९४ वर्षकी एक हजुरआमाले पढ्न थालेको ८० वर्षमा १६५८ किताब पढिसिध्याएको प्रमाण यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

खासमा उनले आफूले पढिसिध्याएका किताबहरूको सूची सामाजिक सञ्जालमा राखेपछि उनको सो सूची भाइरल बन्न पुगेको हो ।

जब तपाईंले कतैबाट पैसा जोडजाड पार्नुहुन्छ, गरिएका खर्चहरूको टिपोट त पक्कै बनाउनु हुन्छ । पाइएका पकेट खर्च, पाइने तलब वा टिकाटालोमा पाएका दक्षिणा गनी गनी राख्नु हुन्छ । त्यसको कतै टिपोट वा गन्ती त पक्कै राख्नुहुँदो हो ।

अचेल त यस्ता हिसाबकिताब मोबाइलको नोटप्याडमा हुँदो हो । मोबाइल भन्दा पहिलेको जमानामा डायरीमा राखिन्थ्यो भन्ने तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो ।

तर पढेका किताबको हिसाब किताब डायरीमा राखेका कुराहरू चाहिँ तपाईंका लागि पक्कै नयाँ हुनसक्छ ।

९४ वर्षे एक हजुरआमाले १४ वर्षको उमेरयता पढेका सारा किताबको नाम टिपोट गरेर राखेको कुरा पक्कै पनि अनौठो लाग्दो हो ।

त्यै त ! त्यही भएर नै ती हजुरआमाको डायरी यतिबेला भाइरल बन्न पुगेको छ ।

अस्ट्रेलियास्थित अल्फा क्रूसिस यूनिवर्सिटी कलेजकी ग्रयाजुएट रिसर्च स्कूलकी निर्देशक बेन मेयरले ट्विटरमा आफ्नी हजुरआमाले ८० वर्ष यता आफूले पढेका किताबहरूको सूची बनाएको तस्बिर पोस्ट गरेकी छन् । सो तस्बिरसँगै उनले लेखेकी छन्, हजुरआमाले १४ वर्षको उमेरयता पढेका किताबहरूको सूची यहाँ राख्नु भएको छ ।

त्यसमा पछिल्लो एक शताब्दीमा कुनै पनि व्यक्तिले राम्रोसँग व्यवस्थित गरिएको उम्दा अर्काइभ रहेको प्रतिक्रिया ट्विटरमा दिइएको छ ।

ट्विटरमा लेखिएको छ, सबै पढिएका किताबको संख्या १६५८ छ । स्कुले शिक्षा पूरा गर्न नपाउनु भएकी हजुरआमाले यसरी किताबको सूची बनाएर राख्नु साँच्चिकै प्रेरक बन्न पुगेको छ ।

यो तस्बिरमुनि धेरैले राम्रा प्रतिक्रियाहरू दिएका छन् । एक जनाले आफूले पढेका किताबको सूची नबनाएकामा दुःखी भएको र भविष्यमा यस्तै केही समाचार बन्न पाइने क्रमबाट विमुख रहेको बताएका छन् ।

माइकल डानेघरने लेखेका छन्, ‘म ती हजुरआमा जति पढाकू त छैन तर २४ वर्षको उमेरदेखि जे जे पढेँ, ती सबैको सूची बनाएको छु । म अलि अल्छे पढाकू भएकाले ती हजुरआमाको गति पक्डन भने असमर्थ नै रहूँला ।’