प्रेमिल (रोमान्सका उपन्यास) पुस्तक मात्र प्रदर्शनीमा राख्ने पुस्तक पसल हालै लण्डनमा खुलेको छ । प्रेमिल पुस्तकहरु मात्र पढ्न रुचाउनेका लागि यो पुस्तक पसल निकै लोकप्रिय हुन थालेको छ । पाठकहरु यहाँ जाने र आफूलाई मन परेका प्रेमिल उपन्यासका टुक्राहरु पढ्दै टिकटकमा राख्न थालेपछि यो पसलको चर्चा बढेको हो ।

त्यसो त लगभग अश्लील शैलीका रोमान्स उपन्यास पढेर पोस्ट गर्नेहरुलाई केहीले ‘स्मट’ र ‘फेयरी पोर्न’का पाठक भन्दै आलोचना नगरेका होइनन् तर यसका पक्षधरहरु भने यसमा लजानुपर्ने र अनुहारै रातो पार्नुपर्ने कुनै कारण नभएको भन्दै झन् जोडका साथ यो पुस्तक पसलको प्रचारमा जुटेका छन् ।

रोमान्स विधा बेलायतमा सबैभन्दा बढी पढिने उपन्यास विधा हो । बेलायतमा रहेका सात हजार पुस्तक पसलेले गएको वर्ष मात्र ६ करोड ९० लाख पाउन्ड बराबरका रोमान्स उपन्यास बिक्री भएको थियो । यसबाहेक अन्य उपन्यासको बिक्री जोड्दा करिब एक अर्ब पाउन्ड पुगेको थियो । सन् २०२४ मा सबैभन्दा बढी उपन्यास बिक्री भएर एक अर्ब पाउन्डको कीर्तिमान नै बनेको थियो ।

रोमान्स विधामा प्रायः महिला केन्द्रित उपन्यास पर्ने गर्छन् । तिनको संघर्ष र उतार चढावसँगै सफलताको कथा तिनले बेच्ने गर्छन् । ‘रोमान्ट्यासी’ पनि भनिने यो विधामा सामाजिक सञ्जालमा बढी नै चर्चा हुने हुनाले यसको बिक्री बढेको पुस्तक पसलेहरुको भनाइ छ ।

अहिले पनि लण्डनमा खुलेको यो पुस्तक पसलमा राम्रै भिड देखिन्छ । यो पसलकी संस्थापक सारा म्याक्सवेलले द गार्डियन पत्रिकालाई भनेकी छन्, ‘कहिलेकाहीँ त यस्तो भिड हुन्छ कि यहाँ भित्र छिर्न हामीले टिकटसमेत बेच्नु प¥यो । टिकट भएका ग्राहकहरुलाई दिइएको समयभित्र पसलभित्र छिर्ने र आफ्नो किनमेल र टिकटक बनाउने समय दिने गरिएको थियो ।’

समाजमा यो विधा ज्यादै लोकप्रिय भए पनि यसलाई खासै महत्व नदिइएकामा म्याक्सवेललाई भने चित्त दुख्छ । उनी भन्छिन्, ‘समाजमा रोमान्स उपन्यासप्रति बढी नै दुर्भावना देख्छु । धेरैले यो विधालाई नाक बजाउने गरेका छन् । यसलाई निम्न गुणस्तरको उपन्यास ठान्नेहरुको कुनै कमी छैन तर खासमा भन्ने हो भने यो दुर्भावनामा कुनै सत्यता छैन । उपन्यास पनि उत्तिकै उच्च गुणस्तरका हुन्छन् । लेखकहरु पनि नाम कमाएका छन् । यी उपन्यासलाई बढी बिक्री हुने भएकाले तथाकथित उच्च गुणस्तरका पसलेहरुले पनि बिक्री गर्ने गरेका छन् ।’

उनको भनाइमा, धेरैजसो पुस्तकप्रति हेर्ने दृष्टिकोण पुरुषवादी छन् । पुरुषहरुले आफ्नो दृष्टिले हेर्ने भएकाले यस्ता उपन्यासलाई गुणस्तरहीन ठानेका हुन् । यस्तै धारणामा हुर्किएका महिलाले पनि यसको सौन्दर्य नदेखेर आलोचना गर्ने गरेका छन् ।

त्यसैले उनले आफ्नो पुस्तक पसलको नाम नै ‘स्मट हट’ (फोहोरी टहरो) राखेको बताइन् । उनी भन्छिन्, ‘फोहोरी उपन्यास पढाउने उद्देश्यमा हामी सफल भइरहेका छौं । फोहोरी कुरालाई घृणा हैन, हामीले त्यसलाई स्वीकार गर्नुपर्छ भन्ने उद्देश्यका साथ फोहोरी उपन्यासलाई ठाउँ दिएका हौं । त्यो पनि फोहोरी टहरोमा पाठकलाई तान्न सफल हुनु कम गौरवको कुरा होइन ।’

पश्चिमी लण्डनको नटिङ हिल क्षेत्रमा गार्डियन पत्रिकाकी पत्रकार नादिया खोमामी पुग्दा त्यहाँ पुस्तक किन्न गएका अञ्जान महिलाहरुबीच कुराकानी भइरहेको थियो । तिनले त्यहाँ आफूलाई मनपर्ने लेखक र तिनको लेखनशैलीबारे छलफल गरिरहेको देखिन्थ्यो ।

पसलकी सञ्चालिका म्याक्सवेल भन्छिन्, ‘मलाई रसिला पुस्तक पढ्न मन पर्छ । तर रसिला पुस्तकहरुलाई केन्द्रित गरेर पसल चलाएको पाइनँ । किन आफैं नचलाऊँ भन्ने उद्देश्यले यो पसल खोलेकी हुँ ।’

म्याक्सवेल पहिला अमेरिकाको लस एन्जल्समा एउटा प्रविधि कम्पनीमा कार्यकारी भूमिकामा थिइन् । उनले त्यो प्रविधि कम्पनीलाई लोकप्रिय बनाउन अनेक सफल रणनीतिहरु पनि बनाएकी थिइन् ।

उनले यहीँ आएर थाहा पाइन्, रोमान्समाथि लेख्ने लेखकहरु यति बिकाउ छन् कि सारा पुस्तकको २० प्रतिशत यिनैका कथाहरु बिक्छन् । बिक्ने भए पनि उनीहरुका उपन्यासलाई पसलेहरुले लुकाएर राख्ने गरेको उनले देखिन् । यसबाट उनलाई ज्यादै चित्त दुख्यो र मनमनै उनले प्रण गरिन्– मैले पसल खोलेँ भने यिनलाई मात्रै ठाउँ दिन्छु ।

यस्ता रोमान्स उपन्यासलाई धेरैले ‘प्रेमका दुश्मन’ अथवा ‘दोस्रो मौकावादी रोमान्स’ भनी नामकरण गर्ने गर्छन् । पछिल्लो समय ज्यादै बिक्री भएको एउटा उपन्यास छ, अ कोर्ट अफ थ्रोन्स एन्ड रोजेज । प्रशंसकहरुले यसको आफ्नै नाम राखिदिएका छन्, एकोटार । महिलाहरुको प्रमुख भूमिका रहेको यो उपन्यासको बेग्लै चमत्कारी संसार छ । सारा जेसिका मासले लेखेको यो उपन्यासको सबै शृंखलाहरु ३८ भाषामा अनुवाद भएको छ । यसको अंग्रेजी संस्करण मात्र सात करोड प्रति बिक्री भएको छ ।

पसलमा घुम्न आएकी रेबेका पोलार्ड र हेली पेज भन्छन्, ‘हामीसँग घरमा रोमान्स उपन्यासको एउटा पूरै पुस्तकालय छ । घर आउनेहरु पनि हामीलाई धन्य मान्छन् किनभने हामीलाई पुस्तकको कुलत लागेको छ, लागू औषधको छैन ।’

धेरैजनाले यो विधाको पुस्तकलाई साह्रै नीचो देख्दा भने उनीहरुलाई चित्त दुख्छ । रेबेका भन्छिन्, ‘मेरो मनपर्ने विधाका उपन्यासहरुलाई ‘फेयरी पोर्न’ र अन्य किसिमका फोहोरी उपनाम दिँदा साह्रै चित्त दुख्छ । महिलाहरुले स्वाद लिएर पढ्न थालेकामा धेरैजसो पुरुषवादीहरुलाई साह्रै ईष्र्या लागेर यस्तो उपनाम दिने गरेका छन् । के महिलाले चाहिँ स्वाद लिनु हुन्न र ? यस्तै प्रकृतिको गेम अफ थोन्र्स चाहिँ क्लासिक कल्ट हुने अनि महिला केन्द्रित त्यस्तै उपन्यास चाहिँ कसरी फोहोरी उपन्यास भयो ?’