विश्वप्रसिद्ध साहित्यकार फ्योदोर दोस्तोयेभ्स्की (१८२१-१८८१) को एउटा चर्चित दार्शनिक उपन्यास हो ‘नोट्स फर्म अन्डरग्राउण्ड’ । दोस्तोयेभ्स्की रूसी साहित्यकार हुन् र उनी विश्व साहित्यमा पनि एक महान् उपन्यासकारका रूपमा चिनिन्छन् । उनको लेखनमा मानव मनोविज्ञान, दार्शनिक गहनता र सामाजिक विसङ्गगतिहरूमाथि टिप्पणी हुन्छ । उनको जीवन पीडा, सङ्घर्ष र सामाजिक अनुभवले भरिएको थियो । यसकारण उनका रचनामा गहिरो मानवीय अन्तर्दृष्टि र दार्शनिक गहिराई पैदा भएको पाइन्छ । उनको जन्म मस्कोमा भएको थियो । प्रारम्भिक जीवनमा उनले सैन्य सेवामा बिताए तर साहित्यप्रतिको रुचिले उनको जीवनमा मुख्य स्थान राख्थ्यो । जारको विरुद्धमा एउटा क्रान्तिकारी सङ्गठनमा जोडिएको कारणले उनलाई सन् १८४९ जेल सजाय दिइएको थियो र झण्डै मृत्युदण्डसमेत दिइएको थियो । जेल र यातनापछि उनको जीवन बदलियो र उनले मानव हृदयको गहिरालाई बुझ्ने दृष्टिकोणको विकास गरे ।

मुक्तिपछि दोस्तोयेभ्स्की धेरै गरीवी र मानसिक तनावबाट गुज्रिए । यसकारण उनको लेखन अझ धेरै प्रभावकारी भयो । उनले आफ्ना उपन्यासहरूमा मानव हृदयको द्वन्द्व, नैतिक सङ्घर्ष, पाप र मुक्तिका कथा प्रस्तुत गरेका छन् । उनका प्रमुख कृति ‘क्राइम एण्ड पनिशमेन्ट’ (१८६६), ‘द ब्रदर कारामाजोभ’ (१८८०) र ‘नोट्स फर्म द अण्डरग्राउण्ड’ (१८६४) लाई विश्व साहित्यमा अमूल्य योगदान मानिन्छ । ‘क्राइम एण्ड पनिशमेन्ट’ मा अपराध, अपराधबोध र प्रायश्चितको खोजी गर्ने प्रयास गरिएको छ । ‘द ब्रदर्श कारमाजोभ’ परिवार, विश्वास र मानव स्वभावमा आधारित एक गहन दार्शनिक कृति हो । उनको लेखनशैलीमा रूसी समाजको वास्तविकता, मनोवैज्ञानिक त्रासदी र दार्शनिक चिन्तनको गहिरो प्रभाव परिलक्षित हुन्छन् । उनले यथार्थ र आदर्शको बीचमा हुने जटिल सम्बन्धलाई सुन्दरतापूर्वक पक्रिनुका साथै अस्तित्ववादको आधार पनि राखे । दोस्तोयेभ्स्कीको जीवन उनीसँग जोडिएका राजनीतिक पाबन्दी, सामाजिक उथलपुथल, आर्थिक सङ्कट र गहन दार्शनिक चिन्तनले भरिएर रह्यो । यसैले गर्दा नै उनी एक महान् सहित्यकारको रूपमा परिचित भए ।

‘नोट्स फर्म द अन्डरग्राउण्ड’ उपन्यास दुई भागमा विभाजित छ । पहिलो भागले भूमिगत व्यक्तिका विचार र उसका दार्शनिक व्याख्यालाई उल्लेख गरेको छ । यसमा उसले मानिसको स्वतन्त्र इच्छा र तर्कको बीचको टकरावलाई दर्शाउँछ । उसको मान्यताअनुसार मानिस कुनै गणितीय सूत्र समान हुँदैन; कुनै पनि नियम वा तर्कले उसको इच्छालाई पूर्ण रूपमा नियन्त्रित गर्न सक्दैन ।

दोस्रो भाग भूमिगत व्यक्तिका स्मरण र जीवनका केही घटनाहरूमा आधारित छ । यसमा उसका पूर्वसाथी, उसको एक्लोपना र समाजबाट अस्वीकृतिको पीडाको चित्रण छ । ऊ आफ्ना पुराना साथीलाई भेट्न जान्छ तर ऊ त्यहाँ अपमान र तिरस्कारको शिकार हुन्छ । अन्तमा उसले लीजालाई भेटेपछि उनलाई अपनाउने इच्छाले ऊभित्रको जटिल मनोभावनालाई उजागर गर्छ र ऊ यसमा असफल हुन्छ । अन्ततः ऊ एक्लो रहन्छ ।
यो उपन्यासले मानव आत्माको सबभन्दा अँध्यारो, जटिल र दर्दनाक हिस्सालाई उजागर गरेको छ । भूमिगत व्यक्ति आफैँ भित्रको अन्तर्विरोधमा फसेको छ । उसमा एकतिर आत्मस्वीकृतिको चाहना छ भने अर्कोतिर आत्मघृणा र स्वयंलाई बर्बाद बनाउने प्रवृत्ति छ । यो उपन्यासले के दर्शाउँछ भने मानिस तर्कशील हुनुका साथसाथै प्रायः आफ्नो हठ र विद्रोहका कारण उसले स्वयंलाई नोक्सान पुर्‍याउँछ, जुन कुनै गणितीय प्रसङ्गभन्दा पर हुन्छ ।

यो उपन्यासको सबभन्दा महत्त्वपूर्ण विषय स्वतन्त्रता हो । यो स्वतन्त्रताले सामान्य तर्क र नियमभन्दा पर एक मुक्त इच्छाको कुरा गर्छ, जुन कहिलेकाही स्वयंको विनाशको कारण पनि बन्न सक्छ । भूमिगत मानिसको यो अवधारणा त्यो युगको काल्पनिक विचारको कठोर आलोचन हो, जसले मानव व्यवहार पूर्ण रूपमा तर्कशील हुनसक्छ भन्ने मान्थे ।

उपन्यासको मुख्य पात्र भूमिगत व्यक्ति सामाजिक रूपले अस्वीकार्य छ र स्वयंसँग सङ्घर्ष गर्छ । उसलाई आफू भङ्ग भइसकेको कुरा थाहा छ तर त्यसबाट निक्लिने साहस देखाउँदैन । यो अतिविचार र सामाजिक टकरावको व्यथाको चित्रण हो, जुन जीवन जिउनमा बाधक बन्छ । उपन्यासको अन्त कुनै समाधान वा आशातिर बढ्दैन, बरु यसले द्वन्द्व र विखण्डनतिर जोड दिन्छ ।

‘नोट्स फर्म द अन्डरग्राउण्ड’ उपन्यासले मानव मनको सबभन्दा गहन र सबभन्दा अन्धकार तहलाई खोलिदिन्छ । यसमा समाज, संसार र स्वयंलाई पनि घृणा गर्ने एउटा गुमनाम व्यक्तिको कथा छ । ऊ आफैले निर्माण गरेको एउटा मानसिक कैदमा रहन्छ, जसलाई ऊ भूमिगत स्थान भन्छ । यो कथा प्रायः संसारसँग सङ्घर्ष गर्न चाहने र आफ्नो स्वतन्त्रताको लागि व्याकुल सबै मानिसभित्र लुकेको हुन्छ ।

दोस्तोयेभ्स्कीले उपन्यासमा भूमिगत व्यक्तिको माध्यमबाट मानवीय मनलाई धेरै गहिराईपूर्वक विश्लेषण गरेका छन् । उनका अनुसार मानिस देखिएजस्तो सरल हुँदैनन् । मानवभित्र पनि अन्तर्विरोध, कटुता र अधूरा इच्छाहरूले भरिएको संसार हुन्छ । यसमा उनले मुख्य पात्रको आवश्यकताभन्दा बढी आत्मजागरूकतालाई देखाएका छन् । ऊ आफ्नो हरेक विचार तथा भावनालाई देख्न सक्छ र त्यसको विश्लेषण गर्न सक्छ । र, यही चीजले उसलाई कुनै पनि काम गर्नबाट रोक्छ । यसरी उपन्यासको मुख्य पात्र यहाँ आफ्नो विचारको कैदमा बाँचिरहेको हुन्छ ।

मानिसलाई केवल खाना, वस्त्र र घरको मात्र आवश्यकता नभएर उसलाई स्वतन्त्रता, पहिचान र कहिलेकाहीँ मूर्खता गर्ने हक पनि आवश्यक हुन्छ । यदि उसको यो हक खोसियो भने ऊ कुनै पनि हदसमम्म जानसक्छ, त्यसबाट उसले स्वयंलाई बर्बाद पनि गर्नसक्छ । मानव हुनुको अर्थ नै अपूर्ण हुनु, अन्तर्विरोधी हुनु र कहिलेकाहीं तर्कभन्दा पर गएर केही महसुस गर्नु हो । यो उपन्यासमा भूमिगत व्यक्तिको माध्यमबाट दोस्तोयेभ्स्कीले यो कुरा देखाउन खोजेका छन् ।

यो उपन्यासमा के बताइएको छ भने कष्ट नै चेतनाको एकमात्र कारण हो, अर्थात् पीडा नहुन्जेलसम्म वास्तिक रूपमा जागरूक र जीवित नै हुन सकिंदैन । यो धेरै नै चरमपन्थी विचार हो । तर यसले मानव मनको अध्यारो वास्तविकतासँग प्रत्यक्षीकरण गराउँछ । मानिस प्रायः दुःख प्रदान गर्ने चीजहरूसँग टासिएका हुन्छन् । तिनीहरू खराब बानी, खराब नातेदार वा दर्दनाक स्मरण पनि हुनसक्छन् । सम्भवतः त्यही पीडाले नै मानिसलाई पहिचान दिन्छ । मानिसलाई जीवित हुने कुराको महसुस गराउँछ । मानिसलाई धेरै अपमान महसुस हुँदा त्यो अपमानको सागरमा पौडी खेल्न लाग्छ । उसले त्यो अपमानलाई यति महसुस गर्छ कि त्यसले उसलाई एकप्रकारको नसा प्रदान गर्छ । त्यसपछि उसले आफूलाई संसारको सबभन्दा अभागी मानिस ठान्न लाग्छ । र, यो महसुसमा पनि एक विचित्र शान हुन्छ । यहाँ भूमिगत व्यक्तिले जानीबुझीकन नै स्वतन्त्रता र जीवनलाई महसुस गर्नको लागि कष्टलाई छनौट गरेको हुन्छ । उपन्यासमा यही कुरालाई बडो रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

मानिसले कुनै पनि निर्णय लिनुभन्दा पहिले सय पटक सोच्छ; हजारौं पूर्वकार्यको अध्ययन गर्दछ र अन्तमा यति भ्रमित हुन्छ कि केही पनि गर्न सक्दैनन् । उसले नाता-सम्बन्धलाई आवश्यकताभन्दा बढी विश्लेषण गर्छ । आफ्ना हरेक चीजलाई आलोचना गर्छ । यो प्रक्रियामा ऊ जिउन नै भुल्छ । यो उपन्यासमा भूमिगत मानिस मार्फत् यो कुरालाई गहन ढङ्गले प्रस्तुत गरिएको छ ।

समाजमा एकातिर व्यावहारिक मानिस छन् । उनीहरू प्रणाली अनुसार सफलताका खुट्किला चढिरहेका हुन्छन् । अर्कोतिर सम्वेदनशील मानिस हुन्छन् । उनीहरू चिन्तनशील हुन्छन्, प्रणालीमाथि प्रश्न उठाउँछन् र प्रायः उपेक्षामा रहन्छन् । मानिसलाई प्रायः कर्मठ व्यक्तिप्रति जलन पैदा हुन्छ । यसको साथै तिनीहरूको असंवेदनशीलतालाई देखेर उनीहरूलाई घृणा पनि गरिन्छ । आफूलाई भने उनीहरूभन्दा उत्कृष्ट र गहन मानिस ठान्छन् । यो उपन्यासमा यो कुरालाई राम्रोसँग चित्रण गरिएको छ ।

यो उपन्यासमा एक्लोपना र आत्मघृणाले मानिसलाई कुन हदसम्म लैजान सक्छ भन्ने कुराको उजागर गरिएको छ । यसबाट एउटा सामान्य घटनालाई मानिसले विशाल बनाउन सक्छ । यहाँ सम्मान र स्वभाविमानको भावना मानिसको लागि कति आवश्यक छ भन्ने कुरा पनि देखाइएको छ । मानिसलाई आफ्नो कुनै सम्मान छैन भन्ने लागेपछि ऊ त्यसलाई प्राप्त गर्नको लागि कुनै पनि हदसम्म जानसक्छ ।

उपन्यासको मुख्य पात्र भूमिगत मानिसको सबभन्दा ठूलो त्रासदी ऊ दुःखी र एक्लो हुनु होइन; उसको सबभन्दा प्रमुख त्रासदी प्रेमलाई र एक सच्चा मानवीय सम्बन्धलाई दुत्कार्नु हो । उसको लागि संसार केवल तर्क, घृणा र अपमानले मात्र चल्दैन भन्ने कुरा हेर्ने मौका थियो; संसारमा दयाँ, सहानुभूति र प्रेम पनि विद्यमान हुन्छ । यो उपन्यासबाट के बुझिन्छ भने सबभन्दा प्रमुख खतरा बुद्धि वा तर्क नभएर हृदयलाई बन्द गर्नु हो । जब हामी स्वयंलाई अरुबाट कटाउँछौं, तब मात्र हामी वास्तविक भूमिगत स्थानमा कैद हुन्छौं ।

यो उपन्यासको कथाले कुनै पनि पाठकलाई बेचैन बनाउन सक्छ तर यसलाई बेवास्ता गर्न सकिंदैन । यो उपन्यासमा एउटा यस्तो व्यक्तिको यात्रालाई देखाइएको छ, जो समाज, संसार र स्वयंसँग पनि सङ्घर्ष गरिरहेको हुन्छ । उपन्यास एकप्रकारले अन्धकार र निराशाले भरिएको छ । यसलाई पढेपछि अतिचिन्तनबाट उत्पन्न हुने खतरालाई बुझ्न सकिन्छ । भूमिगत व्यक्तिको सबभन्दा प्रमुख समस्या नै उसको अतिचेतना थियो । ऊ हरेक चीजलाई यति बढी विश्लेषण गर्दथ्यो कि उसले जिन्दगी जिउन नै भुलेको थियो ।

यो उपन्यासबाट के शिक्षा प्राप्त हुन्छ भने बुद्धि र चेतना एक हदसम्म मात्र राम्रो हुन्छ; त्यो हामीमा हावी भएपछि त्यसले पंगू बनाउन सक्छ । जिन्दगी दिल र दिमाग दुवैबाट जिउनुपर्छ । कहिलेकाहीँ चीजहरूको बारेमा केवल महसुस गर्नु, कुनै तर्कबिना कदम उठाउनु र परिणामको परवाह नगरी जिउनु पनि आवश्यक हुन्छ ।

यो उपन्यास पढेपछि के बुझिन्छ भने एक्लोपन र अलगावले मानिसलाई भित्रैबाट खोक्रो बनाइदिन्छ । आफूलाई जतिसुकै आत्मनिर्भर र बुद्धिमान ठाने पनि हामीलाई अरूको आवश्यकता हुन्छ । हामीलाई प्रेम, सहानुभूति र स्वीकृतिको आवश्यकता हुन्छ । वास्तविक सुख एक-अर्कोलाई पीडालाई बुझ्नु र साथ दिनुबाट प्राप्त हुन्छ । हामी सबैमा कमीकमजोरी हुन्छन्, हामी सबै गल्ती गर्छौं र हामी सबैमा धेरथोर अहङ्कार, जलन र कटुता हुन्छ । यसबाट भाग्नु वा दबाउनुको सट्टा यसलाई स्वीकार गरियो भने बढी शान्तिपूर्वक जिउन सकिन्छ । वास्तविक स्वतन्त्रता नियमलाई भङ्ग गर्दा वा विनाश गर्दा हुँदैन; यो त सही चीज छनौट गर्दा मात्र प्राप्त हुनसक्छ । हामी पीडाको ठाउँमा प्रेमलाई छनौट गर्न सक्छौं; घृणाको ठाउँमा सहानुभूतिलाई छनौट गर्न सक्छौं र एक्लोपनको ठाउँमा सम्बन्धलाई छनौट गर्नसक्छौं ।

उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा

म एउटा बिरामी व्यक्ति हुँ – एक द्वैषपूर्ण व्यक्ति

उपन्यासको मुख्य पात्र एक भूमिगत व्यक्ति हुन्छ । उसले प्रत्यक्ष रूपमा डायरी लेखे जसरी कुरा गरिरहेको छ । उसको पहिलो वाक्य नै ‘म एक बिरामी व्यक्ति हुँ; म एक द्वैषपूर्ण व्यक्ति हुँ र म एक कुरूप व्यक्ति हुँ’ भन्ने छ । ऊ सम्भवतः कलेजोको बिरामी छ तर ऊ कुनै डाक्टरकोमा जाँदैन । किनकि ऊ धेरै जिद्दी छ र आफैलाई समेत घृणा गर्छ । ऊ आफूले मन नपराएका मानिस र संसारलाई दुःख दिनको लागि आफ्नो उपचार गर्दैन । फरि ऊ स्वयं भन्छ, मेरो यो हर्कतबाट कसैलाई केही फरक पर्दैन; दुःख त केवल मलाई नै भइरहेको छ । यहींबाट यो पात्रको मनको पहिलो अन्तर्विरोध र भ्रम देखा पर्छ ।

भूमिगत व्यक्ति एकै पलमा स्वयंलाई घृणास्पद पनि भन्दछ र ठीक अर्को क्षणमा ऊ आफूलाई वास्तवमा धेरै खराब नभएको र यस्तो हुने कुराको नाटक गरिरहेको भन्छ । यहाँ भूमिगत स्थान कुनै वास्तविक गोदाम वा भू-गृह होइन । यो उसको मनको एउटा अवस्था हो । यो ऊ आफैले आफ्नो लागि बनाएको एउटा मानसिक कैद र अध्यारो कोठा हो ।

ऊ चालीस वर्षको अवकास प्राप्त सरकारी अधिकारी हो । ऊ समाजबाट कटेर एक्लै एउटा सानो कोठामा बस्छ । ऊ मानिसलाई घृणा गर्छ; समाजको कानूनी व्यवस्थालाई घृणा गर्छ; सफलता र इज्जतको संसारलाई घृणा गर्छ । ऊ आफूलाई सबभन्दा बढी बुद्धिमान ठान्छ । यसको साथै स्वयंलाई एक्लोभन्दा बढी केही मान्दैन । यो उसको मनको विचित्र खेल हो । त्यहाँ ऊ एकै समयमा नायक पनि हुन्छ र खलनायक पनि हुन्छ । उसका अनुसार १९औं शताब्दीमा हरेक बुद्धिमान मानिसले यस्तै हुनुपर्छ; अर्थात् एक्लो, समाजबाट कटेको र आफ्नै विचारमा डुबेको । उसको दृष्टिमा बाहिरको संसारमा खुशी र सफल भएका मानिस सबै मूर्ख हुन् । किनकि उनीहरू जिन्दगीको सच्चाईलाई बुझ्नै सक्दैनन् । उसका कुरामा एउटा आश्चर्यजनक कटुता पाइन्छ । ऊ हरेक चीजमा प्रश्न उठाउँछ ।

ऊ भन्छ – म एउटा सरकारी कार्यालयमा काम गर्थेँ र त्यहाँ म धेरै खराब अधिकारी थिएँ । मलाई मानिसहरूबाट घुस लिनमा आनन्द आउँथ्यो । तर यस्तो काम म पैसाको लागि नभएर आफ्नो शक्ति देखाउनको लागि गर्थेँ । अरुलाई निम्तस्तरको देखाउँदा उसलाई एक विचित्र शान्ति प्राप्त हुन्थ्यो । तर ऊ फेरि भन्छ – वास्तवमा म कहिल्यै खराब बन्न सकिनँ; मैले केवल खराब बन्ने प्रयास गरिरहेँ । ऊ एक कायर व्यक्ति हो र ऊ कसैसँग प्रत्यक्ष रूपमा सम्पर्क गर्न सक्दैन । त्यसकारण ऊ आफ्नो मनको भूमिगत क्षेत्रमा लुकेर सम्पूर्ण संसारलाई घृणा गर्छ । ऊ आफ्नै चेतना र आफ्नो बोधलाई एक बिमारी मान्छ । उसका अनुसार बढी सोच्नु, हरेक चीजलाई बुझ्नु एक श्राप जस्तै हो । धेरै नसोच्ने एउटा सामान्य मानिसले सजिलैसँग कुनै पनि काम गर्छ । तर ऊ हरेक चीजको हजारौं अर्थ निकाल्छ । ऊ केही गर्न सक्दैन, आफ्नै विचारहरूको जालमा फसेर केवल सोचिरहन्छ ।
ऊ आफ्नो हरेक विचार तथा भावनालाई देख्न सक्छ र त्यसको विश्लेषण गर्न सक्छ । र, यही चीजले उसलाई कुनै पनि काम गर्नबाट रोक्छ । उसलाई कसैले अपमान गर्‍यो भने त्यसको तुरुन्तै प्रतिक्रिया दिंदैन । ऊ पहिले सोच्नेछ; उसले मेरो अपमान किन गर्‍यो ? के म वास्तवमै अपमानको लायक छु ? यदि मैले यसको बदला लिएँ भने त्यसको परिणाम के होला ? बदला लिनु बुद्धिमत्तापूर्ण काम हो त ? यसरी सोच्दा-सोच्दै ऊ उसले सबै मौका गुमाउनेछ । त्यसपछि घरमा आएर ऊ फेरि आफैलाई म कति कायर छु भनेर गाली गर्नेछ र त्यो अपमानको बारेमा हप्तौं, महिनौंसम्म सोची-सोचीकन स्वयंलाई पीडा दिइरहन्छ । यही नै उसको बिमारी हो; सबै कुरा बुझ्ने बिमारी ।

दुईमा दुई जोड्दा चार हुन्छ र मेरो स्वतन्त्रताको प्रश्न

भूमिगत व्यक्ति भन्छ – विज्ञान र प्रकृतिको नियम भनिने त्यो पर्खाललाई म घृणा गर्दछु; दुईमा दुई जोड्दा चार हुन्छ भन्ने कुरालाई म घृणा गर्दछु । दुईमा दुई जोड्दा त चार नै हुन्छ र यो एक सच्चाई हो । तर यो व्यक्ति गणितको नियमलाई होइन, बरु मानिसलाई एक यन्त्र वा पूर्जा मान्ने सोचप्रति घृणा गर्छ । उसलाई पूर्णतामा सख्त घृणा छ । किनकि उसका अनुसार यस्तो संसारमा मानवताको अस्तित्व हुँदैन, ऊ एउटा पियानोको चाबी वा एउटा यन्त्रको पूर्जा बनेर रहन्छ । उसको आफ्नो कुनै पहिचान र आफ्नो कुनै इच्छा हुँदैन । उसको भनाइ अनुसार, विज्ञानले एकदिन मानिसको हरेक इच्छा र निर्णय पहिलेदेखि नै तय हुने कुरा प्रमाणित गरिदियो भने मानिसले जे गरे पनि उसको दिमागी अवस्थाले यस्तो गर्नको लागि बाध्य बनाउँछ । उसको आफ्नो कुनै इच्छाशक्ति नै हुँदैन । यस्तो अवस्थामा मानिस बाँच्न चाहन्छ त ?
भूमिगत व्यक्ति यस्तो चाहँदैन । उसका अनुसार मानिसको सबभन्दा मूल्यवान चीज उसको आफ्नो इच्छा हो; अर्थात् आफ्नो मर्जीबाट जेसुकै गर्ने स्वतन्त्रता, भलै त्यो काम उसको फाइदाको विरुद्धमा नै किन नहोस् । उसका अनुसार मानिस केवल सुख, शान्ति र फाइदाको पछाडि मात्र दौडिंदैन, उसले कहिलेकाहीँ जानीबुझीकन दुःख, बर्बादी र पागलपनलाई पनि छनौट गर्छ । किनकि ऊ एउटा यन्त्र नभएर एक स्वतन्त्र व्यक्ति हो भन्ने कुरा प्रमाणित गर्न चाहन्छ । ऊ आफ्नो इच्छाको मालिक स्वयं हो ।

उसका अनुसार मानिसलाई हरेक सुखसुविधा दिंदा पनि ऊ यी सबै चीजबाट उदास भएर मूर्खतापूर्ण र विनाशकारी काम गर्नेछ । उसले आफ्नो सुन्दर महलमा आगो लगाइदिन सक्छ वा सबै कुरा तहनहस हुने कुनै काम गर्नसक्छ । उसले यो सबै कार्य कसैले बनाएको नियमको बन्धनमा नरहने उद्देश्यले गर्छ । ऊ आफ्नो इच्छामा बाँच्न चाहन्छ र यही नै उसको वास्तविक विद्रोह हो । उसका अनुसार दुईमा दुई जोड्दा चार हुने नियम राम्रो छ तर कहिलेकाहीँ दुईमा दुई जोड्दा पाँच हुन्छ भन्नु पनि धेरै प्रिय लाग्छ । यो दुईमा दुई जोड्दा पाँच हुने कुरा उसको स्वतन्त्रताको प्रतीक हो । उसको विद्रोहको नारा हो ।

पीडामा पनि आनन्द हुन्छ

भूमिगत मान्छे पीडामा पनि एकप्रकारको आनन्द हुन्छ भन्ने कुरा गर्छ । सबै मानिस पीडाबाट भाग्छन् र त्यसबाट बच्न चाहन्छन् । तर भूमिगत व्यक्ति कुनै सामान्य मानिस हुँदैन । ऊ आफ्नो यो कुरालाई धेरै गहिराईपूर्वक बुझाउँदछ । उसका कुरा सुन्दा यसमा केही सच्चाई छ भन्ने महसुस हुन्छ । ऊ भन्छ – मानिसलाई कुनै पीडा हुँदा उनीहरू रुन्छन् र यो सुनेर घरका मानिस तथा साथीभाई र आफन्त दुःखी हुन्छन्; उनीहरूले सहानुभूति जनाउँछन् । तर स्वयंलाई मान्ने एक ज्ञानी र बुद्धिमान मानिसले आफ्नो पीडामा एकप्रकारको आनन्दको खोजी गर्छ । ऊ भन्छ – उसको रूवाई केवल पीडाको कारणले मात्र नभएर त्यसमा एकप्रकारको विष र एकप्रकारको कटुता पनि मिसिएको हुन्छ । ऊ आफ्नो रुवाईबाट आफ्नो पीडा मात्र नबताएर आफूलाई सुन्नेहरूलाई दुःख दिइरहेको हुन्छ । उसलाई यो कुरामा एक राक्षसी आनन्द आउँछ कि उसको कारणले अरु मानिस हैरान भइरहेका छन्; उनीहरूको शान्ति भङ्ग भइरहेको छ । उनीहरूलाई हैरान बनाइरहेको कुरा पनि उसलाई थाहा हुन्छ र यही बोधले उसलाई एक विचित्र सुख प्रदान गर्छ ।

यो एकप्रकारको मानसिक बदला हो, जुन उसले आफूले घृणा गर्ने संसारसँग लिइरहेको छ । यो केवल शारीरिक पीडाको मात्र कुरा होइन, ऊ त मानसिक र भावनात्मक पीडाको कुरा गरिरहेको छ । ऊ अपमानको पीडाको कुरा गर्छ । ऊ भन्छ, कसैले कोही मानिसको अपमान गर्दा उसलाई धेरै रिस उठ्छ र बदला लिन चाहन्छ । तर त्यो व्यक्ति कायर हुन्छ र केही पनि गर्न सक्दैन । त्यसपछि ऊ घर आएर त्यो अपमानको बारेमा सोच्छ । त्यसलाई पटक-पटक आफ्नो दिमागमा दोहोर्‍याइरहन्छ । उसले त्यो घटनालाई अति धेरै बढाएर सोच्छ । त्यसमा यति सूक्ष्मता भरिदिन्छ कि त्यो वास्तविकताभन्दा पनि बढी दर्दनाक बन्छ । त्यसपछि उसले यो पीडा, असहायता र कायरतासँग नै प्रेम गर्न लाग्छ । ऊ त्यो पीडालाई त्याग गर्नै चाहँदैन । उसलाई स्वयंमाथि सहानुभूति प्रकट गर्नमा, स्वयंलाई एक व्यथित व्यक्ति जसरी हेर्नमा एक विचित्र आनन्द आउन लाग्छ । यसरी यो एकप्रकारको नसा बन्छ ।

उसको लागि यो पीडा उसको चेतनाको र ऊ जीवित हुने कुराको प्रमाण हो । सबै कुरा तर्क र नियमले चल्ने र सुख नै एकमात्र लक्ष्य हुने संसारमा पीडालाई छनौट गर्नु उसको स्वतन्त्रताको सबभन्दा विशाल प्रमाण हो । पीडाले उसलाई आफू एउटा यन्त्र होइन भन्ने कुरा स्मरण गराउँछ । पीडाले उसलाई महसुस गराउँछ । उसका अनुसार सुख एकरस र उदास हुन्छ; वास्तविक जिन्दगी त दुःख, पीडा, शङ्का र अनिश्चिततामा हुन्छ । ऊ त्यस हदसम्म जान्छ र भन्छ – म त कष्ट नै चेतनाको एकमात्र कारण हो भन्ने कुरा मान्छु । अर्थात् पीडा नहुन्जेलसम्म वास्तिक रूपमा जागरूक र जीवित नै हुन सकिंदैन ।

भूमिगत व्यक्तिले यही पीडायुक्त नसाको कुरा गरिरहेको छ । उसका अनुसार यो पीडाको आनन्द यति गहिरो हुन्छ कि पीडित व्यक्ति स्वयं पनि त्यससँग लज्जित हुनलाग्छ । तर उसले त्यसलाई त्याग गर्न पनि सक्दैन । यो एकप्रकारको दुष्चक्र हो । उसले पीडा महसुस गर्छ; पीडा महसुस गर्नमा उसलाई आनन्द आउँछ र फेरि उसलाई पीडामा आनन्द आइरहेको छ भन्ने कुरामा लज्जा महसुस हुन्छ । यो लज्जाबोधले उसलाई अझ बढी पीडा प्रदान गर्छ । यो चक्र चलिरहन्छ । यसले उसलाई भूमिगत जीवनमा अझ बढी गहिरोसँग धकेल्दै जान्छ । यो स्वयंलाई पीडा दिने एक अन्तहीन सिलसिला हो ।

सबै कुरा बुझ्ने रोग

भूमिगत मानिस आफ्नो अवस्थाको लागि आफ्नो चेतनालाई जिम्मेवार ठान्छ । ऊ भन्छ – धेरै बढी जागरुक हुनु, सबै कुरा बुझ्ने एकप्रकारको रोग हो । उसको लागि चेतना एक अभिशाप हो । उसका अनुसार एउटा सामान्य मानिसको लागि जति चेतना आवश्यक छ, त्यसको आधा हामी जस्ता भूमिगत रूपमा बस्ने मानिसहरूको लागि धेरै आवश्यक हुन्छ । एउटा सामान्य कर्म गर्ने मानिसले बढी सोच्दैन । उसको सामुन्ने कुनै लक्ष्य हुन्छ र ऊ कुनै शङ्काबिना नै त्यसलाई हासिल गर्नमा जुट्छ । उसको सामुन्ने कुनै पर्खाल आएको खण्डमा उसले त्यसलाई या त भङ्ग गरिदिन्छ या पूर्ण इमान्दारीपूर्वक यसलाई हारको रूपमा लिएर रोकिन्छ । उसले चीजहरूलाई सरल रूपमा राख्छ ।

यद्यपि सोचनीय भूमिगत व्यक्तिको सामुन्ने कुनै पर्खाल वा अवरोध आएको खण्डमा उसले त्यसलाई प्रकृतिको नियम र एक अटल सच्चाई मानेर त्यसको सामु शिर झुकाउँछ । ऊ सङ्घर्ष गर्दैन । तर उसले वास्तवमा हार भने मान्दैन । उसले त्यो पर्खालप्रति मनमनै घृणा गर्नेछ । त्यसमाथि काल्पनिक रूपमा थुक्नेछ तर त्यसको विरुद्धमा केही गर्न सक्दैन । र, यही विवशता र लाचारीले उसलाई भित्रभित्रै खाइरहन्छ ।

ऊ भन्छ – सबै कुरा बुझ्न खोज्नुले कायरता प्रदान गर्छ । कोही व्यक्तिले कुनै पनि चीजको हरेक पक्षलाई, हरेक परिणामलाई र हरेक सम्भावनालाई बुझ्दछ भने उसले कुनै पनि कदम उठाउने हिम्मत गुमाउनेछ । यदि उसले कसैसँग बदला लिन चाहन्छ भने अर्को मानिसले सम्भवत लिनेछ । तर भूमिगत व्यक्तिले बदला के हो भन्ने कुरा सोच्नेछ । जसलाई न्याय ठानिरहेको हुन्छ त्यो अन्याय हुन्छ । बदला लिएको खण्डमा खासमा खुशी प्राप्त हुनेछ वा अझ बढी अपराधबोधमा डुबिनेछ ? यसप्रकारको सोचले उसलाई पङ्गु बनाइदिन्छ । ऊ केही गर्न पनि लायक हुँदैन ।

ऊ आफैँले बनाएको विचारको जेलमा कैदी बनेर रहन्छ । उसको लागि यो संसारमा गर्नलायक काम केही पनि हुँदैन । किनकि उसको हरेक चीजको आधार नै सङ्दिग्ध हुन्छ । कुनै परम सत्य हुँदैन । कुनै परम न्याय हुँदैन । त्यसो हुँदा कुनै चीजको लागि सङ्घर्ष गर्नु वा काम गर्नु बेइमानी हुन्छ । यो सबै कुरा बुझ्ने रोगले उसलाई अरुबाट पनि टाढा बनाइदिन्छ । ऊ कसैसँग खुलेर प्रेम गर्न सक्दैन । किनकि ऊ प्रेमको पछाडि लुकेको स्वार्थलाई र त्यसको क्षणभङ्गुरतालाई बुझ्छ ।

ऊ कसैलाई घृणा पनि गर्न सक्दैन । किनकि ऊ अगाडि भएको व्यक्तिको विवशलतालाई पनि बुझ्न सक्छ । ऊ कसैको सम्मान गर्न सक्दैन । किनकि ऊ जोकसैमा कुनै न कुनै कमी देख्छ । र, ऊ स्वयंको सम्मान पनि गर्न सक्दैन । किनिक ऊ आफ्नो हरेक कमी, हरेक कायरता र हरेक कुरुपतालाई राम्रोसँग जान्दछ । ऊ आफ्नो आत्माको अन्तर्तत्त्वलाई हेर्न सक्छ र आफूले देखेको कुराबाट उसलाई घृणा उत्पन्न हुन्छ । यही कारणले ऊ संसारबाट कटेर आफ्नो भूमिगत स्थानमा लुक्छ । त्यहाँ उसले आफूबाहेक अरु कसैको सामना गर्नुपर्दैन । र, स्वयंको सामना गर्नु नै सबभन्दा जटिल काम हो ।
भूमिगत मानिस यही खतरातिर सङ्केत गरिरहेको छ । उसका अनुसार जिन्दगी केवल दिमागले मात्र बाँच्न सकिंदैन, कहिलेकाही मससुस गर्नु पनि आवश्यक हुन्छ । उसको त्रासदी के हो भने ऊ यी सबै कुरा त जान्दछ तर केही गर्न सक्दैन । ऊ आफ्नै बुद्धिको दास हुन्छ । ऊ एउटा यस्तो दलदलमा फसेको छ, जहाबाट ऊ जति निक्लिने प्रयास गर्छ, त्यति नै भासिंदै जान्छ । उसको अतिचेतना नै उसको सबभन्दा प्रमुख दुश्मन हो ।

चिन्तनशील कीरा विरुद्ध कर्मठ व्यक्ति

अब भूमिगत व्यक्ति आफ्नो तुलना समाजका अन्य व्यक्तिसँग गर्दछ । यहाँ दुईप्रकारका मानिसको स्पष्ट विभाजन देखिन्छ । एकातिर कर्मठ व्यक्ति हुन्छ भने अर्कोतिर चिन्तनशील कीरा वा मूसा हुन्छ । यो तुलनामा उसको कथाको एउटा धेरै आवश्यक चित्र छ । किनकि यसबाट उसको जलन, घृणा र आत्म-घृणाको आधार बुझ्न सकिन्छ । भूमिगत व्यक्तिको दृष्टिमा कर्मठ व्यक्ति सीधासादा, सामान्य तर मूर्ख मानिस हुन्, जो संसारमा सफल छन् । उनीहरू बढी सोच्दैनन्, शङ्का गर्दैनन् । उनीहरूको लागि संसार कालो र सेतो मात्र छ । उनीहरू न्यायमा, बदलामा र आफ्नो काममा पूर्ण विश्वास राख्छन् । कसैले उनीहरूको अपमान गरेको खण्डमा पनि केही नसोची अगाडि बढ्छन् र आफ्नो बदला लिन्छन्; जसरी एउटा साँढेले आफ्ना सिङ्गले पर्खालमा हान्छ । उनीहरूको मनमा कुनै दुविधा हुँदैन । उनीहरू आफ्नो लक्ष्यलाई लिएर बिल्कुल स्पष्ट हुन्छन् र त्यसलाई हासिल गर्नको लागि जे पनि गर्न सक्छन् ।

भूमिगत व्यक्ति यस्ता मानिसलाई घृणा गर्छ । ऊ उनीहरूलाई मूर्ख, सीमित दिमाग भएका र जनावर जस्तै ठान्छ । ऊ उनीहरूको सादगी र आत्मविश्वासको मजाक उडाउँछ । ऊ भन्छ, यी मानिसले केही गर्नसक्नुको कारण उनीहरूले जिन्दगीका जटिलता र त्यसको कटु सच्चाईलाई देख्नै सक्दैनन् । ऊ यस्ता मानिसहरूलाई घृणा गर्नुका साथसाथै उनीहरूसँग नराम्रोसँग जल्छ पनि । ऊ उनीहरू जस्तै बन्न चाहन्छ । ऊ पनि आफूभित्र त्यो आत्मविश्वास र कर्मठ क्षमता होस् भन्ने चाहन्छ । मानिसले कति सहज ढङ्गले जिन्दगी जिएका छन् भन्ने कुराबाट उसमा जलन पैदा हुन्छ । जबकि ऊ आफ्ना विचारहरूको जालमा फसेर सडिरहेको छ । ऊ आफूलाई उनीहरूभन्दा बढी बुद्धिमान ठान्छ तर यो बुद्धिमानी नै उसको सबभन्दा मुख्य कमजोरी हो ।

भूमिगत व्यक्ति आफूलाई एउटा दूलाभित्र लुकेको मूसासँग तुलना गर्छ । बाहिरी संसारमा बिराला अर्थात् कर्मठ व्यक्ति घुमिरहेका छन् । यदि बिरालाले मूसाको अपमान गर्‍यो भने मूसो पुनः आफ्नो दूलोभित्र पस्छ र त्यहाँ बसेर आफ्नो अपमानको बारेमा सोची-सोचीकन धड्किरहन्छ । त्यसले त्यो अपमानमा यति विष घोलिदिन्छ, यति मनगढन्ते कुरा मिलाउँछ कि त्यो वास्तविक अपमानभन्दा हजारगुना बढी दर्दनाक हुन्छ । त्यसपछि उसले वर्षौंसम्म त्यो विषपान गरिरहन्छ । आफ्नो कायरतामाथि स्वयंलाई गाली गरिरहन्छ ।

ऊ भन्छ – मेरो चेतना र बुद्धिमानीले मलाई कीरा बनाइदिन्छ, जबकि अरुको मूर्खताले उनीहरूलाई मानिस बनाइदिन्छ । यो एउटा धेरै तीतो र दर्दनाक सच्चाई हो । ऊ एक यस्तो दोबाटोमा उपस्थित छ, जहाँ ऊ न त पूर्ण रूपमा चिन्तनशील बुद्धिजीवी बन्न सक्छ र न एक कर्मठ व्यक्ति नै बन्न सक्छ । किनकि ऊ कायर पनि छ र आफूलाई उनीहरूभन्दा बढी बुद्धिमान पनि ठान्छ । ऊ बीचमा कतै अड्किएको छ, जहाँ केवल श्वासावरोध र घृणा हुन्छ ।

भूमिगत व्यक्ति संसारको सबभन्दा बुद्धिमान कीरा हो र यही नै उसको त्रासदी हो । ऊ एक आलसी मानिस बन्न चाहन्छ । ऊ केवल खानपिन गरेर सुतिरहने जिन्दगी बिताउन चाहन्छ । तर ऊ यसो गर्न पनि सक्दैन । किनकि उसको दिमागले उसलाई चैनपूर्वक बस्न दिंदैन । त्यसले हरेक क्षण उसको असफलता र उसको हीनताबोधलाई स्मरण गराइरहन्छ । भूमिगत व्यक्ति यही दुविधाको चरम रूपमा हुन्छ । ऊ यो टकरावलाई आफ्नो आत्मामा लिएर बाँच्छ ।

त्यो अधिकारी र मेरो सम्मानको सङ्घर्ष

अब भूमिगत व्यक्तिले आफ्नो अतीतबारे कुरा गर्नेछ । ऊ आफ्नो २४ वर्षको उमेरमा भएका घटना सुनाउन चाहन्छ । यो एउटा सामान्य घटना हो तर यसले एउटा सानो अपमान कसरी उसको लागि जिन्दगी र मृत्युको प्रश्न बनेको थियो भन्ने कुरा देखाउँछ । यो कथा एउटा सरकारी अधिकारीको हो । त्यो अधिकारीले आफ्नो सम्मानलाई बचाउनको लागि मूर्खतापूर्ण र दुःखद प्रयास गर्‍यो ।

ऊ स्मरण गर्छ – एक दिन ऊ एउटा सानो बारमा थियो । त्यहाँ केही मानिस बिलियर्ड्स खेलिरहेका थिए र बहस गरिरहेका थिए । त्यहीबेला एउटा अग्लो अधिकारी त्यहाँ आयो । ऊ बाटो बनाउन चाहन्थ्यो । भूमिगत व्यक्तिलाई बाटामा उपस्थिति भएको देखेर उसले केही पनि नभनीकन उसलाई काँधमा समाएर एकातिर चिप्ल्याइदियो र अगाडि बढ्यो । सम्भवतः उसले यो कुरामा ध्यान पनि नदिएको हुनुपर्छ । उसको लागि यो सामान्य कुरा थियो । तर भूमिगत व्यक्तिको लागि यो एक भयानक अपमान थियो ।

अब भूमिगत व्यक्तिको संसार हल्लियो । उसलाई लाग्यो, आफूलाई कसैले एउटा कीरा जसरी बाटोबाट हटाइदिएको छ । ऊ अपमानले जलिरहेको थियो तर ऊ यति कायर थियो कि त्यो अधिकारीलाई केही पनि भन्न सकेन । ऊ चुपचाप त्यहाँबाट निक्लियो । तर उसले यो अपमानलाई भुल्न सकेन । यो घटना उसको दिमागमा हावी भयो । उसले महिनौं मात्र होइन, वर्षौंसम्म त्यो अधिकारीको बारेमा सोचिरह्यो । उसले त्यो अधिकारीको बारेमा नाम, ठेगाना, के गर्छ र कहाँ जान्छ जस्ता सम्पूर्ण जानकारी निकाल्यो ।

अब ऊ त्यो अधिकारीको पिछा गर्न लाग्यो । ऊ पिटर्सबर्ग शहरको मुख्य मार्गमा केवल त्यो अधिकारीलाई पुनः भेट्न सकिन्छ र बदला लिन सकिन्छ भन्ने आशामा घण्टौंसम्म टहलिरहन्थ्यो । उसको बदला धेरै मूर्खतापूर्ण र दयनीय थियो । ऊ यति मात्र चाहन्थ्यो कि त्यो अधिकारी आफ्नो मार्गमा आफूतिर आउँदा आफ्नो ठाउँबाट हट्नेछैन; उसको काँधमा काँध ठोक्काउनेछ र आफू पनि मार्गबाट हटाइने कुनै कीरा नभएर बराबरको मानिस हुँ भन्ने कुरा सावित गर्नेछ । यति सानो टक्करको लागि उसले महिनौंसम्म तयारी गर्‍यो । ऊ नयाँ वस्त्र खरिद गर्ने कुरा सोच्न लाग्यो, ताकि ऊ त्यो अधिकारीको सामु गरीब नदेखियोस् । उसले एउटा राम्रो ओभरकोट किन्नको लागि ऋण लियो ।

ऊ घरमा कसरी हिँड्ने, कसरी आत्मविश्वासपूर्ण देखिने भनेर अभ्यास गर्दथ्यो । यो उसको लागि एक आवेग र जीवनको एकमात्र उद्देश्य जस्तो बनेको थियो । आफूलाई यति महत्त्वहीन ठान्ने एउटा मानिसको लागि आफ्नो अस्तित्वलाई सावित गर्ने यो एकमात्र तरीका थियो । ऊ संसारलाई आफ्नो अस्तित्व देखाउन चाहन्थ्यो; आफ्नो हैशियत देखाउन चाहन्थ्यो ।

धेरै पटक उसले प्रयास गर्‍यो तर हरेक पटक अन्तिममा उसको हिम्मतले काम गर्दैनथ्यो । अधिकारीलाई टाढाबाट आएको देख्नेवित्तिकै उसको मुटु जोडले धड्किन लाग्थ्यो र डराएर छेउ लाग्थ्यो । त्यसपछि उसले स्वयंलाई गाली गर्छ र आफ्नो कायरतामा रुन्छ । तर अर्को पटक पुनः उही प्रयास गर्न पुग्छ । यो एक अन्तहीन सिलसिला बनेको थियो । अन्ततः कयौं असफल प्रयासपछि एक दिन उसले आफ्ना आँखा बन्द गर्‍यो र हिम्मतपूर्वक ऊ त्यो अधिकारीसँग टकरायो र काँधमा काँध मिलायो ।

अधिकारीले सम्भवतः यो कुरामा कुनै ध्यानसम्म दिएन वा दियो भने पनि कुनै प्रतिक्रिया दिएन र आफ्नो बाटो हिड्यो । तर भूमिगत व्यक्तिको लागि यो एक विजय थियो । उसलाई आफ्नो सम्मान फिर्ता पाएको जस्तै लाग्यो । ऊ त्यो रात संसारको सबभन्दा खुशी मानिस थियो । उसलाई सम्पूर्ण संसार जितेको जस्तो लाग्यो ।

यद्यपि भूमिगत मानिसको यो जित पनि खोक्रो थियो । उसले केही पनि हासिल गरेको थिएन । ऊ अझै पनि त्यति नै एक्लो र दुःखी थियो । यो घटनापछि ऊ आफ्नो जिन्दगीमा केही अगाडि जान्छ र एउटा अर्को कथा सुनाउँछ, जुन अझ दर्दनाक र अपमानजनक छ ।

ती साथीहरूसँग एक साथ जो साथी थिएनन्

अफिसरसँग भएको घटनापछि भूमिगत व्यक्तिले आफ्नो जिन्दगीको एउटा अर्को भयानकतातिर लिएर जान्छ । यो उसको एक्लोपना र मानिसहरूसँग भेट गर्ने उसको असफल प्रयासहरूको सबभन्दा दर्दनाक उदाहरण हो । ऊ स्मरण गर्छ – एक दिन उसको एउटा पुरानो स्कूले साथी सिमोनोभसँग भेट हुन्छ । ऊ निमन्त्रणाबिना नै सिमोनोभको घरमा पुग्छ । त्यहाँ उसले सिमोनोभ र उसका दुई जना पुराना साथी सबैले सफल र राम्रो जिन्दगी बिताइरहेको कुरा थाहा पाउँछ । त्यहाँ उसको अर्को साथी ज्वेकोभको लागि एक बिदाई पार्टीको योजना बनाइरहिएको हुन्छ । ज्वेरकोभ एउटा सैन्य अधिकारी बन्नलागेको थियो र शहर छोडेर गइरहेको थियो ।

भूमिगत व्यक्ति स्कूले दिनदेखि नै ज्वेरकोभलाई धेरै घृणा गर्दथ्यो । ज्वेरकोभ एक धनी, सुन्दर र आत्मविश्वासी युवक थियो । उसमा भएका सबै चीज भूमिगत व्यक्तिमा थिएनन् । तर पनि एउटा अचम्मको बाध्यताले गर्दा ऊ त्यो पार्टीमा सामेल हुने हठ गर्न लाग्छ । उसले सिमोनोभ र अरुलाई भन्छ – म पनि यो पार्टीमा आउँछु । तिनीहरू उसलाई मन पराउँदैनन् । त्यसकारण उनीहरू ऊबाट बच्ने प्रयास गर्छन् । तर ऊ यति बेशर्म बन्छ कि अन्ततः उनीहरूले उसलाई बोलाउन बाध्य हुनुपर्छ ।

ऊ यस्तो काम किन गर्छ भने उसभित्र एउटा गहिरो र व्याकुल बनाउने इच्छा छ । ऊ यी मानिसहरूको सामना गरेर उनीहरूलाई आफू पनि केही हुँ भन्ने कुरा देखाउन चाहन्थ्यो । र, शायद ऊ उनीहरूसँग मित्रता गर्न चाहन्थ्यो । तर आफूले उनीहरूलाई घृणा गर्ने र उनीहरूलाई निम्तस्तरको देखाउन चाहने कुरा पनि उसलाई थाहा छ ।

उसको मनमा प्रेम र घृणाको एउटा विचित्र युद्ध चलिरहेको छ । पार्टीको दिन आउँछ । ऊ निर्धारित गरिएको समयभन्दा एक घण्टा पहिले नै रेस्टुरेन्ट पुग्छ । किनकि उसलाई गलत समय बताइएको थियो । ऊ एक्लै बसेर उनीहरूको प्रतीक्षा गर्दछ र अपमानित महसुस गर्छ । उनीहरू आएपछि उससँग यस्तो व्यवहार गर्छन्, जस्तो कि ऊ त्यहाँ छँदैछैन । उनीहरू आपसमा कुरा गर्छन्, हाँस्छन् र उसलाई पूर्ण रूपमा बेवास्ता गर्छन् ।

अब भूमिगत व्यक्ति यो अपमान र हिनताबोधले जल्दछ । ऊ उनीहरूको ध्यान आफूतिर आकर्षित गर्ने बेचैन प्रयास गर्छ । ऊ जोडपूर्वक कोठामा टहलिन लाग्छ; ठूलो स्वरले बोल्छ; ज्वेरकोभको सफलतामा उसको प्रशंसा गर्छ र मानिसहरूलाई आकर्षित गर्ने कुरा गर्छ । ऊ उनीहरूलाई आफू कति धेरै बुद्धिमान र गहिरो मानिस हुँ भन्ने कुरा बताउने प्रयास गरिरहेको छ, जबकि उनीहरूलाई ऊ केवल सतही र मूर्ख मान्छ । तर उसका सम्पूर्ण प्रयास असफल हुन्छन् ।

उनीहरू या त उसलाई बेवास्ता गर्छन् या उसको उपहास गर्छन् । उसले जति बढी प्रयास गर्छ, त्यति नै बढी हास्यास्पद र दयनीय देखिंदै जान्छ । ऊ नशामा चूर हुन्छ र ज्वेरकोभलाई द्वन्द्वयुद्ध गर्ने चुनौती दिन्छ । ऊ मेचमाथि चढेर चिच्याउँछ तर कसैले उसमाथि ध्यान दिंदैनन् । ऊ अपमान र रिसको आगोमा जलिरहेको हुन्छ । ऊ उनीहरूलाई घृणा गर्छ तर सँगसँगै ऊ उनीहरूले आफूलाई स्वीकार गरून्, आफूसँग कुरा गरून् भन्ने पनि चाहन्छ । यो एउटा यस्तो दर्दनाक स्थिति हो, जसलाई शायद शब्दमा बयान गर्न पनि सकिंदैन । ऊ एकै समयमा उनीहरूमाथि हावी हुन पनि चाहन्छ र उनीहरूको चरण परेर मित्रताको भिख पनि माग्न चाहन्छ ।

पार्टी सकिन्छ । अब तिनीहरू भूमिगत व्यक्तिलाई नबताइकन एउटा वेश्यालयतिर अगाडि बढ्छन् । भूमिगत व्यक्तिले यो कुरा थाहा पाएपछि ऊ पूर्ण रूपले भङ्ग हुन्छ । तर पनि एक पागलपनको यात्रामा ऊ उनीहरूको पछि जाने निर्णय गर्छ । ऊसँग पैसा हुँदैन त्यसकारण ऊ सिमोनोभसँग ऋण लिने कुरा सोच्छ । आफूलाई अझ बढी सम्मानित गर्ने उद्देश्यले ऊ बरफिलो चीसो रातमा उनीहरूको पछाडि दौडिन्छ । ऊ उनीहरूसँग बदला लिन चाहन्छ । ज्वेरकोभको मुखमा थप्पड हान्न चाहन्छ । सँगसँगै ऊ के कुरा पनि कल्पना गर्छ भने शायद उनीहरू आफूलाई देखेर पग्लिनेछन्, अङ्गालो हाल्नेछन् र तिमी पनि हाम्रो मित्र हौं भन्नेछन् । यो उसको भङ्ग भएको आत्माको अन्तिम आशा हो ।

लीजा र मसीहा बन्ने मेरो बहाना

अपमान, हीनताबोध र रिसले भरिएको भूमिगत व्यक्ति आफ्ना ती तथाकथित साथीहरूको पछाडि त्यो वेश्यालयसम्म पुग्छ । तर ऊ त्यहाँ पुग्दा उसले आफ्ना साथीहरू गइसकेको थाहा पाउँछ । अब ऊ एक्लै रहन्छ । ऊ कहिल्यै नआएको ठाउँमा छ । यहीं उसको भेट लीजासँग हुन्छ । उनी एक यौनकर्मी युवती हुन् । उनी चुपचाप र शान्त अवस्थामा बसेकी छिन् ।

भूमिगत व्यक्ति उनीसँग एउटा कोठामा जान्छ तर ऊ केही गर्न सक्दैन । ऊ केवल चुपचाप बसिरहन्छ । त्यसपछि फेरि उसको भित्रको बौद्धिकता र दर्शन जागृत हुन्छ । अब ऊ लिजासँग कुरा गर्न शुरु गर्छ । पहिले त ऊ मालिकत्व जमाउने प्रयास गर्छ । उनलाई आफ्नो बौद्धिकताबाट प्रभावित गर्ने प्रयास गर्दछ । तर फेरि एक विचित्र भावनाको माध्यमबाट ऊ उनको उद्दार गर्ने निर्णय गर्छ ।

अब ऊ मसीहा बन्ने ढोङ्ग गर्छ । उसले लीजालाई एउटा लामो र भावुक भाषण सुनाउँछ । ऊ भन्छ, तिमीले कति सुन्दर जीवन जिउन सक्थ्यौं र तिमी यस्तो नरकमा फसेकी छ्यौं । ऊ उनलाई प्रेम, परिवार र एक सम्मानित जीवनको सुन्दर सपना देखाउँछ । उसले उनलाई भविष्यको एक भयानक चित्र देखाउँछ; कसरी उनको जवानी र सुन्दरता ढल्नेछ, कसरी उनी बिरामी हुनेछिन् र कसरी उनलाई एक गुमनाम चिहानमा दबाइन्छ भन्ने कुरा बताउँछ । उसले यी सबै कुरा यति उत्साह र सच्चाईपूर्वक भन्छ कि अहिलेसम्म पत्थर बनेर बसेकी लीजा पग्लिन्छिन् । उनी रुन लाग्छिन् । उनी भित्रैदेखि हल्लिन्छन् ।

भूमिगत मानिसलाई आफ्नो यो सफलतामा धेरै गर्व महसुस हुन्छ । उसलाई आफूले एक पतीत आत्माको उद्दार गरेको महसुस हुन्छ । उसलाई शब्दहरूले कुनै मानिसलाई कति प्रभावित गर्न सकिन्छ भन्ने आफ्नो शक्तिको महसुस हुन्छ । लीजामाथि उसले देखाइरहेको दयामा पनि एकप्रकारको अहङ्कार लुकेको हुन्छ । उससले स्वयंलाई एक नायकको रूपमा हेरिरहेको हुन्छ र लीजालाई एक दुःखी युवतीको रूपमा ।

यसपछि उसले उनलाई आफ्नो ठेगाना दिन्छ र भन्छ – मेरोमा आउ, म तिमीलाई सहयोग गर्नेछु । यति भनेर ऊ एक झूटो शान र सन्तुष्टिको महसुससहित त्यहाँबाट जान्छ । तर त्यो बेश्यालयबाट बाहिर निक्लिएर चीसो हावामा आउने वित्तिकै उसको नसा उत्रिन्छ । उसलाई आफूले भनेका कुरामा र आफ्नो यो ढोङ्गमा लज्जा महसुस हुनलाग्छ । उसलाई आफूले भनेका सबै किताबी कुरा र एक झूटो नाटक थियो भन्ने महसुस हुन्छ । ऊ लीजाको उद्दार गर्न चाहँदैनथ्यो । ऊ त केवल उनीमाथि आफ्नो श्रेष्ठता सावित गर्न चाहन्थ्यो; उनलाई निम्तस्तरको देखाउन चाहन्थ्यो ।

भूमिगत व्यक्तिले आफ्ना साथीहरूबाट मिलेको अपमानको बदला एक निर्दोष र विवश युवतीसँग लिइरहेको थियो । उसलाई अब लीजा वास्तवमै आफ्नो घरमा आइन् भने के होला भनेर डर लाग्न लाग्छ । ऊ स्वयं एउटा गरीब व्यक्ति हो र फोहोरी कोठामा बस्छ । ऊ एक क्रोधी र असफल व्यक्ति हो । यस्तो व्यक्तिले लीजाको मद्दत कसरी गर्ला ? ऊ त आफ्नै मद्दत पनि गर्न सक्दैन ।

यो डरले गर्दा ऊ पागल हुनलाग्छ । ऊ लीजा कहिल्यै नआऊन् भन्ने चाहन्छ । ऊ उनलाई घृणा गर्न लाग्छ । किनकि लीजाले उसको वास्तविक र घृणित सच्चाईको दर्पण देखाएकी थिइन् । ऊ लीजा आउनेछिन् र आफ्नो गरीबी तथा दयनीय स्थितिको उपहास गर्नेछिन् भन्ने कुराको कल्पना गर्छ । अब ऊ उनीसँग बदला लिने सपना देख्न लाग्छ । लीजा आएपछि उनको अपमान गर्ने र आफूले त्यो रात भनेका सबै कुरा झुट र मजाक थिए भन्ने कुरा सोच्छ; उनलाई रुवाउने र उनको आँसुमा आफ्नो जित देख्ने कुरा सोच्छ ।

भूमिगत व्यक्तिको मन पुनः एकपटक प्रेम र घृणा, दया र क्रूरताको बीचमा हल्लिन लाग्छ । ऊ एक भयानक दुविधामा फस्छ । ऊ लीजा आऊन् भन्ने पनि चाहन्छ, ताकि आफ्नो शक्ति देखाउन सकियोस् र ऊ लिजा कहिल्यै नआऊन् भन्ने पनि चाहन्छ, ताकि उसको झूट अगाडि नआओस् । यसरी धेरै दिन व्यतीत हुन्छन् । भूमिगत मानिस यही उथलपुथलमा जिउँछ । एक दिन ढोकामा ढकढक आवाज आउँछ । उनी लीजा थिइन् ।

प्रेम ढोका आएपछि मैले त्यसलाई फर्काएँ

ढोकामा लीजालाई उपस्थित देखेर भूमिगत व्यक्तिको होस उड्छ । ऊ त्यो क्षणको लागि तयार थिएन । ऊ आत्तिन्छ; लज्जित हुन्छ । त्यसबेला ऊ आफ्नो नोकर अपोलोनसँग एउटा धेरै सानो र बेतुके कुरामा झगडा गरिरहेको थियो । लीजाले उसलाई सबभन्दा दयनीय र हास्यास्पद स्थितिमा देख्छिन् । उसको सम्पूर्ण नायकत्वको मुखुण्डो उत्रिन्छ ।

उसले लीजालाई भित्र बोलाउँछ तर ऊ उनीसँग दृष्टि मिलाउन सक्दैन । ऊ रिस र लज्जाले भरिएको छ । ऊ लिजामाथि चिच्याउँछ र यहाँ किन आयौं भनेर सोध्छ । ऊ भन्छ, मलाई किन शान्तिपूर्वक बाच्न दिन्नौं ? शायद एक आशा लिएर आएकी लीजा उसको यो प्रतिक्रियाबाट हैरान र भयभीत हुन्छिन् । उनी यहाँ केही अव्यवस्था छ भन्ने कुरा बुझ्छिन् । उनी चुपचाप उभिन्छिन् ।

भूमिगत मान्छेको रिस बढ्दै जान्छ । अब ऊ उनको अपमान गर्न शुरु गर्छ । ऊ चिच्याउँदै भन्छ, त्यो रात मैले सबै कुरा किन भनें भन्ने तिमीलाई थाहा छ ? किनकि तिमीहरूले मेरो अपमान गरेका थियौं । मैले कसैमाथि आफ्नो रिस पोख्नु थियो र तिमीलाई भेटें । म तिमीमाथि हाँसिरहेको थिएँ । मैले तिम्रो उपहास गरेको थिएँ । उसले आफ्नो सम्पूर्ण कटुता र घृणा ती विचारी युवतीमाथि पोख्छ । उसले उनलाई भन्छ – प्रेम, सम्मान, परिवार जस्ता सबै कुरा बकवास हुन्; झूटा सपना हुन् । ऊ उनलाई वास्तविकता देखाउन चाहन्छ । उनलाई पूर्ण रूपले तहसनहस बनाउन चाहन्छ ।

उसले आफ्नो कुरा अन्त्य गर्छ र लीजा अब रूनेछिन्, चित्याउनेछिन् वा आफ्नो अपमान गर्नेछिन् भन्ने आशा गर्छ । तर लीजा केही पनि गर्दिनन् । उनले सबै कुरा बुझ्छिन् । उनी भूमिगत व्यक्ति कति क्रूर छ भन्ने कुरा देख्दिनन्, बरु ऊ भित्रबाट कति दुःखी र एक्लो छ भन्ने कुरा देख्छिन् । उनी उसको रिसको पछाडि लुकेको पीडालाई देख्छिन् । त्यसपछि उनले यस्तो कार्य गर्छिन्, जसको भूमिगत व्यक्तिले कल्पनासम्म गरेको थिएन ।

अब उनी उसको निकट आउँछिन् र उसलाई अङ्गालो हाल्छिन् । उसलाई सान्त्वना दिने प्रयास गर्छिन् । उसलाई शर्तबिनाको प्रेम र सहानुभूति दिन्छिन् । यो चीज भूमिगत मानिसले आफ्नो सम्पूर्ण जिन्दगीमा कहिल्यै प्राप्त गर्न सकेको थिएन । यो क्षण भूमिगत व्यक्तिको लागि असहनीय हुन्छ । ऊ यसप्रकारको सच्चा र निस्वार्थ भावनालाई स्वीकार गर्न सक्दैन । ऊ यसको लायक छैन । उसको हृदय भङ्ग हुन्छ र धकी-धकीकन रुन लाग्छ ।

यसपछि उसले लीजाको सामुन्ने आफ्नो सम्पूर्ण सच्चाई उकेल्छ- म धेरै गरीब, असफल र घृणित व्यक्ति हुँ । केही समयको लागि सम्भवतः अब सबै कुरा ठीक हुनेछ जस्तो लाग्छ । शायद लीजाको प्रेमले उसलाई बदलिदिनेछ; त्यसबाट भूमिगत जीवनबाट बाहिर आउनेछ । एउटा आशाको किरण देखिन्छ । तर भूमिगत व्यक्तिको बिमारी धेरै गहिरो थियो । रुने काम बन्द हुने वित्तिकै उसको भित्रको राक्षस पुनः जागृत हुन्छ । लीजाले आफूलाई सबभन्दा कमजोर अवस्थामा देखेको कुरामा उसलाई घृणा उत्पन्न हुन्छ । उसलाई अब लिजा आफूमाथि हावी हुन्छिन् भन्ने लाग्छ; सधैंको लागि ऊ उनको आभारी हुनेछ । उसको झूटो शान र अहङ्कारले उसलाई पुनः आफ्नो कब्जामा लिन्छ । उसलाई यो प्रेम र दयाँबाट सास रोकिए जस्तो लाग्छ । ऊ यो सम्बन्ध शुरु हुनुभन्दा पहिले नै अन्त्य गरिदिन चाहन्छ ।

लीजा जानको लागि तयार हुँदै गर्दा उसले अन्तिम र सबभन्दा क्रूर काम गर्छ । उसले चुपचाप उनको हातमा केही पैसा राखिदिन्छ । ऊ भन्छ, यो पैसा त्यो रातको मूल्य हो । यस्तो एउटा हर्कतले नै उसले लीजालाई पुनः त्यही फोहोरमा धकेलिदिन्छ, जहाँबाट उसले उनलाई निकाल्ने नाटक गरिरहेको थियो । ऊ उनलाई एक वेश्याको रूपमा स्मरण गराउँछ र उनीहरूको बीचको सम्बन्ध प्रेमको नभएर एक सम्झौताको थियो भन्ने कुरा गर्छ । उसले लीजालाई प्रदान गरेको यो सबभन्दा गम्भीर अपमान थियो ।

लीजा केही पनि भन्दिनन् । उनी पैसालाई त्यही फ्याँकेर चुपचाप जान्छिन् । यसपछि तुरुन्तै भूमिगत व्यक्तिलाई आफ्नो गल्ती महसुस हुन्छ । आफूले एक भयानक र अक्षम्य पाप गरेको छु भन्ने कुरा उसलाई थाहा हुन्छ । ऊ उनलाई रोक्नका लागि बाहिर दौडिन्छ तर लीजा बरफिलो रातको अध्यारामा हराइसकेकी थिइन् । उनी सधैंको लागि गइसकेकी थिइन् । उसले प्रेम, आशा र आफ्नो उद्दारको एकमात्र मौकालाई आफ्नै हातले दुत्कारेको थियो । यसपछि ऊ फर्किएर आफ्नो कोठामा आउँछ र एक्लै आफ्नो भूमिगत स्थानमा रहन्छ । अब ऊ पहिलेभन्दा पनि बढी एक्लो र बढी दुःखी छ । आफूले के गुमाएको छु भन्ने कुरा उसलाई महसुस हुन्छ ।

के म कहिल्यै यो अन्धकारबाट बाहिर निक्लिन सक्छु ?

लीजा गएपछि भूमिगत व्यक्ति एक्लो रहन्छ । उसले आफ्नो जीवनमा आएको उद्दारको एकमात्र मौकालाई आफ्नै क्रूरता र अहङ्कारले नष्ट बनाइदिएको थियो । अब त्यो चालीस वर्षको व्यक्ति आफ्नो स्मरण र टिपोट लेखिरहेको छ । ऊ लीजालाई पछि के भयो होला भन्ने कुरा सोच्ने प्रयास गर्छ । तर ऊ स्वयंलाई यो विचारबाट रोक्छ । शायद ऊ अपराधबोधको सामना गर्न चाहँदैन । ऊ भन्छ, यो सबै लेखेपछि पनि मलाई कुनै राहत मिलेन । उसलाई लाग्छ, यो डायरी लेख्नु पनि एकप्रकारको ढोङ्ग नै हो । यो स्वयंलाई सही ठान्ने एउटा प्रयास हो ।

ऊ पाठकहरूसँग प्रश्न गर्छ । ऊ भन्छ – हामी सबै वास्तविकताबाट टाढा भाग्छौं; हामी सबै जिन्दगीदेखि डराउँछौं; हामी सबै कमजोर र विखण्डित छौं । ऊ भन्छ – यो कहानी केवल मेरो मात्र नभएर हामी सबैको हो । हामी सबै आ-आफ्नो भूमिगत स्थानमा बाँच्छौं तर हामी त्यसलाई स्वीकार गर्ने हिम्मत राख्दैनौं । म कम्तीमा यति बहादुर त छु कि मैले जिन्दगीको सम्पूर्ण फोहोर र कुरुपतालाई कागजमा उतारेको छु । जबकि सबै मानिस ढोङ्ग गरिरहन्छन् ।

ऊ भन्छ – मैले आफ्नो जिन्दगीमा हरेक चीजलाई हदसम्म पुर्‍याएको छु, जबकि अरु मानिस त आधा-अधूरो जिउन पनि डराउँछन् । उसको यो डायरीको अन्त पनि धेरै विचित्र र अधूरो जस्तै छ । ऊ भन्छ – म अब थप लेख्न चाहन्नँ । तर फेरि ऊ भन्छ, म रोकिन्नँ, लेखिरहन्छु । यसबाट के देखिन्छ भने ऊ अझै पनि त्यो दुष्चक्रमा फसेको छ । ऊ बदल्न चाहन्छ तर बदलिंदैन । उसलाई आफ्नो अवस्थासँग घृणा छ तर ऊ त्यसलाई त्याग्न पनि सक्दैन । ऊ आफैले बनाएको जेलको कैदी हो र शायद सधैं रहनेछ ।

यो उपन्यासको अन्त्य यो डायरी यही अन्त्य हुँदैन भन्ने टिपोटसँगै हुन्छ । भूमिगत व्यक्ति आफ्नो कथा अगाडि पनि लेखिरहन्छ । तर शायद अब त्यसलाई रोक्नु नै श्रेयस्कर हुन्छ । यो एउटा यस्तो अन्त हो, जहाँ कुनै उत्तर हुँदैन, बरु हाम्रो मनमा अरु धेरै प्रश्नहरू रहन्छन् । भूमिगत व्यक्ति कहिल्यै बदलिन्छ कि बदलिंदैन भन्ने कुराको यो उपन्यासमा कुनै सीधा उत्तर छैन । शायद ऊ बदलिंदैन होला । किनकि उसको बिमारी, अतिजागरुकता र आत्मघृणा धेरै गहिरो छ । ऊ सधैं आफ्ना विचारको जालमा फसिरहनेछ । मानिसलाई घृणा गरिरहनेछ र स्वयंलाई अपमान गरिरहन्छ । तर अर्को एउटा सम्भावना पनि छ । सम्भवतः लीजासँग भएको घटनाले उसभित्र केही हलचल पैदा गरिदिएको छ र केही बदलिदिएको छ । सम्भवतः यो डायरी लेख्नु नै उसको परिवर्तनको पहिलो खुट्किलो हो । जतिसुकै कटु भए पनि यो आफ्नो सच्चाईलाई स्वीकार गर्नु हो । यसले शायद उसलाई मुक्तितिर लिएर जान सक्छ ।

सन्दर्भ स्रोतहरू

1. Dostoevsky, Fyodor. Notes from Underground. Translated by Richard Pevear and Larissa Volokhonsky. Vintage Classics.
2. Frank, Joseph. Dostoevsky: The Seeds of Revolt, 1821–1849. Princeton University Press.
3. https://www.drishtiias.com/hindi/model-essays/liteterature-role-in-forming-of-sciety
4. https://www.jansatta.com/chopal/literature-and-society/2722990/
5. https://www.ijtsrd.com/papers/ijtsrd49941.pdf
6. https://www.planetpublish.com/wp-content/uploads/2011/11/Notes_from_the_Underground_NT.pdf
7. Study and research of various websites, blogs, online portals, youtube channels, etc.