बुकर पुरस्कारको छोटो सूची जारी गरिएको छ । संसारभरबाट प्राप्त भएका १६३ उपन्यासहरूमध्येबाट ६ वटा उपन्यासको छोटो सूची जारी गरिएको जनाइएको छ ।

यस पटक दुई वटा यस्ता उपन्यास सूचीमा परेका छन्, जसले पहिलो पटक उपन्यास लेखेका छन् । पहिलो पटकमै नामाङ्कित हुनेहरूमा चेतना मारू र जोनाथन स्कोफ्री रहेका छन् । मारूको वेस्टर्न लेन र स्कोफ्रीको इफ आई सर्भाइभ यु रहेका छन् ।

छोटो सूचीमा परेका लेखकहरूमा दुई जना आयरल्यान्डबासी, एक जना बेलायती, एक जना क्यानडेली र दुई जना अमेरिकी लेखक रहेका छन् ।

सन् १९६९ मा स्थापित बुकर पुरस्कार अंग्रेजी भाषामा लेखेर बेलायत तथा आयरल्यान्डमा प्रकाशित भएका पुस्तकहरूलाई दिइन्छ । पुरस्कृत उपन्यासलाई ५० हजार पाउन्ड प्रदान गरिन्छ भने छोटो सूचीमा परेका प्रत्येक उपन्यासलाई २ हजार ५ सय पाउन्ड प्रदान गरिन्छ ।

आउँदो नोभेम्बर २६ मा पुरस्कृत उपन्यास घोषित गरिने बताइएको छ । १३ वटाबाट छानेर यी ६ उपन्यासको सूची तयार पारिएको हो ।

सूची यस प्रकार छः

पल मुरेको द बी स्टिङ
पल हार्डिङको दिस अदर इडन
जोनाथन एस्कोफ्रीको इफ आई सर्भाइभ यु
चेतना मारूको वेस्टर्न लेन
पल लिन्चको प्रोफेट सङ
सारा बर्नस्टेनको स्टडी फर अबेडियन्स