म्याक्सिम गोर्की

यो त्यो बेलाको कुरा हो, जब म एउटा शिष्यका रूपमा मस्कोमा बस्ने गर्थें। जुन ठाउँमा मैले कोठा भाडामा लिएको थिएँ, त्यो पुरातन समयको भग्नझैँ लाग्ने टुटफुट भएको घर थियो। त्यो घरमा बस्नुको एउटै मात्र फाइदा थियो कि त्यहाँको घरभाडा निकै कम थियो।

मेरो घरअगाडि एउटी युवती बस्थी, खासमा उसलाई त महिला नै भन्नु श्रेयस्कर होला। ऊ केही यस्तो किसिमकी स्त्री थिई, त्यो भन्नुको मतलब कि कुनै स्त्रीको चरित्रबारे केही भन्नु मलाई उचित नलागेर नै हो ! अब त तपाईंले नै बुझे भइहाल्यो ! ऊ पोल्यान्डमा बस्ने स्त्री थिई । सबैले उसलाई ‘टेरेसा’ को नाउँले चिन्थे । उसका रातो कपाल थियो, अग्ली थिई । उसको अनुहारमा चिन्ताका साथै अनौठो अप्ठेरो पनि झुण्डिरहेको हुन्थ्यो। कस्तो लाग्थ्यो भने, मानौँ उसको अनुहार हाडछालाको नभएर पत्थरले बनाइएको होस् । उसको आँखा चमकहीन थियो, ट्याक्सी ड्राइभरको जस्तो रवैया र उसको व्यक्तित्वमा देखिने पुरूषोचित व्यवहार, यी सबै कुराले मभित्र एक किसिमको डर उत्पन्न गर्थ्यो ।

उसको कोठाको ढोका र मेरो कोठाको ढोका आमुन्नेसामुन्ने थियो। ऊ घरैमा छे भन्ने थाहा पाएको दिन मैले दिनभर ढोका खोल्दिनँ थिएँ । तर यस्तो त कहिलेकाहीँ मात्र हुने गर्थ्यो । दिउँसो म कोठामा हुन्थिनँ, राति ऊ कतै बाहिर जान्थी । कहिलेकाहीँ सिँढीमा उसको र मेरो देखादेख हुँदाका बखत उसको ओठमा मुस्कान फक्रिन्थ्यो । तर किन हो कुन्नी, मलाई उसको त्यो मुस्कान बडो व्यंग्यात्मक लाग्थ्यो ।

दुई-तीन पटक मैले उसलाई रक्सीले मात्तिएको अवस्थामा ढोकाको छेउमा उभिएको देखेको थिएँ । उसका कपाल खुला थिए, आँखामा उदासी र विरानोपना अनि ओठमा त्यही व्यंग्यात्मक मुस्कान । यस्तो मौकामा ऊ मलाई केही न केही भनिरहेकी हुन्थी ।

‘के छ त प्यारो चेलो ?’ यसो भन्दै गर्दा उसको असभ्य हाँसो गुञ्जन थाल्थ्यो, जुन हाँसोले मेरो मुटुमा बसेको घृणालाई अझ बढाउने गर्थ्यो।

यस किसिमको भेट र वाक्यहरूबाट बच्नका लागि म आफ्नो डेरा नै सर्न तयार थिएँ तर समस्या के थियो भने भनेको बेला डेरा पाइन्नथ्यो। अर्को कुरा चाहिँ यो मेरो कोठाको झ्यालबाट बाहिर जुन सुन्दर दृश्य टाढाटाढासम्म देखिन्थ्यो, त्यो सुविधा हरेक कोठामा पाइन्छ भन्ने थिएन। पाइँदैनथ्यो नै! त्यसैले पनि मेरो मन ‘व्यथित’ भए पनि चुपचाप सहने गर्थें।

एक दिन खाटमा सुती-सुती कोठाको छततर्फ एकोहोरो हेरिरहेको थिएँ र कक्षामा कक्षामा हाजिरी कसरी नगरूँ भन्ने बहाना खोज्न व्यस्त थिएँ। सोही बेला ढोका खुल्यो र टेरेसा तीव्र गतिमा कोठामा छिरी।

‘शाही शैली यस्तै रहोस्, प्यारो चेलो!’ उसको आवाजमा कडकपन थियो।

‘के भयो?’ म उठेँ र ओछ्यानमै बसेँ। उसको अनुहारमा मैले समस्या र एक भित्री उल्झन देखिरहेको थिएँ। यो उसको व्यक्तित्व विपरीत र केही अनौठो लक्षण मैले देखेँ।

‘हेर,’ टेरेसाले शब्द तौलिएझैँ गरी बोल्न थाली, ‘मलाई… मलाई… म एउटा निवेदन लिएर आएकी छु।’

खाटमै बसीबसी म उसलाई हेरिरहेँ। मैले सोचेँ, ‘हे ईश्वर, यो त म कोठावाला भएकै कारण हुन लागेको एउटा आक्रमण हो। हिम्मत गर है, यस्तो बेलामा धैर्यले काम गर्नुपर्छ।’

टेरेसा त्यहीँ ढोकाछेउमै उभिएर भन्न थाली, ‘म एउटा चिठ्ठी पठाउन चाहन्छु। मेरो मतलब, एउटा पत्र लेखाउन चाहन्छु। कुरा यत्ति मात्र हो।’

उसको आवाज आश्चर्यजनक रूपले निकै नरम, डराएको र अनुनययुक्त हुन थाल्यो। उसप्रति बिनापत्तामा खराबै सोचेछु भन्ने लाग्यो र आफैँलाई मनमनै गाली गरेँ। त्यसपछि केही नभनी म लेखपढ गर्ने कुर्चीमा बसेँ।

‘हुँ’, मैले भनेँ, ‘बस र के लेख्न लगाउने हो भन।’

ऊ सुस्तरी छेउको अर्को एउटा कुर्सीमा सावधानीपूर्वक बसी। त्यसपछि उसले मतिर यसरी हेरी, मानौँ कुनै बच्चीले गल्ती गरेपछि लज्जापूर्वक हेर्ने गर्छे।

मैले भनेँ, ‘कसलाई लेख्ने हो?’

‘बोरिस कारपोभलाई लेख्नुछ,’ उसले भनी, ‘ऊ वार्सा (पोल्यान्डको राजधानी) मा बस्छ। थर्ड मर्कजी रोडको फ्ल्याट नम्बर तीन सय बाह्रमा।’

‘उसो भए के लेख्ने त ?’

‘मेरो प्यारो बोरिस,’ उसले भन्न थाली, ‘मेरो प्यारो मान्छे, मेरो प्रेम, मेरो श्वास तिमीमै तिमीमै अड्किएको छ। तिमीले लामो समयदेखि कुनै स्नेहयुक्त सन्देश पठाएका छैनौ। तिमीलाई आफ्नी सानी उदास परेवाको याद आउँदैन? उही तिम्री टेरेसा।’

मलाई अचाक्ली नै हाँसो उठेको थियो तर आफूलाई रोकेँ। ‘सानी उदास परेवा’ ! तपाईं आफैँ सोच्नुस्, जुन सानी परेवा भनिरहेकी छ उसले, त्यसको कद ६ फुट छ, यो कसरी हुनसक्छ?

तर मैले आफूलाई नियन्त्रणमा राखेँ र उसलाई सोधेँ, ‘यो बोरिस भन्या को हो?’

‘बोरिस कारपोभ,’ उसले कडा शब्दमा पूरा नाम लिन चेताई।

‘एउटा युवा।’

‘… युवा!’

‘हो नि, युवा त हो तर तिमी किन उदेक मानिरहेका छौ?…। मजस्ती केटीले कुनै नौजवान प्रेमी पाउन सक्दिन भन्छौ कि क्या हो?’

मैले उसलाई नियालेर हेरेँ। ऊ स्वयं आफूलाई युवती भन्ने कुरामा जोड दिइरहेकी थिई। यस्ताको कुनै उपचार होला त?

मैले भनेँ, ‘युवा प्रेमी हुनसक्छ नि, किन नहुनु?’

उसले भनी, ‘म तिमीप्रति हृदयबाट नै कृतज्ञ छु। यो चिठ्ठी लेखिदिएर तिमीले ममाथि ठूलो कृपा गरेका छौ। तिमीलाई कुनै बेला कुनै पनि किसिमको सहयोग चाहियो भने बिना हिच्किचाहट…!’

‘पर्दैन, पर्दैन…’ मैले भनेँ।

‘धेरैधेरै धन्यवाद,’ उसने फेरि भनी, ‘यदि तिम्रो सर्टको टाँक निस्केको छ, सर्ट उध्रिएको छ वा यस्तै केही सहयोग चाहियो भने…।’

मेरो अनुहार लज्जाबोधले रातो भएको स्वयं महसुस गरेँ र कडाइका साथ उसतर्फ हेर्दै भनेँ, ‘मलाई कुनै पनि किसिमको तिम्रो सहयोग आवश्यक छैन।’

त्यसपछि ऊ कोठाबाट निस्किई।

दुई साता बिते।

एक दिन साँझतिर म झ्यालको छेउमा उभिएर बाहिरको दृश्य हेर्दै बाहिर कतै घुम्न जानेबारे सोचिरहेको थिएँ। वास्तविकता त के थियो भने मन खिन्न थियो। बाहिर मौसम निकै खराब थियो। बाहिर गएर केही आनन्द पाइएला भन्ने कुराको सम्भावना पनि निकै कम थियो। यस मनको उद्वेलनमा केही समाधान निस्केला भन्ने सोच्दा मन खिन्न भइरहेको थियो। त्यो बेला मन बहलाउने अन्य केही चिज पनि थिएन।

ठीक यही बेला ढोका खुल्यो र कोही भित्र छिर्यो।

‘प्यारो चेलो, कुनै काममा व्यस्त त थिएन नि, हैन ?’

मैले फर्किएर हेरेँ, टेरेसा थिई। उसको भावमा उही नरमपना र त्यही याचना थियो।

मैले भनेँ, ‘छैन…त्यस्तो केही व्यस्तता थिएन… के काम छ, भन न?’

‘अर्को एउटा चिठ्ठी लेखिदेऊ भन्ने चाहन्छु… अरू के हुनु?’

‘ए, उनै ‘बोरिस कारपोभ’को नाममा?’

‘होइन, यस पटक चाहिँ उसले मलाई लेखेको चिठ्ठी लेखिदिनु परो।’

‘के रे…?’

‘म पनि कस्ती भुलक्कड छु,’ टेरेसाले भनी।

केहीबेरपछि घाँटी सफा गर्दै उसले थपी, ‘म माफी चाहन्छु, मैले ठीकसँग तिमीलाई भनिनँ। यो चिठ्ठी मेरा लागि होइन प्यारो चेलो। यो चाहिँ मेरो एउटा साथीका तफबाट हो… साथी नै त नभनूँ क्यार… एउटा चिनेजानेको मान्छेका लागि हो। उसको पनि मेरैजस्तो अर्थात् टेरेसाजस्तै प्रेमिका छे। बुझ्यौ नि? ऊ उसलाई चिठ्ठी लेखेर पठाउन चाहन्छ। तिमी त्यो अर्की टेरेसाको नाममा चिठ्ठी लेखिदिन्छौ?’

मैले उसलाई नियालेर हेरेँ। उसको अनुहारमा चिन्ता थियो र उसका हात काँपिरहेका थिए। बिस्तारैबिस्तारै केही कुरा मैले बुझेँझैँ लाग्यो।

‘सुन्नुस् म्याडम…’ मैले भनेँ, ‘यह चक्कर के हो? मलाई थाहा छ, तपाईंले ठीकठीकसँग वास्तविकता बताइरहनु भएको छैन। अब त मलाई के शंका लाग्न थाल्यो भने बोरिस र टेरेसा भन्ने कुनै प्राणी छैनन्। मलाई तपाईं यस किसिमको गलत क्रियाकलापबाट टाढै राख्नुस्। मलाई माफ गर्नुस्, आशा छ, तपाईंले मेरो कुरा राम्रैसँग बुझ्नुभयो होला। म यस किसिमको मित्रता कसैगरी पनि बढाउन चाहन्नँ।’

मेरो कुरा सुनेर ऊ भयभित भई। अघि बढौँ कि फर्केर जाऔँ, केही भनौँ केही नभनौँको अप्ठेरोमा जकडिएजस्तो देखिई। अब के पो हुने होला? शायद मेरो आँकलनमा केही गल्ती पो भयो कि, शायद कुरा अरू नै केही थियो कि?

‘प्यारो चेलो…,’ उसले भनी र फेरि अचानकसँग मौन बसी। उसले आफ्नो गर्धन हल्लाई, फर्केर ढोकातर्फ लागी, ढोकाछेउमा पुगेपछि क्षणभरका लागि रोक्किई र पुनः बाहिर गई।

मलाई आफैँप्रति रिस उठ्यो, मलाई लज्जाबोध पनि भयो। बाहिर ग्यालरीको ढोका खुलेको र ठूलो स्वरले बन्द भएको आवाज पनि सुनेँ। ऊ पक्कै पनि निकै रिसाएकी थिई। मैले मनमनै आफैँलाई गाली गरेँ र उसकहाँ गएर उसलाई आफ्नो कोठामा ल्याएर उसको मर्जीअनुसारको चिठ्ठी लेखिदिने निर्णय गरेँ। म उसको कोठाको ढोका खोलेर भित्र छिरेँ। ऊ कुर्सीमा शिर निहुराएर बसिरहेकी थिई।

‘सुन त…!’ मैले भनेँ।

मेरो आवाज सुन्नेबित्तिकै ऊ जुरूक्क उठी। उसका आँखा राता थिए। ऊ तीव्र गतिका साथ मेरो छेउमा आई, मेरो काँधमा हात राखेर पीडायुक्त स्वरमा भनी, ‘म सुन्दिनँ, तिमी चाहिँ सुन। त्यो बोरिस कहीँ होस् या नहोस् अनि यो टेरेसा जुन म हुँ, कहीँ होस् या नहोस्, यसले तिमीलाई के फरक पर्छ? कागजमा कलम चलाउन तिम्रा लागि कुन चाहिँ गाह्रो काम हो र? भन त? मानौँ, कुनै बोरिस छैन र कुनै टेरेसा पनि छैन भने यसबाट तिमीले कुनै खुसी पाउँछौ भने खुसी होऊ।’

म उदेक मानेर उसलाई हेरिरहेँ।

‘माफ गर…,’ मैले भनेँ, ‘यी सब कुरा के हुन्? तिमीले कुनै बोरिस या टेरेसा छैनन् भन्न खोज्या हो?’

‘टेरेसा त मैँ हुँ नि।’

मैले उसको कुरा बुझ्नै सकिनँ। मैले उसको अनुहार हेरिरहेँ र सोचेँ- हामी दुईमध्ये पागल को होला, हँ?

म ट्वाल्ल परेको देखेर ऊ सम्हालिई। यसपछि एकातिर लागी र मेजको दराज खोलेर केही खोज्न थाली। उसको हातमा एउटा कागजको टुक्रा थियो।

‘मेरा लागि तिम्रा दुई शब्द लेख्नु यति नै गाह्रो थियो भने लैजाऊ,’ उसले त्यो कागजको टुक्राले मेरो मुखैमा हानिदिई।

‘यो त्यही चिठ्ठी हो, जुन तिमीले बोरिसको नाममा लेखेका थियौ। म अरू कसैलाई लेखाउँला।’

म उसलाई हेरेको हेरै भएँ। उसलाई भनेँ, ‘हेर टेरेसा, यी सबै कुराको के अर्थ हो, मैले त बुझ्नै कसिनँ। तिमी अरूलाई यो चिठ्ठी किन लेखाउँछ्यौ, जबकि त्यो चिठ्ठी बोरिसको नाममा मैले लेखेर दिइसकेँ र तिमीले उसलाई पठाएकी पनि छैनौ।’

‘पठाएकी छैन?’ उसले भनी, ‘बोरिसलाई पठाइनँ रे?’

म चुपचाप उभिइरहेँ।

‘कुनै बोरिस भन्ने मान्छे छैन,’ उसले चिच्याउँदै भनी, ‘तर म चाहन्छु कि चिठ्ठीमै सही ऊ रहोस्। मैले बोरिसका नाममा चिठ्ठी लेखाएर के चाहिँ नोक्सान गरेँ, के गल्ती गरेँ? ऊ यो संसारमा कहीँ अस्तित्वमै छैन भने पनि उसलाई के फरक पर्छ र?’

यस्तो लाग्थ्यो, ऊ होशमा छैन। बेहोसीहो हालतमा उसले भन्दैथिई, ‘म उसको नाममा चिठ्ठी लेखाउँछु किनभने यसो गर्दा मलाई लाग्छ कि ऊ यतैकतै अस्तित्वमा छ। अनि, फेरि त्यो चिठ्ठी बोरिसले पायो भन्ने सोच्छु र त्यसको जवाफमा बोरिसले के लेख्छ होला भन्दै प्रत्युतर लेखाउँछु।’

उसका आँखामा आँशुको अविरल धारा बहिरहेकी थियो।

‘तिमीले बोरिसको तर्फबाट त्यो चिठ्ठी लेखिदिएका भए म कोही अरूलाई पढ्न लगाउँथेँ र फेरि सोच्थेँ कि बोरिस, मेरो प्यारो मान्छे कहीँ त अस्तित्वमा छ! ती लेखिएका चिठ्ठी मसँग हुन्थे र तिनलाई सुनेर र फेरि लेखाएर आफूभित्रको एउटा नयाँ संसार बसाउँथेँ। यो रद्दी र कुरूप संसारले दिने तिक्ततालाई कम त महसुस गर्थेँ! यसमा तिम्रो, अरूको या यो संसारकै के बिग्रन्थ्यो होला र?’

मानौँ कुनै अपराधी अदालतमा उभिएकोझैँ म गर्धन झुकाएर उभिइरहेँ। मेरा आँखा भरिएर आए। मैले तिनलाई रोक्ने प्रयास पनि गरिनँ।

(गोर्कीको ‘हर लभर’ कथाको भावानुवाद)