२८
केही मिनेटपछि लुद्मिलाको सानो कोठाको अगेनाअगाडि बसेर आमा आगो ताप्दै थिइन् । लुद्मिलाले कालो पोसाक लगाएकी थिइन् र कम्मरमा छालाको पेटी बाँधेकी थिइन् । उनी बिस्तारै कोठामा ओहोरदोहोर गर्दै थिइन् । कोठामा उनका लुगाको सरसराहट र रोबदार आवाजको गुञ्जन सुनिँदै थियो ।
अगेनाबाट दाउरा चड्केको आवाज आउँदै थियो र आगाको लपेटाहरू हावालाई आफूतिर तान्दै गर्जिरहेका थिए । लुद्मिलाको आवाज सुगम प्रवाहसहित बग्दै थियो ।
“मान्छेहरू त्यत्ति खराब हुँदैनन्, जति मूर्ख हुन्छन् । उनीहरू अक्सर त्यही कुरा मात्र देख्छन्, जुन उनीहरूको सबैभन्दा नजिक हुन्छ र जुन अहिले तुरुन्तै पाउन सकिन्छ । तर फेरि नजिकैको देउताको हेला हुन्छ । साँच्ची भन्ने हो भने यदि जीवनपद्धति अर्कै भैदिएको भए, बढी सरल भैदिएको भए मानिसहरू बढी सुखी हुन्थे होलान्, जीवन बढी आनन्ददायक हुन्थ्यो । तर यी सबै कुराका लागि अहिले, वर्तमान कालमा निकै मेहनत गर्नु जरुरी छ … ।”
एक्कासि आमाअगाडि उभिँदै उनले अझ सानो स्वरमा यसरी भन्न थालिन्, मानौँ उनी स्पष्टीकरण दिँदै छिन् –
“मान्छेहरूसँग मेरो कमै भेटघाट हुन्छ, अनि जब कुनै मान्छे आइपुग्छ त बोल्याबोल्यै गर्न थाल्छु । अनौठो लाग्दो होला तपाईँलाई ? होइन ?”
“किन र ?” – आमाले भनिन् र लुदुमिलाले कहाँ पर्चा छाप्ने गर्दिरहिछन् भन्ने कुरा अनुमान लाउने कोसिस गर्न थालिन् । तर कोठामा उनले त्यस्ता शङ्कास्पद कुरा देखिनन् । कोठाका तीनै वटै झ्यालहरू सडकतिर खुल्थे । कोठामा एउटा काँच, किताब राख्ने एउटा दराज, केही मेचहरू र एउटा पलङ थियो । एउटा कुनामा हात धुने बाटा राखिएको थियो, अर्को कुनामा चुल्हो थियो । भित्तामा तस्बिरहरू टाँसिएका थिए । हरेक कुरा सफा सुग्घर थियो । चिटिक्क पारेर राखिएको थियो । यो सबै कुरामा घरपट्टिनीको कठोर व्यक्तित्वको छाप परेको थियो । कतै केही कुरा लुकाएर राखिएको छ भन्ने भान हुन्थ्यो । तर कहाँ हो भन्ने अन्दाज चाहिँ लाउन सकिन्थ्यो । उनले ढोकातिर हेरिन् । एउटा ढोकाबाट त उनी भित्र पसेकी थिइन्, त्यो ढोका बाहिर सानो बरन्डामा खुल्थ्यो । अगेनाअगाडि एउटा अर्को साँघुरो अग्लो ढोका थियो ।
“म कामले आएकी !” – आमाले भनिन्, लुद्मिलाले आफूलाई बडो ध्यानपूर्वक हेरिरहेकी देखेर आमा अलि अकमकिइन् ।
“मलाई थाहा छ ! काम नपरी मान्छेहरू मकहाँ आउने गर्दैनन् … ।”
आमाले लुद्मिलाको स्वरमा एउटा अनौठो कुरा भेट्टाइन् । उनको पातलो ओठमा हलुको मुस्कुराहट थियो । चस्मापछाडि उनमा धमिला आँखा चम्कँदै थिए । आमाले आफ्ना आँखा झुकाइन् र पाभेलका भाषण उनको हातमा राखिदिइन् ।
“यो सकेसम्म छिटो छापिदिनुपर्यो रे … ।”
त्यसपछि आमाले निकोलाइको गिरफ्तारीको सम्भावनाबारे बताइन् ।
लुद्मिलाले त्यो कागज चुपचाप आफ्नो पेटीमा घुसारिन् र मेचमा बसिन् । उनको चस्माको ऐनामा आगाका रातारात लपेटाहरू चम्कँदै थिए र निश्चल मुखाकृतिमा आगाको तातो प्रकाश नाच्दै थियो ।
“केही भएर मलाई गिरफ्तार गर्न आए भने त म ती पाजीहरूलाई गोलीले भुटिदिन्छु !” – आमाको कुरा सुनिसकेपछि लुद्मिलाले बिस्तारै तर दृढतापूर्वक भनिन् –
“मलाई हिंसाका विरुद्ध सङ्घर्ष गर्ने अधिकार छ । यदि म अर्कालाई सङ्घर्ष गर्ने आह्वान गर्छु भने आफैँले पनि सङ्घर्ष गर्नु मेरो कर्तव्य हो ।”
अब उनको अनुहारबाट आगाका लपेटाहरूको प्रतिबिम्ब गायब भयो र उनको मुद्रा सधैँजस्तो गम्भीर र कठोर देखियो ।
“कठै, कति दुःखी देखिन्छे !” – अचानक आमाको दिमागमा यो कुरा आयो र लुद्मिलाप्रतिको असीम सहानुभूतिले उनको हृदय भरियो ।
लुद्मिलाले अनिच्छापूर्वक पाभेलको भाषण पढ्न थालिन्, तर पढ्दै गएपछि उनको उत्सुकता पनि बढ्न थाल्यो र अन्त्यमा पुगेर उनी बडो अधीरतापूर्वक पानाहरू पल्टाउन थालिन् । पूरा भाषण पढिसकेपछि लुद्मिला तन्किँदै उभिइन् र आमा उभिएको ठाउँमा आइन् ।
“धेरै राम्रो भाषण छ !” – उनले भनिन् । एक छिनसम्म उनी टाउको झुकाएर चुपचाप सोचिरहिन् ।
“म अहिले तपाईँको छोराबारे कुरा गर्न चाहन्थेँ – ऊसँग व्यक्तिगत रूपमा मेरो कहिल्यै भेट भएको थिएन, फेरि मलाई बिछोडको कुरा पनि गर्न मन लाग्दैन । मलाई थाहा छ, जब कुनै प्यारो मान्छेलाई कतै धेरै टाढा निर्वासित गरिन्छ तब कति पिर पर्छ । तर म अहिले सोच्दै थिएँ, के साँच्ची तपाईँलाई यस्तो छोराकी आमा भएकोमा धेरै खुसी लागेको छ … ?”
“असाध्यै !” – आमाले जवाफ दिइन् ।
“अलि डर पनि त लाग्दो होला, होइन र ?”
“अब लाग्न छाड्यो … ।” – आमाले गम्भीरतापूर्वक जवाफ दिइन् ।
लुद्मिला आफ्नो गहुँगोरो हातले चिप्लो पारेर कोरिएको कपाल मिलाउँदै झ्यालबाट हेर्न थालिन् । उनको गालामा एक अस्पष्ट छाया देखा प¥यो । हुन सक्छ, यो उनी आफ्नो मुस्कुराहट दबाउने कोसिस गर्दै थिइन् ।
“म अहिले अक्षरहरू ठिक पारिदिन्छु, तपाई पल्टनोस् । आज तपाईँका लागि धेरै कठिन दिन थियो, थाक्नुभएको होला । यी यहाँ खाटमा पल्टनोस्, म सुत्दिनँ । हुन सक्छ राती मद्दत गर्न ब्युँझाउँला तपाईँलाई … निदाउनुअगाडि बत्ती निभाउनुहोला ।”
यति भनेर लुदमिलाले अगेनामा दुई टुक्रा दाउरा थपिन्, तन्किएर उभिइन्, अगेनाअगाडिको त्यो साँघुरो ढोकाभित्र पसिन् र भित्रबाट कसेर छेस्किनी लगाइन् । आमा अर्को कोठाभित्र पस्न थालेकी लुद्मिलालाई हेर्दै लुगा फेरिरहेकी थिइन् र उनीबारे नै सोच्दै थिइन् ।
“बिचरीलाई कुनै कुराको धेरै चर्को पिर छ … ।”
आमा असाध्यै थाकेकी थिइन्, तर हृदयमा एक अनौठो शान्ति थियो । उनलाई लाग्दै थियो, सबै करा कुनै कोमल मन्दप्रकाशले आलोकित छ र यही प्रकाश उनको आत्मामा पनि फैलिएको छ । अगाडि पनि उनलाई यस्तै शान्तिको अनुभव हुन्थ्यो, सधैँ चर्को आवेगपछि उनको हृदयमा यस्तै भावना आउँथ्यो, अगाडि यस अनुभूतिले उनलाई अलि तर्साउँथ्यो पनि तर अहिले यसले खालि उनको आत्मालाई अझ विशाल बनाइदिएको थियो र उनको आत्मामा एक महान् शक्तिशाली भावनाको बल पैदा गरिदिएको थियो । बत्ती निभाएर उनी चिसो बिछ्यौनामा बसिन्, अनि ओढ्ने ओढेर आरामसाथ पल्टिन् र छिटै गहिरो निद्रामा डुबिन् ।
बिहान आँखा खोल्दा उनले देखिन्, शीतकालीन निर्मल दिनको शीतल फिका प्रकाशले कोठा टम्म भरिएको छ । एउटा हातमा किताब लिएर कौचमा पल्टेकी लुद्मिलाले मुस्कुराउँदै उनलाई हेरिन् । आमालाई आज लुद्मिला एकदम बदलिएकी जस्तो लाग्यो ।
“धत्तेरि ! – आमाले असजिलो मान्दै भनिन् – “म पनि कस्तो मान्छे रहिछु ! के टाइम भयो होला अहिले, हँ ?”
“नमस्कार !” – लुदुमिलाले भनिन् – “दश बज्न आँट्यो । उठ्नोस् चिया पिउनुपर्यो ।”
“किन मलाई नउठाउनुभएको ?”
“उठाउन खोजकी थिएँ, तपाईँको नजिक पनि गएकी थिएँ । हेर्छु, यति मजाले सपनामा मुकुराइरहनुभएको थियो … ।”
उनी फुर्तीसाथ कौचबाट उठिन् र आमाको पलङनेर गएर झुकिन् । आमाले त्यस आइमाईका आँखामा एक त्यस्तो भावना देखिन्, जुन आमालाई धेरै नजिकको, परिचित र प्रिय लाग्यो ।
“तपाईँको निद्रामा बाधा दिन मन लागेन मलाई । के थाहा र कुनै मीठो सपना देख्दै हुनुहुन्थ्यो कि … ।”
“होइन, कुनै सपना देखिनँ ।”
“केही फरक पर्दैन ! तपाईँको मुस्कुराहट मलाई असाध्यै मन पर्यो । यस्तो शान्त, दयालु … एकदम सर्वव्यापी !”
लुद्मिला हाँसिन्, उनको हाँसो मखमलजस्तै कोमल थियो ।
“तपाईँको मुस्कुराहट देखेर म तपाईँबारे सोच्न थालेँ कुनै ठुलो पिर परेका छ तपाईँलाई ?”
आमाका आँखीभौँ फड्कन थाल्यो र उनी चुपचाप सोच्न थालिन् ।
“अवश्य परेको होला । धेरै गाह्रो होला तपाईँलाई !” – लुद्मिलाले भनिन् ।
“खोइ, म केही भन्न सक्दिनँ !” – आमाले बिस्तारै भनिन् – “कहिलेकाहीँ त पिर लाग्न थाल्छ । तर यति धेरै अनुभूतिहरू छन्, सबै कुरा यति गम्भीर, यति अनौठो लाग्छ, सबै कुरा यति छिटो छिटो बदलिन्छन् … ।”
सधैँजस्तो अहिले पनि उनको हृदयमा उत्साहको बाढी उर्लियो । दिमागमा विचार र कल्पनाहरूको भीड लाग्दै थियो । उनी उठिन् र पलङ बसिन्, अनि आफ्ना विचार र कल्पनाहरूलाई शब्दमा बटुल्न थालिन् ।
“जीवनक्रम चल्दै छ, सबै कुरा एकै लक्ष्यतिर बढ्दै छ हो, थुप्रै कठिनाइहरू छन् । मान्छेहरू दुःखी छन् । उनीहरूलाई सताउँछन्, असाध्यै सताउँछन् र थुप्रै सुख सुविधाहरूबाट वञ्चित छन् । यी सबै कुरा देख्दा असाध्यै दुःख लाग्छ !”
लुद्मिलाले आफ्नो टाउको पछिल्तिर घुमाउँदै आमालाई बडो प्रेमपूर्वक हेरिन् ।
“तर यी सबै कुरा त तपाई आफूबारे भएन ।”
आमाले लुद्मिलालाई हेरिन्, बिछ्यौनाबाट उठिन् र लुगा लाउँदै भन्न थालिन् –
“जब मान्छेलाई यसको माया लाग्छ, त्यसको पनि माया लाग्छ, सबैका लागि डर लाग्छ, सबैको माया लाग्छ, तब कसरी उसले सबैबाट अलग भएर आफूबारे सोच्न सक्छ ? कसरी उसले आफूलाई अरूबाट अलग राख्न सक्छ ?”
आमा एक छिनसम्म आधा लुगा मात्र लगाएर बिच कोठामा त्यत्तिकै विचार मग्न भएर उभिइरहिन् । उनले अनुभव गरिन्, अब उनी पहिलेकी आइमाई छैनन्, जसको हृदयमा आफ्नो छोराका लागि सधैँ भयभीत र आतङ्कित रहन्थ्यो, जो आफ्नो छोराको बचावटबारे मात्र सोचिरहेकी हुन्थिन् । अब त्यस आइमाईको कुनै अस्तित्व बाँकी रहने । उनी कतै बेपत्ता भइन्, कतै टाढा लागिन्, अथवा आफ्नो भावावेशको ज्वालामा डढिन् । अब त्यस ज्वालामा तातिएर उनको आत्मा निखारिएको छ र त्यसमा एक नयाँ शक्तिको सञ्चार भएको छ । उनले आफ्नो हृदय छामिन्, त्यसको स्पन्दन सुनिन् । आमालाई डर लाग्दै थियो, कहीँ ती पुराना आशङ्काहरू त फर्कने होइनन् ।
“के कुरा सोच्न थाल्नुभो ?” – आमाको नजिक आउँदै लुद्मिलाले बडो प्रेमपूर्वक सोधिन् ।
“थाहा छैन !” – आमाले जवाफ दिइन् ।
दुवै जना एक–दोस्रालाई हेरेर चुपचाप मुस्कुराइरहे । एक छिनपछि लुद्मिलाले कोठाबाट बाहिर निस्कँदै भनिन् –
“खोइ, मेरो सामोभार के गर्दै छ हँ ?”
आमाले झ्यालबाट हेरिन् । सडकमा चिसो भए पनि चारैतिर टन्न घाम लागेको थियो । अहिले उनको हृदयमा पनि त्यस्तै उज्यालो र न्यानो थियो । उनी सबै विषयमा कुरा गर्न चाहन्थिन्, धेरै बेरसम्म कुरा गर्न चाहन्थिन्, उनको आत्मामा अहिले जे जति कुरा थियो र जहाँ अहिले सूर्यास्तअगाडिको रक्तिम किरणजस्तै कुनै ज्योति जगमगाइरहेको थियो, उनको हृदयमा ती सबैका लागि त्यस अज्ञात व्यक्तिप्रति कृतज्ञताको एक अस्पष्ट भावना थियो । धेरै दिनपछि उनको हृदयमा ईश्वरको प्रार्थना गर्ने इच्छा पैदा भयो । उनको दिमागमा कसैको युवा अनुहार बिजुलीजस्तो चम्कियो र कसैको स्पष्ट आवाज सुनिन्, ‘उहाँ पाभेल भ्लासोभकी आमा हुनुहुन्छ … !’ उनले सासाको आल्हाद र प्रेमको भरिपूर्ण आँखा देखिन्, रिबिनको कालो आकृति देखा पर्यो, अनि छोराको काँसको मूर्तिजस्ता सौम्य मुखाकृति – निकोलाइको लजालु आँखा झिमझिम गर्दै थिए । अकस्मात् यी सबै एक गहन सुस्केरामा डुबे र इन्द्र धनुषजस्तो एक अत्यन्त पातलो बादलको रूप लिन पुगे, अब त्यो इन्द्र धनुष उनका समस्त विचारहरूमाथि फैलिँदै थियो र उनी एक अपार शान्ति अनुभव गर्दै थिइन् ।
“निकोलाइ ठिकै भन्दै थियो !” – ‘लुद्मिलाले कोठाभित्र पस्दै भनिन् – “गिरफ्तार भएछ । तपाईँले भन्नुभएजस्तै मैले केटालाई हेर्न पठाएको थिएँ । चोकमा धेरै पुलिसहरू जम्मा भएका रहेछन् । एक जना पुलिस ढोकापछाडि लुकेर बसेको रहेछ । चारैतिरबाट जासुसहरूले घर घेरिराखेका रहेछन् । केटाले चिनेको रहेछ ती जासुसहरूलाई ।
“बिचरा !” आमाले टाउको हल्लाउँदै भनिन् ।
उनले सुस्केरा हालिन् तर उनको हृदयमा कुनै पीडा थिएन र यो देख्दा उनी आफैँलाई आश्चर्य लाग्न थाल्यो ।
“पछिल्लो समय ऊ यहाँ सहरका मजदुरहरूलाई पढाउने गर्थ्यो । साँच्ची भन्ने हो भने ऊ समाइने बेला भैसकेको थियो !” – लुद्मिलाले शान्त स्वरमा भनिन्, तर उनका आँखीभौँ तन्किएका थिए – “साथीहरूले त कतै भाग्ने सल्लाह दिएका थिए, तर उसले मानेन । मलाई त लाग्छ, यस्तो कुरामा मान्छेलाई सम्झाउनु बुझाउनको सट्टा जबरजस्ती पढाउने गर्नुपर्छ … ।”
ढोकामा कालो कपाल र राता गाला भएको एक जना केटो उभिएको थियो । उसका नीला आँखा असाध्यै राम्रा थिए । उसको नाक अलि उठेको थियो ।
“सामोभार ल्याए हुन्छ ?” – केटाले मसिनो स्वरमा सोध्यो ।
“कृपया ल्याइदेऊ सेर्गेइ !” – फेरि आमातिर फर्कँदै भनिन् – “यसलाई मैले पालेकी छु ।”
आज आमालाई लुद्मिला अलि फेरिएकी जस्ती लागिन् । आज उनको स्वभाव बढी सिधासादा र घनिष्ठ लाग्थ्यो । उनको सुडौल शरीरमा बढी लचक र पहिलेभन्दा बढी सौन्दर्य र स्फूर्ति देखिन्थ्यो । फिका अनुहार बढी कोमल भएको थियो । रातभरि काम गरेकीले उनका आँखामुनिको कालो घेरा बढी गाढा देखिन्थ्यो र उनलाई हेर्दा लाग्थ्यो, उनको आत्मा धनुषको ताँतीजस्तो तन्किएको छ ।
केटाले सामोभार लिएर आयो ।
“सेर्गेइ, लौ चिनापर्ची गर ! पेलागेया निलोभ्ना, त्यही मजदुरकी आमा, जसले हिजो निर्वासन दण्ड पाएको थियो ।”
सेर्गेइले केही नबोली झुक्दै आमासँग हात मिलायो र कोठाबाट बाहिर निस्क्यो । एक छिनपछि एउटा पाउरोटी लिएर फर्क्यो र टेबुलअगाडि आफ्नो ठाउँमा बस्यो । चिया खन्याउँदै लुद्मिलाले आमालाई विश्वास दिलाउन थालिन्, त्यस बेलासम्म उनले घर फर्कनुहुन्न जबसम्म थाहा हुँदैन, पुलिस कसको नाकमा बसेको रहेछ ।
“हुन सक्छ, तपाईँलाई पर्खेर बसेका होलान्, भेट्टाए भने समातेर सोधपुछ गर्ने गर्न सक्छन् … ।”
“गरुन् !” – आमाले भनिन् – चाहन्छन् भने गिरफ्तार पनि गर्न सक्छन् – कुन ठुलो हानि हुन्छ र ! खालि पहिले पाभेलको भाषण छापेर ठाउँ ठाउँमा पुर्याउन पाए हुन्थ्यो ।”
“अक्षर त मिलाइसकेकी छु । भोलिसम्म सहरमा मजदुर बस्तीमा बाँड्न पुग्ने गरी पर्चाहरू तयार भइसक्नेछन्… तपाई नातासालाई चिन्नुहुन्छ ?”
“चिन्छु, किन नचिन्नु र !”
“उसैकहाँ पुर्याइदिनुहोला … ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।