साहित्य विधामा विश्वको सबैभन्दा प्रख्यात मानिने नोबेल पुरस्कारले सन् १९०० देखि उपयुक्त स्रष्टाहरूलाई नोबेल पुरस्कार वितरण गर्दै आएको छ । कुल जनसङ्ख्यामा महिलाको झण्डै आधा जनसङ्ख्या रहेको यस विश्वमा पुरूष महिलाको समान अधिकार र सुविधा सुनिश्चित गर्नका लागि संयुक्त राष्ट्रसंघ लगायत प्रायः सबै राष्ट्रहरू आ-आफ्नो ठाउँबाट लागिपरेका छन् । समान अधिकार तथा समान सुविधाका लागि विभिन्न तह र तप्काबाट लागेता पनि कुनै पनि राष्ट्र त्यसका लागि पूर्ण सफल हुन सकेका छैनन् ।
संसारमा रहेका सबै मौका र अवसरहरूमा समान लेनदेन हुन सक्नु नै लैङ्गिक समानता हो । सबै अवसर जस्तै साहित्यमा पनि पुरूष महिलाको समान अधिकार र पहुँच हुन सक्ने भएमा लैङ्गिक समानतालाई यसले पनि केही हदसम्म समान बनाउने भूमिका खेल्न सक्थ्यो होला । साहित्यतर्फ अरू पुरस्कारहरू जस्तै नोबेल पुरस्कार वितरण गर्न शुरू भएको बाह्र दशक सकिएर तेह्र दशक लाग्दा भनौँ या पुरस्कार वितरण गर्न थालेको १२२ वर्ष पुग्दा ११९ जना स्रष्टा पुरस्कृत भइसकेका छन् । कुल ११९ जना साहित्यकारहरू यस महान पुरस्कारबाट पुरस्कृत हुँदा मात्र १७ जना महिला यस पुरस्कारबाट पुरस्कृत हुन सकेका छन्।
नोबेल पुरस्कार समितिका अनुसार विभिन्न कारणले सन् १९१४, १९१८, १९३५, १९४०, १९४१, १९४२ र १९४३ मा पुरस्कारको विजेता र पुरस्कार घोषणा गरिएन । विभिन्न समय र अन्तरालमा विशेष साहित्यमा दख्खल भएका कारण सन् १९०४, १९१७, १९६६ र १९७४ मा २/२ जना साहित्यकारहरूलाई नोबेल पुरस्कार वितरण गरिएको थियो ।
साहित्यमा नोबेल पुरस्कार जित्ने प्रथम भाग्यमानी महिला स्विडेन की सेल्मा लेगाराफ (Selma Lagerlof) हुन् । यी महिलाले सन् १९०९ मा साहित्यमा नोबेल पुरस्कार जित्न सफल भएकी थिइन्। सन् १९५८ मा जन्मेर सन् १९४१ मा देहान्त भएकी सेल्मा लेगाराफ (Selma Lagerlof) एक सफल शिक्षिका र सफल लेखिका थिइन् ।
साहित्यमा नोबेल पुरस्कार जित्न सफल दोस्रो महिला इटली की ग्रजिया डलेड्डा (Grassia Deledda) हुन् । सन् १८७१ मा जन्मेर सन् १९३६ मा देहावसान भएकी ग्रजिया उपन्यासकारका रूपमा परिचित छिन् ।
सन् १९०३ र सन् १९२० मा साहित्यतर्फ नोबेल पुरस्कार जित्न सफल नर्वेले सन् १९२८ मा साहित्य तर्फबाट महिलालाई नोबेल पुरस्कार जिताउन सफल भयो । सन् १८८२ मा जन्मेकी सिग्रिड उण्डेष्ट (Sigrid Undset) डेनमार्कमा जन्मेकी नर्वेजियन लेखिका हुन् ।
पहिलो साहित्यतर्फ नोबेल विजेता अमेरिकी साहित्यकार पर्ल्स एस बक (Pearl S. Buck) ले १९३८ मा पुरस्कार जित्न सफल भइन् । बकद्वारा लिखित The Good Earth विश्वव्यापी ख्यातिप्राप्त उपन्यास रहेको छ । चीनको समाज र जीवनशैलीलाई औपन्यासिक शैलीले उतार्न सफल यस उपन्यासबाट बकले नोबेल पुरस्कार जित्न सफल भइन् ।
सन् १९४५ मा चिलीकी स्रस्टा गाव्रियल मिस्त्राल (Gabriela Mistral) ले साहित्यमा नोबेल जित्न सफल भइन् । मिस्त्रालका करिब तीन दर्जन कृति प्रकाशित छन् । नोबेल पुरस्कार विजेता गाव्रियल मिस्त्राल विशेष गरेर कवयित्री हुन् । उनको Sonnet of Death निकै चर्चित कविता हो ।
यसपछिको झण्डै २१ वर्ष पश्चात १९६६ मा स्विडेन की नेली स्याक (Nelly Sachs) ले साहित्यमा नोबेल पुरस्कार जित्न सफल भइन् । साहित्यतर्फ छैटौँ नोबेल पुरस्कार विजेताको रूपमा नेली स्याक स्विडेन की दोस्रो महिला नोबेल पुरस्कार विजेता हुन् । यहुदी परिवारमा जर्मनीको बर्लिनमा जन्मिएकी नेली स्याक (Nelly Sachs) को जीवनी दुखदपूर्ण रहेको छ । हिटलरको चरम दमनबाट जोगिन सेल्मा लेगाराफ (Selma Lagerlof) को सहयोगबाट नेली स्याक (Nelly Sachs) स्विडेन पुगेकी थिइन् र स्विडेनबाट नै साहित्यमा विजय प्राप्त गरेकी थिइन् ।
नेली स्याकपश्चात नोबेल साहित्यमा महिला विजेता पाउनका लागि २४ वर्ष कुर्नु पर्यो । सन् १९९१ मा दक्षिण अफ्रिकाकी नादिमेर गार्दिमेर (Nadine Gordimer) ले नोबेल साहित्यमा पुरस्कार जित्न सफल भइन् । काला र गोरा जाति बीचको विभेदमा कलम चलाएकी नादिमेर गार्दिमेर (Nadine Gordimer) आफैँमा श्वेत जातिकी महिला थिइन् । नादिमेर गार्दिमेर (Nadine Gordimer) साहित्यतर्फ नोबेल पुरस्कार जित्ने दक्षिण अफ्रिकाकी पहिलो साहित्यकारसमेत हुन् ।
सन् १९९३ मा अमेरिकी नागरिक, अश्वेत महिला तथा साहित्यमा नोबेल पुरस्कार जित्ने दोस्रो महिलाको रूपमा टोनी मोरिसन (Toni Morrison) ले नोबेल साहित्यमा पुरस्कार जित्न सफल भइन् । सफल कवयित्री तथा संघर्षशील नारी रूपमा परिचित टोनी मोरिसन (Toni Morrison) को Beloved उपन्यास र Song of Solomon कविता निकै लोकप्रिय छन् ।
सम्भवतः एक दशकमा तीन जना महिला स्रस्टाले साहित्यतर्फ नोबेल पुरस्कार जित्न सफल ९० को दशक रह्यो। सन् १९९६ मा पोल्याण्डकी विस्लावा जिम्व्रोस्का (Wisława Szymborska) ले पुरस्कार जित्न सफल भइन्। पोल्याण्डको इतिहासमा साहित्यतर्फ चौथो नोबेल पुरस्कार जित्न सफल विस्लावा जिम्व्रोस्का (Wisława Szymborska) पहिलो महिला नोबेल पुरस्कार विजेता हुन् ।
२१ औँ शताब्दीमा महिलाबाट पहिलो साहित्यतर्फकी पुरस्कार विजेता अष्ट्रियाकी इल्फ्रीदी जेलिनेक (Elfriede Jelinek) ले २००४ मा यस सम्मानित पुरस्कार जित्न सफल भइन् । कवयित्रीकी रूपमा परिचित इल्फ्रीदी जेलिनेक (Elfriede Jelinek) को सबैभन्दा प्रसिद्ध पुस्तक The Piano Teacher हो ।
सबैभन्दा बढी उमेरमा र पहिलो महिलाको रूपमा नोबेल पुरस्कार जित्न सफल बेलायतकी दोरिस लेसिङ (Doris Lessing) ले सन् २००७ मा ८८ वर्षको उमेरमा साहित्यतर्फ नोबेल पुरस्कार जित्न सफल भइन् । इरानमा जन्मेर बेलायतमा देहान्त भएकी दोरिस लेसिङ (Doris Lessing) को प्रसिद्ध उपन्यासमध्ये The Golden Notebook पनि एक हो ।
साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो तथा आठौं व्यक्तिका रूपमा जर्मनीकी हेर्ता मुलर (Herta Müller) रहेकी छन् । दोस्रो विश्वयुद्धपश्चात १९५३ मा रोमानियामा जन्मिएकी हेर्ता नाजी परिवारकी थिइन् । विश्वयुद्धमा जर्मनीको पराजयपश्चात उनले रोमानियामा भोग्नु परेको विभिन्न कष्टहरूलाई उनले आफ्नो सृजनामा उतारेकी छन् । रोमानियामा जन्मेर बर्लिनमा आफ्नो जीवन बिताइरहेकी हेर्ताले सन् २००९ मा साहित्यतर्फ पुरस्कार जित्न सफल भइन् ।
क्यानडाबाट हालसम्म एक जनाले मात्र नोबेल साहित्यमा पुरस्कार जित्न सफल एलिस मुनरो (Alice Munro) ले सन् २०१३ मा पुरस्कार जित्न सफल भइन् । कथाकारका रूपमा परिचित मुनरोको Dear Life, Runway तथा Boys and Girls जस्ता पुस्तकहरू विशेष प्रसिद्ध छन् । सन् १९३१ मा जन्मेकी मुनरोका चार छोराछोरी रहेका छन् भने उनको मुख्य पेशा स्टेशनरी पसल र लेखन थियो ।
पत्रकारका रूपमा परिचित स्भेटलाना एलेक्सिभिच (Svetlana Alexievich) ले सन् २०१५ साहित्यतर्फ नोबेल पुरस्कार जित्न सफल भएकी थिइन् । युक्रेनमा जन्मेर बेलारूसमा कर्मथलो बनाएकी स्भेटलाना एलेक्सिभिच (Svetlana Alexievich) सन् १९४८ मा जन्मेकी थिइन् । दोस्रो विश्वयुद्ध, अफगान-रसिया युद्ध तथा सोभियत युनियनको विखण्डनबाट पीडित आम जनताको दैनिकीलाई उपन्यासमार्फत पाठकको नजरमा ल्याउन सफल स्भेटलाना एलेक्सिभिच (Svetlana Alexievich) एक सफल लेखिका र उपन्यासकार हुन् ।
पोल्याण्डको इतिहासमा साहित्यतर्फ पाँच जना नोबेल विजेताहरूमा दोस्रो विजेताको रूपमा २०१८मा ओल्गा टोकरचुक (Olga Tokarczuk) ले जित्न सफल भइन्। सन् १९६२ मा जन्मेकी टोकरचुकका दुई सन्तान रहेका छन् । वार्सा विश्वविद्यालय (University of Warsaw) मा अध्ययन गरेकी ओल्गा टोकरचुक (Olga Tokarczuk) एक सफल लेखिका हुन् ।
सन् २०२० मा अमेरिकाकी लुइस ग्लुक (Louise Glück) ले जितेकी थिइन् । सन् १९४३ मा अमेरिकाको न्यूयोर्कमा जन्मेकी ग्लुक (Glück) एक सफल अध्यापिका पनि हुन् ।
हालै सन् २०२२ मा फ्रान्सकी एनी एर्नाक्स (Annie Ernaux) ले साहित्यमा पुरस्कार जित्न सफल भएकी छन्। सन् १९४० मा फ्रान्समा जन्मेकी एनी एर्नाक्स (Annie Ernaux) का लेख तथा पुस्तकहरू आत्मकथात्मक शैलीमा लेखिएका छन् ।
यस सम्मानित पुरस्कारको शुरूवात र यसमा महिलाको सहभागितालाई हेर्दा शुरूवाती चरणलाई हेर्दा अहिलेको अवस्था उत्साहजनक नै छ । विभिन्न देशहरूको महिलाहरूको साहित्यको योगदान हेर्दा सबै भन्दा धेरै महिलाहरू अमेरिकाबाट जितेका छन् भने दोस्रोमा स्विडेन र पोल्याण्ड रहेका छन् । सबैभन्दा धेरै नोबेल पुरस्कार जित्न सफल फ्रान्सले भने मात्र २०२२ मा महिलाबाट जितेको खाता खोल्न सफल भएको छ । इटली, नर्वे, चिली, दक्षिण अफ्रिका, अष्ट्रिया, वेलायत, जर्मनी, क्यानडा, वेलारूस र फ्रान्सबाट भने एक एक जना लेखिकाले यो पुरस्कार जित्न सफल भएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।