मूल लेखक: सिमोन फ्रुयलुण्ड
अनुवाद: गोविन्द गिरी प्रेरणा
फ्राण्डसले मेत्तेलाई हेर्यो । ऊ दाँत माझ्दै थिई । हातको गति अनुसार बुरुस तलमाथि भैरहेको थियो । ऊ त्यहाँबाट सरेर फ्राण्डसलाई पिठ्यूँ पछाडि पार्दै सिङ्कतिर लागी । उसले मेत्तेको भावविहीन चेहरा ऐनामा देख्यो । उसले देब्रे हातले आफ्नो कपाल सम्हाली, अलिक अघिल्तिर झुकी र सिङ्कमा पहेंलो गाज एक मुख थुकी । त्यसपछि उसले टुथब्रुस तल राखेर माथितिर हेरी । फ्राण्डस उसको नजरबाट आफूलाई बचाउँदै नियालिरहेको थियो ।
“मेत्ते !” उसले भन्यो ।
चुपचाप ऊ त्यहाँबाट हलतिर लागी ।
क्षणभरका लागि ऊ आफ्नै छायाबाट देब्रेतिर देखियो । त्यसपछि उसले मेत्तेलाई बेडरूमतिर पछ्यायो । ऊ अघि नै विछौनामा थिई, भित्तातिर मुन्टो फर्काएर पल्टिएकी । ऊ झ्यालमा उभिएर बाहिर हेर्छ । यौटा कार ल्याम्पोष्टमुनि पार्क गरेको छ र उ देख्दछ कारमा दुई जना बसिरहेका छन् । ऊ भन्न सक्दैन ती परिचित हुन् कि हैनन् ।
“मेत्ते ?”
“मेरो नाम लिन बन्द गर ।”
“सुन न ।” ऊ भन्छ ।
“मैले तिमीलाइै माफ गरिसकें । अब यस विषयमा कुरै नगरौं ।”
“हुन्छ ।” उसले भन्यो ।
फ्रण्डसले देख्दछ छिमेकीकी छोरी कारबाट उत्रन्छे र घरतिर लाग्दछे ।
ढोका खोल्नुअघि उसले हात हल्लाउँछे र बिस्तारै कार अघि बढ्दछ । कोठामा बत्तीहरू धमाधम बल्न थाल्दछन् र ऊ छिमेकीकी छोरीको घरभित्रको यात्रालाई पछ्याउँछ । अन्त्यमा माथिल्लो तल्लाको दायाँपट्टिको बत्ती बल्दछ ।
“त्यसो भए राम्रोसित सुत्नू ।”
“तिमी कहाँ जान लागेको ?” ऊ सोध्दछे ।
“म यसो मदिरापान गर्न भनेर जान लागेको । त्यसपछि आउँछु ।”
फ्राण्डस तल ओर्लन्छ र काउचमा बस्दछ । कोन्याकको बोत्तल कफी टेबलमा छ । पिउनुअघि ऊ गिलास रगडेर हात तातो बनाउँछ । कोन्याकले उसको मुख नरम भएको अनुभव गर्दछ । टेबलको बीचमा खैरो रंगको यौटा पातलो वस्तु देखिन्छ, लुगा धुने मेसिनको फिल्टरको अवशेष । उसले यौटा कालो लामो कपाल त्यहाँबाट तान्दछ र मेत्तेले अरू कपाल राखेकै ठाउँमा राख्दछ । गिलासको कोन्याक स्वाट्ट पार्दछ र पुनः भर्दछ । बैठक कोठा अहिले न्यानो भएको छ ।
ऊ गिलास र बोतल लिएर उसको कक्षबाहिर निस्कन्छ । यौटा स्टूलमा बस्दछ । आकाशको उज्यालोमा ऊ नासपातीको बोट देख्दछ, अग्ला हाँगाहरू देख्दछ जुन उसको घरभन्दा अग्लो छ । चन्द्रमा उदाएको छैन तर ठूला झ्यालबाट मधुरो उज्यालो आइरहेको छ । ऊ आफ्नो कक्षको बीचमा रहेको ग्रेनाइट देख्न सक्दछ, अधूरो, थुप्रै ढुङ्गाहरू र मूर्तिहरू । र ऊ देख्न सक्दछ साना आकृतिहरू, मेत्ते त्यसलाई केटाकेटी भन्छे, ती धेरै जुन अधूरा छन् ।
फ्राण्डस उठ्दछ र बाहिर यार्डमा जान्छ । पहेंला स्याउहरू घाँसमा देखिन्छन् । ऊ ग्यारेजतिर जान्छ कतै बस्ने ठाउँ छ कि भनेर र पाउँछ पुरानो ढिकीच्याउँ मेच । केही प्रयास गरेर त्यसलाई बाहिर घिसार्दछ । ऊ घरतिर मुख फर्काएर बस्दछ र बोतलबाटै एक घुट्को लगाउँछ । ऊ आफ्ना आँखालाई घरको रंगरोगन गरिएको मुखौटा हेर्न दिन्छ । यस्तो अर्ध अँध्यारोमा पनि लेउ लागेका, दागहरू अनि प्लास्टर उप्किएर पाप्रा निस्केको देखिन्छ । घर किनबेच गर्ने एजेन्टले लामै समय यस घरको विशेषता बखान गरेको थियो । यौटा कलाकारको निवास, उ भन्दथ्यो । केटाकेटीका लागि प्रशस्त ठाउँ भएको । हामीले यस्तै खोजेको हो भनेर मेत्तेले भनेकी थिई ।
फ्राण्डसले आफ्ना आँखा बेडरूमतिर पुर्याउँदछ र देख्दछ पर्दा अझै पूरा लगाइएको छैन । त्यति नै वेला ग्यारेज पछाडिको झाडीबाट आवाज आउँदछ । ऊ त्यस अँध्यारोलाई नियाल्दछ । एकछिन पछि छिमेकीको बिरालो फुत्त निस्कन्छ घर नजिकको झाडीबाट । उसले सुसेल्दै त्यो बिरालोलाई आफूतिर बोलाउँछ तर बिरालो यार्ड नाघेर अर्कोतिरको अग्लो घाँसमा बिलाउँछ ।
उसले फेरि मास्तिर हेर्दा मेत्तेलाई झ्यालमा देख्दछ । मेत्ते हलचल बिना उभिइरहेकी थिई, पाखुरालाई आफूतिर अड्याइरहेकी र बाहिर हेरिरहेकी मूर्तिवत् । उसलाई उठौं जस्तो लाग्छ, हात हल्लाऊँ झैं लाग्छ तर जति ऊ पर्खन्छ, अप्ठ्यारो लाग्दै जान्छ । दश मिनेट बित्दछ, अथवा त्योभन्दा बढी, तब मेत्ते झ्यालबाट पछि हट्दछे र पर्दा लगाउँदछे । आनन्दै भो भन्ठानेर ऊ मेचमा थच्चिन्छ । रेल शहरतिर गइरहेको आवाज उसले सुन्छ । बोतल उठाउँदछ र टाउको पछाडितिर ढल्काउँछ ।
अलिअलि आँखा लाग्ने बेलासम्म फ्राण्डसले बोतल झन्डै रित्याइसकेको हुन्छ । तत्कालै उसको दिमागमा छिमेकीको घर आउँछ । उसले बत्ती बलेका झ्यालहरू हेर्दछ र सुन्दछ छिमेकीको छोरीले गुनगुनाएको । उसको हिंडाइको चालसँगै गुनगुनाहटको स्वर ठूलो हुँदै जान्छ । भर्याङ चढ्दा चढ्दै त्यो गुनगुनाहट गीतमा परिणत हुन्छ । ऊ अन्तिम कोठाको उज्यालोमा देखिने बेलामा सुकसुकाउन थाल्दछे ।
फ्राण्डसले आँखा खोल्दा आकाश उज्यालो देख्दछ । गाह्रोसँग ऊ मेचबाट उठ्दछ । उसलाई हड्डीसम्मै चिसो पसेको अनुभव हुन्छ र खोच्याउँदै घरतर्फ लाग्दछ । ऊ ढोकाको ह्याण्डिल समाउँछ र पत्तो पाउँछ ढोका लागेको छ । ऊ केही पाइला पछि सरेर माथि शयनकक्षतिर हेर्दछ । पर्दाहरू अझै लागेका थिए । त्यसपछि सम्झन्छ ऊ कुन बाटो आएको थियो । ऊ घर घुमेर अर्ध खुल्ला स्टुडियोमा पुग्दछ ।
सिरकभित्र पस्दा मेत्तेले केही प्रतिक्रिया जनाउन्न । उसले लुगा लगाएकै छ र उ सिलिङतिर हेर्दछ, कोठामा उज्यालो धमिलो र खैरो छ । बिस्तारै उसलाई न्यानो हुन्छ ।
“मैले चिनेको कोही हो ?” मेत्तेले अचानक सोधी ।
फ्राण्डस केही बेर हिचकिचाउँछ ।
“हैन ।” उसले भन्यो ।
“उसको नाम के हो ?”
“केट !” उसले भन्यो ।
“के ऊ राम्री छे ?”
फ्राण्डस फेरि हिच्किचाउँछ ।
“हो ।” उसले भन्यो, “ऊ राम्री छे ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ चैत्र २०८२, मंगलवार 









