बगैँचाको रूखबाट अम्बा टिप्ताटिप्तै लिलियन थरथुडले अगाडि बरन्डामा एलसेसन कुकुरहरूले ङ्यार्र गरेको सुनिन् । ‘मूल ढोकाबाहिर कोही उभिएको हुनुपर्छ ।’ उनले सोचिन् । जाडो सिद्धिनै लागेको थियो । भर्खरै परेको पानीले गर्दा बिहानीपखको मौसम अझ लोभलाग्दो भएको थियो । रूखहरू उज्याला देखिएका थिए । गमलामा रङ्गीबिरङ्गी जिरेनियम फूल फुलेका थिए र पातमा शीतका थोपा टल्किरहेका थिए । कागतीको बोटनिरै तुलसी र बाबरीका झुप्पाहरू हरियै थिए। यी सबै देखेर लिलियन आह्लादिन भइन् । घामको राप सहन नसकेर निरीहझैँ उड्ने बाफ हेर्न तिनलाई सारै आनन्द लाग्थ्यो ।
कुकुरको सुस्तसुस्त घुराइ उनले फेरि सुनिन्। कोही ढोकामा अघिदेखि नै उभिरहेको पक्का भयो उनलाई अम्बाको ढकी भुईँमा राख्तै उनले लौरो समातिन् ।
लिलियन आँगनमा पुगिन् । ढोकामा टेम्बी र टर जस्ता जब्बर पहरेदारहरू थिए । ती बलिया कुकुरहरूलाई उनका दिवङ्गत पति जकले विशेष तालिम दिएका थिए। ती जस्तोसुकै आदेशको पनि तुरुन्त पालना गर्थे । ढोकाबाहिरको मान्छे शान्त भएर उभिरहेको हुनाले मात्रै तिनीहरूको घुराइ सुस्त थियो ।
‘कसलाई खोज्नुभएको ?’ लिलियनले सोधिन् । ‘
काम पाइन्थ्यो कि भनेर म्याडम ।’
‘यहाँ केही काम छैन ।’
त्यो मान्छेले खैरो रङको खामबाट प्लास्टिक बेरिएको कागज निकाल्यो ।
‘म ट्रान्स्केइबाट आएको । एउटा चिठी ल्याएको छु म्याडम ।’
लिलियन थरगुडले त्यो मान्छेलाई नियालेर हेरिन् । ऊ भर्खरको युवकै थियो । कालो प्यान्ट, रफु भरिएको ह्वार्लाङ्गे ज्याकेट लगाएको भए पनि ऊ सुग्घरी देखिन्थ्यो । उसले ल्याएको जस्तो चिठी अरूहरूले पनि ल्याउँथे तर पनि उनले त्यो चिठी लिएर पढिन् । उनले शङ्का गरेजस्तै त्यो चिठी घरमै छाप लगाइएको कागजमा लेखिएको थियो। चिठी पनि के भन्ने ? मैलो, पानीको दागैदाग लागेको, झुत्रो भइसकेको कागज थियो त्यो । चिठीको बेहोरामा चाहिँ विलियम सिलीले अमुक संस्थाको लागि चन्दा सङ्कलन गर्दै छन् भन्ने कुरा लेखिएको थियो । त्यो मानिस त तयारीका साथ पो आएको रहेछ । काम नपाएर चन्दै सही। ताल्चा लगाइएको ढोकाको ग्रिलबाट हात छिराएर उनले त्यो चिठी फर्काइन् । उनको घरपरिसर दस फुट अग्ला पर्खालले घेरिएको थियो ।
एकैछिन है’ उनले भनिन् ।
‘धन्यवाद म्याडम ।’
लिलियन घरभित्र गइन् । कुकुरहरू फेरि ङ्वार्रङ्वार्र गर्न थाले । कोठामा पुगेपछि उनले पर्सभित्र चानचुन पैसा खोजिन् । उनलाई गल्ती पो गर्दै छु कि जस्तो लागिरहेको थियो । यसरी थरीथरीका मानिसहरू पैसा, लुगा, खानेकुरा वा काम खोज्दै दिनहुँ आउँथे । धेरैजसोलाई त तिनी वास्तै गर्दिनथिन् । नयाँ सरकार आएपछि त यस्ता माग्नेहरू निर्धक्कसित माग्न झनै पल्केका थिए ।
एक साँझ नौ बजेतिर आइपुगेकी एउटी अफ्रिकी आइमाईलाई लिलियनले सम्झिन् । त्यतिखेर पानी झमझम परिरहेको थियो । ढोकासम्म जान लामै बाटो हिँड्नुपर्थ्यो । त्यस्तो वेलामा बाहिर निस्किन उनलाई पटक्क मन थिएन तर त्यहाँ पिठ्यूँमा एउटा अनि कम्मरमा एउटा बच्चा लिएर उभिएकी अबला ‘म्याडम, फोहोर फाल्नुपर्ने छ कि ?” भनेर सोधिरहेकी थिई । कस्तो नौलो किसिमको अनुरोध । त्यो पनि त्यति बेला राखी । लिलियन अँध्यारोमा त्यति राम्ररी देख्न सक्तिनथिन् । त्यसमाथि पर्खालपछाडि अर्को मान्छे चक्कु वा बन्दुक बोकेर उभिएको रहेछ भने ? यसै पनि अखबारमा पाना आफ्नै घर आँगनमा मारिएका मान्छेहरूका खबरले भरिएका हुन्थे । लोग्नेस्वास्नी मिलेर गर्ने अपराधका बारेमा पनि धेरै पढिन्थ्यो, सुनिन्थ्यो । धन्य त्यस दिन उनी मूल ढोकामा पुग्दा त्यो एक्ली आइमाई र उसका बच्चाहरू मात्र थिए ।
यसरी सधैजसो थरीथरीका माग्नेहरूले वेला न कुबेला ढोका ढकढक्याउन आउने हुनाले आफ्नै घरभित्र पनि डराएर बस्नुपरेको थियो । यो सम्झेर लिलियनलाई विरक्त लाग्यो । फेरि अपरिचित मानिसहरू आउँदा डराएर ढोकै नखोल्ने गयो भने वर्णभेदी पो भइने हो कि ? त्यस्तो गर्दा गोराहरूलाई लगाइने वर्णभेदीको आरोपको झन् पुष्टि हुन जान्थ्यो । यसै पनि गोराहरूलाई पुरानो सत्ताको संरक्षक ठानिन्थ्यो र वर्णभदीको आरोपले वाणझैँ प्रहार गरिन्थ्यो ।
यस्तै आरोप र कलङ्कहरू लाग्ने ठाउँमा माग्नेहरू भने घरघरै आइरहन्थे । जस्तै एक दिनको कुरा हो। एउटी आइमाई लिलियनलाई बरन्डामा देखेर दुई ऱ्यान्डमा चारवटा जिरेनियम फूलका बिरुवा किनिदिनु भनेर अनुनय-विनय गरी उनको बगैँचा फूलहरूले ढपक्कै ढाकिएको थियो तर त्यसले निकै कर गरी। अझ चार र्यान्डमा आठवटा बिरुवा किनेदेखि सित्तैमा रोपिदिन्छु समेत भनी। त्यो दयनीय आग्रह सुनेर लिलियनको मन पग्ल्यो । उनले ढोका खोलिदिइन् । त्यस आइमाईले तुरुन्तै काम पनि सुरु गरिहाली । उसले आफ्नो झोला भुईँमा राखी र आफू पनि थचक्क बसी। उसले लिलियनसँग बिरुवामा हाल्ने पानीको व्यवस्था गर्न भनी । लिलियनले घरपछाडि गएर पानी ल्याउन्जेल उसले तीसवटा बिरुवा रोप्न भ्याइसकेकी रहिछ। उनी छक्क परिन् । यति चाँडै यत्तिका बिरुवा । कसरी रोप्न भ्याएकी होली ! उसले भनी, ‘म्याडम, बिन्ती छ, यति किनिदिनुस् न । म म्याडमलाई सारै सस्तोमा टक्र्याउँछु, जम्मैको बाह्र ऱ्यान्ड मात्रै। हेर्दै जानुहोला म्याडम, बिरुवा किनेकोमा पछुतो हुने छैन । मसँग यति मात्रै बिरुवा बाँकी छन् अब यति त के फिर्ता लानु ? फेरि पाँच पनि बज्नै आँटिसक्यो ।’ लिलियनले उसलाई बाह्र ऱ्यान्ड तिरिन् ।
उनले यस्तै अर्को घटना सम्झिन् । एउटा मान्छे लगातार घण्टी बजाउँदै ढोकामा उभिरहेको थियो। लिलियनले बाहिर निस्केर सोध्दा, ‘यस भाडा छैन, घर पुग्नै नसकिने भइयो, अलिकति पैसा दिनुस् न’, भन्थ्यो। लिलियनले आफूसँग पैसा नभएको बताएपछि उसले लुगा माग्यो। लुगा पनि छैन भनेपछि, ‘खानेकुरा केही भए दिनुस् न । तर कोदाको रोटीचाहिँ खान्नँ नि । टिनको बट्टाको माछा भए हुन्थ्यो’, पो भन्यो ।
विगतबाट लिलियन फर्किइन् । बाहिर ढोकामा एउटा मान्छे पर्खिरहेको छ भन्ने हेक्का हुनासाथ उनले खुद्रा पैसा छ कि भनेर पर्स खोतलिन् । पर्समा जम्मा पाँच ऱ्यान्ड अनि तेइस सेन्ट थियो । निवृत्तिभरणले गुजारा गर्नेका लागि तेइस सेन्टको एउटा चुरोटसम्म पनि आउँदैनथ्यो । उनलाई आफैमाथि रिस उठ्यो। तिनी अहिलेसम्म आफ्नो अन्तर्मनलाई जाँच्तै अनिर्णीत स्थितिमा जहाँको तहीँ उभिरहेकी थिइन् । त्यस अन्योलमा उनलाई अपराधबोध जस्तो भइरहेको थियो । त्यो मान्छेले ल्याएको चिठी देखेर उनलाई लाज लाग्नु अनि उसको मागेर खानुपर्ने अवस्थाले उनलाई द्रवित पार्नु यी दुवै स्थिति सम्झेर उनको रिस चरम चुलीमै पुग्यो । निवृत्तिभरणमा बाँचिरहेकी उनीसँग कति पैसा नै हुन्थ्यो र ? उनका श्रीमान् जीवित भएका भए अहिलेसम्म त्यो मान्छेलाई घोक्र्याइसक्थे ।
लिलियन बाहिर निस्किइन् । त्यो मान्छे अझै मूल ढोकामा उभिरहेको थियो । ऊ कुकुरहरूसँग घुलमिल हुन खोज्दै थियो। उनले सरासर गएर उसलाई पाँच ऱ्यान्डको ढ्याक दिइन् । उसले त्यो ढ्याक लियो र बेसरी टाउको हल्लायो, ‘नाइँ, म यो पाँच र्यान्ड लिन सक्तिनँ ।’
‘किन ” लिलियनले केही बुझिनन् ।
‘म म्याडमको पाँच ऱ्यान्ड त्यसै लिन सक्तिनँ। मलाई जे भए पनि काम दिनुस् । उः त्यहाँ दूबोमा कति पात झरेका रहेछन् । म त्यही सफा गरूँ ?’
‘हैन, पर्दैन, त्यतिकै राख त्यो पैसा। यो त चन्दा पो हो, होइन र ?’
‘हो म्याडम, तर यो पाँच ऱ्यान्ड पो हो त । म म्याडमको फूलबारी सफा गरिदिन्छु ।’
‘हैन, हैन, पर्दैन भनेको ।’
‘होइन म्याडम, म त पाँच ऱ्यान्डबराबरको काम गरेरै जान्छु । हेर्नुस् त, त्यहाँ कति पातहरू खसेका ।’
लिलियनले आधी फूलबारी नै ढाक्ने गरी झरेका पातहरू हेरिन् । फेरि उनले विवाद गर्नु पनि उचित ठानिन् । ‘ठिकै छ, त्यसो भए’, ढोका खोल्नु मूर्खता हो भन्ने जान्दाजान्दै पनि तिनले ढोका खोलिन् ।
त्यो मान्छे भित्र छिर्यो । कुकुरहरू जिब्रो निकालेर तम्तयार भई अघि बढ्दै थिए तर लिलियनले इसाराले ती शान्त भए ।
‘विलियम हैन तिम्रो नाम ?’ चिठीमा पढेको नाम सम्झँदै तिनले भनिन् ।
‘हो म्याडम ।’
‘यति पात मात्रै सफा गर है ?’
‘म्याडमलाई म लुच्चो जस्तो लाग्यो कि क्या हो ? म त्यसै पैसा लिन्नँ क्या । यति थोरै पात सफा गरेको त दुई ऱ्यान्ड मात्र हुन्छ ।’
‘त्यसो भए पाँच ऱ्यान्डको जति काम हुन्छ, त्यति गर न त । यसो त तिमीले केही गर्नु पर्दैपर्दैनथ्यो। मैले चन्दाको रूपमा दिएकी त्यो पैसा । ऊ त्यति पात मात्रै सफा गर ! मलाई बाहिर निस्किनु छ ।’ ‘चिन्ता नगर्नुस् म्याडम, मैले सिद्ध्याइहाले ।’
लिलियनले ढोकानिर उभिएर हेरिरहिन् । पूरै फूलबारी नै सफा गरुँला झैँ गरेर उसले कोट फुकाल्यो । खासमा उनलाई कतै जानु थिएन । • यो कुरा उसले पनि बुझेको हुन सक्छ । उनलाई भित्रभित्रै डर जस्तो अनुभव भइरहेको थियो । आफू डराएकी छैन भनने देखाउनुभन्दा पनि त्यस मान्छेमाथि विश्वास छ भन्ने भान पार्न उनले ढोका खोलकी थिइन् ।
ढकी अम्बाको रूखमुनि थियो । उसले ढकी ल्याएर राम्रा अम्बाजति छानेर एक छेउमा छुट्यायो। अनि, ‘म्याडमलाई चाहिँदैन भने यो म नै लग्छु ।’ भन्यो । उनले हुन्छ भनिन् । त्यस मान्छेले भुईँमा छरपस्ट खसेका रूखका पातहरू सोहोर्दै फोहोर फाल्ने भाँडोमा हालिरहेको थियो । लिलियन त्यसको कामगराइ हेरिरहेकी थिइन् ।
‘भयो अब विलियम, साँच्चै सफा पाऔँ । धन्यवाद ।’
‘होइन म्याडम !’
‘छोडिदेऊ न अब । धेरै गरिसक्यौ ।’
भित्र फोनको घण्टी बजेको सुनियो । उनीभित्र पसिन् । कुकुरहरू तिनको पछि लागे ।
‘म ढोकामा चुकुलचाहिँ लगाउँदिनँ ।’ उनले मनमनै गुनिन् । त्यस मान्छेमाथि अविश्वास छैन भन्ने तिनलाई देखाउनु थियो ।
‘म त्यस मानिससित लुच्चोलाई जस्तो व्यवहार गर्ने छैन । गोराहरू कालासँग डराउँछन् भन्ने कुरा कालाहरूले बुझेका छन् तर म व्यवहारबाटै आफू ती गोराहरूभन्दा फरक भएको देखाउनेछु तर फेरि म भ्रममा रहिछु भने ?’ उनको तर्कना थियो । रिभल्भर दराजको भित्री खण्डमा थियो । उनले त्यस रिभल्भरको प्रयोग जानेकी थिइनन् ।
लिलियन फोन उठाउन लम्किँदा घण्टी बज्न बन्द भइसकेको थियो । उनको मुटु बन्द भइसकेको थियो । उनको मुटु हल्लिरहेको थियो । उनी सास फेर्न एकैछिन उभिइन् । कुकुरहरूले ङ्यार्र गरे । फर्केर हेर्दा विलियम ढोकैमा उभिरहेको देखियो ।
‘म्याडम ।’ उसले अकमकिदै भन्यो, ‘मैले पातहरू सोहोरेर राखिदिइसकें ।’
‘धन्यवाद विलियम ! पर्ख है, म ढोका खोलिदिन्छु ।’
‘तर म्याडम ! मैले पूरै एक घण्टा काम गरेँ। दस ऱ्यान्ड भयो ।’
उसको त्यो बदलिएको व्यवहारले उनलाई झट्का लाग्यो तर केहीबेरमै तिनी स्थिर बनिन् र हातले केही इसारा गरिन् । कुकुरहरू जुरमुराए ।
‘पर्छ, म मेरा श्रीमान्सँग पैसा मागेर ल्याउँछु ।’ उनले भनिन् । ‘मलाई थाहा छ, म्याडमको श्रीमान् छैन, म्याडम यहाँ एक्लै बस्नुहुन्छ । किन यस्तरी डराउनुभएको ? म चोर त होइन नि ! मलाई पैसा दिनुहुन्छ हैन त ?’ शान्त अनि अविचलित स्वरमा उसले भन्यो ।
अलि पर भएको पर्स लिलियनले लम्केर समातिन् र दस ऱ्यान्डको नोट झिकिन् । त्यस मान्छेको बोली नै अर्कै भइसकेको थियो । उनको जीउ नै सन्न भयो । त्यस मान्छेको भित्री ध्येय र उनको सुरक्षामाझ कुकुरहरू मात्र छन् भन्ने उनी बुझ्दै थिइन् ।
‘मसँग यो दस ऱ्यान्डको नोट मात्र छ । अघि मैले दिएको पाँच ऱ्यान्ड फिर्ता देऊ न त !”
‘आम्मै । म्याडमलाई फिर्ता चाहिएको ? पाँच ऱ्यान्ड त चन्दा होइन र ? काम गरेको त छुट्टै दस ऱ्यान्ड चाहिन्छ ।’
लिलियनले उसतिर हेरिन् । उसको अनुहारमा मुस्कान थियो । बल्ल उनलाई आफ्नो मूर्खताको आभास भयो । उनीसँग विकल्प थिएन अब, तर थप पैसा दिन पनि मन मानिरहेको थिएन ।
‘तिमी तुरुन्तै निक्लेर गइहाल मेरो घरबाट’ उनले दृढ भएर भनिन् ।
‘म्याडम, दस ऱ्यान्ड नि !’
‘गइहाल्ने हो कि पुलिस बोलाऊँ ?’
ऊ अगाडि लम्कियो ।
‘सा… ” उनले कुकुरहरूतिर सङ्केत गरिन् ।
कुकुरहरू एकैसाथ झम्टिए । टेम्बीले विलियमको नाडीमा र टरले कठालोमा मुखले च्यापे। ऊ भुईँमा पछारियो । कुकुरहरूको अचानकको झम्टाइबाट आत्तिँदै विलियम घोक्रो सुकुन्जेल कराउन थाल्यो । कुकुरहरूले उसको लुगा च्यातेर धुजाधुजा पारे । हातपाखुरामा दाँत गडाउँदै चिथोर्न थाले । विलियमको पूरै शरीरभरि ऱ्याल लतपतिएको थियो । ती कुकुरहरूले उसलाई अत्यास लगाउने काम गरिरहेका थिए तर एक थोपा पनि रगत पारेका थिएनन् । कुकुर कतिसम्म तालिमप्राप्त थिए भने मालिक्नीको अर्को आदेश नआएसम्म रगत लुछतैनथे ।
‘म्याडम, कृपया यस्तो नगर्नुस्, म जान्छु ।’ विलियमलाई कुकुरसँग जोगिन सङ्घर्षरत अवस्थामै छाडेर उनी कोठाभित्रै छिरिन् र दराज खोतलखातल गरिन् । आफ्ना श्रीमान्को सैनिक सामग्री राख्ने खण्डमा हेरिन् । त्यहाँ एउटा खैरो बट्टा भेट्टाइन् । त्यसमा हरियो रङको छालाको पैलीभित्र रिभल्भर थियो, त्यो झिकिन् । रिभल्भर चिल्लो र गह्रौँ पनि थियो । त्यसलाई यसो छामिन् । अगाडिको कोठाबाट आएको चिच्च्याहट सुनेर पनि त्यतिखेर तिनी अचम्मैसित शान्त थिइन् ।
जकले भनेका कुराहरू पनि अब त धूमिल भइसके । जकले रिभल्भरले बढी सुरक्षा दिन्छ भनेका थिए कि पेस्तोलले, त्यो सम्झिन उनलाई गाहारो पर्यो । गोली पूरा लोड छ कि छैन। त्यो परीक्षण गर्न पनि उनले बिर्सिसकेकी थिइन् । बट्टामा गोली थिएनन् । बन्दुकलाई बेसरी समातेर उनी बाहिरसम्म खोच्याउँदै आइन् । नशानशामा रगत दौडेको झैँ लाग्यो उनलाई । यतिखेर उनी लिलियन थरगुड थिइनन् । उनी त आइपरेको आपत्बाट सकुशल जोगिने एक मात्र चाहना भएकी महिला थिइन् । बन्दुकको नाल दबाउन निमेषभरमै सकिन्छ भनेर उनको अचेतन मनले घचघच्यायो । विवेकशीलता र बहुलट्ठीपनको दूरी रौबराबर हुन्छ भन्ने तत्त्वज्ञान भयो उनलाई ।
‘तिमीले मेरो सम्पत्तिमा हस्तक्षेप गरेमा म तिमीलाई कानुनअनुसार मार्न पनि पाउँछु, थाहा छ ?’ बन्दुक विलियमतिर सोझ्याउँदै उनले भनिन् ।
विलियमको आँखाको गेडी चारैतिर घुम्न थाल्यो । उसको ज्याकेट झुत्रो भइसकेको थियो अनि कमिज र अनुहारभरि कुकुरको ऱ्याल र सिँगान लतपतिएको थियो ।
‘म्याडम, बिन्ती छ, गोली नचलाउनुस् ।’
उनको औँला ट्रिगरमा कसियो ।
‘मैले गोली चलाएँ भने अखबारमा यो खबर छापिन्छ । भ्याल खुल्लै राखेर सुत्न डराउने वृद्धाहरूको डर त्यो खबर पढेर कम हुनेछ, बुझ्यौ ?’
‘नाइँ, म्याडम नाइँ, बिन्ती …’
लिलियनले उसलाई धमिलो देख्न थालिन् । उनले त्रास र विवेकबिचको फरक छुट्याउन सकिनन् । औँलाहरू उनको आदेश मानिरहेका थिएनन् र ती जतिखेर पनि स्वतन्त्र रूपले चल्न सक्ने अवस्था थियो । केही क्षण त उनलाई आफू शून्यमा छु र त्यहाँबाट चल्नै सक्तिनँ जस्तो लाग्यो तर त्यो सोचाइ क्षणिक थियो उनी अब आफ्नो हातसँगै कामिरहेको रिभल्भरतिर हेर्न थालिन् । उनले कुकुरहरूलाई कुनै आदेश झट्ट दिइन् र ती कुकुरहरूले विलियमलाई छोडिदिए ।
‘उठेर मैले दिएको पाँच ऱ्यान्ड खुरुक्क त्यो टेबलमा राख ।’ उनले भनिन् ।
विलियम लरबरिंदै उठ्यो अनि आफ्नो ज्याकेट छाम्यो । तर अब खल्ती बाँकी थिएन ।
‘पैसा तिम्रो प्यान्टको खल्तीमा छ ।’ लिलियनले भनिन् । विलियमले सबै कुरा खुरुखुरु मान्यो ।
‘अब गइहाल ! मैले तिम्रो पिठ्यूँमा गोली हान्नु नपरोस् नि ।’
कुकुरहरू उसको घुँडातिर टोकुलाझै उभिएका थिए । विलियम होसियारीपूर्वक पछाडि सर्दै ढोकाबाहिर पुग्यो र मूल ढोकासम्म गयो । लिलियनले आँखा झिमिक्कै नपारी उसतिर हेरिरहिन् र बन्दुक लगातार उसतिर सोझ्याइरहिन् ।
‘म पुलिसलाई खबर गरेर तिम्रो एकएक हुलियाको वर्णन गरिदिन्छु । तिम्रो देब्रे कानमुनिको खत, तिमीले लिएर हिँड्ने गरेको चिठी अनि अरूको घरभित्र पस्ने तिम्रो कुटिल चालको कुरा म पुलिसलाई भन्छु । पुलिसले तिमीलाई समातोस् भन्ने सोचेर खबर गर्न थालेको चाहिँ होइन । तिमी यहाँ फर्केर आयौ भने म गोली हानेर मार्छु भनेर पुलिसलाई पहिल्यै खबर गर्न आँटेको बुझ्यौ ?’
लिलियनले ढोका खोलिदिइन् । ऊ अलि अत्तालिँदै छेउतिर लाग्यो अनि लुसुक्क बाहिर निस्कियो । लिलियनले जुनसुकै बेला पनि बन्दुक चलाउन सक्छिन् भन्ने सोचाइले उसका आँखा अझै तन्केका थिए ।
अलि पर पुगेपछि ऊ आँधीको गतिमा दौडियो र मूल सडकको छेउबाट हुत्तिँदै ओझेल भयो ।
लिलियन थरगुड मूर्तिवत् उभिरहिन् । उनको मुटुको चाल सारै बढेको थियो तर गोडाको पीडा अब पटक्कै बाँकी थिएन । भर्खरै घटेको घटना उनलाई सपनाझैँ लागिरहेको थियो । त्यसलाई एउटा पागलपनबाहेक केही भन्न सकिँदैनथ्यो । अरूको चासो नराखी आफैँमा मस्त रहने एउटी वृद्धालाई यस्तो पनि हुन्छ भन्ने पत्याउनै गाहारो भइरहेको थियो ।
साठी वर्षयता यस्तो घटना घटेको उनलाई वा उनका श्रीमान् जकलाई थाहा थिएन । कुकुर र बन्दुक नगइदिएका भए उनी कस्तो अवस्थामा पुगिसक्थिन् । अनि फेरि उनले बन्दुक चलाउनैपर्ने अवस्था आएको भए.. ? थरथर कामिरहेको आफ्नो दाहिने हातलाई उनले देब्रे हातले थाम्न खोजिन् र अब कहिल्यै यो घटनाको बारेमा नसोच्ने अठोट गरिन् ।
उनले लामो सुस्केरा काढिन् र रूखमुनि राखिएको अम्बाको ढकीका बारेमा भुसुक्कै बिर्सेर भित्र लागिन् । बन्दुकलाई उनले थन्क्याइहालिन् र आफ्नो औषधी खान भनेर औषधी राख्ने दराजतिर पनि दौडिनन् । उनले आफ्ना लागि एक कप ‘ओक्रा चिया’ (एक किसिमको अफ्रिकी चिया) बनाइन् र भान्साको टेबलमा बसेर सडकपारिको स्कुलका केटाकेटीको हल्ला र हाँसो सुनिरहिन् । ती स्वरले यी दस फुटे पर्खालबाहिर एउटा सुन्दर संसार छ जहाँ आशा अझै जीवितै छ भन्ने उनलाई विश्वास भइरहेको थियो ।
दिउँसो तीन बजेतिर उनका साथीहरू मार्गरेट, रुथ र एथेलमे ब्रिज (तासको एक खेल) खेल्न आइपुगे । उनीहरूले उनको मुहारको रौनकको चर्चा गरे । लिलियनले बगैँचाका पातहरू सोहोर्दै दिन बिताएको प्रतिक्रिया दिइन् ।
राति लिलियनले बन्दुकलाई पुरानो ठाउँमा नराखेर जक सुत्ने गरेको सिरानीमुनि राखिन् अनि हातले अनुहार छोपेर सुँक्कसुँक्क रोइरहिन् ।
रेडा ज्याकोब्स
दक्षिण अफ्रिका
जन्म : केप टाउन दक्षिण अफ्रिका । लेखन । वृत्तचित्र निर्माण । सन् १९६८ मा क्यानाडा प्रस्थान । २७ वर्ष क्यानाडा बसाइ । सन् १९९५ मा दक्षिण अफ्रिका र पुनरागमन ।
पहिलो प्रकाशित कृति : द मिडल चिल्ड्रेन (कथासङग्रह-सन् १९९४) । आइज अफ द स्काई (उपन्यास) हर्मन चार्ल्स बोसम्यान पुरस्कार विजेता । पोस्टकार्ड्स फ्रम अ ग्याम्बलर ‘सेन्डे टाइम्स लिटररी अवार्ड फर फिक्सन’ र हर्मन ‘चार्ल्स बोसम्यान’ पुरस्कार विजेता । अन्य उपन्यास तथा कथासङ्ग्रह ।
हाल : दक्षिण अफ्रिकामा पूर्णकालीन लेखिका ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।