‘द दाइम मेशिन’ एच. जी. वेल्स (२१ सेप्टेम्बर १८६६ – १३ अगस्ट १९४६) द्वारा लिखित विश्वप्रसिद्ध विज्ञान-कथामा आधारित उपन्यास हो । वेल्स प्रसिद्ध अङ्ग्रेज लेखक हुन् र उनी साहित्यका कयौं विधामा पारङ्गत थिए । उनले उपन्यास, लघुकथा, सामाजिक टिप्पणी, इतिहास, व्यङ्ग्य, जीवनी र आत्मकथा लेखे । उनको पूरा नाम हर्बट जर्ज वेल्स हो । उनको जन्म लण्डनको ब्रोम्ले हाइस्ट्रिटमा भएको थियो । उनी गरीव परिवारमा जन्मिएका थिए । बालककालदेखि नै उनलाई विज्ञान र शिक्षामा रुचि थियो । उनी समाजवादी विचारधारबाट प्रभावित थिए । वेल्सले लण्डनको रोयल कलेज अफ साइन्समा थोमस हक्सलेको सानिध्यमा जीवविज्ञान पढे । प्रारम्भिक जीवनदेखि नै वेल्सले जीवविज्ञानमा गहिरो प्रशिक्षण पाएका थिए । यही कारणले उनले नैतिक र दार्शनिक विचार डार्विनवादको सन्दर्भ लिँदै रचे । उनको बालककाल आर्थिक कठिनाइमा बित्यो । एउटा दुर्घटनामा उनको खुट्टा भाँचिएको थियो । उनले शिक्षण पनि गरे तर लेखनमा मोडिए । उनले आफ्नो साहित्यिक जीवनमा सामाजिक, राजनीतिक र वैज्ञानिक विषयहरूलाई उठाए र आफ्नो कार्यलाई प्रगतिशील दृष्टिबाट हेर्ने प्रयास गरे । सन् १८९५ मा उनले ‘द टाइम मेशिन’ लेखेपछि विज्ञानकथामा क्रान्ति आयो र उनी विज्ञानकथाका पिताको रूपमा प्रसिद्ध भए ।

एच. जी. वेल्सले विज्ञानकथाको रूपमा ‘द टाइम मेशिन’ (१८९५), ‘द वार अफ द वर्ल्ड’ (१८९८), ‘द इनभिजिबल मेन’ (१८९७), ‘द आइल्याण्ड अफ द डाक्टर मोरो’ (१८९६) जस्ता कृतिहरू लेखे । ‘द टाइम मेशिन’मा समय-यात्रा र मानव सभ्यताको भविष्यको परिकल्पना छ । ‘द वार अफ द वर्ल्ड’मा मङ्गल ग्रहका एलियन्सको पृथ्वीमाथि आक्रमणको परिकल्पना गरिएको छ । ‘इनभिजिबल मेन’मा अदृश्यताको वैज्ञानिक परिणाम छ । र, ‘द आइल्याण्ड अफ द डाक्टर मोरो’मा जैविक इन्जिनियरिङ र नैतिकताबारे उल्लेख गरिएको छ ।

एच. जी. वेल्सले सामाजिक उपन्यास र विचारअन्तर्गत शिक्षा प्रणालीमाथि व्यङ्ग्य गरेर ‘किप्स’ (१९०५) लेखे । त्यसैगरी पूँजीवादको आलोचना गरेर ‘टोनो-बङ्गे’ (१९०९) लेखे । र, मध्यमवर्गीय जीवनको चित्रण गरेर ‘द हिस्ट्री अफ मिस्टर पोली’ (१९१०) लेखे । सन् १९२० मा उनले ‘द आउटलाइन अफ हिस्ट्री’ लेखे । यसमा विश्व इतिहासको वैज्ञानिक विश्लेषण गरिएको छ । सन् १९३१ मा उनले ‘द साइन्स अफ लाइफ’ लेखे । यसलाई जीवविज्ञानको लोकप्रिय पुस्तक मानिन्छ । वेल्सका रचनाहरूले विमान, ट्याङ्क, अन्तरिक्ष यात्रा, परमाणु हतियार, उपग्रह, टेलिभिजन, इन्टरनेट जस्ता प्रगतिशील र युगीन आविष्कारहरूको भविष्यवाणी गरेका थिए ।

वेल्सले विज्ञानकथाको क्षेत्रमा वैज्ञानिक यथार्थवादको जग राखे । उनलाई जूल्स वर्नसँगै विज्ञानकथाका पिता मानिन्छ । उनले मानवधिकार, समाजवाद, विश्व शान्ति र वैज्ञानिक शिक्षामा जोड दिए । सामाजिक असमानता, श्रमिकहरूको शोषण, वर्गसंघर्ष र मानव विकाससँग सम्बन्धित विषयहरूमा उनको गहिरो प्रभाव परेको छ । उनको दूरदर्शिता र विज्ञान एवम् समाजको बीचमा संवाद स्थापित गर्ने क्षमताले उनलाई साहित्य तथा समाज दुवै क्षेत्रमा महत्त्वपूर्ण बनायो । उनी चार पटक नोबेल पुरस्कारको लागि नामाङ्कित पनि भए । वेल्सले प्रविधिको द्वन्द्वलाई उजागर गरे । उनको मान्यताअनुसार विज्ञान र नैतिकताको सन्तुलनले नै समाजलाई बचाउन सक्छ । यसरी एच. जी. वेल्स एक कल्पनाशील कथाकार मात्र नभएर वैज्ञानिक, इतिहासकार र समाज सुधारक पनि थिए । उनका रचनाहरूले आज पनि विज्ञान, राजनीति र नैतिकतामाथि प्रासङ्गिक बहसलाई प्रेरित गर्छन् ।

वेल्सको उपन्यास ‘द टाइम मेशिन’ पहिलो पटक सन् १८९५ मा प्रकाशित भएको थियो । यो केवल समय-यात्राको कथा मात्र नभएर भविष्यको अँध्यारो र मानवीय सङ्घर्षको झलक पनि हो । यसलाई विज्ञानकथा साहित्यको शास्त्रीय कृति मानिन्छ । यसमा भिक्टोरियन युगका एक अङ्ग्रेज वैज्ञानिक र आविष्कारक (समययात्री) द्वारा समय-यात्राको लागि एउटा यन्त्र (टाइम मेशिन) को आविष्कार गरिएको छ । समययात्री यो यन्त्रद्वारा भविष्यमा हजारौं वर्ष अगाडि यात्रा गर्छ र त्यहाँको बदलिंदो समाजलाई हेर्छ । भविष्यमा उसले मानवजाति दुई प्रजातिहरूमा विभक्त भइसकेको देख्छ, जसमा एउटा प्रजाति सतहमा रहने, साना, शान्त, अल्छी, फलफूल खाएर जीवन बिताउने, बच्चाजस्ता देखिने र अबुझ तथा सरल एलोई हुन्छन् भने अर्कोतिर भूमिगत रहने, खतर्नाक, प्राविधिक रूपमा सक्षम र एलोईलाई नियन्त्रित गर्ने मोर्लक्स हुन्छन् । उपन्यासमा समययात्रीले एलोईकी युवती वीनालाई बचाउँछ र दुवै सँगै साहित्यिक यात्रा गर्छन् । यो उपन्यासले समय-यात्राको विचारलाई वैज्ञानिक र कल्पनाशील तरीकाले प्रस्तुत गर्छ, जहाँ भविष्यको सामाजिक स्थिति, प्रकृति र मानवजातिको विकासको विषयलाई दर्शाइएको छ । यो उपन्यासलाई समय-यात्रालाई लोकप्रिय बनाउनमा एक कोसेढुङ्गा मानिन्छ । यसमा वेल्सले सामाजिक संरचना, मानव विकास र भविष्यका सम्भावित खतराहरूलाई बडो प्रभावकारी ढङ्गले देखाएका छन् ।

‘द टाइम मेशिन’ विज्ञानकथा साहित्यको सबभन्दा प्रारम्भिक र प्रभावशाली कृतिहरूमध्ये एक हो । यसमा वैज्ञानिक यन्त्रको माध्यमबाट समय-यात्राको विचार प्रस्तुत गरिएको छ, जुन त्यस समयको लागि अत्यन्तै नवीन थियो । वेल्सले यसको उपयोग रोमाञ्चक कथाको लागि मात्र नगरेर सामाजिक असमानता र वर्गसंघर्षको आलोचनाको लागि पनि गरेका छन् । उपन्यासमा भविष्यको मानवजातिको विभाजन एलोई र मोर्लक्समा गरेर तत्कालीन सामाजिक वर्गभेदलाई व्यङ्ग्यात्मक आलोचना गरिएको छ । उपन्यासले मानव स्वभाव, समाजको असमानता र प्राविधिक विकासका परिणाममा चिन्तन गर्छ । एलोई जस्ता आदिम र सरल जीव तथा मोर्लक्स जस्ता क्रूर, भूमिगत र प्राविधिक रूपमा सक्षम प्राणीको प्रतीकले मानवीय विकासको मार्गमा हिंसा, नियन्त्रण र उदासीनता पनि हुनसक्छ भन्ने देखाउँछ ।

वेल्सले समयलाई आयामका रूपमा प्रस्तुत गरेका छन्, जहाँ अतीत, वर्तमान र भविष्य लगातार एक-अर्कोमा प्रवाहित हुन्छन् । यो उपन्यासले भविष्य सधैं उत्कृष्ट हुनेछ र कयौं पटक त्यो भयावह एवम् अस्वीकार्य पनि हुनसक्छ भन्ने विचारलाई पनि चुनौती दिएको छ । यसले समयको अपरिवर्तनीयता र मानव सभ्यताका विभिन्न चरणहरूको कल्पना पनि गर्छ । यो उपन्यासले जीवलोकलाई चित्रित गर्ने एउटा नयाँ तरीका प्रस्तुत गर्छ । काल्पनिक संसारको चित्रण, भविष्यको कल्पना र यथार्थसँग जोडिने कुरा यो उपन्यासका प्रमुख विशेषता हुन् । यसको कथाशैली सरल, संवादात्मक र प्रभावशाली छ । यद्यपि केही आलोचकहरूका अनुसार उपन्यासको अन्त अधूरो छ र केही पात्रहरूको विकास सीमित छ । तर पनि यसको प्रभाव व्यापक रहेको छ र यसले पछि विज्ञानकथा लेखक र चलचित्रहरूलाई प्रेरित गर्‍यो । यो उपन्यास सामाजिक चेतना जागृत गर्नमा सफल रह्यो, खासगरी श्रम-शोषण र वर्गसंघर्षको सन्दर्भमा ।

यसरी ‘द टाइम मेशिन’ उपन्यास केवल काल्पनिक यात्राको कथा मात्र नभएर यो एक सामाजिक-राजनीतिक र दार्शनिक चिन्तन पनि हो । यसले मानवताको भविष्यप्रति सचेतना प्रदान गर्छ र यदि असमानता, उत्पीडन तथा उदासीनतालाई रोकिएन भने लामो समयसम्म परिणाम भयावह रहनेछ भन्ने सचेनता पनि प्रदान गर्छ । यो कृति विज्ञानकथा सँगसँगै सामाजिक आलोचनाको एक संयोजन पनि हो । यसले पाठकलाई समय, समाज र मानवता कुन दिशातिर गइरहेको छ भन्ने कुरा सोच्न बाध्य बनाउँछ ।

उपन्यासको सम्पूर्ण कथा सङ्क्षिप्तमा

यो उपन्यासको शुरुवात एउटा डिनर पार्टीको दृश्यबाट हुन्छ, जहाँ समययात्री (जसको नाम बताइएको छैन) आफ्ना पाहुनाहरूसँग समय-यात्राको बारेमा कुरा गर्छ । यहाँ समययात्री एक असाधारण वैज्ञानिक हुन्छ । एक साँझ ऊ आफ्नो प्रयोगशालामा एउटा अनौठो कुरा गरिरहेको थियो । म, डाक्टर, मनोवैज्ञानिक, दार्शनिक र सम्पादक सबै एउटा गोलो मेचको चारैतिर बसेका थियौं । साँझको समय भएकोले कोठा केही धमिलो थियो र आगोको प्रकाश पर्खालमा नाचिरहेको थियो ।

समययात्रीले विस्तारै भन्यो- ‘तपाईं सबै लम्बाई, चौडाई र उचाईलाई बुझ्नुहुन्छ । यी तीन आयाम हुन् तर एउटा चौथो आयाम पनि हुन्छ र त्यो समय हो । हामी सबै आश्चर्यचकित भयौं । उसले अगाडि भन्यो‑ हामी समयमा पनि कुनै दिशामा गए जसरी नै अगाडि बढ्छौं । तर फरक के छ भने हामी समयमा भविष्यतिरको एक दिशामा मात्र अगाडि बढ्न सक्छौं । हामी पछाडि फर्किन सक्दैनौं । यदि हामी पछाडि जानसक्यौं भने के हुन्छ ?

ऊ रोकियो, मुस्कुरायो र टेबुलमुनिबाट एउटा सानो यन्त्र निकाल्यो । यन्त्र चम्किरहेको थियो । त्यसमा चक्र जस्तो संरचना थियो । त्यसमा कुनै लिभर र काँस जस्तो धातुको चमक थियो । त्यो हेर्दा कुनै खेलौना जस्तै थियो । तर उसका आँखामा त्यसबेला कुनै अरु नै चमक थियो । समययात्रीले भन्यो, यो केवल एउटा प्रारूप हो । खास यन्त्र मैले माथि कोठामा राखेको छु । तर यसको सिद्धान्त उही हो । यो यन्त्रमा बसेर म समयमा अगाडि वा पछाडि जान सक्छु ।

मनोवैज्ञानिकले भन्यो, के यो सम्भव छ र ? यो त कुनै जादू जस्तै लाग्छ । समययात्री हाँस्यो र भन्यो, यो विज्ञान हो तर यो यस्तो विज्ञान हो, जसलाई तपाईंले अहिलेसम्म बुझ्नुभएको छैन । त्यसपछि ऊ उठेर यन्त्र नजिक गयो र एउटा लिभरलाई विस्तारै घुमायो । यन्त्रले एउटा हल्का आवाज दियो, जस्तो कि हावामा कम्पन भएको होस् । त्यसपछि उसले यन्त्र बन्द गरिदियो र भन्यो – साथीहरू म तपाईंहरू सबैलाई आउँदो बिहीवार वास्तविक यन्त्र देखाउनेछु र म तपाईंहरूलाई समयमा यात्रा कसरी हुन्छ भन्ने कुरा पनि देखाउनेछु ।

त्यो रात हामी सबै अचम्मित थियौं । के वास्तवमै समयमा यात्रा सम्भव छ वा त्यो केवल एउटा कल्पना मात्र थियो ? हामीमध्ये कसैलाई पनि त्यो समययात्री वैज्ञानिक अर्को पटक भेट्दा एउटा भविष्यको संसारबाट फर्किनेछ भन्ने कुरा थाहा थिएन । बिहीबार आइसकेको थियो । अब हामी सबै एकफटक पुनः उसको घरमा जम्मा भएका थियौं । तर यो पटक माहौल केही फरक थियो । कोठाको प्रकाश मन्द थियो । पर्दा झरेका थिए, हावामा एउटा रहस्यमय सन्नाटा थियो र ढोका खुला थियो । अब समययात्री आयो । तर अब ऊ पहिलेको जस्तो थिएन । उसको अनुहार फुङ्ग उडेको थियो । कपडा धूलोले लपेटिएका थिए । उसका आँखामा कुनै यस्तो भय थियो, जसलाई शब्दमा व्यक्त गर्न सकिंदैन । हामी सबै उभियौं । डाक्टरले भन्यो, के भयो ? तपाईं ठीक त हुनुहुन्छ ?

समययात्रीले विस्तारै भन्यो – बस्नुहोस्, म तपाईंहरूलाई एउटा कथा सुनाउँछु । यो एउटा यस्तो कथा हो, जसले तपाईंको सम्पूर्ण अस्तित्वलाई डग्मगाइदिनेछ । मैले त्यो दिन समय-यन्त्रको ठूलो संस्करणलाई सञ्चालन गरेँ । विस्तारै लिभर घुमाएँ । त्यसपछि यन्त्रले कम्पन शुरु गर्‍यो । सबै कुरा धमिलो हुनलाग्यो । पर्खाल पग्लिन लागे । घडीका सुइ पागल जस्तै भएका थिए । तिनीहरू यति तीव्र रूपमा घुमिरहेका थिए कि म तिनीहरूको आवाजसम्म सुन्न सक्थेँ । बाहिर उज्यालो अध्यारोमा र अध्यारो उज्यालोमा बदलिन लाग्यो । म समयमा यात्रा गरिरहेको थिएँ । वर्ष बदलिरहेका थिए- १९००, १९५०, २०००, २१०० सबै मेरो चारैतिर गुज्रिरहेका थिए, जसरी वर्षाका थोपा शिसामा हुन्छन् । त्यसपछि मैले लिभरलाई रोकेँ । यन्त्र एकै झट्का थामियो । त्यसपछि बाहिर कदम राख्दा म भविष्यमा थिएँ । तर यो भविष्य हामीले सोचेजस्तो थिएन । त्यहाँ एक शान्त र रहस्यमय संसार थियो। त्यहाँ न कुनै हल्लाखल्ला थियो र न कुनै यन्त्र नै । त्यहाँ केवल हरियाली र एक विचित्र सन्नाटा थियो ।

त्यहाँ मेरो एलोईसँग भेट भयो । तिनीहरू साना, कोमल र निर्दोष मानिस थिए । उनीहरू न लड्थे न काम नै गर्थे । मानौ, सभ्यता रोकिइसकेको थियो । त्यसपछि मैले मानिस बदलिसकेको छ भन्ने कुरा बुझेँ । तर यो त केवल सतह मात्र थियो । यो सुन्दर भविष्यमुनि अन्धकार र भय लुकेको थियो । मोरलक्सलाई म अहिले शब्दमा व्यक्त गर्न सक्दिनँ । उसको अनुहार कालो हुन्छ ।

मैले जे लिएर आएको छु, त्यो केवल एउटा कथा मात्र नभएर भविष्यको लागि एउटा चेतावनी पनि हो । मैले त्यो अनजान भूमिमा पहिलो पाइला राख्दा मलाई कुनै सपनामा हिंडिरहेको जस्तो लाग्यो । त्यहाँ हरियालीले ढाकिएका घाँटी, मन्दिर जस्ता विशाल भवन थिए, हावामा विचित्र मिठास थियो र एउटा मौनता थियो, जस्तो कि समय स्वयं रोकिएको होस् । त्यहाँ मैले छोटो कदका, सुन्दर अनुहार भएका र मखमली कपडा पहिरिएका मानिस देखेँ । तिनीहरू नै एलोई थिए । उनीहरू हाँस्थे, खेल्थे तर कुनै पनि काममा लागेका देखिंदैनथे । त्यहाँ न कुनै कारखाना थियो, न कुनै खेत र न कुनै सङ्घर्ष नै थियो । मैले सोचेँ, के यिनै हुन् त भविष्यका मानिस; यति सरल, यति शान्त तर यति धेरै निर्बल ?

मैले एउटी युवतीलाई कसैले पक्कडमा लिएर मृत्युको मुखमा पुर्‍याउँदै गरेको देखेँ । उनको नाम वीना थियो । सबैले उनलाई एकोहोरो हेरिररहेका मात्र थिए । कसैले मद्दत गरिरहेको थिएन । मैले तुरुन्तै उनलाई बचाएँ । उनले मतिर हेरिन् । उनका आँखामा भय थिएन, बरु आश्चर्य थियो । जस्तो कि उनले पहिलो पटक कसैको वीरता देखेकी हुन् । त्यो दिनपछि वीना मसँगै रहन लागिन् । उनले मलाई त्यो संसार देखाइन् । त्यो शान्त सभ्यताको पछाडि लुकेको खालीपनलाई देखाइन् । त्यहाँ रात डरलाग्दो थियो । सूर्य अस्ताउने वित्तिकै एलोई काप्न लाग्थे । उनीहरूले तुरुन्तै आफूलाई घरमा बन्द गर्थे र ढोका बन्द गर्थे । मैले यो सबै किन भनेर सोध्दा उनीहरूले उत्तर दिंदैनन् । केवल उनीहरू कानेखुशीको आवाजमा एउटा नाम लिन्छन् – मोर्लक्स ।

मैले पहिलो पटक उनीहरूलाई त्यतिबेला महसुस गरेँ, जतिबेला म आफ्नो समय-यन्त्रतिर गएँ । त्यो ठाउँ खाली थियो । यन्त्र वेपत्ता भएको थियो, मानौं, जमिनले निलेको होस् वा कुनै अरु नै शक्तिले त्यसलाई तानेर अध्यारामा लिएर गएको होस् । त्यतिखेरै मैले एउटा खाल्टो देखेँ । त्यहाँ अध्यारोमा जाँदै गरेका र गहिराईबाट उठ्दै गरेका अनि एक विचित्र सास फेरिरहेका मोरलक्स थिए ।

के यही नै थिए ती ? मानवजातिको अर्को अनुहार; शान्त सतहमुनि अन्धकार र भय हुर्किरहेको थियो ? त्यो साँझ म एक्लै थिएँ । वीना र बाँकी एलोई पोखरीको किनारामा सुतिसकेका थिए । तर मेरो मनमा बेचैनी थियो । मेरो एकमात्र साहरा समय-यन्त्र बेपत्ता भएको थियो । र, त्यो जमिनमुनि छ भन्ने कुरा मलाई थाहा थियो । त्यो ती प्राणीहरूसँग थियो, जसलाई एलोईले मोर्लक्स भन्थे ।

काठ, एक टुक्रा कपडा र केही तेलबाट मैले एउटा मशाल बनाएँ । बचपनको खोजी प्रवृत्ति पुनः जागृत भयो । म खाल्डोको निकट पुगेँ । त्यो काई र अन्धारले भरिएको सुरुङ जस्तै थियो । हरेक कदमसँगै म इतिहासको उल्टो यात्रामा चलिरहेको थिएँ; म भविष्यमा भएको संसारतिर गइरहेको थिएँ । तर म भयमा डुबेको थिएँ, जस्तो आदिकालमा फर्किंदा हुन्छ । मैले मशाल जलाउने वित्तिकै पर्खाल हल्लिए जस्तो लाग्यो । त्यसपछि मैले त्यहाँ मोर्लक्सलाई देखेँ । उनीहरू छोटा कदका थिए, उनीहरूको झुकेको पिठ्यु थियो, कपालविहीन टाउको थियो भने चम्किरहेका सेता आँखा थिए । उनीहरू उज्यालोबाट आत्तिइरहेका थिए, चिच्याउँदै थिए, पछाडि हट्दै थिए । तर उनीहरूको सङ्ख्या बढिरहेको थियो ।

त्यहीबेलामा मैले यन्त्र देखेँ । त्यो एक प्लेटफर्ममा फलामको बारपछाडि राखिएको थियो; मानौं कुनै पिन्जडामा बन्द कुनै बाघ । यो जाल हो भन्ने कुरा मैले बुझेँ । मेरो शरीरमा कम्पन पैदा भयो । उनीहरूले मलाई तल बोलाएर मेरो यन्त्रको निकट लगिरहेका थिएनन्, बरु मलाई तल तानेर फसाउन चाहन्थे र शायद मार्न पनि चाहन्थे । म भागिनँ, बरु लुकेँ । घण्टौंसम्म म एउटा पर्खालको आडमा बसिरहेँ; त्यो गहिरो अध्यारोमा, जहाँ सास लिन पनि मुश्किल भइरहेको थियो ।

तलको संसारमा कुनै समय थिएन । घण्टौंको महसूस हुँदैनथ्यो । त्यहाँ त केवल भय र विचित्र यन्त्रको आवाज थियो । उनीहरू केही बनाइरहेका थिए । केही चलाइरहेका थिए, यन्त्र, गियर र धातुका चीज । के यिनीहरू त्यही मानव थिएँ, जसको पुस्ता एक दिन चन्द्रमासम्म पुगेको थियो ? के प्रगतिले स्वयंलाई खाएको थियो ? त्यो सभ्यता थिएन, त्यो त अध्यारामा जिउने आदत थियो ।

भविष्य अब उन्नतिको होइन, विनाशको दुई हिस्साको रूप थियो । एउटा हिस्सा माथि थियो, जो बुद्धिहीन तर निर्दोष थिए । अर्को हिस्सा तल थियो, जो भोका, चलाख र अध्यारोका मालिक थिए । म त्यो रात मुश्किलले बाहिर निक्लिन पाएँ । तर अब मेरो उद्देश्य स्पष्ट थियो । आफ्नो यन्त्र कुनै पनि मूल्यमा फिर्ता लिनु नै थियो । र, त्यो रात मुश्किलले म सुरुङबाट बाहिर निक्लिन सकेँ । सासको गति तीव्र भएको थियो, हृदय धड्किरहेको थियो तर आँखामा अब कुनै डर थिएन । अब मैले आफ्नो यन्त्र त्यहाँ छ र त्यसलाई फिर्ता ल्याउनको लागि युद्ध गर्नुपर्नेछ भन्ने कुरा थाहा पाइसकेको थिएँ ।

मैले अर्को दुई रात तयारीमा बिताएँ । एलोई त भयले आतङ्किकत भएर केही पनि गर्दैनथे तर वीना मसँगै बस्थिन् । उनका आँखामा त्यो निर्दोष भरोसा थियो, जुन शायद यो संसारमा बाँकी नै थिएन । मैले घाँस र काठबाट केही मशाल बनाएँ । केही रसायनहरूबाट आगोका साना गोला तयार गरेँ । अब मेरो योजना अध्यारोलाई जलाएर खरानी बनाउनु थियो ।

भोलिपल्ट सबै सुतिरहेको बेलामा मैले वीनाको हात समाते र हामी दुवै पुनः त्यही खाल्डो निकट पुग्यौं । यन्त्र अझै पनि त्यहीं थियो । त्यहाँ मोर्लक्स थिए तर उनीहरूले म फर्किएर युद्धको मैदान ल्याउँछु भन्ने आशा गरेका थिएनन् । मैले एकसाथ तीनवटा मशाल जलाएँ । अध्यारो फाट्यो । उनीहरू आश्चचर्यचकित भए र चिच्याउँदै पछि हटे । त्यहीबेला मैले आगो फ्याँकेँ । धुवाँ, चिच्याहट र आगोको उज्यालोले सम्पूर्ण प्लेटफर्म जल्न लागेको थियो । मोर्लक्स पछाडि हटिरहेका थिए तर केही मेरो पछाडि दौडिए । मैले वीनालाई धेकेलेँ । त्यसपछि मैले यन्त्रतिर छलाङ हाने र लिभर तानेँ; यन्त्र काम्यो । यही बेला एउटा मोर्लकले मेरो खुट्टा समायो । तर मैले झट्का दिएर अगाडि बढेँ । सबै दिशाहरु घुम्न लागे । पर्खाल, आगो, वीनाको चिच्याहट सबै कुरा धमिलो भयो र समय पुनः बहन लाग्यो ।

मेरा आँखा खुल्दा म आफ्नो समयमा फर्किएको थिएँ । कोठा उस्तै थियो । पर्खाल, घडी, कुर्सी उस्तै थिए । तर म अब त्यही अवस्थामा रहिनँ । मभित्र केही गहिरो बेचैनी, गहिरो प्रश्न र एक अन्धकार जस्तै थियो । त्यसलाई म बुझ्न सकिरहेको थिइनँ । के समय फिर्ता भइसकेको थियो ? के यो त्यही समय थियो, जहाँबाट म गएको थिएँ वा म कतै अन्तै पुगिसकेको थिएँ ? समयको यात्रा गर्दा हामीलाई भूतकाल र भविष्यलाई नियन्त्रित गर्न सक्छौं भन्ने लाग्छ । तर वास्तवमा हामी त्यसमाथि नियन्त्रण गर्न सक्छौं वा समयले आफ्नो तरीकाले हामीलाई घेरेर केही नयाँ देखाउँछ, जुन हामीले कहिल्यै देख्न पाउँदैनौं ?

मैले आफ्नो यन्त्रलाई हेरेँ । यो त्यही थियो तर अब यसको रूप केही अलग प्रकारको थियो । के मेरो यात्राले यसलाई पनि बदलिदिएको थियो त ? तर फेरि मेरो दृष्टि पर्खालको घडीतिर गयो । त्यसपछि एक चीसो कम्पन पैदा भयो । समयले चुपचाप आफ्नो खेल खेलेको थियो । मैले भविष्यलाई देखेर आउनेछु भन्ने सोचेको थिएँ; केवल अध्यारो र मोर्लक्सबाट बचेर । तर अब मैले यो केवल शुरुवात थियो भन्ने बुझिरहेको थिएँ ।

मैले केही पुराना दस्तावेजहरूमा दृष्टि दिएँ । ती पुराना ग्रन्थ थिए, जसलाई मैले पहिले पढ्न पाएको थिइनँ । धेरै पटक हामीले हाम्रो भविष्य स्पष्ट छ भन्ने कुरा सोच्यौं । तर हामी जुन मार्गबाट चलिरहेका छौं, त्यसले अन्त कतै लिएर त गएको छैन, जहाँ हामी स्वयंले आफ्नो अस्तित्वको विरुद्ध उभिनुपर्छ ?

एक रात मलाई निद्रा लागेन । मैले पुनः समयमा यात्रा गर्ने कुरा सोचेँ । तर यो पटक केवल फर्किनको लागि होइन, बरु एक चेतावनीसहित । यदि म समयमा अझ गहिरोसँग गएँ भने के होला ? के म मोर्लक्सको भविष्य देख्न सक्छु ? मैले यन्त्रको लिभर फेरि तानेँ । त्यहाँ एउटा हल्का छटपटी थियो तर मनमा एक नयाँ साहस थियो ।

म कोही अरु मानव नभएको भविष्यको किनारामा पुगेपछि एउटा आवाज सुनेँ; तिमीभन्दा पहिले यहाँ अरु पनि थिए ।यो आवाजले मेरा आँखामा एउटा अर्को संसार खुलाउन लागेको थियो । के यो चेतावनी थियो वा भविष्यको अध्यारोमा बाटो देखाउने कोही अरू थियो ? मैले यन्त्रको लिभर ताने र फेरि समयको गर्भमा पुगेँ । यो मैले पहिले यात्रा गरेको समय थिएन । यसले कुनै अज्ञात भविष्यतिर तानिरहेको थियो, जहाँ अन्धकार र मौनता दुवै थियो । मेरा आँखा मध्यम थिए, मानौं समयको यो किनारामा आएर सबै कुरा सुस्त भएको होस् । हरेक ठाउँमा सन्नाटा थियो । केवल मैले फेरेको सासको आवाज सुनिंदै थियो । यो कुनै प्राणी जीवित नरहेको भविष्य थियो । तर पनि मैले केही चीज देखिरहेको थिएँ ।

यो समयको त्यो अन्तिम किनारा थियो, जहाँ हामी सबैको आधार गुमिसकेको थियो । हरेक चीज अस्पष्ट भइसकेका थिए । के यो हामी मानवको अन्त थियो वा यो हामीभन्दा कयौं बढी गहिरो चेतनाको विस्तार थियो ? मेरो चारैतिर एक विचित्र चमक थियो, एक सङ्गीन खाली संसार । यो के थियो भन्ने कुरा मैले बुझ्न सकिरहेको थिइनँ । यो समयको अन्त थियो वा हाम्रो चेतनाको दोस्रो आयाम ? यो सम्पूर्ण संसार रङ्गीन निर्जीव जस्तै लागिरहेको थियो । केही चीज त थिए तर तिनीहरू मभन्दा बाहिर थिए । शायद यो त्यही वास्तविकता हो, जुन हामी समयको अन्तमा देख्छौं । मैले सोचें, म समय लोप हुने अध्यारोको त्यो मोडमा पुगिसकेको थिएँ त ? के यो हामीले सधैं देख्न चाहने समयको वास्तविक सच्चाई थियो त ? हाम्रो सम्पूर्ण यात्रामा हाम्रो सभ्यता यो बिन्दुसम्म पुगेको थियो त ?

त्यसपछि अचानक केही परिवर्तन हुनलाग्यो । एउटा ध्वनि आयो र त्यो आवाज विस्तारै बढ्दै गयो । त्यो आवाज मेरा कानबाट भित्रैसम्म गयो । यो कुनै सामान्य आवाज थिएन, बरु यो चेतनाको गुञ्जन थियो । त्यो गुञ्जन समयको हरेक कणमा समेटिएको थियो । समय पुनः बदलिन लाग्यो । मेरो चारैतिर चम्किने प्रकाशका घेरा बनिरहेका थिए । मैले देखेँ, अनगिन्ती दृश्यहरू एकसाथ घटित भइरहेका थिए । यो भविष्य थियो वा हामीले बुझ्न नसक्ने कुनै चीज थियो ? के यो केवल एउटा चेतावनी थियो वा समय स्वयंले हामीलाई जवाफ दिन शुरु गरिदिएको थियो ? मैले महसुस गरेँ, जस्तो कि म समयको साक्षी जस्तै बनिसकेको थिएँ ।

अन्ततः मैले बुझेँ, यो केवल मेरो यात्रा मात्र थिएन, यो मानवताको चेतना थियो, जो समग्र रूपले समयलाई बुझ्नको लागि सङ्घर्ष गरिरहेका थिए । हामीभित्र आफ्नो यात्राबाट केही सिक्नसक्ने त्यो सामर्थ्य छ वा हामी सच्चाईसँग डराएर फर्किन्छौं ? समय अब मेरो चारैतिर थियो तर यो मैले सोचेको जस्तो समय थिएन । यो न त अतीत थियो र न भविष्य नै थियो । बरु एउटा यस्तो अन्तराल थियो, जहाँ चेतना र समय एक-अर्कोमा समाहित भएका थिए । के यो मैले पहिले देखेकै समय थियो त ? मेरो सामुन्ने त्यो भविष्य उभिएको थियो, जुन कुनैबेला एउटा सपना जस्तै लाग्थ्यो । अब त्यो वास्तविकता बनिकसकेको थियो । पहिले केवल कल्पना भएका आकृतिहरू अब बिल्कुल मेरो निकट थिए । के यो हाम्रो चेतनाको अन्तिम सत्य थियो ?

मैले जे देखिरहेको थिएँ, त्यो एक अव्यवस्थित जस्तै दृश्य थियो वा त्यो एक विचित्र स्थिति थियो । त्यो दृश्यलाई हामी सदैव बुझ्न चाहन्थ्यौं तर त्यसलाई हामीले देखुन्जेलसम्म त्यो बदलिसकेको थियो । समयको बारेमा हामीले सिकेका हरेक कल्पना, हरेक सिद्धान्त सबै यहाँ आएर एकसाथ मिलिरहेका थिए । के हामीले अन्ततः समयलाई बदल्ने क्षमता प्राप्त गरिसकेका थियौं त ? के हामीले अन्तमा समयको त्यो खेललाई बुझेका थियौं ?

वरिपरिका पर्खाल खुम्चिएर क्षीण हुँदै गइरहेका थिए, जस्तो कि समयसँगै समाजको धारा पनि विलीन भइरहेको होस् । के यो समयको वास्तविक परिभाषा थियो वा यो हामीलाई कहिल्यै नदिइएको चेतावनी थियो ? मैले बाहिरी हेरें, जस्तो कि म एक्लै उभिएको थिएँ तर चारैति/ अनगिन्ती शक्तिहरू एकसाथ दौडिरहेका थिए । के यो हाम्रो अस्तित्वको सच्चाई थियो ?

हामी केवल समयसँग खेलिरहेका थियौं र त्यसले कहिल्यै हामीलाई छोड्दैन । मलाई महसुस भयो, समयले हामीलाई केवल केही देखाउँछ तर त्यसले हामीलाई अगाडि बढ्नको लागि चुनौती पनि दिन्छ । के हाम्रो सभ्यता त्यो बिन्दुसम्म पुगिसकेको थियो, जहाँ हामीलाई अन्धकारबाट बाहिर निक्लिने तरीका प्राप्त भइसकेको थियो ? के हामीले त्यो खतर्नाक भविष्यको सामना गर्नसक्छौं, जहाँ हामीले आफ्नो सच्चाईलाई स्वीकार गर्नुपर्नेछ ? फेरि मैले सोचे, के मैले कुनै धेरै अन्धकारलाई हेरिरहेको छैन ? के हामीले आफ्नो भविष्यलाई बदल्ने प्रयासमा आफ्नो आधार गुमाएका थियौं ? के हामी त्यो अन्धकारबाट बाहिर निक्लिन सक्छौं वा यसले हामीलाई सधैंको लागि निलिदिनेछ ?

समयको हरेक मोडमा हामी प्रकृतिले प्रगति गरिरहेको छ भन्ने ठान्थ्यौं तर वास्तवमा हामी के गरिरहेका थियौं ? के हामी मोर्लक्स र भविष्यले प्रतीक्षा गरिरहेको ठाउँमा फर्किरहेका त थिएनौं ? मैले आफ्ना आँखा खोल्ने वित्तिकै के महसुस गरेँ भने हामी कुनै यस्तो समयमा फसेका छौं, जहाँ समय एक भ्रम थियो । र, हामी सबै त्यो भ्रमको हिस्सा बनिसकेका थियौं । मैले महसुस गरेँ, समय अब मेरो चारैतिर थियो । तर यो मैले सोचेको जस्तो समय थिएन । यो केही विचित्र चीज थियो, जसलाई समय र चेतना आपसमा मिलेर केही नयाँ बनाइरहेका थिए ।

के म समयको जालमा फसिसकेको थिएँ वा मलाई केही अरु नै देखाइरहिएको थियो ? चारैतिर सन्नाटा थियो तर यो हामीलाई आरामदायक लाग्ने सन्नाटा थिएन । यस्तो लागिरहेको थियो कि जस्तो समय अब हाम्रो हातबाट बाहिर निक्लिसकेको थियो । के यो मैले सोचेकै भविष्य थियो त वा यो मैले बुझ्न नसकिरहेको केही अरु नै चीज थियो ? मैले आफैलाई सोधेँ, के हामी समयलाई बुझ्ने प्रयास गरिरहेका छौं वा समयले हामीलाई बुझ्ने प्रयास गरिरहेको छ ? के हामी मानव समयको पछाडि दौडिरहेका छौं वा त्यसले हामीलाई अन्त कतै लिएर गइरहेको छ ? समय केवल एउटा साधन हो वा यो हाम्रो अस्तित्वको हिस्सा हो ? के हामी कुनै खतर्नानक मोडमा पुगिसकेका छौं ?

मेरो सामुन्ने अचानक समयको तह खुल्न लाग्यो । समय अब कुनै साधारण चीज थिएन भन्ने कुरा मैले बुझेँ । यो यस्तो चीज थियो, जसलाई मैले कहिल्यै बुझ्न सकिनँ । के समय र चेतना अब एक-अर्कोमा घुलेका थिए त ? समय अब मेरो लागि एक खेल जस्तो रहेको थिएन, बरु यो अब हाम्रो अस्तित्वको हिस्सा बनिसकेको थियो । मैले महसुस गरेँ, समयले हामीलाई केवल देखाउँछ तर हामी यससँगै के गर्छौं भन्ने कुरा हाम्रो चुनौती हो । के हामी आफ्नो अस्तित्वको सच्चाईलाई बुझेपछि पनि सयमको यो खेललाई बदल्न सक्नेछौं वा हामी समयको जन्जिरमा फसिरहनेछौं र हामी कहाँ गइरहेका छौं भन्ने कुरा कहिल्यै थाहा पाउँदैनौं ? मैले सोचें, समयले हामीलाई सधैं नजाने दिशातिर नै लिएर जान्छ त ? के हामी आफ्नो भविष्यलाई बदल्न सक्थ्यौं वा समयको यो खेलले हामीलाई सधैं आफ्नो जालमा फसाउनेछ ?

समयलाई एउटा नयाँ दृष्टिले हेर्न थाल्नेवित्तिकै मलाई के महसुस भयो भने यो केवल अगाडि मात्र बढ्दैन, यसले हामीलाई परीक्षण गर्छ, गहिराईपूर्वक खोज्छ । म त्यो विचित्र स्थितिमा थिएँ; न पूर्ण रूपमा भूतकालमा, न भविष्यमा र न आफ्नो समयमा नै । म एउटा यस्तो ठाउँमा पुगिसकेको थिएँ, जहाँ सोच्नुभन्दा पहिले नै चीजहरू घटित हुन्थे । चारैतिर एक धुँवा थियो, जस्तो कि समय स्वयं एक धड्किरहेको पर्खाल बनेको होस् । म जति सोच्दै जान्छु, त्यति नै समय खुल्दै जान्छ । हरेक विचारसँगै कुनै नयाँ दृश्य, कुनै नयाँ समयखण्ड मेरो सामुन्ने आउँछ, जस्तो कि चेतना र समय अब एक-अर्कोमा समाहित भएको होस् र म तिनीहरूको बीचमा फसेको एक मानव । के यो हामीले आत्मा भन्ने चेतना नै हो, जुन समयको सीमाभन्दा पर गएर हरेक युग र हरेक क्षणलाई देख्न सक्छ ? म अब मानव थिएँ वा समयको छायाँ ?

मैले स्वयंलाई पृथ्वीको अतीतमा देखेँ; डाइनासोरको संसार, त्यसपछि हिमयुग, शुरुवाती मानव, त्यसपछि आज र त्यसपछि भविष्य । त्यहाँ पृथ्वीमा न कुनै शहर थियो, न कुनै आवाज; केवल शान्ति वा शायद अन्तिम शान्ति । हामी सबै कुरा बनाउन सक्छौं भन्ने सोच्छौं; यन्त्र, भवन, सभ्यता जस्ता सबै कुरा । तर के हामी समयभन्दा तीव्र हुनसक्छौं वा हामी जति कोशिस गर्छौं, त्यति नै स्वयंलाई भुल्दै जान्छौं ?

मैले अब जानिसकेको थिएँ । समयलाई बदल्नु एउटा कुरा हो तर त्यसलाई बुझ्नु हाम्रो सबभन्दा ठूलो परीक्षा हो । म थाकिसकेको थिएँ । न शरीर थाकेको थियो र न दिमाग नै, बरु अरु केही थाकेको थियो, जस्तो कि आत्मा । यति समयदेखि गुज्रिएपछि अब मलाई केवल एउटा चीजको यादले सताइरहेको थियो, त्यो मैले छोडेर आएको समय थियो । वीनाको मुस्कान, उनको त्यो निर्दोष अनुहारको याद आइरहेको थियो, जो शायद अध्यारो गुफामा मलाई खोजिरहेकी होलिन् । मैले यन्त्रको सहयोगबाट हजारौं वर्ष देखे । सभ्यता उदय र पतन, पृथ्वीको परिवर्तन, आकाशको रङ्ग परिवर्तन जस्ता धेरै कुरा देखेँ । तर मैले वीनाको साथमा बिताएको एक पललाई फेरि देख्न सकिनँ । शायद हामी मानव यही भुल गर्छौं । हामी भविष्यको खोजमा आफ्नो सबभन्दा मूल्यवान वर्तमान गुमाउँछौं ।

म समयको लहरमा बग्दै गएँ तर अब मसँग स्वयंलाई रोक्ने केही चीज बचेको थिएन । मैले यन्त्रलाई रोकेँ । सामुन्ने एउटा उजाडिएको संसार थियो । त्यहाँ न कुनै जनावर थियो न कुनै मानव । केवल चट्टान र धूलो थियो । समय अब थाकिसकेको थियो, जस्तो कि ऊ स्वयंले मलाई प्रश्न गरिरहेको होस् । अब के खोजिरहेका छौ ? मैले पाएँ, सबभन्दा डरलाग्दो भविष्य अन्धकार र एक्लोपन भएको ठाउँमा हुँदैन, बरु त्यो हुन्छ, जहाँ याद पनि पछाडि छुट्छन् ।

वीनाको एक झलकको लागि म पुनः त्यही युगमा फर्किन चाहन्थेँ । मैले यन्त्रको लिभर पुनः तानेँ । तर अब दिशा बदलिएको थियो । अब म भविष्यतिर होइन, अतीततीर गइरहेको थिएँ । यन्त्र पुनः चलेको थियो तर यो पटक अगाडि होइन, पछाडि चलेको थियो । मैले गुजारेका सबै युग विस्तारै-विस्तारै मेरो आँखाको सामु उल्लो चल्न लागे । रुख फेरि उम्रिन लागे, भवनहरू पुनः बन्दै गरेको देखिन थाले । पहाड उठ्न लागे ।नदीहरू भरिन लागे । हरेक पल, हरेक शताब्दी अतीततिर बगिरहेका थिए ।

मेरो उद्देश्य स्पष्ट थियो । म त्यो समयमा फर्किन चाहन्थें, जहाँ मैले वीनालाई छोडेको थिएँ । केही बेरमै म त्यो पुरानो युगमा फर्किएँ । कुनैबेला मलाई आकर्षक लाग्ने त्यही हराभरा मैदान, त्यही शान्त जङ्गल र हावामा फैलिएको त्यही मौनता अब मलाई डरलाग्दो लागिरहेको थियो । म यन्त्रबाट उत्रिएँ र विस्तारै-विस्तारै वरिपरि हेर्नलागेँ । वीना ! मैले बोलाएँ । कुनै जवाफ आएन । तर हृदयले उनी यतै कतै छिन् भनिरहेको थियो । मैले एक-एक झाडी र एक-एक रुखमा हेरेँ । कतै केही हलचल पैदा भयो । म तीव्रतापूर्वक त्यतातिर गएँ । त्यसपछि एउटा पातलो र भयभीत आकृति मेरो सामुन्ने आयो । उनी वीना थिइन् । उनी डराएकी थिइन् । उनका कपडा मैला थिए । कपाल छरिएका थिए । तर उनका आँखा अझै पनि त्यही थिए – निर्दोष, सीधा र भरोसाले भरिएका । मलाई देख्नेवित्तिकै उनका आँखाबाट आँसु आए । म उनको छेउमा गएँ र उनलाई विस्तारै समाएर बसाएँ । हामी दुवै केही बोलेनौं तर त्यो मौनतमा धेरै कुरा गर्यौं ।

मैले सोचेँ, म समयको यात्री बनेको छु तर वास्तविक यात्रा शायद मानिसको हृदयदेखि हृदयसम्म हुन्छ । शायद म जति अगाडि गएँ, त्यति नै स्वयंबाट टाढा हुँदै गएँ । अब म वीनालाई छोडेर फेरि कतै जान चाहन्नथेँ । तर कहानी यहीं अन्त्य भएको थिएन । किनकि सूर्य अस्ताउन लाग्नेवित्तिकै टाढाको पहाडको पछाडिबाट पुनः त्यही अन्धकार सर्न लाग्यो । मोर्लक्स पुनः आइरहेका थिए । साँझ ढलिरहेको थियो । आकाशको रङ्ग विस्तारै-विस्तारै रातोबाट कालो हुँदै थियो । र, मेरो मन एक विचित्र बेचैनी भरिन लागेको थियो ।

वीना अब मसँग थिइन् । तर यो शान्ति धेरै समय टिक्दैन भन्ने कुरा मलाई थाहा थियो । मैले टाढा हेरेँ । पहाडको पछाडिबाट एक अन्धकार पुनः घस्रिएर आइरहेको थियो । हावामा त्यही सडेको सास रोकिने गन्ध थियो । मोर्लक्स फर्किंएर आइरहेका थिए । तर यो पटक म तयार अवस्थामा थिएँ । मैले दिउँसै तयारी शुरु गरको थिएँ । केही मशाल, ढुङ्गा र सुकेका रुखबाट एउटा सानो किला बनाएको थिएँ । वीनाले मेरो मद्दत गरिरहेकी थिइन् । उनी डराएकी थिइन् तर अब उनीमा एउटा विचित्र प्रकारको साहस थियो । शायद उनलाई पनि अब हामीले लडेनौं भने सधैंको लागि अन्धकारमा हराउनेछौं भन्ने थाहा थियो ।

रात गहिरिंदै गयो । जङ्गलको हरेक दिशाबाट सरसराहटको आवाज आउन लाग्यो । मैले मशाल जलाएँ, एउटा मात्र होइन चारवटा । त्यसपछि सेतो छाला, रातो आँखा र घृणाले भरिएको गर्जन देखियो । मोर्लक्स आइसकेका थिए । तर यसपटक म पछाडि हट्नेवाला थिइनँ । मैले पहिलो आगो उनीहरूतिर प्रहार गरेँ । उनीहरूको चिच्याहटले अन्धकारलाई चिर्नलाग्यो । उनीहरू पछाडि हटे । तर केही समयपछि नै अझ बढी क्रूरतापूर्वक अगाडि बढे । मैले वीनालाई पछाडि लाएँ र स्वयं उनीहरूको बीचमा आइलागेँ । ढुङ्गा, आगो, मशाल सबै कुरा प्रयोगमा लिएँ ।

हरेक युद्धसँगै म सोचिरहेको थिएँ, यो लडाइँ केवल यन्त्रको मात्र होइन, यो त्यो मानवीयताको लडाइँ हो, जो अन्धकारबाट हार्दैन । कयौं मोर्लक्स ढले, कयौं भागे र अन्ततः जङ्गल पुनः शान्त भयो । म उभिएँ, सास बढिरहेको थियो, कपडा जलेका थिए, अनुहारमा खरानी थियो तर आँखामा एक चमक थियो । मैले जितेको थिएँ । हामीले जितेका थियौं । वीना मेरो नजिक आइन् । हामी दुवैले माथि हेर्यौं । आकाश अब सफा थियो । तारा फेरि चम्किरहेका थिए । तर प्रश्न अझै बाँकी थियो । के म सधैंको लागि यही युगमा रहूँ वा उनलाई सँगै लिएर आफ्नो समयमा फर्किऊँ ?

रात बितिसकेको थियो । आकाशमा सूर्यको पहिलो किरण फैलिन लागेको थियो । जङ्गल अब शान्त थियो र मोर्लक्स बेपत्ता भएका थिए । यन्त्रको निकट गएर मैले त्यसलाई पुनः ठीक बनाएँ । केही तार पुनः जोडेँ, लिभरलाई सम्हालेँ । अब यो यन्त्र पुनः चल्नलाई तयार थियो । वीना केही दूरीमा उभिएकी थिइन् । उनी केही नभनीकन मलाई हेरिरहेकी थिइन् । म अब जाने कुरा सोचिरहेको छु भन्ने कुरा शायद उनले बुझेकी थिइन् । म उनको निकट गएँ र उनको हात समातेँ । के तिमी मसँग जान्छ्यौं ? मैले सोधेँ । उनी चुप रहिन् । उनका आँखामा प्रश्न थिए, भय थियो र शायद थोरै आशा पनि थियो ।

मैले यन्त्रतिर हेरेँ । त्यो मेरो संसारको चाबी थियो । तर अब मेरो त्यो केवल धातु मात्र थिएन, त्यो दुई जमानाको बीचको पुल बनिसकेको थियो । यदि मैले वीनालाई सँगै लिएर गएँ भने उनी मेरो समयमा जिउन सक्छिन् त ? के उनको निर्दोषिताले हाम्रो संसारको जटिलतालाई सहन गर्न सक्नेछ ? अथवा उनलाई यही छोडिदिनु बढी सही हुन्छ त, जहाँ उनलाई कसरी बाँच्ने भन्ने कुरा थाहा छ ? मैले यन्त्रको लिभर पक्रिएँ तर हात कामिरहेका थिए । निर्णय सजिलो थिएन । अन्तमा मैले वीनालाई अङ्गालो हालेँ । म फेरि आउँनेछु, मैले भनेँ । शायद यो साँचो थियो, शायद केवल सान्त्वना थियो । तर त्यो पल यति भन्न सक्नु नै धेरै थियो ।

त्यसपछि मैले लिभर तानेँ । यन्त्र तीव्रतापूर्वक घुम्नलाग्यो । रुख, आकाश, पृथ्वी सबै कुरा पछाडि छोडिन लागे । म आफ्नो समयतिर फर्केको थिएँ । त्यो कुर्सी, पर्खाल, घडी सबै उस्तै थिए । तर म अब त्यस्तो थिइनँ । मैले भविष्य देखेको थिएँ । मैले गुमाएको थिएँ, पाएको थिएँ र छोडेको थिएँ । तर एउटा प्रश्न अझै मेरो मनमा गुन्जिरहेको थियो । के समय केवल बहन्छ वा त्यसले हामीलाई आकार पनि दिन्छ ?

म फर्किएको थिएँ । मेरो कोठाको झ्यालबाट उही पुरानो शहर देखिंदैथ्यो । घडीको टिकटिक फेरि सुनिंदै थियो । तर मभित्र केही बिल्कुलै बदलिएको थियो । मैले आफ्नो अनुभवको बारेमा बताएको मेरो सहयोगी हाँसे । उनले शङ्का गरे र पुनः भुले । उनको लागि यो केवल कल्पना थियो । तर मेरो लागि यो एउटा यस्तो सत्यता थियो, जुन मेरो आत्मामा उत्रिसकेको थियो ।

मैले किताब, नक्सा, गणना जस्ता सबै चीजलाई पुनः देखेँ । तर अब म तिनीहरूलाई एक अलग दृष्टिकोणबाट हेर्थेँ । अब मैले जानिसकेको थिएँ कि भविष्य केवल एक खाली क्यानभास मात्र होइन । त्यो हाम्रो आजको तस्विरबाट नै बन्छ । कहिलेकाहीँ म सोच्छु, के म वीनालाई पुनः लिन जान सक्थेँ वा मैले डरले उनले त्यहीं छोडिदिएँ ? के समयले मलाई मौका दिए पनि उनलाई गुमाएँ ? तर फेरि म सोच्छु, शायद समय कुनै रेखा होइन, शायद त्यो एक वृत्त हो, जहाँ हरेक अन्त एक नयाँ शुरूवात हो ।

कहानी यहीँ अन्त्य हुँदैन । किनकि सबै सुतेको त्यो रात मैले चुपचाप त्यो कोठामा गएर समयको यन्त्र पुनः सञ्चालन गरेँ । यसपटक कोही साक्षी थिएन, कुनै प्रश्न थिएन; केवल म थिएँ र समयको पुकार । म गएँ । कहाँ ? कुन समयमा ? कुन कारणले ? शायद कसैलाई कहिल्यै थाहा हुँदैन । तर यदि कुनैबेला कुनै मानवले भविष्यमा एक आश्चर्यजनक परिवर्तन देख्यो, कतै एउटी निर्दोष युवतीले कुनै विचित्र यन्त्रलाई नियाल्दै गरेको देख्यो भने समययात्री फर्किएर आएको छ भन्ने ठान्नु ।

सन्दर्भ स्रोतहरू
1. https://www.unrevealedfiles.com/hi/herbert-george-wells-biography-in-hindi/
2. https://hindinest.com/hamare-lekhak/h-g-wells/
3. https://www.unrevealedfiles.com/hi/herbert-george-wells-biography-in-hindi/
4. https://hindikahani.hindi-kavita.com/HK-H-G-Wells.php
5. Wells, H.G. Experiment in Autobiography (1934).
6. Foot, Michael. The History of H.G. Wells (1995).
7. McConnell, Frank. The Science Fiction of H.G. Wells (1981).
8. Hammond, J.R. H.G. Wells and the Modern Novel (1988).
9. https://archive.org/details/wells-1922-time-machine