‘गन विथ द विन्ड’ (हावासँगै वह्यो) उपन्यास मार्गरेट मिचेल (८ नोभेम्बर १९०० – १६ अगस्ट १९४९) द्वारा लिखित एउटा प्रसिद्ध उपन्यास हो । मिचेल चर्चित अमेरिकी लेखिका हुन् । उनी संयुक्त राज्य अमेरिकाको जर्जियाको एटलान्टामा जन्मिएकी थिइन् । उनको बाल्यकाल एटलान्टामा अमेरिकी गृहयुद्धका कथाहरूको बीचमा बित्यो, जसले पछि उनको उपन्यासलाई प्रभावित बनायो । उनले म्यासाचुसेट्सको स्मिथ कलेजमा अध्ययन गरिन् तर १९१८ मा आमाको मृत्यु भएपछि घर फर्किन् । उनले सन् १९२२ देखि १९२६ सम्म ‘एटलान्टा जर्नल’ मा पत्रकारको रूपमा काम गरिन् । १९२५ मा बेरिन किनार्ड अप्ससँग उनको विवाह भएको थियो तर त्यो असफल रह्यो । १९२७ मा उनले जोन मार्ससँग दोस्रो विवाह गरिन् । मार्स उनको समर्थक बनिरहे । १६ अगस्ट १९४९ मा एटलान्टामा उनको कार दुर्घटनामा मृत्यु भयो ।

मार्गरेटको एकमात्र प्रकाशित उपन्यास ‘गन विथ द वाइन्ड’ हो । यद्यपि उनका केही किशोरावस्थाका रचना र पत्रहरू पनि पछि प्रकाशित भए । सन् १९८८ मा उनको जीवनमा आधारित रहेर ‘मार्गरेट मिचेल : अमेरिकन रिबेल’ नामको डकुमेन्ट्री फिल्म बनेको थियो । यसरी मार्गरेट मिचेलले अमेरिकी इतिहासको त्यो जटिल अवधिलाई जीवन्त बनाइन् र मानवीय दृष्टिकोणले प्रस्तुत गरिन्, जसले उनलाई साहित्य एवम् इतिहास दुवै क्षेत्रमा महत्त्वपूर्ण स्थान प्रदान गर्‍यो। मार्गरेट मिचेलको लेखनले मुख्यगरी युद्ध, सामाजिक परिवर्तन र मानवीय सङ्घर्षलाई दर्शाउँछ । उनले आफ्नो व्यक्तिगत अनुभव र अमेरिकाको दक्षिणको सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिको गहिराईबाट प्रभावित भएर यो उपन्यास लेखिन् ।

सन् १९३६ मा पहिलो पटक प्रकाशित भएको ‘गन विथ द विन्ड’ उपन्यास धेरै सङ्ख्यामा बिक्री भयो र आज पनि यसलाई एक उत्कृष्ट उपन्यास मानिन्छ । यो उपन्यासले १९३६ मा ‘नेशनल बुक एवार्ड’ र १९३७ मा ‘पुलिट्जर पुरस्कार’ जित्यो । यसलाई विश्व साहित्यको एक महत्त्वपूर्ण शास्त्रीय रचना मानिन्छ । यसलाई सहित्यको एक लोकप्रिय उपन्यासमध्ये एक मानिन्छ । यसमा आधारित रहेर सन् १९३९ मा एक ऐतिहासिक चलचित्र पनि बनेको थियो । यसको कथा अमेरिकी गृहयुद्ध र पुनर्निमाण कालको वरिपरि घुम्छ । यो उपन्यासको केन्द्रमा एक शक्तिशाली र जिद्दी स्त्री स्कारलेट ओहारा छिन् । उनी जर्जियाका सम्पन्न बगान परिवारकी छोरी हुन् । कथाको शुरुवात स्कारलेटबाट नै हुन्छ । उनी आफ्नो परिवारको खेत टाराकी उत्तराधिकारी हुन् । यो खेतसँग उनको गहिरो लगाव छ । स्कारलेट एशले नामक एक युवकसँग प्रेममा पर्छिन् । तर एशलेले उनको भावनाको उत्तर दिंदैन र मेलेनीसँग विवाह गर्ने निर्णय लिन्छ । यसपछि स्कारलेटको हृदय भङ्ग हुन्छ र आफ्नो ईर्ष्या र रिसलाई नियन्त्रण गर्नमा असफल हुन्छिन् । यसपछि उनले यसको बदला लिन मेलेनीको भाइ चार्ल्ससँग विवाह गर्छिन् ।
गृहयुद्ध शुरु भएपछि सबै कुरा बदलिन्छ । युद्धको कारण राज्य नष्ट हुन्छ र स्कारलेटको परिवारको सम्पत्ति पनि समाप्त हुन्छ । गृहयुद्धको क्रममा स्कारलेटको जीवन अत्यधिक कठिनाईपूर्ण ढङ्गले अगाडि बढ्छ । तर उनी लगातार सङ्घर्ष गरिरहन्छिन् । उनी आफ्नो जमीन बचाउन धेरै प्रयास गर्छिन् र यही क्रममा उनको भेट धूर्त र नाफाखोर व्यक्ति रेट बटलरसँग हुन्छ । रेट र स्कारलेटको बीचमा जटिल सम्बन्ध बन्छ, जसमा प्रेम, घृणा र सङ्घर्ष सँगसँगै हुन्छ । रेटप्रति स्कारलेटको भावना पनि समयसँगै बदलिन्छ । तर उनको जिद्दीपना र आत्मनिर्भारताले यो सम्बन्धलाई रोक्छ ।

यो उपन्यासमा स्कारलेटको यात्रा व्यक्तिगत सङ्घर्ष मात्र नभएर यसले एक युगको सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनलाई पनि चित्रण गर्छ । गृहयुद्ध र त्यसपछिको परिवर्तनले जर्जिया र दक्षिणी संयुक्त राज्य अमेरिकाको जीवनलाई पूर्ण तवरले बदलिदियो । स्कारलेटको व्यक्तित्व यी परिवर्तनहरूको बीचमा आफ्नो पहिचान कायम राख्नको लागि सङ्घर्षको कथा हो । उपन्यासको कथामा प्रेम, बलिदान, संघर्ष र अस्तित्वका जटिलताहरूलाई गहिन तरीकाले चित्रण गरिएको छ ।

स्कारलेटको जीवन र उनका निर्णयहरूबाट जस्तोसुकै परिस्थितिमा पनि मानव हृदय कति शक्तिशाली र लचिलो हुन सक्छ भन्ने कुरा बुझिन्छ ।

यो उपन्यासमा विभिन्न पात्रहरूलाई गहिराईपूर्क चित्रण गरिएको छ । मेलानी एक दयालु र त्यागी स्त्री हुन् । रेट बटलर बाहिरी रूपमा कठोर तर भित्र संवेदनशील छ । स्कारलेटसँग रेट बटलरको जटिल सम्बन्धले पनि यो उपन्यासलाई अझ रोचक बनाएको छ । यो एक महाकाव्यात्मक उपन्यास हो । यसले व्यक्तिगत सङ्घर्ष र ठूलो ऐतिहासिक घटनाको बीचको जटिल सम्बन्धलाई उत्कष्ट ढङ्गले चित्रण गर्दछ । यो एक प्रेमकथा मात्र नभएर सम्पूर्ण युगको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनको दस्तावेज पनि हो ।
यो उपन्यासले अमेरिकाको दक्षिणी भूमिको सांस्कृतिक र आर्थिक विध्वंसलाई दर्शाउँछ । यसले स्कारलेटको कथा एक व्यक्तित्व विकासको कथा हो । प्रारम्भमा उनी व्यक्तिवादी, सशक्त र भावुक छिन् तर युद्धका कठिनाई र व्यक्तिगत क्षतिपूर्तिबाट गुज्रदै उनमा नेतृत्व र आत्मनिर्भरताका गुण जागृत हुन्छन् । उनी पारम्परिक महिलाभन्दा फरक रहेर जीवनलाई अगाडि बढाउन सामाजिक नियमलाई तोडेरै भए पनि हरेक उपाय अपनाउँछिन् ।

उपन्यासमा स्कारलेटको जीवनमा सबभन्दा महत्त्वपूर्ण सम्बन्ध प्रेम त्रिकोण छ । उनको हृदय शुरुमा एशलेको लागि आकर्षित हुन्छ, जुन उनको असम्भव इच्छाको प्रतीक बन्छ । किनकि एशलेले मेलेनीसँग विवाह गर्छ । अर्कोतिर रेट धनी, नाफाखोर र नीतिगत रूपमा लचिलो छ, जसले स्कारलेटलाई बुझ्छ । कथाको अन्तमा स्कारलेटलाई वास्तवमा रेटसँग प्रेम भएको अनुभव हुन्छ तर त्यतिबेलासम्म ढिलो भइसकेको हुन्छ ।

यो उपन्यासमा दक्षिणको जमिन र परिवारको विनाशलाई विस्तारपूर्वक देखाइएको छ । यसमा दासप्रथाको अन्त्य, सामाजिक परिवर्तन र आर्थिक सङ्कटका जटिलताहरू पनि पर्छन् । स्कारलेटको छवि परम्परावादी महिलाभन्दा पर छ । उनी भावनाहरूलाई लुकाएर गुप्त रूपमा आफ्ना उद्देश्यलाई पूरा गर्नमा सक्षम छिन् । उपन्यासमा उनको सोच र काम गर्ने तरीका नारी स्वतन्त्रताको प्रबल अभिव्यक्ति हो ।

 

लेखिका मार्गरेट मिचेल

यसरी यो उपन्यासमा एकातिर युद्धको भयानक रूप देखिन्छ भने अर्कोतिर एक प्रेमकथा देखिन्छ । यसमा प्रेम र युद्धले एउटा यस्ता कथाको रचना गरेको छ, जसलाई शताब्दियौंसम्म स्मरण गरिनेछ । यो एक ऐतिहासिक उपन्यास हो । यो उपन्यासले त्यसबेलाको अमेरिकाको दक्षिणी समाजको झलक प्रदान गर्छ । यसले अमेरिकाको गृहयुद्ध र परिवर्तनको आँधीसँगै त्यसबेलाको समाजको प्रेम, द्वेष, उत्थान र पतनको कथा भन्छ । यो उपन्यासले जीवनका विभिन्न रङहरूसँग परिचित गराउँछ, जसमा पीडा, खुशी, विजय, पराजय, प्रेम र विश्वास छन् । यसबाट कसरी एउटी स्त्रीले नियतिलाई आफ्नो हातमा लिइन् र जीवनको हरेक पललाई पूर्णता दिइन् भन्ने कुरा बुझ्न सकिन्छ ।

‘गन विथ द वाइन्ड’ उपन्यासको अध्ययनबाट समृद्धिको बीचमा युद्धको छायामा एक अद्वितीय प्रेमकथा फस्टाइरहेको एउटा युगमा प्रवेश गरिन्छ । यसमा स्कारलेट ओहारा नामकी महिला जिजीविषा, साहस र प्रेमको खोजबाट जीवनलाई अभूतपूर्व सङ्घर्षतिर लिएर जान्छिन् । यसमा अमेरिकी गृहयुद्धको अवधिमा दक्षिणी समाजको विस्तृत झलक देखिन्छ । त्यहाँ प्रेम, बर्बादी, वीरता र पुनर्निमाणका गाथाहरू एकसाथ बुनिएका छन् । यसमा स्कारलेटको चरित्रको माध्यमबाट उनको अदम्य इच्छाशक्ति र जीवनको अटुट सङ्घर्षलाई महसुस गर्न सकिन्छ ।

उपन्यासको सम्पूर्ण कथा सङ्क्षिप्तमा

यो उपन्यासको कथा सन् १८६१ देखि १८७३ सम्मको अमेरिकी गृहयुद्ध र पुनर्निमाणको कालको अवधिमा जर्जिया राज्यको क्लेटन र एटलान्टा शहरमा घटित हुन्छ । जर्जियामा कटनको खेती आयस्रोतको मुख्य स्रोत हुन्छ र खेतमा दासहरूले काम गर्छन् । उनीहरूलाई अन्धाधुन्ध दक्षिण अफ्रिकाबाट ल्याएर यहाँ बेचिन्छ । जहाजमा खाँदेर ब्रिटेन र स्पेनले यी दासहरूलाई ल्याउँथे । करिब ६ लाख दास अफ्रिकाका ल्याइएका थिए र अमेरिकामा उनीहरूलाई काम गराइन्थ्यो । पुरुष खेतमा काम गर्थे भने स्त्रीहरू घरमा खाना बनाउने काम गर्थे । उनीहरूका बच्चाहरूलाई पनि नोकर जसरी नै काम गराइन्थ्यो ।

विस्तारै-विस्तारै अमेरिकाका मानिसहरूलाई दासप्रथा गलत हो भन्ने लाग्यो । औद्योगिकीकरण शुरु भएको उत्तर अमेरिकामा त्यहाँ विस्तारै मानवीय श्रमको आवश्यकता कम हुँदै गयो । त्यसकारण त्यहाँ दासतामाथि प्रतिबन्ध लगाउनु पर्छ भनेर क्रान्ति शुरु हुन लाग्यो ।

अर्कोतिर दक्षिण अमेरिकामा कृषि नै आयस्रोतको मुख्य स्रोत थियो । त्यहाँ दासहरूबिना काम अगाडि बढाउने कुरा असम्भव जस्तै थियो ।

त्यसकारण अमेरिकामा उत्तर अमेरिकी र दक्षिण अमेरिकी दुई गुट भए । उत्तर अमेरिकीहरू दासप्रथामाथि प्रतिबन्ध चाहन्थे भने दक्षिण अमेरिकी यसमाथि प्रतिबन्ध चाहँदैनथे । उत्तर अमेरिकी सैनिकहरूलाई याङ्की भनिन्थ्यो । त्यसपछि यहाँ भयङ्कर गृहयुद्ध भयो, जसमा लाखौंलाख सैनिक र सर्वसाधारणको ज्यान गएको थियो । यसलाई अमेरिकाको सबभन्दा ठूलो गृहयुद्ध मानिन्छ । यसले अमेरिकाको तस्विर नै बदलिदियो । तर यो युद्धमा अमेरिकाको धेरै ठूलो क्षति भएको थियो ।

टारा जर्जियाको ग्रीन काउन्टीमा रहेको एउटा विशाल कृषि फार्म हो । यो समृद्धि र खुशीयालीको प्रतीक हो । यहाँ सबै कुरा शान्त र सुरम्य थियो । यहाँको हावामा माटोको सुगन्ध थियो र चारैतिर हरियालीले गर्दा एक स्वर्गीय छटा छरिएको थियो । यहाँको जीवन ओहारा परिवारको लागि एक सपना जस्तै हो । यहाँ हरेक दिन उत्सव र आनन्दसँगै शुरु हुन्छ । यहाँका मानिस आफ्नो खेतमा काम गर्छन् र साँझ प्रायः आफ्ना मित्र र परिवारका साथ भोज तथा मनोरञ्जनमा बिताउँछन् । स्कारलेट ओहारा उपन्यासको मुख्य नायिका हुन् । उनी आफ्ना दुई दिदीबहिनी र मातापितासँगै बस्थिन् । उनी आफ्नो सुन्दरता र जिजीविषाको लागि सम्पूर्ण काउन्टीमा प्रसिद्ध छिन् । स्कारलेटको जीवन टारामा खुशीले भरिएको छ । उनी आफ्नो दिनचर्यालाई घोडाको सवारी, पार्टीमा उपस्थिति जनाउने र परिवारसँग समय बिताउनमा व्यतीत गर्छिन् ।

यद्यपि यो खुशीयाली पछाडि एक अशान्तिको भावना पनि छ, जुन युद्धको बाललको रूपमा मडारिरहेको छ । गृहयुद्धको आहटले यो शान्त वातावरणमा विषादको लहर दौडाएको थियो । अहिलेसम्म आफ्ना सपना र मनोरञ्जनमा लीन स्कारलेटले अब जीवनको कठीन यथार्थसँग सामना गर्नु परिरहेको थियो । युद्धको खबरसँगै स्कारलेटको हृदय पनि धड्किन लाग्यो । उनलाई आफ्नो वरिपरिका युवा र बचपनका साथी युद्धमा जाने कुराको चिन्ता थियो ।

आफ्नो जीवनलाई अहिलेसम्म उत्सवको रूपमा अगाडि बढाइरहेकी स्कारलेटले यथार्थताको कठोरताको सामना गर्नुपर्ने हुन्छ । युद्धको खबर घर-घर पुगेपछि स्कारलेटको संसार विस्तारै-विस्तारै बदलिन लाग्यो । उनका पिता जेराल्ड ओहारा टाराको आफ्नो जमिन र वालीसँग गहिराईपूर्वक जोडिएका थिए । उनी युद्धको सम्भावनाबाट धेरै दुःखित थिए । यो युद्ध उनको भूमिको लागि मात्र खतरा थिएन, बरु उनको संस्कृति र जीवनशैलीको लागि पनि खतरा थियो । स्कारलेटकी आमा एलेन सधैं घरकी शान्ति र सुव्यवस्थाकी प्रतीक थिइन् । उनले आफ्नो घर र परिवारलाई सम्हाल्ने जिम्मेवारी अझ दृढतापूर्वक थामेकी थिइन् । उनले स्कारलेट र उनका दिदीबहिनीलाई जीवनमा सङ्घर्षको समाना गर्नको लागि धैर्य र साहसको आवश्यकता हुन्छ भन्ने शिक्षा दिइन् ।

यही बीचमा स्कारलेट एक दिन आफ्ना बालककालका साथीहरूसँग बगैंचामा बसेर कुरा गरिरहेकी हुन्छिन् । उनका यी साथी जुम्ल्याहा दाजुभाइ हुन् र यी दुवैले स्कारलेटलाई मन पराउँछन् । यिनीहरूले मात्र होइन, टाराका सबै युवाले स्कारलेटलाई मन पराउँछन् । किनकि स्कारलेटको कुरा गर्ने तरीकाले सबैलाई प्रभावित बनाएको थियो । उनी कोहीसँग डराउँदिनथिन् । उनी पूर्ण रूपमा जीवन्त थिइन् । यो चीजलाई त्यहाँका युवाले धेरै मन पराउँथे ।

स्कारलेट अति सुन्दरी नभए पनि उनीमा सबैलाई आकर्षित गर्ने क्षमता थियो । तर स्कारलेट भने केवल एशलेलाई मन पराउँथिन् । एशले स्कारलेटकको बालककालको साथी थियो । स्कारलेटलाई पहिले ऊप्रति कुनै आकर्षण भएको थिएन । तर एशले युरोपको अध्ययनबाट टारा फर्किएपछि उसमा गज्जबको आकर्षण देखा परेको थियो । त्यसकारण स्कारलेटले स्वयंलाई रोक्न सकिनन् र एशलेमाथि उनको रुचि बढ्दै गयो । एशले उनको दैनिक आवश्यकता खाना, हावा जस्तै बन्दै गएको थियो । उसलाई गुमाउने डरले मात्र पनि उनको हृदय विचलित हुन्थ्यो । उनको लागि एशलेको सुरक्षा सबभन्दा बढी महत्त्वपूर्ण थियो । ऊ युद्धमा जाने कुरा सोच्दा मात्र उनको शरीर सिरिङ्ग हुन्थ्यो । यद्यपि उनका पितालाई भने यो सम्बन्ध मन परेको थिएन । दुई वर्षसम्म यी सबै साथी आपसमा मिलजुल गर्छन्, घुम्छन् । हरेक दिन स्कारलेट शायद एशलेले आफूलाई प्रेम प्रस्ताव राख्नेछ भन्ने कुराको प्रतीक्षा गर्छिन् । तर दुई वर्षमा यो समय कहिल्यै आएन ।

स्कारलेट दुई जुम्ल्याहासँग बसेर कुरा गरिरहेकी थिइन्, यही बेला एशले भोलिपल्ट नै मेलेनीसँग ‘इन्गेजमेन्ट’ को लागि आफ्नो टुवेल्भ वक्सको घर जाँदैछ भन्ने कुरा थाहा हुन्छ । मेलेनी धेरै साधारण युवती देखिन्छिन् तर एशले र उनको विचार मिल्छ । स्कारलेट र एशलेको विचार बिल्कुलै मिल्दैन । एशले अन्य युवाभन्दा फरक छ । ऊ किताब, कविता मन पराउँछ । ऊ कम बोल्छ । यी सबै कुराले स्कारलेटलाई एशलेप्रति आकर्षित बनाएको थियो । अर्कोतिर मेलेनी पुस्तक, लेखक, कविता मन पराउँथिन् । त्यसकारण एशले उनलाई मन पराउँथ्यो ।

स्कारलेटले एशले र मेलेनीको ‘इन्गेजमेन्ट’ को खबर सुनेपछि रिसले चुर हुन्छिन् । उनलाई टारामा अब केही पनि बाँकी नरहेको जस्तो लाग्छ । तर उनी हार मान्दिनन् । टुवेल्भ वक्समा ‘इन्गेजमेन्ट’ हुने दिन उनले एउटा चलाखी गर्छिन् । उनी सोच्छिन्, यदि त्यहाँ उपस्थित सबै केटाहरूमाथि मजाक गर्ने हो भने एशले धेरै जल्नेछ र शायद मेलेनीसँग सम्बन्ध भङ्ग गरेर आफूसँग ‘इन्गेजमेन्ट’ गर्नेछ । किनकि उनलई एशलेले मन पराउँछ भन्ने थाहा थियो । स्कारलेट आफूलाई धेरै सुन्दरी ठान्थिन् । तर उनी मेलेनीलाई एक धेरै साधारण युवती देख्छिन् । एशले सुन्दर युवक छ । ऊ सबभन्दा राम्रोसँग घोडा दौडाउँछ । उसले किन यस्ती सामान्य युवतीसँग विवाह गरिरहेको छ ? उनी सोच्छिन् । त्यसपछि त्यहाँ आएका सबै केटासँग उनी मजाक गर्छिन् । तर यसबाट केही हुँदैन ।

दिउँसको समयमा सबै आराम गरिरहेका थिए, किनकि साँझमा नाचगानको कार्यक्रम थियो । त्यसपछि स्कारलेट उठेर तल पुस्तकालयमा जान्छिन् । त्यहाँ उनको एशलेसँग भेट हुन्छ । अब उनले एशलेसँग भन्छिन्, तिमीले मसँग किन यस्तो व्यवहार गरिरहेका छौं ? तिमी मसँग प्रेम गर्छौं भन्ने मलाई थाहा छ तर किन ‘इन्गेजमेन्ट’ मेलेनीसँग गरिरहेका छौं ? एशले भन्छ, तिमी र हामी धेरै फरक छौं; म मेलेनीलाई नै मन पराउँछु, मलाई उनको स्वभाव मन पर्छ ।

यसपछि स्कारलेट धेरै रिसउँछिन् र एशलेलाई एक थप्पड हान्छिन् । यो सबै घटनालाई रेट बटलर नामको एउटा व्यक्तिले देख्छ । ऊ करिब ३५ वर्षको एक सुन्दर मानिस हो । ऊ धेरै ठूलो व्यापारी हो तर केही बदनाम पनि छ । ऊ एक मुनाफाखोर र जीवनप्रति एक निराशाजनक दृष्टि राख्ने व्यक्ति हो । उसले स्कारलेटलाई पहिले नै देखेर मुस्कुराइसकेको थियो । उसलाई देख्नेवित्तिकै स्कारलेट लाजले राती भएकी थिइन् । अब उनी सबैलाई यो मानिस को हो भनेर सोध्छिन् । उनलाई यो रेट बटलर हो, ऊ धेरै धनी छ तर बदनाम छ भन्ने कुरा थाहा हुन्छ ।

एशले त्यहाँबाट जान्छ तर रेट बटलरले स्कारलेटलाई भन्छ, मैले तिम्रो धेरै ठूलो रहस्य थाहा पाइसकेको छु । तिमी त असल युवती होइनौं । तिमीले त्यसरी आफ्नो प्रेमको भिख मागिरहेकी थियौं तर पनि त्यो व्यक्तिले तिमीलाई भिख दिएन । यसपछि स्कारलेट अत्यन्तै धेरै रिसाउँछिन् र रेट बटलरमाथि चिच्याउँछिन् – तिमी लुकी-लुकीकन अरुको कुरा सुन्ने धेरै खराब मान्छे हौं । त्यसपछि रेट बटलर त्यहाँ ठूलो स्वरले हाँस्न लाग्छ ।
स्कारलेटको बदला अझै पनि पूरा भएको थिएन । उनी कुनै पनि प्रकारले एशलेको सम्पर्कमा रहन चाहन्थिन् । एशलेकी हुनलागेकी पत्नी मेलेनीको सहोदर भाइ चार्ल्स ह्यामिल्टन थियो । सबैले उसलाई बुद्धु ठान्थे । यसपछि स्कारलेटले ऊसलाई विवाह प्रस्ताव राख्छिन् । चार्ल्स स्कारलेट जस्ती सुन्दर युवतीसँग विवाह गर्नको लागि तुरुन्तै तयार हुन्छ । र, दुई हप्ताभित्रको समयमा नै यी दुवैको विवाह हुन्छ ।

यद्यपि अर्कोतिर अमेरिकामा गृहयुद्ध शुरु हुन्छ । दक्षिण अमेरिका केही कमजोर थियो । यहाँ युद्धका हतियार पनि उत्कृष्ट थिएनन् र सिपाही पनि कम थिए । त्यसकारण यहाँ घरमा भएका प्रशिक्षित र अप्रशिक्षित समेत युवाहरू युद्धको मैदानमा हाम फाल्छन् । स्कारलेटको पति चार्ल्स पनि युद्ध लड्नको लागि जान्छ । तर उसले युद्ध लड्न पाउँदैन । युद्ध लड्नुभन्दा पहिले नै उसलाई ‘स्मलपक्स’ रोग लाग्छ र उसको मृत्यु हुन्छ ।
यता स्कारलेट गर्भवती थिइन् । अब उनको जिन्दगी बदलिन्छ । यद्यपि चार्ल्ससँग विवाह गरेर उनलाई कुनै पनि खुशी प्राप्त भएको थिएन । उनले चार्ल्सलाई एशलेको जस्तो प्रेम कहिल्यै गर्न सकिनन् ।

अब उनको एक सुन्दर बच्चा हुन्छ, जसको नाम वेड ह्याम्पटन ह्यामिल्टन राखिन्छ । तर त्यो बच्चासँग पनि स्कारलेट सम्बद्ध भएको महसुस गर्दिन थिइन् । किनकि उसलाई कहिल्यै पनि आफ्नो पितासँग प्रेम थिएन ।

अब स्कारलेट गाउँमा रहँदा-रहँदा उदास भइसकेकी थिइन् । उनले एक विधुवाको जिन्दगी जिउनु परिरहेको थियो । उनले हरेक समय काला कपडा लाउनुपर्दथ्यो । उदास मुहार बनाइराख्नुपर्दथ्यो । उनी नाचगान पनि गर्न सक्दैनथिन् । बढी घुमफिर पनि गर्न सक्दिनथिन् । मानिसहरूसँग भेटघाट गर्न पनि सक्दिनथिन् ।

यद्यपि स्कारलेट स्वतन्त्र रूपमा रहन चाहन्थिन् । त्यसकारण धेरै दिनसम्म यस्तो जिन्दगी जिउन सक्दिनथिन् । त्यसकारण उनी मेलेनीसँग भेट गर्ने बहानामा एटलान्टा शहरमा जान्छिन् । शहरको जिन्दगीमा भागदौड मच्चिएको छ । एटलान्टा कुनैबेला व्यापार र सांस्कृतिक गतिविधिको केन्द्र थियो । युद्धले अब यसलाई जलाइरहेको थियो । यो घटनले स्कारलेटको हृदयलाई अशान्त र उथलपुथल बनाइदियो । स्कारलेट एटलान्टमा एक अस्पतालमा स्वयंसेविकाको काम गर्छिन् । उनी त्यहाँ युद्धको मैदानमा घाइते भएका सैनिकलाई मेलेनीसँग मिलेर अस्पतालमा सेवा गर्थिन् र धेरै व्यस्त रहन लाग्छिन् । उनको लागि यो अनुभव नयाँ चुनौती र साहसिक कार्यहरूले भरिएको थियो । उनले युद्धको वास्तविकतालाई धेरै नजिकबाट देखिन् र अनुभव गरिन् । यसले उनलाई भित्रैबाट बलियो बनायो ।

शहरमा आक्रमण भएपछि स्कारलेटले आफ्नो असाधारण साहस र बौद्धिकताको प्रदर्शन गरिन् । उनले घाइते सैनिकहरूको सेवा मात्र गरिनन्, बरु धेरै पटक स्वयंलाई खतरामा पार्दै अरुलाई पनि बचाइन् । उनको यो क्रियाले अहिलेसम्म लुकेको उनको चरित्रलाई दर्शाउँछ । उनी एक नीडर र स्वाबलम्बी महिला थिइन् ।

एललान्टामा युद्धको आगो फैलिंदै जाँदा स्कारलेटको जीवन अझ जटिल हुँदै जान्छ । यही क्रममा उनको पुनः रेट बटलरसँग भेट हुन्छ । बलटर उनलाई देखेर राक्षसी हाँसो हाँस्छ र भन्छ, मलाई तिम्रो धेरै ठूलो रहस्य थाहा छ । स्कारलेट यसलाई बेवास्ता गर्छिन् । तर बटलर धेरै बेशर्म व्यक्ति थियो । त्यसकारण उसले उनको पीछा छोड्दैन । ऊ आज साँझ यहाँ नृत्य गर्ने केटीहरूलाई चन्दामा धेरै पैसा दिने कुरा गर्छ ।

यो कुरा सुन्ने वित्तिकै स्कारलेट नृत्य गर्न तयार हुन्छिन् । किनकि धेरै महिनादेखि उनले नृत्य गरेकी हुन्नन् । उनी रेट बटलरसँग धेरै रोमान्टिक नृत्य पनि गर्छिन् र ऊसँग भेट गरेर धेरै खुशी पनि हुन्छिन् । किनकि ऊसँग उनलाई स्वतन्त्रताको महसुस भइरहेको थियो । स्कारलेटको जीवन्त हृदय र बहादुरीबाट बटलर धेरै प्रभावित हुन्छ ।

यसपछि स्कारलेट र बटलरको भेटघाट बढ्दै जान्छ । तर बटलर स्कारलेटसँग विवाह गर्न चाहँदैनथ्यो । ऊ स्कारलेटलाई केवल आफ्नो प्रेमिकाको रूपमा मात्र चाहन्थ्यो । स्कारलेटलाई यो कुरा थाहा भएपछि आफू फसेको महसुस हुन्छ । त्यसपछि उनी रेट बटलरसँग भेटघाट गर्न बन्द गर्दछिन् ।
अर्कोतिर एशले एक हप्ताको लागि क्रिसमसको लागि एटलान्टा आइरहेको हुन्छ । र, म आइरहेको छु मेरी माया भनेर चिठी लेख्छ । स्कारलेट एशलेसँग यति धेरै प्रेममा हुन्छिन् कि यो चिठी उसले आफ्नी पत्नीलाई लेखेको हो भन्ने कुरा नै भुल्छिन् । उनी यो चिठी उसले आफैलाई नै लेखेको हो भन्ने ठान्छिन् । उनी त्यो चिठीलाई पढेर धेरै पटक चुम्बन गर्छिन्; धेरै खुशी हुन्छिन् र एशले आफूलाई नै भेट्न आइरहेको छ भन्ने ठान्छिन् ।
एशले आएपछि उनले मेलेनी गर्भवती भएको थाहा पाउँछिन् । त्यसपछि उनी धेरै उदास हुन्छिन् । उनलाई एशलेले अब आफूलाई प्रेम गर्दैन भन्ने लाग्छ । त्यससकारण उनी आफ्नो गाउँ टारा फर्किएर जान चाहन्छिन् । तर एशलेले उनलाई टारा जान रोक्छ । ऊ भन्छ – म पुनः युद्धको मैदानमा गइरहेको छु । मेलेनीको हेरविचार गर्ने कोही हुँदैन । त्यसकारण उसले स्कारलेटलाई आफू आउने बेलासम्म र बच्चा नहुन्जेलसम्म मेलेनीको साथ नछोड्ने बाचा गराउँछ । स्कारलेटले एशलेसँग बाचा गर्छिन् ।

स्कारलेटकी काकी पिट्टिपेट कुनै कामको लागि बाहिर जान्छिन् । यता युद्ध बढ्दै जान्छ । रेलवे लाइनलाई याङ्की सेनाले ध्वस्त बनाइदिन्छन् र उनीहरू शहरभित्र पनि पस्दै जान्छन् । हजारौंहजार सैनिक एटलान्टमा घाइते भइरहेका थिए, मरिरहेका थिए । सडकभरी लाशैलाश थियो । डाक्टरहरूको धेरै कमी थियो र भएका डाक्टरहरूले जसोतसो उपचार गरिरहेका थिए ।

यही बीचमा मेलेनीले बच्चा जन्माउने समय आउँछ । स्कारलेट धेरै हैरान हुन्छिन् । उनीसँग प्रिंसी नामकी एउटी केटी थिइन् । स्कारलेट अब उनलाई डाक्टर वा गर्भवतीको बेला सहयोग गर्ने महिलालाई बोलाउन धेरै पटक पठाउँछिन् तर कोही पनि हुँदैनन् । अन्तमा स्कारलेट र प्रिंसी मिलेर मेलेनीको बच्चा जन्माउनमा सहयोग गर्छन् । मेलेनी धेरै कमजोर हुन्छिन् । यस्तो खराब अवस्थामा उनको उपचार हुन सक्दैन । तर पनि उनले छोरालाई जन्म दिन्छिन् ।

त्यसबेलासम्म शहरमा याङ्की भरिइसकेका हुन्छन् । उनीहरूले भवनहरूमा आगो लगाउँदै गइरहेका छन् । त्यसकारण अब कुनै पनि तरीकाले उनीहरूले यो शहर छोडेर भाग्नुपर्ने हुन्छ । तर स्कारलेटसँग न त कुनै घोडा छ , न कुनै साधन छ । अब उनलाई रेट बटलरको स्मरण हुन्छ । उनलाई बटलरले नै आफ्नो मद्दत गर्न सक्छ भन्ने कुरा महसुस हुन्छ ।

रेट बटलरलाई सन्देश पुग्ने वित्तिकै एउटा घोडा गाडी लिएर उनकोमा पुग्छ । तर बटलरको घोडा कसैले चोरेको थियो, त्यसकारण ऊ जुन घोडा पाइन्छ त्यसैलाई गाडीमा लाएर आउँछ । बाटाभरी उनीहरूले भूत जसरी सडकमा यताउता गरिरहेका सैनिकहरूलाई देख्छन् । उनीहरू यति धेरै घायल अवस्थामा थिए कि अर्धमृत अवस्थामा हिडिरहेका थिए । रेट बटलर यो सबै दृश्यबाट धेरै दुःखी थियो । सधैं खेल-मनोरञ्जनमा रहने बटलर यो युद्धलाई एक मजाक ठान्थ्यो; सैनिकहरूलाई बेवकुफ ठान्थ्यो । तर आज उसका आँखामा पनि आँशू थिए ।

टारा शहर पुग्नुभन्दा धेरै पहिले नै उसले आफ्नो घोडागाडी रोक्छ र त्यसबाट उत्रिन्छ । त्यसपछि उसले स्कारलेटलाई भन्छ, म यसरी कायर जसरी बस्न सक्दिनँ । म पनि युद्ध लड्न जान्छु, चाहे बाँचियोस् वा मरियोस् । र, ऊ स्कारलेट तथा मेलेनीलाई त्यही छोडेर जान्छ ।

भोक-प्यासले तड्पिरहेकी मेलेनी, स्कारलेट र दुई बच्चा त्यही घोडागाडीमा विस्तारै-विस्तारै अगाडि बढ्छन् । बाटामा भयङ्कर जङ्गल आउँछन् । उनीहरूलाई धेरै ठाउँमा याङ्कीहरूको पनि खतरा हुन्छ तर स्कारलेट डराउँदिनन् । उनी ठाउँ-ठाउँमा घोडागाडी रोकेर कहिले पानी ल्याउँथिन्, कहिले स्याउ ल्याउँथिन् । यसरी उनीहरू जसोतसो टारा पुग्छन् ।

टारा पुगेपछि स्कारलेटलाई त्यो ठाउँ बदलिएको जस्तो लाग्यो । युद्धले उनको घरलाई पनि छोडेको थिएन । उनीहरूको सुन्दर घर धेरै खराब हालतमा थियो । उनलाई के थाहा हुन्छ भने याङ्कीहरूले त्यो घरलाई आफ्नो कार्यालय बनाएका थिए र उनीहरू धेरै दिनदेखि यहाँ बसिरहेका छन् । हजारौंहजार डलरको कटनको खेतीलाई पनि जलाएर खरानी बनाइएको थियो । धन-सम्पत्ति सबै याङ्कीले लुटेर लगेका थिए । तर स्कारलेटको लागि टारा एक भूखण्ड थिएन, यो उनको जीवन र आत्माको एक हिस्सा थियो ।

अघिल्लो अवधिमा स्कारलेटकी आमालाई टाइफाइड भएको थियो । उनकी बहिनीलाई पनि टाइफाइड भएको थियो । उनकी आमा सबैको सेवा गर्दागर्दै धेरै कमजोर भएर मरिसकेकी थिइन् । यसपछि उनको पिताले मानसिक सन्तुलन गुमाइसकेका थिए । त्यसकारण स्कारलेट घर आएर पनि बिल्कुल एक्लो थिइन् । तर उनले हार मान्दिनन् ।

अब उनी पहिले एशलेको घर भएको टुवेल्भ वक्स जान्छिन् । त्यहाँ उसको घर जलाएर खरानी बनाइएको छ । त्यहाँ केवल केही जलेका ढुङ्गा मात्र बाँकी रहेका छन् । उनी त्यहाँबाट केही पुराना आलु, स्याउ, आदि खानेकुरा लिएर आउँछिन् ।

उनी भान्सामा खाना बनाइरहेको बेलामा एउटा याङ्की सिपाही आउँछ । स्कारलेटले अब आफ्नो बेलुकाको खाना पनि यिनैले खानेछन् भन्ने सोच्छिन् । त्यसकारण उनी कपबोर्डमा राखिएको चार्ल्सको बन्दुक निकाल्छिन् र त्यो सिपाहीलाई टाउकामा हान्छिन् । सिपाही त्यही मर्छ । उसको गोजीमा चोरी गरिएको पैसा र गहना थियो । ती सबै उनले निकाल्छिन्, जसबाट केही दिनसम्म उनीहरूको गुजारा चल्छ ।

उनले पुनः आफ्नो विरासतलाई जीवित गर्ने सङ्कल्प लिइन् । पुनः टारालाई आफ्नो पुरानो शानमा फर्काउने निर्णय गरिन् । उनको सामु धेरै चुनौतीहरू थिए; खानाको कामी, कामदारको आवश्यकता र आर्थिक सङ्कट थियो । यस्तो अवस्थामा पनि स्कारलेटले आफ्नो बौद्धिकता र कौशलको प्रयोग गरेर कयौं व्यापारिक रणनीतिहरू अपनाइन् । उनले टाराको खेतमा कपासको खेती शुरु गरिन् । उनले स्थानीय बजारमा आफ्ना उत्पादन बेच्ने योजना पनि बनाइन् । यसको अतिरिक्त उनले अन्य भूमिपतिहरूसँग साझेदारी गर्ने विचार पनि बनाइन् । उनले के ठानिन् भने एक्लै सङ्घर्ष गर्नुको साटो सहयोग र सहकार्यबाट उत्कृष्ट परिणाम प्राप्त हुनसक्छ । यसरी उनी आफ्नो व्यापार र खेतीको कार्यमा धेरै सफल हुन सकिन् । स्कारलेटका यी प्रयासहरूले विस्तारै परिणाम दिन शुरु गरे । उनको खेत पुनः हराभरा हुनलागे र आर्थिक स्थितिमा सुधार हुनलाग्यो ।

यद्यपि उनको कष्ट अझ अन्त्य भएको छैन । स्कारलेटको कृषि मैदानमा काम गर्ने एउटा मानिस अब याङ्कीसँग मिल्छ । त्यसपछि सरकारले टारामाथि धेरै कर लाद्छ । उनीहरूको बगानमा यति कर लगाइइन्छ कि जमिनवालाले सस्तो दाममा जमिन बेच्न बाध्य हुनुपर्छ । यहीबेला नै उनका पिताको घोडाबाट लडेर मृत्यु हुन्छ । तर स्कारलेट हार मान्दिनन् । उनी आफ्नो कोठाको एउटा पर्दा तान्छिन् । त्यसलाई आफ्नो लागि बस्त्र बनाउँछिन् र सीधैं रेट बटलरलाई भेट्न एटलान्टा शहर जान्छिन् । त्यहाँ उनलाई रेट बटलरले एउटा नीग्रोको हत्या गरिदिएको थाहा हुन्छ । ऊ जेलमा बन्दी अवस्थामा छ । उनी रेट बटलरसँग भेट गर्छिन् र उसलाई आफूहरू गरीबीमा भएको कुरा बिल्कुल महसुस हुन दिन्नन् । उनी भन्छिन्, म शहरमा आफ्नो लागि केही बस्त्र खरिद गर्न आएको हुँ । तर बटलरले उनको हात देखेपछि के बुझ्छ भने उनी किसान जसरी नै खेतमा काम गरिरहेकी छिन् । किनकि उनका हात धेरै खराब भएका थिए । त्यसपछि बटलर धेरै रिसाउँछ । अब ऊ भन्छ, तिमीलाई सहयोग चाहियो भने स्पष्ट रूपमा भन । मसँग किन झुट बोलिरहेकी छ्यौं ।

अब स्कारलेट भन्छिन्, मलाई तिमीसँग धेरै प्रेम भयो । तर बटलरले उनको झुटलाई तुरुन्तै पक्रिन्छ । तिमी यौनकर्मी जसरी स्वयंलाई बेच्ने प्रयास नगर । यो समयमा म तिम्रो कुनै पनि मद्दत गर्न सक्दिनँ । यद्यपि बटलरसँग चन्दाको धेरै सुन छ । तर त्यो सुन कहाँ छ भन्ने कुरा ऊ बताउन सक्दैन ।

रेट बटलरबाट कुनै पनि सहयोग नहुने देखेर हताश भएर स्कारलेट बाहिर आउँछिन् । त्यतिबेलै उनले आफ्नी बहिनीको प्रेमी फ्र्याङ्कलाई भेट्टाउँछिन् । ऊ अब एउटा दोकानदार छ र उसले एउटा जनरल स्टोर खोलेको छ । उसले बिस्तरा, कम्बल बेचेर एक हजार डलर कमाएको छ । एक हजार डलरको नाम सुन्ने बित्तिकै उनका आँखा चम्किन्छन् । उनलाई टारामा कर तिर्नको लागि तीनसय डलर मात्र आवश्यक थियो । अब उनी तुरुन्तै एउटा योजना बनाउँछिन् । उनी सोच्छिन्, बहिनीले यदि ऊसँग विवाह गरिन् भने पनि आफूलाई कुनै सहयोग प्राप्त हुनेछैन । त्यसकारण बहिनी र फ्य्राङ्कको बीचको सम्बन्ध भङ्ग गरेर स्वयं ऊसँग विवाह गर्ने कुरा सोच्छिन् ।

यसको लागि उनले फ्य्राङ्कलाई बेवकुफ बनाउँछिन् । उनले उसलाई भन्छिन्, मेरी बहिनीले टोनी नामकी कुनै व्यक्तिसँग विवाह गर्ने वाचा गरेकी छिन् । किनकि तिमीले विवाह गर्नमा धेरै ढिलाई गरिरहेका थियौं । तिमी त समर महिनामा विवाह गर्नेवाला थियौं तर मेरी बहिनीले अर्को महिना नै टोनी नामको व्यक्तिसँग विवाह गरिरहेकी छिन् । उनी धेरै अबला नारी हुन् । उनको बेड नामको पुत्र पनि छ, जसको हेरविचार गर्ने मान्छे पनि यो संसारमा कोही छैन ।

अब फ्य्राङ्क उनका कुरामा बहकिन्छ र उनीहरू दुवैले चुपचाप विवाह गर्छन् । यसपछि फ्य्राङ्कका साथीभाइ र नातेदारहरू सबै धेरै रिसाउँछन् । उसकी बहिनीले उसलाई रिसले चुर भएर चिठी पनि लेख्छिन् । यद्यपि पछि टोनी नामको व्यक्तिले फ्य्राङ्कलाई भेट्छ । त्यसपछि स्कारलेटको झुटको यो रहस्य खुल्छ । उनकी बहिनीले कसैसँग पनि विवाह गरेकी थिइनन् । स्कारलेटले पैसाको लागि आफूलाई बेवकुफ बनाएको कुरा फ्य्राङ्कले बुझ्छ ।
यता रेट बटलर जेलबाट छुटेर आएको थियो । उसले याङ्कीलाई केही पैसाको लालच दिएकोले ऊ छुटेको थियो । स्कारलेटले विवाह गरेको देखेपछि उसले उनलाई हाँसोको पात्र बनाउँछ । फेरि उनलाई ‘के तिमीलाई पैसाको आवश्यक छु’ भनेर पनि सोध्छ । त्यसपछि बटलरले उनको मद्दत गर्छ । उसले दिएको पैसाले स्कारलेटले काठ काट्ने एउटा मेशिन खरिद गर्छिन् । अब उनको काठ मिल व्यवासय सञ्चालन हुन्छ ।

उनी रातदिन मेहनत गर्छिन् । फ्य्राङ्क यो सबै देखेर आश्चर्यचकित थियो; यति सानी, दुब्ली र अबला नारी आज एक सफल व्यवसायी बनेकी छिन् । उनी पैसा कमाइरहेकी छिन्, उनी धेरै स्फूर्त भइसकेकी छिन् । अब उसलाई स्कारलेटले आफूलाई मूर्ख बनाएको जस्तो लाग्छ ।

गृहयुद्ध अन्त्य भइसकेको थियो । एशले पनि आइसकेको थियो । स्कारलेटको सामुन्ने एउटा अर्को कठिनाई उत्पन्न भएको थियो । अब उनी पुनः गर्भवती भएकी थिइन्, र भविष्यमा आफ्नो काठ मिलको व्यवस्थापन गर्न सक्दिनथिन् । त्यसकारण उनले गाउँबाट मेलेनी र एशलेलाई आफ्नो मद्दत गर्नको लागि बोलाउँछिन् । एशले आएर काठ मिलको म्यानेजर बन्छ । ऊ व्यवसायको मामिलामा धेरै राम्रो थिएन तर ऊ इमान्दार थियो र आफ्नो काम गरिरहेको थियो ।

यता स्कारलेटले छोरी जन्माउँछिन् र उनको नाम एला राख्छिन् । उनी पुनः छिट्टै आफ्नो काम हेर्नको लागि काठ मिल जान लाग्छिन् । एकदिन स्कारलेट काठ मिलबाट फर्किरहेको बेला कालो र सेतो दुई व्यक्ति मिलेर आक्रमण गर्दछन् । उनीहरूलाई स्कारलेट धेरै ठूलो व्यवसायी हुन् र उनीसँग धेरै पैसा छ भन्ने कुरा थाहा थियो । उनीहरू त्यो पैसा उनले आफ्नो बस्त्रमा लुकाएर राखेकी छिन् भन्ने ठान्थे । उनीहरूले स्कारलेटमाथि गलत हर्कत गर्ने प्रयास गर्छन् तर उनीहरू यसमा असफल हुन्छन् । तर यी सबै घटनामा फ्य्राङ्क फस्दछ । यी सबै भ्रममा ऊ मारिन्छ ।

फ्य्राङ्कको मृत्युपछि पनि स्कारलेटलाई धेरै फरक पर्दैन । केही दिनपछि रेट बटलरले स्कारलेटसँग विवाह गर्ने प्रस्ताव गर्छ । यसपछि स्कारलेट तुरुन्तै ऊसँग विवाह गर्न तयार हुन्छिन् । विवाह भएपछि उनीहरू दुवै न्यू अर्लियन्स जान्छन् र त्यहाँ धेरै सुखपूर्वक सुहागरात मनाउँछन् । यता एटलान्टा शहरमा उनीहरूको एउटा धेरै ठूलो र सुन्दर घर बनिरहेको थियो । स्कारलेट सुहागरात मनाइसकेपछि आफ्नो घरमा आउँछिन् । यहाँका धनी याङ्कीहरू उनको पार्टीमा जान्छन् र उनीसँग मित्रता कायम गर्छन् । त्यसकारण स्कारलेटको छवि उनको नातेदार र समाजमा धेरै खराब हुन्छ । किनकि एक समयमा दुश्मन रहेका याङ्कीसँग उनले मित्रता गरेकी थिइन् । यद्यपि स्कारलेटलाई यसबाट कुनै फरक पर्दैन । उनलाई त जिन्दगीमा केवल पैसा चाहिएको थियो, किनकि उनी पैसाबाट नै असल जीवन बन्न सक्छ भन्ने ठान्थिन् ।

यता स्कारलेट पुनः रेट बटलरबाट गर्भवती हुन्छिन् । पछि उनले छोरी जन्माउँछिन्, जसको नाम बोनी राखिन्छ । छोरी जन्मिएपछि रेट बटलर धेरै खुशी हुन्छ, किनकि बोनी बिल्कुल स्कारलेट जस्तै थिइन् । उनी त्यस्तै सुन्दर, बहादुर र जीवन्त थिइन् । ऊ बोनीलाई लिएर धेरै घुमफिर गर्छ । किनकि ऊ स्कारलेटलाई जसरी नै आफ्नी छोरीलाई पनि बहिस्कार नगरियोस् भन्ने चाहन्थ्यो ।

एक दिन बटलरले बोनीलाई घोडचढी सिकाइहेको थियो र घोडाबाट ‘जम्प’ गराइरहेको थियो । बोनी पनि अतिचतुर थिइन् । उनी गेटलाई माथि-माथि लगिरहेकी थिइन् । यसपछि उनको घोडा डग्मगाउँछ र पछारिन्छ । बोनको गलाको हड्डी भाँचिन्छ र त्यहीं उनको मृत्यु हुन्छ ।

बोनीको मृत्युले रेट बटलरलाई क्षतविक्षत बनाइदिन्छ । दुई दिनसम्म ऊ बोनीको लाशलाई लिएर कोठा बन्द गरेर बस्छ । मेलेनीले सम्झाएपछि उसले उनको अन्तिम संस्कार गर्छ । तर अब ऊ धेरै रिसले भरिएर सधैं चिडचिडाउँछ र मदिरा पिएर नशामा डुबिरहन लाग्छ । ऊ स्कारलेटप्रति पनि धेरै कठोर हुन्छ । अब ती दुवैको बीचमा धेरै लडाइँ हुनलाग्छ र उनीहरूको वैवाहिक जीवन धेरै कष्टदायक हुन्छ ।

रेट बटलरलाई पटक-पटक अझै पनि स्कारलेटले एशलेसँग प्रेम गर्छिन् भन्ने लाग्थ्यो । उनीहरू बसेर खाना खाँदा पनि उनी एशलेकै कल्पना गर्छिन् भन्ने लाग्छ । स्कारलेट पहिले एशलेको बारेमा यस्तै सोच्छिन् तर यतिबेलासम्म ऊ उनको केवल असल मित्र बनेर रहेको छ । एक दिन उनी काठ मिलमा एशलेसँग भेट गर्न जान्छिन् । उनीहरू त्यहाँ साथीको रूपमा एक-अर्कोलाई बिदाई गर्दै अङ्गालो मारिरहेका थिए । त्यहीबेला एशलेकी बहिनी इन्डिया विल्क्स अफिस आउँछिन् । यसपछि एशलेले तुरुन्तै धक्का दिएर स्कारलेटलाई हटाइदिन्छ । तर इन्डियाले यी दुवैको मामिला अझै पनि चलिरहेको छ भनेर शङ्का गर्छिन् । त्यसपछि उनले सबैतिर यो कुरा फिजाउँछिन् । यसबाट स्कारलेटको धेरै बेइज्जत हुन्छ ।

मेलेनीले आश्चर्यजनक रूपले यो कुरालाई अस्वीकार गर्छिन् । उनी भन्छिन्, यस्तो केही पनि होइन । मलाई थाहा छ स्कारलेट र एशलेको बीचमा यस्तो केही पनि छैन । मेलेनीलाई सबै कुरा थाहा थियो, तर पनि उनले अन्तसम्म स्कारलेटलाई नै साथ दिन्छिन् ।

अब मेलेनी पुनः गर्भवती हुन्छिन् । तर उनको पहिलो गर्भपछि उनी यति कमजोर भएकी थिइन् कि दोस्रो पटक गर्भवती हुँदा उनले बच्चालाई जन्म दिंदादिंदै मृत्युको सँघारमा पुग्छिन् । उनी आफ्नो अन्तिम समयमा स्कारलेटसँग भेट्छिन् । त्यसपछि उनलाई भन्छिन्, रेट बटलर धेरै झगडालू भएको छ, धेरै मदिरा पिउँछ तर उसले तिमीलाई धेरै प्रेम गर्छ । मलाई यो कुरा थाहा छ । किनकि छोरीको मृत्यु भएको बेला म रेट बटलरलाई भेट्न जाँदा तिमीलाई सम्झेर रोइरहेको थियो । ऊ भनिरहेको थियो – म स्कारलेटलाई धेरै मन पराउँछु तर उनी त एशलेलाई मन पराइरहेकी छिन् । यद्यपि बटलर एशलेको नाम लिंदालिंदै रोकिएको थियो । तर पनि मेलेनीले सबै कुरा बुझेकी थिइन् । मेलेनीले स्कारलेटलाई आफ्नो मृत्युपछि एशलेको हेरविचार गर्ने बाचा गराउँछिन् । यति भनेपछि उनको मृत्यु हुन्छ ।

मेलेनीको मृत्युपछि स्कारलेटमा विचित्र परिवर्तन आउँछ । उनी अब के बुझ्न लाग्छिन् भने एशलेसँग त मैले कहिल्यै प्रेम नै गरेको थिइनँ, किनकि एशलेलाई मैले कहिल्यै बुझ्न नै सकिनँ । एशले बाहिरबाट जति बहादुर देखिन्थ्यो, भित्र धेरै डरपोक थियो । स्कारलेटले खुलेर कहिल्यै पनि प्रेमको अभिव्यक्ति दिन सकिनन् । न उनले रेट बटलरलाई नै कहिल्यै बुझ्न सकेकी थिइन् ।

सच्चाईलाई बुझेपछि स्कारलेट खुशीपूर्वक रेट बटलरलाई तिमी नै मेरो सच्चा प्रेम हौं भन्ने कुरा बताउन आफ्नो घर गइरहेकी थिइन् । तर अवस्था अब पहिलेको जस्तो थिएन । रेट बटलर उदास भएर बसेको छ र पटक-पटक ‘मेलेनी एक महान युवती थिइन् र छिट्टै यो संसारबाट गइन्’ भनिरहन्छ । स्कारलेट उसलाई ‘म तिमीलाई अति धेरै माया गर्छु’ भन्न चाहन्छिन् तर बटलर अब स्कारलेटसँग प्रेम गर्दैन । ऊ स्कारलेटलाई भन्छ, अब म महिनौंको लागि यहाँबाट गइरहेको छु । यद्यपि म तिमीलाई भेट्न बीच-बीचमा अवश्य आउनेछु; किनकि दुनियाँले तिमीलाई पतिले छोडेको नभनून् । तर ऊ स्कारलेटसँग प्रेम बिल्कुल गर्दैन ।

स्कारलेटले उसलाई पटक-पटक भन्छिन्, म तिमीलाई धेरै माया गर्छु । हो, मेलेनीले भनेपछि तिमीले यो कुरा बुझ्यौं । एशलेले धक्का दिएर हटाएपछि तिमीले यो कुरा बुझ्यौं । तर यति धेरै वर्षमा तिमीले स्वयंले बुझ्न सकिनौं कि म तिमीलाई कति धेरै माया गर्थेँ । यसपछि बटलर स्कारलेटलाई त्यसरी रोईकराई गरिरहेको अवस्थामा छोडेर घरबाट निक्लिन्छ ।

स्कारलेट यसबारेमा म अहिले सोच्दिनँ भन्ने कुरा महसूस गर्छिन् । स्कारलेट दुःखी हुँदा भन्थिन्, अहिले म यस बारेमा सोच्दिनँ, भोलि सोच्नेछु । अब स्कारलेट आफ्नो सामान प्याक गर्छिन् । अब उनी आफ्नो गाउँ टारा जाने कुरा सोच्छिन्; सधैंदेखि आफ्नो रहेको जमिनमा जाने कुरा सोच्छिन् । र, कुनै न कुनै तरीकाले रेट बटलरलाई मनाएर आफ्नो जिन्दगीमा ल्याउने कुरा सोच्छिन् । यो कुरामा उनी आफूमाथि विश्वास गर्छिन् । यहीं आएर उपन्यासको अन्त्य हुन्छ ।

सन्दर्भ स्रोतहरू
1. https://ia601404.us.archive.org/23/items/in.ernet.dli.2015.475696/2015.475696.Gone-With.pdf
2. Study and Research of various websites, blogs, online portals, youtube channels, etc.
3. https://www.shmoop.com/study-guides/literature/gone-with-the-wind/summary
4. https://www.litcharts.com/lit/gone-with-the-wind/summary
5. https://www.sparknotes.com/lit/gonewith/summary/
6. https://www.ebsco.com/research-starters/literature-and-writing/gone-wind-margaret-mitchell
7. https://www.atlantahistorycenter.com/margaret-mitchell-house
8. “The Scarlett Letters: The Making of the Film Gone with the Wind” (2014)