दक्षिण कोरियाली लेखिका हान काङले २०२४ को नोबेल साहित्य पुरस्कार प्राप्त गरेकी छन् । उनले प्रस्तुत गर्ने दिलै हल्लाउने कथा र प्रस्तुतीकरणका कारण पुरस्कार दिइएको नोबेल कमिटीले जनाएको छ ।

उनका सिर्जना सघन काव्यिक लेखनीका उदाहरण हुन् । तिनमा ऐतिहासिक घात व्यक्त गरिएका छन् र तीमार्फत् मानव जीवनको क्षणभंगुरता प्रस्तुत गरिएका हुन्छन् ।

साहित्य कमिटीका अध्यक्ष एन्डर्स ओल्सनले हानको सिर्जनामा शरीर र आत्मा, जीवित र मृत व्यक्तिका बारेमा अद्भुत सम्बन्ध व्यक्त गरिएका हुने बताउँदै उनको काव्यिक र प्रयोगधर्मिता शैलीका कारण वर्तमान साहित्य सर्जकहरूमध्ये बेग्लै उभ्याएकी बताएका छन् ।

हानले यसअघि नै कयौँ कोरियाली साहित्यिक पुरस्कार हात पारिसकेकी छन् । उनले अन्तर्राष्ट्रिय पुरस्कार पनि उत्तिनै हात पारिसकेकी छन् । उनी नोबेल साहित्य हात पार्ने पहिलो एसियाली महिला र पहिलो दक्षिण कोरियाली साहित्यकार बन्न पुगेकी छन् । उनले पुरस्कारबापत १ करोड १० लाख कोरियाली वङ हात पारेकी छन् ।

पछिल्लो समय दक्षिण कोरियाली साहित्य, सिनेमा र संगीतले संसारभर व्यापक प्रभाव पारेको छ । यो पुरस्कार त्यसैको एउटा झल्को बन्न पुगेको छ ।

सन् २०१६ मा हानको उपन्यास द भेजिटेरियनले अन्तर्राष्ट्रिय बुकर पुरस्कार हात पारेको थियो । त्यसयता उनका उपन्यासहरू अंग्रेजीमा अनुवाद हुन थालेका छन् । पछिल्लो समय ह्युमन एक्ट्सलाई पनि समीक्षकहरूले रूचाएका थिए । उनको पछिल्लो उपन्यास वि डु नट पार्ट हालै बजारमा आएको छ ।

द भेजिटेरियन नेपाली भाषामा समेत अनुदित भएको छ । यसलाई बुकहिलले बजारमा ल्याएको हो ।