जेन अस्टिन

गर्व र पूर्वाग्रह (प्राइड एण्ड प्रिज्यूडिस) प्रसिद्ध अंग्रेजी उपन्यासकार जेन अस्टिन (१६ डिसेम्बर १७७५-१८ जुलाई १८१७) द्वारा लिखित उपन्यास हो । अस्टिनलाई अंग्रेजी साहित्यकी महत्त्वपूर्ण लेखिकाहरूमा गणना गरिन्छ । उनका उपन्यासमा मध्यमवर्गीय समाजमा रीति-रिवाज, प्रेम, विवाह र सामाजिक स्थितिको सूक्ष्म विश्लेषण गरिएको हुन्छ । अस्टिन गाउँको गिर्जाघरको एक पादरीकी पुत्री थिइन् । उनले शहरभन्दा टाढा, सम्पूर्ण उमेर गाउँमा नै बिताइन् । ह्याम्पशायरको स्टीवेन्सन नामक स्थानमा उनको जन्म भएको थियो । उनले केही समय बोर्डिङ स्कूलमा शिक्षा ग्रहण गरिन्, तर धेरै समय उनले घरमा नै शिक्षा लिइन् । उनले कम उमरमै लेख्न शुरु गरेकी थिइन् । जीवनभर उनी अविवाहित रहिन् ।

उनको एकाङ्गी जीवनको झाँकी उनका उपन्यासहरूमा स्पष्ट हुन्छ । उनले समाजको धेरै नै सीमित क्षेत्र देखिन् । गाउँको उच्च खानदान र उच्च मध्यम वर्गीय व्यवसायीहरूको समाज नै उनको क्षेत्र थियो । उनले धेरै छिटो लेख्न आरम्भ गरेकी थिइन् । तर तत्कालीन सामाजिक मर्यादाका कारण उनले आफ्ना उपन्यासहरूलाई नामबिना नै प्रकाशित गर्नुपरेको थियो । उनका उपन्यास ‘बाई द लेडी’का नामले छापिन्थे, किनकि त्यसबेला महिला लेखकहरूलाई गम्भीरतापूर्वक लिइँदैनथ्यो । कसैले नदेखोस् र लुकाउन सकियोस् भनेर उनी साना-साना कागजमा लेख्थिन् । उनी एक महान् साहित्यकार मात्र थिइनन्, बरु सूक्ष्म समाज-विश्लेषक, व्यङ्ग्यकार र नारीवादी चिन्तक पनि थिइन् । उनका अन्य कृतिमा ‘सेन्स एण्ड सेन्सीबिलिटी’ (१८११), ‘मेन्सफिल्ड पार्क’ (१८१४), ‘एम्मा’ (१८१५), ‘नर्थेङ्गर एबे’ (१८१७) र ‘स्यान्डिसन’ हुन् । यद्यपि ‘स्यान्डिसन’ भने अधूरो नै रह्यो । अस्टिनका उपन्यासहरूमा स्त्रीहरूको आर्थिक निर्भरता र विवाहको दबाबलाई उजागर गरिएको पाइन्छ ।

अस्टिनको कम उमेर (४१ वर्ष) मा नै एडिसन रोग वा आर्सेनिक विषाक्तताका कारणले मृत्यु भयो । उनको अन्तिम पाण्डुलिपि ‘द ब्रदर्श’ मृत्युशय्यामा नै लेखिएको थियो । अस्टिनले आफ्नो छोटो समयमा पनि कालजयी रचनाहरू प्रदान गरिन्, जुन आज पनि प्रासंगिक देखिन्छन् । उनको व्यङ्ग्यात्मक शैली, यथार्थवादी चित्रण र नारीवादी दृष्टिकोणले उनलाई साहित्य क्षेत्रमा अमर बनाइदिएको छ । आज पनि उनका उपन्यासले प्रेम, समाज र मानवीय सम्बन्धमा गहनतापूर्वक चिन्तन गर्न प्रेरित गर्दछन् । उनका उपन्यासहरूमा आधारित रहेर धेरै चलचित्रहरू पनि बनेका छन् ।

प्राइड एन्ड प्रेजूडीस

‘प्राइड एण्ड प्रिज्यूडिस’ (गर्व र पूर्वाग्रह) सन् १८१३ मा प्रकाशित भएको थियो । यो उनको सर्वश्रेष्ठ उपन्यास मानिन्छ । प्रस्तुत उपन्यास आफ्नो मनोवैज्ञानिक विश्लेषणको लागि प्रसिद्ध छ । यसमा कथासूत्र विचारलाई लिएर अगाडि बढ्दछ । यसमा तीखो व्यङ्ग्य छ र यसले सामाजिक व्यवस्थामाथि प्रकाश पार्दछ । जेन अस्टिनको तत्कालीन समाजको जानकारी र नारी हृदयको विश्लेषण यसमा विलक्षण रूपमा प्रस्तुत भएको छ । यसमा प्रेमकथा सँगसँगै सामाजिक आलोचना पनि छ, जसले तत्कालीन इङ्ल्याण्डको ग्रामीण समाजको जीवन, रीतिरिवाज, वर्गभेद, नारी अस्मिता र मानवीय मनोविज्ञानलाई गहिराईपूर्वक दर्शाउँछ । यो उपन्यास विश्वका मुख्य सय उपन्यासमध्येमा पर्छ । यसले विवाह धन वा प्रतिष्ठाको लागि होइन, बरू प्रेमको लागि गर्नुपर्दछ भन्ने सन्देश दिएको छ ।

जेन अस्टिनको यथार्थवादी अंग्रेजी साहित्यकारमा अग्रणी स्थान रहेको छ । उनले आफ्ना पात्र र कथानकलाई सामान्य जीवनको यथार्थको निकट राखेकी छिन् । उनको शैलीमा सूक्ष्म व्यङ्ग्य, संवादको प्रभावशीलता र मनोवैज्ञानिक गहनता पाइन्छ । उनले पात्रहरूको आन्तरिक विचार र भावनालाई खोतलेकी छिन् र पात्रहरूको आन्तरिक संघर्षलाई सूक्ष्मतापूर्वक चित्रण गरेकी छिन् ।

उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा

‘गर्व र पूर्वाग्रह’ उपन्यासको कथा बेनेट परिवार र विशेषगरी एलिजाबेथमा केन्द्रित छ । उपन्यासको शुरूवात बेनेट परिवारको बासस्थान लङबोर्नबाट हुन्छ । बेनेट दम्पति आफ्ना पाँच छोरीहरूसहित लङबोर्न भन्ने ठाउँमा बस्छन् । उनीहरूका सबै छोरीहरू (जेन, एलिजाबेथ, मेरी, किट्टी र लिडिया) अझै अविवाहित नै छन् । श्रीमती बेनेट आफ्ना छोरीहरूको विवाहलाई लिएर चिन्तित छिन् ।

एक दिन श्रीमती बेनेटलाई चार्ल्स बिंगले नामक एक धनी युवक नेदरफिल्ड पार्कमा बस्न आएको कुरा थाहा हुन्छ । उक्त ठाउँ उनको घरभन्दा केही टाढा थियो । यो कुरा सुनेपछि श्रीमती बेनेट उत्साहित हुन्छिन् । त्यसपछि उनी चार्ल्सले आफ्नी कुनै छोरीलाई मन पराए त धेरै राम्रो हुन्थ्यो भन्ने सोच्छिन् । त्यसकारण उनले जिद्दी गरेर चार्ल्स बिंगलेकोमा बेनेटलाई एक सामाजिक भ्रमणको लागि पठाउँछिन् । चार्ल्स धेरै मिलनसार स्वभावको युवक थियो । त्यसकारण उसले बेनेटसँग धेरै उत्साहपूर्वक भेट्छ । यसपछि चार्ल्सले एक सभा हलमा एकप्रकारको नृत्य आयोजना गर्दछ । यसमा सम्पूर्ण गाउँलेलाई निमन्त्रणा गरिएको थियो । यस पार्टीमा सबै मानिसले चार्ल्सका बहिनीहरू क्यारोलिन र लुइजासँग पनि भेट गर्दछन् । चार्ल्ससँग उसको मिल्ने साथी डार्सी पनि आएको थियो । ऊ आफूलाई चार्ल्सभन्दा पनि धनी भएको कुरा गरिरहेको थियो ।

चार्ल्सलाई सबै मानिस उसको हँसिलो स्वभावको कारणले मन पराउँथे । ऊ श्रीमती बेनेटकी ठूली छोरी जेनको तर्फबाट आकर्षित हुन्छ र उनीसँग नृत्य पनि गर्दछ । तर उसको साथी डार्सी धेरै गम्भीर स्वभावको थियो । ऊ जेनकी बहिनी एलिजाबेथसँग नाच्न पनि अस्वीकार गरिरहेको थियो । सबै मानिस उसलाई घमण्डी र रूखो स्वभावको मान्न लागेका थिए ।

केही दिनपछि चार्ल्सका बहिनीहरू क्यारोलिन र लुसियाले जेनलाई आफ्नो स्टेटमा निमन्त्रणा गर्दछन् र जेन त्यहाँ जान्छिन् । तर एक दिन वर्षामा भिजेकोले उनी बिरामी पर्छिन् । यसकाण उनले त्यहाँ केही दिन रोकिनुपर्ने हुन्छ । उनको हेरविचारका लागि उनकी बहिनी एलिजाबेथलाई पठाइन्छ । विस्तारै-विस्तारै डार्सीले एलिजाबेथलाई उनको असल स्वभाव र समझदारीका कारण मन पराउन लाग्छ । चार्ल्सकी बहिनीलाई भने यो कुरा राम्रो लाग्दैन । किनकि उनी आफैँ डार्सीलाई मन पराउँथिन् । ठीक भएपछि जेन र एलिजाबेथ फर फर्किन्छन् । त्यहाँ उनीहरूले कोलिन नामक युवक आएको पाउँछन् । ऊ उनीहरूको टाढाको नातेदार थियो । र, उनीहरूको सम्पत्तिको अंशियार पनि थियो । त्यसबेला सम्पत्ति केवल पुरुषलाई मात्र प्राप्त हुन्थ्यो । कोलिन धेरै हँसी-मजाक गर्दथ्यो । छिट्टै उसले एलिजाबेथसँग विवाह गर्ने इच्छा जनायो तर एलिजाबेथले उसलाई मन पराउँदिनथिन्, त्यसकारण तिनले उसको प्रस्ताव अस्वीकार गरिन् ।

यही बेला नजिकै सेनाको एक क्याम्प स्थापना गरिन्छ । त्यसपछि विकहम नामक एक आकर्षक सिपाही एलिजाबेथको साथी बन्छ । उसले तिनलाई डार्सीले छलपूर्वक आफ्नो सम्पत्ति लिएको कुरा बताउँदछ । यो कुराले एलिजाबेथलाई डार्सी अझ खराब लाग्दछ । चिसो मौसम शुरू हुन्छ । चार्ल्स र डार्सी लण्डन जान्छन् । यो खबर सुनेर जेन धेरै निराश हुन्छिन् । यसपछि एउटा आश्चर्यजनक कुरा थाहा हुन्छ, जसमा कोलिनले एलिजाबेथकी असल साथी चार्लोट्टेसँग ‘इन्गेजमेन्ट’ गरेको थियो । यसबारेमा सोध्दा आफूलाई कोलिन मन परेको र यसबाट कम्तीमा आफ्नो जीवन राम्रोसँग बित्नेछ भन्ने जवाफ दिन्छिन् । त्यसपछि छिट्टै ती दुवैको विवाह हुन्छ । एलिजाबेथ आफ्नो साथीसँग उसको घर लण्डनमा भेट्न आउने वाचा गर्छिन् ।

यसपछि जेन आफ्नी काकी श्रीमती गार्डिनरसँग लण्डन जान्छिन् । उनलाई चार्ल्स त्यहाँ भेटिनेछ भन्ने आशा थियो । लण्डनमा चार्ल्सकी बहिनीसँग उनको भेट हुन्छ र धेरै कठोर कुरा गर्छिन् । तर चार्ल्स स्वयं भने उनीसँग भेट गर्न आउँदैन । यसपछि जेन धेरै निराश हुन्छिन् । उनलाई के लाग्छ भने शायद चार्ल्स उनीसँग विवाह गर्न चाहँदैन ।

अर्को वसन्त ऋतुमा एलिजाबेथकी आफ्नी साथी चार्लोट्टेसँग भेट्न लण्डन जान्छिन् । चार्लोट्टेको घर लेडी क्याथोरिनको घर नजिकै थियो । उनी डार्सीकी काकी पर्थिन् । एक दिन डार्सी आफ्नो काकीको घर आइरहेको बेलामा उसले एलिजाबेथलाई देख्छ । त्यसपछि ऊ एलिजाबेथलाई हेर्नैको लागि पटक-पटक आफ्नी काकीको घरमा आउन लाग्यो । एक दिन एलिजाबेथसँग भेटेर उसले विवाहको प्रस्ताव राख्यो । यो सुनेर एलिजाबेथ हैरान हुन्छिन् र त्यही बेला तिनले उसको प्रस्तावलाई अस्वीकार गर्छिन् । त्यसपछि उनले इमान्दारीपूर्वक आफूले उसलाई थोरै पनि मन नपराएको कुरा गर्छिन्; किनकि ऊ घमण्डी व्यक्ति छ; उसले चार्ल्सलाई जेनबाट टाढा गरेको थियो र उसले नै विकहमको सम्पत्ति पनि छलपूर्वक लिएको थियो । यो सबै सुनेपछि डार्सी चुपचाप त्यहाँबाट गयो ।

यद्यपि पछि उसले एलिजाबेथलाई एउटा पत्र पठायो । पत्रमा उसले बतायो – चार्ल्सलाई जेनबाट टाढा गरेको थियो, किनभने उसलाई ती दुवैको रोमान्स गम्भीर लागेको थिएन । र, यसमा एलिजाबेथका परिवारका केही व्यक्तिको पनि गल्ती थियो, जो केवल असल घरको लागि जेनको विवाह चार्ल्ससँग गराउन चाहन्थे । विवाह व्यापार वा लेनदेनको विषय नभएर प्रेमको नाता हुनुपर्दछ । यदि उनीहरू दुवैले एक-अर्कोसँग साँचो प्रेम गर्दछन् भने यो दूरीले उनीहरूलाई यसको महसुस गराउनेछ । र, उनीहरूले आफ्नो यो सम्बन्धलाई ठीक ढंगले बुझ्नको लागि समय पनि पाउने छन् । पत्रमा डार्सीले अरू के बतायो भने विकहमको सम्पत्ति उसले खोसेको थिएन । र, उसले एलिजाबेथलाई झूटो जानकारी दिएको थियो । वास्तविक कथा अर्कै छ । वास्तवमा विकहमको पिता डार्सीको पिताको मुख्य नोकर थियो । डार्सीको पिताले दया गरेर विकहमको नाममा केही सम्पत्ति गरिदिएको थियो तर विकहमले धेरै दाइजो प्राप्त गर्न डार्सीको १५ वर्षको बहिनीलाई भगाएर लैजाने कोशिस गर्‍यो । जसका कारणले रिसाएर डार्सीको पिताले उसलाई आफ्नो अंशबाट वंचित गरेको थियो ।

पत्र पढिसकेपछि एलिजाबेथको डार्सीप्रतिको हृदय परिवर्तन भयो । उनलाई के लाग्यो भने, डार्सी उनले सोचेजस्तो खराब थिएन । उनलाई आफ्ना घरकाहरूसँग लाज लागिरहेको थियो । किनकि उनकी आमा जेनको विवाह धनी घरको चार्ल्ससँग गराउनको लागि आतुर थिइन् भन्ने कुरा साँचो थियो । डार्सीको विवाहमा हृदयको नाता-सम्बन्ध हुनुपर्दछ भन्ने कुरा पनि ठीकै थियो ।

एलिजाबेथ र बाँकी सबैले आफ्नो पूर्वाग्रहको कारणले डार्सीलाई गलत व्यक्ति ठानेका थिए । मानिसले जसलाई उसको गर्व ठानिरहेका थिए, त्यो त केवल उसको तर्क थियो । डार्सीले शुरूमा एलिजाबेथसँग नृत्य गर्न अस्वीकार गर्नुको अर्थ धेरै मानिस केवल उसको पैसाको कारणले आफ्ना छोरीहरूलाई ऊसँग भेट गराउँथे भन्ने थियो । तर पछि डार्सीले एलिजाबेथ वास्तवमै हृदयदेखि नै असल र जेहेन्दार छिन् भन्ने थाहा पाएपछि उसलाई उनीसँग प्रेम भएको थियो किनभने ऊ स्वयं पनि त्यस्तै थियो ।

घर फर्किएपछि एलिजाबेथले विकहमलाई बढी महत्त्व दिइनन् । किनभने अब उनलाई उसको वास्तविकता थाहा भएको थियो । एकदिन सैन्य क्याम्प त्यहाँबाट अन्तै जान लाग्यो । यसबाट बेनेटकी सानी छोरी लिडिया धेरै दुःखित भइन् । तिनले विकहमलाई धेरै मन पराउन लागेकी थिइन् । उनले आफ्नो पितासँग ब्राइटोन जान दिनको लागि अनुरोध गरिन्, जहाँ उनका पारिवारिक साथी रहन्थे । वास्तवमा त्यहाँ उनी विकहमसँग भेट्न चाहन्थिन् किनकि त्यो रेजिमेन्ट ब्राइटोनमा सरेको थियो ।

अर्को गर्मी महिनामा एलिजाबेथ फेरि लण्डन गइन् । यसपटक उनी आफ्नी काकी गार्डिनरकोमा बस्छिन् । एक पटक उनीहरू डार्सीको क्षेत्र पेम्बर्ली जान्छन् । एलिजाबेथलाई डार्सी बाहिर गएको कुरा थाहा हुन्छ र उनी त्यहाँ जानको लागि राजी हुन्छिन् । पेम्बर्ली क्षेत्र देखेर उनका आँखा ठूला-ठूला हुन्छन् । यो महल जस्तै थियो । र, यहाँ ठूला-ठूला बगैंचा थिए । त्यहाँका नोकरहरूले के बताए भने उनीहरूका मालिक डार्सी धेरै दयालु र खुला हृदयका छन् र सधैँ उनीहरूलाई सहयोग गर्दछन् । त्यसपछि अचानक डार्सी त्यहाँ आउँछ । ऊ उनीहरू सबैसँग धेरै शालीनतापूर्वक भेट गर्दछ र उनीहरूको धेरै प्रेमपूर्वक सेवा गर्दछ ।

एक दिन एलिजाबेथलाई घरबाट आएको पत्रबाट उनकी बहिनी लिडिया विकहमसँग भागेको कुरा थाहा हुन्छ । यो सम्पूर्ण परिवारको लागि लाजमर्दो कुरा थियो । त्यसछि उनी छिट्टै घरतिर लाग्छिन् । बेनेट र गार्डिनर लिडियालाई ल्याउनको लागि जान्छन् तर पछि बेनेट खाली हात फर्किन्छ । उसले लिडियालाई कहीँ पनि पाउँदैन ।

बेनेट परिवारको सम्पूर्ण आशा सकिएपछि उनीहरूले गार्डिनरबाट एउटा पत्र पाउँदछन् । त्यसमा लिडिया र विकहमको बारेमा पत्ता लागेको र उनीहरू विवाह गर्नको लागि वार्षिक आम्दानीमा तयार भएको कुरा बताइएको थियो । बेनेट परिवारले यो सबै श्री गार्डिनरले गरेको होला भन्ने सोचिरहेका थिए तर एलिजाबेथले यो सबै डार्सीको कारणले संभव भएको थियो भन्ने कुरा थाहा पाइन् । यसपछि बेनेट परिवारको इज्जत बच्यो । विवाहपछि विकहम र लिडिया सबैसँग भेट्न घर आए । तर बेनेट परिवार उनीहरूबाट धेरै खुशी भएन । यसपछि उनीहरू त्यहाँबाट बिदा भए र उत्तरी इंग्ल्याण्ड गए । त्यहाँ विकहमको नयाँ पोस्टिङ भएको थियो ।

केही समयपछि चार्ल्स र डार्सी फेरि नेदरफिल्ड बस्न आए । चार्ल्स र जेन फेरि भेट्न थाले । यसपटक उनीहरू ‘रोमान्स’ लाई लिएर धेरै गम्भीर थिए । उता डार्सी पनि बेनेट परिवारसँग भेट गर्न जान थाल्यो तर उसले एलिजाबेथलाई बढी केही भनेन । यद्यपि मनमनै ऊ तिनलाई चाहन्थ्यो । एकदिन चार्ल्सले बेनेट परिवारकोमा गएर जेनको हात माग्यो । यसबाट सम्पूर्ण परिवारमा खुशीको लहर दौडियो । यसपछि सबैले यो मौकामा धुमधाम समारोह गरे ।

एक दिन डार्सीकी काकी लेडी क्याथोरिन पनि नेदरफिल्ड आइन् । उनले एलिजाबेलाई भेटिन् र भनिन् – मैले डार्सीले तिमीसँग विवाह गर्न चाहन्छ भन्ने सुनेकी छु । तर उनले एलिजाबेथको घराना डार्सीको लागि सुहाउँदो छैन भनिन् । उनले एलिजाबेथलाई डार्सीसँग विवाह नगर्नको लागि कसम खान पनि भनिन् । यद्यपि एलिजाबेथले निर्धकताका साथ यो कुरालाई अस्वीकार गरिन् र भनिन् – अझै डार्सीसँग मेरो ‘इन्गेजमेन्ट’ त भएको छैन तर म आफ्नो खुशीको विरूद्धमा कुनै पनि वाचा गर्न सक्दिनँ । यो कुरा सुनेपछि लेडी क्याथोरिन त्यहाँबाट गइन् र यी सबै कुरा डार्सीलाई बताइन् । त्यसपछि डार्सी मनमनै धेरै खुशी भयो ।

केही समयपछि डार्सी र एलिजाबेथ सँगै पैदलयात्रामा निस्किन्छन् । त्यस क्रममा डार्सीले एलिजाबेथलाई अहिलेसम्म तिम्रो भावना परिवर्तन भएको छ कि छैन भनेर सोध्छ । यसको साथै उसले पुनः उनीसँग प्रस्ताव गर्दछ । एलिजाबेथले यस पटक खुशीपूर्वक उसको प्रस्ताव स्वीकार गर्छिन् । यो समाचार थाहा भएपछि सम्पूर्ण परिवार खुशी हुन्छ । यसको केही समयपछि जेन र चार्ल्स तथा एलिजाबेथ र डार्सीको बीचमा विवाह हुन्छ । सबैले धेरै दिनसम्म त्यस अवसरमा समारोहको आनन्द लिन्छन् । यसरी श्रीमती बेनेटका छोरीहरूको विवाह भएपछि उनको चिन्ता कम हुन्छ र उपन्यासको अन्त हुन्छ ।

सन्दर्भ स्रोत
1. https://dn790002.ca.archive.org/0/items/prideprejudice00aust/prideprejudice00aust.pdf
2. Study and Research of various websites, blogs, online portals and youtube channels, etc.