काका

मूलः चू यू सु
अनुवादः गोविन्द गिरी प्रेरणा

मेरो नाउँ ओके हे हो। उमेर लगभग छ वर्ष । हाम्रो परिवार‌मा हामी केवल दुई जना छौं- म र मेरी आमा । ओहो! पख्नुस्, एकजना अर्को मानिस पनि हुनुहुन्छ । मेरो नयाँ काका। उहाँ कहिल्यै घरमा बस्नुहुन्न । जहिले पनि बाहिरै बस्नुहुन्छ।

मेरी आमा राम्री हुनुहुन्छ । आमा चौबीस वर्षकी हुनुहुन्छ। तर उहाँ विधवा हुनुहुन्छ । हजुर आमाले भन्नु भएको थियो- मेरो बा स्कूलमा शिक्षक हुनुहुन्थ्यो । एकदिन बा हामीबाट टाढा जानु भयो। मैले बालाई कहिल्यै देख्न पाइनँ । एकपल्ट तस्वीर भने देख्न पाएँ। उहाँ साह्रै राम्रो लागेथ्यो । आमालाई एउटा यस्तो मानिसको आवश्यकता थियो, जसले उहाँको यता उताको काममा सहयोग गरोस् । त्यसैले नयाँ काका आउनु भएको थियो ।
एकदिन बाहिर खेलेर घर फर्किंदा मेरो ठूलो मामा बरण्डामा बसेर कोही सज्जनसँग कुराकानी गरिरहनु भएको थियो। मामाले मलाई अभिवादन गर्न भन्नु भयो । अनि उहाँलाई भन्नु भयो- “यी मेरी भाञ्जी ! क्यूँग सनकी छोरी !” म लाजले भुतुक्कै भएँ ।

“ओके हे! यहाँ आऊ ! तिम्रो आँखा त ठ्याम्मै तिम्रो बाको जस्तै रहेछ,” ती सज्जनले भने ।

म चूपचाप उभिरहें।

पछि मलाई बाको ती साथी हाम्रै घरमा बस्नुहुन्छ भन्ने थाहा पाएर धेरै प्रशन्नता भयो ।

मैले नयाँ काकालाई यसअघि कहिल्यै देखेकी थिइनँ तर उहाँ मप्रति अत्यन्तै आत्मिय हुनुहुन्थ्यो । गाउँका ठूला मानिसहरू भन्थे- काका मेरो बाको असाध्यै घनिष्ठ साथी हुनुहुन्थ्यो र कहीं टाढाको कलेजबाट पढेर आउनु भएको थियो। मलाई यो पनि थाहा भयो, उहाँ गाउँकै स्कूलमा पढाउन आउनु भएको थियो । गाउँमा होटेल थिएन । त्यसैले हाम्रो घरमा डेरावालको रुपमा बस्न आउनु भएको थियो।

नयाँ काकासँग तस्वीर भएका थुप्रै पुस्तकहरू थिए। जब म उहाँको कोठामा जान्थें, उहाँ मायाँ गरेर मलाई ती तस्वीरहरू देखाउनु हुन्थ्यो। एकदिन दिउँसो खाना खाएर उहाँको कोठामा गएँ । उहाँ खाना खाँदै हुनुहुन्थ्यो । उहाँले मलाई भातबाहेक अरु के के मन पर्छ भनी सोध्नु भयो । मैले उहाँलाई कुखुराको फुल मन पर्ने कुरा बताएँ ।

उहाँले हाँसेर भन्नुभयो, “मलाई पनि कुखुराको फुल मन पर्छ।” पछि उहाँले नाईं भन्दाभन्दै पनि मैले यो कुरा आमालाई भनिदिएँ। त्यसपछि आमाले कुखुराको फुल खूब किन्न थाल्नु भयो ।

अब म स्कूल जान थालें। मेरी शिक्षिका पियानो असाध्य राम्रो बजाउनु हुन्थ्यो। हाम्रो घरमा पनि पियानो थियो तर आमाले त्यो बजाएको कहिल्यै सुनेकी थिइनँ। यसैले सोधें, “आमा ! तपाईं पियानो बजाउनु सक्नु हुन्छ ?”

आमा अचानक उदास हुनुभयो र भन्नु भयो, “यो पियानो तिम्रा बाले मलाई किनिदिनु भएको थियो । तर जब उहाँ हामीबाट टाढा हुनुभयो, त्यसपछि मैले यो छोएकी छैन ।” यति भन्दाभन्दै उहाँले रुञ्चे अनुहार लगाउनु भयो ।

मलाई बाहिरको कोठामा गएर नयाँ काकासँग कुरा गर्न मन लाग्यो। तर बारम्बार त्यहाँ गएर दुःख नदेऊ भनेर आमाले जान दिनु भएन । वास्तवमा म उहाँलाई दुःख दिन्नथें । बरु उहाँ नै मलाई दुःख दिनु हुन्थ्यो। हाम्रो घरमा बसेको एक महिना भइसक्दा पनि उहाँ प्रायः यस्तो भन्नु हुन्थ्यो, “तिम्रा आँखा ठ्याम्मै तिम्रो बाको जस्तै छ तर यो सुन्दर नाक र ओठ चाहिँ तिम्रो आमाको होला जस्तो छ।”

मैले सोधें, “तपाईंले मेरी आमालाई देख्नु भएको छैन र !”

काका चूप लाग्नु भयो । मैले भनें, “आउनोस्, आमालाई हेर्न भित्र जाउँ !”

उहाँले भन्नु भयो, “आज होइन, मेरो जरूरी काम छ।”

एकदिन म काकासँग पहाडतिर घुम्न गएँ । फर्कंदा बाटोमा मेरा केही साथीहरू भेटिए । तीमध्ये एउटीले भनी, “हेर, ओके हे आफ्नो बासँग जाँदैछे ।”
मलाई लाज लाग्यो । सोच्न थालें, “साँच्चै काका मेरो बा भैदिनु भएको भए !”

मैले यो कुरा काकालाई पनि भनिदिएँ ।

काकाको अनुहार रातो रातो भयो र भन्नु भयो, “तिमीले यस्तो कुरा भन्नु हुँदैन ।”

अर्को दिन, आइतवारको दिन थियो । मैले गीर्जाघर जानलाई लुगा लगाएँ । आमा पनि तयार भइरहनु भएको थियो। काका अझै पनि रिसाउनु भा’छ कि भनेर म उहाँको कोठामा गए। उहाँ केही लेख्दै हुनुहुन्थ्यो । उहाँले मतिर हेर्दै भन्नु भयो, “तिमी त कति राम्री देखिएकी ! कहाँ जाँदैछौ ?”

“म आमासँग गीर्जाघर जाँदैछु।”

त्यतिबेला मलाई आमाले बोलाउनु भयो । मलाई जानै प-यो । हामी गीर्जाघरमा पुग्दा मैले काकालाई त्यहाँ बसिरहेको देखें। मलाई असाध्य जाती लाग्यो। काकाले अरुले झैं टाउको निहुराउनु भएको थिएन । बरु यताउति हेर्दै हुनुहुन्थ्यो। जब मैले विस्तारै आमालाई काका पनि यहाँ हुनुहुन्छ भनें, आमाको अनुहार एकदम रातो भयो ।

एकदिन स्कूलबाट घर फर्किरहँदा आमालाई खुशी पार्न मैले दुइ‌टा फूल चोरेर ल्याएँ । आमाले सधैं झैं मलाई अँगालो हाल्नुभयो र भन्नु भयो, ” कति राम्रा फूल ! कहाँबाट ल्यायौ ?”

मलाई सत्य कुरा बोल्न डर लाग्यो । अनायासै मैले भनें, “काकाले यो फूल तपाईंलाई दिन भन्नुभयो अनि ल्याएको।”

आमाले टकटकी बाँध्नु भयो । उहाँको अनुहार गुलाफझैं रातो भयो । केहीबेरपछि आमाले काँप्दै भन्नु भयो, “तिमीले यस्ता चिज ल्याउनु नपर्ने !”

मैले सोचेकी थिएँ, आमाले फूललाई बाहिर फ्याँकी दिनुहोला तर ती फूल माथिको कोठामा पियानोमाथि राखेका फूलदानमा राखिदिनु भयो। ती फूल कयौं दिनसम्म त्यहीं रहे। यहाँसम्म कि फूलको अन्तिम पत्र पनि ओइलायो । त्यसपछि आमाले तीमध्ये केही पत्र धार्मिक पुस्तकभित्र राखिदिनु भयो ।

एकदिन साँझ म नयाँ काका भेट्न गएँ । जब म उहाँको काखमा बसेर तस्वीर भएका किताब हेर्दै थिएँ, तब काका पियानोको आवाज सुनेर आश्चर्यचकित हुनुभयो । आवाज हाम्रो घर‌को भित्री कोठाबाट आएको थियो। म दौडिंदै भित्री कोठामा हेर्न गएँ । त्यहाँ उज्यालो थिएन । तर चन्द्र‌माको उज्यालोमा सेता कपडा लगाएर पियानो बजाइरहनु भएकी आमा देखें । फेरि आमाले गाउन पनि शुरु गर्नु भयो । तर केहीबेरपछि उहाँ फेरि उदास हुनु भयो ।

एक साँझ काकाले मलाई एउटा खाम दिनुभयो। काकाले मलाई भन्नुभयो, “खामभित्र बितेको महिनाको डेरा बहाल र खानाको खर्च छ ।” यो खाम आमाको लागि थियो। जब मैले खाम आमाको हातमा दिएँ, तब आमाको अनुहार सेतो भयो । तर जब मैले आमालाई काकाले बितेको महिनाको डेरा बहाल र खानाको खर्च पठाउनु भएको कुरा बताएँ, तब उहाँले सन्तोषको सास फेर्नु भयो । सेतो कागजको एक टुक्रा पनि त्यहाँ थियो। पहिला त उहाँ रोकिनु भयो तर पछि उहाँले खोलेर पढ्नु भयो। मलाई थाहा थिएन, त्यहाँ के लेखिएको थियो। तर मलाई निश्चय नै यति थाहा छ, आमाको हात कामिरहेको छ र उहाँको मुख रातो भएको छ। केही बेरपछि आमाले कागजलाई पट्याउनु भयो र त्यो नोटसँगै खाममा हालेर सामान राख्ने टोकरीमा राख्नुभयो।

“छोरी ! तिमी जन्मनुअघि नै तिम्रा बा बिते। अब उहाँ यो संसार‌मा हुनुहुन्न । तर तिमीले नयाँ बा बनाउनु हुन्न । यदि तिमीले कसैलाई नयाँ बा बनायो भने हामीलाई साराले छिःछि: गर्नेछन् । तिम्रा साथीहरू तिमीलाई हेरेर हाँस्नेछन् र तिमी कुनै राम्रो केटोसँग बिहा गर्न सक्ने छैनौ । तिमी जतिसुकै असल र लायक भए पनि सक्ने छैनौ । ओके हे, तिमी मलाई छोडेर नजाऊ। मेरो जीवनभर तिमी आफ्नी आमासँग बस्नेछौ । भन, तिमी मलाई कति मायाँ गर्छौ ?”

“यत्ती !” मैले आफ्ना दुवै हात फैलाएर भनें ।

“त्यही साँझ आमाले बोलाएर मेरो कपाल काँङ्गियोले कोरिदिनु भयो र नयाँ कपडा लगाइदिनु भयो । जब मैले सोधें, ‘म कहाँ जाने हुँ ?’ तब आमाले एउटा पट्याएको रुमाल पियानोबाट उठाउनु भयो र मलाई दिंदै भन्नु भयो, “यो नयाँ काकाको रुमाल हो । उहाँलाई दिएर सिधै यहाँ आऊ ।”

मैले रुमाल हातमा लिँदा मलाई लाग्यो कि त्यस‌मा पट्याएको कागजको टुक्रा पनि छ । मैले त्यसलाई काकाको हातमा दिएँ । मलाई उहाँको व्यवहार बदलिएको झैं लाग्यो। उहाँ हाँस्नु पनि भएन ।

यो घटनापछि काका बद्‌लिएझैं लाग्नु भयो । उदास र दुःखी देखिन थाल्नुभयो । उहाँ अब त्यति धेरै बोल्नु पनि हुन्थेन । टकटकी लगाएर मलाई हेरिरहनु हुन्थ्यो । र, एकदिन उहाँले हाम्रो घर छाडेर जानु भयो । मैले आमासँग धेरै सोधें, काका किन जान लाग्नु भएको हो तर उहाँले कुनै उत्तर दिनु भएन, उहाँले धार्मिक गीतको पुस्तक खोल्नु भयो । त्यसबाट सुकेका फूलका पातहरू निकालेर भन्नु भयो, “यसलाई बाहिर फ्याँकिदेऊ ।”
आमाले त्यस दिनपछि कुखुराको फुल पनि किन्न छाड्नु भयो ।
०००