सोफीको संसार पश्चिमी संसारको दर्शनमा आधारित एउटा प्रसिद्ध उपन्यास हो । यसलाई जोस्टिन गार्डर (८ अगस्ट १९५२)ले लेखेका हुन् । उनी लेखक, शिक्षक र दार्शनिक हुन् । उनको जन्म नर्वेको राजधानी ओस्लोमा एक शिक्षक परिवारमा भएको थियो । उनी १९ वर्षको उमेरदेखि नै लेखक बनेका थिए र बाल साहित्यिक रचनाबाट आफ्नो लेखन आरम्भ गरेका थिए । उनी दोस्तोयेब्स्की, हरमन हेस, जर्ज लुई बोर्गेस एवम् ह्यमरसनबाट प्रभावित देखिन्छन् । उनको पहिलो कथासंग्रह सन् १९८६ मा प्रकाशित भएको थियो । त्यसपछि उनका दुई उपन्यास ‘द फ्राग क्यासल’ (१९८८) र ‘द सोलिटेयर मिस्ट्री’ (१९९०) प्रकाशित भएका थिए । गार्डरका रचनामा दर्शन, विज्ञान र कल्पनाको अनौठो मिश्रण पाइन्छ । उनका रचनाहरू बच्चादेखि वयष्कसम्म सबैलाई आकर्षक हुन्छन् ।
जस्टिन गार्डर करिब दुई दशकसम्म ओस्लोको एउटा कलेजमा दर्शनशास्त्र विषयका अध्यापक थिए । ‘सोफीको संसार’ उपन्यासको अभूतपूर्व सफलतापछि उनले आफ्नो सम्पूर्ण समय लेखनमा समर्पित गर्ने निर्णय गरेका थिए । त्यो बेलादेखि उनका १३ भन्दा बढी उपन्यास र बाल-साहित्यका कृतिहरू प्रकाशित भइसकेका छ्न् । उनलाई अनेकौं अन्तराष्ट्रिय पुरस्कारद्वारा सम्मानित गरिएको छ ।

लेखक जस्टिन गार्डर
‘सोफीको संसार’ उपन्यास सन् १९९१ मा प्रकाशित भएको थियो । यो पुस्तक संसारका बच्चादेखि लिएर विद्यार्थी, शिक्षक, दार्शनिक, चिन्तक र अन्य सबैको बीचमा धेरै प्रसिद्ध भयो । यसको ६० भन्दा बढी भाषामा अनुवाद भएको पाइन्छ । यो उपन्यासका लाखौंलाख प्रति बिक्री भए । यसैले लेखकलाई अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्धि दिलायो । सोफीको संसार एक साधारण उपन्यास मात्र होइन, यो एक दार्शनिक यात्रा पनि हो । यसमा एक १४ वर्षकी केटी सोफी विस्तारै संसार र स्वयंलाई बुझ्न शुरु गर्छिन् । उनलाई केही अचम्मका पत्रहरू प्राप्त हुन लाग्छन्, जसमा प्रश्न हुन्छन् । जस्तो कि, तिमी को हौ ? संसार कहाँबाट आएको हो ? यी प्रश्नहरूको जवाफ खोज्दै सोफी एक अदृश्य शिक्षक अल्बर्टो नोक्ससँग भेट गर्छिन् । अल्बर्टोले उनलाई सम्पूर्ण दर्शनको इतिहास सिकाउँदछ । यो उपन्यासको मुख्य विषयवस्तु सोच्नु, प्रश्नु गर्नु, चीजहरूलाई बुझ्नु र हरेक चीजको पछाडि गुप्त तर्क र अर्थलाई जान्नु हो । यो पुस्तकले जिज्ञासा मानिसको सबभन्दा महान् शक्ति हो भन्ने कुरा स्पष्ट पार्दछ ।
सोफीको संसार पुस्तक सरल, रहस्यमय र विचारोत्तेजक छ । यसमा दर्शनलाई कथाको माध्यमबाट बुझाउने अनौठो प्रयास गरिएको छ । यो उपन्यास दर्शनशास्त्रको एक पाठ्यपुस्तक जस्तै छ तर यसलाई कथाको रूपमा पढ्न सकिन्छ । सन् १९९९ मा यसमा आधारित रहेर एउटा चलचित्र समेत बनिसकेको छ । दर्शन र साहित्यप्रति रुचि हुनेहरूका लागि यो उपन्यास उत्कृष्ट मानिन्छ । गार्डरले यसमा दर्शन, अस्तित्ववाद, विज्ञान, धर्म र नैतिकताजस्ता गहन विषयहरूलाई सरल तरीकाले बुझाएका छन् ।
‘सोफीको संसार’ उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा
इडेनको बगैंचा (कुनै क्षण अवश्य शून्यबाट निक्लिएर आएको हुनुपर्छ)
सोफीको कथाको शुरुवात उनको एक सामान्य दिनबाट हुन्छ । उनी स्कूलबाट घर फर्किरहेकी हुन्छिन् । उनी नर्वेमा बस्ने १४ वर्षकी सामान्य केटी हुन् । उनी शान्त र सोचनीय छिन् । आफ्नो घरको गेट निकट पुग्दा उनले त्यहाँ एउटा अचम्मको प्रेषकबिनाको खाम भेट्टाउँछिन् । खाममा एउटा सानो नोट हुन्छ, जसमा ‘तिमी को हौ ?’ भनेर लेखिएको हुन्छ । सोफी यो प्रश्नबाट आश्चर्यचकित हुन्छिन् । शुरुमा त उनलाई कसैले ठट्टा गरिरहेजस्तो लाग्छ, तर यो प्रश्न उनको दिमागमा अडिइरहन्छ । उनी यस्तो आधारभूत प्रश्न कति महान् कुरा हो भन्ने सोच्छिन्; म स्वयं को हुँ ? के म केवल एक विद्यार्थी हुँ वा अरू केही ? उनी यो विचारमा यति धेरै डुब्छिन् कि स्वयंलाई दर्पणमा हेर्छिन् र सोच्छिन् – के यो शरीर नै मेरो परिचय हो ?
भोलिपल्ट सोफीले एउटा अर्को नोट पाउँछिन् । त्यसमा लेखिएको थियो- संसार कहाँबाट आएको हो ? अब उनी पूर्ण रूपमा भ्रमित र जिज्ञासु हुन्छिन् । यो प्रश्न पनि त्यति नै महान् छ, जति पहिलो प्रश्न थियो । उनको दिमाग अब प्रश्नहरूले भरियो । के यो सबै कसैले सोचविचार गरेर नै पठाएको हो त ? के यो कुनै रहस्य हो वा कसैले केही सिकाउन चाहन्छ ? यहींबाट सोफीको यात्रा शुरु हुन्छ । यो यात्राले उनको दैनिक थकावटयुक्त जीवनबाट निकालेर एउटा धेरै गहन र विचारपूर्ण संसारमा लिएर जान्छ ।
सोफीकी आमाले उनको व्यवहार परिवर्तन भइरहेको देख्छिन् । उनलाई सोफी विचलित र कतै हराइरहेकी छिन् जस्तो लाग्छ तर सोफी अब एउटा नयाँ दृष्टिकोणले चीजवस्तुहरूलाई हेरिरहेकी हुन्छिन् । उनी स्वयंलाई साना-साना प्रश्नहरू सोध्न थाल्छिन् । जस्तो कि, हामी किन सोच्छौं ? हामी जीवित किन छौं ? र, संसार यही रूपमा किन रहेको छ ? उनी यी प्रश्नहरूको उत्तर आफ्नो वरिपरिको संसारमा खोज्ने प्रयास गर्छिन्; बोटविरूवा, जनावार, आकाश र यहाँसम्म कि आफ्नो घरका पर्खालमा पनि । दर्शन कुनै निराशयुक्त विषय होइन, बरू यो जिज्ञासाबाट शुरु हुन्छ । सोफी संसारलाई नयाँ दृष्टिकोणबाट हेर्ने शक्ति प्रदान गर्ने एक शुद्ध जिज्ञासाकी संकेत हुन्। सोफी अब एक यस्तो मार्गमा अगाडि बढेकी छन्, जहाँ उनले संसार र स्वयंका बारेमा धेरै नयाँ कुरा सिक्नु छ । यद्यपि यसको मूल्य आफ्नो पुरानो सामान्य जीवनलाई छोडिदिनु हुन्छ ।
जादूमय टोपी (असल दार्शनिक हुनको लागि केवल विस्मित हुने क्षमता आवश्यक हुन्छ)

सोफीज् वर्ल्ड
सोफी अब ती रहस्यात्मक पत्रहरूलाई लिएर धेरै समस्यामा थिइन् । उनलाई यति गहन र विचित्र प्रश्न पठाइरहने को थियो ? किन र कसरी ? उनले अर्को पत्र पढ्छिन्, त्यसमा के लेखिएको हुन्छ भने असल दार्शनिक हुनको लागि केवल विस्मित हुने क्षमता आवश्यक हुन्छ । अब सोफी स्वयंलाई प्रश्न गर्छिन्- के म वास्तवमा आश्चर्यको भावना राख्छु ? त्यसपछि उनी एक सानो उदाहरणको बारेमा सोच्छिन् । जस्तो कुनै जादूगरले आफ्नो टोपीबाट कुनै खरायो निकालिदिन्छ । हेर्नेहरू हैरान हुन्छन् र ताली बजाउँछन् । तर बच्चाहरू त्योभन्दा धेरै चकित हुन्छन्, किनकि उनीहरूले पहिले कहिल्यै यस्तो केही देखेका हुँदैनन् । तर ठूलो हुँदै गएपछि आश्चर्य हुने कुरा बन्द हुन्छ । हरेक चीजलाई सामान्य मानिन्छ । जस्तो कि सूर्य उदाउनु, फूल फुल्नु, जीवन हुनु, आदि सबै सामान्य लाग्न थाल्छ । तर वास्तविक दार्शनिक त्यही हुन्छ, जो यी दैनिक चीजहरूमा पनि आश्चर्य महसुस गर्न सक्छ ।
सोफी यी सबै कुरालाई आफ्नो मस्तिष्कमा पटक-पटक दोहोर्याउन लाग्छिन् । उनी आफ्नो कोठाको झ्यालबाट बाहिर हेर्छिन्, आकाशको अवलोकन गर्छिन् र सोच्छिन्- यो बादल कहाँबाट आउँछ ? हावा किन चल्छ ? मानिसले बोल्न कसरी सिक्छ ? यति धेरै प्रश्नहरूको बीचमा उनी स्वयंलाई धेरै सानो महसुस गर्न थाल्छिन् । तर त्यही समय उनलाई एक फरक प्रकारको शक्ति प्राप्त गरेको महसुस हुन्छ; जस्तो कि, उनले अब वास्तवमा चीजलाई देख्न लागेकी छिन् । उनले स्वयंलाई भन्छिन्- म एउटा खरायोको रेशमी केसमा बसेकी छु र अब म माथितिर हेरिरहेकी छु । सो वाक्यले उनलाई सोच्न बाध्य बनाउँछ । के सबै मानिस केवल तल मात्र हेरिरहेका छन् ? के उनीहरूले यो जादूलाई महसुस गर्न सकिरहेका छैनन् ? उनी अन्ततः संसार हुनु नै स्वयंमा कति ठूलो जादू हो भन्ने सोचमा डुब्छिन् ।
सोफी त्यो मानसिकतामा प्रवेश गर्छिन्, जसमा उनी संसारलाई एक बच्चाको जसरी हेर्न शुरु गर्छिन्; हरेक चीजलाई जिज्ञासा र आश्चर्यको दृष्टिबाट । उनलाई के महसुस हुन्छ भने शायद वास्तविक जादू कुनै डरबिना प्रश्न सोध्नु नै हो । र, त्यसपछि उनलाई के लाग्छ भने उनी त्यो अदृश्य शिक्षकको अझ निकट आइरहेकी छिन्, जसले यी पत्रहरूको माध्यमबाट उनलाई एक नयाँ संसारमा लिएर गइरहेको छ ।
पौराणिक कथा- मिथक (असल र खराब शक्तिहरूको बीचमा अनिश्चित, अस्थिर सन्तुलन)
सोफीको जिज्ञासा दिनप्रतिदिन अझ गहिरो हुँदै गइरहेको थियो । अब उनलाई पत्रहरूमा प्रश्न मात्र प्राप्त भइरहेका थिएनन्, बरु उत्तरतर्फ संकेत पनि मिल्न लागिरहेको थियो । यसपटक उनले जुन खाम पाउँछिन्, त्यसमा उनले मिथकको बारेमा पढ्न पाउँछिन् । सोफी पुरानो समयमा मानिस चट्याङ वा मौसमलाई कसरी वर्णन गर्थे भन्ने कुरा सोचेर आश्चर्यचकित हुन्छिन्, जबकि उनीहरूसँग विज्ञान थिएन ।
प्राचीन समयमा मानिसले संसारका हरेक घटनाहरूलाई कुनै देवता वा अलौकिक शक्तिसँग जोडेर बुझ्ने प्रयास गरे । जस्तो कि, वर्षा हुने र बाली उम्रिने र समुद्र अस्तित्वमा रहने कुरा पनि यिनै देवताहरूको कारणले हुन्थ्यो ।
सोफीलाई के कुरा धेरै आकर्षक लाग्छ भने मानिस कुनै पनि अज्ञात चीजबाट डराउँथे र त्यसलाई बुझ्नका लागि कथा-कहानी बनाउँथे । यी कथाहरू नै मिथक थिए । केही यस्ता कहानीले एउटा समुदाय र एउटा संस्कृतिलाई जोडेर राख्थे । उनी सोच्छिन्, यदि विद्युतको पछाडि कुनै देवतालाई जिम्मेवार मान्ने हो भने शायद आज हामी बिजुलीको बल्ब पनि बाल्न सक्दैनथ्यौं । पत्रमा के कुरा पनि बताइएको हुन्छ भने मिथक केवल मनोरंजनको लागि मात्र थिएन बरु ती मानिसको जीवनका हरेक हिस्सामा सामेल थिए; जन्म, मृत्यु, युद्ध, विवाह, प्रेमजस्ता हरेक चीजमा ।
सोफीलाई आफूले एक नयाँ संसारलाई हेरिरहेको जस्तो लाग्छ । त्यहाँ कल्पना र विश्वास मिलेर वास्तविकताको निर्माण गर्थे । उनी आफ्ना घरका किताब पल्टाउँछिन् र ग्रिक मिथकको एउटा पुरानो किताब निकालेर पढ्न लाग्छिन् । त्यसमा उनले प्रोमिथियसको कथा पाउँछिन्, जसले मानिसका लागि आगो चोरी गरेको थियो । कसरी यी कथाहरूले मानिसहरूलाई शताब्दीयौंसम्म निर्देश गरे भन्ने कुराबाट उनी आश्चर्यचकित हुन्छिन् । तर यसको साथै सोफी अब प्रश्न पनि गर्न लाग्छिन् – के यो सबै साँचो थियो वा केवल कल्पना थियो ? त्यसपछि उनी सोच्छिन् – के आजका आधुनिक मानिस पनि केही यस्तै मिथकमा बाँचिरहेका छन् ? केवल फरक यतिमात्र छ कि तिनीहरू आजको भाषा र प्रविधिमा ढलेका छन् । यो सोचमा उनी डुब्छिन् । र, उनलाई के महसुस हुन्छ भने शायद दर्शनको शुरुवात यहीँबाट हुन्छ, यी पुराना कथाबाट प्रश्न गर्न शुरु गरेपछि हुन्छ । सोफीले फेरि एउटा अर्को पत्र पाउँछिन् । त्यसमा लेखिएको हुन्छ – दर्शन मिथकको अन्त्यबाट शुरु हुन्छ । यो वाक्यांशले उनलाई आश्चर्यचकित बनाउँछ, तर सँगै यसले एक नयाँ सोचतर्फ एउटा ढोका खोलिदिन्छ । उनी बुझ्छिन्, अब अगाडि आउने चीज अझ बढी गहन र आश्चर्यचकित बनाउने हुन्छ ।
प्राकृतिक दार्शनिक (शून्यबाट केवल शून्य नै प्रकट हुन सक्छ)
सोफी अब विस्तारै त्यो अदृश्य शिक्षकको संसारमा अझ गहिराईपूर्वक प्रवेश गर्दे गएकी थिइन् । यस पटक उनले प्राप्त गरेको पत्रमा अब ती पहिला विचारकको बारेमा पढ्नेछिन्, जसलाई प्राकृतिक दार्शनिक भनिन्छ । उनीहरू मिथकबाट निस्किएर प्रकृतिलाई वैज्ञानिक र तार्किक दृष्टिकोणबाट कुनै देवीदेवतालाई बीचमा नल्याइकन बुझ्ने कोशिस गरिरहेका थिए । सोफीलाई इतिहासमा धेरै विगतमा गइरहेको जस्तो लाग्छ । एउटा यस्तो समयमा, जहाँ मानिस पहिलो पटक संसार कुन चीजले बनेको छ भन्ने कुरा सोच्न लागेका थिए । पहिलो दार्शनिकको नाममा थेलिस आउँछ । उनी सम्पूर्ण चीजहरू पानीबाट बनेका हुन् भन्ने मान्यता राख्थे । त्यसपछि अनाक्सिमेण्डर र अनाक्सिमेनस आउँछन् । उनीहरूको मान्यताअनुसार सबै चीज एक आधारभूत तत्त्वबाट बनेका हुन्, जस्तो कि हावा वा कुनै अवर्णित पदार्थ ।
यी दार्शनिकहरूले कुनै टेलिस्कोप, माइक्रोस्कोप वा प्रयोगशालाबिना नै यति गहिरोसँग सोचिरहेको थाहा पाउँदा सोफी आश्चर्यचकित हुन्छिन् । यी चिन्तकमा साझा कुरा के थियो भने उनीहरू प्रकृतिको ढाँचालाई बुझ्न चाहन्थे; दिन-रात किन हुन्छ ? मौसम कसरी बदलिन्छ ? र, चीजहरूले कसरी जन्म लिन्छन् ? उनीहरूलाई के विश्वास थियो भने यी सबै घटनाक्रमको पछाडि कुनै न कुनै कारण हुन्छ । र, यही सोचले उनीहरूलाई मिथकबाट अलग गर्दथ्यो । सोफी अब आफ्ना वरिपरिका चीजहरूलाई पनि नयाँ तरीकाबाट हेर्न शुरु गर्छिन्, पानीको बहाव, हावाको हलचल, माटोको रंगजस्ता हरेक चीजले केही भनिरहेका थिए । उनले स्वयंलाई प्रश्न गर्छिन् । यदि थेलिस सही थिए र सबै चीज पानीबाट बनेको हो भने के म पनि पानी नै हुँ ? उनी के सोच्न लाग्छिन् भने शायद यही प्रश्नले उनलाई दर्शन जीवित रहने संसारमा लिएर जानेछ । उनलाई के कुरा पनि थाहा हुन्छ भने यी विचारक केवल कल्पना मात्र गरिरहेका थिएनन्, बरु उनीहरूले अवलोकन गर्न, अनुमान लगाउन र तर्क दिन पनि शुरु गरेका थिए, जुन अगाडि बढेर विज्ञानको जग बन्यो । अब सोफीलाई के महसुस हुन्छ भने मिथकलाई छोडेर तर्कतिर बढ्नु नै मानिसको सबभन्दा ठूलो बौद्धिक यात्रा थियो । उनले स्वयंलाई एक यस्तो यात्रामा पाउँछिन्, जहाँ अब उनीसँग केवल प्रश्न मात्र छैनन्, बरु तिनीहरूलाई बुझ्ने दर्शनको एक नयाँ भाषा पनि छ ।
डेमोक्रेटस (संसारको सबभन्दा कुशल खेलौना)
सोफी अब दर्शनको त्यो अवधिमा पुगिसकेकी थिइन्, जहाँ विचारकले प्रकृतिलाई बुझ्नको लागि परिकल्पनासँगै तर्कप्रणालीको पनि प्रयोग शुरु गरेका थिए । यस पटकको उनको पत्रमा डेमोक्रेटस नामका दार्शनिकको बारेमा उल्लेख गरिएको थियो । ती दार्शनिकले एउटा यस्तो अवधारणा प्रदान गरे, जुन अगाडि गएर आधुनिक विज्ञानको आधार बन्यो । र, त्यो एटमको विचार थियो । एटमको विचार कुनै वैज्ञानिकले होइन, बरु एक दार्शनिकले सबभन्दा पहिले दिएका थिए भन्ने कुरा थाहा पाएर सोफी आश्चर्यचकित हुन्छिन् । डेमोक्रेटसका अनुसार संसारका हरेक चीज धेरै साना-साना अदृश्य कणहरूबाट बनेका हुन्छन्, जसलाई उनले अटोमोस भने । उनको मान्यताअनुसार यी एटम सधैं अस्तित्वमान हुन्छन् र यही नै हरेक चीजको वास्ताविकता हो । यी एटमको कुनै रङ, स्वाद वा गन्ध हुँदैन । तर यिनीहरू मिलेपछि चीजहरूको आकार, रङ र गुण बन्छन् ।
सोफी आफ्नो वरिपरिका चीजहरूलाई हेरेर के सोच्न लाग्छिन् भने वास्तवमा हरेक चीज यति साना इकाईहरूबाट नै बनेका हुन सक्दछन् त ? के म स्वयं पनि एटमबाट नै बनेको हुँ ? उनलाई यो सोच एकदम जादूमय हुँदाहुँदै पनि तार्किक लागिरहेको हुन्छ । डेमोक्रेटसको मान्यताअनुसार कुनै अलौकिक शक्तिले चीजहरूलाई नियन्त्रण गर्दैन । सबै कुरा प्रकृतिका नियमहरू अनुसार हुन्छन् । डेमोक्रेटस एक भौतिकवादी व्यक्तित्व थिए । उनी पदार्थ नै वास्तविक हो भन्ने मान्थे ।
सोफीलाई यो विचार धेरै क्रान्तिकारी लाग्छ । किनकि उनी यस्तो संसारमा बाँचिरहेकी छिन्, जहाँ मानिस अझै पनि कुनै अदृश्य शक्तिमा विश्वास गर्दछन् । तर डेमोक्रेटस यी सबैभन्दा फरक ढंगले सोच्थे । उनका अनुसार आत्मा पनि अति सूक्ष्म एटमबाट नै बनेको हुन्छ । मानिस मरेपछि ती एटम पुनः प्रकृतिमा मिल्दछन् । पत्रमा यी सबै कुरा पढेपछि सोफीलाई विज्ञान कथा पढिरहेको जस्तो लाग्छ । तर यी सबै २४०० वर्ष पहिलेका कुरा थिए । उनी अब स्वयंलाई यस्तो मार्गमा पाउँछिन्, जहाँ उनका सम्पूर्ण पुराना विश्वास डगमगाउन लाग्छन् । उनलाई अब के लाग्छ भने दर्शनले केवल सोच्ने तरीका मात्र बदल्दैन, बरु यसले हाम्रो सम्पूर्ण वास्तविकतालाई नयाँ दृष्टिकोणबाट देखाउँदछ । डेमोक्रेटसको विचार साधारण हुनुको बावजुद धेरै गहन थियो । सोफीलाई के लागिरहेको थियो भने अब उनी केवल प्रश्न मात्र सोधिरहेकी छैनन्, बरु विस्तारै संसारलाई एक नयाँ तरीकाले हेर्न सिकिरहेकी छिन् ।
नियति (‘भविष्यवक्ता’ ले कुनै यस्तो चीजको पूर्वदर्शन गराउने प्रयास गरिरहेका छन्, जुन वास्तवमा बिल्कुल पूर्वदर्शनीय हुँदैन)
सोफी अब मानिसलाई शताब्दीयौंदेखि हैरान बनाइरहेका प्रश्नहरूतिर बढिरहेकी थिइन् । के हाम्रो जीवन पहिलेदेखि नै तय भएको हुन्छ या हामी आफ्नो निर्णय स्वयं लिन्छौं ? यस पटक उनले प्राप्त गरेको पत्रमा भाग्यको बारेमा चर्चा गरिएको हुन्छ । त्यहाँ के बताइएको हुन्छ भने प्राचीन ग्रिसमा मानिसको भाग्य पहिलेदेखि नै लेखिएको हुन्छ र कुनै पनि व्यक्तिले त्यसलाई बदल्न सक्दैन भन्ने मानिन्थ्यो । यो सोच भाग्यका देवीहरूसँग जोडिएको थियो, जसलाई दुपेट्स भनिन्थ्यो । जीवनको डोरीलाई बुन्ने, काट्ने र त्यसको लम्बाई तय गर्ने यी तीन बहिनी थिए । मानिसलाई उनीहरूको जीवन सम्पूर्ण रूपले अदृश्य शक्तिको नियन्त्रणमा हुन्छ भन्ने कुरा कसरी लाग्थ्यो भन्ने कुराले सोफी अचम्मित हुन्छिन् । पत्रमा उनी के कुरा पनि पढ्न पाउँछिन् भने केही दार्शनिकहरूले यो सोचलाई चुनौती दिए । उनीहरूले प्रश्न उठाए, यदि सबै कुरा पहिलेदेखि नै तय हुन्छ भने मानिस जिम्मेवार हुनुको के अर्थ हुन्छ ? के हामी केवल कठपुलती हौं ? सोफीलाई यो प्रश्न धेरै व्यक्तिगत लाग्छ । उनी सोच्छिन्, के म स्कूल जानु, यी पत्र प्राप्त हुनु जस्ता सबै कुराहरू कुनै योजनाका हिस्सा हुन् वा म स्वयं आफ्नो इच्छाले यो मार्ग अपनाइरहेको छु ?
यो सोचमा डुबेकी सोफी आफ्नो घर निकट बनेको एउटा पुरानो चर्चमा जान्छिन् र त्यहाँ एक्लै बसेर विचारमग्न हुन्छिन्; के ब्रह्माण्डमा कुनै अदृश्य चीज छ, जसले सबै कुराको संचालन गरिरहेको होस् ? उनलाई ग्रिक वियोगान्त कथाहरूको स्मरण हुन्छ, जहाँ पात्रहरू उनीहरूले जतिसुकै प्रयास गर्दा पनि भाग्यबाट भाग्न सक्दैनथे । तर उनी फेरि के सोच्छिन् भने दर्शनले हामीलाई प्रश्न सोध्ने हक हामीमा छ र भाग्यलाई पनि बदल्न सकिन्छ भन्ने कुरा सिकाउँछ । पत्रमा के कुरा पनि बताइएको थियो भने पछि केही दार्शनिक र चिन्तकले मानिससँग स्वतन्त्र इच्छा पनि हुन्छ भन्ने कुरा सोच्न शुरु गरे । अर्थात् उनीहरू स्वयंले के गर्ने भन्ने कुरा तय गर्न सक्छन् । सोफीले यो कुरा थाहा पाएपछि थोरै राहत महसुस गर्छिन् । उनलाई के लाग्छ भने अब उनी त्यो समयमा उभिएकी छिन्, जहाँ मिथक, दर्शन र वास्तविक जीवन आपसमा मिलिरहेका छन् । भाग्य अब उनको लागि कुनै डरलाग्दो अवधारणा रहेन, बरु एक प्रश्न बन्यो । र, यही प्रश्नले उनलाई अगाडि बढ्ने शक्ति प्रदान गर्छ ।
सोक्रेटस (आफूलाई केही थाहा छैन भन्ने कुरा बुझ्ने नै सबभन्दा बुद्धिमान हुन्छन्)
सोफी अब दार्शनिक संसारको एक यस्तो मोडमा पुग्छिन्, जहाँ उनले एक महान् विचारकलाई पाउँछिन् । ती विचारकले आफ्नो समयमा सोचलाई मात्र बदलेनन्, उनले आउने शताब्दीको लागि पनि प्रश्न सोध्ने तरीका सिकाइदिए । उनी थिए सोक्रेटस । सोक्रेटस एथेन्स नामको शहरमा बस्थे । उनले कहिल्यै कुनै पुस्तक लेखेनन् । उनी केवल मानिसहरूसँग कुरा गर्थे; गल्ली, बजार वा जहासुसकै मानिसहरूलाई देख्नेबित्तिकै उनीहरूसँग कुराकानी शुरु गर्थे । उनको तरीका अलग थियो । उनी स्वयं केही पनि सिकाउँदैनथे तर केवल प्रश्न सोध्थे ताकि सामुन्नेको व्यक्ति सोच्न बाध्य होस् ।
सोफीलाई यो तरीका निकै आकर्षक लाग्छ । उनलाई पनि अब के लाग्छ भने वास्तविक उत्तर त्यही हो, जुन मानिस स्वयंले खोज्छ । सोक्रेटसका अनुसार ज्ञान भनेको मानिसले आफूभित्रबाट खोज्ने कुरा हो, यो बाहिरबाट थोपर्ने कुरा होइन । यद्यपि यो सोचले एथेन्सका कयौं शक्तिशाली मानिसलाई हैरान बनाइदियो । उनीहरूलाई सोक्रेटसले युवाहरूलाई भट्काइरहेका छन् र प्रभुत्वमाथि प्रश्न गर्न सिकाइरहेका छन् भन्ने लाग्थ्यो । सोक्रेटसलाई अन्तिममा विष पिउने सजाय दिइयो र उनले त्यसलाई खुशीपूर्वक स्वीकार पनि गरे भन्ने कुरा थाहा पाएपछि सोफी धेरै दुःखी हुन्छिन् ।
सोक्रेटले भनेका थिए, परीक्षणबिनाको जिन्दगी जिउनुभन्दा मर्नु असल हो । सोफीलाई के गज्जब लाग्छ भने, सुकरात केवल दार्शनिक मात्र नभएर एक सच्चा मानव पनि थिए, जो आफ्नो सिद्धान्तको लागि ज्यान दिन पनि तयार थिए । उनलाई सोक्रेटसको बिडम्बना र सोक्रेटिक विधिको बारेमा पनि थाहा हुन्छ । उनी मानिसलाई यस्ता प्रश्न गर्थे, ती प्रश्नले मानिस आफ्नो अज्ञानता बुझ्न सक्थे । यी सबै सोफीको लागि आँखा खोल्ने कुरा हुन्छ । अब उनी स्वयं पनि अरुसँग कुरा गर्दा प्रश्न सोध्न थाल्छिन् । उनलाई अब लाग्न लाग्यो, शायद दर्शनको वास्तविक अर्थ सोचिरहनु, प्रश्न गरिरहनु र सबै कुरा जानेको छु भन्ने कहिल्यै नठान्नु नै हो । सोक्रेटसको कहानी अब सोफीको दिमागमा गुन्जिरहन्छ र स्वयंसँग उनी जुनसुकै अवस्थामा सोच्ने कुराबाट कहिल्यै पछि नहट्ने बाचा गर्छिन् ।
एथेन्स (भग्नावशेषहरूमध्येबाट कयौं अग्ला भवनहरू खडा भएका छन्)
सोफी अब एउटा नयाँ पत्र पढिरहेकी थिइन् । यसले उनलाई प्राचीन ग्रिसको एउटा प्रसिद्ध शहर एथेन्सतिर लिएर जान्छ । यो त्यही शहर थियो, जहाँ सोक्रेटस, प्लेटो र एरिस्टोटलजस्ता महान् दार्शनिक रहन्थे । यहाँ संसारको पहिलो प्रजातन्त्रको पनि जन्म भएको थियो । एथेन्स कुनै सामान्य शहर थिएन, बरु एक यस्तो स्थान थियो, जहाँ कला, विचार र राजनीतिको सम्मिलन हुन्थ्यो । यो कुरा थाहा पाएर सोफी आश्चर्यचकित हुन्छिन् । पत्रमा बताइएको थियो, एथेन्समा हरेक व्यक्तिलाई सभामा गएर बोल्ने अधिकार थियो र यसैलाई लोकतन्त्रको शुरुवात मानिन्छ । तर यहाँ के कुरा पनि स्पष्ट बनाइएको थियो भने यो लोकतन्त्र केवल स्वतन्त्र मानिसहरूको लागि मात्र थियो । स्त्री, दास र बाहिरी मानिसहरूलाई यो अधिकार थिएन । सोफी यसलाई सोचेर के बुझ्छिन् भने जतिसुकै उन्नत भए पनि हरेक सभ्यताका केही सीमाहरू हुन्छन् नै !
एथेन्समा नै सोक्रेटसले आफ्ना विचार फैलाए, प्लेटोले आफ्नो बौद्धिक प्रतिष्ठान शुरु गरे र एरिस्टोटले आफ्ना अवलोकनहरूको माध्यमबाट विज्ञान र तर्कशास्त्रको जग राखे । एथेन्सका गल्लीहरू, खुला बजार र सार्वजनिक स्थल ती विचारहरूले भरिएका थिए, जुन आजको संसारमा पनि सान्दर्भिक छन् । त्यहाँ जोकसैले संवाद, छलफल र तर्कलाई महत्त्व दिन्थ्यो । अब सोफीले स्वयंलाई ती एथेन्सका गल्लीहरूमा भएको कल्पना गर्छिन्; जस्तो कि उनी पनि प्लेटोको कक्षामा बसेकी छिन् वा एरिस्टोटलसँगै प्रकृतिको अवलोकन गरिरहेकी छिन् । उनलाई के महसुस हुन्छ भने सोच्ने स्वतन्त्रता र प्रश्न सोध्ने शक्ति कुनै पनि सभ्यताको वास्तविक पहिचान हुन्छ ।
पत्रमा ग्रिक मिथक र दर्शनको मिलनका बुँदाहरू पनि बुझाइएको हुन्छ । शुरुमा मानिसहरूले ईश्वरलाई मान्थे, तर विस्तारै दार्शनिकहरूले प्राकृतिक व्याख्यालाई ध्यान दिन शुरु गरे । सोफीको लागि यो सबै अत्यन्तै जादूमय लाग्छ; जस्तो कि उनी एउटा ‘टाइम मेशिन’ मा बसेर विचारहरूको क्रान्ति भइरहेको समयमा गइरहेकी थिइन् । अब उनी के बुझ्छिन् भने एथेन्स केवल एउटा शहर मात्र नभएर एक विचार थियो; एक यस्तो विचार, जहाँ मानिसले पहिलो पटक स्वयंलाई विश्वविद्यालयको हिस्सा मानेर सोच्न शुरु गरे । अब सोफी केवल एक पढ्ने केटी मात्र रहेकी थिइनन्, बरु उनी पनि विस्तारै एक विचारक बन्दै गएकी थिइन्; ठीक त्यसरी नै जस्तो कुनैबेला एथेन्सको मार्गमा हिड्ने मानिस हुन्थे ।
प्लेटो (आत्म-जगतमा फर्किने उत्कण्ठा)
सोफीको अब एक यस्तो दार्शनिकसँग भेट हुन्छ, जसले सोक्रेटसका विचारलाई बचाएर मात्र राखेनन्, बरु तिनीहरूलाई अझ अगाडि बढाए । उनी प्लेटो थिए । पत्रमा उनले प्लेटोको जीवन र विचारको बारेमा विस्तारपूर्वक बताइएको पाउँछिन् । प्लेटो सोक्रेटसका शिष्य थिए र उनले सोक्रेटसको शिक्षालाई संवादको रूपमा लेखे । यी संवादमा सोक्रेटस एक केन्द्रीय पात्र हुन्थे । प्लेटोको मान्यता के थियो भने यो संसारभन्दा पर एउटा अर्को संसार छ; आदर्श वा प्रारूपको संसार । त्यहाँ हरेक चीजहरूको पूर्ण संस्करण विद्यमान हुन्छ । अर्थात् कुनै मेचलाई हेर्दा त्यो अपूर्ण हुन्छ, तर वास्तविक र पूर्ण मेच आदर्श संसारमा हुन्छ । यो सोच सोफीलाई धेरै अलग र गहन लाग्छ । उनलाई यो कुरा सपना जस्तै लाग्छ, तर त्यसमा केही सच्चाई पनि लुकेको छ ।
प्लेटोका अनुसार हाम्रो आत्माले पहिलेदेखि नै ती पूर्ण प्रारूपहरूलाई जान्दछ, तर यो भौतिक संसारमा आएपछि त्यसले सबै कुरा भुल्दछ । सिक्नु भनेको ती चीजहरूलाई पुनः स्मरण गर्नु हुन्छ । यो सोचले सोफीलाई धेरै चकित बनाउँछ । हामी जे कुरा सिक्छौं, त्यो हामीभित्र पहिलेदेखि नै हुने कुरा संभव छ ? प्लेटोको ‘एलिगोरी अफ द केभ’ ले सोफीलाई सबभन्दा बढी प्रभावित बनायो । त्यसमा बताइएको थियो, हामी सबै एउटा गुफामा रहन्छौं, जहाँ हामी केवल छायाँ देख्छौं र तिनीहरूलाई नै वास्ताविक ठान्छौं । तर वास्तविक संसार त्योभन्दा बाहिर हुन्छ, जहाँ प्रकाश र सत्य हुन्छ । त्यो गुफाबाट बाहिर निस्किने र अरूलाई पनि बाहिर निकाल्ने कोशिस गर्ने व्यक्ति नै दार्शनिक हुन्छ ।
सोफी यो रूपकलाई आफ्नो जीवनसँग जोड्न लाग्छिन् । उनलाई लाग्छ, जस्तो कि उनी पनि अहिलेसम्म छायाँ संसारमा थिइन् र अब दर्शनले उनलाई बाहिरको प्रकाशतिर आकर्षित गरिरहेको छ । प्लेटोको प्रतिष्ठान र उनको शिक्षामाथिको जोडले सोफीलाई प्रभावित बनाउँछ । शासकले दार्शनिक हुनुपर्छ वा दार्शनिक शासक भन्ने प्लेटोको विश्वासले सोफीलाई आजको संसारमा यस्तो संभव छ त भन्ने कुरा सोच्न बाध्य बनाइदिन्छ । प्लेटोको सोचले सोफीलाई सत्य र भ्रमको बीचमा सीमारेखालाई डग्मगाइदिएको थियो । अब उनलाई के लाग्न लागेको थियो भने दर्शन केवल सोच्ने विषय मत्र होइन, बरु हेर्ने एक नयाँ तरीका पनि हो । एउटा नयाँ दृष्टि चीजहरूको गहिराईसम्म पुग्न सक्छ ।
उपहार (पोस्ट-बक्स)
सोफी एक दिन स्कूलबाट फर्किंदै गर्दा पुनः आफ्नो पुरानो बगैंचा निकटको मार्गबाट जान्छिन् । त्यहाँ उनले एउटा नयाँ पत्र प्राप्त गर्छिन् । तर यसपटक केही अचम्म हुन्छ । पत्र सोफीको नामको हुँदैन, बरु हिल्डेनामकी केटीको लागि हुन्छ । सोफी चकित हुन्छिन् र सोच्छिन्, यो पत्र गल्तीपूर्वक यहाँ कसरी आयो ? उनले त्यो पत्र पढ्दा त्यसमा त्यही थाहा भइरहेको अनुमान हुन्छ; जस्तो पहिलेकै जस्तो दर्शनमा पत्रमा थियो । तर अब त्यसमा के लेखिएको हुन्छ भने यो पत्र मेजर क्नग तर्फबाट उसकी छोरी हिल्डेको लागि हो ।
सोफी पहिलो पटक यी सम्पूर्ण सन्देश प्राप्त गर्ने शायद उनी एक्लै छैनन् भन्ने महसुस गर्छिन् । उनलाई के लाग्छ भने कतै उनी स्वयं कुनै अरुको कहानीको हिस्सा त होइनन् ? उनी सोचमा डुब्छिन्, कतै उनको सम्पूर्ण जीवन कल्पना र लेखनको हिस्सा त होइन ? यो सोचेर उनको मनमा डर र उत्सुकता दुवै उत्पन्न हुन्छन् । अब पहिलो पटक हिल्डे र मेजर क्नगको उल्लेख हुन्छ, जसले पछि कहानीको सम्पूर्ण दिशा नै बदलिदिन्छ । सोफीले अब के बुझिसकेकी छिन् भने यो एक साधारण दार्शनिक पाठ्यक्रम होइन । उनको वरिपरि केही महान चीज अगाडि बढिरहेको छ; केही रहस्यमयता, केही गहनता । अब उनको खोजी केवल ज्ञान मात्र नभएर आफ्नो परिचयको पनि हुन्छ ।
मेजरको क्याबिन (दर्पणबाट केटीले दुखै आँखा झिम्क्याइन्)
सोफी यसपटक आफ्नो जिज्ञासाबाट बाध्य भएर त्यो रहस्यमय मार्गमा अगाडि बढ्छिन्, जसले उनलाई एक पुरानो र सुनसान घरतिर लैजान्छ; त्यो मेजरको क्याबिन हो । उनले यो ठाउँको बारेमा पहिले केही सुनेकी थिइनन् । तर अब यो क्याबिनले उनको दिमागमा डेरा जमाएको थियो । मार्गमा उनले एक सानो गेट र बाटो देख्छिन्, जुन जंगल हुँदै त्यो क्याबिनसम्म पुग्छ । सोफी डराउँदै-डराउँदै भित्र जान्छिन् र उनले त्यहाँ एक अचम्मको माहौल महसुस गर्छिन् । जस्तो कि त्यहाँ कोही उपस्थित छ वा केही उनको लागि छोडिएको छ । क्याबिनभित्र उनी चारैतिर हेर्छिन् ।त्यहाँ धूलोले भरिएका फर्निचर, पुराना कागज र केही सामान राखिएको एउटा टेवल हुन्छ । सोफीले त्यहाँ केही निजी चीजहरू प्राप्त गर्छिन्, जस्तो कि कसैले तिनीहरूलाई विशेष रूपमा उनको लागि छोडेको होस् । सबभन्दा अचम्मको कुरा के हुन्छ भने त्यहाँ उनले केही यस्ता चीजहरू पाउँछिन्, जुन उनीसँगै जोडिएका हुन्छन् । उनको नाममा एउटा पत्र, एउटा पोस्टकार्डर एउटा सेतो रूमाल जस्ता केही चीजहरू हुन्छन् । यसबाट सोफी भ्रमित हुन्छिन्, के कसैले उनका क्रियाकलापमाथि दृष्टि दिइरहेको छ ? उनी सोच्छिन्, के उनलाई पत्रहरू पठाउने यही अल्बर्टो हो वा अरु कुनै व्यक्ति पनि यो कहानीमा सामेल छ ?
क्याबिनमा उनलाई समय रोकिएको जस्तो लाग्छ । एक शान्त र रहस्यमय निश्चलता, जसले उनलाई दार्शनको संसारभन्दा पनि बढी गहिराईमा लिएर जान्छ । सोफीले क्याबिनलाई ध्यानपूर्वक हेर्छिन् र उनलाई यहाँ सबै कुरा सांकेतिक छ भन्ने लाग्छ । शायद यो कुनै महान रहस्यको संकेत हुनसक्छ । उनी क्याबिनबाट निक्लिएपछि उनको मनमा धेरै प्रश्नहरू हुन्छन् । को हो यो मेजर ? के ऊ पनि उनकै जस्तो एक रहस्यको हिस्सा हो ? के यो क्याबिन एक स्थान हो वा कुनै अरू महान दार्शनिक सन्देशको हिस्सा हो ? तर सोफी अब यी प्रश्नहरूबाट डराउँदिनन् । उनी तिनीहरूलाई अपनाउँछिन् । किनकि अब उनी स्वयंलाई केही पत्ता लगाउने व्यक्तिको रूपमा महसुस गर्न लागेकी छिन् । उनी अब केवल जवाफ होइन, बरु सच्चाईको खोजमा छिन् । मेजरको क्याबिन अब उनकोलागि केवल एक क्याबिन मात्र नभएर एक संकेत बन्छ; रहस्य, परिचय र उद्देश्यको खोजको संकेत ।
एरिस्टोटल (हाम्रा धारणाहरूलाई स्पष्ट बनाउन चाहने एक कुशल प्रबन्धक)
सोफीले अब एक नयाँ दार्शनिक एरिस्टोटलसँग भेट गर्छिन् । एरिस्टोटल प्लेटोका शिष्य थिए, तर आफ्नो सोचमा प्लेटोभन्दा बिल्कुल फरक थिए । प्लेटोले भौतिक संसार र आदर्श संसार गरी दुई संसारको अवधारणा दिएका थिए, तर एरिस्टोटलले यो भौतिक संसारमा नै सच्चाई लुकेको छ भन्ने कुरा स्पष्ट बनाए । एरिस्टोटलका अनुसार चीजहरूलाई बुझ्ने तरीका तिनीहरूलाई अवलोकन, विश्लेषण र वर्गीकृत गर्नु हुन्थ्यो । पत्रमा सोफीलाई के बताइएको थियो भने एरिस्टोटलले प्रकृति, जीवन, तर्कशास्त्र, कविता, नीतिशास्त्र र राजनीतिशास्त्र जस्ता धेरै विययहरूमा गहिराईपूर्वक अनुसन्धान गरेका थिए । एरिस्टोटलले चीजहरूलाई प्रारूप पदार्थमा बाँडे, अर्थात् कुनै पनि चीज प्रारूपको कारणले देखिन्छ र वास्तवमा पदार्थबाट बनेका हुन्छन् । सोफीलाई यो तरीका धेरै तार्किक र वैज्ञानिक लाग्छ, जस्तो कि उनी कुनै प्रयोगशालामा बसेर अध्ययन गरिरहेकी छिन् ।
एरिस्टोटलले चार कारणहरूको अवधारणा दिएका थिए । कुनै पनि चीजलाई पूर्ण रूपमा बुझ्नका लागि हामी त्यो केबाट बनेको छ, त्यसको संरचना के हो, त्यसको उद्देश्य के हो र त्यो कसरी बन्यो भन्ने कुरा बुझ्नुपर्छ । यो तरीका सोफीलाई धेरै व्यवस्थित लाग्छ । एरिस्टोटलका अनुसार ज्ञान अनुभवबाट आउँछ, अर्थात् हामी जे कुरा संवेदनाबाट महसुस गर्छौं, त्यही नै हाम्रो बुझाईको जग हो । यो प्लेटोको विचारभन्दा बिल्कुल उल्टो थियो । प्लेटोले संवेदनमाथि भरोसा गर्न सकिंदैन भनेका थिए ।
सोफीलाई अब विस्तारै के महसुस हुन्छ भने दर्शनमा कुनै अन्तिम सत्य हुँदैन, बरु हरेक दार्शनिकले आफ्नो अवलोकन अनुसार संसारलाई फरक-फरक ढंगले बुझाउँदछन् । एरिस्टोटलले नीतिशास्त्रमा पनि जोड दिए । उनका अनुसार मानिसको अन्तिम लक्ष्य खुशी हो र यो मानिस आफ्नो प्रकृति अनुसार जिउँदा मात्र यो संभव हुन्छ । उनका अनुसार मानिसले सन्तुलनमा रहनुपर्छ; न बढी न कम । सोफीको लागि यी सबै कुरा धेरै स्वच्छ लाग्छन्, जस्तो कि उनी केवल सोचिरहेकी मात्र छैनन्, बरु नयाँ तरीकाबाट जिउन पनि सिकिरहेकी छिन् । एरिस्टोटलको यो वस्तुगत तार्किक विचारले सोफीलाई प्लेटोको स्वप्नपूर्ण आदर्शवादबाट बिल्कुल अलग एक वास्तविक संसारतर्फ आकर्षित गर्योन । त्यहाँ चीजहरू सपनामा नभएर हरेक दिनका अनुभवमा लुकेका हुन्छन् ।
ग्रिक दर्शन (आगोबाट एक झिल्को)
सोफी अब ग्रिक दर्शनको एक नयाँ अवधि’हेलेनिज्म’ मा प्रवेश गर्छिन् । अल्बर्टोको पत्रद्वारा उनले के थाहा पाउँछिन् भने प्लेटो र एरिस्टोटलपछि दर्शनले एक नयाँ मार्ग अपनायो, जहाँ विचार अब केवल सत्य र तर्कसम्म मात्र सीमित रहेन, बरु मानवको व्यक्तिगत जीवन, भावना र आन्तरिक शान्तिमा पनि जोड दिन लागियो । हेलेनिज्मको समय करिब ३ सय वर्षसम्म चल्यो र यसको प्रभाव सम्पूर्ण ग्रिक र रोमन संसारमा फैलियो । यो समयमा अलेक्जेण्डर महानको कारणले ग्रिक संस्कृति संसारका अलग-अलग भागहरूमा फैलिन लागेको थियो । र, मानिसहरूले कयौं नयाँ चुनौती र परिवर्तनको सामना गरिरहेका थिए । यही बेला दर्शन पनि अझ व्यक्तिगत हुँदै गयो ।
अब प्रश्न कसरी जिउने भन्ने थियो । सोफीलाई बताइयो, यो अवधिको दर्शन तीन मुख्य स्कूलमा बाँडिएको थियो – स्टोइसवाद, एपिक्यूरियनवाद र सिनिसिज्म । सिनिसिज्ममा विश्वास गर्नेहरूका अनुसार खुशी चीजहरूबाट नभएर स्वतन्त्रताबाट प्राप्त हुन्छ । उनीहरू सामान्य जीवनमा विश्वास गर्थे , जस्तो कि डायोजनिसले आफ्नो सम्पूर्ण जीवन एक ब्यारेलमा रहेर गुजारे ।
एपिक्यूरियनवादीहरूको मान्यता खुशी नै सबभन्दा अन्तिम उद्देश्य हो भन्ने थियो, तर उनीहरू खुशीलाई आनन्द वा सुख होइन, बरु शान्तिपूर्ण मस्तिष्क र भयबाट मुक्तिलाई मान्थे । वास्तविक सुख डर र दुःखबाट मुक्तिमा हुन्छ, नकि धन वा सफलतामा; यो सोच सोफीलाई धेरै रोचक लाग्छ । त्यसपछि स्टोइक्स आउँछन्, जसका अनुसार प्रकृतिको नियम अनुसार बाँच्नुपर्छ र हामीले आफ्ना भावनालाई नियन्त्रित गर्नुपर्छ । उनीहरूको लागि हरेक चीज पूर्वनिर्धारित थियो र खुशीको मार्ग स्वीकृति थियो । सोफीलाई स्टोइक्सको दुःख वा पीडाबाट छटपटाउनुको सट्टा त्यसलाई स्वीकार गर्नुपर्छ भन्ने विचार धेरै परिपक्व लाग्छ ।
सोफी अब के बुझ्न लाग्छिन् भने दर्शन केवल सिद्धान्त मात्र नभएर जीवनलाई उत्कृष्ट र गहिराईपूर्वक बुझ्ने तरीका पनि हो । अल्बर्टोले पत्रमा उनलाई बताउँछ, हेलेनेस्टिक दार्शनिक पूर्वीय दर्शनबाट पनि प्रभावित भएका छन् । यसबाट सोफी अझ उत्साहित हुन्छिन् । उनलाई लाग्छ, अब उनी केवल ग्रिक दर्शन मात्र होइन, बरु सम्पूर्ण मानव सभ्यताको सोचलाई बुझिरहेकी छिन् । हेलेनिज्मको यो व्यावहारिक र भावनात्मक रूपले सोफीको मनमा एक नयाँ प्रश्न छोडिदिन्छ – के दर्शन केवल हामीलाई सिकाउनको लागि मात्र हो वा वास्तवमा हाम्रो जिन्दगी बदल्नको लागि हो ?
दुई संस्कृति (शून्यमा पौडनुभन्दा पर रहने एकमात्र मार्ग)
सोफी अब आफ्ना विचारहरूको संसारमा अझ गहनतापूर्वक पौडीरहेकी छिन् । यो पटक अल्बर्टोको पत्रले उनलाई एक धेरै अनौठो प्रश्नसँग आमनेसामने गराउँछ; के पूर्व र पश्चिमको सोच्ने र जिउने तरीका एकै प्रकारको छ ? अल्बर्टोले सोफीलाई बताउँछ, संसारमा दुई ठूला दार्शनिक परम्परा रहेका छन्, एउटा पश्चिमी र अर्को पूर्वीय । पश्चिमी संस्कृति अर्थात् युरोप र ग्रिसको दर्शन तर्क र व्यक्तित्ववादमा आधारित रहेको छ भने पूर्वीय संस्कृति अर्थात् भारत, चीन र अन्य एशियाली देशहरूको दर्शनलेआन्तरिक शान्ति, सन्तुलन र एकतामा जोड दिन्छ । ग्रिक दार्शनिकले सधैं प्रश्न गरे, बहस गरे र संसारलाई विभिन्न टुक्रामा बाँडेर विश्लेषण गरे । अर्कोतिर पूर्वीय चिन्तकले संसारलाई एक समग्रतामा हेरे, जस्तो कि सबै कुरा एकै ब्रम्हाण्डीय प्रणालीको हिस्सा हो । अल्बर्टोले उनलाई ताओवाद, बुद्ध दर्शन र हिन्दु दर्शनको बारेमा संक्षेपमा बुझाउँदछ । र, त्यहाँ अहंताको अन्त्य गर्नु, इच्छाबाट मुक्त हुनु र प्रकृतिसँग सद्भावमा जिउनु नै अन्तिम उद्देश्य हुन्छ ।
सोफी अब सोच्न लाग्छिन्, के दर्शनको अर्थ केवल सोचविचार गर्नु हो वा स्वयंलाई बुझ्नु पनि त्यति नै आवश्यक हुन्छ ? उनलाई यो विरोधाभास धेरै आकर्षक लाग्छ; एकातिर तार्किकता र अर्कोतिर मौनता एवम् ध्यान । पत्रमा उनलाई के बताइएको हुन्छ भने पश्चिमी परम्परामा मानिसलाई ब्रम्हाण्डबाट अलग मानिएको छ, जबकि पूर्वीय दर्शनमा मानिसलाई ब्रम्हाण्डकै एक हिस्सा मानिएको छ । सोफीलाई लाग्छ, यो सोच्ने एक नयाँ तरीका हो । सच्चाई कतै बीचमा पनि हुनसक्छ । अब सोफी किन पश्चिमी संसारमा बढी प्रगति एवं प्राविधिक विकास भएको छ र पूर्वी संसारमा आन्तरिक शान्ति एवं आध्यात्मिक चिन्तनको विकास भएको छ भन्ने कुरा पनि बुझ्छिन् । यो तुलनाले सोफीको मनमा धेरै प्रश्नहरू उब्जाउँछ र यसको साथै उनलाई भित्रबाट शान्ति पनि प्रदान गर्छ । अब उनले आफूलाई केवल एक सामान्य केटी मात्र होइन, बरु वैश्विक चिन्तक बन्दै गइरहेको महसुस गर्छिन् । र, शायद यही नै दर्शनको वास्तविक असर हुन सक्छ, त्यसले सोच्नुका साथै महसुस गर्न पनि सिकाउँछ । यहाँबाट सोफी पूर्व र पश्चिम दुवैलाई बुझेर स्वयंलाई र जिन्दगीलाई नयाँ दृष्टिकोणबाट हेर्न लाग्छिन् ।
मध्य युग (मार्गको अन्तसम्म जानु कुनै गलत मार्गमा जानुभन्दा भिन्न हुन्छ )
सोफी अब एक यस्तो समयमा पुग्छिन्, जसलाई प्रायः अन्धकार युग भनिन्छ – मध्य युग । अल्बर्टोले उनलाई बताउँछ, यो समय केवल अन्धकार मात्र थिएन, रोमन र ग्रिक दर्शनलाई अगाडि बढाउने एक पुल पनि थियो र यसलाई क्रिश्चियन सोचसँग जोडियो । मध्य युग लगभग सन् ४०० देखि सन् १४०० सम्म फैलिएको थियो । यस क्रममा युरोपमा क्रिश्चियन धर्मको प्रभाव धेरै गहिरो भएको थियो । अब दर्शन पूर्ण रूपमा धर्मको अधिनमा रहेको थियो । यो समयमा चर्चको दबदबा सबभन्दा बढी थियो । ब्रम्हाण्ड कसरी बन्यो ? मानिसको उद्देश्य के हो ? र, सत्य के हो ? जस्ता सबै प्रश्नहरूको उत्तर बाइबलमा खोजिन्थ्यो । यो समयका दार्शनिकहरूको मुख्य उद्देश्य आस्था र तार्किकतालाई जोड्नु थियो ।उनीहरू ईश्वर नै अन्तिम सत्य भन्ने विश्वास गर्थे । तर पनि उनीहरूले तर्क र दर्शनको प्रयोग गरे, ताकि त्यो आस्थालाई बुझ्न र प्रमाणित गर्न सकियोस् ।
मध्य युगका सबभन्दा प्रसिद्ध चिन्तक सेन्ट अगस्टिन र सेन्ट थोमस एक्वाइनस थिए । अगस्टिनले प्लेटोका विचारलाई क्रिश्चियन धर्मसँग मिलाउने कोशिस गरे । एक्वाइनसले एरिस्टोटलको दर्शनलाई आधार बनाएर ईश्वरको अस्तित्वलाई तार्किक रूपमा प्रमाणित गर्ने कोशिस गरे । कुनैबेला चर्चलाई असहज लाग्ने एरिस्टोटलको दर्शन नै विस्तारै उपयोगी बनेको कुराबाट सोफी आश्चर्यचकित हुन्छिन् । अल्बर्टो बताउँछ, एक्वाइनसले प्राकृतिक धर्मशास्त्रको अवधारणा ल्याए, अर्थात् ईश्वरको बारेमा सोच र तर्कको माध्यमबाट केही कुरा बुझ्न सकिन्छ ।
सोफीले अब कसरी दर्शनले धर्मको सेवागर्योर भन्ने कुरा देखिरहेकी थिइन्; तर पनि विचारकले आफ्ना विचार र जिज्ञासालाई भने जीवितै राखे । यो समयका चिन्तकहरूको विश्वास के थियो भने आस्था र तर्क एक-अर्कोका विरोधी होइनन्, बरु दुवैले एकै अन्तिम सत्यतिर लिएर जान्छन् । सोफीले यो कुरामा धेरै समझदारी देख्छिन्; मानिसले आस्था पनि राख्छ र सोचिरहन्छ भने ऊ एक गहन बोधमा पुग्छ । सोफीले हरेक युगमा दर्शनले आफ्नो समयका आवश्यकताहरूको हिसाबले आफ्नो रूप बदलेको कुरा पनि बुझ्न लाग्छिन् । मध्य युगको यो अवधि सोफीको लागि एक अनुस्मारक बन्छ, संसार परिवर्तन भइरहँदा पनि प्रश्न सोध्ने र उत्तर खोज्ने काम कहिल्यै बन्द हुनुहुँदैन ।
पुनर्जागरण (नश्वर आधारमा दिव्य वंश-परम्परा)
सोफी अब सम्पूर्ण संसारको लागि जागृत हुने समयमा प्रवेश गर्छिन्; त्यो पुनर्जागरण युग थियो । अल्बर्टोको पत्रमा उनलाई के बताइएको हुन्छ भने यो समय करिब सन् १४०० देखि सन् १६०० को बीचको थियो । यतिबेला युरोपले एक लामो निद्राबाट जागेर कला, विज्ञान र दर्शनको आलोकमा कदम राखेको थियो । पुनर्जागरणको अर्थ पुनर्जन्म हो । यो अधिवमा ग्रिक र रोमन विचारलाई पुनः स्वागत गरियो । अब चर्चको असर केही कम हुन लागेको थियो । मानिसले स्वयंलाई र आफ्नो सोच तथा प्रकृतिलाई अन्वेषण गर्न शुरु गरे ।
पत्रद्वारा सोफी के थाहा पाउँछिन् भने पहिले मानिस केवल ईश्वर र स्वर्गको बारेमा सोच्थे, तर अब उनीहरूले संसारलाई हेर्ने दृष्टिकोण बदले । अब प्रश्न थियो, मानिस को हो ? ऊ के गर्न सक्छ ? र, उसको आफ्नो शक्ति के हो ? अल्बर्टोले उनलाई लियोनार्दो दा भिन्ची, माइकल एन्जेलो जस्ता कलाकारहरूको बारेमा बताउँछ, जसले मानिसको शरीर, प्रकृति र भावनालाई बुझेर त्यसलाई कलाको माध्यमबाट जीवित बनाइदिए । विज्ञानमा पनि एक नयाँ विचार शुरु भयो । ग्यालिलियो र कोपर्निसकले सूर्यकेन्द्रित सिद्धान्तको बारेमा बताए ।
सोफीलाई सत्यको खोज अब पुनः जीवित भइरहेको जस्तो लाग्छ । दर्शनमा पनि यही प्रकारको परिवर्तन देखियो । अब चिन्तकहरूले पुनः प्रश्न सोध्न शुरु गरे, ठीक त्यसरी नै जसरी सोक्रेटस, प्लेटो र एरिस्टोटल गर्थे । दर्शन पुनः स्वतन्त्र भइरहेको थियो भन्ने कुरा सोफीलाई धेरै राम्रो लाग्छ । मानवतावाद यो अवधिको सबभन्दा विशेष विचार थियो । यो एक यस्तो विचार थियो, जहाँ मानिसलाई नै संसारको केन्द्र मानियो । अब मानिसलाई ईश्वरभन्दा कम ठानिएन, बरु उसको सोच, उसको कला र उसका खोजहरूलाई उत्सवको रूपमा लिन लागियो ।
सोफी अब के महसुस गर्छिन् भने यो परिवर्तन केवल बाहिर मात्र होइन, भित्र पनि थियो । मानिसले आफ्नो मन र आत्मालाई बुझ्ने कोशिस गरिरहेका थिए । पुनर्जागरणले उनलाई आफूभित्र अन्दर्दृष्टि दिनको लागि प्रेरित गर्दछ । सोफीलाई दर्शन बदलिंदै जाँदा आफू पनि बदलिएको जस्तो लाग्छ । अब उनी केवल प्रश्न मात्र पढ्ने केटी रहिनन्, उनले अब जीवनमा के जान्नुपर्छ र के बुझ्नुपर्छ भन्ने सोच्न पनि लागिन् । यसबाट सोफीले नयाँ ज्ञान प्राप्त गर्छिन्; मानिसले चाह्यो भने आफ्ना विचारबाट सम्पूर्ण संसार बदल्न सक्छ ।
ब्यारोक (सपना बुन्ने सरसमान)
सोफी अब केही नाटकीय, केही रहस्यात्मक र धेरै अर्थपूर्ण समयमा पुग्छिन्; यो ब्यारोक युग हो । अल्बर्टोले उनलाई यो पत्रमा के बताउँछ भने पुनर्जागरणपछिको समय अर्थात् सन् १६०० देखि १७०० सम्मको अवधिलाई ब्यारोक अवधि भनिन्छ । यो समयमा कला, संगीत र दर्शनको क्षेत्रमा धेरै गहनता र भावना प्रकट भएको थियो । पत्रमा सोफीलाई बताइन्छ, यो युगले एकप्रकारको तनावलाई दर्शाउँछ, जस्तो कि हरेक चीजका दुई पक्ष हुन्छन् – पृथ्वी र स्वर्ग, शरीर र आत्मा, यथार्थ र सपना । चर्च अझै पनि शक्तिमा थियो । तर विज्ञान र दर्शनले पनि आफ्नो जरा जमाउन शुरु गरेको थियो । यो समयका कलाकार र विचारकहरूले संसारलाई धेरै गहन तरीकाले हेर्न शुरु गरे । अल्बर्टोले बताउँछ, ब्यारोक चिन्तकलाई के लाग्थ्यो भने जीवन एक भ्रम हो, शायद कहिल्यै सच्चाई नबुझिने एक नाटक हो । सोफीलाई यो विचार केही भययुक्त तर धेरै रोचक लाग्छ ।
एक विशेष नाटककार कलडेरोनका अनुसार जिन्दगी एक सपना हो ।अब सोफी यो कुरामा सोच्न लाग्छिन्, के हामीले देखिरहेको कुरा वास्तवमा सत्य हो वा हाम्रो सोच र धारणाले नै सबै कुरा तय गर्छ ? ब्यारोक युगमा दर्शन र धर्मशास्त्र पुनः निकट आएका थिए, तर अब प्रश्न अझ गहन भएका थिए । सोफीलाई के बताइन्छ भने अब केही चिन्तकले ब्रम्हाण्डलाई एउटा ठूलो घडीको रूपमा हेरे । यो एक यस्तो प्रणाली हो, जुन कुनै महान निर्माता अर्थात् ईश्वरले बनाएका हुन् । तर सँगसँगै के पनि मान्न लागियो भने मानिसलाई सोच्ने र बुझ्ने पूर्ण स्वतन्त्रता छ । यो युगमा कला र वास्तुकला पनि धेरै विस्तृत र भव्य भएको थियो, जस्तो कि हरेक चीजले आफ्ना भावनालाई जोडपूर्वक प्रस्तुत गरिरहेको होस् ।
सोफीलाई लाग्छ, यो समयमा धेरै गहन रहेको हुनुपर्छ, जहाँ मानिस एकसाथ विश्वास, शंका, तर्क, भावना, सुन्दरता र विश्रृङ्खलता जस्ता सबैको बीचमा बाँचिरहेका थिए । अल्बर्टोले उनलाई बताउँछ, यो तनाव र यो द्वैतता नै ब्यारोक युगको पहिचान थियो । सोफीले अब हरेक युगको आफ्नो वास्तविकता हुन्छ र हरेक समयले मानिसलाई अझ गहन बनाइदिन्छ भन्ने कुरा बुझ्न लाग्छिन् । ब्यारोक युग उनलाई एक यस्तो समय लाग्छ, जहाँ जीवन र मृत्यु, सपना र वास्तविकता सबै एकसाथ अगाडि बढिरहेका थिए; जस्तो कि एक सांगीतिक स्वरसमतामा हरेक भावनाको एक आवाज हुन्छ ।
देकार्त (उनी निर्माणस्थलबाट सम्पूर्ण वालुवा सफा गर्न चाहन्थे)
सोफी अब दार्शनिक संसारलाई पूर्ण रूपमा हल्लाइदिने चिन्तक रेने देकार्तकोमा पुग्छिन् । अल्बर्टोको पत्रमा उनलाई के बताइएको हुन्छ भने देकार्तलाई आधुनिक दर्शनका प्रमुख मानिन्छ । किनकि उनले सम्पूर्ण सोचलाई एक नयाँ दिशा दिए । देकार्तको सबभन्दा प्रसिद्ध वाक्य ‘म सोच्छु, त्यसैले म छु’ थियो । यो सुनेपछि सोफीलाई गहिरो झड्का महसुस हुन्छ; कसैले सोच्ने आधारमा नै आफ्नो अस्तित्वलाई सावित गर्न सक्छ ? अल्बर्टोले बुझाउँछ, देकार्त एक अत्यन्तै तार्किक र होशियार विचारक थिए । उनले कुनै पनि कुरालाई त्यतिबेलासम्म साँचो मान्दैनथे, जबसम्म उनले त्यसलाई पूर्ण रूपमा शंका गरेर परीक्षण गर्दैनन् । सोफीले अब दर्शन आस्था वा परम्परामा होइन, बरु तर्क र निश्चिततामा टिकिरहेको देख्छिन् । देकार्तले सोचे, यदि हरेक चीजमा शंका गर्न सकिन्छ (यहाँसम्म कि हाम्रा आँखाले देखेका चीजहरूमा पनि) भने शंका गर्न नसकिने कुनै यस्तो सत्य छ ? त्यसपछि उनले सोच्ने क्रियामा उत्तर पाए । यदि उनी सोच्न सक्छन् भने उनी अवश्य अस्तित्वमान हुन्छन् ।
सोफीलाई सोच नै मानिसको सबभन्दा ठूलो पहिचान हो भन्ने कुरा धेरै गहन लाग्छ । देकार्तले आफ्नो शंकालाई एक औजार जसरी प्रयोग गरे । उनलाई लाग्यो, यदि उनले हरेक कुरामा शंका गर्दछन् भने विस्तारै उनले यस्तो कुनै कुरा खोज्नेछन्, जसमाथि कुनै शंका गर्न सकिंदैन । र, यस्तै कुनै आधारभूत सत्यबाट उनी सम्पूर्ण ज्ञानको भवन निर्माण गर्न चाहन्थे । देकार्त गणितशास्त्री पनि थिए । त्यसकारण उनलाई के लाग्थ्यो भने दर्शन पनि गणित जस्तै स्पष्ट र तार्किक हुनुपर्छ । अब सोफीलाई लाग्छ, देकार्त एक यस्ता दार्शनिक थिए, जसले सम्पूर्ण निश्चितता चाहन्थे; यस्तो सत्य जुन सबैको लागि, हरेक समयमा सार्वभौमिक होस् । तर यसको साथै देकार्तले ईश्वरको अस्तित्वलाई पनि तार्किक रूपमा प्रमाणित गर्ने कोशिस गरे । उनका अनुसार यदि हाम्रो दिमागमा पूर्ण प्राणीको विचार छ भने त्यो विचार कुनै अपूर्ण मानिसभित्र स्वयं आउन सक्दैन, त्यसले कुनै पूर्ण सोचबाट आउनुपर्छ । सोफी अब सोचिरहेकी छिन्, देकार्त आस्था र तर्कको बीचमा बनेको एक पुल थिए । उनी एक यस्ता विचारक थिए, जो मध्ययुगको शंकाबाट निक्लिएर आधुनिक स्पष्टतातिर अगाडि बढे ।
स्पिनोजा (ईश्वर कठपुतली नचाउने होइन)
सोफी अब ईश्वर, प्रकृति र मानिसको सोचलाई एक नयाँ आलोकमा हेर्ने दार्शनिक बेनेडिक्ट स्पिनोजाकोमा पुग्छिन् । अल्बर्टोले उनलाई बताउँछ, स्पिनोजा एक यहूदी परिवारमा जन्मिएका थिए, तर उनको सोच यति फरक र क्रान्तिकारी थियो कि उनलाई उनका आफ्नै धर्म-समुदायबाट निष्कासन गरियो । स्पिनोजाले सोच्ने एक धेरै अनौठो र स्पष्ट तरीका अपनाए । उनको मान्यता अनुसार ईश्वर र प्रकृति एकै चीज हुन् । हरेक चीजमा व्यवस्थित संरचना र सुन्दरता हुन्छ, त्यही ईश्वर हो । शुरुमा सोफीलाई यो कुराले भ्रमित बनाइदिन्छ । तर पछि उनले स्पिनोजा आध्यात्मिकतालाई प्रकृतिसँग जोड्ने दार्शनिक हुन् भन्ने कुरा बुझ्छिन् । स्पिनोजाको लागि संसार कुनै यस्तो ठाउँ थिएन, जसलाई ईश्वरले बाहिरबाट चलाइरहेका हुन् । उनका अनुसार संसार स्वयं ईश्वरको अभिव्यक्ति थियो ।
सोफी अब के महसुस गर्छिन् भने स्पिनोजाले मानिसलाई प्रकृतिको हिस्सा मान्थे, कुनै अलग इकाई होइन । यही कारणले उनले मानव भावना, इच्छा र क्रियाशीलतालाई पनि वैज्ञानिक तरीकाले बुझ्ने कोशिस गरे; जस्तो कि हामी ज्यामितिको नियम बुझ्छौं । अल्बर्टो बताउँछ, स्पिनोजाका अनुसार वास्तविक सत्य भावना र इच्छालाई ठीक ढंगले बुझेपछि र तिनीहरूको कारण जानेपछि मात्र प्राप्त हुन्छ । अर्थात् मानिस तब मात्र स्वतन्त्र हुन्छ, जसबाट उसले स्वयंलाई पूर्ण रूपमा चिन्छ ।
सोफी स्पिनोजाका कुरामा धेरै तर्क भएको महसुस गर्छिन् । उनी कुनै डर वा आस्थाबाट होइन, बरू तर्क र बुझाईबाट जिउने कुरा गर्छन् । स्पिनोजा नैतिकताको माध्यमबाट एक यस्तो संसारको कल्पना गर्छन्, जहाँ मानिस आफ्नो मन, प्रकृति र संसारलाई बुझेर शान्तिपूर्वक बाँच्न सकून् । स्पिनोजाको दार्शनिक प्रणाली धेरै कसिलो र स्पष्ट थियो । उनले सम्पूर्ण पुस्तक नीतिशास्त्रलाई ज्यामितीय विधिबाट लेखे, जसलाई गणितीय प्रमाण दिइएको होस् । सोफीलाई स्पिनोजा कम दार्शनिक र आध्यात्मिक वैज्ञानिक बढी भएको जस्तो लाग्छ । उनको चिन्तनमा कुनै व्यक्तिगत ईश्वर छैनन्, तर पनि उनको हरेक चीजमा एक दिव्य एकता छ, एउटा यस्तो सन्तुलन, जहाँ सबै कुरा एक प्रणालीको हिस्सा हो । स्पिनोजाको स्पष्टता र सरलताले सोफीलाई धेरै उत्प्रेरित गर्छ । उनी अब प्रकृतिलाई अझ गहनतापूर्वक हेर्न लाग्छिन् ।
लक (यति खाली कि जति अध्यापक आउनुभन्दा पहिले कालोपाटी)
सोफी अब मानवीय सोच र ज्ञानलाई लिएर धेरै व्यावहारिक र वस्तुसंगत दृष्टिकोण अपनाउने दार्शनिक जोन लककोमा पुग्छिन् । अल्बर्टोको पत्रमा सोफीलाई बताइएको छ, लकले दर्शनलाई एक नयाँ दिशा दिए, जसमा अनुभव र अवलोकनलाई सबभन्दा माथि राखियो । लकलाई आधुनिक अनुभववादका अगुवा मानिन्छ । उनका अनुसार मानिसको दिमाग जन्मपछि एक खाली स्लेट जस्तै हुन्छ । सोफीलाई हामी जे जान्दछौं, त्यो हाम्रो अनुभवबाट आउँछ भन्ने कुरा धेरै रोचक लाग्छ । कुनै पनि विचार पहिलेदेखि नै हाम्रो दिमागमा हुँदैन । लकले देकार्तको कुराभन्दा फरक ढंगले सोच्दै भने – मानिसले जन्मदेखि नै थाहा पाएको कुनै पनि ज्ञान हुँदैन । उनका अनुसार हामी दुई प्रकारका अनुभवबाट सिक्छौं । पहिलो बाहिरको संसारबाट, जुन हामी संवेदनाबाट महसुस गर्छौं; जस्तो कि देख्नु, सुन्नु, छुनु । र, अर्को आफ्नो मनभित्रको चिन्तनबाट ।
सोफीलाई लकले धेरै तार्किक ढंगले हामी कसरी संसारलाई बुझ्छौं भन्ने कुरा बताइरहेको जस्तो लाग्छ । अल्बर्टोले उनलाई बताउँछ, लकको मान्यता अनुसार विचार साधारण र जटिल गरी दुई प्रकारका हुन्छन् । साधारण विचार हामीलाई प्रत्यक्ष अनुभवबाट प्राप्त हुन्छ, जस्तो कि कुनै रङ, गन्ध । जटिल विचार हामीले ती साधारण विचारलाई मिलाएर बनाउँछौं, जस्तो कि कुनै वस्तु वा अवधारणा । सोफीले अब लकको सोच धेरै धरातलीय छ भन्ने जानिकसकेकी हुन्छिन् । लकका अनुसार यदि हामीलाई कुनै चीजको अनुभव छैन भने हामी त्यस बारेमा केही पनि जान्न सक्दैनौं ।
लकले ज्ञानको मात्र कुरा गरेनन्, उनले राजनीति र समाजलाई लिएर पनि प्रबल विचार प्रदान गरे । उनका अनुसार हरेक मानिससँग प्राकृतिक अधिकार हुन्छ, जीवन, स्वतन्त्रता र सम्पत्ति । कुनै पनि सरकारको काम ती अधिकारहरूको रक्षा गर्नु हो । सोफीलाई यी विचार समयभन्दा धेरै अगाडि थिए भन्ने लाग्छ । किनकि यी विचारले पछि लोकतन्त्र र मानव अधिकारको आन्दोलनलाई प्रभावित गरे । सोफी लककका विचारमा स्वतन्त्रता, तार्किकता र समानताको गुन्जन सुन्छिन् । अब उनी के महसुस गर्छिन् भने दर्शन केवल अमूर्त चिन्तन मात्र होइन, बरू यो त एक आधार हो, जसमा असल र विश्वसनीय समाज बन्न सक्छ । सोफीको सोच अब अझ व्यावहारिक भयो र उनी स्वयं आफ्ना अनुभवहरूलाई बढी गम्भीर रूपमा लिन लागिन् ।
ह्यूम (त्यसपछि यसलाई आगोको ज्वालामा फ्याँकिदेऊ)
अब सोफी मानव मस्तिष्क र ज्ञानको बारेमा धेरै तीक्ष्ण र आलोचनात्मक चिन्तन गर्ने दार्शनिक डेभिड ह्यूमसँग भेट गर्छिन् । अल्बर्टोको पत्रमा उनलाई के थाहा हुन्छ भने ह्यूम एक स्कटिश चिन्तक थिए, जसले लकको अनुभववादी परम्परालाई अझ अगाडि बढाए, यसको साथै त्यसलाई चुनौती पनि दिए । ह्यूमका अनुसार हामीमा जुन ज्ञान छ, त्यो केवल हाम्रो अनुभवमा आधारित हुन्छ । र, यसभन्दा बाहिरको कुनै कुरा हामी स्पष्ट रूपमा बुझ्न सक्दैनौं । अर्थात् यदि हामीले कुनै चीजलाई देख्न, सुन्न र छुन सक्दैनौं भने त्यसमाथि भरोसा गर्नु तर्कसंगत हुँदैन । ह्यूमले विशेषगरी कारण र कार्यलाई लिएर गम्भीर प्रश्न उठाए । उनका अनुसार हामी कहिल्यै प्रत्यक्ष रूपमा कारणलाई देख्न सक्दैनौं । हामी केवल घटनाहरूको बीचमा नियमित संलग्नता देख्छौं । जस्तो कि यदि आगोबाट हात पोल्यो भने आगो बल्ने कारण हुन्छ । तर वास्तवमा यो केवल हाम्रो आदत हो, अपेक्षा हो, वैज्ञानिक निश्चितता होइन ।
सोफीलाई यो कुरा केही अव्यवस्थित लाग्छ । किनकि यसको अर्थ हामी प्रकृतिको नियमलाई पनि पूर्ण निश्चिततापूर्वक जान्न सक्दैनौं । ह्यूमले धर्मलाई पनि त्यही तर्कबाट हेरे । उनका अनुसार जादूमाथि विश्वास गर्नु अतार्किक कुरा हो, किनकि त्यो हाम्रो साझा अनुभवको विरुद्ध हुन्छ । सोफीलाई ह्यूम एक धेरै इमान्दार चिन्तक हुन् भन्ने लाग्छ । उनी कुनै पनि विश्वासलाई केवल प्रसिद्ध भएको कारणले मात्र स्वीकार गर्दैनन् ।
ह्यूमको अर्को एउटा महत्त्वपूर्ण बुँदा थियो, मानवले निर्णय केवल तर्कबाट मात्र होइन, भावना र आदतबाट पनि गर्छ । अर्थात् हामी स्वयंलाई जतिसुकै तार्किक माने पनि वास्तवमा हाम्रो इच्छा र भावनाले नै हामीलाई संचालित गर्दछन् । अल्बर्टो बताउँछ, ह्यूमको यो सोच मनोविज्ञानका लागि पनि धेरै महत्त्वपूर्ण रहेको छ । सोफी अब स्वयंलाई र आफ्नो छनौटलाई गहिराईपूर्वक हेर्न लाग्छिन् । ह्यूमका कुराले उनी स्वयंको सोचमाथि शंका गर्नलाई बाध्य हुन्छिन् । यसको साथै उनी के बुझ्छिन् भने केवल शंका र संदेहवादबाट नै नयाँ स्पष्टता प्राप्त हुन्छ । ह्यूमको कुराले सोफीलाई दर्शन एक दर्पण जस्तै लाग्छ, जसमा उनले स्वयंलाई र आफ्नो मस्तिष्कलाई स्पष्ट रूपमा देख्न सक्छिन् ।
बर्कले (बलिरहेको सूर्यको वरिपरि चक्कर काटिरहेका आक्रान्त ग्रह जस्तै)
सोफी अब दार्शनिक जर्ज बर्कलेको बारेमा जानकारी हासिल गर्छिन् । बर्कलेले वास्तविकताको परिभाषालाई नै उल्ट्याइदिए । अल्बर्टोको पत्रमा सोफीलाई के बताइएको हुन्छ भने बर्कले आयरल्याण्डका दार्शनिक थिए । उनको तर्कानुसार भौतिक संसारको कुनै स्वतन्त्र अस्तित्व छैन, अर्थात् कुनै चीज तबसम्म अस्तित्वमान हुँदैन, जबसम्म कसैले त्यसलाई बुझ्दैन । उनको प्रसिद्ध भनाई थियो – ‘केही हुने कुरा तब संभव हुन्छ, जब कसैले त्यसलाई देख्छ, सुन्छ वा महसुस गर्छ।’ सोफीलाई यो कुरा धेरै विचित्र र भ्रमित लाग्छ; उनी कुनै कोठाबाट बाहिर निक्लिंदा त्यो कोठा अस्तित्वमा रहँदैन ? तर अल्बर्टोले उनलाई के बुझाउँछ भने बर्कलेको भनाई चीज जादू जसरी लोप हुन्छन् भन्ने होइन, बरु उनका अनुसार सबै कुरा एक यस्तो चेतनतत्त्वमा हुन्छ, जसले सधैं देखिरहेको हुन्छ र बर्कललेको लागि त्यो चेतनतत्त्व ईश्वर हो ।
सोफी विस्तारै बुझ्न लाग्छिन्, बर्कलेको हिसाबले सम्पूर्ण ब्रम्हाण्ड एकप्रकारको आध्यात्मिक अनुभव हो, कुनै ठोस भौतिक वस्तु होइन । अर्थात् भौतिक वास्तविकता पनि त्यतिखेर मात्र वास्तविक हुन्छ, जब कुनै मस्तिष्कले त्यसलाई देखिरहेको र बुझिरहेको हुन्छ । यो सोचबाट सोफीलाई पुनः देकार्त र लकको कुरा स्मरण हुन्छ र उनी दर्शनमा कसरी हरेक चिन्तक एक-अर्कोका विचारलाई चुनौती दिन्छन् भन्ने सोच्छिन् । बर्कलेको दर्शनलाई आदर्शवाद भनिन्छ, जसमा विचारलाई नै वास्तविकता मानिएको छ । अल्बर्टो बताउँछ, बर्कलेका अनुसार यदि हामीले ईश्वरको अस्तित्वलाई नमान्ने हो भने कुनै मानिसले कुनै वस्तुलाई नदेखिरहेको खण्डमा त्यो वस्तु कसरी अस्तित्वमा हुनसक्छ ? त्यसकारण उनले भने, ईश्वरले सधैं चीजलाई बुझिरहेको छ, त्यसैले संसार लगातार कायम रहन्छ ।
सोफीको लागि यो सोच धेरै नयाँ र चकित बनाउने खालको छ । उनले अब वास्तविकता केवल बाहिरको चीज मात्र होइन, बरू यो हाम्रो चेतना र बुझाईसँग गहनतापूर्वक जोडिएको छ भन्ने बुझ्छिन् । बर्कलेको कुराबाट सोफी अब के सोच्न लाग्छिन् भने हामीले जुन संसारलाई यति ठोस र निश्चित मान्छौं, त्यो शायद त्यति नै नाजुक छ, जति हाम्रो बुझाई । अब उनी फेरि आफ्नो वरिपरिको परिवेशलाई एक फरक दृष्टिकोणले हेर्न लाग्छिन्; हरेक चीजलाई एक प्रश्नको रूपमा, एक रहस्यको रूपमा । त्यसपछि उनले बुझ्छिन्, दर्शनले केवल उत्तर मात्र दिंदैन, बरू हामीलाई नयाँ प्रश्न सोध्न हिम्मत पनि प्रदान गर्छ ।
बियर्केली (जिजुआमाले एक घुमन्ते स्त्रीसँग किनेकी एउटा पुरानो जादूमय ऐना)
सोफीको जिज्ञासाले उनलाई अब एक नयाँ रहस्यम स्थानतिर लिएर जान्छ, जसको नाम बियर्केली हो । यो स्थान पहिले केवल अल्बर्टोको पत्रमा र कल्पनामा थियो, तर सोफी स्वयं त्यहाँ पुग्न लागेकी छिन् । उनलाई यो घर हेर्न आउनको लागि विशेष निमन्त्रणा प्राप्त हुन्छ, जहाँबाट उनको दार्शनिक शिक्षाको वास्तविक रहस्योद्घाटन हुनेवाला छ । सोफी अब धेरै उत्साहित तर केही उदास पनि हुन्छिन् । किनकि अब उनलाई आफ्नो संसारमा असामान्य चीज छ जस्तो लागेको छ । सोफीले बियर्केली पुगेपछि एउटा धेरै शान्त, सुन्दर र थोरै भूतिया भवन देख्छिन्, जस्तो कि कुनै पुरानो जादूमय स्थान होस् । घरभित्रको माहौल धेरै रहस्यपूर्ण छ, जस्तो कि हरेक चीज कुनै कहानीको हिस्सा होस् । सोफीले त्यहाँ विचित्र प्रकारका चिजहरू देख्छिन्, जस्तो कि उनी कुनै यस्तो वास्तविकतामा प्रवेश गरिसकेकी छिन्, जुन सामान्य जीवनभन्दा धेरै अलग छ । उनलाई त्यहाँ यो सबै सपना जस्तो लाग्छ । चीजहरू पटक-पटक बदलिन्छन्, आवाज गुन्जिन्छन् र सबै कुरा थोरै अवास्तविक लाग्छ ।
अब त्यहाँ उनीसँग अल्बर्टोले भेट गर्छ र बियर्केली एक सांकेतिक स्थान हो भन्ने कुरा बताउँछ । यो एक यस्तो स्थान हो, जसले सोफी र उनको सोच तथा कल्पनालाई नयाँ परिघेराभित्र लिएर जानेवाला छ । यो स्थानमा आएर सोफीलाई के महसुस हुन्छ भने उनका प्रश्न, उनका जिज्ञासा र उनको बोध सबै मिलेर एक नयाँ संसार बनाइरहेका छन् । अल्बर्टोले विस्तारै उनलाई त्यो कुरातिर लिएर जान्छ, शायद ऊ र सोफी पनि कुनै अरु नै कथाका हिस्सा हुन् । बियर्केलीमा बस्दा सोफीलाई आफू एक अन्तर्निहित सीमामा उभिएको जस्तो लाग्छ । एकातिर वास्तविक संसार छ भने अर्कोतिर काल्पनिक र दार्शनिक संसार छ ।
अल्बर्टोले उनलाई बताउँछ, यो स्थान एक भौतिक घर होइन, बरु यो एक यस्तो मन्च हो, जहाँ विचार प्रयोगलाई जीवित राख्न सकिन्छ । सोफी अब के बुझ्न लाग्छिन भने उनको सम्पूर्ण यात्रा केवल ज्ञानको खोज मात्र होइन, परिचय र अस्तित्वको गहन खोजको हिस्सा पनि हो । अब सोफीको संसार र उनको कहानी पनि बदलिन लागेको छ । अब उनी केवल दार्शनिक अवधारणा मात्र सिकिरहेकी छैनन्, उनी स्वयं एक दार्शनिक रहस्यको हिस्सा बनिसकेकी छिन् ।
ज्ञानोदय काल (सियो बनाउने तरीकादेखि लिएर तोप ढाल्ने तरीकासम्म)
अब सोफी ज्ञानोदय कालमा पाइला चाल्न लागिरहेकी छिन् । यो समयमा तर्क, विज्ञान र मानव अधिकारलाई लिएर संसारमा ठूलो क्रान्ति भयो । अल्बर्टोले उनलाई बताउँछ, ज्ञानोदय कुनै एक घटना थिएन, बरु सत्रौं र अठारौं शताब्दीमा युरोपमा शुरु भएको सोचको लहर थियो । यसले धर्म, प्राधिकार र पुराना विश्वासलाई चुनौती दिन शुरु गर्योा । यो समयका विचारकहरूको मान्यता अनुसार मानिसले आफ्ना अनुभव र बुद्धिबाट नै सच्चाईलाई बुझ्न सक्छ र कुनै पनि सत्यलाई अन्धविश्वासबाट मानिनु हुँदैन । यो विचारधाराले चर्च र एकाधिपत्य जस्ता शक्तिहरूलाई पनि प्रश्नहरूको घेरामा ल्याइदियो ।
अल्बर्टोले उनलाई भोल्टेयर, रूसो र मन्टेस्क्यू जस्ता महान प्रबोधनकालीन चिन्तकहरूको बारेमा बताउँछ । उनीहरूले कसरी अभिव्यक्तिमा स्वतन्त्रता, लोकतन्त्र र न्यायको बारेमा कुरा गरे भन्ने कुरा पनि बताउँछ । सोफीलाई यो सोच धेरै शक्तिशाली लाग्छ; मानिसहरू पहिलो पटक हरेक व्यक्तिलाई समान अधिकार हुनुपर्छ भन्ने सोच्न लागेका थिए । रूसोको एक प्रसिद्ध विचार के थियो भने ‘मानिस जन्मिदा स्वतन्त्र हुन्छ, तर समाजले उसलाई बन्धनमा पारिदिन्छ ।’ यसैबाट आधुनिक राजनीतिक विचारको आधार बन्यो । सोफी के कुरा पनि बुझ्छिन् भने ज्ञानोदयले केवल राजनीतिलाई मात्र होइन, शिक्षा, विज्ञान र साहित्यलाई पनि गहन रूपमा प्रभावित गर्योभ ।
न्यूटनको वैज्ञानिक अन्वेषणले ब्रम्हाण्डलाई एक यन्त्र जसरी बुझ्नमा मद्दत गर्योर । यसबाट संसारमा सबै कुरा नियम र तर्कबाट संचालित हुन्छ भन्ने मान्यता प्रबल भयो । सोफी सोच्छिन्, ज्ञानोदय कालले मानिसलाई सोच्ने र प्रश्न उठाउने स्वतन्त्रता प्रदान गर्योो । यद्यपि यससँगै केही नयाँ द्वन्द्व पनि उत्पन्नगर्यो , जस्तो कि धर्म र विज्ञानको बीचको अन्तराल । उनलाई लाग्छ, यो समय सम्पूर्ण मानवताको सोच्ने तरीकालाई बदल्ने किसिमको थियो र यसको असर आजसम्म बाँकी छ । अल्बर्टोले बताउँछ, ज्ञानोदयको कारणले नै पछि अमेरिकन क्रान्ति, फ्रान्सेली क्रान्ति जस्ता ठूला परिवर्तन भएका हुन् । सोफीले अब स्वयंलाई त्यो परम्पराको हिस्सा मान्न लाग्छिन्, जहाँ सोच्ने स्वतन्त्रतालाई सबभन्दा ठूलो शक्ति मानिन्छ । सोच, तर्क र प्रश्न नै स्वयंलाई र समाजलाई बदल्ने औजारहरू हुन् ।
कान्ट (ममाथि ताराहरूले भरिएको आकास छ र नैतिक नियम मभित्र छ)
अब सोफी दर्शनको दिशा नै बदलिदिने एक दार्शनिक इम्यानुएल कान्टसँग भेट गर्न गइरहेकी छिन् । अल्बर्टोले उनलाई बताउँछ, कान्टले बुद्धिवाद र अनुभववाद दुवै विचारलाई सन्तुलनमा राख्ने कोशिस गरे । सोफीलाई कान्टको विचार शुरुमा केही जटिल लाग्छ, तर अल्बर्टोले उनलाई सामान्य शब्दमा बुझाउँछ; कान्टका अनुसार ज्ञान न त केवल संवेदनाबाट आउँछ, न त केवल बुद्धिबाट, बरु यसको लागि दुवैको आवश्यकता हुन्छ । अर्थात् संसारको बारेमा हामी जे जान्दछौं, त्यो हाम्रो अनुभव, प्रयोग र मस्तिष्कको संरचनामाथि निर्भर हुन्छ । कान्टका अनुसार हाम्रो मस्तिष्कले एक सक्रिय भूमिका निभाउँछ।यसले चीजहरूलाई त्यत्तिकै अवलोकन गर्दैन, बरु तिनीहरूलाई संगठित र संरचित गर्दछ ।
संसारलाई जस्तो देखिन्छ, त्यो पूर्ण रूपमा वस्तुगत वास्तविकता हुँदैन, बरु हाम्रो मस्तिष्कले त्यसलाई प्रक्रियामा ढालेर देखाउँछ । सोफीको लागि यो कुरा धेरै नयाँ हुन्छ । कान्टले संसारलाई दुई भागमा विभाजित गरे – ‘द थिङ इन इटसेल्फ’, जुन वास्तविकतामा हुन्छ र ‘द थिङ एज इट एपियर्स’, जस्तो कि हामीलाई लाग्छ । उनका अनुसार हामीले कहिल्यै पनि चीजहरूलाई त्यसरी बुझ्न सक्दैनौं, जसरी त्यो आफैमा हुन्छ । हामीले तिनीहरूलाई केवल त्यसरी मात्र बुझ्न सक्छौं, जस्तो तिनीहरूलाई हामी देख्छौं ।
सोफी अब स्वयं उनको धारणा कति सीमित हुनसक्छ भन्ने सोच्न लाग्छिन् । अल्बर्टोले उनलाई बताउँछ, कान्टले नैतिक दर्शनमा पनि धेरै गहन विचार व्यक्त गरेका थिए, जस्तो कि ‘क्याटागोरिकल इम्पेरेटिभ’ । यसको अर्थ के हो भने हामीले त्यस्तै काम गर्नुपर्छ, जस्तो हामी चाहन्छौं, जुन नियम सबैमाथि लागू होस् । कान्टको नीतिशास्त्र स्वार्थपूर्ण उद्देश्यबाट होइन, बरु सार्वभौमिक नैतिक नियमबाट संचालित हुन्छ । सोफीलाई कान्टको दर्शनबाट के महसुस हुन्छ भने हरेक मानिसभित्र एक नैतिक सूचक हुन्छ । यदि हामी आफैमा सच्चा छौं भने हामीलाई सही के हो भन्ने कुरा थाहा हुन्छ । कान्टले ज्ञानोदय काललाई यसरी परिभाषित गरेका थिए – मानिसले स्वयंलाई सोच्न शुरु गरेपछि अरुमाथि निर्भर रहन बन्द गर्छ । यो कुराले सोफीलाई गहनतापूर्वक छुन्छ । कान्टको विचारले सोफीको सोचमा एक नयाँ गहनता ल्याइदिन्छ । अब उनी केवल ज्ञानबाट मात्र होइन, नैतिकता र उत्तरदायित्वको दृष्टिकोणबाट पनि दर्शनलाई हेर्न लाग्छिन् ।
स्वच्छन्दतावाद (रहस्यको मार्गले भित्रतिर लैजान्छ)
सोफी अब ज्ञानोदयपछि आएको बिल्कुल अलग स्वच्छन्दतावादको समयमा पुग्छिन् । अल्बर्टोले उनलाई बताउँछ, ज्ञानोदयले बुद्धि, तर्कर विज्ञानमा जोड दिएको थियो भने स्वच्छन्दतावादले भावना, कल्पना र प्रकृतिमाथि जोड दिएको थियो । सोफीलाई यो परिवर्तन धेरै रोचक लाग्छ, किनकि अहिलेसम्म उनी केवल तर्कबाट नै सबै कुरा बुझ्न सकिन्छ भन्ने सोचिरहेकी थिइन् । तर स्वच्छन्दतावादी विचारकका अनुसार मानवीय भावना, कला र प्रकृतिको अनुभव पनि त्यति नै आवश्यक हुन्छ । उनीहरूको मान्यता अनुसार केवल वास्तविकताबाट मात्र मानिसको सम्पूर्ण बोध निर्माण हुँदैन, त्यसमा हृदय पनि हुनुपर्छ । सोफीलाई विलियम वर्डस्वर्थ, गोएथे र शेली जस्ता कवि तथा चिन्तकहरूको बारेमा बताइन्छ । उनीहरूले आफ्ना कविता तथा लेखनमा प्रकृतिलाई उच्च महत्त्व दिए र मानिसलाई ब्रम्हाण्डीय अस्तित्वको एक हिस्सा माने । रोमान्टिक कविलाई के लाग्थ्यो भने बचपनको सपना र भावनामा एक खासप्रकारको शुद्धता हुन्छ, जसलाई संसारले विस्तारै गुमायो । स्वच्छन्दतावादले केवल कवितालाई मात्र बदलेन, यसले दर्शन, चित्रकला र राजनीतिलाई पनि गहन रूपमा प्रभावित गर्योत ।
सोफी अब के बुझ्न लाग्छिन् भने दर्शन केवल कोरा अवधारणा मात्र होइन, यो त हृदयसँग पनि जोडिएको हुन्छ । उनी महसुस गर्छिन्, कुनै सूर्यास्तलाई हेर्दा वा कुनै कविता पढ्दा जुन भावना आउँछ, त्यसले पनि सत्यको निकट लैजान्छ । स्वच्छन्दतावादी चिन्तकको मान्यता अनुसार हरेक मानिसभित्र एक कलाकार हुन्छ; आफ्नो कल्पनाबाट नयाँ संसार बनाउन सक्ने रचनाकार हुन्छ । सोफीलाई यो सोचले धेरै प्रेरित गर्दछ । किनकि उनी स्वयं पनि यस्तै कल्पना गर्छिन् । उनलाई लाग्छ, दर्शनमा केवल प्रश्न सोध्ने मात्र होइन, महसुस गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।
स्वच्छन्दतावादले अस्तित्वादी चिन्तकहरूलाई पनि प्रेरित गर्योह । किनकि यसमा व्यक्तिगत अनुभवलाई धेरै महत्त्व दिइयो । सोफी अब आफ्नो दार्शनिक यात्रालाई अझ बढी निकट ठान्न लाग्छिन् । अब उनी एक विद्यार्थी मात्र छैनन्, उनी भित्र र बाहिरको संसारलाई गहिराईपूर्वक प्रवाहित गर्ने चिन्तक बनिसकेकी छिन् । सोफीलाई अब ज्ञान दिगमाबाट आउने कुरा मात्र होइन, यो हृदयबाट पनि आउँछ भन्ने महसुस भएको छ ।
हेगेल (तर्कोचित त्यो हुन्छ, जुन व्यावहारिक हुन्छ)
अब सोफी इतिहास र विचारलाई नयाँ दृष्टिकोणबाट हेर्ने दार्शनिक फ्रेडरिखहेगेललाई भेट्दैछिन् । अल्बर्टोले उनलाई बुझाउँछ, हेगेलको मान्यता अनुसार संसार सदैव परिवर्तन भइरहेको छ र यो परिवर्तन कुनै एउटा मानिस वा विचारबाट होइन, बरु एक सम्पूर्ण प्रक्रियाबाट हुन्छ । यो प्रक्रियालाई हेगेले द्वन्द्वात्मक प्रक्रिया भने । यसमा वादत्यसको विपरीत विवादसँग टकराउँदछ र त्यसपछि दुवै मिलेर एक नयाँ विचार संवाद निर्माण गर्दछन् । सोफीलाई यो विचार धेरै रोचक लाग्छ, किनकि यसबाट उनले समाज र इतिहासलाई बुझ्नको लागि सहयोग प्राप्त गर्छिन् । अल्बर्टोले उनलाई उदाहरण दिएर कसरी विचार विकसित हुन्छ भन्ने बुझाउँछ, जस्तो कि ज्ञानोदय कालको बुद्धिवादलाई स्वच्छन्दतावादको भावनामा आधारित उपागम विवादले चुनौती दियो र त्यसपछि दुवैको मिश्रणबाट नयाँ क्रम शुरु हुन्छ । हेगेलका अनुसार सत्य कुनै निश्चित चीज होइन, बरु त्यो लगातार समाधान हुँदै जान्छ । यो एक गतिशील प्रक्रिया हो ।
सोफी यो विचारबाट केही भ्रमित हुन्छिन्, तर विस्तारै उनी के बुझ्न लाग्छिन् भने हेगेलका अनुसार हरेक मानिस, समाज एक बृहत ऐतिहासिक आन्दोलनको हिस्सा हो । हेगेलले व्यक्तिवादलाई पनि महत्त्व दिए, तर उनको मान्यता अनुसार व्यक्तिवादलाई केवल समाजको सन्दर्भमा मात्र पूर्ण रूपमा बुझ्न सकिन्छ । अर्थात् मानिसले एक्लै नभएर समुदाय र इतिहाससँग जोडिएर नै आफ्नो पहिचान बनाउँछ । सोफीलाई हेगेलको विचार धेरै गहन लाग्छ । हेगेलका अनुसार हामी स्वयं पनि इतिहासमा सहभागी हुन्छौं, हामी केवल अवलोकनकर्ता मात्र होइनौं। हरेक द्वन्द्व र हरेक असहमति पनि विकासको दिशामा एक आवश्यक कदम हुन्छ भन्ने विचारबाट सोफी धेरै प्रभावित हुन्छिन् ।
हेगेलका अनुसार संसारमा जे भइरहेको छ, त्यो एक तार्किक प्रक्रियाको हिस्सा हो । सोफीलाई यो एक आरामदायक विचार पनि हो र जटिल पनि भन्ने लाग्छ । यसको अर्थ हरेक चीजको कुनै उद्देश्य हुन्छ भन्ने हो, यसको साथै हामी त्यसबाट बच्न सक्दैनौ भन्ने पनि हो । अल्बर्टोले उनलाई बताउँछ, हेगेलको विचारको असर भविष्यका धेरै विचारकहरूमाथि पर्योा, जस्तो कि मार्क्स र किर्केगार्ड । सोफी अब दर्शन केवल विचारको संसार मात्र होइन, यो संसारलाई बुझ्ने र बदल्ने मार्ग पनि हो भन्ने कुरा बुझ्न लाग्छिन् ।
किर्केगार्ड (युरोप सत्यानाशको मार्गमा छ)
यसपछि सोफी सम्पूर्ण दर्शनमा सबभन्दा बढी व्यक्तिगत र गहन मानिने दार्शनिक सोरेन किर्केगार्डकोमा पुग्छिन् । अल्बर्टोले उनलाई बताउँछ, किर्केगार्डले दर्शनलाई केवल अमूर्त अवधारणासम्म मात्र सीमित राखेनन्, उनले त्यसलाई व्यक्तिगत अनुभव र व्यक्तिगत इच्छासँग पनि जोडे । उनी डेनमार्कका दार्शनिक थिए र उनलाई आधुनिक अस्तित्ववादका अग्रणी मानिन्छ । किर्केगार्डका अनुसार हरेक मानिसले आफ्नो जीवनको छनौट गर्नुपर्छ र यो छनौट सहज हुँदैन । यसमा भय, एक्लोपना र अनिश्चितता हुन्छ । सोफीलाई यो कुरा धेरै वास्तविक लाग्छ, किनकि उनले आफ्नो जीवनमा पनि यस्तै भावना महसुस गरिन् ।
किर्केगार्डले तीन जीवन प्रक्रियाको बारेमा बताएका छन् – सौन्दर्यात्मक, नैतिक र धार्मिक । सौन्दर्यात्मक चरणमा मानिस केवल खुशी र मनोरन्जनको पछाडि दौडिन्छ । नैतिक चरणमा मानिसले जिम्मेवारी बुझ्न लाग्छ । र, धार्मिक चरणमा मानिसले आफ्नो अस्तित्वलाई कुनै उच्च शक्तिको सामुन्ने आत्मसमर्पण गर्छ । अल्बर्टोले उनलाई बुझाउँछ, किर्केगार्डको मान्यता अनुसार हरेक मानिसले विश्वासमा छलाङ मार्नुपर्छ । यो एक यस्तो कदम हो, जसमा कुनै सुनिश्चिता हुँदैन, तर त्यसलाई ग्रहण गर्नै पर्दछ । सोफीलाई किर्केगार्डका कुरामा एक विचित्र प्रकारको सच्चाई छ भन्ने लाग्छ । यो एक यस्तो वेदना हुन्छ, जसलाई सबैले कुनै न कुनै बेला महसुस गरेका हुन्छन् ।
किर्केगार्डले संस्थान, चर्च र भीडको सोचलाई चुनौती दिए । उनका अनुसार सच्चाईको अर्थ हरेक मानिसको लागि अलग हुन सक्छ, किनकि हरेक व्यक्ति अलग तरीकाले जिउँछ र सोच्छ । अल्बर्टो अगाडि बताउँछ, किर्केगार्ड संगठित धर्मबाट धेरै उदास थिए । उनका अनुसार मानिसले आस्थालाई दिनचर्या बनाइदिए र त्यसमा कुनै व्यक्तिगत संघर्ष बचेन । मानिसभित्रको संघर्षलाई सबभन्दा बढी वास्तविकता मान्ने पनि कुनै दार्शनिक थिए भन्ने थाहा पाएर सोफी खुशी हुन्छिन् । किर्केगार्डले कुन कुरामाथि जोड दिए भने मानिसले भिडको हिस्सा बन्नुको सट्टा स्वयंलाई बुझ्नुपर्छ र मुस्किल भए पनि स्वयंको सच्चाईबाट जिउनुपर्छ । किर्केगार्डको कुराबाट सोफीलाई के थाहा भयो भने कहिकाहीँ प्रश्नहरूको उत्तर बाहिर नभएर भित्र हुन्छ र त्यो उत्तरसम्म पुग्नको लागि एक्लै अगाडि बढ्नुपर्छ । अब सोफी पहिलेभन्दा पनि समझदार, गहन र केही उदास पनि भइन् । तर अब उनले सच्चाईलाई अझ बढी इमान्दारीपूर्वक हेर्न लागिन् ।
मार्क्स (एउटा प्रेतले युरोपलाई पछ्याइरहेको छ)
यसपछि सोफी संसारलाई बुझ्ने र बदल्ने प्रयासमा संघर्षरत दार्शनिक कार्ल मार्क्सकोमा पुग्छिन् । अल्बर्टोले उनलाई बुझाउँछ, मार्क्सले हेगेलबाट धेरै कुरा सिके, खासगरी इतिहास एक प्रक्रिया हो भन्ने बारेमा । तर मार्क्सले हेगेलको दर्शनलाई उल्ट्याइदिए । हेगेलले विचारलाई इतिहासको चालक शक्ति मानेका थिए भने मार्क्सले भौतिक अवस्था अथवा सामाजको आर्थिक स्थिति र काम गर्ने तरीकाबाट नै इतिहास निर्माण हुन्छ भन्ने कुरा स्पष्ट बनाए । मार्क्सले समाजलाई दुई मुख्य वर्गमा विभाजित गरे, जसमा उत्पादनको मालिक बुर्जुवा वर्ग र श्रम गर्ने सर्वहारा वर्ग पर्दछन् । उनका अनुसार इतिहासको कथा नै यी दुवै वर्गको बीचमा भएको संघर्षको कथा हो । मार्क्सको भविष्यवाणी अनुसार एक दिन श्रमिक वर्ग उठ्नेछ र एक नयाँ वर्गविहीन समाज बनाउनेछ, जहाँ कुनै शोषण हुँदैन । सोफी यो कुरा थाहा पाएर आश्चर्यचकित हुन्छिन् ।
मार्क्सको दृष्टिकोण अनुसार सबैसँग बराबर अवसर हुने समाज हुनुपर्छ, जहाँ कुनै धनी वा गरीब हुनुहुँदैन । तर मार्क्स केवल समानताको मात्र कुरा गर्दैनथे ; उनका अनुसार जबसम्म मानिसले आफ्नो काममा नियन्त्रण गर्दैनन्, उनीहरू अलगथलग रहन्छन्, अर्थात् उनीहरूले आफ्नै जीवनबाट कटेको महसुस गर्नेछन् । सोफीलाई मार्क्सको सोच विशेष लाग्छ, किनकि मार्क्स मानिसको दुःखलाई बुझ्छन् र त्यसको व्यावहारिक समाधान दिन चाहन्छन् । मार्क्सले धेरै चिन्तक र आन्दोलनलाई प्रभावित गरे, जसमा समाजवादी, साम्यवादी र धेरै क्रान्तिकारी थिए । अब सोफीले के कुरा बुझ्छिन् भने कुनै पनि दर्शन त्यतिबेला अर्थपूर्ण हुन्छ, जब त्यसले मानिसलाई सशक्तीकरण गर्दछ । मार्क्सको विचारबाट उनले मानिस केवल सोच्ने प्राणी मात्र होइन, ऊ एक श्रमिक पनि हो, एक स्वप्नद्रष्टा पनि हो भन्ने बुझिन् । यदि मानिसलाई सही मौका मिल्यो भने उसले आफ्नो समाजलाई बदल्न सक्छ ।
डार्बिन (आनुवांशिक कोशिका -जीन्स- को खजाना लिएर जीवनमा बगिरहेको एक जहाज)
यसपछि सोफी मानवताको बुझाईलाई पूर्ण रूपमा बदलिदिने चिन्तक चार्ल्स डार्विनसँग पुग्छिन् । अर्बर्टोले उनलाई बताउँछ, डार्विन कुनै दार्शनिक थिएनन्, उनी एक प्राकृतिक वैज्ञानिक थिए । तर उनको सोचले दर्शन, धर्म र सम्पूर्ण समाजलाई नै डगमगाइदियो । डार्विनले प्रकृतिलाई अत्यन्तै ध्यानपूर्वक अवलोकन गरे । सन् १८५९ मा उनले आफ्नो पुस्तक जातिहरूको उत्पत्ति प्रकाशित गरे । यसमा उनले सबैलाई चकित बनाउने प्राकृतिक छनौटद्वारा क्रमविकासको सिद्धान्त दिए । सोफी शुरुमा केही भ्रममा पर्छिन्, तर अल्बर्टोले उनलाई यसको बारेमा साधारण भाषामा बुझाउँछ । डार्विनका अनुसार सम्पूर्ण जीवन विस्तारै-विस्तारै एउटा साझा पूर्वजबाट विकास भएको हो । डार्विनका अनुसार जुन जीव आफ्नो वातावरणमा सबभन्दा राम्रोसँग अनुकूलित हुन्छ, त्यही नै अस्तित्वमा रहन्छ र अगाडि पुनर्उत्पादन गर्छ । डार्विनले यो सबै कुनै आधुनिक प्रविधिबिना नै बुझेका थिए । उनले केवल अवलोकन, तुलना र गहन चिन्तनबाट यो कुरा पत्ता लगाएका थिए । यसले सोफीलाई चकित बनाउँछ ।
डार्बिनका अनुसार मानिस पनि अन्य प्राणी जस्तै क्रमविकासकै परिणाम हो । यो कुरा त्यो समयको लागि धेरै आश्चर्यजनक थियो, किनिक धेरैले मानिसलाई ईश्वरले बनाएका हुन् भन्ने मान्थे । यद्यपि डार्बिनले मानिस पनि प्रकृतिकै हिस्सा हुन् र उनीहरू पनि अन्य प्राणी बन्ने प्रक्रिया जस्तै गरी बनेका हुन् भन्ने कुरा स्पष्ट बनाए । डार्विनले केवल जीवविज्ञानमा मात्र परिवर्तन ल्याएनन्, उनले धर्मशास्त्र, नीतिशास्त्र र मानवीय पहिचानमा पनि धेरै प्रभाव पारे भन्ने कुरा सोफीले बुझिन् ।
डार्बिनको सिद्धान्त अनुसार प्रकृतिमा कुनै सुनिश्चित उद्देश्य हुँदैन, कुनै बनावट हुँदैन, सबै कुरा संयोग र अनुकूलनमा आधारित हुन्छ । यसबाट धेरैमा अस्तित्वगत संकट पैदा भयो, तर विज्ञानको संसारमा यसले नयाँ सोचको ढोका खोल्छ । सोफी सोच्छिन्, यदि मानिस प्रकृतिबाट अलग छैन भने हामीले प्रकृतिसँग सद्भावमा रहनुपर्छ, त्यसलाई नियन्त्र गर्ने कोशिस गर्नुहुँदैन । डार्बिनको विचारले उनलाई के कुरा पनि सिकाउँछ भने हरेक चीज विस्तारै-विस्तारै परिवर्तन हुँदै जान्छ र यही परिवर्तन जीवनको वास्तविक पहिचान हो । यसपछि सोफी आफूलाई प्रकृतिको हिस्सा मान्न लाग्छिन् र अब उनी हरेक चीजलाई एक लामो र सम्बन्धित प्रक्रियाको रूपमा हेर्न लाग्छिन् । उनलाई अब के महसुस हुन्छ भने विज्ञान र दर्शन एक-अर्कोबाट अलग छैनन्; दुवैले हामी को हौंर यो संसारमा हाम्रो के स्थान छ ? भन्ने कुरा बुझ्नमा मद्दत गर्दछन् ।
फ्रायड (उनीमा प्रकट भएको दुर्गन्धित अहंकारी मनोवेग)
यसपछि सोफी मानवीय दिगमाको गहिराईमा अन्तर्दृष्टि दिने प्रयास गर्ने चिन्तक सिगमन्ड फ्राइडसँग आमने-सामने हुन्छिन् । अल्बर्टोले उनलाई बताउँछ, फ्रायडले मानिसभित्र विद्यमान एक गुप्त संसारलाई सामुन्ने ल्याए, जसलाई अचेतन मस्तिष्क भनिन्छ । सोफीले शुरुमा हामीलाई थाहा नभएको कुनै पनि चीजले हाम्रो विचार र कार्यलाई कसरी नियन्त्रित गर्न सक्छ भन्ने कुरालाई बुझ्दिनन् । यद्यपि अल्बर्टोले उदाहरणसहित उनलाई बुझाउँछ । फ्रायडको मान्यता अनुसार हाम्रो दिमागको ठूलो भाग त्यो हुन्छ, जसलाई हामी स्वयं पनि जान्न सक्दैनौं, र त्यसले नै हाम्रो व्यवहार, सपना, भय र इच्छालाई गहिराईपूर्वक प्रभावित गर्दछ । शायद हरेक मानिसभित्र केही यस्तो चीज हुन्छ, जसलाई ऊ स्वयंले पनि बुझ्न सक्दैन । सोफीलाई यो विचार गम्भीर प्रकारको लाग्छ ।
फ्रायडले आफ्नो सिद्धान्तमा दिमागलाई तीन भागमा विभाजन गरे – आईडी, इगो र सुपरइगो । अल्बर्टोले यसलाई बुझाउँदै भन्छ; आईडी हामीभित्रको त्यो भाग हो, जसले केवल चाहना राख्छ, जस्तो कि यसले खाने,यौनकार्य गर्ने, आराम लिने चाहना राख्छ, यो आवेगशील हुन्छ । त्यसपछि सुपरइगो आउँछ; यसले हामीलाई सही र गलत के हो भन्ने कुरा सिकाउँछ, जस्तो कि समाजको नियम र नैतिकता । र, यी दुवैको बीचमा इगो हुन्छ, यसले वास्तविक संसारसँग सौदा गर्छ र सन्तुलन कायम गर्ने कोशिस गर्छ ।
सोफीलाई यो समानता मनोरंजक लाग्छ, जस्तो कि उनीभित्र अलग-अगल तीन चरित्र रहेका छन् र तिनीहरूको संघर्षले नै उनलाई मानिस बनाउँछ । फ्रायडको काम केवल सिद्धान्तसम्म मात्र सीमित थिएन, उनले एक विधिको पनि निर्मण गरे, जसलाई मनो-विश्लेषण भनिन्छ । यसमा बिरामीसँग कुरा गरिन्छ, उनीहरूका सपनाको अर्थ निकालिन्छ र उनीहरू विगतका अनुभवलाई अवलोकन गरिन्छ, ताकि समस्यालाई बुझ्न सकियोस् । फ्रायडले सपनालाई अचेतनको शाही मार्ग भनेका थिए । यसको अर्थ हाम्रो सपनामा ती चीजहरू लुकेका हुन्छन्, जसलाई हामी दिनमा बेवास्ता गर्छौं वा दबाइदिन्छौं । यद्यपि फ्रायडको सिद्धान्तलाई लिएर धेरै बहस भयो, तर पनि उनले एउटा धेरै महत्त्वपूर्ण कुरा सिकाए । त्यो के थियो भने मानिसले जति देख्छ, त्यो त्यसभन्दा धेरै जटिल हुन्छ; उसभित्रको भावना, इच्छा र द्वन्द्वलाई शायद ऊ स्वयंले पनि बुझ्न सक्दैन । सोफी अब के बुझ्छिन् भने दर्शन केवल बाहिरी संसारलाई मात्र होइन, भित्री संसारलाई पनि बुझ्ने तरीका हो । फ्रायडले मानिसभित्रको अध्यारो भागलाई प्रकाशित गर्ने कोशिस गरे ।
हाम्रो आफ्नो समय (मानिस स्वतन्त्र हुनको लागि अभिशप्त हुन्छ)
सोफी र अल्बर्टो अब यस्तो समयतिर अगाडि बढ्छन्, जसलाई उनीहरू हाम्रो समय भन्छन् । यो समय सोफीको युगसँग जोडिएको हुन्छ । अल्बर्टोले के बताउँछ भने अहिलेसम्म उनले जुन दर्शनको बारेमा पढ्दै आएकी छिन् ती सबै कुनै न कुनै ऐतहासिक पृष्ठभूमिसँग जोडिएका थिए । तर अब उनी बिल्कुल नयाँ र आजको संसारलाई प्रतिबिम्वित गर्ने दर्शनको अवलोकन गर्न गइरहेकी छिन् । बीसौं शताब्दीमा दर्शनले एक नयाँ मोड लियो । अब संसार के हो ? हामी को हौं ? भन्ने मात्र प्रश्न थिएनन्, बरु हामीले कसरी ज्ञान आर्जन गर्छौं ? भाषाले कसरी काम गर्छ ? र, सत्यको अर्थ के हो ? जस्ता प्रश्नहरू पनि सामुन्ने आएका थिए । सोफीलाई अब अस्तित्ववाद, संरचनावाद र उत्तर-आधुनिकतावाद जस्ता विचारहरूको बारेमा थाहा हुन्छ । अल्बर्टोले उनलाई साधारण भाषामा यी विषयहरूको बारेमा व्याख्या गर्दछ ।
अस्तित्ववादका अनुसार मानिसको कुनै पूर्वपरिभाषित परिचय हुँदैन । हामी आफ्नो इच्छाबाट स्वयंलाई परिभाषित गर्दछौं । अल्बर्टो बताउँछ, जाँ पाल सात्र र अल्बर्ट कामू जस्ता चिन्तकले कुन कुरामा जोड दिए भने जीवन अर्थहीन हुन सक्छ, तर यही अर्थहीनतामा मानिस स्वयंले आफ्नो अर्थ सिर्जना गर्नुपर्छ । सोफीलाई यो कुरा धेरै शक्तिशाली लाग्छ; उनी स्वयं आफ्नो जिन्दगीको लेखक हुन् । त्यसपछि उनी बुझ्छिन्, दर्शनले अब भाषामा पनि ध्यान दिन लागेको छ । जस्तो कि लुडविग विटकेन्स्टाइनका अनुसार हाम्रो सोच हाम्रो भाषाबाट बाँधिएको हुन्छ । यसको अर्थ के हो भने हामी कुनै पनि चीजलाई तब सोच्न सक्छौं, जब हामीसँग त्यसलाई अभिव्यक्त गर्ने शब्द हुन्छन् ।
उत्तर-आधुनितावादी दार्शनिकले कुनै निरपेक्ष सत्य हुँदैन भन्ने एउटा अर्को नयाँ विचार दिए । हरेक सत्य कुनै दृष्टिकोणबाट हेरिएको संस्करण हुन्छ । सोफी यसमा केही अल्मलिन्छिन्, तर अल्बर्टोले उनलाई यस बारेमा स्पष्ट रूपमा बुझाउँछ । हरेक मानिसको दृष्टिकोबाट संसार फरक देखिन्छ, त्यसरी नै हरेक संस्कृति र हरेक समाजको आफ्नो एक सत्य हुन्छ । अब उनले के बुझ्छिन् भने दर्शन अमूर्त चीज होइन, बरु यो आजको समाज, मिडिया र राजनीतिसँग पनि जोडिएको हुन्छ । यी सबै कुराले सोफीको मस्तिष्कलाई अझ बढी खुल्ला बनाइदिन्छन् र उनी आफूलाई एक आधुनिक चिन्तकको रूपमा महसुस गर्छिन् ।
गार्डेन पार्टी (एउटा सेतो काग)
सोफी अब आफ्ना प्रश्नका उत्तरहरूको धेरै निकट पुगिसकेकी छिन् । यहाँ एक शानदार गार्डेन पार्टीको शुरुवात हुन्छ । यो एक पार्टी मात्र हुँदैन, यो सोफीको सम्पूर्ण यात्राको एक संकेत बन्छ । यो पार्टी हिल्डेका पितामेजरले खासगरी सोफीको लागि आयोजना गरेका हुन् । यहाँ सोफीको आफ्नो दार्शनिक यात्राका धेरै पात्रहरूसँग भेट हुन्छ, अर्थात् वास्तवामा काल्पनिक हिस्साका ती सबै मानिस यहाँ एकै ठाउँमा देखिएका छन् । यो सम्पूर्ण माहौल बिल्कुल सपना जस्तो लाग्छ । सोफीलाई आफू कुन प्रकारको संसारमा उभिएको छु भन्ने कुरा बुझ्न केही समय लाग्छ ।
यो पार्टीमा प्लेटो, देकार्त, डार्विन, फ्रायड र अरु दार्शनिक पनि छन् । यी सबैले कुनै दार्शनिक संग्रहालय जसरी सोफीसँग अन्तर्क्रिया गर्दछन् । एक किसिमले यो पार्टी सोफीको मस्तिष्कमा चलिरहेको विचारको एक वास्तविक समयको नाट्यशाला बन्छ । अल्बर्टोले सोफीलाई के बुझाउँछ भने यो पार्टी एक भ्रम हो, एउटा यस्तो निर्मिति वास्तविकता हो, जुन हिल्डेको कल्पना र उनका पिताको योजनाको परिणाम हो । यहाँ सोफी र अल्बर्टोलाई के महसुस हुन्छ भने उनीहरू स्वयं एक फिक्सनका हिस्सा बनिसकेका छन् । र, हामीले पढिरहेको त्यो पुस्तक त्यही फिक्सनको कथा हो ।
सोफीले विस्तारै के कुरा स्वीकार गर्न लाग्छिन् भने उनको अस्तित्व, उनको जीवन र उनका सम्पूर्ण अनुभव एक कथाका पात्रहरूको रूपमा निर्माण गरिएको हो । अब उनको उद्देश्य यो कथाबाट बाहिर निक्लिनु हो । यहींबाट सोफी र अल्बर्टोको फिक्सनबाट बाहिर निक्लिने अन्तिम अभियान शुरु हन्छ । अल्बर्टोले सोफीलाई भन्छ, यदि हामीले हामी कसैको कल्पनाका हिस्सा हौं भन्ने मान्यौं भने के हामी आफ्नो लागि कुनै फरक वास्तविकता सिर्जना गर्न सक्छौं ? यो प्रश्नले सोफीलाई भित्रैसम्म झंकृत गर्दछ ।
गार्डेन पार्टीमा हरेक चीज सांकेतिक छन्; हरेक पाहुना, हरेक संरचना, हरेक क्रियाकलापले केही न केही दर्शाउँछन् । यहाँ दर्शन केवल एउटा विषय मात्र रहँदैन, बरु एउटा अनुभव बन्छ । सोफी यहाँ पूर्ण रूपमा सचेत छिन्, भावनात्मक, बौद्धिक र आध्यात्मिक रूपमा । अब उनी के बुझ्छिन भने उनका प्रश्नहरूले नै उनलाई यति सचेत बनाइदिएको हुन् । अब उनले स्वयंलाई एक कठपुतलीको रूपमा होइन, बरु एक चिन्तकको रूपमा हेर्न सक्छिन् । अल्बर्टोसँग मिलेर उनी यो कथाबाट बाहिर निक्लिने कुरा तय गर्छिन्, ताकि वास्तविक परिचयको खोज गर्न सकियोस् ।
प्रति-बिन्दु (दुई वा दुईभन्दा बढी लय एकसाथ गुन्जायमान हुन्छ)
यसपछि कथा आफ्नो उत्कर्षतिर बढिरहेको छ । सोफी र अल्बर्टोले पूर्ण रूपमा उनीहरू एक फिक्सनका पात्र हुन् भन्ने कुरा बुझिसकेका छन् । उनीहरू हिल्डे र उनका पिता मेजर अल्बर्टोको कल्पनाका हिस्सा हुन् । यहाँ एक दिमागी युद्ध संचालित भएको छ, जसमा दुई संसार टकराइरहेका छन्; एउटा सोफीले बनाएको र सोचेको वास्तविकता र अर्को हिल्डेको वास्तविक संसार । अल्बर्टो अब सुनिश्चित रूपमा सोफीलाई यो काल्पनिक संसारबाट निकालेर एक नयाँ स्वतन्त्रता दिलाउनको लागि लाग्छ । यहाँ दर्शन एकदम कार्यात्मक बन्छ । तर्क र कल्पनाको प्रबल मिलन हुन्छ । अल्बर्टोले सोफीलाई बताउँछ, यदि उनले लगातार सचेत रहेर आफ्नो विचार र परिवेशलाई अवलोकन गरिरहिन् भने उनी यो कथाबाट बाहिर निक्लिन सक्छिन् । यो बीचमा कथाभित्र धेरै विचित्र घटनाहरू हुन लाग्छन् । चीजहरू अचानक गायब हुन्छन्, मानिसहरूका आवाज गुन्जिन्छन् र समयको प्रवाह असामान्य हुन्छ ।
सोफीले अब स्पष्ट रूपमा संसार उनको नियन्त्रणमा छैन भन्ने कुरा देखिरहेकी छिन् । उनलाई लगातार के संकेत मिलिरहेको छ भने कुनै अदृश्य लेखकले उनको क्रियाकलापलाई नियन्त्रित गरिरहेको छ । तर सोफी र अल्बर्टोले निस्क्रिय पात्र नरहने कुरा तय गरे । उनीहरूले एक विद्रोह शुरु गरे, जुन एक यस्तो सोचको क्रान्ति हो, जहाँ उनीहरू लेखकको कहानीभन्दा बाहिर आफ्नो स्वतन्त्र इच्छाबाट जिउन चाहन्छ्न् । यही क्रममा हिल्डेले पनि आफ्ना पिताको डायरी पढिरहेकी छिन् र उनलाई के महसुस हुन्छ भने उनले आफ्नो कल्पनाबाट दुई पात्रलाई यति वास्तविक बनाइदिएकी छिन् । अब उनीहरू उनको नियन्त्रणबाट बाहिर जाने कोशिस गरिरहेका छन् । यहीँबाट हिल्डेको अपराध उनलाई सोफीको लागि सहानुभूति हुन लाग्छ । उनी सोफीलाई स्वतन्त्रता दिन चाहन्छिन् । तर उनको पिता अझै पनि त्यो नियन्त्रणलाई छोड्न चाहँदैन ।
यहाँ रचनाकार र रचनाको बीचमा, नियन्त्रण र स्वतन्त्रताको बीचमा, कल्पना र वास्तविकताको बीचमा द्वैतता देखाएको छ । प्रति-बिन्दु एक सांगीतिक शब्द हो, जसमा दुई अलग-अलग धुन सँगसँगै अगाडि बढ्छन् तर सद्भावमा हुन्छन् । त्यसरी नै यहाँ पनि दुई समानान्तर वास्तविकता सँगसँगै अगाडि बढिरहेका छन् । सोफी र अल्बर्टो अब कुनै पुस्तकका पात्र रहेनन् । उनीहरू विचारका संकेत बनेका छन्, उनीहरू त्यो सोच बनेका छन्, जुन हरेक मानिसलाई आफ्नो जीवनमा कुनै न कुनै बेला महसुस हुन्छ । के हामी स्वयंलाई नियन्त्रित गर्दछौं वा अरु कसैले ? यहाँ यही प्रश्न केन्द्रबिन्दुमा छ ।
हिल्डेको संसार
अब कथा पूर्ण रूपमा हिल्डेको संसारमा परिवर्तित हुन्छ । यहाँ सोफी र अल्बर्टो पहिलो पटक पूर्ण रूपमा पृष्ठभूमिमा जान्छन् र हेडलाइट अब हिल्डेमाथि छ । उनी ती केटी हुन्, जसको कल्पनाले सोफीको सम्पूर्ण संसारलाई जन्म दियो । हिल्डे आफ्ना पिताले बनाएको कहानीलाई पढेर भावनामा बहकिन्छिन् । उनलाई के महसुस हुन्छ भने सोफी र अल्बर्टो उनका पिताको कल्पनामा केवल पात्र मात्र होइनन्, बरु अब उनीहरू एकप्रकारले जीवित भएका छन् । उनीहरू सोच्न सक्छन्, प्रश्न सोध्न सक्छन् र विद्रोहसम्म गर्न सक्छन् । हिल्डेलाई अपराधबोध पनि हुन्छ, किनकि उनी अहिलेम्म केवल एक अवलोकनकर्ता थिइन् । तर अब उनी स्वयं सोफीको पक्ष लिन लाग्छिन् । उनलाई लाग्छ, उनका पिताले अब यो कहानी अन्त्य गर्नुहुँदैन, बरू सोफी र अल्बर्टोलाई आफ्नो यात्रा पूरा गर्न दिनुपर्छ ।
यहाँ हिल्डे आफ्ना पिताको टिपोट र पत्रहरूलाई पढेर एकप्रकारको मानसिक यात्रामा निस्किन्छन् । उनी विगतमा जान्छिन् र सोफीको सम्पूर्ण दार्शनिक यात्रालाई पुनः हेर्छिन् । र, उनलाई के महसुस हुन्छ भने दर्शन केवल पुस्तकमा पढ्ने चीज मात्र होइन, बरु त्यो एक दर्पण हो, जसले मानिसलाई स्वयंसँग भेट गराउँदछ । हिल्डे सोफीसँग भावनात्मक रूपमा जोडिन लाग्छिन् र उनी स्वयंसँग प्रश्न गर्न लाग्छिन्; के उनी पनि कोही अरूकै कथाकी हिस्सा हुन सक्छिन् ? यो विचारबाट उनी केही डराउँछिन् तर उत्सासित पनि हुन्छिन् । यहींबाट हिल्डे स्वयं एक दार्शनिक बन्न लाग्छिन् । उनी के सोच्न लाग्छिन् भने यदि उनको कल्पनाबाट सोफी र अल्बर्टो जस्ता जटिल पात्र निक्लिक सक्छन् भने के कल्पना पनि एकप्रकारको वास्तविकता हो ?
यही क्रममा हिल्डे आफ्ना पितालाई अप्रत्यक्ष रूपमा सन्देश पठाउन लाग्छिन्; अब उनले त्यो नियन्त्रण छोड्नुपर्छ र सोफीलाई मुक्त गरिदिनुपर्छ । उनी संकेत पठाउँछिन्, कथामा टिपोट छोड्छिन् र आफ्नो मस्तिष्कबाट नयाँ विचार कल्पना गर्छिन् । यहाँ अध्यनकर्ताले पनि आफू को हो भन्ने कुरा सोच्न लाग्छ; के ऊ पनि केवल कुनै अरुको कथाको अध्ययकर्ता हो वा कुनै अदृश्य लेखकले उसको जिन्दगीलाई नियन्त्रित गरिरहेको छ ? हिल्डे अब केवल एक पुत्री मात्र रहन्नन्, अब उनी एक चिन्तक बन्छिन् । उनको सहानुभूति, कल्पना र सोचले सोफीलाई एक नयाँ मोड दिन लाग्छ । अब कथा आफ्नो अन्तिम चरणतिर अगाडि बढिरहेको छ । यो एक यस्तो अन्त्य हुनेछ, जहाँ वास्तविकता,कहानी र कल्पनाको सम्पूर्ण परिघेरा भंग हुन्छ ।
बिग ब्याङ (हामी पनि ताराहरूकै धुलो हौं)
यसपछि कथा अन्तिम मोडमा आइपुग्छ । यहाँ कल्पना र वास्तविकताको परिघेरा पूर्ण रूपमा मेटिन लाग्छ । सोफी र अल्बर्टो अब मेजरले आफ्नो कल्पनाबाट बनाएको संसारबाट बाहिर निक्लिसकेका छन् । यद्यपि यसको अर्थ उनीहरू वास्तविक संसारमा आएका छन् भन्ने होइन । उनीहरू एक यस्तो वास्तविकतमा आएका छन्, जुन शुद्ध कल्पनाबाट बनेको छ; त्यहाँ तर्क र समयको पारम्परिक नियमले काम गर्दैन । यो एक सांकेतिक यात्रा हो, एक अन्तिम दार्शनिक छलाङ हो, जहाँ हरेक चीज एक ब्रम्हाण्डीय स्तरमा जोडिएको महसुस हुन्छ ।
सोफी र अल्बर्टो अब यस्तो स्थानमा हुन्छन्, जहाँ कुनै नियम छैन, कुनै सीमा छैन । यो एकप्रकारले विचार ब्रम्हाण्ड हो, जहाँ विचार नै ऊर्जा हो र सोच नै जीवन हो । सोफी र अल्बर्टो काल्पनिक लाग्ने ठाउँमा पुगेका छन् । यो संसारमा कुनै निश्चित रूप हुँदैन । त्यहाँ रूख हावामा फैलिन्छन्, प्राणी अमूर्त ढाँचामा बदलिन्छन् र समयको कुनै निश्चितता हुँदैन । सोफी पटक-पटक प्रश्न गर्छिन्, के हामी अझै पनि कुनै कथामा छौं ? अल्बर्टोले उनलाई जवाफ दिन्छ, शायद हरेक सोच्ने जीव कुनै न कुनै कथामा नै हुन्छ । अब यो कथा गहन रूपमा दार्शनिक परावर्तनमा बदलिन्छ, जस्तो कि प्लेटोको गुफा सिद्धान्त, कान्टको न्यूमिनल संसार र अस्तित्वादीहरूको स्वतन्त्र इच्छाको उत्कर्ष एकसाथ आइरहेको होस् ।
यो बीचमा हिल्डे आफ्नो कल्पनाबाट सोफीको यो नयाँ संसारलाई आकार दिन लाग्छिन् । उनी एक निर्देशक बल बन्छिन्, तर यो पटक नियन्त्रक होइन, बरु पोषित कल्पनाको रूपमा । हिल्डेले आफ्ना पितालाई पनि एउटा पत्र लेख्छिन् । यसमा उनले स्पष्ट रूपमा भन्छिन्, सोफी र अल्बर्टोलाई आफ्नो मार्ग स्वयं छनौट गर्न दिनुपर्छ । एक भ्रमित केटी सोफी अब एक जागृत चिन्तक बनिसकेकी छिन् । शुरुवातमा केवल एक शिक्षक रहेको अल्बर्टो अब स्वयं सोफीको माध्यमबाट विकसित भइसकेको छ ।
बिग ब्याङले एक वास्तविक वैज्ञानिक विचारलाई सांकेतिक रूपमा प्रस्तुत गर्छ, जस्तो कि एक नयाँ संसारको शुरुवात भइरहेको होस्, केवल पदार्थबाट मात्र होइन, बरु विचारबाट, स्वतन्त्रताबाट र कल्पनाको शक्तिबाट पनि । सोफी र अल्बर्टो अब वास्तविक र अवास्तविक रहेनन्, उनीहरू कहिल्यै अन्त्य नहुने विचार बनेका छन् । सोफीको संसारको अन्तिम सन्देश पनि यही नै हो । यसमा सोच्ने, प्रश्न गर्ने र आफ्नो वास्तविकता आफैले निर्माण गर्ने ज्ञान प्रदान गरिएको छ । हामी सबै दार्शनिक हौं, तर हामीले सोच्ने, प्रश्न गर्ने वास्तविकता पत्ता लगाउने प्रयासलाई कहिल्यै छोड्नु हुँदैन ।
सन्दर्भ स्रोत
१. https://www.rcboe.org/cms/lib/GA01903614/Centricity/Domain/2820/sophies%20world%20full%20text.pdf
२. सोफी का संसार (पाश्चात्य जगत की दर्शन-गाथा) जास्टिन गार्डर, हिन्दी संस्करण, अनु. सत्यपाल गौतम, राजकमल प्रकाशन ।
३. Study and Research of various websites, blogs, online portal, youtube channels, etc.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
युद्ध र प्रेमको पृष्ठभूमिमा एक महिलाको साहसिक जीवन-यात्रा : ‘गन विथ द विन्ड’
भोल्तेअरको विश्वप्रसिद्ध, दार्शनिक र व्यङ्ग्यात्मक उपन्यास ‘क्यान्डिड’
३ माघ २०८२, शनिबार 







