बेरोनेस निकोल्सन

बुकर पुरस्कारकी उपाध्यक्ष बेरोनेस निकोल्सनलाई उनको पदबाट बर्खास्त गर्न लेखकहरूको एउटा समूहले बुकर पुरस्कारसमक्ष आग्रह गरेका छन्।

उनी समलिङ्गीहरूप्रति अति नै पूर्वाग्रही भएको बताउँदै उनीमाथि कार्बाही गर्न बुकरसमक्ष आग्रह गरिएको द टाइम्स पत्रिकाले जनाएको छ।

७८ वर्षीया निकोल्सन बुकर पुरस्कार स्थापना गर्न सहयोग पुर्याउने सर माइकल केइनकी विधवा हुन्। त्यही हैसियतले उनी बुकरकी उपाध्यक्ष बनेकी हुन्। उनी सांसद पनि हुन्।

ट्वीटरमार्फत् उनले समलैंगिक विवाहका सन्दर्भमा उनले संसदमा विपक्षमा मतदान गरेको खुलासा भएपछि उनीमाथि कार्बाहीका लागि एलजिबिटी अभियन्ताहरूले आग्रह गरेका हुन्। एलजिबिजी लैंगिक अल्पसंख्यकहरूको समुदाय बुझाउने छोटकरी रूप हो।

यसअघि पनि उनले बेलायती ट्रान्सजेन्डर अभियन्ता मुन्रो बर्गड्रफलाई ‘अनौठी प्राणी’ भनी सामाजिक सञ्जालमा टिप्पणी गरेकी थिइन्।

उपन्यासकार डेमियन बार लगायतका व्यक्तिहरूले उनको पुरस्कार निर्णय गर्ने ठाउँमा रहेको सहभागिता अल्पसंख्यकहरूका लागि खतरनाक भएको भन्दै उनलाई हटाउने अभियान नै शुरू गरेका छन्।

उनले ट्वीटरमा भनेका छन्, ‘एउटा गे लेखकका हिसाबले उनले जसरी होमोफोबिया बढाउन मद्दत गरिरहेकी छन्, त्यस हिसाबले उनी सो पुरस्कारको बोर्डमा बस्ने कुनै नैतिकता छैन।’

यता पुरस्कारको कार्यालयले भने उपाध्यक्ष निकोल्सनको धारणा उनको निजी भएको र निजी धारणा व्यक्त गर्ने छुट भएको जनाएको छ।

यसअघि सन् २००९ मा पुरस्कार सञ्चालन गर्ने संस्थाको ट्रस्टीबाट उनले राजिनामा दिएकी थिइन्। संस्थाले त्यसयता उनलाई पुरस्कारको बोर्ड उपाध्यक्षका रूपमा राखेको थियो।

उपाध्यक्षको पुरस्कार सञ्चालन तथा फाउन्डेसनको दैनिक क्रियाकलापमा कुनै भूमिका हुँदैन।

यता निकोल्सनले भने आफू होमोफोबिया नरहेको र यदि कसैले यही धारणा व्यक्त गरेकै कारणले बोर्ड उपाध्यक्षबाट हटाउन खोज्छ भने त्यो सबैभन्दा ठूलो गल्ती हुने भन्दै धम्क्याएकी छन्।

आफ्नो कुन चाहिँ भनाइका कारण होमोफोबिक देखियो भन्ने कुनै प्रमाण पेश नगरी चर्चामा आउन केहीले लगाएको आरोपमा आफूले कुनै दम नदेखेको उनले गार्डियन पत्रिकालाई बताएकी छन्।

‘अ ब्रिफ हिस्ट्री अफ सेभेन किलिङ्स’ उपन्यासबाट बुकर पुरस्कार हात पारेका मार्लन जेम्सले भने आफ्नो गल्ती मान्नुको साटो निकोल्सनले उल्टै धम्क्याएकोमा खेद प्रकट गरेका छन्। उनले भने, ‘गम्भीर किसिमको टिप्पणी गर्नेहरूलाई यो मेरो निजी धारणा हो भन्ने छूट छैन किनभने उनीहरू ठूलो निर्णयकर्ताका रूपमा ठाउँमा बसिरहेका छन्। यो दुर्भाग्य हो।’

यसअघि पनि जेके रोलिङ यस्तै टिप्पणीका कारण विवादमा परेकी थिइन्।