फ्रेडरिक स्टुडम्यान

जब पुरस्कार र विवादको कुरा आउँछ, बुकर पहिलो पंक्तिमा परिहाल्छ । गएको साता यस वर्षको बुकर पुरस्कारको छोटो सूची निस्कनेबित्तिकै विवादमा परिहाल्यो । यसको मूल कारण चाहिँ हिलारी मन्टेलको बहुचर्चित शृंखला उपन्यास छोटो सूचीमा नपर्नु नै थियो । यो सूचीमा अधिकांशतः महिला नै छनोटमा परे । जति पनि उपन्यासहरू यो सूचीमा थिए, ती प्रायः स्वतन्त्र प्रकाशकले प्रकाशन गरेका थिए । केही ठूला प्रकाशकहरूले आफ्ना उपन्यास किन छोटो सूचीमा नपरेका होलान् भनेर झिनो स्वरमा आश्चर्य व्यक्त गरे । त्यो भन्दा पनि ठूलो कुरा चाहिँ छोटो सूचीमा परेका अधिकांश लेखकहरू चाहिँ अमेरिकाबासी नै छन् ।

छोटो सूचीमा रहेका ६ मध्ये पाँच जना अमेरिकी वा अमेरिकामा आफ्नो आधार बनाउनेहरू छन् । बेलायतमा जन्मिएका डग्लस स्टुआर्ट पनि लामो समयदेखि न्युयोर्कमा नै बसिरहेका छन् । यस हिसाबले ६ जना नै अमेरिकालाई आधार बनाएका वा त्यहाँको नागरिकता लिएका वा त्यहाँ नै सबै काम गर्ने व्यक्तिहरू परे ।

यस हिसाबले बेलायतको सबैभन्दा प्रतिष्ठित पुरस्कार अमेरिकाको पोल्टोमा पुग्नु आश्चर्य बन्न पुगेको छ । के अब अंग्रेजीको सबैभन्दा उम्दा सिर्जनाको केन्द्र अमेरिका बनेको हो ? बेलायती सिर्जन क्षमता घटेको हो ? वा पुरस्कार लायक चिज सिर्जना गर्न बेलायत अब अक्षम भएको हो ?

सात वर्षअघि मात्र बुकर पुरस्कारका आयोजकहरूले बेलायत, आयरल्यान्ड, कमनवेल्थ तथा जिम्बाबेजस्ता मुलुकबाट अंग्रेजीमा लेख्ने जोसुकै यो पुरस्कारको हकदाबी गर्न सकिने नियम बनाइएको थियो । त्यो बेला नै धेरैले यस कार्यको विरोध गरेका थिए । यसको कारण थियो, बेलायतको सबैभन्दा प्रतिष्ठित पुरस्कारले आफ्नो बेलायती पहिचान मेटेर संसारकै अंग्रेजी उपन्यासलाई ठाउँ दिने भनी वैश्विक पुरस्कार बन्ने सपना पाल्यो । जसले बेलायती लेखकहरूलाई कुनै पनि रूपमा प्रोत्साहित गर्ला भन्नेमा शंका थियो । यसो गर्दा बेलायतकै नाम रहने केहीको टिप्पणी थियो तर समय क्रमले पुरस्कारले बेलायती पहिचानलाई वा बेलायती साहित्यलाई विश्वव्यापि बनाउन भने भूमिका खेल्ने कुरामा जुन शंका पहिला व्यक्त गरिएको थियो, आखिरीमा त्यो शंका सही थियो कि भन्ने प्रमाणित हुँदै जान थालेको त होइन ?

बरू यसले अमेरिकी साहित्यको प्रभावलाई अझ सशक्त बनाएको पो हो कि ? सांस्कृतिक रूपमा अमेरिकालाई अझ बढी बलियो बनाएको पो हो कि ?

अमेरिकी साहित्य र पत्रकारितालाई बढावा दिन त्यहाँ पुलित्जर पुरस्कार छ । त्यसको प्रभाव पनि कम छैन । पुलित्जर पुरस्कार प्राप्त साहित्य रातारात हट केक हुन पुग्छ । अब त्यही भूमिका बुकर पुरस्कारले गरिरहेको छ, अमेरिकीहरूलाई पुरस्कृत वा सूचीमा लामबद्ध गराएर । यहाँ बेलायती स्वार्थ कहाँनेर पूरा हुन्छ होला त ?

‘अब त बुकर पुरस्कार पूरै अमेरिकी भइसक्यो,’ यसअघि बुकर पुरस्कारका निर्णायक रहेका एक साहित्यकारले चिन्तामिश्रित स्वरमा भने, ‘बुकर पुरस्कार केका लागि स्थापना गरिएको थियो भन्ने कुरा बिर्सिइन थालिएको छ ।’ शायद यही कारणले हुनसक्छ, बेलायती साहित्यवृत्तमा नयाँ साहित्य पुरस्कार स्थापनाको आवश्यकता महसुस गर्न थालिएको छ ।

पुरस्कारमा बेलायतीपन खोज्नेहरूमा भने एक किसिमको समस्या छ किनभने यसअघि पनि जब कमनवेल्थ, आयरल्यान्ड तथा जिम्बाबेजस्ता मुलुकका अंग्रेजीमा लेखिएका आख्यानहरू धेरै पटक पुरस्कृत भएका छन् । त्यस्तो बेलामा उनीहरूले सोचेजस्तो बेलायतीपन त्यो बेला किन खोजिएन त ? सायद यो पुरस्कार धेरै वर्षसम्म आयरल्यान्ड र भारतका साहित्यकृतिले पाउँदासम्म बेलायतीहरूलाई खासै खतराको अनुभूति नभएको हुनसक्छ किनभने ती सांस्कृतिक रूपमा बेलायतलाई चुनौती दिने अवस्थामा छैनन् भन्ने लागेको हुनसक्छ । अमेरिकी साहित्यलाई पुरस्कारमा समावेश गराउने नीति सात वर्षअघि घुसाइएपछि र केही प्रभावशाली उपन्यासले पुरस्कार हात पार्न थालिसकेपछि भने बेलायतीपनको खोजी शुरू हुन थालेको बुझ्न कठिन छैन । यसपालि त झन् अमेरिकीहरू मात्रै पुरस्कारको सूचीमा खाँदाखाँद परेपछि केहीमा चिन्ता देखिनु स्वाभाविक हो ।

बुकर पुरस्कारको अन्तर्राष्ट्रिय ख्यातिका कारण यसको व्यापार विश्वव्यापि नै हुने गरेको छ । हजार प्रति बिक्री हुने पुस्तकहरू एकाएक लाखौँमा उक्लिन थाल्छन् । ससाना खुद्रा पैसामा रमाइरहेका लेखकले पुरस्कार हात पारेपछि पुरस्कार रकमको हजारौँ पाउन्ड र त्यसपछि अचानकै बिक्री बढ्ने र त्यसबाट लाखौँ रोयल्टी हात पार्ने हुनाले केहीमा ईर्ष्या पनि उत्तिकै बढाउने गर्छ । त्यस हिसाबले बुकर पुरस्कार बेलायती हातबाट उम्कियो भन्नु एक किसिमको ईर्ष्या पनि हुनसक्छ ।

तर पुरस्कार रहुञ्जेल विवाद त रहिरहन्छ । विवाद हुनु भनेको पुरस्कारको महत्त्व देखिनु पनि हो । अहिलेको शान्त तलाउमा जुन तरंग छ, केही समयपछि शान्त हुने नै छ ।

(फाइनान्सियल टाइम्सबाट)