिँदा अनुहार अर्कैतिर फर्काउँथेँ । जब-जब उनी लुगा फेर्न थाल्थिन्, म डराएको महसुस गर्थें । त्यसैले अनुहार अर्को दिशामा फर्काएर चिया सुरुप-सुरुप पारेँ ।

आमालाई कहिले भेटौँजस्तो भैरहेको थियो । आमासँगको विछोड पीडाले मुटु तृषित थियो । दाइभाइहरुसँग लडाईं, झगडा गरे बापतको यो सजाय धेरै कडा भैरहेको थियो मलाई । जतिबेला पनि केटाहरुसँग खेल्ने मेरो आमालाई मन पर्थेन । अब मलाई भन्नुस्, के दाजुभाइहरु आफ्नै प्रियहरुलाई खाने नरभक्षी हुन् ? अनि केटा मान्छेहरु को हुन् ? मेरा आफ्नै दाजुभाइहरु र तिनीका कमजोर र साना साथीहरु ! आमा महिलाहरुलाई पराइबाट अलग्गै राख्नुपर्छ भन्ने कट्टर विश्वास गर्नुहुन्थ्यो । यहाँ त बेगम जान सारा संसारका लोफर, लफङ्गाहरुभन्दा डरलाग्दी थिइन् । मलाई एक्लै छोडिएको भए म बाहिर सडकतिर भौँतारिन्थे, अझै धेरै परपरसम्म ! तर म सहराविहीन थिएँ र चाहनाविपरीत नै त्यहाँ बस्न विवश थिएँ । बेगम जानले आफैँलाई विस्तृतरुपमा सजावट गरिन् । अत्तरको न्यानो सुगन्ध फैलिरहेको थियो । त्यसपछि मलाई स्नेहको वर्षा गर्न थालिन् । “म घर जान चाहन्छु,” मेरो प्रतिउत्तर हुन्थ्यो बेगमको हरेक सुझावप्रति । त्यसपछि म रुन थालेँ ।

“यहाँ, यहाँ….मेरो नजिक आऊ…..म तिमीलाई आज बजार लिएर जान्छु । हुन्छ ?”

तर म घर नै जान चाहन्थेँ । संसारभरिका खेलौना र मिठाईप्रति मेरो कुनै रुचि थिएन ।

“दाजुभाइले बेस्सरी कुट्ने छन्, तँलाई कुकुर्नी !” उसले मेरो गाला चिमोटी मायालु पाराले, “छोडिदेऊ उनीहरुलाई।”

“काँचो आँप अमिलो हुन्छ, बेगमजान,” रब्बु सिँ….. सिँ…र झाईंझुईं गर्दै ईर्ष्याले जल्दै थिई।

त्यसपछि बेगम जान निराश र हतास देखिइन् । केही समयअघि मात्रै मलाईं अफर गरिएको सुनको नेकलेस टुक्राटुक्रा भएर हावामा उड्यो । दुपट्टा च्यातिएर धुजाधुजा भयो । सधैँ चिरिच्याट्ट भएर रहने उसको कपाल भुतुल्ले भयो ।

‘उहुँ ! उहुँ ! उहुँ !’ पीडाको चित्कार आयो । म बाहिर भागेँ ।

धेरै ठूलो उपद्रो र सेवापछि बेगम जानको होस ठाउँमा आयो । जब मैले कुर्कुच्चा उचालेर बिरोलाको चालमा कोठाभित्र चियाएँ, मैले देखेँ, रब्बु बेगमजानको शरीर मालिस गर्दै थिई, कम्मर नजिकै टाँसिएर ।

“जुत्ता खोल्नुस्,” बेगमजानको ढाड मुसार्दै रब्बु बोली । मुसोले झैँ– आफ्नो सिरकभित्र टाउको घुसारेर सहारा लिएँ ।

अनौठो खालको हल्ला भयो फेरि त्यहाँ । अँध्यारोमा बेगम जानको सिरक फेरि एकपटक हात्तीझैँ चल्मलाइरहेको थियो । “अल्लाह ! आहा …!” कमजोर आवाजमा म विलाप गर्न थालेँ । सिरकभित्रको हात्ती घरी माथि उठ्थ्यो र घरी तल झर्थ्यो । म मौन थिएँ । हात्ती फेरि मच्चिन थाल्यो । म एकदमै डराएँ । यद्यपि, जे हुने हो होस् भनेर बत्तीको स्विच अन गर्ने तरिका खोजिरहेकी थिएँ । हात्ती फेरि हलचल गर्न थाल्यो । यस्तो लाग्थ्यो, त्यो टुक्रुक्क बस्ने कोसिस गर्दैछ । कसैले उनको ओठमा थपथपाएजस्तो आवाज आयो, मानौँ कि कोही मीठो अचारको स्वाद लिएर जिब्रो फड्कार्दैछ । अब मलाई थाहा भयो ! बेगमजानले दिनभरि केही खाएकी थिइनन् । रब्बु, कुकुर्नी, कुख्यात घिचुवी लाद्रे थिई । ऊ आफ्नो पाखण्डलाई अझ चम्काउँदै थिई, पलिस लगाउँदै थिई । मैले नाकको प्वाल नजिकैबाट उडिरहेको हावाको गन्ध महसुस गरेँ । त्यहाँ अत्तरको मात्र सुगन्ध थियो, चन्दन र हिना, अरु केही होइन ।

फेरि एकपटक सिरक हलचल गर्न थाल्यो । म शान्तपूर्वक सुत्न चाहन्थेँ तर सिरकले यस्तो विद्रुप रुप धारण गर्दै थियो कि म डरले काँपिरहेकी थिएँ । यस्तो लाग्थ्यो, एउटा ठूलो भ्यागुतो हावाले आफैँ भरिदैछ र उफ्रेर मैमाथि आउँदैछ ।

“आ …..अम्मी…,” म साहसका साथ फुसफुसाएँ । कसैले पनि ध्यान दिएन । सिरक मेरो दिलदिमागमा व्याप्त थियो र त्यो विस्तारै फैलिँदै थियो । मैले भयातुर हुँदै विस्तराको अर्को छेउसम्म खुट्टा पसारेर छामछुम पारेँ, स्वीच खोज्न र अन गरेँ । हात्ती सिरकभित्र पल्टियो र तुरुन्तै सिरक अडियो । यसपछि सुलुलु सिरक पल्टियो र पल्टिदै गर्दा सिरकको एउटा कुना लगभग एक फिट माथि उठेको थियो…

धन्य प्रभु ! स्वाँस्वाँ गर्दै म आफ्नो सिरकभित्र पसेँ ।