
काजुओ इसिगुरो
सन् २०१७ मा नोबेल पुरस्कार पाउने काजुओ इसिगुरो (८ नोभेम्बर १९५४) द्वारा लिखित एउटा प्रसिद्ध उपन्यास हो, ‘द रिमेन्स अफ द डे’ । उनको जन्म जापानको नागासाकीमा भएको थियो । उनी जापानी मूलका ब्रिटिश लेखक हुन् । उनका पिता समुद्र वैज्ञानिक थिए भने माता एक शिक्षिका थिइन् । उनी पाँच वर्षको उमेरमा इङ्ल्याण गएका थिए । उनले केन्ट विश्वविद्यालयमाबाट अङ्ग्रेजी र दर्शनशास्त्रमा स्नातक गरे भने इस्ट इङ्ल्याण्ड विश्वविद्यालयबाट रचनात्मक लेखनमा डिग्री हासिल गरे । उनी एक प्रतिष्ठित कथा लेखक, उपन्यासकार र फिल्मी कथा लेखकको रूपमा प्रसिद्ध छन् । उनको लेखनमा आत्मगन्थन, सीमित दृष्टिकोण र जटिल भावनात्मक स्तरलाई सुन्दर ढङ्गले उत्कीर्ण गरिएको हुन्छ । शान्त, सूक्ष्म र गहन संवेदनशीलता उनको लेखनका विशेषता हुन् । उनको साहित्यिक कार्यको खास कुरा के हो भने उनी प्रायः व्यक्ति भित्रका जटिलता र भावनावत्मक सङ्घर्षलाई स्पष्ट बनाउँछन् ।
इसिगुरोले नौ वटा उपन्यास लेखेका छन् र तिनीहरू चालीस भन्दा बढी भाषामा अनुदित भइसकेका छन् ।
उनको साहित्यिक गहिराई र शैलीले उनलाई आधुनिक साहित्यका सबभन्दा महत्त्वपूर्ण लेखकहरूमा स्थापित गरिदिएको छ । सन् १९८९ मा उनलाई ‘द रिमेन्स अफ द डे’ उपन्यासको लागि बुकर पुरस्कारले सम्मान गरियो । सन् २००८ मा ‘द टाइम्स’ ले १९४५ पछिका महानतम् ब्रिटिश लेखकहरूमध्ये एकमा स्थान दियो । सन् २०१७ मा काजुओ इसिगुरोलाई साहित्यिक क्षेत्रमा उनको महत्त्वपूर्ण योगदानका लागि नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।
इसिगुरोको साहित्यिक लेखन कार्य सन् १९८२ मा ‘द पेल भ्यू अफ द हिल्स’ उपन्यास प्रकाशित भएपछि भयो । उनका शुरुवाती उपन्यासहरूमा जापान र दोस्रो विश्वयुद्धपछिका घटनाक्रमहरूको उल्लेख गरिएको छ । उनले ब्रिटेनबाट नै आफ्नो साहित्यिक यात्रा शुरु गरे । ब्रिटिश साहित्यिक वातावरणमा उनले आफ्नो पहिचान बनाए । ‘द रिमेन्स अफ द डे’ उपन्यासले उनको साहित्यिक योगदानलाई विश्वव्यापी बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्यो ।
इसिगुरोका मुख्य रचनाहरूमा ‘द पेल भ्यू अफ द हिल्स’ (१९८२), ‘एन आर्टिस्ट अफ द फ्लोएटिङ वर्ल्ड’ (१९८९) ‘द रिमेन्स अफ द डे’ (१९८९), ‘द अनकन्सोल्ड’ (१९९५), ‘ह्विन वी वेयर अर्फान’ (२०००), ‘नेभर लेट मि गो’ (२००५), ‘द बरिड जायन्ट’ (२०१५), आदि छन् । यी कृतिहरूमा उनले अतियथार्थवाद, विज्ञान कथा र नैतिक दुविधा, मिथक र स्मृतिमा केन्द्रित कथावस्तुलाई उनेका छन् । ‘द पेल भ्यू अफ द हिल्स’ मा दोस्रो विश्वयुद्धपछि जापानमा सामाजिक र भावनात्मक प्रभावको चित्रण गरिएको छ । ‘एन आर्टिस्ट अफ द फ्लोएटिङ वर्ल्ड’ मा दोस्रो विश्वयुद्धपछि जापानमा नैतिक जिम्मेवारी र इतिहासको आत्म-मन्थन गरिएको छ । ‘द रिमेन्स अफ द डे’ मा इङ्ल्याण्डको एउटा बटलरको जीवनयात्रा, गरिमा, आस्था, पछुतो र व्यक्तिगत भावनाहरूको मनोवैज्ञानिक विश्लेषण गरिएको छ ।
‘द अनकन्सोल्ड’ सपना, स्मृति र पहिचानको भ्रमले भरिएको एक जटिल उपन्यास हो । ‘ह्विन वी वेयर अर्फान’ एक निजी जासुसको कथा हो, जसले बचपन र गुमेको अतीतको खोज गर्छ । ‘नेभर लेट मि गो’ काल्पनिक भविष्यमा तीन किशोरीहरूको जीवन, प्रेम र अस्तित्वमा ध्यान केन्द्रित गर्ने एक भयानाक उपन्यास हो । ‘द बरिड जायन्ट’ मध्यकालीन इङ्ल्याण्डको पृष्ठभूमिमा स्मृति र इतिहासको खोजमा आधारित एक काल्पनिक कथा हो ।

इसोगुरोको उपन्यास ‘द रिमेन्स अफ द डे’
इसिगुरोको उपन्यास ‘द रिमेन्स अफ द डे’ ले इङ्ल्याण्डको एक बुजुर्ग बटलर स्टेभेन्सनको आत्मकथात्मक यात्राको चित्रण गर्छ । यो उपन्यास एक सेवा-जीवन, प्रतिष्ठा र पछुतोको भावनासहित पात्रहरूको जटिल मनोवैज्ञानिक विश्लेषणको लागि प्रसिद्ध छ । स्टेभेन्सले महान बटलर बन्ने चाहनामा आफ्ना भावनाहरूको बलिदान गर्छ । उपन्यासले अन्धनिष्ठा जीवनको सर्वोच्च आदर्श हो वा यसबाट व्यक्ति वास्तविक मानवीय खुशीबाट वञ्चित रहन्छ भन्ने प्रश्नको उठान गरेको छ ।
उपन्यासमा स्टेभेन्स र मिस केन्टनको सम्बन्धमा ‘के हुन सक्छ’ भन्ने भावना लुकेको छ । दुवै जना आफ्नो समाज र पेशाका सीमाहरूको अगाडि आत्म-प्रकाश गर्न सफल हुँदैनन्, जसको कारणले उनीहरूको जीवनको पूर्णता अधुरै रहन्छ । लर्ड डार्लिङ्गटनको माध्यमबाट उपन्यासमा दोस्रो विश्वयुद्ध पहिले इङ्ल्याण्डको नैतिकता र राजनीतिको जटिल प्रश्न उठाएको छ । यहाँ स्टेभेन्सको जमेको मूल्य-व्यवस्थाबाट इतिहासको अगाडि शंकास्पद घेरा देखिन्छ । स्टेभेन्सका स्मरणहरूको झ्यालबाट उपन्यासको ठूलो हिस्सा देखाइएको छ । ऊ प्रायः आत्म-वन्चनामा रहन्छ तर कथानकको अन्तसम्म उसलाई भावनात्मक सच्चाई र निर्णयहरूमा पछुतो हुनलाग्छ । यो कडीले आत्म-समीक्षातिर लिएर जान्छ ।
उपन्यासमा स्टेभेन्सनको दृष्टिकोणबाट सम्पूर्ण कथा विकसित हुन्छ । उसको सीमित र प्रायः भ्रामक आत्म-विश्लेषणले पाठकलाई उसको त्रासदीमा सहभागी गराउँछ । मिस केन्टनको इमान्दारिता र लर्ड डार्लिङ्गटनको आदर्शवादी असफलता दुवैले स्टेभेन्सको जटिल भावनात्मक बनावटलाई खोलिदिन्छन् । यो उपन्यासको भाषा अत्यन्त सुसङ्गत, संयमित र कहिलेकाहीँ बिडम्बनापूर्ण पनि छ ।
यो उपन्यासमा लेखकले छ दिनको यात्राको विवरण उल्लेख गरेका छन् तर पाँचौं दिनलाई छोडेका छन् । यसले स्टेभेन्सको अधूरो स्मरण र भावनात्मक स्थितिलाई दर्शाउँछ । यो छुटेको दिनले सम्भवतः स्टेभेन्सले मिस केन्टनसँग भेट्ने तयारी गरिरहेको मनोवैज्ञानिक दबावलाई देखाउँछ । यो क्षणमा स्टेभेन्स प्रत्यक्ष रूपमा स्मण गर्नबाट बच्छ । पाँचौं दिन स्टेभेन्स वास्तवमा आफ्ना भावनाहरूसँग सङ्घर्ष गर्छ ।
उपन्यासमा त्याग, दमन र समय व्यतीत हुँदा पनि कायम रहने पछुतोको एक हृदयविदारक कथा छ । यसमा कर्तव्यले सबै कुरा निलेपछि के बाँकी रहन्छ भन्ने कुरा देखाइएको छ । यो एक काव्यात्मक आघात हो । यसले दशकौंको सेवापछि जीवनमा बाँकी रहेको एक दिनको वास्तविक अन्त र एउटा व्यक्तिको पहिचानको हिस्सालाई दर्शाउँछ । यो एक दुःखद आत्माको साहित्यि परिकल्पना हो, जसमा ऐतिहासिक र मनोवैज्ञानिक नाटकको मिश्रण छ ।
यसको कथा इङ्ल्याण्ड वरिपरि घुम्छ । जुलाई १९५६ को बीचमा नायक स्टेभेन्स एक दुर्लभ मोटर यात्रामा निक्लिन्छ र १९२० र १९३० को स्मरणमा जान्छ । त्यतिखेर ऊ डार्लिङ्गटन हलमा बटलर (घर वा कार्यालयमा पाहुनाको सेवा गर्ने पुरुष) को रूपमा काम गर्दथ्यो । यो उपन्यास यही वरिपरि घुम्छ । यो लुप्त अभिजात वर्ग, नाजीवादको उदय र आफ्नो साम्राज्यवादी अतीसँग टाँसिएको ब्रिटेनको समय थियो । डार्लिङ्गटन हलको भव्य सम्पत्ति त्यो लुप्त संसारको प्रतीक हो । जबकि पश्चिमी देशको माध्यमबाट स्टेभेन्सको यात्राले गुमेको चीजलाई पुनः प्राप्त गर्ने प्रयासलाई दर्शाउँछ । यसमा एउटा व्यक्तिले सबै कुरा कर्तव्यको लागि समर्पित गरिदिएको छ ।
कथा १९५६ मा डार्लिङ्गटन हलमा शुरू हुन्छ । स्टेभेन्सले भर्खरै पूर्व हाउसकिपर मिस क्यान्टनको एउटा पत्र प्राप्त गरेको छ । यसमा तिनको वैवाहिक समस्याको सङ्केत छ । यही कारणले ऊ उनीसँग भेट्न मोटरयात्रा गर्ने निर्णय लिन्छ । स्टेभेन्सको औपचारिक र लगभग रोबोट जस्तो आवाजले उसको दमनलाई प्रकट गर्दछ । ऊ सन् १९२० को दशकमा राजनीतिक सभाको स्वागत गर्ने लर्ड डार्लिङ्गटनको सेवाको आफ्नो गौरवशाली दिनहरूलाई स्मरण गर्छ । पुनःस्मरणको माध्यमबाट उसले आफ्नो निर्दोष सेवामा गर्व गरिरहेको छ । तर त्यहाँ एउटा छायाँ पनि छ । त्यो लर्ड डार्लिङ्गटनका नाजी समर्थकहरूसँग सम्बन्ध हो । स्टेभेन्सको अविश्वसनीय स्मृतिले ती गहिरा सच्चाईतिर सङ्केत गर्दछ, जसको सामना गर्नको लागि ऊ तयार छैन ।
स्टेभन्स कर्तव्यको प्रतिमूर्ति हो । उसको हरेक शब्दमा संयम झल्किन्छ । यो एउटा यस्तो व्यक्तिको प्रतीक हो, जसले आफ्नो मानवतालाई एक आदर्शको लागि त्यागिदिएको छ । गरिमाप्रति उसको उत्साहले असुरक्षाको भयलाई लुकाउँछ । त्यसले उसलाई पछुतोले भरिएको जीवनतिर लिएर जान्छ ।
उपन्यासको सम्पूर्ण कथा सङ्क्षिप्तमा
प्रस्तावना – जुलाई १९५६
उपन्यसाको शुरुवात डार्लिङ्गटन हलको वृद्ध बटलर स्टेभेन्सद्वारा जुलाई १९६५ मा सुनाइएको कथाबाट हुन्छ । अहिले ऊ मिस्टर फेराडेकोमा नोकरी गर्छ । फेराडे एक अमेरिकी हो र उसले हालै यो सम्पत्ति खरिद गरेको हो । स्टेभेन्स लर्ड डार्लिङ्गटनको कुलीन युगबाट फेराडेको धेरै अनौपचारिक आधुनिक स्वामित्वमा परिवर्तनसँगै सङ्घर्ष गरिरहेको छ ।
स्टेभेन्सलाई एउटा दुर्लभ छुट्टी प्राप्त भएको छ र ऊ डार्लिङ्गटन हलकी पूर्व गृह मालिक्नी मिस केन्टनसँग भेट गर्नको लागि पश्चिमी क्षेत्रको मोटर यात्रामा निक्लिने निर्णय गर्छ । उनलाई उसले करिब दुई दशकदेखि देखेको छैन । यो यात्रा मिस केन्टन (वर्तमानमा श्रीमती बेन) को एउटा पत्रबाट प्रेरित हुन्छ । जसलाई स्टेभन्स विवाहबाट उनको असन्तुष्टि र डार्लिङ्गटन हल फर्किने सम्भावित इच्छाको सङ्केतको रूपमा व्याख्या गर्छ ।
स्टेभेन्सको कथानात्मक शैली औपचारिक र सन्तुलित छ, जसले उसको गरिमा र व्यावसायिकताप्रति जीवनभरीको प्रतिबद्धतालाई दर्शाउँछ । ऊ बटलर (घर वा कार्यालयमा पाहुनाको सेवा गर्ने पुरुष) हरूको महानताको अवधारणमाथि विचार गर्न शुरू गर्छ र कर्तव्यको विषयलाई सामुन्ने ल्याउँछ । ऊ ब्रिटिश अभिजात लर्ड डार्लिङ्गटनको सेवाको आफ्नो समयलाई स्मरण गर्छ, जसले १९२० र १९३० को दशकमा प्रभावशाली राजनीतिक समारोहहरूको आतिथ्यता निर्वाह गरेको थियो ।
स्टेभेन्स आफ्नो गरिमालाई कायम राख्ने क्षमतामा गर्व गर्दछ र त्यसलाई उसले आफ्नो व्यक्तिगत भावनालाई अगाडि आउन नदिइकन आफूलाई नियुक्त गर्ने व्यक्तिको सेवा गर्ने क्षमताको रूपमा परिभाषित गर्छ । यसबाट यहाँ भावनात्मक दमन र कर्तव्यको नाममा गरिएको त्यागको खोजको लागि मञ्च तयार हुन्छ । यसले स्टेभेन्सको स्मृतिको अविश्वसनीयतालाई पनि स्थापित गर्छ । ऊ आफ्ना स्मरणमा कहिलेकाहीं भएका भूल र असंगतिहरूलाई स्वीकार गर्छ । यसले उसको विवरणको सटिकतामा प्रश्न उठाउँछ ।
यो कथानात्मक उपकरणले स्मृतिको विषय र समयसँग त्यसको विरूपणलाई रेखाङ्कित गर्छ । स्टेभेन्सको चिन्तन डार्लिङ्गटन हलका महान् दिनहरूको स्मरणबाट ओतप्रोत छ । त्यतिबेला यो राजनीतिक गतिविधिहरूको केन्द्र थियो । यद्यपि त्यहाँ बेचैनीको सङ्केत पनि छ, किनकि उसले लर्ड डार्लिङ्गटनका नाजी समर्थकहरूसँग विवादास्पद सम्बन्धको उल्लेख गर्छ । यसले पछि आउने नैतिक जटिलताहरूको पूर्वाभास प्रदान गर्छ ।
मिस केन्टनसँग भेट गर्ने स्टेभेन्सको निर्णयलाई प्रायोगिक रूपमा प्रस्तुत गरिएको छ । उसको मान्यता अनुसार उसको पुनरागमनले डार्लिङ्गटन हलका कर्मचारीहरूको समस्याको समाधान गर्न सक्छ । यद्यपि यसको सूक्ष्मताले एक गहन अव्यक्त प्रेरणाको सङ्केत दिन्छ । उनको पत्रलाई ध्यानपूर्वक दोहोर्याएर पढेपछि त्यसका केही वाक्यांशले एक दबिएको भावनात्मक लगावलाई प्रकट गर्दछ ।
यहाँ उपन्यासको दोहोरो समयरेखा, वर्तमान यात्रा र डार्लिङ्गटन हलको अतीतलाई स्थापित गरिएको छ । यसको साथै यहाँ कर्तव्य, दमन र पछुतो जस्ता प्रमुख विषयहरूको पनि परिचय दिइएको छ । स्टेभेन्सको औपचारिक उच्चारण र व्यक्तिगत आत्मनिरीक्षणबाट बच्ने प्रवृत्तिले एक अलगावको भावना पैदा गर्छ, जुन उसको विचारको भावनात्मक भार विपरीत हुन्छ । यहाँ डार्लिङ्गटन हलको पनि परिचय दिइएको छ, जसलाई एक भव्य र लुप्त भइरहेको सम्पत्तिको रूपमा वर्णित गरिएको छ ।
स्टेभेन्सको आफ्नो इतिहासमा गर्व फेराडेको अधीनमा उसको वर्तमान स्थितिको विपरीत छ । त्यहाँ लर्ड डार्लिङ्गटन जस्तो कुलीन गौरव छैन । फेराडेद्वारा ऋणमा लिइएको कारबाट गरिएको यो मोटर यात्रा स्टेभेन्सको लागि स्वतन्त्रताको लागि एक दुर्लभताको प्रतीक हो । तर पनि यो स्वतन्त्रतालाई पूर्ण रूपले स्वीकार गर्न नसक्ने उसको असमर्थताले सेवकको रूपमा उसको दृढ निष्टालाई रेखाङ्कित गर्छ ।
यसले उपन्यासको आत्मनिरीक्षणात्मक स्वरलाई स्थापित गर्छ । यसले पाठकलाई कथानायकको रूपमा स्टेभन्सको विश्वसनीयतामाथि प्रश्न उठाउन र उसको स्मरणको माध्यमबाट अगाडि आउने रहस्यहरूको उदघाटनको अनुमान लगाउनको लागि आमन्त्रित गर्छ ।
पहिलो दिन : साँझ/सेलिसबरी
स्टेभेन्स आफ्नो यात्राको पहिलो रात सेलिसबरीको एउटा गेस्ट हाउसमा बिताउँछ । ऊ दिनभरीका घटनाहरूमा दृष्टि दिन्छ । उसले त्यही विहानको त्यो क्षणको वर्णन गर्छ । गाडी चलाएको शुरुवाती बीस मिनेटका ती दृश्य उसको लागि अपरिचित छन् । त्यही बेला उसले आफ्ना खुट्टा पसार्नको लागि गाडी रोक्छ । एउटा पहाड मुनि आराम गरिरहेको एक जना मानिसले स्टेभेन्सलाई पहाडको टुप्पासम्म पुग्नको लागि एउटा कच्ची सडकबाट जाने सुझाव दिन्छ ।
अपरिचितको दावी अनुसार त्यो दृश्य सम्पूर्ण इङ्ल्याण्डमा बेजोड छ । टुप्पाबाट देखिने दृश्य वास्तवमै सुन्दर छ र यसबाट स्टेभेन्सलाई त्यो रोमाञ्चक आशाको एक तीव्र लहर महसुस हुन्छ । उसलाई तिनीहरूले प्रतीक्षा गरिरहेका छन् भन्ने कुरा महसुस हुन्छ ।
दिउँसो स्टेभेन्स सेलिसबरीको गेस्टहाउस पुग्छ । करिब चार बजे ऊ केही घण्टाको लागि शहरका गल्लीहरूमा टहलिन्छ । त्यसपछि ऊ एउटा सुन्दर गिरजाघर हेर्नको लागि जान्छ । ऊ शहरबाट धेरै प्रभावित भए पनि उसको दिमागमा बिहान देखिएको इङ्ल्याण्डको गाउँको दृश्य नै बसेको छ । स्टेभेन्सको मान्यता अनुसार इङ्ल्याण्डको गाउँको सूक्ष्म सुन्दरतालाई महानता शब्दले राम्रोसँग व्यक्त गर्न सकिन्छ । यो परिदृश्य महान छ, किनकि यसमा कुनै पनि प्रकारको नाटक वा तमासा छैन, सुन्दरता छ र यसमा संयमको भाव छ । यी विचारले स्टेभेन्सलाई एक महान बटलर (घर वा कार्यालयमा पाहुनाको सेवा गर्ने पुरुष) का गुणहरूमाथि चर्चा गर्नको लागि प्रेरित गर्छन् ।
सन् १९२० र १९३० को दशकमा बटलरहरूको एउटा विशिष्ट संस्था ‘हेज सोसाइटी’ को दाबीअनुसार समाजको सदस्यताको लागि आवेदन दिने कुनै पनि बटलरमा आफ्नो पद अनुरूप गरिमा हुनुपर्छ । केही उदाहरणको माध्यमबाट स्टेभेन्सले गरिमाको यो अवधारणामा के-के सामेल हुन्छ भन्ने परिभाषा गर्छ । स्टेभेन्सको गरिमाको पहिलो उदाहरण एउटा कथासँग जोडिएको छ, जुन उसको पिताले एउटा बटलरको बारेमा सुनाउने गर्थे । उनी भारतमा आफूलाई नियुक्त गर्ने व्यक्तिको लागि काम गर्थे । एक दिन नियुक्ति गर्ने व्यक्तिले आफ्नो पाहुना कोठामा पाहुनाको स्वागत गरिरहेको बेलामा बटलर त्यहाँ गयो । उसले टेबुलमुनि एउटा बाघ देख्यो । आफूलाई नियुक्त गर्ने व्यक्तिसँग कुराकानी गरिसकेपछि उसले त्यो जनावारलाई गोली हान्यो । त्यसको लाश हटायो, पाहुना कोठालाई सफा गर्यो र पुनः आएर शान्तिपूर्वक आफ्नो मालिकलाई भन्यो, रातको खाना निश्चित सममयै पस्किइनेछ र त्यो बेलासम्म भर्खरै भएको घटनाको कुनै सङ्केत छैन । यसो भन्दै गर्दा मलाई खुशी लागेको छ ।
स्टेभेन्सका गरिमाका अरु दुई उदाहरण उसको पिताको बारेमा छन् । ऊ एक बटलर पनि थिये । पहिलो कथा अनुसार उसको मालिकका दुई जड्यहाँ पाहुनाले एक दिन दिउँसो अबेर कारमा घुमाउने निर्देशन दिएका थिए । यद्यपि ती मानिस बदमास थिए, स्टेभेन्सका पिताले आफ्नो मालिक जोन सिल्भरको बारेमा उनीहरूले अपमानजनक टिप्पणी गर्न नलागुन्जेलसम्म उनीहरूको शान्तपूर्वक सेवा गर्यो । त्यसबेला स्टेभेन्सको पिताले कार रोक्यो बाहिर निक्लियो । उसले पछाडिको ढोका खोल्यो र ती दुई व्यक्तिलाई उनीहरूले धेरै बदबासी गरिरहेका थिए भन्ने कुरा महसुस नगरुन्जेलसम्म चुपचाप हेरिरह्यो । उनीहरूले माफी माँगे र उसले उनीहरूलाई पूर्ण रूपमा चुपचाप रहेर घर फिर्ता लिएर गयो ।
तेस्रो उदाहरण स्टेभेन्सको पिता र एउटा आर्मी जनरलको बीचको एउटा प्रसङ्ग छ । स्टेभेन्सको पिता त्यो जनरललाई घृणा गर्थ्यो, किनकि दक्षिण अफ्रिकामा ब्रिटिश अभियानको क्रममा एउटा खास सैन्य युद्ध अभ्यासमा जनरलको खराब नेतृत्व र गलत निर्णयको कारण स्टेभेन्सको दाजुको बिनाकारण मृत्यु भएको थियो । त्यो जनरल श्री सिल्भरको घरमा पाहुना बनेर आएको थियो र स्टेभेन्सको पिताले चार दिनसम्म जनरलको सेवा गरेको थियो । यसबाट उसलाई जुन व्यक्तिगत पीडा भएको थियो, त्यसको बावजुद स्टेभेन्सको पिताले आफ्नो कर्तव्य यति राम्रोसँग निर्वाह गरेको थियो कि जनरललाई उसको वास्तविक भावनाको बारेमा अनुमानसम्म भएन र उसलाई एक उदार टिप्स छोडिदियो । स्टेभेन्सको पिताले कुनै हिच्किचाहटबिना टिप्सको राशि दानमा दियो ।
स्टेभेन्स महानता र गरिमाका विचारहरूलाई यसरी संक्षेपमा भन्छ । यद्यपि केही मानिस स्वभाविक रूपले गरिमापूर्ण बन्नको लागि बढी इच्छुक हुन्छन् । तर गरिमा पनि एउटा यस्तो गुण हो, जसलाई प्राप्त गर्ने प्रयास गर्न सकिन्छ र गरिनु पनि पर्छ ।
दोस्रो दिन – बिहान/ सेलिसबरी
भोलिपल्ट विहान स्टेभेन्स उठ्छ र मिस केन्टनको पत्रको बारेमा पुनः सोच्छ । यद्यपि उनको विवाहित नाम मिसेस बेन हो तर स्टेभेन्स उनलाई मिस केन्टन नै भन्छ । उनी भर्खरै हेलस्टनमा रहेको मिस्टर बेनको घरबाट निक्लिएर नजिकैको शहरको एउटा साथीको घरमा बसिरहेकी छिन् । स्टेभेन्सका अनुसार उनी एक्लोपना महसुस गर्छिन् । उसलाई लाग्छ, पत्रमा व्यक्त गरिएका पुराना स्मरण शायद यही कुराको सङ्केत हुनसक्छ । उनी डार्लिङ्गटन हलमा हाउसकिपरको रूपमा पुनः फर्किन चाहन्छिन् होला । स्टेभेन्स पत्रका धेरै अंश उद्धृत गर्छ, जसमध्ये धेरै दुःखद छन् । मिस केन्टनद्वारा आफ्नो पत्रमा वर्णित एउटा विशेष घटनाले स्टेभेन्सलाई अतीतको एउटा लामो स्मरण गराउँछ ।
मिस केन्टन र स्टेभेन्सका पिता दुवै सन् १९२२ को वशन्तमा एकै समयमा डार्लिङ्गटन हलमा काम गर्न आएका थिए । किनकि डार्लिङ्गटन हलका पूर्व बटलर र हाउसकिपर भर्खरै भागेका थिए । स्टेभेन्सका अनुसार विवाहको लागि एक पेशेवर पदलाई यसरी छोड्नु धेरै दुःखद र पूर्ण रूपले गैरजिम्मेवार हुन्छ । ऊ तुरुन्तै अगाडि भन्छ, यद्यपि मिस केन्टनले पनि विवाह गर्नको लागि काम छोडेकी थिइन् । तर उनी कुनै पनि प्रकारले यस्तो उदास बनाउने श्रेणीमा आउँदिनन्, किनकि उनी सधैं धेरै पेशेवर रहेकी छिन् र कयौं वर्षसम्म डार्लिङ्गटन हलमा काम गरिन् ।
मिस केन्टन र स्टेभेन्सका पिता दुवै आफ्नो राम्रो रोजगारीको पृष्ठभूमिसँगै उनीहरूलाई सिफारिस गर्न आएका थिए । यद्यपि स्टेभेन्सका पिता सत्तरी वर्षभन्दा बढी उमेरको भइसकेको थियो र धेरै रोगको शिकार थियो । कामको शुरूवाती केही हप्तामा मिस केन्टनले स्टेभेन्सनका पिताका धेरै गल्तीहरूको गणना गरिन् । उसले हलमा लगाइएका दुई मूर्तिहरूलाई उल्ट्याइदिएको थियो र चाँदीमा लेपनको सङ्केत छोडिदिएको थियो । अन्तमा मिस केन्टनले स्टेभेन्सलाई सीधै भनिन्, शायद यत्रो जिम्मेवारी तिम्रो पिताको उमेरको कुनै पनि व्यक्तिले सम्हाल्न सक्दैन । तर स्टेभेन्सले मिस केन्टनलाई तिमी मूर्खता गरिरहेकी छ्यौ भन्छ ।
दुई महिनापछि स्टेभेन्सको पिता लर्ड डार्लिङ्गटन र दुई जना पाहुनाको लागि एउटा ट्रे लैजादै गर्दा सिंडीबाट लड्छ । डा. मेरेडिथका अनुसार स्टेभेन्सका पिता धेरै बढी काम गरिरहेका थिए । यो घटनापछि लर्ड डार्लिङ्गटनले स्टेभेन्सलाई आफ्नो पिताको काम गर्नलाई भन्छ । स्टेभेन्स आफ्नो पितासँग कुरा गर्न जान्छ । यो कुराकानी अनौठो र औपचारिक लाग्छ, किनकि विगत केही वर्षमा दुवैको बीचमा कुराकानी कम भएको थियो । स्टेभेन्सले पिताको सामु कुनै भावना देखाउँदैन र यति मात्र भन्छ कि उनी सिडी टेढो भएकाले लडेका थिए । त्यो साँझ केन्टन र स्टेभेन्स घरको झ्यालबाट बाहिर हेर्दछन्, त्यहीबेला उनीहरूले स्टेभेन्सको पिता तिनै सिंडीहरूमा चढ्दै-ओर्लंदै गरेको देख्छन्, जहाँ ऊ लडेको थिये । उसका आँखा जमिनमा छन्, मानौं मिस केन्टन आफ्नो पत्रमा स्मरण गर्छिन्, उसले त्यहाँ झरेको कुनै मूल्यवान रत्न प्राप्त गर्ने आशा गरेको होस् ।
स्टेभेन्स मार्च १९२३ मा डार्लिङ्गटन हलमा आयोजित एउटा अन्तर्राष्ट्रिय सम्मेलनको चर्चा गर्नतिर अगाडि बढ्छ । लर्ड डार्लिङ्गटन पहिलो विश्वयुद्धमा लड्ने एक प्रतिष्ठित जर्मन सैनिक हर कार्ल-हेन्ज ब्रेमनको घनिष्ठ मित्र थियो । लर्ड डालिङ्गटन भर्साइल्सको सन्धिले युद्धोत्तर जर्मनीको अर्थव्वयस्थालाई बर्बादीतिर धकेलिदिएको थियो भन्ने कुराबाट व्यथित थियो । उसका अनुसार पराजित शत्रुसँग यस्तो व्यवहार गर्नु इङ्ल्याण्डको लागि धेरै ठूलो बदनामी थियो ।
केही समयपछि हर ब्रेमनले सम्भवतः जर्मनीको भयावह परिस्थितिको कारणले स्वयंलाई गोली मारिदियो । यो त्रासदीले लर्ड डार्लिङ्गटनलाई कार्वाही गर्नको लागि प्रेरित गर्यो। उसले राष्ट्रियताका र व्यवसायिक नेता, राजनेता, पादरी, लेखक र विचारकहरूलाई जम्मा गर्यो, ताकि जर्मनीको स्थितिलाई राम्रो बनाउनको लागि भर्साइल्सको सन्धिमा संशोधनका तरीकाहरूमाथि विचार गर्न सकियोस् । यद्यपि उपस्थित व्यक्तिहरूमध्ये कोही पनि सरकारी अधिकारी थिएनन् । तर पनि उनीहरू आ-आफ्नो देशका प्रमुख हस्तीहरू थिए ।
डार्लिङ्गटनलाई के आशा थियो भने उनीहरूले प्रधानमन्त्री लोयड जर्ज र अन्य युरोपेली राष्ट्रपतिहरूद्वारा त्यही वर्ष पछि स्वीट्जरल्याण्डमा सन्धिको पुनः समीक्षा गर्नुभन्दा पहिले आधिकारिक पदमा आसीन व्यक्तिलाई प्रभावित गर्नेछन् ।
सम्मेलनको व्यस्त तयारीको क्रममा लर्ड डालिङ्गटनले स्टेभेन्सलाई एक अनौठो अतिरिक्त काम सुम्पियो । उसले स्टेभेन्सलाई सर डेभिड कार्डिनलको तेईस वर्षको विवाहित छोरो मिस्टर रेजिनाल्ड कार्डिनललाई जिन्दगीको सच्चाई बताउनलाई भन्यो । स्टेभेन्सले रेजिनाल्ड कार्डिनललाई यौनको बारेमा बताउने दुई असफल प्रयास गर्छ, घरको आम व्यस्तता र मोन्शियर ड्यूपोन्ट छिट्टै आउनुको कारणले स्टेभेन्सले आफ्नो काम पूरा गर्न सक्दैन ।
सम्मेलनमा उपस्थित केही अतिथिहरूमा सर डेभिड कार्डिल, मोन्शियर ड्यूपोन्ट, मिस्टर लुइस नामक एउटा अमेरिकी र दुई जर्मन काउन्टेस सामेल थिए । मिस्टर ड्यूपोन्टको आगमनभन्दा पहिले लर्ड डार्लिंङ्गटन र मिस्टर लुइस एउटा छलफलमा सामेल हुन्छन्, जसमा लर्ड डार्लिङ्गटले अङ्ग्रेजहरूलाई जर्मनीप्रति फ्रान्सको वर्तमान कठोर रवैया घृणित लाग्छ भन्ने कुरा गर्छ । मिस्टर ड्यूपोन्ट सम्मेलनमा एउटा धेरै महत्त्वपूर्ण व्यक्ति थियो । किनकि लर्ड डार्लिङ्गटन भर्साइल्सको सन्धिलाई अझ बढी उदार बनाइनुपर्छ भन्ने कुरा उसलाई बुझाउनको लागि विशेष रूपले उत्सुक थियो ।
सम्मेलनको पहिलो बिहान स्टेभेन्सको पिता बिरामी हुन्छ । डा. मेरेडिथले स्टेभेन्सलाई तिम्रो पिताको अवस्था थोरै मात्र बिग्रियो भने पनि मलाई तुरुन्त खबर गर्नु भनेर निर्देशन दिन्छ । त्यो रात स्टेभेन्स मोन्शियर ड्यूपोन्ट र मिस्टर लुइसको बीचमा भइहेको कुराकानी सुन्छ, जसमा मिस्टर लुइसले ड्यूपोन्टलाई लर्ड डार्लिङ्गटनले फ्रान्सेलीहरूलाई घृणित र बर्बर भनेको कुरा बताउँछ । भोलिपल्ट पाहुनाहरूको बीचमा गरमागरम बहस हुन्छ ।
स्टेभेन्स दिनभरि आफ्ना पितासँग भेट गर्न माथि गइरहन्छ तर उसको पिता प्रायः सुतिरहन्छ । यद्यपि अर्को साँझ स्टेभेन्स माथि जाँदा एउटा नोकर्नीले उसको पितालाई ब्यूझाउँछिन् । उसको पिताले छोरालाई तल सबै कुरा ठीक छ त भनेर सोध्छ । त्यसपछि फेरि भन्छ, मलाई तिमीमाथि गर्व छ, तिमी एक असल छोरा हौं । स्टेभेन्स केवल यति मात्र भन्छ – हामी विहान कुरा गर्न सक्छौं । पिता ठीक हुँदै गएकोमा ऊ खुशी छ ।
सम्मेलनको त्यो अन्तिम रात रात्रिभोजमा मोन्शियर ड्यूपोन्ट उभिएर भाषण गर्छ । ऊ भन्छ – म प्रस्तुत विचारबाट प्रभावित भएको छु र स्वीटरल्याण्डमा हुने आगामी सम्मेलनभन्दा पहिले फ्रान्समा कम प्रतिशोधात्मक विचारलाई बढावा दिनको लागि हरसम्भव प्रयास गरिनेछ । मोन्शियर ड्यूपोन्ट मिस्टर लुइसको बारेमा त्यो अमेरिकीले उपस्थित सबै मानिसहरूको बारेमा भद्दा टिप्पणी गरेको थियो भन्दै अपमानजनक टिप्पणी गर्छ । र, लर्ड डार्लिङ्गटनको लागि टोस्टसँगै भाषण समाप्त गर्छ ।
मिस्टर लुइसले जवाफमा उभिएर घोषणा गर्यो – उपस्थित प्रत्येक व्यक्तिहरू एक सोझा स्वप्नद्रष्टा हुनुहुन्छ, जसलाई आधिकारिक निर्णयको कुनै अनुमान छैन । अन्तमा उसले पेशेवारितालाई सराहना गर्यो र डार्लिङ्गटनलाई शौखिन भनेर खारेज गरिदियो । लर्ड डार्लिङ्गटनले जवाफ दियो – लुइसले शौखिन मानेको चीजलाई धेरै मानिसले सम्मान गर्छन् । उसले अगाडि भन्यो, यदि व्यावसायिकताको आधारमा छलकपट र धोकाधडी छ भने मलाई यस्तो गुण हासिल गर्ने कुनै इच्छा छैन । उपस्थित व्यक्तिहरूले उसको भाषणलाई धेरै सराहना गरे ।
यतिबेलै मिस क्यान्टन अचानक स्टेभेन्सलाई उसको पिता धेरै बिरामी भएको छ भन्न आउँछिन् । त्यसपछि ऊ आफ्ना पितालाई हेर्न माथि जान्छ । भान्से मोर्टिमरले उसका पिताको नाडी धेरै कमजोर भएको कुरा बताउँछिन् । स्टेभेन्स निराश हुन्छ तर पनि पाहुनाको हेरविचार गर्नको लागि तल जान्छ । स्टेभेन्स धुम्रमान कक्षमा जान्छ । मिस्टर रेजिनाल्ड कार्डिनल र लर्ड डार्लिङ्गटन दुवैले केही गडबड छ भनेर सोध्छन्, किनकि ऊ रोइरहेको देखिन्छ । स्टेभेन्सन माफी माग्छ र भन्छ, यो केवल एक कठिन दिनको तनाव हो ।
मिस केन्टन तल आउँछिन् र स्टेभेन्सलाई भन्छिन् – तिम्रा पिताको चार मिनेट पहिले मृत्यु भएको छ । स्टेभेन्सले केही समयपछि माथि गएर आफ्नो पितालाई भेट्ने कुरा भनेको थियो तर उसका पिता भने उसले पहिले बटलरको रूपमा आफ्नो कर्तव्यलाई ध्यान देओस् भन्ने चाहन्थे । स्टेभेन्सले खुट्टाको पीडाको गुनासो गरिरहेको मोन्शियर ड्यूपोन्टलाई कोठामा बसाउँछ । त्यसपछि डा. मेरेडिथ आउँछ र स्टेभेन्सलाई उसको पिताको मृत्यु गम्भीर आघातको कारणले भएको थियो भन्ने कुरा बताउँछ । स्टेभेन्सले डाक्टरलाई धन्यवाद दिन्छ, त्यसपछि उसलाई मोन्शियर ड्यूपोन्टको हेरविचार गर्न भन्छ र उसलाई तल लैजान्छ ।
स्टेभेन्सलाई त्यो रातको बटलरको रूपमा आफूद्वारा प्रदर्शित गरिमाको स्तरको सन्दर्भले आफ्नो पेशेवर विकासमा एउटा महत्त्वपूर्ण मोड ल्याएको छ भन्ने लाग्छ । उसलाई त्यो रात कम्तीमा र केही हदसम्म पिताको योग्य गरिमालाई प्रदर्शित गरेको जस्तो लाग्छ : त्यो साँझका सबै दुःखद पक्षहरूको बावजुद आज जतिखेर त्यो साँझको स्मरण गर्छु, तब मलाई एउटा ठूलो विजयभावनासँगै यस्तो गरिरहको छु जस्तो लाग्छ ।
दोस्रो दिन – दिउँसो/ मोर्टीमरको ताल, डोरसेट
विहानी यात्रामा स्टेभेन्सले एक पटक फेरि बटलरमा महानताका गुणहरुमाथि चर्चा गर्छ । उसका अनुसार एउटा बटलरले एक प्रतिष्ठित घरानासँग जोडिएको हुनुपर्छ, तर उसको समयको प्रतिष्ठित बटलरहरूको विगतको छवि विपरीत यस्ता नियुक्तिकर्ताको छनौट गर्छ, जसले मानवताको प्रगतिलाई अगाडि बढाऊन् । ती नियुक्तिकर्ता कुलीन हुनुको साथसाथै नैतिक रूपले पनि महान् हुनुपर्छ ।
स्टेभेन्सलाई अचानक कारको इन्जिनबाट अनौठो तीखो गन्धन आइरहेको महसूस हुन्छ । उसले गाडी चलाइरहन्छ, अब उसले कोही ड्राइभरले मद्दत गर्नसक्ने घरको खोजी गर्छ र एउटा ठूलो भिक्टोरियन भवनको सामुन्ने गाडी रोक्छ । एउटा मानिस घरबाट बाहिर आउँछ र फोर्डको मर्मत गर्छ, जसमा केवल रेडियटरको पानी भर्ने काम बाँकी छ । स्टेभेन्सले त्यो मानिसँग घरमा कति जना मानिसले काम गर्छन् भनेर सोध्छ । किनकि उसले झ्यालबाट धेरै कोठामा धूलो जमेको देख्छ । त्यो मानिसले स्टेभेन्सलाई भन्छ, मेरो मालिकले यो ठाउँलाई बेच्ने प्रयास गरिरहेको छ, किनकि उसलाई अब यो आकारको घरको कुनै खास आवश्यकता छैन ।
यसपछि त्यो मानिसले स्टेभेन्सलाई तपाईं कहाँ बटलर हुनुहुन्छ भनेर सोध्छ; स्टेभेन्सले र्डलिङ्गटन हलमा भन्ने जवाफ दिन्छ । त्यसपछि त्यो मानिस धेरै प्रभावित हुन्छ र भन्छ – त्यहाँ काम गरेकोले गर्दा तपाईं अवश्य उत्कृष्ट हुनुहुन्छ होला । तपाईंहरू जस्ता धेरै मानिस त हुँदैनन्, होइन ? त्यसपछि त्यो मानिसले सोध्छ, तपाईं पहिले लर्ड डार्लिङ्गटनकोमा काम गर्नुहुन्थ्यो ? तर स्टेभेन्स यो कुरा अस्वीकार गर्छ । अब त्यो मानिसले स्टेभेन्सलाई मोर्टीमर ताल जाने सल्लाह दिन्छ ।
तालमा स्टेभेन्सले बताउँछ, लर्ड डार्लिङ्गटनको लागि काम गर्ने कुरा अस्वीकार गरेको यो पहिलो पटक होइन । एउटा अमेरिकी जोडी मिस्टर र मिसेस वेकफिल्ड मिस्टर फेराडेसँग भेट गर्न आएको बेलामा पनि उसले यस्तो गरेको थियो । स्टेभेन्स बताउँछ, लर्ड डार्लिङ्गटनको लागि काम गर्नमा बिल्कुलै लाज लाग्दैन, तर लर्ड डार्लिङ्गटनको बारेमा यति मूर्खतापूर्ण कुरा गरिन्छ कि ऊ अप्रियताबाट बच्नको लागि उसको लागि काम गर्न अस्वीकार गर्छ । स्टेभन्स दोहोर्याउँछ – डार्लिङ्गटन एक महान् नैतिक व्यक्ति थिए, र मलाई एक प्रतिष्ठित काम गरेकोमा गर्व छ ।
तेस्रो दिन – बिहान/टनटोन, समरसेट
अघिल्लो रात स्टेभेन्स समरसेटको टनटोन शहर बाहिर ‘द कोच एण्ड हर्सेस’ नामक एउटा सानो पार्टीमा सुतेको थियो । त्यहाँ पुगेर ऊ बारमा गयो । त्यहाँ रहेका छ-सात जना मानिसले मजाक गरे । मालिक र उसकी पत्नीको बीचमा प्रायः हुने जोडदार बहसको कारण स्टेभेन्सलाई त्यो रात धेरै निद्रा लागेन । बारका सबै ग्राहक यो पटक हाँसे र स्टेभेन्सलाई आफूले पनि त्यही प्रकारको जवाफ दिनुपर्छ भन्ने महसुस भयो । उसले भन्यो, मालिक्नीको आवाज अवश्य कुखुराको आवाजकै एक स्थानीय रूप हो । उसको यो कुरापछि सन्नाटा छायो । मजाक गर्ने प्रयास एकपटक फेरि असफल भएकोमा स्टेभेन्स निराश भयो । उसले भर्खरै आफ्नो कौशललाई निखार्नको लागि रेडियोमा एउटा हास्य दृश्य हेरिरहेको थियो ।
यात्रा शुरु गरेपछि स्टेभेन्स आफ्नो दिउँसोको चिया पिउनको लागि टनटोन बीचमै रोकिन्छ । झ्याल बाहिर उसले मर्सडेन गाउँको एउटा दिशासूचक चिन्ह देख्छ । मर्सडेनमा नै एउटा चाँदी लेपन गर्ने ‘गिफेन एण्ड कम्पनी’ थियो । स्टेभेन्सको सोचाई अनुसार १९२० को दशकको शुरुवातमा ‘गिफेन एण्ड कम्पनी’ को स्थापना नै मुख्य रूपले कूलीन परिवारद्वारा सूक्ष्म रूपमा लेपन गरिएका चाँदीमा बढी जोड दिनका लागि जिम्मेदार छ । स्टेफेनको दावी अनुसार एक समकालीन बटलर मिस्टर मार्शल, जसलाई ऊ पनि महान मान्छ, चार्लेभिले हाउसमा चाँदीको लेपनको लागि यति उच्च मानक राख्थ्यो कि पाहुना प्रायः चाँदीको चमकको लागि आतिथ्यताको तारिफ गर्थे ।
लेडी एस्टर र जर्ज बर्नार्ड शाले डार्लिङ्गटन हलको आफ्नो यात्राको क्रममा चाँदीको तारिफ गरेको कुरालाई स्टेभेन्सले स्मरण गर्छ । स्टेभेन्सले लर्ड हेलिफ्याक्स र हर रिब्बेन्ट्रोप एक रात खाना खान आएको कुराको पनि उल्लेख गर्छ । रातिको खानापछि लर्ड डार्लिङ्गटनले स्टेभेन्सलाई भनेको थियो, सूक्ष्म रूपमा लेपन गरिएको चाँदीले लर्ड हेलिफ्याक्सलाई प्रभावित बनाएको थियो र उसको मनोदशालाई राम्रो बनाएको थियो ।
स्टेभेन्स टिप्पणी गर्छ, आज हर रिब्बेनट्रोपलाई एक चालबाज मानिन्छ तर १९३६-३७ को वरिपरि उसलाई एक सम्मानित सज्जन मानिन्थ्यो, जो इङ्ल्याण्डका ठूला घरमा सधैं सम्मानित अतिथिको रूपमा भोजन गर्दथ्यो । स्टेभेन्स त्यो समयको बारेमा यस्तो कुरा गर्ने मानिसहरूसँग असन्तुष्ट छ, मानौं तिनीहरूलाई रिब्बेन्ट्रोप पहिलेदेखि नै धोकेबाज छ भन्ने कुरा थाहा होस् । किनकि यिनै मानिसहरूले नै लर्ड डार्लिङ्गटनको बारेमा पनि राम्रो-नराम्रो भन्दछन् । त्यो समयमा जर्मनको यात्रामा लर्ड डार्लिङ्गटन नाजीहरूसँग रहनु कुनै असामान्य कुरा थिएन, तर स्टेभेन्स यो कुरामा जोड दिएर भन्छ – इङ्ल्याण्डमा कुनै प्रतिष्ठित महिला र सज्जनहरूले पनि नाजी शासनको वास्तविक प्रकृतिबाट अनजान भएर यस्तो गरेका थिए ।
यद्यपि ‘ब्रिटिश युनियन अफ फासिस्ट’ को नेता सर ओसवाल्ड मोस्लेले तीन पटक डार्लिङ्गटन हलको भ्रमण गरेको थियो । स्टेभेन्स जोड दिएर भन्छ – यी सबै भ्रमण फासीवादी सङ्गठनद्वारा आफ्नो वास्तविक रूप प्रकट गर्नुभन्दा पहिले भएका थिए ।
स्टेभेन्स एकपटक फेरि लर्ड हेलिफ्याक्स र चाँदीको घटनामा धेरै सन्तोषपूर्वक विचार गर्छ र दोहोर्याउँछ – एउटा घरानामा काम गर्ने मौका मिलेकोले मलाई खुशी छ, जसले इतिहास निर्माणमा योगदान पुर्यायो । वास्तवमा ऊ आफूले महान कार्यहरूको केन्द्रमा आफ्नो पेशा निभाएकोमा खुशी छ । स्टेभेन्स गएको अप्रिलमा चाँदीसँग जोडिएको एउटा घटनाको स्मरण गर्छ, जसले उसलाई चिन्तित बनाएको थियो । एक साँझ खाना खाँदै गर्दा उसले मिस्टर फेराडेलले आफ्नो काँटाको चुच्चोको परीक्षण गर्दै गरेको देख्यो, त्यसपछि तुरुन्तै स्टेभेन्सले त्यो खराब भाँडोलाई हटाएर एउटा नयाँ भाँडो राखिदियो । उसका अनुसार यो गल्ती विद्यमान कर्मचारीहरूको कमीको कारण भएको थियो, र उसलाई लाग्छ, यदि मिस केन्टन फर्केर आइन् भने यस्ता गल्ती अतीतका कुरा हुनेछन् ।
तेस्रो दिन – साँझ/ मोस्कोम्बे, टाभिस्टोक नजिक, डेभोन
स्टेभेन्सले आफ्नो स्वभाव विपरीत आफ्नो कथन वर्तमानबाट गर्दैन, बरु ऊ डार्लिङ्गटन हलमा यहूदी-विरोधी भावनाको एक प्रत्यक्ष उदाहरणको तुरुन्तै वर्णन गर्छ । ऊ भन्छ, लर्डन डार्लिङ्गटन ‘ब्ल्याक शर्ट्स’ को ‘ब्रिटिश युनियन अफ फासिस्ट्स’ की सदस्य श्रीमती क्यारोलिन बार्नेटको प्रभावमा आएका थिए । ऊ अगाडि भन्छ, १९२० को दशकको शुरुवाती हप्ताको क्रममा लर्ड डार्लिङ्गटन श्रीमती बार्नेटसँग प्रायः भेट्थे । त्यहीबेला उनले दुई यहूदी कामदार स्त्रीहरूलाई कामबाट निकाल्ने निर्णय गरे ।
स्टेभेन्सले मिस केन्टनलाई भन्छ – लर्ड डार्लिङ्गटनद्वारा त्यो रात कामदारहरूलाई कामबाट निकाल्ने निर्यहरूको बारेमा र कोकोको बारेमा बताउँछ । यो कार्य दिनको अन्तमा लर्ड डार्लिङ्गटनद्वारा दिउँसको घटनाको चर्चा गर्नको लागि आयोजित एउटा पारम्परिक बैठकको क्रममा भएको थियो । स्टेभेन्सको दावी अनुसार यी बैठक केवल पेशेवर प्रकृतिका थिए । यद्यपि स्टेभेन्स व्यक्तिगत रूपमा यहूदी नोकर्नीलाई कामबाट निकाल्ने निर्णयको विद्धमा छ, किनकि तिनीहरू उत्कृष्ट कर्मचारी रहेका छन्, तर पनि उसलाई मिस केन्टनसँगको निजी कुराकानीमा लर्ड डार्लिङ्गटनको निर्णयमा प्रश्न उठाउनु उसको अधिकार हो भन्ने लाग्छ । मिस केन्टन स्टेभेन्सको उदासीन प्रवृत्तिलाई विश्वास गर्न सक्दिनन् । उनी भन्छिन् – कामदारहरूलाई यहूदी भएकै आधारमा निकाल्नु गलत हो । र, उनी भन्छिन्, यदि ती दुवैलाई कामबाट निकालियो भने म पनि काम छोड्नेछु ।
एक वर्षपछि मिस केन्टनलाई केवल डरको कारण डार्लिङ्गटन हलमा आफ्नो पद छोड्न नसकेकोमा लज्जा महसुस हुन्छ । उनीसँग जानको लागि अन्त कतै ठाउँ थिएन । यो स्वीकारोक्तिपछि स्टेभेन्सले मिस केन्टनलाई भन्छ – लर्ड डार्लिङ्गटनले भर्खरै कामदारलाई निकालेकोमा पछुतो मानेको छ, र मलाई तिनीहरूको बारेमा पत्ता लगाउनु भनेको छ । उसले अगाडि भन्छ, तिमी यो घटनाको बारेमा जान्न चाहन्छ्यौं, किनकि तिनीहरूलाई कामबाट निकालिएको घटनाले मलाई पनि त्यति नै निराश बनाएको थियो, जति तिमीलाई । स्टेभेन्सले आफूलाई यसको बारेमा कहिल्यै नभनेकोले मिस केन्टन उदास हुन्छिन् । त्यसपछि उनले स्टेभेन्सलाई भन्छिन् – मिस्टर स्टेभेन्स तिमी किन सधैं देखावटी मात्र गर्छौं ? स्टेभेन्सले यसको कुनै जवाफ दिन सक्दैन ।
दुई यहूदी कामरदारहरूलाई बर्खास्त गरेपछि कर्मचारीको कमीलाई पूरा गर्नको लागि लिसा नामकी एक नोकर्नीलाई काममा राखिन्छ । स्टेभेन्सलाई लिसाले राम्रो काम गर्छिन् जस्तो लाग्दैन, किनकि उनको सन्दर्भ संदिग्ध छ, तर मिस केन्टन उसलाई गलत सावित गर्नमा लागेकी छिन् । शुरुमा लिसाको व्यवहार निराशाजनक भए पनि धेरै हप्तापछि पर्याप्त सुधार हुन्छ । र, स्टेभेन्सले मिस केन्टनलाई नयाँ कर्मचारी सुधार्नमा सामान्य सफलता प्राप्त भएको कुरा स्वीकार गर्छ । मिस केन्टनले तिमी लिसा जस्ती सुन्दर महिलालाई डार्लिङ्गटन हलको स्टाफमा राख्नमा हिच्किचाउँछौं भनेपछि उनले स्टेभेन्सको अनुहारमा अपराधबोधले भरिएको मुस्कान देख्छिन् । मिस केन्टनका अनुसार शायद स्टेभेन्स स्टाफमा आकर्षक महिलालाई चाहँदैन, किनकि ऊ स्वयंमा भरोसा गर्दैन । निस्सन्देह, स्टेभेन्स मिस केन्टनको व्यङ्ग्यपूर्ण आरोपलाई अस्वीकार गर्छ ।
आठ-नौ महिनापछि लिसा एक नोकरसँग भागिन् । मिस केन्टन धेरै उदास हुन्छिन् र भन्छिन् – अन्ततः स्टेभेन्स सही सावित भयो । यद्यपि स्टेभेन्स यसमा सहमत छैन र ऊ भन्छ, मिस केन्टनले लिसालाई राम्रो तालिम दिएकी हुन् र स्टाफमा यसरी भाग्नु कुनै नयाँ कुरा होइन । दुवै जना लिसाले केवल एक रोमान्सको लागि आफ्नो पेशेवर बाचालाई त्यागेर एक मूर्खतापूर्ण निर्णय लिएकी हुन् भन्ने कुरामा सहमत छन् ।
स्टेभेन्सन १९३५ वा १९३६ को वरिपरि मिस केन्टनसँग आफ्नो सम्बन्धमा किन यति धेरै उचारचढाव आयो भन्ने सोच्छ । ऊ कयौं घटनामाथि विचार गर्छ, जुन संभवतः उसको जीवनमा निर्णायक मोड सावित भयो । एक रातको कुरा हो, मिस केन्टन सङ्केतबिना नै स्टेभेन्सको भण्डारमा आइन् र उसलाई पढ्दै गरेर देखेर यो कुन किताब हो भनेर सोधिन् । स्टेभेन्सले किताबलाई आफ्नो सिरानीमा हाल्यो र मिस केन्टनलाई आफ्नो निजी मामिलालाई सम्मान गर्न भन्यो । तर मिस केन्टनले ऊ धेरै कामूक छ भन्ने सोचेर जिद्दि गरिन्, अन्ततः उनी उसको छेउमा आइन् र विस्तारै उसका औंलाबाट किताब खोसिन् । मिस केन्टनले भनिन्, यो किताब भावुक प्रेमकथा बाहेक अरु केही होइन । त्यसपछि स्टेभेन्सले उनलाई आफ्नो कोठाबाट बाहिर लिएर गयो ।
स्टेभेन्सको दाबीअनुसार अङ्ग्रेजी भाषामा आफ्नो पकड कायम राख्न र त्यसलाई विकसित गर्न यो किताब पढिरहेको हो । ऊ आफूलाई रोमान्टिक पक्ष पनि मन पर्छ भन्ने कुरा स्वीकार गर्छ तर केवल भाषा वाक्यांशको लागि मात्र । ऊ मिस केन्टनसँग दृढतापूर्वक पेश हुने कुरामा पनि जोड दिन्छ, किनकि ऊ आफ्नो निजी कक्षमा कामबाट मुक्त भएपछि कुनै अवरोध नहोस् भन्ने चाहन्छ । स्टेभेन्सलाई मिस केन्टनको व्यवहार अनुचित थियो भन्ने लाग्छ र उसले आफ्नो सम्बन्धलाई फेरि पेशेवर रूपमा स्थापित गर्ने सङ्कल्प लिन्छ ।
मिस केन्टनले अध्ययन कक्षमा भएको घटनाको केही समय पहिले नै अचानक आफ्ना सबै अनुबन्धित छुट्टीको पूरा लाभ उठाउन शुरु गरेकी थिइन् । एक रात कोको पिउँदै गर्दा उनले स्टेभेन्सलाई भनिन्, म एउटा यस्तो व्यक्तिसँग आफ्नो परिचय पुनः शुरु गरिरहेको छु, जो पहिलेको कार्यस्थल ग्रेनचेस्टल लजमा बटलर थियो । उनी टिप्पणी गर्छिन्, स्टेभेन्स तिमी आफ्नो जीवनबाट पूर्ण रूपमा सन्तुष्ट हुनेछौं, किनकि तिमी आफ्नो पेशमा यति धेरै उत्कृष्ट छौं । स्टेभेन्सको दावी अनुसार लर्ड डार्लिङ्गटनले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन नगरुन्जेलसम्म उसले स्वयंमलाई सन्तुष्ट मान्नेछ ।
करीव एक हप्तापछि कोकोमा भेट हुँदा मिस केन्टन एकाग्रचित्त हुन्छिन् । स्टेभेन्सले उनलाई भन्छ, तिमी अहिले बढी विचलित देखिएकी छ्यौं । र, उनले रिसमा म धेरै थाकेकी छु भन्छिन् । स्टेभेन्स हच्किन्छ र भन्छ – यदि तिमी यति थाकेकी छ्यौं भने हाम्रो रातको बैठक रद्द गरौं । उनी यसको विरोध गर्छिन् तर ऊ जिद्दी गर्छ र कोकोमा बैठक बन्द हुन्छ ।
केही हप्तापछि मिस केन्टनले आफ्नो एकमात्र जीवित नातेदार फुपुको निधन भएको खबर पाउँछिन् । उनले स्टेभेन्सलाई यो खबर बताउँछिन् र केही समय एक्लै बिताउन अनुरोध गर्छिन् । त्यसपछि आफ्नो कोठामा जान्छिन् । स्टेभेन्सनलाई आफूले मिस केन्टनलाई संवेदना व्यक्त गर्न भुलेको महसूस हुन्छ । यद्यपि ऊ आफ्नो गल्ती सुधार्न चाहन्छ; ढोकाको अर्कोतिर मिस केन्टन रोइरहेकी छिन् र आफूभित्र जाँदा उनको निजी दुःखमा अवरोध पुग्नेछ भन्ने महसूस गर्छ ।
दिउँसो मिस केन्टन आफ्नो कोठाबाट बाहिर आउँदा स्टेभेन्सले केवल सबै ठीकै छ त भनेर सोध्छ । ऊ संवेदनको मुद्दामा कुरा गर्छ र नयाँ नोकर्नीहरूले गरेका केही गल्तीहरूतिर सङ्केत गर्छ । मिस केन्टन थकित स्वरमा म नोकर्नीहरूको कामको परीक्षण गर्छु भन्छिन् र स्टेभेन्सको लगातार पेशेवर कुराकानीबाट थकित भएर कोठाबाट बाहिर निक्लिन्छिन् ।
स्टेभेन्सको अनुमान अनुसार यदि उसले यीमध्ये कुनै पनि मौकामा अलग प्रकारले काम गर्यो भने शायद आफ्नो लागि चीज धेरै राम्रो हुनेछ । ऊ भन्छ, त्यसबेला यस्ता साना-साना घटनाहरूले सम्पूर्ण सपनालाई सधैंको लागि अधुरो बनाउने सङ्केत प्राप्त हुने केही कुरा पनि थिएन ।
रात पर्दै जाँदा स्टेभेन्सको कारको इन्धन सकिन्छ र ऊ मिस्टर तथा मिसेस टेलर नामको स्थानीय दम्पत्तिकोमा रोकिन्छ । टेलरका धेरै छिमेकी र साथीहरू राति खाना खाने समयमा स्टेभेन्सलाई भेट्न आउँछन् र यी शहरवासीले उसलाई एक सच्चा सज्जन व्यक्ति बताउँछन् । उनीहरूले स्टेभेन्सलाई सोध्छन्, तपाईंको हिसाबले कसैलाई सज्जन व्यक्ति केले बनाउँछ ? स्टेभेन्सले जवाफ दिन्छ, मलाई के लाग्छ भने जुन गुणको तपाईंहरू कुरा गरिरहनुभएको छ, त्यसलाई गरिमा भनिन्छ । टेलरका साथीहरू भन्छन्, हाम्रो शहरका डा. कार्लिस्ले पनि एक सज्जन व्यक्ति हुन् र हामी तपाईंले उनलाई भेट्नुहुन्छ भन्ने आशा गर्छौं ।
पाहुनाले स्टेभेन्सलाई राजनीतिमा उसको सहभागिताको बारेमा बारम्बार प्रश्न सोध्छन् । त्यसपछि स्टेभेन्स बताउँछ – युद्धभन्दा पहिले म अन्तर्राष्ट्रिय मामिलामा बढी सक्रिय थिएँ । मैले विन्स्टन चर्चिल र लर्ड हेलिफ्याक्स जस्ता केही प्रसिद्ध मानिसहरूसँग भेट गरेको छु । उनीहरूको बारेमा सुनेर पाहुना धेरै प्रभावित हुन्छन् । डा. कार्लिस्ले टेलरको घरमा पुगेपछि अन्य पाहुनाले ती सबै प्रसिद्ध मानिसहरूको बारेमा बताउँछन्, जसलाई स्टेभेन्सले चिनेको दावी गरेको छ । त्यसपछि डा. कार्लिस्लेले स्टेभेन्सलाई अनौठो ढङ्गले हेर्छ । केही समयपछि स्टेभेन्स सुत्न जाने बहाना बनाउँछ र डा. कार्लिस्लेले उसलाई विहान कारसम्म छोड्ने कुरा भन्छ ।
स्टेभेनको भनाइअनुसार आफ्नो बारेमा रात्रिभोजमा आएका पाहुनाहरूको गलत धारणाको कारणले उसलाई धेरै असुविधा भयो । ह्यारी स्मिथ नामको एक जना पाहुना स्टेभेन्सको गरिमाको विचारसँग असहमत थियो र उसको भनाई अनुसार गरिमा तब मात्र प्रकट हुन्छ, जब एउटा सामान्य मानिस भोट दिने आफ्नो जिम्मेवारी स्वीकार्छ र राजनीतिक मामिलामा आफ्नो बलियो राय राख्छ । स्टेभेन्स मिस्टर स्मिथका विचारलाई खारेज गर्दै भन्छ, उसको बयान धेरै आदर्शवादी छ, किनकि साधारण मानिसले सिक्ने र जान्ने कुराको एक सीमा हुन्छ ।
यो दाबीको समर्थनमा स्टेभेन्स एउटा अर्को घटनाको स्मरण गर्छ । लर्ड डार्लिङ्गटनको एउटा मित्र मिस्टर स्पेन्सरले स्टेभेनसँग तीन अलग-अलग जटिल राजनीतिक परिस्थितिमा आफ्नो राय सोधेको थियो, जसमध्ये कुनै पनि स्टेभेन्ससँग समझदारीपूर्वक टिप्पणी गर्नको लागि आवश्यक ज्ञान थिएन । स्पेन्सर स्टेभेन्सको प्रयोग ‘लोकतन्त्रले काम नगर्नुको कारण स्टेभेन्स जस्ता अज्ञानी मानिसहरूलाई महत्त्वपूर्ण निर्णयमा सहभागी गराउने अनुमति दिनाले हो’ भन्ने तर्क दिनको लागि गरिरहेको थियो । यद्यपि लर्ड डार्लिङ्गटन यो लज्जाको लागि स्टेभेन्ससँग माफी माग्छ तर ऊ स्पेन्सरको विचारसँग सहमत हुँदै भन्छ, लोकतन्त्र त बितेको समयको चीज हो । स्टेभेन्सको दावी अनुसार यो समय यस्ता विचार अनाकर्षक लागे पनि यसमा धेरै सच्चाई छ र कुनै पनि बटलरबाट यस्ता प्रश्नको जवाफ पाउने आशा गर्नु बिल्कुल निरर्थक कुरा हो ।
स्टेभेन्स निष्कर्ष निकाल्छ : केवल गुमराहमा रहेको बटलरले नै आफूलाई नियुक्त गर्नेको उद्देश्य र विश्वासमा लगातार सवाल उठाइहन्छन्, र आफ्नो दृढ राय बनाउने प्रयास गर्ने बटलरमा निष्ठाको अभाव हुन्छ । ऊ यो निष्ठालाई गतल ठाउँमा लगाउने प्रयास गर्दैन, बरु उसको मान्यता अनुसार जीवनमा एउटा समय अवश्य आउँछ, त्यतिबेला व्यक्तिले खोज गर्न बन्द गर्छ, र आफ्नो सेवा एक नियुक्तिकर्तालई सुम्पिएर सन्तुष्ट हुन्छ । यही तर्कको आधारमा स्टेभेन्सले के दावी गर्छ भने यदि लर्ड डार्लिङ्गटनको जीवन र कार्य पछाडि फर्किएर हेर्दा एक दुःखद बर्बादी लाग्यो भने यो उसको गल्ती होइन, र यही काणले गर्दा उसलाई स्वयं लर्ड डालिङ्गटनको सेवा गर्नमा कुनै लज्जा वा पछुतो महसुस हुँदैन ।
चौथो दिन – दिउँसो/ लिटिल कोम्पटन, कोर्नवाल
स्टेभेन्स कोर्नवालको लिटिल कोम्पटनमा रोज गार्डेन होटलको डाइनिङ हलमा बसेको छ र मिस केन्टनसँग भेट गर्नुभन्दा पहिले बाहिर भइरहेको वर्षाको दृश्य नियालिरहेको छ । उसले मिस केन्टनलाई आफू तीन बजे पुग्ने कुरा भनेको छ । त्यसकारण ऊसँग प्रतीक्षाको लागि चालीस मिनेट समय छ ।
स्टेभेन्स डा. कार्लिस्लेसँग आफ्नो कारमा इन्धन भर्नको लागि गएको बिहानी यात्रालाई स्मरण गर्छ । यात्राको क्रममा डा. कार्लिस्लेले उसलाई अचानक सोध्छ, के तपाईं वास्तवमै कुनै प्रतिष्ठित व्यक्ति हुनुहुन्छ वा कुनै प्रतिष्ठित व्यक्तिको सेवक मात्र ? स्टेभेन्सले केही राहत महसूस गर्दै भन्छ, म वास्तवमा डार्लिङ्गटन हलको बटलर हुँ । ऊ बुझ्न शुरू गर्छ, उसको उद्देश्य कसैलाई आफ्नो पदको बारेमा धोका दिनु थिएन तर असल सोच भएको डाक्टरले भन्छ – आम शहरवासी तपाईं जस्तो मानिसलाई लर्ड वा ड्यूक ठान्ने भूल गर्न सक्छन् । स्टेभेन्सले डाक्टरलाई भन्छ, ह्यारी स्मिथले बेलुका खाना खाने बेलामा धेरै कुरा गरेका थिए । डाक्टरले जवाफ दिन्छ, धेरै मानिस ह्यारी जस्तै प्रबल राजनीतिक विचार राख्नमा फाइदा ठान्छन् तर तिनीहरू स्वयं यस्तो विचार राख्ने समस्या उठाउँदैनन् । उनीहरू त केवल त्यत्तिकै बस्न मन पराउँछन् । यसो भन्दै गर्दा डाक्टरको उच्चारणमा घृणा हुन्छ तर डाक्टरले यस्तो किन गरिरहेको छ भन्ने कुरा स्टेभेन्सले बुझ्न सक्दैन । दुवै जना स्टेभेन्सको कारसम्म पुगेपछि डा. कार्लिस्लेले ट्याङ्की भरिदिन्छ । त्यसपछि दुवैले एक-अर्कोलाई बिदाई गर्छन् र स्टेभेन्स आफ्नो बाटो लाग्छ ।
तीन बजे मिस केन्टनको घर पुग्नुभन्दा पहिले समय काट्दै स्टेभेन्स पुनः एकपटक अतीतको बारेमा सोच्छ । ऊ फेरि सोच्छ, मिस केन्टनले आफ्नी फुपुको मृत्युको खबर सुनेको बेला म किन उनको कोठामा गइनँ ? ऊ भन्छ, म अनिर्णयको स्थितिमा उनको ढोका बाहिर उभिंदा आफूभित्र एक विचित्र अनुभूति भएको थियो । त्यसपछि मेरो मन अचानक बदलिन्छ । ऊ भन्छ, शायद जुन क्षणलाई मैले यति स्पष्ट रूपमा स्मरण गरिरहेको छु, त्यही दिन मिस केन्टनलाई आफ्नी फुपूको मृत्युको बारेमा थाहा भएको थिएन, बरु धेरै महिनापछि उनको ढोकाबाहिर उभिने एक अवसर थियो । स्टेभेन्सले अहिले सोच्छ, त्यो स्मृति मिस्टर रेजिनाल्ड कार्डिनाल एक अप्रत्यासित यात्रामा डार्लिङ्गटन हल पुगेको साँझको थियो ।
रेजिनाल्ड कार्डिनल १९२० को दशकमा एक घोडादौडको दुर्घटनामा मृत्यु भएको लर्ड डार्लिङ्गटनको घनिष्ठ मित्र डेभिड कार्डिनलको पुत्र र लर्ड डार्लिङ्गटनको धर्मपुत्र पनि हो । स्टेभेन्सले मिस केन्टनलाई मिस्टर कार्डिनल आएको खबर बताउन जाँदा उनलाई चिन्ताग्रस्त अवस्थामा पाउँछ । मिस केन्टनले उसलाई बताउँछिन्, मैले आज राति छुट्टी लिएको छु र मैले एक महिना पहिले नै छुट्टी मागेकी थिएँ । मिस केन्टनले पुनः उसलाई बताउँछिन्, जुन व्यक्तिसँग म भेट गर्न गइरहेको छु, उसले मलाई विवाहको प्रस्ताव राखेको छ र अहिले म यस बारेमा सोचिरहेको छु । यो कुरा बताएकोमा स्टेभेन्सले उनलाई धन्यवाद दिन्छ र माफी माग्छ ।
लर्ड डार्लिङ्गटन र उसको धर्मपुत्रको बीचमा रात्रिभोजको क्रममा तनावपूर्ण माहौल बनिरहन्छ । डार्लिङ्गटनले पाहुनाहरूको प्रतीक्षा गरिरहेको हुन्छ । तर उसले आफ्नो धर्मपुत्रलाई पाहुना को हुन् भन्ने कुरा बताउन अस्वीकार गर्छ । रात्रिभोजपछि दुवैको बीचमा धुम्रपान कक्षमा बहस हुन्छ । हर रिब्बेन्ट्रोप पुलिसको सुरक्षामा घर पुग्छ ।
मिस केन्टन आफ्नो यात्राबाट फर्किन्छिन् र स्टेभेन्सलाई आफूले परिचित व्यक्तिको विवाह प्रस्तावलाई स्वीकार गरेको कुरा बताउँछिन् । स्टेभेन्सले उनलाई संक्षिप्त बधाई दिन्छ तर सँगै मैले माथि जानु छ भन्ने जवाफ पनि दिन्छ । मिस केन्टनले स्टेभेन्सलाई फोन गर्छिन्, डार्लिङ्गटन हलमा यत्रो वर्ष काम गर्दा पनि ऊसँग उनको खबरको बारेमा भन्नलाई केही छैन भन्ने कुरा थाहा पाएर अचम्मित हुन्छिन् । स्टेभेन्सले यति मात्र जवाफ दिन्छ कि घरमा वैश्विक महत्त्वका घटना घटित भइहेका छन् र मैले माथि जानुपर्नेछ । त्यसपछि मिस केन्टनले उसलाई बताउँछिन्, म र मेरो हुनेवाला पति प्रायः तिमी र तिम्रो निरन्तर पेशेवर व्यवहारको मजाक उडाएर समय बिताउँछौं । स्टेभेन्सले यसमा कुनै प्रतिक्रिया दिंदैन र केवल एकपटक पुनः माफी माग्छ ।
पुस्तकालयमा एक्लै रहेको मिस्टर कार्डिनलले स्टेभेन्सलाई अरु ब्राण्डी ल्याउन भन्छ । स्टेभेन्स फर्किएपछि मिस्टर कार्डिनलले भन्छ, लर्ड डार्लिङ्गटनले ब्रिटिश प्रधानमन्त्री, विदेश सचिव र जर्मन राजदूतलाई अर्को कोठामा जम्मा गरेका छन्, ताकि प्रधानमन्त्रीको नाजी जर्मनी यात्राको विचारलाई अगाडि बढाउन सकियोस् । कार्डिनलले भन्छ, हर रिब्बेन्ट्रोपको माध्यमबाट हिटलरले इङ्ल्याण्डमा नाजी प्रभाव बढाउनको लागि लर्ड डार्लिङ्गटनको प्रयोग गरिरहेको छ । यद्यपि लर्ड डार्लिङ्गटन एक सच्चा व्यक्ति हो, जसको प्रवृत्ति पराजित शत्रुलाई मद्दत गर्ने खालको छ । नाजीहरूले उसलाई आफ्नो खराब उद्देश्यको लागि प्रयोग गरेका छन् ।
यसपछि स्टेभेन्स प्रतिष्ठित व्यक्तिहरूको लागि भुइँतलाबाट पोर्ट वाइनको एउटा बोतल ल्याउन जान्छ । पहिलो तलामा पुग्दा उसले मिस केन्टनलाई आफ्नो कोठाको ढोकामा देख्छ । उनी पहिले उसको मजाक उडाएकोमा माफी माग्छिन् । ऊ जवाफ दिन्छ, तिमीले के भनेकी थियौं भन्ने बारेमा मलाई ठीकसँग याद छैन, र मलाई तिमीसँग कुराकानी गर्ने समय पनि छैन । स्टेभेन्स तल जान्छ । माथि ऊ मिस केन्टनको कोठा हुँदै आउँछ र ढोकाको दोस्रोतिर उनी रोइरहेको महसुस गर्छ । ऊ रोकिन्छ, उनी किन रोइरहेकी छिन् भन्ने कुरा बुझ्दैन तर पनि ऊ छिट्टै माथितिर जान्छ । ऊ पाहुना कोठाको ढोकामा उभिंदै गर्दा त्यहाँ केही मानिसले कुरा गरिरहेका हुन्छन् । ऊभित्र एक विजय भाव उर्लिन्छ, किनकि ऊ आफूले ती मानिसहरूको सेवा गरिरहेकोले इतिहास बदलिनेछ भन्ने कुरा सोच्छ ।
छैटौं दिन – साँझ/वेमाउथ
स्टेभेन्स अगाडि वेमाउथको एक समुद्र तटीय शहरबाट लेख्छ । त्यहाँ ऊ मिस केन्टनसँग भेट भएपछि त्यहाँ गएको हुन्छ । ऊ एउटा घाटमा बस्छ र साँझका सबै रङ्गीन प्रकाशलाई बल्दै गरेको देख्छ । ऊ एक दिन पहिले दिउँसो वेमाउथ आइपुगेको थियो र अर्को दिन गाडी चलाउन थोरै आराम होस् भनेर रोकिएको हुन्छ ।
मिस केन्टनले ऊ रहेको लिटिल कोम्पटन स्थित होटलमा आएर उसलाई चकित बनाउँछिन् । उनको उमेर धेरै भइसकेको छ तर धेरै शालीन छिन् । उनलाई पुनः देखेर स्टेभेन्स धेरै खुशी हुन्छ । उसलाई मिस केन्टनले आफूलाई जीवन्त बनाउने चमक गुमाएकी छिन् भन्ने लाग्छ । स्टेभेन्सले उनको अनुहार शान्त भएपछि त्यसमा उदासीनता भएको महसुस गर्छ ।
स्टेभेन्स र मिस केन्टनले एक-अर्कोलाई विगत बीस वर्षको आफ्नो जीवनको बारेमा बताउँछन् । उसले पत्र अनुसार मिस केन्टनले आफ्नो पति छोडिदिएको बुझेपनि केन्टनका अनुसार उनी वास्तवमा फेरि आफ्नो पतिसँगै बस्न गइरहेकी छिन् । मिस केन्टन स्टेभेन्सलाई पुनरागमन यात्रासँगै आफ्नी छोरी क्याथेरिनसँग भेट्न आग्रह गर्छिन् । स्टेभेन्सले मिस केन्टनलाई डार्लिङ्गटन हलको बारेमा बताउँछ । त्यहाँ कर्मचारीहरूको सङ्ख्या कम भएको छ र मिस्टर फेराडे त्यहाँको मालिक भएको छ । उसले मिस केन्टनलाई रेजिनाल्ड कार्डिनल दोस्रो विश्वयुद्धमा बेल्जियममा मारिएको दुःखद खबर पनि सुनाउँछ । मिस केन्टनले लर्ड डार्लिङ्गटनद्वारा एउटा अखबारको विरुद्धमा दायर गरिएको असफल मानहानिको कार्वाहीको बारेमा सोध्छिन्, जसमा उसलाई नाजी समर्थक र इङ्ल्याण्डको गद्दार भनेर दावी गरिएको थियो । स्टेभेन्सनले भन्छ, लर्ड डार्लिङ्गटनले मानहानिको मुद्दा हारे र उनको धेरै राम्रो प्रतिष्ठा धूमिल भएपछि उनी लगभग अपाङ्ग भए ।
मिस केन्टनले घर फर्किने कुरा गर्नुभन्दा पहिले यो भेटघाट दुई घण्टासम्म जारी रहन्छ । स्टेभेन्सले उनलाई गाउँभन्दा केही टाढा एउटा बस स्टेसनसम्म लिएर जान्छ । बस स्टेसनमा प्रतीक्षा गर्दै गर्दा उसले मिस केन्टनलाई एउटा प्रश्न सोध्छ, जसले उसलाई धेरै समयदेखि दुःख दिइरहेको छ – के तिमीमाथि कुनै दुर्व्यवहार भइरहेको छ ? किनकि तिम्रो पत्र प्रायः दुःखद प्रतीत हुन्छ । मिस केन्टनले भन्छिन्, मेरो पतिले मलाई कुनै प्रकारको दुर्व्यवहार गर्दैनन् । त्यसो हुँदा तिमी किन दुःखी छौं भन्ने कुरा मैले बुझ्न सकिनँ, स्टेभेन्सले भन्यो । त्यसपछि मिस केन्टनले भन्छिन्, लामो समयसम्म मैले आफ्नो पतिलाई प्रेम गरिनँ, तर एउटी छोरी भएपछि र सँगै युद्ध झेलेपछि मैले उनलाई प्रेम गर्न लागेँ । यद्यपि मलाई धेरै पटक आफूले ठूलो गल्ती गरेको महसुस हुन्छ । उनी यहाँसम्म भन्छिन् कि म तिमीसँग बिताएको जीवनको बारेमा सोचिरहन्छु । तर फेरि उनी भन्छिन्, भइसकेको कुरामा सोच्नु कुनै फाइदा छैन ।
अब पहिलो पटक स्टेभेन्सलाई आफूले मिस केन्टनलाई कति प्रेम गर्छु भन्ने कुरा महसुस हुन्छ । जीवनको सम्भावनाको बारेमा उनका कुरा सुनेर ऊ भन्छ, मेरो हृदय व्यथित भइरहेको छ । ऊ एक पलको लागि चुपचाप हुन्छ तर बोल्न थालेपछि यति मात्र भन्छ कि मिस केन्टन तिमीले सही भन्यौं – अतीतमा अल्झिन सकिंदैन । ऊ भन्छ, तिमीले आफ्नो पति र नातीनातिनासँग आउने कयौं खुशियाली वर्ष सुनिश्चित गर्नको लागि हरसम्भव प्रयास गर्नुपर्छ । त्यसपछि बस आउँछ र मिस केन्टन जान्छिन् । उनका आँखा आँसुले भरिएको स्टेभेन्सले देख्छ ।
एउटा मानिस आउँछ र घाटको बेन्चमा स्टेभेन्सको छेउमा बसेर ऊसँग कुरा गर्न लाग्छ । कुराकानीको क्रममा त्यो मानिसले भन्छ, म कुनैबेला एउटा सानो घरमा बटलर थिएँ । स्टेभेन्स बताउँछ, म डार्लिङ्गटन हलको मुख्य बटलर हुँ । त्यसपछि त्यो मानिस धेरै प्रभावित हुन्छ । स्टेभेन्सले त्यो मानिसलाई पुरानो जमानामा डार्लिङ्गटन हल कस्तो थियो भन्ने कुरा पनि बताउँछ । त्यसपछि स्टेभेन्सले त्यो मानिसलाई भन्छ, मैले डार्लिङ्गटनलाई केही दिनु थियो – दिएँ । यद्यपि म आफ्नो नयाँ मालिकलाई खुशी बनाउने प्रयास गरिरहेको छु तर पनि मलाई अझै गल्ती गरिरहेको छु भन्ने महसुस हुन्छ । उसको छेउमा बसेको अर्को मानिसले स्टेभेन्सलाई एउटा रुमाल दिन्छ – स्टेभेन्स रोइरहेको छ भन्ने कुराको यही नै एकमात्र सङ्केत हो ।
स्टेभेन्स भन्छ, लर्ड डार्लिङ्गटनले कम्तीमा आफ्ना गल्ती त गरे तर म आफैँले भने यस्तो दाबी गर्न सक्दिनँ । किनकि मलाई लर्ड डार्लिङ्गटनमाथि पूरा भरोसा थियो । यसप्रकारको कृत्यमा कुनै गरिमा छ भन्ने स्टेभेन्सलाई लाग्दैन, यहाँसम्म कि उसले गल्ती गरेको छ भन्न नसक्नुमा पनि । छेउमा बसेको मानिसले भन्छ, यति धेरै पछाडि फर्केर नहेर, किनकि यसबाट दुःख अझ बढ्नेछ । फेरि उसले भन्छ, धेरैजसो मानिसहरूको लागि साँझको समय दिउँसको समयभन्दा राम्रो हुन्छ । स्टेभेन्स सहमत हुन्छ र रोएकोमा माफी माग्छ । त्यसपछि ऊ आफ्नो बाँकी रहेको दिनको पूरा फाइदा उठाउने निर्णय गर्छ । डार्लिङ्गटन हल फर्किएपछि ऊ सबभन्दा पहिले मजाकपूर्ण अनुमान गर्नेछ – मिस्टर फेराडे फर्किंदा उनलाई सुखद आश्चर्य प्रदान गर्ने आशा गर्छ ।
सन्दर्भ स्रोतहरू
1. Ishiguro, Kazuo. Various Interviews and Essays.
2. The Nobel Prize in Literature 2017 – Biographical.
3. The Guardian, The New Yorker – Literary Profiles.
4. https://www.britannica.com/topic/Remains-of-the-Day
5. https://www.scribd.com/document/808486712/The-Remains-of-the-Day-by-Kazuo-Ishiguro-Summary
6. Study and Research of various websites, blogs, online portals, youtube channesl, etc.
7. https://www.encyclopedia.com/arts/educational-magazines/remains-day
8. https://hindi.newslaundry.com/2017/10/06/japanese-kazuo-ishiguro-claims-the-nobel-of-literature
9. http://123.200.31.10:8080/jspui/bitstream/123456789/724/1/Kazuo%20Ishiguro%20The%20Remains%20of%20the%20Day.pdf



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
अस्तित्ववादी र निरर्थकतावादी साहित्यको एक उत्कृष्ट उपन्यास ‘द स्ट्रेन्जर’
२ चैत्र २०८२, सोमबार 








