ट्रि रूटः भ्यान गगको अन्तिम चित्रकला

एक सय ३० वर्षअघि भिन्सेन्ट भ्यान गग फ्रान्सको एभर्स-सर-ओइसे होटलस्थित उनको कोठामा सुतिरहेका बेला अचानक उठे र चित्र कोर्न बाहिर निस्किए । त्यो रात उनी होटल त फर्किए तर उनी गोली लागेर घाइते भएका थिए । त्यसको दुई दिनपछि जुलाई २९, १८९० मा उनको मृत्यु भयो ।

भ्यान गगका अध्येताः वुतर भान डेर भिन

त्यो बेला उनले बनाएको चित्र ‘ट्रि रूट्स’ कुन ठाउँमा बसेर, के हेरेर त्यो चित्र उतारे होलान् भन्ने जिज्ञासा कला मर्मज्ञहरूमा हुने गर्छन् । त्यस्तै जिज्ञासा फ्रान्सेली अध्येता वुतर भान डेर भिनलाई पनि नभएको होइन । यसका लागि उनले कयौँ वर्ष यसैमा घोत्लिए र अन्ततः त्यो ठाउँ पनि फेला पारिछाडे ।

भ्यान गग इन्स्टिच्युटका निर्देशकसमेत रहेका वुतरले राजधानी पेरिसभन्दा २० माइल टाढा बाटाको छेउमा पुगेर त्यो ठाउँ पत्ता लगाइछाडे, जहाँ भ्यान गगले ७० दिन बिताएका थिए र अन्तिम चित्र बनाएका थिए । सो कुरालाई नेदरल्यान्ड्सका शोधकर्ताहरूले पनि समर्थन जनाएका छन् ।

अध्ययनमा सारा ऊर्जा खर्चेका वुतर भन्छन्, ‘त्यो ठाउँ, रूखको जरा र वातावरण यस्तै हुनुपर्छ भन्ने मेरो व्याख्या थियो तर विज्ञजनहरूले त यही कुरा सत्य निस्कँदा भने आश्चर्य लागेको छ ।’

रूखको जरा भएको तस्बिर

वुतरले सन् १९०५ मा खिचिएको एउटा तस्बिरमा त्यही रूखको जरो देखिएपछि भने अध्येताहरू वुतरको निष्कर्षलाई आधिकारिक मान्यता दिएका हुन् । सो तस्बिर ९४ वर्षीया रूई डउबिङ्गीले निजी संकलनमा राखेकी थिइन् र सो तस्बिर सार्वजनिक गर्ने क्रममा फेला पारिएको थियो ।

सो रूख वर्षौंदेखि त्यहीँ रहिरहेको भए पनि कसैले ख्याल गरेका थिएनन् । सो जराको ४५ देखि ५० प्रतिशत भाग अझै पनि त्यहीँ रहेको वुतर बताउँछन् ।

धेरै वर्षअघिदेखि भ्यान गगको अन्तिम चित्र कुन हो भन्ने विषयमा निकै ठूलो चर्चा र दाबी हुने गर्छ । खासगरी भिसेन्टी मिनेलीले भ्यान गगको जीवनीमा आधारित निर्देशन गरेको फिल्म ‘लस्ट फर लाइफ’मा उनको अन्तिम चित्र ह्विटफिल्ड विद क्रोज हो भन्ने दाबी गरिएको थियो । त्यो चित्र बनाउँदाबनाउँदै उनी बौलाएको र आफैँलाई गोली हानेको दृश्य देखाइएको थियो ।

तर भ्यान गगकै ज्वाइँ एन्ड्रिज बोङ्गरले लेखेको अन्तिम चित्रबारेको एउटा आलेखमा भने जंगलको दृश्य, सूर्य र जीवन्तता रहेको बताएका थिए ।

भ्यान गगको प्रेरणा रूखको जरा

सन् २०१२ मा भ्यान गग म्युजियमले प्रकाशन गरेको एक आलेखमा भने भ्यान गगले अन्तिम कृतिका रूपमा ट्रि रूट्स सिर्जना गरेको निष्कर्ष निकालेको थियो । र, सोही निष्कर्षलाई अधिकांश विद्वानहरूले सहमति जनाएका छन् ।

सन् २०११ मा निस्किएको भ्यान गगको जीवनी ‘भ्यान गगः द लाइफ’का लेखकद्वय स्टिभन नेइफ र ग्रेगरी ह्वाइट स्मिथले भने भ्यान गग आफैँले गोली हानी आत्महत्या गरेका होइनन्, बरू होटल छेउमा बस्ने दुई जना युवाले पहिले भएको झगडाको परिणामस्वरूप गोली हानेको तर्क गरेका थिए ।

केहीले भने यो चित्रलाई विश्लेषण गर्दै भनेका छन्, ‘यो चित्र बनाइसकेपछि भ्यान गगले आत्महत्याको प्रयास गरे भन्नु उचित हुँदैन किनभने उनी जस्तो मानसिक अवस्थामा थिए, यो चित्र बनाइसकेपछि सारा तनावमुक्त भएको हुनुपर्छ ।’

भ्यान गग इन्स्टिच्युटका वुतर भने त्यसमा असहमति जनाउँछन्, भन्छन्, ‘भ्यान गगले यो चित्र बनाइसकेपछि पक्कै आत्महत्याको प्रयास गरे होलान् भन्ने अनुमान गर्न सकिन्छ किनभने चित्रमा एक किसिमको जीवनको सङ्घर्ष र मृत्युसँगको सङ्घर्ष प्रतिविम्वित हुन्छ । चित्रले त्यही इङ्गित भएको छ । उनले जीवनसँग अन्तिम बिदाई मागेको त्यहाँ प्रयुक्त रङले बताइरहेको छ ।’