मिडनाइट चिल्ड्रेन

‘मध्यरातका सन्तान’ (Midnight’s Children) अहमद सलमान रूश्दीको एक प्रसिद्ध उपन्यास हो । रूश्दीको जन्म भारत स्वतन्त्रता हुनुभन्दा पहिले १९ जुन १९४७ मा भारतको बम्बईमा भएको थियो । उनी एक प्रसिद्ध ब्रिटिश-इन्डियन लेखक हुन् । जीवनको शुरुवाती दिनमा उनले निजी स्कूलमा शिक्षा प्राप्त गरे र पछि एक ब्रिटिश बोर्डिङ स्कूलमा पढे । त्यसपछि रुश्दीले क्याम्ब्रिज विश्वविद्यालय किंग्स कलेजमा अध्ययन गरे, जहाँ उनले इतिहासमा एम. ए. को उपाधि हासिल गरे । उनी इतिहास र कहानीलाई मिसाउने जादूमय यथार्थवादी साहित्यकारका रूपमा चिनिन्छन् ।

रूश्दीको लेखनमा जादूमय यथार्थवाद, ऐतिहासिक घटनाक्रम र सांस्कृतिक विषयहरूको अनौठो मिश्रण देख्न सकिन्छ । सन् १९७० को दशकमा उनले लण्डनमा विज्ञापन एजेन्सीको लागि कपिराइटरको रूपमा आफ्नो काम शुरु गरे । यससँगै आफ्नो लेखनकार्यको विकास गरे । यही क्रममा नै उनले आफ्ना दुई उपन्यास प्रकाशित गराए, जसमध्ये ‘मिडनाइड चिल्ड्रेन’ एक हो । उनको पहिलो उपन्यास ‘ग्रिमस’ १९७५ मा प्रकाशित भएको थियो । तर सन् १९८१ मा प्रकाशित भएको ‘मिडनाइट चिल्ड्रेन’ ले नै उनलाई प्रसिद्धि दिलायो । यो सफलतापछि सन् १९९३ मा उनले ‘बुकर पुरस्कार’ प्राप्त गरे र पछि २००८ मा उनले ‘बेस्ट अफ बुकर’ पुरस्कार पनि प्राप्त गरे ।

रुश्दीको तेस्रो उपन्यास ‘शेम’ १९८२ मा प्रकाशित भएको थियो । यसमा उनले पाकिस्तानको राजनीतिक र सामाजिक परिदृश्यलाई बताएका छन् । उनको सबभन्दा विवादास्पद उपन्यास ‘सटानिक भर्सेज’ १९८८ प्रकाशित भएको थियो । यो उपन्यास प्रकाशित भएपछि उनलाई केही इस्लामिक समूहबाट धम्कीहरू आए र उनी धेरै समय भूमिगत अवस्थामा रहे । ब्रिटेनले उनलाई सरको उपाधि दिएको छ। उनी अहिले अमेरिकी नागरिक बनेका छन् । उनका अन्य रचनाहरूमा ‘शालीमारः द क्लाउन’, ‘द ग्राउण्ड बिनिथ हर फीट’, ‘फ्यूरी’, ‘गोल्डेन हाउस’, ‘द मूर्स लास्ट साई’, आदि रहेका छन् ।

‘मिडनाइट्स चिल्ड्रेन’ १९८१ मा प्रकाशित हुँदा यसलाई आधुनिक साहित्यको एक महत्त्वपूर्ण कृति मानियो । यो उपन्यासमा उनले सन् १९१५ देखि लिएर सन् १९७७ सम्मको भारतलाई चित्रण गरेका छन् । यसको सम्पूर्ण वास्तविक कथामा भने १९४७ देखि १९७७ बीचका घटनाक्रमहरू उल्लेखित छन् । यसलाई एक प्रकारले ऐतिहासिक उपन्यास भनिन्छ र यसमा भारतको स्वतन्त्रता तथा त्यसपछिका तीन दशकको इतिहास, त्यसका प्रमुख घटना र त्यहाँका प्रमुख व्यक्तिहरूलाई समेटिएको छ । वास्तवमा यसलाई घोषित आत्मकथात्मक जादूमय वास्तविकतामा आधारित उपन्यास भनिन्छ । यसले रूश्दीलाई उत्तर-औपनिवेशिक साहित्यको एक प्रमुख उपन्यासकार बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्यो।

सलमान रूस्दी

मिडनाइट्स चिल्ड्रेन उपन्यासले ब्रिटिश उपनिवेशवादबाट भारतको स्वतन्त्रता र स्वतन्त्रताको केही दशकपछिको समयलाई देखाउँदछ । यो कथा लेखकले धेरै पात्रहरूको माध्यमबाट उल्लेखित गरेका छन् । यो उपन्यासको मुख्य पात्र सलीम सिनाई भारतको स्वतन्त्रताको घोषणा भइरहेका बेला जन्मन्छ । यो उपन्यासले पाठकहरूलाई अचार कारखानामा काम गर्ने सलीमका तीन पुस्ताको जीवन र अनुभवलाई समेटिएको श्रीनगर, अमृतसर, आगरा, बम्बई, कराची जस्ता ठाउँहरूमा लिएर जान्छ। र, यी सबैको बीचमा देशका सम्पूर्ण वास्तविक घटनाहरू, भारत छोडो आन्दोलन, क्याबिनेट मिशन, मुश्लिम लीग, दंगा, आन्दोलन, जलियाला बाग हत्याकाण्ड, माउन्टवेटन काण्ड, पाकिस्तान युद्ध, बाङ्लादेशको मुक्ति आन्दोलन आदिलाई समेटेको छ ।

यसउपन्यासले भारतको उत्थान र पतनको कथा पनि भन्दछ । यो उपन्यासले भारत विभाजन, प्रवासीहरूको संघर्षको समस्या, नयाँ देशमा उनीहरूको विचित्र अनुभव र नयाँ सम्बन्ध, परिवार, समुदाय, देशजस्ता सबै विषयमा उजागर गर्दछ । वास्तवमा यसलाई भारतको स्वतन्त्रताभन्दा पहिले र पछिको अवस्थाको बारेमा अत्यन्तै रोचक ढंगले प्रस्तुत गरिएको एक श्रेष्ठ उपन्यास मानिन्छ । जादूमय यथार्थतावादी शैलीमा लेखिएको भएकोले यसले बिल्कुल वास्तविक घटनाहरूको व्याख्या गर्दछ, तर जादूमय तत्त्वहरूबाट इतिहासको कुनै पनि घटनामा कुनै फरक पारिएको छैन ।
यो उपन्यासको मुख्य पात्र सलीम सिनाईले आफ्नो भूतकालको कहानी बताउँदछ तर यो कहानी ऊ प्रत्यक्ष रूपमा सुनाउँदैन । सबभन्दा पहिले उसले आफ्ना हजुरबा र हजुरआमाको कहानी सुनाउँछ, त्यसपछि उसले आफ्ना माता-पिताको कहानी बताउँछ र अन्तमा सलिमले आफ्नो कहानी सुनाउँछ । यो उपन्यास मार्फत् सलीमले ऐतिहासिक घटनाक्रम, जादूमय यथार्थता, पारिवारिक बसाईसराई र प्रेम कहानीसमेत बताएको छ ।

यसरी सलीमको कहानीको माध्यमबाट यो उपन्यासले भारतको इतिहास, राजनीति, संस्कृति र समाजलाई गहिराईपूर्वक उजागर गरेको छ । यसमा भारतको स्वतन्त्रता, विभाजन, इन्दिरा गांधीको संकटकाल र देशको सामाजिक-राजनीतिक परिवर्तनलाई दर्शाइएको छ । यसले भारतको राष्ट्रिय पहिचान र इतिहासलाई खोतलेको छ । यसमा जादूमय यथार्थवादी शैलीको उपयोग गरेर ऐतिहासिक घटनाहरूलाई एक काल्पनिक र रहस्यमय रूपमा प्रस्तुत गरिएको छ । यसमा विभाजन, कष्ट र सामाजिक-मनोवैज्ञानिक प्रभाव गहनतापूर्वक प्रस्तुत गरिएको छ । यसमा भारतीय राजनीतिमा भ्रष्टाचारका विषयहरूलाई पनि उजागर गरिएको छ । र, यसमा व्यक्तिगत र सामूहिक पहिचानको बीचमा संघर्षलाई पनि उल्लेख गरिएको छ ।

उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा

उपन्यासमा सलिम सिनाई नामको व्यक्ति आफ्नी पत्नी पद्मालाई आफ्नो कथा सुनाइरहेको हुन्छ । उसले आफ्नो जन्म आधा रातमा ब्रिटिशहरूबाट भारत स्वतन्त्र भएको ठीक त्यही समयमा अर्थात् १४ अगस्ट १९४७ को राति १२ बजे भएको थियो भन्छ । अहिले ऊ ३१ वर्षको हुन लागेको थियो । उसलाई आफू पूर्ण रूपले ध्वस्त भइसकेको महसूस भइरहेको थियो र छिट्टै उसको मृत्यु हुन लागेको थियो । तर मर्नुभन्दा पहिले ऊ आफ्नो सम्पूर्ण कथा आफ्नी पत्नी पद्मालाई सुनाउन चाहन्थ्यो।

सलीमले आफ्नो कथा ऊ जन्मिनुभन्दा ३२ वर्ष पहिलेबाट अर्थात् सन् १९१५ बाट शुरू गर्दछ । उसका बाजे आदम अजिज कश्मिरमा बस्थे । उनी पेशाले डाक्टर थिए । त्यसबेला पहिलो विश्वयुद्ध भएको थियो । आदमले नसीम नामकी एउटी युवतीको उपचार गर्न शुरू गर्दछन् । उनी नसीमको घर जाँदा उनलाई पर्दामा बनाइएको प्वालबाट हेर्न सक्थे । नसीमको उपचार तीन वर्षसम्म चलिरह्यो । यस क्रममा आदम उनको प्रेममा डुबिसकेका थिए । तर उनले नसीमलाई पहिलोपटक सन् १९१९ मा पहिलो विश्वयुद्ध सकिएपछि मात्र देखे । त्यसपछि छिट्टै ती दुवैको विवाह भयो र उनीहरू कश्मिरबाट आगरा आएर बस्न लागे । आगरामा आदमले ब्रिटिश सरकारसँग स्वतन्त्रताको माग गर्नेहरूलाई बर्बर तरीकाले दबाइएको देख्यो । यही बीचमा आदम र नसीमका तीनवटा छोरी र दुईवटा छोरा भए । छोरीहरूको नाम आलिया, मुमताज र एमराल्ड थियो भने छोराहरूको नाम मुस्तफा र हनिफ थियो ।

आदम मियान अब्दुल्लाह नामको एक सामाजिक कार्यकर्ताको अनुयायी बन्यो । मियान अब्दुल्लाह भारत विभाजन नहोस् भन्ने चाहन्थ्यो । यही कारणले गर्दा उसको हत्या गराइयो । आदमले उसको डराइरहेको सहायक नदीर खानलाई आफ्नो घरको जमिनमुनि लुकायो । यही बीचमा नदीर खान र मुमताजले एक-अर्कोलाई प्रेम गर्न लागे र एकदिन उनीहरूले गोप्य रूपमा विवाह गरे । आदमले विवाहको दुई वर्षपछि पनि मुमताज अझै कुमारी नै छिन् भन्ने कुरा थाहा पाउँछ । किनभने ती दुवैको सुहागरात हुनसकेको थिएन ।

एक दिन एमराल्डले आफ्नो प्रेमी मजूर जूल्फीकरलाई नदीर खानको बारेमा बताउँछिन्; मजूर जूल्फीकर सेनाको अधिकारी थियो । त्यसपछि ऊ सैनिक लिएर नदीर खानलाई घेरा हाल्न आउँछ । तर नदीर खान भाग्न सफल हुन्छ । त्यसपछि ऊ कहिल्यै फर्किएर मुमताजलाई भेट्न आउँदैन । यसपछि मुमताजको हृदयमा ठूलो चोट लाग्छ । तर पछि उनी अहमद सिनाई नामको एक व्यापारीसँग विवाह गर्न राजी हुन्छिन् । विवाहपछि मुमताजले आफ्नो नाम बदलेर एमिना राख्छिन् । त्यसपछि उनी पतिसँगै दिल्ली जान्छिन् । अहमद सिनाईको त्यहाँ एउटा कारखाना हुन्छ । समयक्रमसँगै एमिना गर्भवती हुन्छिन् र उनी आफ्नो हुनेवाला बच्चाको भविष्यको बारेमा जान्नको लागि एउटा ज्योतिषीकोमा जान्छिन् । ज्योतिषीले उनलाई दुई टाउका र एउटा नाक देखिरहेको कुरा भन्छ तर एमिनाले यो कुरा बुझ्दिनन् र घर फर्किन्छिन् । एक दिन केही क्रान्तिकारीहरूले अहमद सिनाईको कारखानामा आगो लगाइदिन्छन् । त्यसपछि यहाँको सबै कुरा नष्ट हुन्छ । कारखाना जलेपछि अहमद र एमिना बम्बई आउँछन् । त्यहाँ उनीहरूले भारत छोडिरहेको विलियम नामको एउटा अंग्रेजको घर किन्दछन् । त्यो घरमा विली विंकी नामको एउटा गरीब मानिस पनि बस्दथ्यो । उसको काम अंग्रेज परिवारको मनोरन्जन गराउनु थियो। उसले आफ्नी पत्नी पनि गर्भवती भएको कुरा गर्थ्यो, तर बच्चा उसको नभएर विलियमको थियो भन्ने कुरा उसलाई थाहा थिएन।

१५ अगस्ट १९४७ को राति एमिना र भेनितालाई प्रशव वेदना हुन्छ र दुवैले छोरा जन्माउँदछन् । तर मेरी नामकी नर्स समाजवादी नेता जोसेफ डी कोस्टाका विचारहरूबाट प्रभावित भएकीले उनले दुवै बच्चाहरूलाई अदल-बदल गरिदिन्छिन् । अब एमिनाको छोरो भेनिताको हुन्छ भने भेनिताको छोरो एमिनाको हुन्छ । यसरी मेरीले आफ्नो समाजवादी सोचअनुसार गरीब बच्चालाई धनी बनाउँछिन् र धनी बच्चालाई गरीब ।

एमिनाको छोराको नाम सलीम सिनाई राखिन्छ र मेरी उसकी धाइआमा बन्छिन् । भेनिताको छोराको नाम शिव राखिन्छ । यसरी दुवै बच्चाहरूको धर्म पनि बदलिन्छ । सलीम सिनाईको जन्म भारत स्वतन्त्रताको राति भएको थियो, त्यसकारण मिडियाले उसलाई धेरै महत्त्व दिन्छन् । सलीमसँगै स्वतन्त्रताको राति सम्पूर्ण देशमा लगभग १००१ बच्चा पैदा भएका थिए । मिडियाहरूले उनीहरूको बारेमा राम्रा-राम्रा लेखहरू लेख्छन् र ती सबैलाई मध्यरातका बच्चा भनिन्छ । बिस्तारै सलीम हुर्किदै जान्छ । उसको नाक धेरै ठूलो थियो। उसका आँखा नीला थिए, जुन विलियमका जस्तै थिए । तर तिनीहरूलाई उसको बाजेका आँखा ठानिन्छ । केही वर्षपछि सलीमकी एक चकचके बहिनी जन्मिन्छिन् । उनको उपनाम ब्रास मन्की रहन्छ ।

समयक्रमसँगै सबै बच्चाहरू सलीमको ठूलो नाकको मजाक उडाउँदछन् । त्यसकारण ऊ खेल्न पनि जाँदैन र घरमै कतै लुक्दछ । यसरी लुक्ने क्रममा एकदिन ऊ वासिङ मेशिनमा लुक्छ । त्यहाँबाट उसले आफ्नी आमालाई ट्वाइलेट सीटमा बसेको देख्छ । एमिनाले उसलाई देख्छिन् र त्यसपछि सजायको रूपमा एकदिन बिल्कुल चुप बस्न भन्छिन् । सलीम दिनभरि चुपचाप बस्दछ । त्यसपछि उसले आफ्नो टाउकोमा केही आवाज सुन्दछ । अब उसलाई ऊसँग टेलीप्याथीको शक्ति भएको कुरा थाहा हुन्छ । यसबाट ऊ जोकसैका विचारलाई पढ्न सक्थ्यो । त्यसपछि सलीम स्वतन्त्रताको राति आफूसँग पैदा भएका बच्चाका विचारलाई पनि पढ्न-सुन्न लाग्छ । हुन त त्यतिबेला १००१ बच्चा पैदा भएका थिए तर १० वर्षसम्म ५८१ मात्र बच्चा बाँचेका थिए । सलीमले ती सबैसँग जादूमय शक्ति भएको देख्दछ । त्यसपछि उसले आफूलाई शिव नामको केटासँग बदलिदिएको कुरा थाहा पाउँछ । यो थाहा पाएपछि ऊ उदास हुन्छ । उसले शिवका घुँडा धेरै बलिया भएको देख्छ र ऊसँग युद्ध गर्ने धेरै शक्ति पनि भएको देख्छ ।

एक दिन सलीमको औंलामा चोट लाग्छ । उसलाई अस्पताल लगिन्छ । त्यहाँ के कुरा थाहा हुन्छ भने सलीमको रगत न त अहमदसँग मिल्छ र न एमिनासँग नै । यसबाट उनीहरूलाई आखिर सलीम कसको बच्चा हो भन्ने कुरामा शंका हुन्छ । सलीमलाई केही दिनको लागि हनिफ काका र पिया काकीकोमा पठाइन्छ । अहमदलाई एमिनाको चरित्रमाथि शंका हुन्छ । उसलाई एमिनाको कसैसँग सम्बन्ध थियो होला भन्ने लाग्छ । त्यसपछि ऊ मदिरा पिउन लाग्छ र उसलाई त्यसको लत लाग्छ । सलीम फर्केर आएपछि अहमदले एमिनालाई दुवै बच्चासँगै आफ्नी बहिनी एमराल्डसँग पाकिस्तान जान भन्छ । एमिना सलीम र छोरी ब्रास मन्कीलाई लिएर बहिनी एमराल्डकोमा जान्छिन् ।

एमराल्डको विवाह जुल्फीकरसँग भएको थियो । ऊ अहिले जनरल बनिसकेको थियो । एमिना गएपछि मेरीलाई पश्चाताप हुन्छ । त्यसपछि अहमदको सामु उनले दुवै बच्चा बदलिदिएको सबै कुरा स्वीकार गर्छिन् । यसबाट अहमदलाई एमिनामाथि लागेको शंका त हट्यो तर उसको मदिराको आदत छुटेन। यही बीचमा सन् १९५८ मा पाकिस्तानमा जनरल जुल्फिकरले सेनाको सहयोगबाट सत्ता कब्जा गर्दछ र त्यहाँ मार्शल कानून लागू हुन्छ ।

चार वर्षपछि अहमदलाई हृदयघात हुन्छ । ऊ बम्बईमा एक्लै नै बसिरहेको थियो । एमिना उसको हेरविचार गर्न बच्चासँगै बम्बई फर्किन्छिन् । त्यही वर्ष सन् १९६२ मा भारत र चीनको बीचमा युद्ध शुरू हुन्छ । सलीमको नाकको धेरै शल्यक्रिया हुन्छ । यसको कारणले गर्दा उसको टेलीप्याथीको शक्ति हराउँदछ । तर सँगैमा उसले नयाँ शक्ति पाउँछ । उसको सुँघ्ने शक्ति यति बढ्छ कि उसले मानिसका भावनालाई पनि चिन्न सक्छ ।

भारत-चीन युद्धमा भारतको हार हुन्छ र यहाँको अर्थतन्त्र धेरै खराब हुन्छ । अहमद र एमिना बच्चाहरूलाई लिएर पाकिस्तान फर्किन्छन् । तर सन् १९६५ मा भारत र पाकिस्तानको बीचमा युद्ध शुरू हुन्छ । राति भारतीय एयरफोर्सको आक्रमणमा बम विस्फोट हुन्छ र सलीमको सम्पूर्ण परिवार खत्तम हुन्छ । केवल सलीम र उसकी बहिनी जामिला मात्र बाँच्छन् । सलीम बाँचे पनि एउटा चाँदीको चम्चा उसको टाउकामा लागेकाले उसको स्मरण शक्ति गुम्दछ । १९६५ को युद्धमा भारतको जित हुन्छ । स्मरणशक्ति गुमेपछि सलीमको जिन्दगी धेरै खराब हुन्छ । तर जमिल्ला निकै प्रसिद्ध गायिका बन्छिन् । अब उनी जमिल्ला गायिकाका रूपमा परिचित हुन्छिन् ।

एक दिन सलीमले आफूलाई सेनामा भर्ना भएको पाउँदछ । उसलाई जमिल्लाले नै भर्ना गराएकी होलिन् भन्ने लाग्छ । किनभने उसलाई यसको बारेमा केही पनि याद छैन । ऊ आर्मीमा जोडिन्छ र आफ्नो सुँघ्ने शक्तिको कारणले धेरै राम्रो ‘ट्र्याकर’ बन्दछ । उसको सहयोगबाट बाङ्लादेशको स्वतन्त्रता आन्दोलनलाई दबाइन्छ । सलीमले सेनाको बर्बरता देखेपछि आफ्ना तीन सैनिक साथीहरूसँगै सेना छोडेर भाग्छ । उनीहरू धेरै दिनसम्म सुन्दरबनका जंगलमा लुकिरहन्छन् । त्यहाँ एक्कासि सलीमको स्मरणशक्ति फिर्ता आउँछ । तर उसलाई आफ्नो नाम भने याद आउँदैन । त्यसपछि सन् १९७१ भारत-पाकिस्तान युद्ध हुन्छ । यसमा भारतले जित्दछ र बंगलादेश एक स्वतन्त्र देश बन्दछ ।

यही बीचमा सलीमको पार्वती नामकी केटीसँग भेट हुन्छ । पार्वती जादू-टुना गर्थिन् । उनी पनि सलीम जस्तै मध्यरातमा जन्मिएकी थिइन् र उनीमा पनि केही जादूमय शक्ति हुन्छ । उनले सलीमलाई चिन्छिन् र उसलाई उसको नाम बताउँछिन् । त्यसपछि उनले सलीमलाई भारतमा फिर्ता लिएर आउँछिन् । त्यसपछि उनीहरू दुवै एउटा घेटो (गरीब बस्तीमा) बस्न लाग्छन् । त्यहाँ केही बंजारा र पिक्चर सिंह नामको एउटा सर्प समाउने मानिस पनि बस्थ्यो । पार्वती सलीमसँग विवाह गर्न चाहन्छिन् तर सलीम अस्वीकार गर्छ । त्यसपछि उनले शिवसँग प्रेम गर्न लागिन् । शिव त्यही युवक थियो, जसलाई नर्सले सलीमसँग बदलेकी थिइन् । ऊ सेनामा थियो र ऊ अहिलेसम्म धेरै प्रसिद्ध युद्धनायक बनिसकेको थियो । पार्वती गर्भवती भएपछि उनीहरू दुवैको सम्बन्ध बिग्रिन्छ । शिवले उनलाई छोडिदिन्छ र उनी फेरि घेटोमा बस्न जान्छिन् । तर घेटोका मानिसहरूले पार्वतीलाई सलीमसँग विवाह गर्न भन्छन् किनभने उनीहरू पार्वतीको पेटमा सलीमको अंश हुर्किरहेको सोच्दछन् ।

त्यसपछि भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा संकटकाल लागू गर्छिन् । त्यसपछि जनसंख्या नियन्त्रणको लागि जबर्जस्ती बन्ध्याकरणको अभियान शुरू गरिन्छ । त्यसपछि पार्वतीले घेटोमा एउटा बच्चालाई जन्म दिन्छिन् तर यस क्रममा उनको मृत्यु हुन्छ । त्यसपछि सरकारले सबै घेटो बस्ती भत्काउने पनि आदेश दिन्छ र ती भत्काइन्छन् ।

सलीमलाई शिवले पक्रिन्छ र जबर्जस्ती शल्यक्रिया गरेर उसलाई बन्ध्याकरण गरिन्छ । उसलाई धेरै यातना दिएर मध्यरातका बच्चाहरूको नाम सोधिन्छ । सलीमले सबैको नाम बताइदिन्छ । त्यसपछि सबै मध्यरातका बच्चाहरूलाई बन्ध्याकरण क्यम्पमा लगिन्छ र उनीहरूको कुनै जादूमय शक्तियुक्त बच्चा पैदा नहोस् भनेर सबैलाई बन्ध्याकरण गरिन्छ । यसैबीचमा सन् १९७७ मा भएको चुनावमा इन्दिरा गान्धीले नराम्रोसँग पराजय बेहोर्नुपर्दछ ।

बन्ध्याकरण गरेपछि सबै मध्यरातका बच्चाहरूलाई छोडिन्छ । सलीमले पार्वतीको छोरो आदमलाई खोज्दछ । ऊ पिक्चर सिंहसँग बस्थ्यो । उनीहरू तीनै जना बम्बई जान्छन् । त्यहाँ सलीमले पकौडा र चट्नी खान्छ । चट्नीको स्वाद उसलाई चिनेजस्तो लाग्छ । यो चट्नी उसकी धाइआमा मेरीले बनाउँथिन्, जसले उसलाई र शिवलाई बदलिदिएकी थिइन् । अहिले उनी चट्नी कारखानाकी मालिक्नी बनेकी थिइन् । त्यसपछि सलीम चट्नी कारखानामा जान्छ । त्यहाँ उसले गेटमा पद्मा उभिएकी पाउँछ र ऊ उनको प्रेममा पर्दछ । यससँगै कथा समाप्त हुन्छ। किनकि सलीमले यो कथा पद्मालाई सुनाइरहेको थियो । पछि सलीम र पद्माले विवाह गर्दछन् । अन्तमा सलीमले पद्मालाई के भन्दछ भने शायद ३१ वर्ष पूरा हुने बित्तिकै उसले यो संसार छोड्नेछ, जुन १५ अगस्टमा पूरा हुन लागेको थियो ।

सन्दर्भ स्रोत
1. Midnight’s Children (1981), by Salman Rushdie, publisher Penguin Books Ltd
2. https://archive.org/download/MidnightsChildren/Midnight%27s%20Children.pdf
3. Study and Research of various websites, blogs, online portals, youtube channels, etc.