२०
भान्सा कोठाको ढोका जोडले खट खटाएको आवाजले निद्रा टुट्यो । कसैले बडो धैर्यपूर्वक लगातार खट खटाइरहेको थियो । अझ अँध्यारै थियो र शून्यतालाई भङ्ग गर्दै निस्किरहेको यस आवाजले वातावरणलाई डरलाग्दो बनाइरहेको थियो । हतरपतर लुगा लगाएर आमा भान्सा कोठामा पुगिन् र ढोकामा उभिएर सोधिन्
“को हँ ?”
“म !” – कसैको अपरिचित स्वर सुनियो ।
“को ?”
“ढोका खोल्नोस् न !” – बाहिर उभिएको मानिसले बिस्तारै अनुरोधपूर्ण स्वरमा भन्यो ।
आमाले छेस्किनी फुस्काइन् र गोडाले धकेलेर ढोका खोलिदिइन् । इग्नात भित्र पस्यो ।
“झुक्किन त झुकिएनछु ।” उसले खुसी हुँदै भन्यो । उसको कम्मरसम्म हिलोका छिटाहरू परेका थिए, अनुहार फुस्रो थियो र आँखा गाडिएका थिए । मुन्द्रा परेको कपाल टोपीबाट चारैतिर निस्किरहेको थियो ।
जवाफ सुनेर केटालाई अचम्म लाग्यो ।”
“कसरी थाहा पाउनु भो ?” – आँखा झिमिक्क पार्दै उसले सोध्यो । आमाले छिटो छिटो छोटकरीमा सबे कुरा बताइदिइन् ।
“अनि हाम्रा ती दुई जना कामरेडहरू पनि पक्डिए त ?”
“उनीहरू त्यहाँ थिएनन् । पल्टनियाँ मान्छे भएकाले हाजिर हुन गएका थिए । काका मिखाइलसमेत गरेर जम्मा पाँच जना पक्राउ परे ।”
उसले गहिरो सास फेर्यो र खिसिक्क हाँस्दै भन्यो –
“म एक जना मात्रै बचेँ, मलाई पनि खोजिरहेका होलान् ।”
“तिमी कसरी फुत्किन भ्यायौ त ?” – आमाले सोधिन् । कोठाको ढोका बिस्तारै खुल्यो ।
“म ?” – बेन्चमा बस्दै चारैतिर आँखा घुमाएर उसले भन्यो ।
“उनीहरू आइपुग्नुभन्दा एक–दुई मिनेटअगाडि बन पाले आएर झ्यालमा खट खटाउँदै भन्यो – “भागिहाल है, समात्न आउँदै छन् !”
ऊ बिस्तारै हाँस्यो र कोटको फेरले मुख पुछ्यो ।
“तर काका मिखाइल एक रत्ती तर्सेनन् । इग्नात तुरुन्त सहर गइहाल । बूढी आइमाईलाई त सम्झन्छस्, होइन ?” सानो कागजमा केही लेख्दै उनले मलाई भने – “ला, यो लिएर गइहाल् !” म झाडी झाडी लुक्दै घस्रिन थालेँ । सुन्छु, उनीहरू आउँदै छन् । थुप्रै थिए, चारैतिरबाट बुट बजाउँदै राक्षसहरूजस्तो अघि बढ्दै थिए । उनीहरूले हाम्रा कारखानालाई घेरा हाले । मचाहिँ झाडीमा चुपचाप लुकेर बसिरहेँ । मेरो नजिकैबाट उनीहरू अघि बढे, तर देखेनन् । मचाहिँ सुइँकुच्चा ठोकिहालेँ । दुई रात एक दिन कतै थकाइ नमारीकन हिँड्याहिँड्यै छु ।”
उसको अनुहारले जनाउँथ्यो, ऊ आफ्नो सफलतामा दङ्ग छ । उसका कैला आँखाहरूमा मुस्कान झल्किरहेको थियो र पुष्ट राता ओठहरू फडफडाइरहेका थिए ।
“म तिम्रा लागि चिया बनाइदिन्छु ।” – सामोभार समात्दै आमाले हतारिएर भनिन् ।
“पहिले चिठी त लिइहाल्नोस् !”
उसले बडो कठिनाइपूर्वक खुट्टा उचाल्यो र मुख बिगार्दै बेन्चमा राख्यो ।
यत्तिकैमा निकोलाइ ढोकामा देखा पर्यो ।
“सलाम कमरेड !” – आँखा साँघुरो पार्दै उसले भन्यो – “आउनोस् त, म तपाईँलाई मद्दत गर्छु ।”
ऊ निहुरियो र इग्नातको खुट्टामा बेरिएको फोहोर कपडा छिटो छिटो फुकाल्न थाल्यो ।
“भो, भो पर्दैन ।” – उसले बिस्तारै भन्यो र खुट्टा पछि सार्दै अचम्म मानेर आँखा झिमझिम पार्दै आमातिर हेर्न थाल्यो ।
“उसको खुट्टा भोद्काले मालिस गरिदिनुपर्छ ।” – आमाले उसको हेराइतर्फ कुनै ध्यान नदिएर भनिन् ।
“हो ।” – निकोलाइले सहमति जनायो ।
इग्नात असजिलो मानेर बडबडाउँदै थियो ।
निकोलाइले चिठी भेट्टायो र कच्याककुचुक परेको खैरो कागजको टुक्रा टिपेर आँखानजिक ल्याउँदै पढ्न थाल्यो ।
“आमा, हाम्रो कामतर्फ ध्यान दिन नछोड्नुहोला ! अग्ली मेम साहेबलाई भनिदिनुहोला, उनले हाम्राबारे अझ बढी लेख्ने गरुन्, बिदा ! – रिबिन ।”
निकोलाइले चिठी समातेको हात बिस्तारै तल झार्यो ।
“अति राम्रो !” – उसले बिस्तारै अस्पष्ट स्वरमा भन्यो ।
इग्नातले आफ्नो नाङ्गा खुट्टाका फोहोर औँलाहरू बिस्तारै चलमलाउँदै उनीहरूतिर मुख फर्कायो । आमा आँसुले भिजेको अनुहार लुकाउँदै बाटामा पानी लिएर केटोनजिक आइन् र भुईँमा बस्दै उसको खुट्टातर्फ हात बढाइन् ।
“के गर्न आँट्नुभएको यस्तो ? पर्दैन !” – झटपट बेन्चमुनि खुट्टा लुकाउँदै झस्केको स्वरमा इग्नात चिच्यायो ।
“छिटो खुट्टा यता दिइहाल !”
“म तुरुन्तै स्पीरिट लिएर आउँछु ।” – निकोलाइले भन्यो ।
केटो झन्झन् खुट्टा भित्र घुसार्दै बडबडाइरहेको थियो ।
“कस्तो मानिस तपाईँ, अस्पताल हो र ?”
आमा उसको अर्को खुट्टामा बाँधेको कपडा खेल्न थालिन् ।
इग्नातले जोडले नाक बजायो र गर्दन घुमाउँदै उनलाई माथिदेखि तलसम्म हेर्न थाल्यो । उसका ओठहरू हाँसो उठ्दो तरिकाले खुलेका थिए ।
“तिमीले थाहा पायौ ?” – आमाले काँपेको स्वरमा भनिन् – “उनीहरूले मिखाइल इभानोभिचलाई खुब कुटे … ।”
“हो र ?” – केटाले तर्सदै बिस्तारै भन्यो ।
“हो, पुलिसले निकोल्स्कोए ल्याइपुर्याउँदा उसको हालत धेरै खराब भैसकेको थियो । त्यहाँ पनि पुलिसका सर्जेन्ट र थानेदारले खुब पिटे । मुखैमुखमा कुटे, लात हाने, साह्रा जीउ नै रगतमा लतपत भएको थियो ।”
“कुट्नमा त उनीहरूलाई कसले उछिन्न सक्छ र !” – केटो आँखीभौँ खुम्च्याउँदै भन्यो । उसको कुम काँप्यो – “मलाई त पुलिस भनेपछि राक्षसभन्दा पनि बढी डर लाग्छ । अनि किसानहरूले कुटेनन् त ?”
“थानेदारको आदेश मानेर एक जनाले कुट्यो । अरूले त केही पनि गरेनन् । बरु उसैको पक्ष लिएर कुट्न पाइन्न भन्दै थिए… ।”
“हो बा ! अब त किसानहरूले पनि बुझ्न थालिसकेका छन्, को कसको निमित्त कहाँ उभिएको छ भन्ने कुरा बुझ्न थालिसकेका छन् ।”
“त्यहाँ पनि बुझ्ने मानिसहरू छन् ?”
“कहाँ मात्र छैनन् र ? अभावले सबैलाई अँठ्याएको छ ! जताततै छन्, खालि भेट्टाउन मात्र गाह्रो छ ।”
निकोलाइ स्पिरिटको सिसी लिएर आइपुग्यो र सामोभारमा कोइला थपेर केही नबोली बाहिर निस्क्यो ।
“यो साहेब डाक्टर हो, आमा ?” – बाहिर जान लागेको निकोलाइतिर उत्सुकतापूर्वक हेर्दै इग्नातले बिस्तारै सोध्यो ।
“यहाँ कोही पनि साहेब छैनन् – हामी सबै कामरेड !”
“मलाई त आश्चर्य लाग्छ !” – इग्नातले शङ्कालु भावले खिसिक्क हाँस्दै भन्यो ।
“के कुरामा आश्चर्य लाग्यो ?
“त्यस्तै, कुनै विशेष होइन । हेर्नोस् न, एकातिर त्यस्ता मान्छेहरू छन्, जो हाम्रो नाक भाँचिने गरी कुट्छन् । अर्कातिर त्यस्ता मानिसहरू छन्, जो हाम्रो खुट्टा पनि धोइदिन तयार छन् । यी दुई थरीबिचका मानिसहरू कस्ता होलान् ?”
कोठाको ढोका खुल्यो र दैलोमै उभिएर निकोलाइले भन्यो –
“बिचमा त्यस्ता मानिसहरू छन्, जो यी नाक फुटाल्नेहरूको खुट्टा मल्छन् र जसको नाक फुटेको छ, उनीहरूको रगत चुस्छन् । यही हो, बिचमा बस्नेको ताल ।”
इग्नातले आदरको भावले उसतर्फ हेर्यो र केही बेर चुप लागिसकेपछि भन्यो –
“हो, मलाई पनि त्यस्तै लाग्छ !”
ऊ उठ्यो र खुट्टाले भुईँमा मचक्क टेक्दै दुई–चार कदम यताउता गर्यो ।
“खुट्टै नयाँ साटेर ल्याएजस्तो भो । धन्यवाद छ तपाईँहरूलाई !” – उसले भन्यो ।
यसपछि उनीहरू खाना खाने कोठामा बसेर चिया पिउन थाले ।
इग्नात गम्भीर स्वरमा आफूबारे बताउँदै थियो –
“म हाम्रो पत्रिका बाँड्ने काम गर्थे । त्यसैले म जति हिँड्न परे पनि हिँड्न सक्छु ।”
“कत्तिको पढ्छन् हाम्रो पत्रिका ?” – निकोलाइले सोध्यो ।
“लेखपढ गर्न जान्ने सबैले पढ्छन् । धनी मानिसहरूसमेत पढ्ने गर्छन् । अवश्य उनीहरू हामीसँगबाट लिँदैनन् यी पत्रिकाहरू … । उनीहरूले नि बुझेका छन्, किसानहरूले प्राणैको बाजी थापेर भए पनि जमिनदारहरूबाट जमिन खोसेर लिन्छन् । यसको मतलब जमिनको बाँडफाँड पनि आफैँ गर्न थाल्नेछन् । यसपछि न जमिनदार नै बाँकी रहनेछ, न त जमिनबिनाको किसान नै । नत्र भने किन यी सबै झन्झट सहनुपर्थ्यो र ?”
ऊ अलि चिढिएजस्तो देखिन्थ्यो । उसले सशङ्क, प्रश्न सूचक दृष्टिले निकोलाइतिर हेर्यो । निकोलाइ चुपचाप मुस्कुराइरहेको थियो ।
“यदि आज हामीले पूरा दुनियाँ मिलेर लड्यौँ र जित्यौँ भने पनि भोलि फेरि उही एउटा धनी र अर्को गरिब हुने त हो । यसो भए हामीले लड्नै केलाई पर्यो र । भइहाल्यो, धन्यवाद छ । तपाईँहरू हामीलाई मूर्ख बनाउने कोसिस नगर्नोस् । हामीलाई राम्ररी थाहा छ, धन भन्ने कुरा सुख्खा बालुवाजस्तै हो । एकै ठाउँमा चुप लागेर बस्न सक्दैन । भोलि फेरि चारैतिर छरिएर गइहाल्छ । त्यसो भए के कामले चाहियो र हामीलाई यी सबै कुरा !”
“ठिक छ, ठिक छ, ल नरिसाऊ !” – आमाले ठट्यौली स्वरमा भनिन् ।
“बरु रिबिन समातिएको कुरा लेखिएको यो पर्चा कसरी सकेसम्म छिटो त्यहाँ पुर्याउने हो ।” – निकोलाइले विचार मग्न हुँदै भन्यो ।
इग्नातका कान ठाडा भए ।
“त्यस्तो पर्चा छ र ?” – उसले सोध्यो ।
“छ !”
“मलाई दिनोस्, म पुर्याइदिन्छु ।” – केटाले हात मल्दै भन्यो ।
आमाले उसतिर नहेरीकन हाँसिन् र भनिन् –
“तिमी थाक्या छौ । त्यसमाथि पनि डर लाग्छ भन्दै थियौ ।”
आफ्ना फराकिला हातले टाउकाको मुन्द्रा परेको कपाल मुसार्दै इग्नातले शान्त स्वरमा भन्यो –
“डरको कुरा बेग्लै, कामको कुरा बेग्लै । किन हाँस्नुहुन्छ, धत्तेरि कस्तो मान्छे तपाई पनि !”
“कस्तो उल्लू बच्चो रहेछ !” – उसको कुरा सुनेर खुसी हुँदै आमाले भनिन् ।
“लौ भयो अब, बच्चो रे !” – ऊ अलमलिएर खिस्स हाँस्यो ।
“तपाईँले अब त्यता फर्कनुहुन्न … ।” निकोलाइले सद्भावनापूर्वक केटातिर हेर्दै भन्यो ।
“किन र ? म फेरि कता लाग्ने ?” – इग्नातले हडबडाउँदै भन्यो ।
“तपाईँको सट्टा अर्कै मान्छे जान्छ । बरु तपाई उसलाई … गर्नुपर्छ र कसो गर्नुपर्छ राम्ररी बताइदिनुहोला, हुँदैन ?”
“हुन्छ !” – इग्नातले निराश हुँदै भन्यो ।
“अनि तपाईँलाई चाहिँ नयाँ परिचयपत्र बनाएर वन पालेले काम मिलाइदिन्छौ ।”
केटाले झट्ट टाउको उठायो र चिन्तित स्वरमा सोध्यो –
“अनि किसानहरू दाउरा चोर्न आए भने … अथवा अरू कुनै कारणले पकड्नुपर्यो भने के गर्ने त ? … म त यस्तो काम गर्न सक्दिनँ … ।”
आमा हाँसिन्, निकोलाइ पनि हाँस्न थाल्यो । केटालाई उनीहरूको हाँसो मन परेन । उसलाई असजिलो लागेर आयो ।
“धन्दा नमान्नोस्, तपाईँले किसानहरूलाई पक्रनु पर्दैन, विश्वास गर्नोस् !” – निकोलाइले उनलाई सान्त्वना दिँदै भन्यो ।
“त्यसो भए ठिक छ !” – उसले सन्तोष मानेर मुस्कुराउँदै भन्यो – “तर मलाई त कारखानामा काम गर्न पाए अझ बेस हुन्थ्यो,
भन्छन् त्यहाँ काम गर्ने मान्छेहरू बडा गतिला हुन्छन् ।”
आमा उठिन् र गम्भीर भएर झ्यालबाहिर हेर्दै भनिन् –
“कस्तो अचम्मको जिन्दगी त यो, दिनमा पाँच पटक हाँस्यो, पाँच पटक रोयो ! सिद्धिएन इग्नात ? जाऊ बाबु सुत !”
“नाइँ, मलाई निद्रा लागेको छैन … ।”
“भो, भो जाऊ सुत !”
“तपाई त बडो कडा हुनुहुन्छ, लौ भयो जान्छु ! चियाका निमित्त धन्यवाद । अँ, तपाईँहरूको अनुग्रहका लागि पनि धन्यवाद !”
आमाको ओछ्यानमा पल्टेर टाउको कन्याउँदै ऊ बडबडाउन थाल्यो –
“अब यी सबै चीजहरूमा टारकोल गन्हाउन थाल्नेछ… मलाई सुत्नै मन लाग्या छैन… मैले बीचकाहरूको कुरा उठाउँदा उसले कति मजाको जवाफ दियो … राक्षसहरू … ।”
कुन बेला निदाएछ उसले पत्तै पाएन । ऊ घुर्दै थियो, उसका आँखीभौँ माथितिर उठेका थिए र मुख आधा खुलेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

