जोनाथन हाइड

मानौँ, तपाईंको एक मात्र छोरी भर्खरै नौ वर्षकी भई । एक जना भविष्यद्रष्टा खर्बपतिले खबर ल्यायो, ‘बधाई छ, तपाईंकी छोरी स्थायी बसोबासका लागि मंगलग्रह जाने चिठ्ठा हात पार्न सफल भएकी छ ।’
एक मात्र सन्तान, त्यो पनि मंगलग्रहमा ! तपाईंले केही सोच्नुअघि नै छोरी भन्छे, ‘बाबा, मेरा साथीहरु पनि जाने भएका छन् । म पनि जान्छु नि !’
‘हुँदैन’ भन्नुअघि कम्तीमा तपाईंले यसरी छान्ने कम्पनीका बारेमा जान्न अवश्य चाहनुहुन्छ । मंगलग्रहमा वयस्कभन्दा बालबालिका पुग्दा सहज हुने देखियो मानौँ । उनीहरुको पूर्ण रुपमा विकसित नभइसकेको शरीरले त्यहाँको वातावरणमा सहज हुने सम्भावना बढी देखियो । तर पछि थाहा पाउनुभयो, मंगलग्रहको रेडिएसन अत्याउने किसिमको खतरनाक रहेछ । उनीहरुलाई रक्षा गर्ने कुनै खास ढाल बनिनसकेको थाहा पाउनुभयो । त्यहाँको कम गुरुत्व वातावरणका कारण बालबालिकाहरुको हाड कमजोर हुने, मुटु दह्रो नहुने, आँखा र मस्तिष्कमा समेत प्रभाव पार्ने थाहा पाउनुभयो । उसो भए मंगलग्रहमा बालबालिका लैजाने कम्पनीले यी सारा समस्याहरुका बारेमा जानकारी राखेको छ त ? अब तपाईंले ठिक यही बेला थाहा पाउनुभयो कि कम्पनीले यी सारा कुराबाट बालबालिकालाई सुरक्षित पार्ने कुनै पनि योजना बनाएको छैन ।
अब तपाईंकी छोरीलाई उसका साथीहरुसँग मंगलग्रह जाने स्वीकृति दिनुहुन्छ त ? यस्तो अवस्थामा मंगलग्रहमा सन्तान पठाउनु भनेको सम्भवतः कहिल्यै नफर्कने गरी पठाउनु हो । यो परियोजना चलाउनेलाई बालबालिकाका बारेमा केही थाहा छैन र तिनको सुरक्षाका कुनै उपाय नअपनाउने थाहा पाउनुभयो भने कस्तो लाग्छ ? झन् यस्तो बेलामा बालबालिकाले रुचाएका खण्डमा अभिभावकसँग एक शब्द पनि सोध्न नपर्ने, उनीहरुको चाहना नै सर्वोपरी हुने नियम रहेको थाहा पाउनुभयो भने के हुन्छ ?
यस्तोमा तपाईं आफ्ना सन्तान जोगाउन जुन हदको संघर्ष गर्न सक्नुहुन्छ, त्यो गरेरै छाड्नु हुन्छ । हैन त ?
नयाँ सहश्राब्दी लागेसँगै प्रविधि कम्पनीहरुले संसार बदल्ने उत्पादन बजारमा ल्याएका छन् । ती प्रविधि वयस्कहरुका लागि मात्र होइन, बालबालिकाका लागि पनि आएका छन् । सन् १९५० को दशकदेखि बालबालिकाले टेलिभिजन हेर्दै आइरहेका छन् तर प्रविधि कम्पनीले त हातैमा बोक्ने प्रविधि ल्याएका छन्, ती पर्सनालाइज्ड पनि छन् । ती अरुभन्दा रोचक र कुलतको हदसम्मका छन् । यसका बाबजुद कुनै पनि कम्पनीले बालबालिकामा पर्ने मनोअसरका बारेमा कुनै अध्ययन चलाएका छैनन् । हरेक वर्ष नयाँ नयाँ कुप्रभाव यिनले ल्याइरहेको देखिएको छ तर पनि प्रविधि कम्पनीले यसलाई अस्वीकार गर्दै आइरहेका छन् । उल्टै बरु झन् बढी बालबालिका झुम्मिने अवस्था सिर्जना गर्नेतर्फ साइकोलजिकल ट्रिकहरु प्रयोग गरिँदैछ ।
त्यसैलाई प्रयोग गरेर बालबालिकाको तन र मन शोषण गर्नेहरुले नयाँ नयाँ शैली र शिल्प उपभोग गरिरहेका छन् । उनीहरुको हुर्कंदो मस्तिष्कलाई यसरी मोडिदैछु कि तिनका लागि उनीहरु तयारी माल भइरहेका छन् । यस्ता कम्पनी सामाजिक सञ्जाल छन्, तिनले त भर्खरैका युवतीहरुको दिमाग नै सुन्दर हुनु नै सबैभन्दा उपयुक्त कुरा हो भन्ने सिकाइरहेका छन् । भिडियो गेम कम्पनी र पोर्नोग्राफी साइटहरुले भर्खरैका किशोर मनहरुलाई आकर्षित गरिरहेका छन् । कुलतमा डोर्‍याउने गरी तयार पारिएका आकर्षक कन्टेन्टमार्फत उनीहरुलाई बालबालिकाको आँखा र कान खराब पारिँदैछ । उनीहरुको भौतिक खेल र व्यक्ति–व्यक्तिबीच हुने अन्तरक्रियालाई समाप्त पारिँदैछ । त्यो पनि यति वृहद् स्तरमा कि हामी सोच्न पनि सक्तैनौँ ।
यस्ता कुलती संस्थालाई जिम्मेवार बनाउन कसले तिनलाई कानुनी दायरामा ल्याउने प्रयास गरेको छ ? कसैले पनि छैन । १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई कुनै पनि सामाजिक सञ्जालमा जोड्नका लागि बाउआमाको सहमति चाहिन्छ तर अधिकांश मुलुकमा उमेर प्रमाणित गर्ने कुनै पनि निकाय वा कानुन छैन । इन्टरनेटमार्फत छोराछोरीहरु जहाँसुकै विचरण गर्न र उन्मुक्त हुन स्वतन्त्र छन् । (बेलायतमा सन् २०२३ मा नयाँ अनलाइन सुरक्षा ऐन बनाइएको छ भने अमेरिकामा यो नयाँ ऐन बनाउने तर्खर छ ।)
यसरी सन् १९९५ यता जन्मिएका जेड पुस्ता (जेन जेड) यस्तो पुस्ता बन्न पुगेको छ, जो जन्मदै खल्तीमा सानो डिभाइस राखेर हिँडडुल गर्ने क्षमतामा पुगेको छ । उनीहरुले सो डिभाइसमार्फत आफ्नो वरपर नयाँ संसार जन्माउने भइसकेका छन् । त्यो संसार उत्तेजक छ, कुलती छ र अस्थिर छ । त्यो संसारमा सान्दर्भिक रहिरहन उनीहरुले आफ्नो ऊर्जाको अधिकांश समय त्यहाँ व्यतित गर्नुपर्ने हुन्छ । त्यहाँका ब्रान्ड, व्यक्त गरिएका धारणा, सचेतनापूर्वक खिचिएका तस्बिरहरु, भिडियो र जीवनबारे अझ सजग हुनुपर्ने हुन्छ । तब मात्र उनीहरुले त्यहाँ स्वीकृति पाउने छन् । नत्र त अनलाइन बेइज्जतीको भार वहन गर्नुपर्ने हुन्छ । जेड पुस्ताका किशोरकिशोरी त्यस्तो कृत्रिम संसारमा बढीभन्दा बढी समय र घण्टौँ बिताइरहेका छन् र खुसी भएको नाटक रचिरहेका छन् । जति बढी उनीहरु त्यहाँ समय बिताउन् भनी अनेक किसिमका डेटा अल्गोरिदम निर्माण गरिएका छन् । यस्तोमा उनीहरु समाजसँग कम संवाद गरिरहेका छन् । भौतिक रुपमा कम खेल खेलिरहेका छन्, कुराकानी, अँगालो हालिरहेका छन्, आँखा त झनै जुधाइरहेका छैनन् । सामाजिक व्यवहारमा उनीहरुको कमभन्दा कम उपस्थिति र सहभागिताले एउटा सफल मानव विकासका लागि बाधा उत्पन्न गरिरहेको छ ।
त्यसैले पनि जेड पुस्ताका सदस्यहरु हुर्काइको नयाँ क्रान्तिकारी बाटोमा छन् । वास्तविक संसारबाट उनीहरु अलग छन् । वास्तविक संसारमा त नउीहरुले विरलै संवाद गर्छन् । यसलाई हामीले ‘द ग्रेट रिवायरिङ अफ चाइल्डहूड’ नामकरण गर्न सक्छौँ । यस्तो लाग्छ मानौँ, उनीहरु यस्तो प्रयोगको पहिलो पुस्ता बनेका छन् र मंगलग्रहमा लैजाने तयारीमा छन् । यही कारणले उनीहरुलाई दुश्चिन्तित पुस्तामा परिणत गराएको छ ।
सन् २००० सम्म किशोर किशोरीहरुमा मानसिक रोग निकै कम देखिन्थ्यो । तर अचानक सन् २०१०को दशकसम्म आइपुग्दा अवस्था परिवर्तन भयो । सन् २०१५ सम्म आइपुग्दा बेलायत र अमेरिका, क्यानडा र अस्ट्रेलिया तथा संसारभर नै युवा दुश्चिन्ताको लहर नै चल्यो । उनीहरु अवसादको शिकार बन्न पुगे भने अधिकांशमा आत्महत्याको लहर चल्यो । लामो समयसम्म ‘दुःखी, खालीपन अथवा अवसादग्रस्त’ महसुस गर्ने अमेरिकी किशोरकिशोरीहरुमा लामो समयसम्म ‘कुनै पनि कुरामा रुचि घटेको, अल्छी लाग्ने गरेको र पहिलेजस्तो केही पनि रमाइलो नलाग्ने’ अवस्थामा पुगिसकेका छन् । यो अवसादको शास्त्रीय लक्षण हो । यस्तो लक्षण १५० प्रतिशतले बढिरहेको छ । अर्को शब्दमा मानसिक रोग महामारीको दरले बढिरहेको छ । चाहे पुरुष हुन्, स्त्री हुन्, चाहे धनी हुन्, चाहे गरिब, चाहे काला हुन्, चाहे गोरा ती सबैमा अवसाद उच्च छ ।
सन् २०२० मा सङ्कलित तथ्याङ्कअनुसार अमेरिकाका प्रत्येक चार जनामध्ये एक जना किशोरी अवसादले ग्रस्त छन् । सन् २०२१ मा सारा संसार कोभिड १९ का कारण बन्दाबन्दी हुँदा अवस्था झनै बिग्रन पुग्यो ।
केही मनोचिकित्सकहरुले भने यसलाई उति महत्व दिएका छैनन् । उनीहरु भन्छन्, अचेलका केटाकेटीहरु आफैँ धेरै जान्ने हुन खोजेका कारण मानसिक रोग बढेको भान मात्र भएको, वास्तविकतामा बढेको छैन । उनीहरुको कुरा एक हिसाबले सही पनि हुनसक्छ तर अध्येताहरुले विभिन्न इन्डिकेटरहरु हेरिरहेका छन् । अमेरिको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले आफैँलाई हानि पुर्‍याउने किशोरकिशोरीहरुको संख्या २०१० देखि २०२० सम्मको अवधिमा तेब्बरले बढेको छ । यो दर १५–१९ वर्ष उमेर समूहमा पहिलेको तुलनामा दोब्बर भएको छ । भनाइको अर्थ, सन् २०१० को अवधिमा किशोरकिशोरीहरुको मानसिक स्वास्थ्यमा जुन क्षति भयो, अर्को दशकसम्म आइपुग्दा उनीहरु आत्महत्याको तहमा पुगिसकेका छन् । यो दर एक दशकमा १६७ प्रतिशतले बढेको देखिएको छ ।
आत्महत्या गर्ने तहसम्म पुग्ने गरी तीव्र गतिको यो दुर्घटनाले किशोरकिशोरीमाझ अवसाद कुन तहमा पुगेको रहेछ भन्ने देखाउँछ । यस्तो अवस्थालाई मानसिक स्वास्थ्य सङ्कट ठान्न ढिला भइसकेन र ?
सन् २००७ मा स्मार्टफोन आएको थियो र यसले संसारको बानी नै परिवर्तन गरिदियो । त्यसो त सन् १९९० को दशकमा मोबाइल फोन नभएको होइन । त्यो बेला इन्टरनेट सिधा जोडिएको थिएन । फोन भनेको आवाजका माध्यमबाट गफ गर्ने साधन थियो । परिवार र साथीभाइसँग एकआपसमा संवादका लागि यो प्रयोग हुन्थ्यो । केहीसँग इन्टरनेट पहुँच भए पनि त्यो कम्प्युटरमार्फत हुन्थ्यो । घरमा कम्प्युटर भएकाले त्यसको प्रयोगका लागि सीमित अवधिका लागि मात्र हुन्थ्यो । सन् २०१६ सम्म आइपुग्दा ७९ प्रतिशत किशोरकिशोरीको हातमा स्मार्टफोन पुग्यो भने ८ देखि १२ वर्ष उमेर समूहका २८ प्रतिशतमा पुग्यो ।
स्मार्टफोन किशोरकिशोरी र बालबालिकाको हातमा पुग्न थालेपछि उनीहरु कृत्रिम संसारमा बढीभन्दा बढी समय बिताउन थाले । अहिले त उनीहरु निरन्तर अनलाइन हुने अवस्था छ । जब हरबखत अनलाइन हुन थाले, अचानक हरकोही, हरबखत, हरकहीँ हुने अवस्थामा पुग्यो । यसले उनीहरुको मानसिक स्वास्थ्यको समस्या पनि चुलिन थाल्यो । मोबाइल इन्टरनेट र किशोरकिशोरीको मानसिक स्वास्थ्य यसरी एकअर्कासँग गाँसिएको प्रस्ट देखिन थालेको छ ।
यसलाई कसरी बदल्न सकिन्छ त ? यसका लागि जम्मा चार वटा उपाय छ । त्यो पनि यति सामान्य कि पत्याउनै गाह्रो हुन्छ ।
१. १० वर्षभन्दा मुनिका बालबालिकालाई स्मार्टफोन दिँदै नदिनोस् । २४ सै घण्टा इन्टरनेट जोडिएको स्मार्टफोनले तपाईंको बालबालिकालाई मानसिक रोगी बनाउँछ, यो पक्का छ । त्यसैले उनीहरु सकेसम्म १४ वर्षको उमेर नपुगुञ्जेल इन्टरनेटको पहुँचलाई कडाई गर्नुहोस् । उनीहरुलाई आवश्यक पर्ने सामान्य फोन दिन सक्नुहुन्छ । तर त्यसमा सीमित एप र इन्टरनेटरहित बनाउन जरुरी छ ।
२. १६ वर्षभन्दा मुनिका सन्तानका लागि कुनै पनि सामाजिक सञ्जालमा जोडिन नदिनुहोस् । उनीहरुको कलिलो दिमागमा सामाजिक सञ्जालको विषाक्तता भरिनबाट जोगाउनुहोस् । सामाजिक सञ्जालमा जुन तुलनाको बाढीमा बगाउने डर छ, त्यसबाट जोगाउनोस् । खासगरी कुलतको तहमा फँसाउने अल्गोरिदमबाट उनीहरुलाई जोगाउनोस् ।
३. विद्यालयमा फोनमुक्त अवस्था बनाउनोस् । विद्यालयले सबै विद्यार्थीको फोनहरु, स्मार्टवाचहरु र अन्य डिभाइसलाई लकरमा चाबी लगाइदिने व्यवस्था मिलाउनुपर्छ । पछिल्लो समय बेलायतले विद्यालयमा मोबाइल चलाउन नपाउने नियम ल्याएको छ । यसले उनीहरुको एटेन्सन बढाउने काम गर्छ । यति मात्र होइन, उनीहरु विद्यालयमा आफ्ना साथीसंगीसँग बढीभन्दा बढी झुम्मिनेछन्, खेलकुदमा बढी ध्यान दिनेछन् । शिक्षकहरुसँग उनीहरुको आत्मियता बढ्नेछ ।
४. खेलमैदानमा बढी समय र बाल्यकालीन स्वतन्त्रतामा बढी जोड दिनोस् । बालबालिकाहरुले प्राकृतिक रुपमा नै सामाजिक कौशल बढाउन जान्दछन् । उनीहरु प्राकृतिक रुपमा नै आफूमा बढिरहेको अवसादलाई सामान्य अवस्थामा ल्याउन सक्छन् । मात्र त्यसका लागि अभिभावकहरुले वातावरण मिलाइदिनुपर्छ ।
यी चार कुरा अहिल्यै लागु गर्न कुनै आइतबार कुरिरहनु पर्दैन । यसका लागि कुनै ठूलो मूल्य पनि चुकाइरहनु पर्दैन । कुनै थेरापिस्टकहाँ धाइरहनु पर्दैन । यसका लागि न त कुनै कानुन निर्माताका हारगुहार नै गर्नुपर्छ ।

(अमेरिकी सोसल साइकोलजिस्ट जोनाथन हाइड न्युयोर्क युनिभर्सिटी स्टर्न स्कुल अफ बिजनेसमा इथिकल लिडरसिप पढाउँछन् । उनले द ह्यापिनेस हाइपोथेसिसः फाइन्डिङ मोडर्न ट्रुथ इन एन्सेन्ट विज्डम र ‘राइटस माइन्डः ह्वाई गुड पिपल आर डिभाइडेड बाई पोलिटिक्स एन्ड रिलिजन’जस्ता पुस्तकका लेखक हुन् । उनको पछिल्लो चर्चित पुस्तक ‘द कोडलिङ अफ अमेरिकन माइन्डः हाउ गुड इन्टेन्सन्स एन्ड ब्याड आइडियाज् आर सेटिङ अप अ जेनरेसन फर फेलर’ प्रकाशित छ । उनको यो प्रसङ्ग ‘एङ्सियस जेनरेसन’ पुस्तकबाट साभार गरिएको हो ।)