गएको १५ वर्षमा एउटै विषयमा घोत्लिएर तीन उपन्यास बजारमा ल्याइसकेकी दुई बुकर पुरस्कार हात पारेकी हिलारी मन्टेल अब आफू ऐतिहासिक विषयका उपन्यास नलेख्ने निर्णयमा पुगेको र त्यसतर्फ नघचेट्न आफ्ना प्रशंसकहरूलाई आग्रह गरेकी छन् ।
एडिनबर्ग अन्तर्राष्ट्रिय पुस्तक महोत्सवमा गएको साता बोल्दै उनले सो कुरा बताएकी हुन् ।
महोत्सवमा उनलाई अब बेलायती इतिहासको प्रमुख पात्र थोमस क्रमवेलमाथि लेखिएका तीन वटा उपन्यासकै निरन्तरता दिने हो कि भनी प्रश्न सोधेका थिए । त्यसो त यो प्रश्न उनलाई यहाँ मात्र सोधिएको होइन, बुकरमा उनको पछिल्लो उपन्यास ‘द मिरर एन्ड द लाइट’ लामो सूचीमा पर्नेबित्तिकै उनका संसारभरका प्रशंसकहरूले सोधेका थिए ।
‘मेरो जीवनमा यो विषयमा उपन्यास लेख्नुका अतिरिक्त एउटी महिलाको जीवनमा अरू पनि जीवन हुन्छन्,’ उनले भनिन्, ‘म त्यो जीवन बाँच्न चाहन्छु ताकि जीवन बाँच्न त ढिला पो भएछ भनेर पछि पछुताउनु नपरोस् ।’
उनका अघिल्ला उपन्यास थोमस क्रमवेल शृंखलाकै ‘वल्फ हल’ र ‘ब्रिङ अफ द बडिज्’ले बुकर पुरस्कारमा नामांकन मात्र पाएका थिएनन्, दुवैले पुरस्कार जितेर दुर्लभ कीर्तिमान कायम गरेका थिए ।
यी उपन्यास लेख्न भएको शोध, अनुसन्धानका कारण यति समय खायो कि उनले आफ्ना लागि समय दिन नभ्याएको गुनासो उनले त्यो बेला गरेकी थिइन् । ‘साँच्चै भन्नुपर्दा पछिल्ला तीन-चार वर्षयता म कतै पनि जान पाएकी छैन,’ उनले उपन्यासले बनाएको व्यस्तताको चर्चा गर्दै भनेकी थिइन्, ‘कतिसम्म भने म लन्डनको मुख्य शहरसमेत घुम्न पाएकी छैन ।’
उनको यो उपन्यास शृंखलामाथि बिबिसी टेलिभिजनले शृंखला बनाएकाले पनि त्यसमा बढी संलग्न रहनु परेकाले उनी ज्यादै थाकेको र यसमाथि सोच्न पनि मन नलागेको उनले बताएकी हुन् ।
सेक्सपियर थिएटरसँग संलग्न उनी अब आफू लेखनभन्दा स्टेजमा बढी सक्रिय हुन चाहेको पनि बताएकी छन् ।
‘बरू मलाई छोटो कथा लेख्न मन लागेको छ,’ उनले महोत्सवमा भनिन्, ‘अन्य काम गर्दा छोटाकथाका लागि अनेकन् प्लटहरू आउँछन् तर ती उपेक्षित भइरहेका छन् । अब जे लेख्छु, त्यसले मैलाई चकित बनाउला भन्ने अपेक्षा गरेकी छु ।’
मन्टेलको उपन्यास बुकर छोटो सूचीबाट बाहिरिएपछि उनले आफूलाई ढुक्क भएको बताएकी छन् । पुरस्कार पाए पनि नपाए पनि वितरणका दिनसम्म त्यसले एक किसिमको तनाव दिने भएकाले त्यसमा अल्झने र त्यसबाट अब निस्किसकेको उनले बताएकी छन् ।
फिक्सन पढ्नेहरू राम्रा अगुवा !
कोरोनाकालमा कसले के पढिरहेको छ भन्ने कुरा खोतल्ने क्रममा बेलायती प्रधानमन्त्रीले आफू यस बेला पुराना प्रधानमन्त्रीका जीवनीहरू पढ्न थालेको बताएका थिए ।
यसको ठीक विपरीत कोरोनाभाइरस नियन्त्रणमा प्रभावशाली भूमिका खेलेका अन्य मुलुकका अगुवाहरूले भने फिक्सन पढ्ने गरेको पाइएको छ ।
स्कटल्यान्डकी फस्ट मिनिस्टर निकोला फर्गुसन स्टर्जन फिक्सनकी ठूलो प्रशंसक हुन् । त्यस्तै न्युजिल्यान्डकी ज्यासिन्डा अर्डन, आइसल्यान्डकी कट्रिना ज्याबकडटिर तथा फिनल्यान्डकी साना मरिन पनि फिक्सनको निकै ठूलो प्रशंसक रहेको सो महोत्सवमा कुरा उठेको थियो ।
स्कटल्यान्डमा कोरोनाभाइरसको त्यति ठूलो समस्या देखिएको छैन, जति समस्या इंगल्यान्डमा देखिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।