साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सिर्जनशीलता मार्ने विद्यालय

 

बच्चाहरूमा साँच्चै अद्भूत क्षमता र अथाह प्रतिभा हुन्छ तर हामी ती प्रतिभालाई निर्ममतापूर्वक नष्ट गरिदिन्छौं । साक्षरता जति आवश्यक छ, अहिलेको शिक्षामा सिर्जनशीलताको महत्त्व पनि त्यत्ति नै छ ।

मैले हालै एउटा गज्जबको कथा सुनेँ । तपाईंलाई पनि राम्रो लाग्ला– कथाले भन्छः

चित्रकला कक्षामा बसेकी एउटी छ वर्षीया नानी चित्र कोरिरहेकी थिइन् । ती बालिका अन्य कुनै कुरामा ध्यान दिन्नथिइन् तर यो चित्रकलाको काममा मग्न थिइन् । शिक्षिकालाई खुब अचम्म लागेछ र उनको छेउमा गइछन् र सोधिछन्, ‘तिमीले केको चित्र बनाको ?’

ती नानीले जवाफमा भनिछन्, ‘म ईश्वरको चित्र बनाउँदैछु ।’

शिक्षिकाले फेरि सोधिछन्, ‘तर ईश्वर कस्ता छन् भनेर त कसैलाई पनि थाहा छैन नि !’

ती नानीको जवाफ थियो, ‘पख्नुस्, एक मिनेटपछि सबैले थाहा पाउने छन् ।’

अर्को कथा सुनाउँछु । मेरो छोरो जेम्स नाटक खेल्दै थियो । जेम्सले रबिन्सन जोसेफको भूमिका पाएको थियो । त्यो नाटकमा तीन जना केटाहरू सुन, फ्रान्किन्सेन्स र मिरजस्ता कुरा उपहार लिएर आउँछन् र राजालाई उपहार चढाउँछन् । नाटकमा अचानक उनीहरू कथा क्रमबाट बाहिर गए । लिकबाट हटेको कुरा उनीहरुले पत्तो पाएनन् तर हामीले चाल पाइहाल्यौँ ।

नाटक सकिएपछि सोधेँ, ‘तिमीले कस्तो गर्यौ छोरा ?’

मेरो छोरो जेम्सले भन्यो, ‘गज्जब भो नि, होइन र ? किन केही बिग्रियो र ?’

उनीहरुले बोल्नुपर्ने संवादमा थोरै मात्र परिवर्तन गरेका थिए ।

नेटिभिटी नाटकका लागि चार जना राजकुमारको भूमिकामा उत्रिएका मेरो छोरो जेम्स र अन्य केटाकेटीहरूले त्यहाँ गडबड गरेका थिए । नाटकमा राजालाई उनीहरूले उपहार ल्याउनु पर्छ । उनीहरूले बोकेका उपहारका बक्साहरू भुईँमा राख्छन् र पहिलो केटोले भन्छ, ‘महाराज, मैले यहाँका लागि सुन ल्याएको छु ।’

अनि दोस्रो केटोले भन्छ, ‘मैले यहाँका लागि काजु किसमिस ल्याएको छु ।’

अनि तेस्रो केटो जेम्स, जो मेरो छोरो पनि हो, उसले भन्यो, ‘फ्र्याङ्कले पठाएको, लिनुस् ।’

उसले भन्नुपर्ने थियो, ‘महाराज हजूरका लागि मैले स्वादिष्ट पकवान ल्याएको छु ।’

माथिका यी दुई कुराहरूमा समानता के छ भने बच्चाहरू आफूलाई सुधार्ने अवसर लिइहाल्छन् । उनीहरूले कुनै कुरा जानेनन् भने पनि केही चाहिँ गरिहाल्छन् । उनीहरू गलत हुन डराउँदैनन् । गलत हुनु र सिर्जनशील हुनु एउटै हो भन्न खोजेको होइन तर के पनि हो भने तपाईँ गलत हुन तयार हुनुहुन्न भने तपाईँ कुनै पनि कुरामा कहिल्यै मौलिकता ल्याउन सक्नुहुन्न, सिर्जनशील हुन सक्नुहुन्न । सिर्जनशील हुन गलत भइने डर त्याग्नु पर्छ । बच्चाहरु अक्सर सिर्जनशील र मौलिक हुन्छन् किनभने उनीहरु आफू गलत वा असफल हुने कुरामा धक मान्दैनन् । तर बच्चाहरू वयस्क भइसक्दा धेरैजसोले असफल हुने डर पालिसक्छन्, गलत भइएला भन्ने डरमा अभ्यस्त भइसकेका हुन्छन् । अनि, हामी हाम्रा शैक्षिक ‘कम्पनी’हरू पनि यसरी नै चलाउँछौँ – गल्ती तथा असफलताहरूलाई नराम्रो रुपमा हेर्छौँ, नराम्रै मान्छौँ । हामी अहिले यस्तै प्रकारको राष्ट्रिय शिक्षा पद्धति चलाउँदैछौँ जहाँ गल्ती गर्नु सबैभन्दा ठूलो अपराध ठहर्‍याइन्छ । यसको परिणाम– उनीहरूको सिर्जनशील क्षमता तोडिदिन्छौँ ।

पिकासोले एक पटक भनेका थिए, ‘सबै बच्चा जन्मिँदा कलाकार हुन्छन् । हामी बढ्दै जाँदा पनि कलाकार नै रहिरहनु चाहिँ ठूलो समस्या हो ।’ हामी हुर्कंदै गर्दा हामी सिर्जनशीलतातिर अघि बढ्न सक्तैनौँ मात्र होइन हामी यसबाट अझै धेरै टाढिन्छौँ । आखिर किन यस्तो हुन्छ त ?

केही वर्षअघिसम्म हामी स्ट्याटफर्ड­अन­एभनभन्दा केही पर बस्थ्यौँ, जहाँ सेक्सपियरका बाबु जन्मेका थिए । सेक्सपियरलाई त तपाईँ चिन्नुहुन्छ तर कहिल्यै पनि उनका बाबु पनि थिए भनेर सोच्नुहुन्न किनभने तपाईँ सेक्सपियरलाई बच्चाको रुपमा सोच्नुहुन्न । उनी पनि कसैको अङ्ग्रेजी कक्षामा थिए र उनलाई शिक्षकले ‘अझ कडा परिश्रम गर्नुपर्छ’ भनेका होलान् । उनका बाबुले सेक्सपियरलाई ‘जाऊ चाँडै सुत’ भन्दै कुनै बदमासी गर्दा वा कलम चलाउँदा विलियम सेक्सपियरलाई ‘त्यो कलम छोड्दे त,’ ‘किन त्यस्तो त्यसरी कुरा गरेको ?’ भने होला भन्दा अचम्म र दोधारमा पर्छौं ।

सम्बन्धित पोस्टहरु

एकलकाँटे कथावाचनको खतरा

साइबर बुलिङको दुश्चक्र

बेलायतबाट सपरिवार अमेरिका सर्दा त्यहाँको र यहाँको पढाइमा खासै भिन्नता पाइनँ । सबैभन्दा माथिल्लो तहमा गणित र भाषाहरू थिए, अनि मानविकी, कलाका विषयहरू सबैभन्दा तल । पृथ्वीको जुनसुकै ठाउँमा पनि यस्तै प्रक्रियाले पढाइन्छ । विद्यालयहरूमा साधारणतया कला र सङ्गीतलाई उपल्लो दर्जा दिइन्छ, त्यसपछि नाटक र नृत्य । यो ग्रहमा एउटा पनि त्यस्तो शिक्षा पद्धति छैन जहाँ बच्चाहरूलाई हरेक दिन नृत्य सिकाइयोस्, गणित पढाइएजस्तै । गणित एकदमै महत्त्वपूर्ण छ तर नृत्य पनि कम महत्त्वको विषय भएकाले हो त ? पक्कै पनि होइन । साँच्चै भन्ने हो भने बच्चाहरू बढ्दै जाँदा हामी उनीहरूलाई क्रमिक रुपमा कम्मरदेखि माथितिर पढाउँदै जान्छौँ अनि उनीहरूको टाउकोमा बढी केन्द्रित हुन थाल्छौँ । अनि बिस्तारै दिमागको एउटा भागमा मात्रै केन्द्रिकृत हुन्छौँ ।

अहिले हाम्रो शिक्षा पद्दति प्राज्ञिक क्षमताको अवधारणामा खडा छ र यसको एउटा कारण छ । यो सबै पद्दति विश्वभरि त्यतिबेला आविष्कार गरिएको थियो, जतिबेला सार्वजनिक शिक्षा नै थिएन । १९ औँ शताब्दी अगाडि जे कुरा चाहिएको थियो ती सबै औद्योगिकीकरणका आवश्यकताहरू पूर्ति गर्न थालिएका थिए । त्यसैले यो तहगत प्रणाली दुई विचारधाराहरूमा आधारित छ । पहिलो, कामका लागि सबैभन्दा बढी चाहिने विषयहरू उपल्लो मान्ने । त्यसले गर्दा तपाईँलाई बच्चै हुँदा मृदुवचनले मनपर्ने कुराहरूबाट टाढा राखिन्छ किनभने तपाईँले ती काम गरेर कहिल्यै नोकरी पाउनुहुन्न । सङ्गीततिर नलाग, तिमी सङ्गीतकार बन्ने हैन; कलातिर नलाग, तिमी कलाकार बन्ने हैन भनेर सुझाव दिन्छौँ । तर अहिले आएर हेर्दा गम्भीर रुपले गलत सुझाव हुन् यी । यो सम्पूर्ण विश्व एउटा दुष्चक्रमा फँसेको छ । र, दोस्रो हो– प्राज्ञिक क्षमता, जसले हाम्रो बौद्धिक दृष्टिकोणमाथि साँच्चै प्रभुत्व जमाएको छ किनभने यो प्रणालीलाई विश्वविद्यालयहरूले उनीहरूको आफ्नै छविअनुसार रचना गरेका छन् । यसको परिणाम– धेरै प्रतिभाशाली, मेधावी, सिर्जनशील व्यक्तिहरूले आफूलाई महत्त्वहीन सोच्छन् ।

युनेस्कोका अनुसार, आउने ३० वर्षमा इतिहासको सुरूदेखि आजसम्म भएकाभन्दा धेरै व्यक्तिहरू शिक्षाबाट स्नातक हुनेछन् । धेरै व्यक्तिहरू र यो हामीले कुरा गरेका सबै चिजहरूको मिश्रण हो ­­ प्रविधि र यसले काममा ल्याएको रुपान्तरण, अनि जनसंख्या अध्ययन र जनसंख्याको विशाल वृद्धि । एकाएक, उपाधिहरूको केही मूल्य छैन । म विद्यार्थी छँदा, कलेजबाट पास हुनेबित्तिकै जागिर पाइन्थ्यो । यदि तपाईँको जागिर थिएन भने त्यो तपाईँले नचाहेर मात्र हुन्थ्यो । अनि मलाई, सोझै भन्दा, जागिरको इच्छा थिएन । तर अहिले उपाधि लिएका बच्चाहरू धेरैजसो भिडियो गेम खेल्न घर फर्किन्छन् किनभने पहिले बिए चाहिने जागिरलाई अहिले एमए चाहिन्छ अनि एमए चाहिनेलाई पीएचडी चाहिन्छ । यो प्राज्ञिक स्फीतिको एउटा प्रक्रिया हो र यसले पूरै शिक्षा पद्दति हाम्रो पैतालामुन्तिर खस्किराखेको छ भन्ने दर्शाउँछ । हामीले हाम्रो बौद्धिक दृष्टिकोणबारे समस्त रुपमा पुनर्विचार गर्नुपर्ने बेला आएको छ ।

हामीले बुद्धिका बारेमा तीनओटा कुरा जानेका छौँ । पहिलो, यसको विविधता । विश्वलाई हामीले यसलाई अनुभव गरेका हरेक तरिकाबाट हेर्दछौँ । हामी दृश्यमा सोच्छौँ, हामी आवाजमा सोच्छौँ, हामी सौन्दर्यमा सोच्छौँ । हामी अमूर्त ढाँचामा सोच्छौँ, हामी चालमा सोच्छौँ । दोस्रो, बुद्धि गतिशील छ । यदि तपाईँले मान्छेको दिमागको अन्तरक्रियालाई हेर्नुभयो भने हामीले हिजो त्यत्तिका प्रस्तुतिहरूमा सुनेजस्तो, बुद्धि आश्चर्यजनक रुपले अन्तरक्रियात्मक छ । दिमाग कक्षहरूमा विभाजित छैन । वास्तवमा, सिर्जनशीलता­ जसलाई मैले मूल्यवान मौलिक विचारहरू जान्ने प्रक्रियाको रुपमा परिभाषित गर्छु­ प्रायःजसो विभिन्न शास्त्रको वस्तुहरूलाई हेर्ने तरिकाहरुको अन्तरक्रियाबाट उत्पन्न हुन्छ ।

दिमाग जानिबुझिकनै­ वास्तवमा, दिमागका दुई भागहरूलाई जोड्ने कर्पस क्यालोसम नामको एउटा स्नायुरेसाको मुठो हुन्छ । यो महिलाहरूमा अलि मोटो हुन्छ । सायद यही कारण महिलाहरू एकैपटक धेरैओटा काम राम्ररी गर्न सक्छन् । यसबारे अनुसन्धान गर्नुपर्ने एउटा पाटो होला तर मैले आफ्नै जीवनबाट यो कुरा जानेको छु । तपाईंकी पत्नीले खाना पकाउँदैछिन् भने उनले फोनमा कसैसित कुरा गरिरहेकी हुन्छिन्, केटाकेटीहरूसित कुरा गरिराखेकी पनि हुन्छिन्, भूइँ लिपिराखेकी हुन्छिन् । यदि मैले पकाउँदै छु भने ढोका बन्द हुन्छ, केटाकेटीहरू बाहिर हुन्छन्, फोन बजिराखेको हुन्छ, उठाउनेतर्फ दिमाग गइरहेको हुँदैन । अनि पत्नी भान्सामा छिरिन् भने पनि मलाई दिक्क लाग्छ । आखिर यो फरकपना र विशिष्टता हामीमा पहिलेदेखि नै छ ।

अनि बुद्धिको बारेमा तेस्रो कुरा पनि छ, यो अलि पृथक् छ । मेरी एक जना साथी गिलियन लिनेलाई मैले अचानक सोधेँ, ‘गिलियन तिमीले नृत्य कसरी सिक्यौ ?’ किनभने उनी विश्वप्रसिद्ध महिला हुन् र ‘क्याट्स’ तथा ‘फ्यान्टम अफ द ओपेरा’ बनाएकी थिइन् । म बेलायतमा रोयल ब्यालेटको समितिमा बस्थेँ । उनीसँगको कुराकानीमा बताइन्, ‘म विद्यालय जान्थेँ तर मन पराउँदिन थिएँ । म निराश थिएँ ।’

सन् १९३० को दशकमा विद्यालय पक्कै पनि त्यति रोचक थिएनन्, जति हिजोआज छन् । विद्यालय प्रशासनले गिलियनका अभिभावकलाई लेख्यो, ‘गिलियनमा सिकाइ क्षमतामा समस्या छ । उनी एकाग्र हुन सक्तिनन् । उनी धेरै चञ्चल छिन् ।’

उनमा एडिएचडी भन्ने रोग थियो तर त्यो बेला त्यो रोगका बारेमा कसैलाई थाहा थिएन । जे होस्, गिलियनकी आमा छोरीको समस्याबारे मनोविज्ञसँग परामर्श गर्न गइन् । एउटा भव्य कोठामा गिलियनलाई एउटा छेउको कुर्सीमा लगेर बसाइयो अनि २० मिनेटसम्म उनलाई एक्लै राखियो । मनोचिकित्सकले गिलियनकी आमासँग गिलियनको विद्यालयमा भएका सबै समस्याहरूबारे कुरा गर्‍यो । कुराबाट के थाहा भयो भने आठ वर्षे गिलियनका साथीले उनलाई अल्मल्याएकाले उनको गृहकार्य सधैँ ढिलो हुन्थ्यो । आमासँग कुरा गरिसकेपछि अन्त्यमा ती मनोचिकित्सक गिलियनको छेउमा बसे र भने, ‘गिलियन, मैले तिम्रो आमाले भनेका सबै कुराहरू सुनेँ र म उहाँसँग एकान्तमा अलिबेर कुरा गर्न चाहन्छु । यहीँ पर्खिराख है ! हामी आइहाल्छौँ, धेरैबेर लाग्दैन ।’ अनि उनीहरू गिलियनलाई छाडेर गए तर उनीहरू कोठाबाट बाहिर जाँदा चिकित्सकले उसको टेबुलमा भएको रेडियो खोल्यो । कोठाबाहिर निस्किसकेपछि चिकित्सकले गिलियनकी आमालाई भन्यो, ‘अब गिलियनले नदेख्ने गरी कुनै कुनामा उभिएर उसका गतिविधि नियाल्नुस् ।’

चिकित्सक र आमा निस्कनेबित्तिकै गिलियन उभिई अनि सङ्गीतको तालसँगै हलचल गर्न थाली । केही मिनेटसम्म गिलियनको चालामाला हेरेर चिकित्सक र गिलियनकी आमा पुनः कोठामा फर्किए । चिकित्सकले आमातिर फर्केर भन्यो, ‘तपाईंकी छोरी बिरामी छैन । ऊ त विशिष्ट नर्तकी हो । उसलाई नृत्य विद्यालयमा लैजानुस्, ठूलो नाम र दाम कमाउने छे ।’

मैले गिलियनलाई सोधेँ, ‘त्यसपछि के भयो ?’

गिलियनले भनिन्, ‘नृत्य विद्यालयमा पठाउनुभयो । त्यो कति रमाइलो थियो भने म तपाईँलाई भन्नै सक्दिनँ । त्यहाँ मैजस्ता बालिका पाएर औधि खुसी भएँ । मैजस्ता स्थिर बसिराख्न नसक्नेहरूको भीडमा थिएँ म । सोच्नका लागि हल्लिनै पर्ने साथीहरुका बीचमा थिएँ म ।’

सोच्नका लागि हल्लिनु पर्नेहरू ! उनीहरू ब्याले नाच्थे, ट्याप नाच्थे, ज्याज नाच्थे, आधुनिक नाच्थे, समकालीन नाच नाच्थे । अन्ततः उनी रोयल ब्याले विद्यालयका लागि छानिइन्, उनी एकल कलाकार बनिन्, उनले रोयल ब्यालेमा गज्जबको काम पाइन् । अन्ततः उनी रोयल ब्याले स्कूलबाट स्नातक भएर आफ्नै ब्याले कम्पनी सुरु गरिन्­ द गिलियन लिने डान्स कम्पनी । जुन संसारकै सबैभन्दा सफल सांगीतिक थिएटरका रुपमा चिनिन्छ र यसैबाट उनी करोडपति कलाकार बन्न पुगिन् ।

अरु कोही अभिभावक भएको भए उनलाई नृत्य विद्यालय लैजानुभन्दा पनि अस्पताल लगी उपचार गर्थे होला अनि उनलाई हल्लने भएकाले जतिबेलै चुप लाग्न भनिन्थ्यो होला ।

हाम्रो शिक्षा पद्दतिले हाम्रो दिमागलाई यसरी खाइदिएको छ कि हामी एउटा प्रडक्ट (उत्पादन)मा सीमित हुन पुगेका छौँ । भविष्यमा यस किसिमको शिक्षाले हामीलाई काम दिने छैन । हामीले हाम्रा बच्चाहरूलाई जुन किसिमको शिक्षा दिँदैछौँ, त्यसको आधारभूत सिद्धान्तमाथि पुनर्विचार गर्नुपर्ने बेला आएको छ ।

जोनास साल्कको एउटा गज्जबको भनाइ छ, ‘यदि सबै कीराहरू पृथ्वीबाट हराउनुपर्ने भए, ५० वर्षभित्र पृथ्वीका सबै जीवहरू सकिन्छन् । अनि पृथ्वीबाट सबै मान्छेहरू हराए भने, ५० वर्षभित्र सबै जीवहरू फस्टाउने छन् ।’ वास्तवमा उनले ठीक भनेका हुन् ।

हामीले हाम्रो बुद्धिमता, सिर्जनशीलतालाई बुद्धिमानीपूर्वक प्रयोग गर्नेबारे सचेत हुनुपर्छ । हामीले यसो गर्ने एउटै मात्र तरिका भनेको हाम्रा सिर्जनशील क्षमताहरूलाई तिनीहरूका सम्पन्नताअनुसार हेर्ने र हाम्रा बच्चाहरूलाई तिनीहरूका आशाको रुपमा हेर्ने नै हो । हाम्रो काम उनीहरूको सम्पूर्ण पक्षलाई शिक्षित गर्नु हो, एउटै कुरामा मात्र ज्ञाता बनाउने होइन । सम्पूर्ण शिक्षाले मात्र आउँदो भविष्यका चुनौतीलाई सामना गर्न सक्छन् । हाम्रो काम भनेको उनीहरूलाई यसमा केही सहयोग गर्ने हो ।

 

(प्रख्यात लेखक तथा शिक्षाशास्त्री केन रोबिन्सनको गएको शुक्रबार २१ तारिखमा क्यान्सरका कारण निधन भएको छ । उनले लामो समय बेलायती शिक्षा प्रणाली सुधारका लागि काम गरेका थिए । विगत केही वर्षयता भने उनी अमेरिकामा सपरिवार बसोबास गरिरहेका थिए । उनका द एलिमेन्ट, फाइन्डिङ योर एलिमेन्ट, क्रिएटिभ स्कुल्स, आउट अफ योर माइन्ड्स, यु योर चाइल्ड एन्ड स्कुल लगायतका पुस्तक प्रकाशित छन् ।

यहाँ हामीले उनको बहुचर्चित शिक्षासम्बन्धी टिप्पणी ‘डु स्कुल्स किल क्रिएटिभिटी ?’ शीर्षकको टेडटकको अनुवाद दिएका हाैँ।)

प्रतिक्रिया
Loading...