‘द सटानिक भर्सेस’ सलमान रुश्दी (१९ जुन १९४७) द्वारा लिखित एक प्रसिद्ध उपन्यास हो । यो उपन्यासले साहित्यिक, धार्मिक र राजनीतिक संसारमा एक भूकम्प नै ल्याइदिएको थियो । रुश्दीको जन्म एक धनी मुश्लिम परिवारमा भारतको मुम्बईमा भएको थियो । उनले शुरूमा मुम्बईको क्याथेड्रल एण्ड जोन कोनन स्कूल र पछि इङ्ल्याण्डको रग्बी स्कूल तथा क्याब्रिज विश्वविद्यालयको किङ्ग्स कलेजबाट इतिहास विषयमा शिक्षा लिएका थिए । उनी एक ब्रिटिश-भारतीय साहित्यकार हुन् । उनले धेरै उपन्यास र निबन्धहरू लेखेका छन् । रुश्दीका रचना भारतीय मूलका प्रवासीहरूको दृष्टिबाट लेखिएका छन्, जसले भारत र ब्रिटेन-अमरिकाको बीचको सांस्कृतिक दूरी, पहिचानको सङ्कट र विस्थापनको भावनालाई प्रस्तुत गर्छन् । उनको लेखनशैली जादूमय यथार्थवादको गहिराईबाट प्रभावित छ, जहाँ यथार्थवादी परिदृश्य र अलौकिक तत्त्वलाई सहजतापूर्वक सम्मिश्रण गरिन्छ ।

सलमान रूश्दी

रुश्दीले आफ्नो दोस्रो उपन्यास ‘मिडनाइट्स चिन्ड्रेन’ बाट प्रसिद्धि प्राप्त गरेका हुन् । उनको यो उपन्यासले सन् १९८१ मा बुकर पुरस्कार प्राप्त गरेको थियो । यसले भारतको स्वतन्त्रता र विभाजनको कथालाई जादूमय यथार्थवादको माध्यमबाट बताउँछ । उनले प्रायः ऐतिहासिक कल्पनासँगै जादूमय यथार्थवादी शैली प्रयोग गर्दछन् । उनका कृतिहरूका प्रमुख विषयवस्तु पूर्वीय र पश्चिमी संसारको बीचमा सम्बन्ध, पृथक्कीकरण र देशान्तरणका कथावस्तु रहेका छन् । उनले पाकिस्तानको इतिहासमा व्यङ्ग्य गरेर सन् १९८३ मा ‘शेम’ नामक उपन्यास लेखे । सन् १९९० मा उनले कथा भन्ने शक्तिको बारेमा एउटा बच्चाको किताब र आफ्नो अनुभवबाट प्रेरित ‘हारून एण्ड द सी अफ स्टोरिज’ लेखे भने सन् १९९५ मा स्पेनको इतिहासमा आधारित ‘द मूर्स लास्ट साइ’ नामक उपन्यास लेखे ।

रुश्दीले अङ्ग्रेजी साहित्यमा दक्षिण एशियाली लेखकहरूको लागि एउटा नयाँ मार्ग खोले । उनका कृतिहरू उत्तर-औपनिवेशिक साहित्यका महत्त्वपूर्ण हिस्सा हुन् । विवादको कारणले उनको सार्वजनिक छवि बिग्रिए पनि साहित्यिक संसारमा उनलाई एक साहसी, मौलिक र प्रभावशाली लेखकको रूपमा जानिन्छ । उनले कथा भन्ने शैलीलाई सधैंको लागि बदलिदिए । उनी अझै पनि न्यूयोर्कमा रहेर लगातार लेखनकार्यमा लागेका छन् । १२ अगस्ट २०२२ मा एउटा आक्रमणमा परी उनी गम्भीर रूपमा घाइते भएका थिए । त्यसपछि उनको एउटा आँखाको ज्योति नै गुम्यो । तर पनि उनी सक्रिय रूपमा आफ्नो कामलाई अगाडि बढाइरहेका छन् ।

‘द सटानिक भर्सेस’ (शैतानी छन्द) उनको सन् १९८८ मा लेखिएको चौथो उपन्यास हो । यो उपन्यास धेरै विवादित भयो । विशेषगरी मुसलमान र धार्मिक नेताहरूले यो उपन्यासको विरोध गरेका छन् । यसलाई उनीहरूले इस्लामप्रति अपमानजनक माने, जसको परिणामस्वरूप ईरानको सर्वोच्च नेता आयातुल्लाह खुमेनीले रूश्दीका विरुद्ध मृत्युदण्डको वारेन्ट जारी गरे । यसपछि रुश्दीले धेरै वर्षसम्म सुरक्षा गार्डसँगै भूमिगत भएर रहनुपर्यो । यसका कारणले गर्दा केही विरोधहरू हिंसात्मक पनि बन्न पुगे । रुश्दीले धेरै धम्की र यातना सहनुपर्‍यो । उनीमाथि धेरै हत्याका योजनाहरू पनि बने ।

यो उपन्यास इस्लामको पैगम्बर मुहम्मदको जीवनबाट प्रेरित छ । रुश्दीले यो पुस्तकमा पनि जादूमय यथार्थवादको प्रयोग गरेका छन् । उनले यसमा समकालीन घटना र व्यक्तिलाई पात्र बनाएका छन् । यो पुस्तकमा मक्काका तीन देवी अल्लात, मनात र अलउज्जातसँग सम्बन्धित कुरानको पद्यलाई शैतानी पद्य भनिएको छ । यससँग सम्बन्धित कथाको भाग इतिहासकार अल वकिदी र अल ताबारीका वर्णनहरूमा आधारित थियो। मुसलमानहरूले यसलाई उनीहरूको ईश्वरको निन्दा गरेको र उनीहरूको विश्वासलाई मजाकमा उडाएको आरोप लगाएका छन् । केही देशमा यो पुस्तकमाथि प्रतिबन्ध पनि लगाइएको छ।

यो उपन्यास एउटा घटना, विवाद र सांस्कृतिक प्रतीक बनेको छ । यो उत्तर-आधुनिक साहित्यको एक जटिल, बहुस्तरीय र गहन रूपले प्रतीकात्मक कृति हो । रुश्दीले इतिहासको सीमाको कथालाई उठाए र यसलाई उपन्यासमा एक सपनाको अनुक्रमको रूपमा प्रस्तुत गरे । यो सपना लेखकको नभएर एक पात्रको मनको उपज हो ।

उपन्यासका मुख्य पात्र सलादिन र गिब्रेल लण्डनमा बस्ने भारतीय मूलका व्यक्ति हुन् । उनीहरू न पूर्ण रूपमा भारतीय र न पूर्ण रूपमा ब्रिटिश नै बन्न सकेका छन् । यो प्रवासीको अस्तित्ववादी सङ्घर्ष हो । उपन्यासले विश्वास र शङ्काबीचको दूरीलाई देखाउँछ । यसले आस्था सम्पूर्ण र निर्विवाद हुन्छ कि हुँदैन र पवित्र पाठ मानवीय हस्तक्षेप र त्रुटिबाट उन्मुक्त हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दछ । पैगम्बर मुहम्मदको एउटा सपनाको संस्करणमा बदलिने गिब्रेलको चरित्र यही सङ्घर्षको प्रतीक हो ।

उपन्यासको शीर्षकले नै असल र खराबको विभाजनलाई चुनौती दिन्छ । पात्रभित्र पनि खराबी सधैं बाहिरी हो वा त्यो असल पक्षभित्र पनि विद्यमान हुनसक्छ भन्ने सङ्घर्ष चलिरहन्छ । यो उपन्यास भौतिक र अधिभूतवादी रूपान्तरणले भरिएको छ । दुई पात्र हवाइजहाज दुर्घटनाग्रस्त हुनबाट बच्छन् र अलौलिक रूपले एउटा देवदूतका गुणहरूसँगै तथा अर्को शैतानको सिङ र खुरसँगै बदलिन्छन् । यो प्रवास, पाप र प्रायश्चितको प्रक्रियाको एक शक्तिशाली रूपक हो ।

यो उपन्यासको संरचना जटिल छ । कथा सीधा रेखाबाट अगाडि बढ्दैन । यो वर्तमान, अतीत, सपना र पौराणिक कथाहरूको बीचमा दौडिन्छ । यसले पाठकलाई भ्रममा पारिदिन्छ, जसले पात्रहरूको आफ्नो परिचय खोज्ने भावनात्मक स्थितिलाई दर्शाउँछ । उपन्यासमा यथार्थवादी परिदृश्यहरूमा जादूमय तत्त्वहरूको मिश्रण गरिएको छ । यसले प्रवासी अनुभवको विचित्रतता र अतियथार्थवादलाई प्रदर्शित गर्छ ।

सलादिन चमचा बम्बईबाट आएको अभिनेता हो र ऊ ब्रिटेनमा बस्छ । यो रुश्दीको जीवनको एक प्रतिबिम्ब हो, जसले उपन्यासलाई एक व्यक्तिगत आयाम प्रदान गर्छ । ग्रिबेल फरीश्ताको नाम नै इस्लामिक देवदूत जिब्राइलको सन्दर्भ हो । उसको रूपान्तरण एक खसेको देवदूत समान छ, जसले विश्वास र शङ्काको बीचमा कम्पन पैदा गर्छ । सलादिन चमचाको नामले चाटुकार वा अवसरवादीलाई दर्शाउँछ । ऊ पश्चिमी संस्कृतिमा अनुकूलित हुने प्रयास गर्छ तर उसका शैतानी लक्षणले ऊ आफ्नो मूलबाट कहिल्यै मुक्त हुन सक्दैन भन्ने देखाउँछन् । हवाईजहाजको विस्फोट एक जन्म वा पुनर्जन्मको क्षण हो । यस घटनाले पात्रलाई उनीहरूको पुरानो जीवनबाट अलग गरिदिन्छ र एउटा नयाँ, विचित्र वास्तविकतामा प्रवेश गराउँछ ।
यो उपन्यासको विवाद भ्रममा आधारित थियो । रुश्दीले यसलाई सपनाको दृश्यको रूपमा लेखेका थिए, जुन शङ्काले ग्रस्त पात्रको मनको उपज थियो । यो प्रत्यक्ष आक्रमण वा अपमान थिएन । उपन्यासको उद्देश्य कसैले कुनै धर्म-संस्कृतिको निन्दा गर्नु थिएन । यसले विश्वासप्रति एक बौद्धिक खोज गर्नु थियो; कलाकारको कल्पनाशक्तिको स्वतन्त्रताको प्रयोग गर्नु थियो र कट्टरतावादी खतराहरूलाई देखाउनु थियो ।

यसरी ‘सटानिक भर्सेस’ उपन्यास आधुनिक साहित्यको सबभन्दा महत्त्वाकाङ्क्षी र चुनौतीपूर्ण कृतिहरूमध्ये एक हो । यसले प्रवासीहरूको पहिचन, निष्ठा र परिवर्तनका वैश्विक सवालहरूलाई उठाउँछ । यसको धार्मिक विवादले यसलाई एउटा राजनीतिक सङ्केत बनाइदियो तर यसको मूल्य यसको कलात्मक साहस, कथात्मक नवप्रवर्तन र दार्शनिक गहिराईमा निहित छ । यो उपन्यास सहज छैन । यसले पाठकलाई भ्रम र चुनौती प्रदान गर्छ र यही नै यसको सबभन्दा ठूलो साहित्यिक उपलब्धि हो ।

उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा

उपन्यासको कथा गिब्रेल फरिस्ता र सलादिन चमचा नामका लण्डनमा बसेका र इंग्ल्याण्डको नागरिकता लिएका दुई भारतीय मुश्लिम केटाहरूको बारेमा रहेको छ । लण्डन जानुभन्दा पहिले गिब्रेल बलिवुडमा धेरै प्रसिद्ध कलाकार थियो । तर उसको बालककाल गरीबीमा बितेको थियो । एउटा किशोरको रूपमा उसले सामान्य कामहरू गरेको थियो।

एकदिन उसका आमा-बाबुको मृत्यु भयो र उसले अर्को परिवरसँग बस्नुपर्‍यो । यही क्रममा उसले मानसिक बिमारीको पनि सामना गर्नुपर्‍यो । पछि उसलाई चलचित्रमा काम पाउन थाल्यो र विस्तारै ऊ धेरै ठूलो सफल कलाकार बन्यो । यही बीचमा रेखा मर्चेन्ट नामकी युवतीसँग उसको प्रेम चक्कर पनि चल्न लाग्यो । एक दिन उसको लण्डनबाट आएको एलीलिया कोन नामकी पर्वतारोही केटीसँग प्रेम भयो । रेखालाई यो कुरा थाहा भएपछि उनको मुटु चुँडियो, त्यसपछि उनले एकदिन आत्महत्या गरिन् । उनको मृत्युको झड्काले गिब्रेललाई जीवनभर दुःख दिइरह्यो । पछि गिब्रेल लण्डन गयो । उसले एलीलियासँग नयाँ जिन्दगी शुरू गर्न सक्नेछ भन्ने आशा गरेको थियो ।

सलादीनको जन्म बम्बईमा भएको थियो । तर उसको आफ्नो पिता चङ्गेजसँग राम्रो सम्बन्ध थिएन । उसकी आमाको पनि मृत्यु भइसकेको थियो । ऊ घरबाट टाढा जान चाहन्थ्यो । उसको बचपनदेखि नै ब्रिटेन जाने सपना थियो । एक दिन उसको पिताले उसलाई लण्डनको एउटा बोर्डिङमा पठाइदिए । यसबाट उसको इच्छा पूरा भयो । विस्तारै उसले पितासँग सम्पूर्ण सम्बन्ध तोड्यो । यसको एउटा अर्को मुख्य कारण के थियो भने उसले एउटी स्त्रीसँग विवाह गरेको थियो । विश्वविद्यालयको पढाई पूरा गरेपछि ऊ पार्श्व-स्वर कलाकार बन्यो । त्यसपछि उसले पामिल्ला लभलेस नामकी केटीसँग विवाह गर्‍यो र त्यहाँको नागरिकता लियो ।

एकपटक सलादिन भारतमा आएको थियो । त्यहाँ उसले जिनी नामकी बाल्यकालीन साथीलाई भेट्यो। केही दिनपछि उनीहरू दुवै धेरै निकट भए । जिनीले सलादिनको पितामा केही कमी पाउँदिनन्, जबकि सलादिन यसको उल्टो आफ्नो पितामा धेरै कमी देख्थ्यो । त्यसपछि उसले तिनीसँग सम्बन्धविच्छेद गर्दछ र लण्डनको लागि प्लेनमा जान्छ ।

संयोगले गिब्रेल पनि त्यही प्लेनमा नै गइरहेको थियो । ऊ पनि कुनै कामले भारत आएको थियो र अहिले लण्डन फर्किरहेको थियो । त्यही बेला चार जना सिख राष्ट्रवादीहरूले प्लेन अपहरण गर्दछन् । प्लेन एटलान्टिक महासागरमाथिबाट उडिरहेको हुन्छ । त्यसपछि यात्रीसँग आतङ्कवादीको झगडा हुन्छ । त्यसकारण आतङ्कवादीले प्लेनभित्रै बम विस्फोट गरिदिन्छन् । त्यो प्लेन इङ्ग्लिस च्यानलमा गएर विस्फोट हुन्छ । सबै यात्री यो दुर्घटनामा मर्छन् । यद्यपि यहाँ गिब्रेल र सलादीन भने बाँच्छन् । गिब्रेल प्लेन बाहिर एक गिब्रेल नामकै देवदूतमा परिणत हुन्छ । सलादिनले शैतानको रूप लिन्छ । उसको अनुहार बाख्राको र शरीर मानिसको हुन्छ । उनीहरूलाई रोजा डाइमण्ड नामकी महिलाले आफ्नो घरमा आश्रय दिन्छिन् ।

यद्यपि त्यहाँ पुलिस आउँछन् र सलादिनलाई पक्रिन्छन् । सलादिनलाई देखेर पुलिसलाई ऊ अवैधानिक तरीकाले लण्डनको आएको शङ्का हुन्छ । सलादिन सहयोगको लागि गुहार माग्छ र उसले गिब्रेलसँग पुलिसहरूलाई साँचो कुरा बताउनको लागि भन्छ तर गिब्रेलले सहयोग गर्दैन । सलादिन पटक-पटक ऊ ब्रिटिश नागरिक हो भनेर दोहोर्याउँछ तर यो कुरालाई ब्रिटिश पुलिसले मान्दैनन् । पुलिसले सलादिनलाई जेलमा लगेर धेरै यातना दिन्छन् र अर्धमृत भएपछि उसलाई हस्पिटलमा छोडिन्छ । अस्पतालमा उसले सबै भूत बनेको देख्छ र बाँकी मानिस पनि आधा जनावर थिए । यसको अर्थ के थियो भने उनीहरू पनि सेता जातिका मानिसहरूको नस्लीय भेदभावको शिकार भएका थिए ।

सलादिन मौका पाउनेबित्तिकै त्यहाँबाट भागेर आफ्नो लण्डनस्थित घर जान्छ । घर पुग्दा उसले आफ्नी श्रीमती पामेल्ला र जम्पी जोशीका बीचमा चक्कर चलिरहेको देख्छ । तर शैतानको रूपमा रहेको सलादिनलाई उनीहरूले चिन्न सक्दैनन् । किनभने उनीहरूलाई सलादिन प्लेन दुर्घटनामा मरिसकेको छ भन्ने लागिरहेको थियो ।

सलादिन अब वास्तविक सलादिन नभएर शैतान सलादिन थियो । यसकारण जम्पीले उसलाई सहयोग गर्दछ र आफ्नो एउटा चिनेको होटलमा राखिदिन्छ । तर सलादिनको शरीर बिस्तारै बढ्दै जान्छ । त्यसकारण उसले सलादिनलाई बेसमेन्टमा लुकाइदिन्छ । सलादिन सोचमा डुब्दछ । त्यसपछि उसलाई गेब्रिलले मद्दत नगरेकोले गर्दा आफूले धेरै समस्या झेल्नुपरेको कुराको स्मरण हुन्छ र धेरै रिस उठ्छ । यही रिसको कारण ऊ फेरि मानिस बन्छ।

अर्कोतिर गिब्रेलले पनि एलीलाई भेट्छ र उनीसँगै बस्न लाग्छ । एक दिन उसले सपना देख्छ । सपनामा उसलाई ईश्वरले एलीलाई त्याग गरी मानिसहरूसम्म उनको सन्देश पुर्याउने कुरा गर्दछन् । अर्को दिन उठेर सडकमा गई उसले मानिसहरूलाई ईश्वरको बारेमा बताउँछ । तर उसलाई कसैले कुनै भाउ दिंदैनन् र उसको मजाक उडाउँछन् । उसलाई पागल भन्छन् । त्यसपछि ऊ एउटा गाडीमा ठोक्किन्छ । गाडीमा बसेको व्यक्ति एउटा फिल्म प्रोड्यूसर हुन्छ । उसले गिब्रेललाई चिन्छ र एलीसँग मिलेर उसलाई लिएर उपचार गर्न अस्पताल लैजान्छ । त्यहाँ उसको सिजोफ्रेनियाको उपचार हुन्छ । त्यसपछि ऊ त्यसलाई लिएर एउटा फिल्म बनाउने बारेमा पनि सोच्छ ।

उता सलादिनलाई आफू वास्तवमै शैतान भएको महसूस हुनलाग्यो । उसलाई बस्दा-बस्दै धेरै रिस उठिरहेको थियो । ऊ गिब्रेलसँग बदला लिन चाहन्थ्यो । त्यसपछि उसलाई मार्ने कुरा सोच्दछ । तर उसले चाहेर पनि यस्तो गर्न सकिरहेको थिएन । एक दिन सलादिनले गिब्रेल र एलीलाई देख्छ । त्यसपछि ऊ रिसले चुर हुन्छ । त्यतिखेरै उसको दिमागमा एउटा विचार आउँछ । उसले एलीलाई फोन गर्छ र गिब्रेलको नममा एलीप्रति शङ्का पैदा गरिदिन्छ । तर पछि गिब्रेललाई यो सबै सलादिनले गरिरहेको हो भन्ने कुरा पत्ता लाग्छ । एक दिन सलादिन क्याफेमा चिया पिइरहेको थियो । त्यतिखेरै त्यहाँ आगो लाग्छ । गिब्रेलले उसलाई देख्छ र उसलाई त्यहीं मरोस् भन्ने सोच्छ। तर अन्तिममा आएर उसको मन परिवर्तन हुन्छ र सलादिनलाई बचाउँछ।

सलादिनले एक दिन उसका पिताको अवस्था अत्यन्तै खराब भएको र मर्ने स्थितिमा पुगेको खबर पाउँछ । त्यसपछि ऊ भारत आएर आफ्ना पिताको सेवामा लाग्छ । सलादिनले अन्तिम समयमा पिताका सबै गल्तीहरूलाई माफ गरिदिन्छ । उसको पिताको मृत्यु भएपछि उसले सबै सम्पत्ति प्राप्त गर्छ । त्यसपछि उसले जिनीलाई पनि भेट्दछ र उनीहरू दुवै पुनः नजिक भएर सँगै बस्न लाग्छन् ।

गिब्रेल चलचित्रमा काम गरिरहेको थियो तर उसका चलचित्र फ्लप हुन्छन् । त्यसपछि ऊ एली र प्रोड्यूसरसँगै भारत आउँछ । गिब्रेल एकपटक फेरि आफ्नो बालककालमा हराउँदछ, जहाँ ऊ मानसिक रोगी हुन्छ । डिप्रेसनले उसलाई फेरि पहिलेकै जस्तो असहाय अवस्थामा ल्याइदियो । त्यसपछि गिब्रेलले एली र प्रोड्यूसर दुवैलाई गोली हानेर हत्या गर्छ । यसपछि ऊ सलादिनकोमा गएर आफूले गरेको गल्तीको बारेमा माफी माग्छ । त्यसपछि उसले आत्महत्या गर्दछ ।

यो उपन्यासको बीचमा गेब्रियलको दिमागमा आउने धेरै स्वप्न अनुक्रम पनि छन् । भ्रमबाट बच्नको लागि तिनीहरूलाई यहाँ अलग्गै दिइएको हो । यिनै कारणले गर्दा मुस्लिमहरू यो उपन्यासबाट बेखुशी भएका हुन् ।

पहिलो, माहोण्ड नामक व्यक्तिले एउटा नयाँ धर्म शुरू गर्दछ, जसको नाम आज्ञाकारिता हुन्छ तर अन्य धर्मका मानिसहरूले उसको धर्मका मानिसहरूलाई मार्न लाग्छन् । त्यसपछि अन्य धर्मका मानिसहरूले माहोण्डको सामु उसले तीन देवीहरूलाई पनि अल्लाहसँगै स्थान दियो भने उनीहरूले उसका अनुयायीहरूलाई छोडिदिनेछन् भन्ने प्रस्ताव राख्दछन् । यो प्रस्तावमा ऊ तयार हुन्छ र ती तीन देवीहरूलाई अल्लाहका छोरी बताउँछ । पछि उसलाई यो गल्तीबाट पछुतो पनि हुन्छ, तर उसले आफ्ना मानिसहरूको रक्षा पनि त गर्नु थियो । तर ऊ यी सबै चीजहरूलाई झुटो बताएर भन्छ – यस्तो केही पनि होइन, यो सबै उसलाई शैतानले गराएको हो । र, यति भनेर लज्जित भएर ऊ त्यहाँबाट भाग्दछ । तर यसपछि उसको यो धर्म सबैतिर फैलिन लाग्छ ।

दोस्रो, तित्लीपुर गाउँमा आयशा नामकी एउटी केटी हुन्छिन् । उनले आफ्ना गाउँका मानिसहरूलाई आफूले गेब्रेल नामको देवदूतलाई सपनामा देखेको कुरा गर्छिन् र भन्छिन् – उसले सबैलाई मक्काको यात्रा पैदलै गर्नको लागि भनेको छ; र उसले सबैलाई पानीमा मार्ग दिनेछ । अर्थात् उनीहरूले अरब सागरमाथि पानीको सतहमा मार्ग प्राप्त गर्नेछन् । अवश्य विश्वासपूर्वक कदम अगाडि बढाइयोस् । अर्को दिन सबै मक्काको यात्रामा निक्लिन्छन् र अरब सागरमा हिँड्न लाग्छन् तर उनीहरू सबै डुबेर मर्छन् । यहीँ आएर रुश्दीको उपन्यासको कथा समाप्त हुन्छ र विवादको शुरूवात हुन्छ ।

सन्दर्भ स्रोतहरू

1. https://www.ebsco.com/research-starters/literature-and-writing/satanic-verses-salman-rushdie
2. https://www.litcharts.com/lit/the-satanic-verses
3. https://bannedbooks.library.cmu.edu/salman-rushdie-the-satanic-verses/
4. https://www.britannica.com/topic/The-Satanic-Verses
5. https://www.bodhijournals.com/pdf/V8N1/Bodhi_V8N1_011.pdf
6. https://www.litcharts.com/lit/the-satanic-verses/themes
7. Study and Research of various websites, blogs, online portals, youtube channels, etc.
8. https://archive.org/download/wg826/WG826-2008-SatanicVerses.pdf