न्याय
जब तिम्रो आत्मा
तिम्रो साथ छोडेर
अन्यत्र विचरण गरिरहेको हुन्छ
त्यसबेला तिमी एक्लै
त्यसको संरक्षणबाट वञ्चित भएपछि
अरुप्रति,
अनि त्यसैले –
आफैँप्रति पनि
कुनै गलत कार्य गरिदिन्छौ
तर त्यस गल्तीकै कारण
के यो उचित हुन्छ कि-
तिमीले भाग्यशालीहरूको ढोका ढक्ढक्याउन परोस्
अनि
एकै पल भए पनि
सुनवाइको प्रतीक्षा गर्नु परोस्
समुद्रजस्तै छ तिम्रो आत्मा
त्यो सधैं निर्मल रहन्छ,
ऊ त्यस्तो आकाश जस्तो छ
जसले हर उडानलाई
अनन्तसम्म उठाइदिन्छ
सूर्यजस्तो पनि छ तिम्रो आत्मा
उसलाई छुचुन्द्रो आउने-जाने बाटो थाहा हुँदैन
न त साँप बस्ने प्वालको नै खोज हुन्छ
तर, तिम्रो अन्तरमा
त्यो आत्मा एक्लै बस्दैन
तिमीभित्र धेरैजसो
अहिलेसम्म मनुष्य नै छ
अनि धेरै यस्तो पनि –
जो मनुष्य मात्र पनि होइन
बरु एउटा संस्कारहीन बाउन्ने मनुवा हो
जो झिसमिसे बिहानीमा
अर्धनिद्रामै छामछाम छुमछुम गर्दै
स्वयं नै
आफ्नो जागरणको तलाशमा
भड्किने गर्दछ,
अब म तिमीभित्रको मनुष्यका बारेमा भन्दछु-
किनभने त्यही मनुष्य अपराध गर्न
अनि
दण्ड दिन पनि जान्दछ,
तिम्रो आत्मा
अनि झिसमिसे बिहानीमा भड्किने बाउन्ने होइन
प्रायः मैले
तिमीले यसरी कुनै अपराधीका बारेमा
चर्चा गरिरहेको सुनेको छु –
मानौं ऊ तिमीहरू मध्येकै एउटा मान्छे नभएर
कुनै अपरिचित प्राणी हो
जो अकारण नै
तिम्रो संसारमा दखल दिन आएको होस्
तर म भन्दछु –
जसरी धर्मात्मा र सदाचारीहरू
त्यस उच्चतमभन्दा अधिक माथि उठ्न सक्दैनन्
जो तिमीहरू सबैमा विद्यमान छ,
त्यसैगरी
नीच र कमजोरहरू पनि
त्यस निम्नतमभन्दा अधिक तल खस्न सक्दैनन्
जो तिमीहरू सबैमा विद्यमान छ,
जसरी पूरै वृक्षको जानकारी बिना
त्यसको एउटा पात पनि
पहेंलिन सक्दैन,
त्यसै गरी तिमीहरूको अदृश्य सहमति बिना
कुनै पनि मनुष्यले
कुनै पनि नराम्रो काम गर्न सक्दैन,
एउटा शोभायात्राका रूपमा
तिमीहरू सबै सँगसँगै हिंड्छौ
आफ्नो आफ्नो आत्मातिर,
तिमी आफैं बाटो हौ
अनि बटुवा पनि
यदि बाटामा तेर्सिएको ढुङ्गामा ठेस लागेर
तिमीहरूमध्ये कोही लड्छ भने
ऊ आफूलाई पछ्याउनेहरूलाई
चनाखो बनाउनका लागि लडेको हुन्छ,
अँ, अनि ऊ
तिनीहरूको असावधानीका कारण लडेको हुन्छ
जो ऊभन्दा अघि अघि थिए
जो छिटो छिटो र
बानी परेका पाइलाहरू चलाएर जाँदै थिए
तैपनि तिनीहरूले
बाटाको त्यो ढुङ्गो पन्छाएनन्,
अनि यो पनि भन्छु-
यद्यपि मेरा शब्दहरूले
तिम्रो हृदयमा खिन्नता पैदा गर्नेछन्
जसको हत्या भएको छ
ऊ स्वयं पनि
आफ्नै हत्या हुनुको जिम्मेदारीबाट मुक्त छैन,
जसलाई लुटिएको छ
ऊ आफैं पनि
लुटिने दुर्घटनामा निर्दोष छैन,
अनि जो धर्मात्मा छ
ऊ पापीहरूका कर्मप्रति निष्पाप छैन,
अनि फेरि कुनै उज्ज्वल हात
कुनै नृशंसको अत्याचारप्रति निर्दोष छैन,
अँ, जो अभियुक्त हो
ऊ प्रायः अभियोगीद्वारा सताइसकिएको हुन्छ
अनि यो पनि –
जो दोषी हो
उसले प्रायः
तिनको पनि पापको भार बोक्नुपरेको हुन्छ
जसलाई निरपराध
अनि निर्दोष मानिएको छ,
तिमी न्यायशीललाई अन्यायीबाट
अनि सदाचारीलाई दुराचारीबाट
पृथक् तुल्याउन सक्दैनौ
किनभने यी दुवै
सूर्यका समक्ष सँगसँगै उभिन्छन्
एउटै कपडामा बुनिएका
सेता र काला धागाहरू जस्तै
कपडा बुन्ने बेला
यदि कालो धागो चुँडियो भने
बुनकरले
पूरै कपडाको थानलाई निरीक्षण गर्दछ
यतिमात्र होइन,
उसले तानलाई पनि
ठोकठाक गरेर
परीक्षण गर्दछ
यदि तिमीहरूमध्ये कसैले
कसैकी व्यभिचारिणी पत्नीमाथि
दोष लगाउँछ भने
त्यसले उसका पतिलाई पनि
त्यसै तुलोमा जोख्नुपर्छ
अनि उसको आत्मालाई पनि
त्यसै नापोमा नाप्नुपर्छ
अपराधीलाई कोर्रा लगाउने व्यक्तिले
त्यो काम गर्नुभन्दा पहिले
एक पल्ट
आरोप लागाउनेको आत्मामा पनि
अवश्य च्याओस्
यदि तिमीहरूमध्ये कोही
धर्माचरणका नाममा
कसैलाई दण्डित गर्न चाहन्छ भने
पापको वृक्षमा
बन्चरो बजार्नुभन्दा पहिले
त्यसको जरोतिर पनि
एकपल्ट अवश्य हेरोस्
निश्चय नै उसले देख्नेछ-
पाप र पुण्यका जरा
सफलता र निष्फलताका जरा
पृथ्वीका मौन हृदयभित्र
एक अर्कासँग आपसमा जेलिएका रहेछन्
तिमीसँग सवाल गर्दछु
ए न्यायाधीशहरू !
( किनभने तिमीहरूले न्यायशील हुनुपर्दछ)
त्यस व्यक्तिलाई तिमी कुन रूपमा दोषी ठहराउँछौ ?
जो शरीरले इमान्दार हुँदाहुँदै पनि
मनले चोर छन्
तिमी उसलाई कुनचाहिं दण्ड दिन्छौ ?
जसको शरीर त हत्यारा होला
तर जसको आत्मा
स्वयं नै हत्याको शिकार बनेको छ
अनि त्यसमाथि कसरी मुद्दा चलाउँछौ ?
जो कर्मले धोकेबाज र उत्पीडक छ
तर मनमा स्वयं
उत्पीडित र अपमानित पनि छ
तिमी तिनलाई कसरी दण्ड दिन सक्छौ ?
जसको पश्चात्तापको यात्रा
उनको अपराधभन्दा
बढी भैसकेको छ,
के पश्चात्ताप
त्यस कानूनद्वारा गरिएको न्याय होइन ?
जसको सेवा गर्नका लागि
तिमी प्रतिबद्ध छौ
तैपनि तिमी निर्दोष व्यक्तिलाई
पश्चात्ताप गर्न बाध्य पार्न सक्दैनौ,
न त कुनै दोषी व्यक्तिका हृदयबाबाट
उसको बोझ हटाउन नै सक्छौ,
त्यो पश्चात्तापले
राती नबोलाएको अतिथिले जस्तै आएर
के पुकारा गर्नेछ भने –
मानिसहरू आ-आफ्ना निद्राबाट जागून्
अनि ध्यानपूर्वक
आत्मनिरीक्षण गरून्
तिमी, जसलाई न्यायको समझ हुनुपर्ने हो
उसलाई कसरी बुझ्नेछौ ?
जबसम्म उसका समस्त कर्महरूलाई
घामजस्तै छर्लङ्ग देख्न सक्नेछैनौ,
केवल त्यतिबेला मात्र
तिमीलाई यो ज्ञान हुनेछ
जो उभिइरहेको छ
अनि
जो लड्न पुग्यो
त्यो एउटै मान्छे हो,
भड्किएको बाउन्नेको रात
अनि आत्माका दिनका बीचको
गोधूलि वेलामा उभिएको
एउटा मनुष्य,
अनि यो पनि –
मन्दिरमा स्थापित मुख्य शिला
जगमा गाडिएको शिलाभन्दा
श्रेष्ठतर होइन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
द प्रोफेटको नेपाली अनुवाद, गुरू अध्यायः ८, अपराध र सजाय
३ माघ २०८२, शनिबार 








