जेके रोलिङको नाउँ नसुन्ने विरलै बालबालिका होलान् । बालबालिका मात्र किन, वयस्कहरूले पनि उनका उपन्यास नपढे पनि पर्याप्त नाम सुनेका छन् । ह्यारी पोटर शृंखलाकी लेखिका लेखेरै अर्बपति हुनेमा पर्छिन् । उनी जति कमाउँछिन्, उति नै दानदातव्यमा विश्वास गर्छिन् । उनी दान दिएरै सम्पत्ति घटाउने मध्येकी लेखिका पनि हुन् ।
उनलाई धेरैले सोध्छन्, के खाएर उनलाई जस्तो लेख्न आउँछ हँ ? कहाँ लेख्दा उनीजस्तो लेख्न सकिएला ? कसरी उनी लेख्छिन् ? उनको लेखनप्रेरणा के हो ? उनी लेख्नुअघि के के कुरामा ध्यान दिन्छिन् ? उनको बिजलेखनदेखि सम्पादनसम्मको प्रक्रिया के हो ? अन्तिम बिन्दुमा उनको पुस्तक कसरी प्रेसमा पुग्छ ?
उनले यी सारा कुराको खुलासा गरेकी छन् । उनका ह्यारी पोटर शृंखला मात्र प्रख्यात छैनन्, उनको अर्को बाल साहित्य द इकाबग पनि उत्तिकै चर्चित रह्यो । साथै उनले कोरमोरन स्ट्राइक नामक अपराध उपन्यास शृङ्खला पनि लेखेकी छन् तर रोबर्ट गलब्रेथको नाउँमा ।
आज हामी उनका ती सारा प्रक्रियाबारे बुझ्ने प्रयास गर्नेछौँ ।
धेरैले उनलाई सोध्छन्, तपाईंले पहिलो पटक मेरो शैली फेला पारेँ भनेर कहिले थाहा पाउनुभयो ?
जब ह्यारी पोटर लेख्न बसेँ, मैले मेरो शैली यही हो, अब मैले लेखेरै खान्छु भन्ने थाहा पाएकी थिएँ । तर यसले मूर्त रूप लिन समय लगायो, त्यो बेग्लै कुरा हो । ह्यारी पोटर लेख्नुअघि मैले एउटा उपन्यास लेखेकी थिएँ, द प्राइभेट जोक । दुई वर्ष लगाएर त्यो उपन्यास लेखेँ । पूरा मनोयोगका साथ लेखेँ । मलाई अझै पनि त्यो उपन्यासको मूल कथानक मन पर्छ । तर त्यो बेला म यति कलिली थिएँ, जिन्दगीको अनुभव यति कच्चा थियो कि गहिरिएर मैले लेख्न सकिनँ । तपाईं आफैँ भन्नोस्, जुन लेखिक जम्मा २०‑२२ वर्षकी छे, अनि उसले ४०‑४५ वर्ष उमेर भएकी महिलाको अनुभव लेख्न खोजिरहेकी छे, उसले कसरी त्यो जीवनशैली, अनुभव र अनुभूति टिप्न सक्छे । लेख्न नसकिने होइन तर त्यो कृत्रिम हुन्छ । म शायद त्यसका लागि तयार भइसकेकी थिइनँ । मेरो जीवनको अनुभव पर्याप्त भइसकेको थिएन । अर्को कुरा, त्यो बेला म धेरै कुराको नक्कल गरिरहेकी थिएँ, धेरै लेखकलाई नक्कल गरिरहेकी थिएँ । लेख्ने हुटहुटीका बेला धेरैको नक्कल गर्नु पनि राम्रो कुरा हो । त्यो स्वस्थकर हो । किनभने, आफ्नो शैली नबनुञ्जेल, अरूकै नक्कल गरेर भए पनि लेख्नु पर्छ । कम्तीमा तपाईं लेख्न त चाहनुहुन्छ, कम्तीमा तपाईं लेखिरहनु त भएको छ ! तर जब मैले ह्यारी पोटरको विषय छनोट गरेँ र लेख्न थालेँ, मलाई तत्काल महसुस भयो, यो चाहिँ बिना व्यवधान म मज्जाले लेख्न सक्छु । यसका लागि मलाई कुनै जीवनअनुभव चाहिँदैन ।
धेरैले मलाई मेरो सिर्जनशील प्रक्रिया के हो भन्नेबारे सोध्छन् । वास्तवमा यो एउटा ज्यादै जटिल प्रक्रिया हो । अब यसलाई बुझाउन तपाईंलाई एउटा एनालजी दिनुपर्छ । एउटा तलाउ छ । तलाउ छेउ एउटा रूख छ र त्यसको छायामा म बसिरहेकी छु । त्यो तलाउ छेउ एउटा भालु पनि छ । त्यो भालु म छेउ बसिरहन्छ । अब यो रूख र छाया भनेको चाहिँ मेरो काम गर्ने वर्कसप हो । मलाई सधैँ के लाग्छ भने, त्यो विशाल तलाउमा केही छ, म त्यहाँ जान्छु र त्यसलाई पक्रेर ल्याउँछु । रूखको छायामा बस्छु र पक्रेर ल्याएको चिजसँग म मिलेर केही बनाउँछु ।
तलाउबाट ल्याएर बनाएको त्यो चिजलाई म एक पटक फेरि पढ्छु, म आफ्नै लेखनी कयौँ चोटि पढ्छु । पढ्दा ती कुरा तलाउ बढी र छाया कम पाउँछु । जतिञ्जेल छाया र शितलता कम पाउँछु म तलाउमा बढीभन्दा बढी बिताउँछु केही निकाल्नका लागि । कहिलेकाहीँ यसले त्यति राम्रो काम नगर्न सक्छ ।
त्यसपछि म छायामा केन्द्रित हुन्छु । त्यहाँ तलाउ लगभग अदृश्य बन्न पुग्छ र खाली शितल छहारी मात्र बाँकी रहन्छ । वास्तवमै महान् लेखकसँग एउटा गज्जबको तलाउ हुन्छ र अद्भुत छहारी हुन्छ । कहिलेकाहीँ त्यो छहारी र तलाउको समदुरीमा उसको सुन्दर दरबार हुन्छ ।
सबै उम्दा लेखक चाहे ती निबन्धकार हुन् या अन्य, सबैसँग यी तीन वटा चिज हुन्छन् र तिनले त्यसैबाट गज्जबका सिर्जनाहरू सिर्जन गरिरहन्छन्, जुन अरूले त्यसअघि कहिल्यै सिर्जना गरेका हुँदैनन् ।
लेखक हुन्छ, कसैले लेख्छ भन्ने थाहा पाउनुअघि नै म लेख्न चाहन्थेँ । म चार वर्षकी थिएँ । त्यो बेला लेख्न समेत सिकेकी थिइनँ तर म अरूको नक्कल गर्थेँ । म चित्रको नक्कल गर्थें, अक्षरको नक्कल गर्थें, कथाको नक्कल गर्थें । मैले के लेखेँ, मलाई थाहा थिएन तर म शब्दहरूको नक्कल गर्थें । पछि जब मैले अक्षरहरू चिनेँ, पढ्न थालेँ, मलाई अक्षरहरूप्रति प्रेम बस्यो । मैले थाहा पाएँ, अरूले सिर्जना गरेका हुनाले यी प्रत्यक्ष भएका हुन् । त्यसपछि नै म पनि ती अक्षरहरू बनाउँछु, लेख्छु, सर्जक हुन्छु भन्ने ठानेकी थिएँ । सुन्दा अचम्म लाग्ला, कलिलै उमेरमा मैले यो निर्णय कसरी गरेँ ? तर वास्तविकता यही हो । म लेख्नबाहेक वास्तवमा अरू केही गर्न चाहन्न थिएँ ।
धेरैले मलाई सोध्छन्, लेख्ने अनौठो सोच, आइडिया कहाँबाट आउँछ ? कसरी आउँछ ? वास्तवमा म पनि छक्क पर्छु, ती कहाँबाट आउँछन् होला ? कसरी आउँछन् होला ? सोचहरू विभिन्न तरिकाले आउँछन् । अब ह्यारी पोटर नै लिउँ, त्यसको एउटा प्लट दिमागमा आएको थियो । एउटा केटो छ, त्यो दुःखी केटो महान् जादुगर हो तर उसलाई त्यसबारे केही पनि थाहा छैन । तर एक दिन एउटा चिठ्ठी आउँछ र उसको सारा जीवन परिवर्तन हुन्छ । जब मैले यो कथामा विश्वास गरेँ, त्यसपछि लेख्न बसेँ । त्यसपछिका कुरा त भन्नै परेन ।
पछिल्लो बालउपन्यास इकाबग लेख्दा मेरो दिमागमा शब्द मात्र आयो । जब दिमागमा यो शब्द आयो, दिमागले सोच्न थाल्यो कि वास्तवमा यो इकाबग हो के ? यो शब्दसँग गाँसिएका कुराहरू सोच्दासोच्दै उपन्यास नै तयार भयो ।
मैले लेखेका जासुसी उपन्यासहरूको प्रभाव चाहिँ पुरानाहरूको प्रभाव थियो । मानौँ पुरानो जमानाको जासुसी क्रियाकलापहरू अहिलेको सिसिटिभी, डिएनए विश्लेषण, हाइटेक जमानामा कसरी पत्ता लगाइन्छन् होला भन्ने जिज्ञासाले मलाई आधुनिक जासुसी उपन्यास लेख्न प्रेरित गरेको थियो ।
लेख्ने आइडियाहरू लेख्दालेख्दै आउँछन् । कहिलेकाहीँ लेखिरहेका बेला नयाँ नयाँ सोचहरू आइरहेका हुन्छन्, तिनलाई व्यवस्थित गर्दै गइन्छ । यो शृंखलाबद्ध तरिकाले आउँदैन । घरि यो, घरि त्यो सोच आइरहेको हुन्छ । कहिलेकाहीँ भात पकाइरहेका बेला सोच आउँछ, कहिले कुन बेला । त्यस्तो बेलामा चैँ डटपेन र कागज नजिकै हुनुपर्छ मलाई । जब तपाईंले नोटबुक हराउनु हुन्छ, फेला पार्नुहुन्न, त्यो बेला त्यो सोचले तपाईंको दिमाग हल्लाइरहन्छ ।
कहिलेकाहीँ म नोटबुकलाई हेर्छु र छक्क पर्छु, यी मेरा सोचहरू उतार्न तम्तयार भएर बसेका हुन्छन् तर फिट्टो केही पनि झर्दैन, केही पनि फुर्दैन । फेरि कहिलेकाहीँ एउटा सानो सोच यसरी फैलिन्छ कि आफैँलाई आश्चर्य लाग्छ । दिमागमा फैलिएका यस्ता सोचहरू सधैँ लेखिरहनु पर्छ भन्ने लाग्दैन । जुन कुरा तपाईंको दिमागमा झुण्डिरहन्छ, त्यसले तपाईंलाई लामो समयसम्म दुःख दिइरहन्छ, त्यो नै लेखनको सम्भावित विषय हुनसक्छ ।
म जब लेख्न बस्छु, मेरा सारा कुराहरू छरपस्ट हुन्छन् । तर ह्यारी पोटर शृंखला लेख्दाका बेला मैले एउटा कुरा पत्ता लगाएँ । ती छरपस्ट कुरालाई कसरी मिलाउने । मैले अहिलेसम्म तिनै कुरालाई व्यवस्थापन गरिरहेकी छु । विचार शृंखलाहरू यति छिटो आउँछन् र जान्छन्, तिनलाई मैले एउटा मास्टर फाइल बनाउने गरेकी छु । तिनमा आफ्ना विचारहरू एकपछि अर्को हाल्दै जान्छु । ती शृंखला नमिलेका हुन सक्छन् तर जब तिनलाई म लेख्न बस्छु, त्यो क्रमशः शृंखलाबद्ध बन्न पुग्छन् ।
उदाहरणका लागि, कुनै एउटा पात्र छ भने त्यो पात्रको इतिहास नै हुन्छ मसँग । तर कहिलेकाहीँ त्यो पात्रको त्यो इतिहास नलेखिन पनि सक्छ । नलेखिए पनि मलाई थाहा हुन्छ, त्यसको कथा के हो ।
लेख्ने क्रममा कयौँ पटक मैले प्लट नै परिवर्तन गरेकी छु । अझै गरिरहेकी हुन्छु किनभने जे सोचेर लेखिरहेकी हुन्छु, त्यो पछि काम नलाग्ने हुन पुग्छ । तर अधिकांश अवस्थामा पात्रहरू भने परिवर्तन हुँदैनन् । यो मिलाउने क्रममा म कहिलेकाहीँ आफ्नो शोधलाई फेरि फेरि दोहोर्याएर हेरिरहन्छु, मैले के गर्न खोजेकी हुँ, म विषयमा हराउन त हराइनँ ? यस्ता अनेक कुराले मलाई उपन्यास पूरा नहुञ्जेलसम्म बिथोलिरहन्छ । म पात्रहरूसँग भने खासै झुत्ती खेल्दिनँ किनभने मेरा पात्रलाई म राम्रोसँग चिन्दछु । तिनीहरू के गर्छन्, मलाई थाहा छ । म तिनलाई धेरै अप्ठेरोमा पार्दिनँ ।
म सिर्जनक्रमलाई, त्यसको योजना र प्रक्रियालाई ज्यादै रूचाउँछु । किनभने, जुन कुरा म लेख्न सक्छु भन्ने विश्वासका साथ लेख्न बसेकी हुन्छु, त्यो एउटा प्रक्रिया हुँदै गु्ज्रन्छ । जुन किताब म लेख्न थाल्दैछु, त्यो गज्जबको हुन्छ र पढ्दा म आफू पछुताउने छैन भन्नेमा विश्वस्त हुन्छु । लेख्ने क्रममा जे पनि सम्भावना हुन्छ । सारा पेजहरू खाली हुन्छन् र मलाई जहाँ, जता, जसरी दौडन मन लाग्छ, दौडन्छु ।
मेरो लेख्ने कोठाको चारैतिर लेखन प्रक्रियाका बारेमा धेरै कोटेसन (भनाइ)हरू राखेकी छु । विलियम फकनरको भनाइ मलाई ज्यादै सटिक लाग्छ । उनी भन्छन्, ‘कलाकारले आफ्नो सपनाको पूर्णता फेला नपार्ने सिर्जनालाई पछ्याउनु पर्छ ।’
योजनाको अवस्थामा तपाईंले भने त्यो पूर्णताका लागि काम गर्नुपर्छ र आफूलाई त्यो भ्रममा पारिरहनु पर्छ कि वास्तवमा म एउटा सपनाको पूर्णताका लागि सिर्जना गरिरहेकी छु । लेख्दै गर्दा पनि त्यसलाई म मज्जा लिन्छु । खासगरी जब म बूढी हुँदै गएँ, मलाई यसमा मज्जा आउँदै जान थालेको छ ।
पहिला म नोटबुकमा धेरै कुराहरू लेख्थेँ । पछि म मेरो ल्यापटपमा धेरै चलखेल गर्न थालेकी छु । रातो अक्षर एउटा योजनाका लागि, नीलो अक्षर अर्को योजनाका लागि, कोरकार गरिरहेकी हुन्छु ल्यापटपमा । ताकि के सूचना कहाँ, केका लागि प्रयोग गर्ने भन्ने कुरा रङ हेरेर नै थाहा होस् । लेख्ने प्रक्रियाका क्रममा म रङहरूमा बढी खेल्छु ।
म धेरैजसो राति लेख्छु र हातैले लेख्छु । मानौँ, म बिहान १० बजेबाट लेख्न थालेँ भने कहिलेकाहीँ रातिको ३ बजेसम्म लेखिरहेकी हुन्छु र यसले मेरो हात दुखाएर हैरान भइसकेको हुन्छ । अब पुग्यो, भयो भन्छ शरीरले । यतिबेला ध्यान केन्द्रित गर्नै गाह्रो भइरहेको हुन्छ । त्यसपछि तपाईं आफ्नो ल्यापटप बन्द गर्नुहुन्छ र सुत्न भनेर उठ्नुहुन्छ । तर जब केही पाइला अघि बढ्नुहुन्छ, अर्को कुराले तपाईंको दिमागलाई हान्न थाल्छ कि वास्तवमा यस्तो गरेको भए गज्जब हुन्थ्यो । अब फेरि ल्यापटप खोल्ने शक्ति पनि हुँदैन । यस्तो बेलामा जतिबेला पनि मसँग एउटा नोटबुक हुन्छ । कहिलेकाहीँ म मोबाइलमै पनि आइडियाहरू टिपोट गरिरहेकी हुन्छु । मोबाइलमा चाहिँ म एक पंक्तिको कुरा केही फुर्यो भने लेख्छु । अलि लामो केही छ भने मात्र नोटबुक खोज्छु । तर जब पूराका पूरा कथा फुर्न थाल्यो भने ल्यापटप नै उठाउँछु । जब मेरो दिमागमा केही फुर्न थाल्छ, त्यसलाई बन्द गर्न बडो कठिन हुन्छ ।
उपन्यास लेख्न मलाई गाह्रो हुन्छ, खासगरी त्यसको शुरूवात गर्न । सबैभन्दा सजिलो चाहिँ उपन्यास सक्नु वा त्यसको अन्त्य लेख्नु हो । धेरैलाई उपन्यासको अन्त्य कसरी गर्ने होला भन्ने सकस भएको पाउँछु तर मेरो हकमा भने कसरी शुरू गर्ने भन्नेमा सकस हुन्छ । अधिकांश अवस्थामा कथानकको अन्त्य के हुन्छ, के हो भन्ने पहिल्यै थाहा हुन्छ । त्यसलाई मिलाएर लेख्नु मात्र बाँकी रहन्छ । कहिलेकाहीँ त मैले उपन्यासको अन्त्य लेखिसकेर मात्र शुरूवात लेखेकी छु । मेरो पछिल्लो जासुसी उपन्यासको आठौँ शृंखलामा पहिला मैले अन्त्य लेखेकी छु अनि मात्र शुरूवात लेखेँ ।
लेख्ने कुरामा मलाई यो ठाउँ, यस्तो तरिकाले भन्ने छनोट छैन । सामान्यतः म जहाँ पनि लेख्न सक्छु । जब उपन्यासले सही आकार लिन थाल्छ, अन्त्य गर्न बेलामा भने मलाई मेरै कोठा उपयुक्त लाग्छ । म मेरो लेखन कोठामा बसेर कुनै फाइनल च्याप्टर लेख्छु, मलाई बडो आनन्द आउँछ । त्यो कोठामा एउटा सानो भान्सा छ, एउटा सानो बाथरूम छ ताकि भोकले सताएका बेला वा पेट बिग्रिएका बेला मेरो लेखन नबिथोलियोस् भनेर नजिकै नजिकै सबै थोक बनाएकी छु । म लेख्न थालेपछि घण्टौँ लेख्न सक्छु । जब मेरो ढाड दुख्न थाल्छ अनि मात्र घण्टौँ बितेछ भन्ने पत्तो पाउँछु ।
लेख्ने क्रम सही तरिकाले अघि बढ्न सकेन भने मलाई साह्रै गाह्रो पर्छ । म आफैँसँग रिसाउँछु । म अवसादमै जान्छु । मैले सही तरिकाले लेख्न सकेँ भने मात्र सबैथोक मेरो नियन्त्रणमा छ भन्ने लाग्छ । खासगरी मैले कुनै ठाउँमा गज्जबसँग लेख्न सकिनँ भन्ने लाग्यो भने घण्टौँसम्म म त्यो अनुच्छेदलाई राम्रो बनाउन लगाउँछु ।
म लेख्ने क्रममा कहिलेकाहीँ पृष्ठभूमिमा सङ्गीत बजाइरहेकी हुन्छु । कहिलेकाहीँ ती गीतसङ्गीत यति मज्जका हुन्छन् कि म लेख्न छाडेर ती गीतसँगै बहन थाल्छु । खासगरी जब गीतका शब्दले मलाई छुन थाल्यो भने त त्यसका केस्राकेस्रा केलाउन थाल्छु । अनि, लेख्नलाई अप्ठेरो भइहाल्छ । म त्यसपछि लेख्नै सक्दिनँ । त्यसैले म शास्त्रीय सङ्गीत सुन्छु । अथवा, मौन अवस्था पनि मेरालागि ठिक लाग्छ । बरू मान्छेका कल्याङमल्याङ ठिक लाग्छ । त्यै भएर मलाई क्याफेमा लेख्नु उचित लागेको हो । क्याफेमा मान्छेहरूको भिड हुन्छ तर त्यहाँ तपाईं एक्लो हुनुहुन्छ । लेख्दै गर्दा कुनै कुनै बेला जब तपाईंको ध्यान भङ्ग हुन्छ, त्यो बेला मान्छेका नबुझिने कल्याङमल्याङ, गनगन निकै मज्जा लाग्छ मलाई । तर अचेल म क्याफेमा लेख्न सक्दिनँ । मलाई मान्छेले घेरिहाल्छन् । मेरालागि भने त्यो शरमको कुरा बन्न पुग्छ । पहिलेजस्तो क्याफेमा लेख्न नसक्ने लेखक, के लेखक ?
कहिलेकाहीँ म मेरो ल्यापटपलाई हेरेर मुस्कुराउँछु किनभने यो ज्यादै फोहोर छ । मैलेभन्दा बढी त यसले कुरमुरे, पपकर्न खान्छ होला । कसैले मेरो ल्यापटप हेर्यो भने मेरो फोहोरीपन बुझ्दो होला ।
मेरो जिन्दगीमा उपन्यास लेखनमा सबैभन्दा अप्ठेरो भोगेको भनेको, ह्यारी पोटरको दोस्रो भाग लेख्दा हो । पहिलो उपन्यास यति धेरै बिक्री भयो कि दोस्रो लेख्ने दबाब थियो । त्यो बेला वास्तवमा म जमेँ, यसरी जमेँ कि मैले एक शब्द लेख्न सकिनँ । एक हप्तासम्म त्यसरी जमेपछि बिस्तारै मैले लेख्न थालेँ । तर जे जति लेखेँ, त्यो वाहियात लेखेँ । ती वाहियात लेखाइप्रति मलाई कुनै गुनासो छैन किनभने त्यो पनि एउटा लेखनको प्रक्रिया हो । लेख्नुपर्छ, असफल हुनुपर्छ, फेरि प्रयास गर्नुपर्छ । समयक्रममा बिस्तारै तिनै कुराले तपाईंलाई सशक्त बनाउँछन् । यतिबेला जब म राति २ बजे मेरो नयाँ उपन्यास सक्दैछु, र जुन आत्मविश्वासका साथ यसलाई अन्तिम रूप दिँदैछु, यो आत्मविश्वास तिनै असफलताले, अप्ठेराले ल्याएका हुन् भन्ने बिर्सन्नँ ।
जब म केही लेखिसकेर कोठाबाट निस्कन्छु, मेरो दिमागमा लेखिरहेका कुराहरू अडिइरहेका हुन्छन् । दिमागमा तिनै पात्र र परिवेश रिङ्गिरहेका हुन्छन् । जस्तो, सन् २०१७ को जनवरीको कथा लेखेर म बाहिर निस्केँ र मेरा पतिले अर्को साता यस्तो छ है भनेर केही सम्झाइरहेका हुन्छन् भने मेरो दिमागले अर्को साता प्रोसेस गर्नै सक्दैन । म त्यही अवधिमा जमेकी हुन्छु ।
मैले जीवनको १७ वर्ष ह्यारी पोटर लेखेर बिताएँ । ती वर्षहरूमध्ये केही वर्ष त मेरा लागि पागल बनाउने अवस्था पनि थिए । जब ह्यारी पोटर लेखेर सकियो, त्यो शृंखला जब सकियो भन्ने घोषणा गरेँ, मलाई यति असिम शान्ति महसुस भयो कि कुरा गरिसाध्य छैन । किनभने, उपन्यासका पात्र, परिवेश र धेरै कुराले मलाई लामो समयसम्म खेदिरहन्थे ।
धेरै अघि जब म केही थिइनँ, किनमेलका लागि जब कुनै पसलमा छिर्थें र म तिनीहरूलाई मेरो कार्ड दिन्थेँ, उनीहरूले जब मेरो कार्ड देख्थे, वाह, त्यो मेरो मनपर्ने किताबको लेखक तपाईं हो भनेर चिनिदिऊन् भन्ने कल्पना गर्थेँ । वास्तवमा कसैले चिनून् भन्ने कल्पना गर्नु एउटा कुरा हो तर वास्तविकतामा त्यस्तो लेख्न सक्नु अर्को कुरा हो । मेरा लागि लेखन भने कहिल्यै अप्ठेरो भएन । म मेरो कल्पनामा सधैँ उडेँ र सही तरिकाले नै उडेँ । नत्र त कसरी मैले त्यत्रा किताब लेख्न सकेँ होला !
मेरा पात्रहरूको बारेमा सोच्दा अचम्म लाग्छ । मैले धेरै पात्रहरू जन्माएँ । तीमध्ये केहीको थर सोच्न यति समय लगाउनु पर्यो कि तिनले मेरो गिदी खाए । त्यसैले मैले बालबालिकाको नाउँ, थर वाला किताब किनेरै राख्नु पर्यो । ती किताब उठाएर मेरो पात्रसँग मिल्दो नाउँ टाँस्ने काम गरेँ । मानौँ, मैले ह्यारी पोटरको नाउँको साटो अरू नै उठाएर राखेको भए, मैले अरूको चित्तको ख्याल नगरेको भए, किताब छापिएपछि बालबालिकाहरूले आपत्ति जनाएको भए, कति गाह्रो हुन्थ्यो होला । त्यसैले ती सारा कुरामा मैले ध्यान दिएँ । स‑साना कुरामा ध्यान दिइएकाले नै अहिलेसम्म कसैले नामका बारेमा आपत्ति जनाएन भन्ने लाग्छ ।
यतिबेला मेरो दिमागमा ६ वटा किताब चलिरहेको छ । तीमध्ये एउटा लेखिरहेकी छु । मेरो ढाड दुख्ने बिमारीका पछाडि दिमागका ती ६ वटा किताब हुन् । कसैले मेरो दिमागको एमआरआई गर्यो भने गिदीको साटो किताबका पाना पल्टिरहेको देख्लान् कि ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ माघ २०८२, बुधबार 










