सिर्ली हेलस्टकलाई अचेल रोमान्स लेखनीको स्टार मानिन्छ । तीन दर्जन उनका प्रेमिल उपन्यास छन् । एक दर्जन त उनले यही विधाका पुरस्कारहरू हात पारिसकेकी छन् । उनका किताबहरू बेस्टसेलर सूचीमा पर्ने गर्छन् । उनले रोमान्स राइटर्स अफ अमेरिका संस्थाको अध्यक्षता पनि पूरा गरिसकेकी छन् ।

यस्तोमा उनका संसारभर प्रशंसकहरू हुनु नौलो कुरा होइन । र, तिनै प्रशंसकहरूका कारण आफूले निरन्तर लेखिरहेको बताउने गरेकी छन् ।

एक जना प्रशंसकले लेखेको इमेल उनले देखाइन् । जसमा लेखिएको थियोः विस्पर्स अफ लभ किताब मलाई यति मन पर्यो कि मैले तपाईंलाई नलेखी रहन सकिनँ । मैले जीवनमा पढेको पहिलो अमेरिकी रोमान्स उपन्यास यही थियो । मैले यही किताब पढेर थाहा पाएँ, गोरा जस्तै कालो केटो पनि कुनै युवतीलाई देखेर मन पराउने र माया गर्ने रहेछ ! कालाहरू त यौन भनेपछि मरिहत्ते गर्लान् भन्ने लाग्थ्यो किनभने मैले पढेका किताबमा यस्तै उनीहरूको चरित्र लेख्ने गरिन्थ्यो । त्यो पढ्दा मलाई कालाप्रति घिन लाग्थ्यो । तपाईंको किताबले मलाई सिकायो कि वास्तवमा प्रेम भन्ने कुरा जस्ता रङका मान्छे हुन्, जुन धर्म मानून्, जुन मुलुकमा बसोबास गरून्, सेक्स सेक्स नै हुन्छ । कुनै खास किसिमका मान्छे सेक्सी र अरू सपाट हुँदैनन् भन्ने तपाईंले सिकाउनुभयो ।

यो पढ्दै गर्दा लेखिका हेलस्टकका आँखा हल्का रसाए ।

यो पत्र सन् २०१९ मा भाइरल बन्न पुगेको थियो । अनलाइन रोमान्स कम्युनिटी भन्ने समुदायलाई यसले भित्रैबाट हल्लाइदियो किनभने अहिलेसम्म उनीहरूमध्ये धेरैले गोराहरू प्रेमी र कालाहरू यौन उत्पीडककै रूपमा लेखिरहेका थिए ।

यो चिठ्ठी २० वर्षअघि लेखिएको थियो । एउटा शोधका क्रममा सो चिठ्ठी बाहिर आएपछि भाइरल बन्न पुगेको थियो र यसलाई काला जातिहरूको चित्रणका रूपमा व्याख्या गरिएको थियो । तर तीन वर्षअघि मात्र डिन्जेल वासिङ्गटन (काला जातिका कलाकार)लाई पिपुल म्यागेजिनले सेक्सिएस्ट म्यान अलाइभ घोषित गरेको थियो । गायक प्रिन्सले आफ्नो कलालाई जुन बेला सेक्सी नदेखिएका बेला वृहद् बनाएका थिए । लिभिङ सिंगल, द फ्रेस प्रिन्स अफ बेल-एयर र अ डिफरेन्ट वर्ल्ड टेलिभिजन शृंखला निकै लोकप्रिय हुन थालेको छ । यी सबै टेलिभिजन शृंखला काला जातिका कलाकार, तिनैका कथा, जीवनशैलीमा आधारित हुन् र ती सबै अवार्ड प्राप्त गर्न सफल भएका थिए ।

लामो समयदेखि रोमान्स उपन्यास विधा विविधीकरणविहीनताको अवस्थामा थियो । त्यसैको परिणामस्वरूप गोराले मात्र प्रेम पाउने वा गर्नेजस्तो टाइपकास्टेड उपन्यासहरू लेखिए । तर परिस्थिति परिवर्तन भइसकेको छ । २० वर्षे यो अवधिमा रोमान्स उपन्यास प्रकाशन जगतको सबैभन्दा बढी कमाउने विधा बन्न पुगेको छ । यससँगै लेखकहरूले विविध किसिमका रोमान्टिक कथा, शिल्प, शैली र सेटिङहरू हाल्न थालेका छन् ।

अचेल समलैंगिक प्रेमकथा सामान्य हुन थालेका छन् । गे वा लेस्बियन रोमान्सहरू त बेस्टसेलर हुन थालेका छन् । पहिला त्यस्ता उपन्यासलाई पुस्तक पसलेहरूले अगाडि देखाउन लाज मान्थे तर अचेल त्यस्तै किताबहरू बढी बिक्री हुन थालेकाले महत्वका साथ राख्न थालिएको छ । स्लाउटरको बे अन इटको मानसिक रोगी, हेलेन होएङको द किस कोटेन्टजस्ता उपन्यास निकै लोकप्रिय भए, जुन केही वर्षअघि बेस्टसेलर त के छापिने समेत सम्भावना कम हुन्थे ।

प्रायः गोराहरूले लेखेको किताबले सबैतिर देखिने मौका पाउँथ्यो । अचेल चाहिँ किनाराकृत जमातले लेखेका राम्रा किताबले पनि ठाउँ पाउन थालेको छ भन्ने कुरा बेस्टसेलर लिस्टमा एसियाली वा अफ्रिकी मूलका लेखकहरू पनि पर्न थालेबाट प्रस्टिन्छ ।

केही बिक्रेता त रोमान्सलाई यति रूचाउँछन् कि त्यसैलाई आफ्नो रोजीरोटी बनाउँछन् । उनीहरूले सगर्व यहाँ रोमान्स उपन्यास मात्र पाइन्छ भनी लेख्ने गर्छन् ।

रोमान्स उपन्यासको यो बाटो त्यति सजिलो भने थिएन । सन् १९१९ मा इ.एम. हलको ‘द सेख’ उपन्यासले एउटा बलात्कारी मुख्य पात्र शेखको कथा बयान गरेको थियो । जसमा शेखले गोरी हिरोइनलाई अपहरणपछि बलात्कार गर्छ । यस्ता कथाले शेखहरू बलात्कारी हुन्छन्, उनीहरूमा प्रेमानुभूति कम हुन्छ भन्ने धारणा विकसित गराउन भूमिका खेल्छ । यो उपन्यास कति हिट भयो भने पछि यसैलाई फिल्माङ्कन गर्दा फिल्मले बक्सअफिसमा पनि कमालै गर्यो ।

तर अवस्था बदलियो । अचेलका कथामा शेख बलात्कारी हुँदैनन् । जति बढी भिन्न समुदायका मानिसका बारेमा लेखिएका प्रेमकथा छन्, ती त्यति नै सफल भएको देखिएको छ ।

क्याट सेबास्टियनले सन् २०१६ यता एक दर्जन जति ऐतिहासिक क्वेयर उपन्यास लेखिसकेका छन् । त्यसअघि कुनै पनि अमेरिकी किताब पसलेकहाँ एलजिबिटीक्यु रोमान्स उपन्यास फेला पर्दैनथे । त्यसका लागि कुनामा, अप्ठेरो ठाउँतिर, अँध्यारामा किताब खोज्नुपर्थ्यो । त्यसयता हरेक वर्ष ७.८% का दरमा किताबको बिक्री पढेको छ ।

प्रकाशकहरूले पनि विविध स्थान, देश, पृष्ठभूमिका लेखकहरूलाई ठाउँ दिइरहेका छन् । पछिल्लो समय भने यस्तो ठाउँ दिने क्रम अचम्मैसँग बढेको उनी पाउँछन् । रेड, ह्वाइट, एन्ड रोयल ब्लु सन् २०१९ ताका बेस्टसेलरसमेत बन्यो । यो अहिले फिल्म बन्ने क्रममा छ । यसको कथा चाहिँ बेलायती राजकुमार र अमेरिकी राष्ट्रपतिको छोरोबीचको प्रेमकथा थियो ।

यस्तो कथा पनि चल्दो रहेछ भन्ने भएपछि अहिले पुस्तक पसलेहरूले लैंगिक अल्पसंख्यकका कथाहरूलाई प्राथमिकताका साथ प्रदर्शनीमा राख्ने गरेका छन् । यसपछि नै लैंगिक अल्पसंख्यक वा नारीवादी वा काला जातिलाई समेटिएका पुस्तकहरू पनि प्रस्ट रूपमा देखाइन थालेको छ ।

यस्तो परिवर्तनसँगै ठूला प्रकाशकहरू हार्पर कोलिन्स, म्याकमिलन र पेइन्गुइन रेन्डम हाउस पनि यस्ता पुस्तकको बजार व्यवस्थापन, विज्ञापनजस्ता कुरामा खर्च गर्न थालेका छन् ।

द रिप्ड बोडिस बुक स्टोरकी मालिक तथा लेखक कोच भन्छिन्, ‘अचेल मैले मेरो पुस्तक पसलमा त एलजिबिटिक्युको एउटा बेग्लै विधाको कुनो तयार पारेकी छु । त्यहाँ स्वतन्त्र प्रकाशक, स्वप्रकाशक र ठूला प्रकाशक सबैजसोका किताबहरू राख्ने गरेकी छु ।’

अझै धेरै छ गर्न
सबै जातजाति, धर्म, समुदाय तथा लैंगिकताका पक्षमा गर्नुपर्ने अझै धेरै छ । अन्य विविध उद्यमजस्तै प्रकाशन पनि एउटा उद्यम हो । ‘यसलाई अझ विस्तार गर्न धेरै बाँकी छ,’ कोच भन्छिन्, ‘सन् २०१९ मा रोमान्स राइटर्स अफ अमेरिकामाथि धेरै औँला उठ्यो किनभने यसले अन्य जातजाति, धर्म, समुदाय तथा लैंगिकताका पक्षमा कुरा पनि उठाएन र विभेद पनि गरिरह्यो । यसविरूद्ध धेरै लेखकले यस संघविरूद्ध आवाज पनि उठाए ।’

त्यसैको फलस्वरूप यहाँ केही परिवर्तन आएको देख्न सकिन्छ तर अझै पनि पूर्ण रूपमा बहार फैलिन बाँकी रहेको कोच देख्छिन् ।

यस्तो परिवर्तन आउनुमा नयाँ पुस्ताको सोच र उनीहरूमा आएको परिवर्तन पनि एक हो । उनीहरू कुनै एक जाति वा समुदाय महान् हुन् भन्ने मान्दैनन् । उनीहरू विविधीकरण खोजिरहेका छन् र त्यो साहित्यमा देखिएको हो ।

त्यसैले पनि सन् २०१६ मा यस्ता साहित्यको प्रकाशन तथा बिक्री ७.८ प्रतिशतबाट बढेर २०२१ मा ११.९ प्रतिशत पुगेको छ । त्यसो त यो त्यति धेरै वृद्धि होइन तर पहिलेको तुलनामा यो अलि बढी देखिन्छ र कारण चाहिँ ठूला प्रकाशकहरूले गर्न थालेको खर्च हो । पहिला काला वा लैंगिक साहित्यमाथि ठूला प्रकाशकले धेरै पैसा खर्च गर्दैनथे । बुक टूरजस्ता कार्यक्रम राख्दैनथे तर पछिल्लो समय यस्ता कुरामा उनीहरूले खर्च गर्न थालेका छन् ।

आखिर धेरै जसो रोमान्स उपन्यासहरू किन गोरा केटाकेटीमाथि लेखिन्छन् त ? उत्तर सजिलो छ, किनभने पाठक नै पनि गोराहरू बढी छन् । रोमान्स उपन्यास पढ्नेहरू आफूजस्तैका कथा बढी पढ्छन्, आफ्नो कथा खोज्छन् । त्यसैले यस्तै किताब बढी बिक्री हुन्छन् । फरक कथा खोज्न थालिएपछि फरक किसिमका कथा लेखिने हुन् । त्यसैले अन्य रङ, जाति र समुदायमा पठन संस्कृति बढाउनु पनि उत्तिकै आवश्यक रहेको केहीको तर्क छ ।

सिएनएन टेलिभिजनको एक रिपोर्ट