आँशुको गन्ध हुँदैन तर इजरायली वैज्ञानिकहरुले स्त्रीको आँशु परैबाट पुरुषको नाकले सुँग्न सक्ने वा एक किसिमको रासायनिक संकेत दिने दाबी गरेका छन् । स्त्रीको आँशु यति शक्तिशाली हुन्छ कि पुरुषको आक्रोशलाई यसले शान्त गरिदिन्छ । जब मानिसले रुन जान्यो, यही रुने प्रक्रियाले मानव जातिलाई परिवर्तनका लागि भूमिका खेलेको हुनसक्ने समेत वैज्ञानिकहरुले बताएका छन् ।
स्त्रीका आँशुको शक्ति कति हुन्छ त उसो भए ? वैज्ञानिकहरु भन्छन्, ‘स्त्री रोदनका कारण पुरुषमा हुने आक्रोशलाई ४३.७ प्रतिशतले घटाउन मद्दत गर्छ ।
एउटा वैज्ञानिक प्रयोगमा स्त्री आँशु पुरुषहरुलाई सुँग्न दिइएको थियो । यो सुँगेपछि उनीहरुको चित्त निकै शान्त भएको पाइएको थियो । आँशुजस्तै देखिने अन्य सामान्य सलाइन पानी वा अन्य घोलहरुले भने त्यस्तै प्रभाव भने देखाउन सकेन ।
रोचक के छ भने, यस अध्ययनमा पुरुषको आँशु सुँग्दा पुरुषहरुमा कस्तो प्रभाव पर्न सक्छ भन्नेबारे अध्ययन गर्न नखोजिएको होइन तर पुरुष आँशु संकलन हुन सकेन । वैज्ञानिकहरु भन्छन्, ‘सम्भवतः पुरुषहरु रुन चाहँदैनन् । उनीहरुबाट जति प्रयास गरे पनि आँशु संकलन हुन सकेन । बरु महिलाहरु यस मामिलामा अलि उदार देखिए । उनीहरुले हामीलाई पर्याप्त आँशु दान गरे ।’
यस प्रयोगमा वैज्ञानिकहरु के सहमत भएका छन् भने चाहे पुरुष आँशु होस् या स्त्री आँशु, दुवैको हकमा एउटै परिणाम निस्कन्छ । किनभने, स्त्री–पुरुष एकै तरिकाले रुन्छन्, उनीहरु दुवैको तरिका फरक हुँदैन ।
प्लोस वन नामक जर्नलमा प्रकाशित अध्ययनमा लेखिएको छ, ‘चाल्र्स डार्विन आफ्नो अध्ययनका बेला मानिसको भावुकता र रोदनका बारेमा शोध गर्दा निकै दोधारमा परेका थिए । उनले त्यो बेला कठिन अवस्थामा मानिसले आँशु निकै निकै बगाउँछ ? यो आँशुले उसलाई आकार दिन र उसका भावलाई व्यवस्थित बनाउन कस्तो भूमिका खेल्यो भन्नेबारे गहिरिएर उनले बताउन सकेका थिएनन् ।’
कुनै स्त्री रोई भने, उसका बगिरहेका आँशु गालासम्म पुग्दा उसको पति वा प्रेमीले पिउने गर्छ । कहिलेकाहीँ आँशु बगेको डाम भएको गालालाई यसै बिनाकारण पुरुषले चुम्बन गर्दछ । यस किसिमको अन्तरक्रिया प्रायः संसारका हरेक संस्कृतिमा देख्न सकिन्छ । यस्ता गतिविधिले स्त्री÷पुरुषबीचको आत्मियता बढ्ने त छँदैछ तर किन त्यसो गर्छ भन्ने सन्दर्भमा गरिएको यो अध्ययनको निष्कर्ष छ, ‘आँशुमा भएका रसायन भलै उसले अहिले चाल पाउँदैन, तर मानिस चारखुट्टेबाट दुई खुट्टेमा परिणत हुँदै जाँदा उसले त्यसको गन्ध पाउँथ्यो । यसका भावनात्मक–संज्ञानात्मक विकासका क्रममा उसले यो गुण गुमाउन पुग्यो ।
यसअघि पनि यस्तै अध्ययनका क्रममा आँशुले निकाल्ने रसायनिक संकेतले पुरुषहरुको टेस्टोस्टेरोनको तह घटाउने निष्कर्ष निकालिएको थियो । स्त्री रोएपछि पुरुषको यौन आकांक्षाको तह निकै तल पुग्ने पनि सो अध्ययनले देखाएको थियो । सोही अध्ययनलाई टेक्दै इजरायलको रेहोभटस्थित वेजमान इन्स्टिच्युट अफ साइन्सले आँशुलाई मात्रै अलग्गै अध्ययन गर्दा पुरुषमा रहेको आक्रोशलाई यसले शान्त गर्छ कि गर्दैन भनी अध्ययन गरेको हो ।
यस अध्ययनमा अध्येताहरुले २२ देखि २५ वर्ष उमेर समूहका ६ महिलाका आँशु संकलन गरिएको थियो । आँशु झरेर गालाको बाटो हुँदै तल आएपछि बट्टामा संकलन गरिएको थियो ।
त्यसपछि विभिन्न समूहमा बाँडिएका २५ जना पुरुषहरुलाई एउटा खेलमा सहभागी गराइएको थियो । सो खेलमा उनीहरुले राम्रै पैसा हारेपछिको उत्तेजनामा आँशु र सलाइन पानीमध्ये एउटा सुँग्न दिइएको थियो । सुँग्नेहरुलाई यो स्त्रीको आँशु हो कि सलाइन पानी हो कि अन्य सामान्य पानी हो भन्ने थाहा दिइएको थिएन । यसका लागि पुरुषहरुलाई स्त्रीका आँशुले भिजेको एउटा कपडा सुँग्न दिइएको थियो । त्यस्तै अर्को समूहलाई सलाइन पानीले भिजेको कपडा सुँग्न दिइएको थियो ।
यो अध्ययनको निष्कर्ष निकाल्दै जर्नलले लेखेको छ, ‘आँशुले भिजेको कपडा सुँग्दा खेल हारेको रनाहा बोकेको पुरुषहरुमध्ये ४० प्रतिशतभन्दा बढी पुरुषको आक्रोश शान्त भएको थियो । यसअघि मुसामा पनि यस्तै किसिमको अध्ययन गरिएको थियो । मुसाले पनि आँशु सुँग्ने गरेको पाइएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।