अपरिचित (द स्ट्रेन्जर) नोबेल पुरस्कार बिजेता फ्रान्सेली उपन्यासकार अल्बर्ट कामू (७ नोभेम्बर १९१३ – ४ जनवरी १९६०) को एउटा प्रसिद्ध उपन्यास हो । उनी अल्जेरियाको मोन्डोभीमा हुर्किए । उनको परिवार धेरै गरीब थियो । उनले अल्जियर्स विश्वविद्यालयमा दर्शनशास्त्रको अध्ययन गरे तर क्षयरोगको कारणले डिग्री भने पूरा गर्न सकेनन् । पछि नाटकमा उनको रुचि हुर्कन थाल्यो । समय रहँदै उनले धेरै ठाउँ भ्रमण गरे । सन् १९४० मा उनी फ्रान्सबाट अल्जेरिया फर्किए र अध्यापन कार्यमा लागे । सन् १९४० मा उनको विवाह भयो । सन् १९४७ मा उनले राजनीतिमा भाग लिन लागेका थिए । कामूले नाजीवादको विरोध गरे र फ्रान्सेली प्रतिरोधमा सक्रिय रहे । पछि उनको मृत्यु कार दुर्घनामा हुन पुग्यो ।

कामूलाई सन् १९५७ मा ४४ वर्षको उमेरमा ‘द प्लेग’ नामक उपन्यास र अन्य कृतिका लागि नोबेल पुरस्कार दिइयो । ‘द प्लेग’ मा महामारीको अराजकताका बीच मानवताको नैतिक लडाइँ र सामूहिक मानवताको खोज देखाइएको छ । यसमा महामारीसँग जुझिरहेका मानव, संघर्ष र विद्रोहको कथा छ । पीडाको बीचमा पनि मानिसले आफ्नो गरिमा र एकताबद्धतालाई कसरी कामय राख्छ्न् भन्ने विषय उपन्यासमा उजिल्याइएको छ ।

अल्बर्ट कामू महान लेखक र दार्शनिकसमेत थिए । उनले अस्तित्ववाद, निरर्थकतावाद र संशयवादमाथि गहन विचार प्रस्तुत गरेका थिए । उनका अनुसार जीवन स्वाभाविक रूपले निरर्थक छ, किनकि मानिसले ब्रह्माण्डमा नभएको अर्थको खोजी गर्दछन् । मानिसले निरर्थकतालाई स्वीकार गरेपछि मात्र वास्तविक स्वतन्त्रता पाउन सक्छन् । धार्मिक आस्थालाई उनी निरर्थकताबाट बच्ने प्रयास मान्थे । उनका अनुसार ईश्वरमा विश्वास गर्नु वा कुनै उच्च उद्देश्यको कल्पना गर्नु मानिसको लागि दार्शनिक आत्महत्या जस्तै हो, जहाँ वास्तविकताबाट भागेर कुनै काल्पनिक व्यवस्थामा सुख खोज्ने प्रयास गरिन्छ । उनी ईश्वरको अस्तित्वको प्रश्नलाई नै निरर्थक मान्थे । उनका अनुसार ईश्वर होस् वा नहोस्, यसबाट मानव जीवनका चुनौती र नैतिक दायित्व बदलिंदैनन् । उनी व्यक्तिले विद्रोह र नैतिकताको माध्यमबाट जीवनलाई सार्थक बनाउनुपर्ने कुराको वकालत गर्थे । उनको प्रमुख कृति ‘द मिथ अफ सिसिफस’ सन् १९४२ मा प्रकाशित भएको थियो । यसमा एक अर्थहीन ब्रह्माण्डमा सिसिफसले जसरी नै पटक-पटक परिश्रम गरे पनि मानिसले आफ्नो वास्तविकतालाई स्वीकार गरेपछि मात्र सुख र स्वतन्त्रता प्राप्त हुन सक्छ भन्ने सन्देश दिइएको छ ।

उनका रचना ‘द प्लेग’ र ‘द रिबेल’ ले नैतिकताको लागि ईश्वर वा धर्मको आवश्यकता पर्दैन भन्ने कुरा दर्शाउँछन् । उनका अनुसार मानिसले आफ्नो नैतिक मूल्य आफैले स्थापित गर्नुपर्छ र अरुप्रति सहानुभूति तथा न्यायको भावनाले काम गर्नुपर्छ, कुनै दैवीय नियमको डरले होइन । कामू धार्मिक आस्था मानिसलाई वास्तविकताको सामना गर्नबाट रोक्ने भ्रम हो भन्थे । मनिसले कुनै दैवी आस्थाबिना आफ्ना शर्तहरूमा जिउनुपर्छ । उनका अनुसार निरर्थकतालाई स्वीकार गरेर पनि जीवनलाई सुन्दर र सार्थक बनाउन सकिन्छ ।

‘द स्ट्रेन्जर’ (अपरिचित) उनको निरर्थकतावादलाई दर्शाउने एक सुप्रसिद्ध उपन्यास हो । यस उपन्यासले तत्कालीन फ्रान्सको सांस्कृतिक जीवनमाथि प्रकाश पार्दछ । यो उपन्यासमा आधुनिकतावादी मापदण्डको चरित्र-चित्रण र पात्रमाथि विशेष जोड दिइँदैन, बरु व्यक्तिको आन्तरिक पक्षको वर्णन बढी उल्लेखनीय मानिन्छ । यो उपन्यास निरर्थकतावादी दर्शनमा आधारित छ । यसलाई एक महान् उपन्यासका रूपमा मानिन्छ ।

उपन्यासको मुख्य पात्र मर्सल्टले उसकी आमाको मृत्युको खबर पाउँछ । त्यसपछि ऊ शवयात्रामा निस्कन्छ । तर ऊ त्यहाँ भावहीन हुनपुग्छ र भोलिपल्ट नै विभिन्न मनोरन्जनात्मक कार्यमा सामेल हुन थाल्छ । पछि परिस्थितिवश एउटा अरब व्यक्तिको हत्या गरिदिन्छ र उसलाई गिरफ्तार गरिन्छ । अदालतमा उसको भावशून्यतालाई अपराधको प्रमाणका रूपमा पेश गरिन्छ । अन्त्यमा, उसलाई मृत्युदण्डको सजाय सुनाइन्छ ।
अपरिचित अर्थात् ‘द स्ट्रेन्जर’ उपन्यास अस्तित्ववादी र निरर्थकतावादी साहित्यको एक उत्कृष्ट शास्त्रीय कृति हो । यो जीवन, मृत्यु, नैतिकता र सामाजिक स्थितिको व्याख्या गर्ने एक दार्शनिक ग्रन्थ पनि हो । उपन्यासमा साहित्यकार कामूको दार्शनिक चिन्तनको भरपुर प्रयोग गरिएको छ । यहाँ मानवजीवनको कुनै पूर्वनिर्धारित अर्थ छैन र ब्रह्माण्ड मानवको अस्तित्वगत इच्छाप्रति उदासीन छ ।

उपन्यासको प्रमुख पात्र मर्सल्ट आफ्नी आमाको मृत्युमा कुनै शोक मनाउँदैन । प्रेमिकासँग प्रेमबिना नै विवाह गर्न तयार हुन्छ । र, कुनै स्पष्ट कारणबिना नै एक अरब व्यक्तिको हत्या गर्न पुग्छ । जेलमा मृत्युदण्डको प्रतीक्षा गरिरहेको बेलामा मर्सल्टले जीवन र मृत्यु दुवै निरर्थक छन् भन्ने कुरा बुझ्छ, तर पनि उसले ब्रह्माण्डको कोमल उदासीनतालाई स्वीकार गर्छ ।

समाज झूटो भावना र रीतिरिवाजमा टिकेको छ । तर मर्सल्ट अप्रत्यक्ष रूपमा साँचो बोल्छ । समाजद्वारा आमाको मृत्युमा उसले दुःख प्रकट गरोस् भन्ने अपेक्षा गरिन्छ तर ऊ इमान्दारीपूर्वक आफूलाई कुनै दुःख नभएको स्वीकार गर्छ । वकिल र न्यायाधीशले उसको अपराधभन्दा बढी उसको भावशून्यतालाई अनैतिक मान्छन् । उसको अपराध नभए पनि समाजका नियमहरूलाई नमान्नुको कारणले उसलाई दोषी ठहराइन्छ । यो उपन्यासमा सूर्यको प्रकाश र गर्मीलाई पनि प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । यो मर्सल्टको तनाव र अस्तित्वगत संकटको प्रतीक हो । हत्या गरेको बेलामा सूर्यको चमकले उसलाई अन्धो बनाइदिन्छ । यसले निरर्थक जीवनको अतार्किततालाई दर्शाउँछ ।

मर्सल्ट आफ्नो जीवनलाई जस्तो हुन्छ, त्यस्तै छोडिदिन्छ । कुनै योजना बनाउँदैन । उसले भइरहेको स्थितिलाई नै स्वतन्त्रता ठान्छ । उसले जागिर, प्रेम वा हत्या कुनै विषयमा पनि सक्रिय निर्णय लिंदैन । मृत्युदण्डको सजायपछि उसले आफ्नो जीवनलाई आफ्नै तरीकाले जिएको ठान्छ, समाजले उसलाई अपरिचित ठाने पनि उसलाई यसको कुनै परवाह हुँदैन । यो उपन्यासमा धर्मलाई एक झूटो सान्त्वनाको साधनको रूपमा प्रस्तुत गरिएको छ । जेलमा पादरीले मर्सल्टलाई प्रायश्चित गर्न र ईश्वरमा विश्वास गर्न भन्दा पनि यसलाई उसले ठाडै अस्वीकार गर्छ । उसको लागि ईश्वरको अस्तित्व जीवनको अर्थ खोज्नु जस्तै निरर्थक छ ।

यसरी यो उपन्यासले निरर्थकतावादी साहित्यिक अवधारणालाई प्रस्तुत गर्दछ, जसमा अर्थहीनतालाई स्वीकार गरेर पनि जीवन जिउन सकिन्छ भन्ने मान्यता राखिन्छ । यो उपन्यासले मानिसको नैतिकता वास्तवमा आफ्नै हो वा समाजद्वारा थोपरिएको हो भन्ने गम्भीर प्रश्न उठाउँछ । मर्सल्टको तटस्थताले उसलाई समाजको लागि एक अपरिचित बनाउँछ । यसको साथै ऊ एक अस्तित्वको कठोर वास्तविकताको प्रतीक पनि हुन्छ ।

उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा

मर्सल्ट नामको एउटा युवक फ्रान्सको उपनिवेश अल्जियर्सको शहरमा बस्दथ्यो । एक दिन उसले टेलिग्राममार्फत् आफ्नी आमाको मृत्यु भएको खबर प्राप्त गर्दछ । उसकी आमा एक वृद्धाश्रममा रहन्थिन् आमाको मृत्युको खबरले उसलाई केही फरक पार्दैन । अब ऊ कामबाट बिदा लिएर बसमार्फत् बृद्धाश्रमतिर लाग्छ । ऊ आफ्नो यात्राको क्रममा धेरै सुत्छ । वृद्धाश्रम पुगेर उसले निर्देशकसँग कुरा गर्दछ । त्यसपछि निर्देशकले उसलाई आफ्नी आमालाई हेर्ने अनुमति दिन्छ । तर ऊ भित्र पुग्दा उसकी आमालाई पहिले नै कफनमा हालेर बन्द गरिसकिएको देख्छ । हेरविचार गर्नेले कफन फेरि खोल्न सकिने कुरा गर्छ, तर मर्सल्ट यसो गर्न अस्वीकार गर्दछ । हेरविचार गर्ने मानिसलाई यो कुराले दुःखित बनाउँदछ । उसको रूपरङ्ग र चालढालबाट उसलाई आमाको मृत्युको कुनै दुःख भएको देखिंदैन । उसको उदासीनता देखेर मानिस हैरान हुन्छन् ।

आमाको अन्तेष्टि गर्नुभन्दा पहिले मर्सल्ट राति कफन निकट नै रहन्छ । यस क्रममा ऊ सिगरेट र दूध कफी पिउँछ । तर यस्तो अवस्थामा मानिस कालो चिया वा कफी पिउँछन् । ऊ जागा रहँदैन, बरु सुतिहाल्छ । भोलिपल्ट अन्तेष्टिको बेलामा निर्देशकले थोमस नामको मान्छे पनि सामेल हुने कुरा भन्छ । थोमस उसकी आमालाई माया गर्दथ्यो । मर्सल्टलाई यो कुरामा कुनै आपत्ति हुँदैन । अन्तेष्टिमा उपस्थित मानिसहरूलाई मर्सल्टको व्यवहार अचम्मको लागिरहेको थियो । न उसले आमाको मृत्युमा आँसु नै बगायो र न उसको अनुहारमा कुनै दुःख नै देखियो ।

अन्तेष्टिको तुरून्तै पछि ऊ अल्जियर्सको लागि रवाना भयो । अन्तेष्टि कार्यले उसलाई धेरै थकित महसुस भइरहेको थियो र अब उसले राहतको सास लिएको थियो । भोलिपल्ट मर्सल्ट समुद्री किनारामा पौडी खेल्न गयो । त्यहाँ उसले आफ्नी पुरानी साथी मेरीलाई भेट्यो । केही बेरपछि उनीहरूले डेटिङमा जाने निर्णय गर्छन्, घुम्छन् र मस्ती गर्दछन् । त्यसपछि उनीहरू साँझ एउटा हास्य चलचित्र हेर्न जान्छन् । यसपछि मेरी उसको कोठामा आउँछिन् र राति उनीहरूले अन्तरङ्ग सम्बन्ध बनाउँछन् । यो सबै घटना मर्सल्टको आमाको मृत्यु भएको ठीक भोलिपल्ट नै भइरहेको छ । मेरीले के तिमी आमालाई माया गर्दैनौं भनेर सोध्दा ऊ भन्छ – यसको कुनै अर्थ छैन । उनले के तिमी मसँग विवाह गर्छौं भनेर सोध्छिन् । ऊ भन्छ – यदि तिमीलाई विवाह गर्नुछ भने गरौंला । यसपछि मर्सल्ट सुत्छ । बिहान उठ्दा उसले मेरी गइसकेकी देख्छ । ऊ दिउँसोसम्म ओच्छ्यानमै पल्टिरह्यो । त्यसपछि साँझ बाल्कोनीबाट मानिसहरूको आवत-जावत हेरिरह्यो ।

मर्सल्ट सोमबार आफ्नो अफिस गयो । उसको मालिकले पेरिसमा खुलेको शाखामा जान चाहन्छौं भनेर सोध्छ । ऊ भन्छ – यदि तपाईं पठाउन चाहनुहुन्छ भने ठीक छ । मर्सल्टको आफ्नो कुनै खुशी देखिंदैन । ऊ अरूलाई खुशी बनाउन चाहन्छ वा सामुन्नेको व्यक्ति खुशी होस् भन्ने चाहन्छ । उसलाई विवाहमा कुनै रुचि छैन, तर केटी खुशी होस् भनेर विवाह गर्न तयार हुन्छ । उसलाई पेरिस जानमा पनि कुनै रुचि हुँदैन, तर ऊ जान्छ । किनकि यसबाट उसको मालिक खुशी हुन्छ । मर्सल्ट आफूलाई असल मानिस ठान्छ । अरूले उसको बारेमा र आमालाई वृद्धाश्रममा पठाएको बारेमा, मृत्युमा कुनै शोक नगरेको बारेमा गलत ठान्छन्, तर यसले उसलाई केही फरक पार्दैन ।

मर्सल्टले अफिसमा आफ्नो साथीसँग खाना खायो र त्यसपछि साँझ ५ बजे आफ्नो अपार्टमेन्टमा आयो । त्यहाँ उसले आफ्नो छिमेकी रेमण्डलाई भेट्यो । उसले मर्सल्टलाई खाना खाने निमन्त्रणा दियो । रेमण्ड कुकर हराएकोमा दुःखी छ । मर्सल्टलाई आफ्नी आमा गुमाएकोमा पनि कुनै दुःख छैन । रेमण्डको बारेमा के अफवाह थियो भने ऊ वेश्याहरूको दलाल थियो । खाना खाँदै गर्दा रेमण्डले आफ्नी प्रेमिकालाई पिटेको कुरा बतायो । किनभने उनले अरू कोहीसँग भेट गरिरहेकी थिइन् र उसलाई धोका दिइरहेकी थिइन् । तर यसपछि उनको भाइसँग उसको झगडा भएको थियो ।
रेमण्ड अब आफ्नी प्रेमिकालाई पाठ सिकाउन चाहन्थ्यो । उसले मर्सल्टलाई एउटा पत्र लेखेर आफ्नी प्रेमिकालाई अपार्टमेन्टमा बोलाउनु भन्छ । रेमण्ड ऊसँग एउटै ओच्छ्यानमा सुतेपछि उनको मुखमा थुक्न चाहन्थ्यो । मर्सल्ट यसको लागि तयार हुन्छ र पत्र लेख्दछ । अर्को शनिबार मेरी मर्सल्टको अपार्टमेन्टमा आउँछिन् । उनले मर्सल्टलाई के तिमी मसँग प्रेम गर्छौं भनेर सोध्छिन् । मर्सल्ट यो सबै कुराको कुनै अर्थ छैन भन्छ ।

त्यसपछि रेममण्डको अपार्टमेन्टबाट झगडाको आवाज सुनिन्छ । रेमण्डले आफ्नी प्रेमिकालाई पिटिरहेको हुन्छ । उसले उनलाई थप्पड मारेको थियो । त्यसपछि एउटा पुलिस आउँछ, रेमण्डलाई थप्पड हान्छ र उसले ठानामा आउने कुरा गर्दछ । रेमण्डले मर्सल्टलाई आफ्नी प्रेमिका बेइमान हो भनेर आफ्नो पक्षमा साक्षी बस्ने कुरा गर्दछ, उसले स्वीकार्छ । भोलिपल्ट रेमण्डलाई चेतावनी दिएर छोडिन्छ ।

एकदिन मेरीले मर्सल्टलाई के मलाई विवाह गर्दछौं भनेर सोध्छिन् । मर्सल्ट भन्छ – यदि तिमी यही चाहन्छ्यौं भने विवाह गरौंला । यसपछि दुवैले ‘इन्गेजमेन्ट’ गर्दछन् । आइतबारको दिन रेमण्डले ती दुवैलाई समुद्री किनामा बनेको आफ्नो साथीको घरमा लिएर जान्छ । उनीहरू तीनै जना समुद्रमा नुहाउँदछन् र दिउँसो खाना खाएर रमाइलो गर्दछन् । दिउँसो रेमण्डको प्रेमिकाको भाइ तथा उसका साथीहरू त्यतै हुन्छन् । ऊ एक अरब हो र उसले धेरै दिनदेखि रेमण्डको पीछा गरिरहेको हुन्छ । अब उनीहरूको झगडा हुन्छ र यही बीचमा प्रेमिकाको भाइले रेमण्डलाई चक्कु प्रहार गरेर भाग्छ ।

मर्सल्टले उसको घाउमा औषधि लगाएर पट्टी बाँध्दछ । उनीहरू दुवै फेरि फर्किन्छन् । तर उनीहरूले रेमण्डको प्रेमिकाको भाइलाई झर्ना नजिकै चक्कु हल्लाइरहेको देख्दछन् । रेमण्ड उसलाई गोली हान्नको लागि आफ्नो पेस्तोल निकाल्छ । तर मर्सल्टले उसलाई सम्झाएर पेस्तोल लिन्छ । तर पछि मर्सल्ट पिस्तोल लिएर त्यहाँ आउँछ । उसलाई दुवैले फेरि भेट्छन् र धम्क्याउन लाग्दछन् । त्यसपछि मर्सल्टले चक्कु प्रहार गर्नेलाई गोली हान्छ, जसको कारणले उसको मृत्यु हुन्छ । त्यो केटो एकै गोलीबाट मरिसकेको हुन्छ, तर मर्सल्ट नजिकै गएर उसलाई अरु चार गोली हान्छ ।

यसपछि मर्सल्टलाई गिरफ्तार गरेर जेलमा हालिन्छ । वर्षभरी ऊ जेलका झ्यालहरूबाट हेर्छ र आफ्ना पुराना कुराहरूको स्मरण गर्छ । ऊ जेलमा एक स्वतन्त्र व्यक्ति जस्तो महसुस गर्छ । वकिलहरू उसले आफूले गरेको कार्यबाट कुनै पनि पछुतो नलिएको देख्छन् । त्यसपछि उनीहरू सबै मुद्दामा ऊ आफ्नी आमाको मृत्युमा न रोएको थियो र न दुःख नै प्रकट गरेको थियो भन्ने कुरामा बहस गरिरहन्छन् । बरू एकदिन पछि नै उसले हास्य चलचित्र हेरेको थियो र मजा लिएको थियो। उनीहरू भन्दछन्, ऊ एक राक्षस थियो, ऊ मानवताको दुश्मन थियो । मर्सल्टले आफ्नो अपराध स्वीकार गरिकेको थियो, तर उसलाई मुद्दा चलाउनेहरू यो मानिस कति निर्दयी र कठोर छ भन्ने कुराबाट चकित छन् । उसले आफ्नी आमाको अन्तेष्टिमा एक थोपा आँशू पनि झारेन ।

मर्सल्ट सधैं जस्तै यी सबै कुरामा शान्त, एकदम शान्त रहन्छ । यसपछि मेजिस्ट्रेटले मर्सल्टको मर्डर चलचित्र के थियो भन्ने कुरा बुझ्ने कोशिस गर्छ । तर उसले कुनै पनि उत्प्रेरणा पाउन सकेन । त्यसपछि उसले एउटा धार्मिक क्रस निकाल्यो र मर्सल्टलाई भन्यो – यो क्रसप्रति श्रद्धा देखाउ । तर मर्सल्टले भन्यो – मलाई ईश्वरप्रति कुनै विश्वास छैन । यो सुनेर मेजिस्ट्रेटलाई धेरै आश्चर्य भयो । उसले मर्सल्टलाई वास्तवमा नै खराब मानिस ठान्यो र क्राइस्ट विरोधी भनेर बोलायो ।

एक दिन मेरी मर्सल्टलाई भेट्न जेलमा आउँछिन् । उनलाई ऊ रिहा हुनेछ र उनीहरू दुवैले एकदिन विवाह गर्नेछन् भन्ने आशा थियो । विस्तारै मर्सल्टलाई जेलको आदत हुनलाग्छ । शुरूमा उसलाई प्रकृति, सिगरेट र मेरीसँगको दूरीको कारणले दुःख भयो । तर यसपछि ऊ जेलको माहौलमा अभ्यस्त भयो । ऊ धेरैजसो समय सुतेर नै बिताउँथ्यो ।

अदालतमा तिमीले अरबलाई किन मार्यौं भनेर सोधिन्छ । ऊ भन्छ – मलाई धेरै गर्मी लागिरहेको थियो, त्यसकारण मारिदिएँ । यो सुनेर अदालतमा मानिस हास्न लाग्छन्, तर न्यायधीशलाई उसको यो उत्तर ठीक लाग्दैन । वकिलले तर्क गर्दछन्, यो व्यक्तिमा आफ्नो अपराधलाई लिएर कुनै पछुतो छैन । यसले एकपटक पनि खेद प्रकट गरेन, न माफी नै माग्यो । यो भित्रबाट एक दुष्ट छ । यसको आत्मा मरिसकेको छ । यसलाई मृत्युदण्डको सजाय दिनुपर्छ । मर्सल्टको पक्षका वकिल र उसका धेरै साथीले उसको असलपनको बारेमा अदालतलाई बताउँछन् । तर न्यायाधीशले उसलाई निर्दयी हत्यारा मान्छ ।

ट्रायलको अन्तिम दिन मर्सल्टलाई अदालतमा लगियो । त्यहाँ मान्छेहरूको भीड जमेको थियो । छिट्टै मुद्दाको विषय हत्याको साटो मर्सल्टको चरित्रमाथि चलाइयो । सबै साक्षीहरूलाई उसकी आमाको मृत्यु भएको दिन मर्सल्टको व्यवहार कस्तो थियो भनेर सोधियो । सबैले भने, उसले कुनै दुःख व्यक्त गरेको थिएन । मेरीले पनि भोलिपल्ट दुवैले हास्य चलचित्र हेरेको र डेटिङमा गएको कुरा बताइन् । अन्तमा कै फैसला गरियो भने मर्सल्टमा कुनै पनि नैतिकता छैन र ऊ समाजको लागि धेरै खराब छ । न्यायाधिशले उसको शिर काटेर मार्ने सजाय सुनायो ।

मर्सल्टलाई फेरि जेल ल्याइन्छ । उसमाथि भइरहेको यो कुरा बुझ्नमा ऊ असमर्थ भइरहेको थियो । ऊ सोच्न लाग्यो – यदि यहाँबाट भागियो भने आफ्नो जीवन फेरि सामान्य हुनेछ । ऊ के सोचिरहेको थियो भने उसले रिहाइको लागि अपिल गर्नुपर्दछ र आफ्नो कुरा राख्नुपर्दछ । एकदिन जेलमा मर्सल्टको इच्छा विपरीत एउटा पादरी उसलाई भेट्न आयो । उसले धर्मको विषयमा तर्क गर्दै चर्चसँग जोडिन भन्यो । मर्सल्टले भन्यो – मलाई ईश्वरप्रति कुनै विश्वास छैन र यी सबै कुरा म बकवास मान्छु । पादरी यो सबै सुनेर आश्चर्यचिकत भयो । उसले मर्सल्टलाई पटक-पटक बुझाउने धेरै कोशिस गर्छ । उसले भन्यो – यदि तिमीले ईश्वरलाई मान्न लाग्यौं भने रिहा गरिनेछ । तर मर्सल्ट रिसले पागल भयो । उसले पादरीलाई पक्रेर चिच्याउन शुरू गर्‍यो । र, उसले भन्यो – मेरो मान्यता के हो भने जिन्दगीको कुनै अर्थ छैन र संसार केवल भौतिक चीज हो । रक्षकहरूले मर्सल्टबाट पादरीलाई छुटाए र ऊ त्यहाँबाट गयो ।

पादरी गएपछि उसलाई राहत महसुस हुन्छ । ऊ सुत्छ । उठेपछि आफ्नी आमालाई स्मरण गर्छ । उसकी आमा अन्तिम दिनमा जिन्दगीलाई नयाँ तरीकाले जिउन चाहन्थिन् । उनमा वृद्धाश्रममा गएर जीवित रहने एक नयाँ इच्छा जागृत भएको थियो । मर्सल्टको जिन्दगीको पनि अन्तिम दिन चलिरहेको छ । उसलाई आफ्नी आमा धेरै सही भएको महसुस हुन्छ । मर्सल्टभित्र पनि जिवित रहने इच्छा जागृत हुन्छ । यद्यपि उसभित्र संसारप्रति एक गहिरो वैराग्य पनि जागृत हुन्छ । तर ऊ भित्रबाट धेरै शुद्ध र निर्मल महसुस गर्छ । उसको मन हल्का हुन्छ । ऊ आफूलाई सजाय दिएको बेलामा वरिपरि धेरै मानिस जम्मा भएर हल्लाखल्ला मच्चाउँदै बिदा गरून् भन्ने सोच्छ ।

यसपछि मर्सल्टले आफ्नो कुरामा गहन चिन्तन गर्छ । र, उसलाई भित्रैबाट के लाग्न लाग्छ भने वास्तवमा नै संसारमा कुनै पनि चीजको कुनै अर्थ छैन । सबै कुरा बकवास हो । उसको सजायको डर, जन्म, मृत्यु, आदिको कुनै अर्थ छैन । जब यी चीजहरूको कुनै अर्थ नै छैन भने यिनीहरूबाट डराउने कुरा पनि बसकवास नै हो । यो सोचेर उसलाई खुशी महसुस भयो र उसलाई लाग्यो – उसको जिन्दगी खुशीले नै बितेको छ ।

सन्दर्भ स्रोतहरूः

1. Camus, Albert. The Stranger (1942).
2. Aronson, Ronald. Albert Camus: A Life (2011).
3. Stanford Encyclopedia of Philosophy – “Albert Camus” (2020).\
4. https://www.macobo.com/essays/epdf/CAMUS,%20Albert%20-%20The%20Stranger.pdf
5. study and research of various websites, blogs, youtube channels, etc.

 

यहाँ पढ्नुस्, द स्ट्रेन्जर उपन्यासको नेपाली अनुवादः

अल्बेयर कामुको चर्चित उपन्यास ‘आउटसाइडर’को नेपाली अनुवाद १ | साहित्यपोस्ट