अमेरिकाका राष्ट्रपति बाराक ओबामाले आफ्नो राष्ट्रपतीय कार्यकालका बारेमा लेखेको संस्मरण ‘अ प्रोमिस्ड ल्यान्ड’ आउँदो नोभेम्बर १७ बाट संसारभर उपलब्ध हुने भएको छ ।

यो संस्मरणको पहिलो भाग हुनेछ । यसमा राष्ट्रपतीय निर्वाचनमा नियुक्त भएको पहिलो दिनदेखिका संस्मरणहरू संलग्न गरिएको बताइएको छ । प्रकाशकले यस पटकको क्रिसमस आउनुअघि पुस्तकलाई संसारभर पुर्याउने उद्देश्य लिएको छ । रेन्डम हाउसले यसलाई बजारमा ल्याउन लागेको हो ।

पुस्तक हाललाई हार्डकभरमा मात्र बजारमा ल्याइने भएको हो । यसको मूल्य ४५ डलर हुनेछ । त्यस्तै इबुकको मोल भने १८ डलर पर्नेछ । यो पुस्तक संसारका प्रमुख २५ भाषामा एक साथ बजारमा ल्याउने तयारी भइरहेको छ ।

अमेरिकाको ४४ औँ राष्ट्रपति भएर मात्र उनी महत्त्वका पात्र होइनन्, उनी अमेरिकाजस्तो देशको पहिलो अफ्रिकी मूलको राष्ट्रपति भएकाले पनि मानिसहरूलाई उनका बारेमा धेरै चासो छ ।

एक विक्रेताले ओबामाको संस्मरण आउनुले हालको अवस्थामा एउटा हल्लीखल्ली मच्चिने र बिक्री बढ्ने राम्रो बहाना रहेको बताएका छन् । ‘हामीलाई यस्ता किताब साँच्चिकै चाहिएका छन् ताकि यो विश्वव्याधिका बेलामा मानिसले आफूलाई केही ताजा अनुभव गर्न सकून्,’ अमेरिकाको राजधानी वासिङ्टन डिसीमा पोलिटिक् एन्ड प्रोज नामक पुस्तक पसल चलाइरहेका ब्राडली ग्राहमले वाल स्ट्रिट जर्नलसँग भने, ‘कतै यो पुस्तकले उनकी पत्नी मिसेल ओबामाको पुस्तकसँग प्रतिस्पर्धा गर्दै जित्ने पो हो कि ? खासमा भन्ने हो भने यो किताब पर्याप्त पाइएला भन्ने त मलाई शंका नै छ ।’

बाराक ओबामाको यो पुस्तकले उनकी पत्नी मिसेलको संस्मरणलाई जित्ला र भन्ने केहीको आशंका किन पनि छ भने सन् २०१८ को नोभेम्बरमा निस्किएको ‘बिकमिङ’ले बिक्रीमा कीर्तिमान नै कायम गरेको छ । अमेरिका र क्यानडामा मात्र यो किताब ८१ लाख प्रति बिक्री भएको थियो । त्यस्तै संसारभरि किताब, इबुक र अडियो गरी १ करोड ४० लाख प्रति बिक्रीको कीर्तिमान कायम गरेको थियो ।

सन् २०१७ मा नै पेइन्गुइन रेन्डम हाउसको स्वामित्वमा रहेको क्राउन पब्लिसिङले ओबामा दम्पतिका लागि तिनको संस्मरणका लागि भनेर ६ करोड डलर अग्रिम भुक्तानी दिएको थियो ।

बाराक ओबामाले यसअघि दुई वटा पुस्तक लेखिसकेका छन् । ‘ड्रिम्स फ्रम माई फादर’ र ‘द अडासिटी अफ होप’ पुस्तक ७५ लाख प्रति त अमेरिका र क्यानडामा मात्र बिक्री भएको थियो ।

बाराक ओबामाले एक विज्ञप्ति जारी गर्दै आफूले ‘अ प्रमिस्ड ल्यान्ड’ पुस्तकमा इमान्दारीपूर्वक निजी अनुभव अभिव्यक्त गर्ने प्रयास गरेको बताएका छन् । उनले राष्ट्रपतीय चुनावका बेला आफूले गरेका गल्ती र कतिपय ठीक कुराहरूका बारेमा पनि यस पुस्तकमा लेखेका छन् । आफूले गरेका राजनीतिक, आर्थिक र सांस्कृतिक गल्ती र तिनले निम्त्याएका परिणतिहरूका बारेमा पनि पुस्तकमा उनले विस्तारपूर्वक बताएको जनाएका छन् ।