प्रख्यात लेखक मिलन कुन्देराको बुधबार निधन भएको छ । उनका लेखनीले चेकोस्लाभाकियाका तानाशाही सरकारलाई सधैँ झस्काइरहने गर्थ्यो ।

उनी फ्रान्सको पेरिसमा लामो समयदेखि निर्वासनमा बसिरहेका थिए । उनी ९४ वर्षका थिए ।

उनको निधनमा युरोपेली संसद्ले मौन धारण गरेको थियो ।

चेक गणतन्त्रमा जन्मिएका उनले पछि फ्रान्सेली नागरिकता लिएका थिए । उनको प्रख्याति चुलिएपछि उनलाई चेक गणतन्त्रले पुनः नागरिकता दिलाएको थियो ।

थोरै शब्दमा धेरै व्यंग्य कस्ने उनको लेखनीका कायल संसारभर उनका प्रशंसक छन् । उनका उपन्यासहरू संसारभरका एक दर्जन भाषामा अनुदित भएका छन् ।

उनको लेखनीका कारण चेक प्रशासनले साह्रै दुःख दिएका कारण संसारभरका लेखकहरूले छद्मनाममा लेख्न पाउनुपर्ने कुराको पैरवी गर्थे ।

कुन्देराको प्रख्यात उपन्यासमध्ये द अनबियरेबल लाइटनेस अफ बिइङ मानिन्छ । सो उपन्यासलाई सन् १९८८ मा फिल्मसमेत बनाइएको थियो ।

चेक गणतन्त्रले उनलाई विद्रोही ठान्थ्यो । उनको त्यति प्रख्यात उपन्यासलाई सन् २००६ मा मात्र चेक भाषामा अनुदित गरिएको थियो । पछि सो उपन्यासले चेक गणतन्त्रको स्टेट अवार्ड फर लिटरेचर प्राप्त गर्यो ।

उनी सीमारहित संसारको परिकल्पना गर्थे ।

कुन्देराले जीवनमा एक पटक मात्रै जन्मभूमिको यात्रा गरे । सन् २००८ मा उनलाई सम्मानका लागि चेक सरकारले निमन्त्रणा गरेको थियो ।

कुन्देराले कहिल्यै पनि चमकदमकतिर ध्यान दिएनन् । एकान्तिक जीवन नै उनले रूचाइरहे । उनकी पत्नी वेराले उनका अधिकांश कामहरू गर्थिन् । सेक्रेटरी, अनुवादक लगायतका सारा जिम्मा वेराको हातमा थियो ।