Chovar Blues Mobile Size

सामाजिक सञ्जालमा अहिले भाषा सम्बन्धी बहस चलेको देखियो । बसह गर्नेमा भाषाविद् भन्दा पनि अधिकारको क्षेत्रमा काम गर्नेहरू बढी देखिए । नेता, नेतृ, शिक्षक, शिक्षिका, कवि, कवयत्री शब्दले महिलालाई हेपेको भन्ने चर्चा चलेकाले केही कुरा लेख्न मन लाग्यो ।

अङ्ग्रेजीबाट आएको एउटा शब्द छ, ‘नर्स’। यो नर्स शब्दले महिलालाई मात्र जनाएको छ । नेपाल जस्तो अल्पविकसित देशका स्वास्थ्य संस्थामा नर्सले गर्ने थुप्रै काम पुरुषले गरेको देखेको छु ग्रामीण भेगमा । फेसबुकको बसहले ती पुरुषलाई कि ‘नर्स’ भन्नु पर्ने देखियो कि त हाम्रो भाषिक चलन अनुसार ‘नर्सो’ भन्नुपर्ने देखियो । तर, यस्तो विषयमा नेपाली भाषा संस्कृति जाइलाग्ने खालको नभएकाले नर्सो भन्नु पर्ने अवस्था चाहिँ छैन ।

अब लागौं विद्यालयतर्फ :

गाेकर्ण दयाल

नेपालका विद्यालयमा गुरु र गुरुआमा हाम्रा मौलिक शब्द हुन् । भाषिक विस्तारवादले नेपाली भाषामाथि अतिक्रमण गर्न थालेपछि पछिल्ला दशकमा भारतमा चलन चल्तीमा रहेका शिक्षक र शिक्षिका शब्दको प्रयोग हुन थाल्यो । नेपाल र भारतका विद्यालमा अहिले पनि छात्र र छात्रा भन्ने शब्द छ, जले लिङ्गभेद जनाउँछ । छात्र/छात्रा भन्दै आएका हामी शिक्षक र शिक्षिका भन्न अभ्यस्त हुँदै आएको सत्य कुरा हो । यो शिक्षिका भन्ने शब्द पनि भारत हुँदै नेपालमा प्रचलनमा आएको हो । नेपालीमा त पहिलेदेखि गुरुआमा भन्ने गरिन्थ्यो । अधिकारकर्मीले आजभोलि शिक्षिका भन्नु हुँदैन भनेर सिकाएपछि मैले चाहिँ गुरुआमा भन्दै आएको छु । परिस्थितिअनुसार कि त महिला शिक्षक भन्ने गरेको छु ।

पत्रकारिताको भाषा छापा माध्यमः

अन्य पेशाको तुलनामा पत्रकारिता पेशामा आबद्ध महिला र पुरुषको कामलाई जनाउने शब्द छापा माध्यममा समान रहेका छन् । जस्तैः सम्पादक, समाचारदाता, संवाददाता, पत्रकार आदि शब्दले महिला र पुरुष दुबैलाई बराबरी सम्बोधन गरेको पाइन्छ । पत्रकारको हकमा पत्रकार महिला भन्नु पर्छ भन्ने पनि छ ।

टेलिभिजनमा समाचार पढ्ने महिला पत्रकारलाई कतै कतै समाचार वाचिका भन्ने गरेको पनि सुनिन्छ । यो भाषाको ज्ञानको कमीका कारण आएको समस्या हो । नेपाली शब्दकोषमा ‘वाचक/बाचक’ र ‘वाचकी/बाचकी’ भन्ने शब्द छ । वाचकको अर्थः स्पष्ट, छिटो र शुद्ध भन्ने शक्ति, पढाइ, भनेको छ । बाचकीको अर्थः पुराण, कथा आदि भन्ने, वाचन गर्ने भनिएको छ । तर, हामीले भारतीय टेलिभिजनमा बाचिका भन्ने गरेको सुनेर त्यही भाषिक विस्तारवादको सिकार भएर टेलिभिजन पत्रकारितामा स्तरहीन शब्द ल्याएर नेपाली भाषा, संस्कृतिलाई सराप्ने काम गरिरहेका छौं ।

अब लागौं हवाई जहाजतर्फः

विमानको ढोकामा देखिने सुन्दर नारीलाई नेपाली भाषामा परिचारिका भनिन्छ । सेवाप्रदाय संस्थाको ढोकामा यति सुन्दर महिला मैले अन्य संस्थाको सेवा लिन जाँदा अहिलेसम्म देखेको छैन । नेपालीमा आकाशलाई ‘सर्ग’ पनि भन्ने गरिन्छ । आकाशमा उड्न सहयोग गर्ने भएकाले हो कि विमान परिचालिका स्वर्गका अप्सरा जस्तै सुन्दर हुन्छन् । नेपाली शब्दकोषमा विमान परिचारिकालाई हवाई जहाजका यत्रीहरुको रेखदेख गर्ने नारी भनेर व्याख्या गरेको छ ।

अब लागौं नेपाली र डोट्याली भाषातर्फ :

नेपाली भाषाको ‘आमा’ शब्द कति महान छ । डोट्यालीमा ‘इज्या’, ‘मातारी’ ‘महतारी’ जस्ता शब्द छन् । नेपालीमा आमालाई सम्बोधन गर्ने यति धेरै शब्द सायदै छन् होला ! नेपालीमा तँ, तिमी र तपाईं जनाउने अङ्ग्रेजीको एउटै शब्द ‘यु’ छ, अर्थात् अङ्ग्रेजी भाषा कति गरिब रहेछ । अङ्ग्रेजीले राष्ट्रपतिलाई पनि ‘यु’ भन्छ । चोरलाई पनि ‘यु’ नै सम्बोधन गर्छ । नेपाली जस्तै डोट्यालीमा तँ, तमी, त्वम् छ । त्यसैले हाम्रो भाषा धनी रहेछ । अङ्ग्रेजी भन्दा नेपाली र नेपाली भन्दा डोट्याली भाषा धनी रहेको यी तथ्य र प्रमाणले बताउँछ ।

डोट्याली सम्पन्न भाषाः

डोट्याली शब्दमा अविवाहिता स्त्रीलाई ‘चेली’, अविवाहित पुरुषलाई ‘चेलो, विवाहित पुरुषलाई ‘बौस्या’ नारीलाई ‘पुतारी’, ‘घगरिया’ वा ‘घरिना’ जस्ता अति सम्मानित र प्रचलित शब्द छन् । नेपाली चेली भन्ने बित्तिकै नेपालको शान बढाउने स्त्री जाति बुझिन्छ । चेलाको भूमिका पनि कम छैन । सुदूरपश्चिमका चेला दशरथचन्द, जयपृथ्वीबहादुर सिंह र सुदूरकी चेली द्वारिकादेवी ठकुरानीका बारेमा यहाँ धेरै भनिरहनु नपर्ला । द्वारिकादेवी चन्द (ठकुरी) हुन् । तर, ठकुरानी कति सुन्दर शब्द छ । उहाँ आफैले पनि ठकुरानी लेख्ने गरेका दस्तावेज छन् । उहाँ नामको पटाडि ‘नी’ राखेरै दक्षिण एशिया महादेवकी पहिलो महिला मन्त्री बन्न सफल हुनुभयो ।

चेली र महिलाको मात्रै होइन, सुदूरपश्चिमतिर चेला शब्द पनि उत्तकै चलनमा छ । जस्तैः चर्चित देउडा नै छ ‘म सुदूरको चेलो’…। नेपाली भाषाको उद्गमस्थल, सुदूर र कर्णाली प्रदेश हो । भौतिक रुपमा यी ठाउँ अहिले पनि अविकसित छन् । सामाजिक कुरीति धेरै छन् । जातीय विदेश र लैङ्गिक विभेद धेरै छ । यद्यपि, यहाँ बसोबास गर्ने घर-परिवारको भाषा, संस्कृति, रहनसहन धेरै धनी रहेको छ । बाल्यकालदेखि सम्बोधन गरिने शब्द सुदूरपश्चिमतिर बच्चालाई सानो हुने बेलामा ‘गेदा’, ८/१० वर्षको हुँदा ‘अस्याना गेदा’, जवान भएपछि पुरुषलाई ‘सयाना’, र महिलालाई ‘सयानी’ भन्ने गरिन्छ । बुढेसकाल लागेपछि ‘बड्डा’, ‘बड्डी’ पनि भन्ने गरिन्छ ।

हाम्रो भाषाले मानिसलाई केवल मानिस मात्रै नभनी उसको देश, परिवेश, लिङ्ग र उमेर समूहसमेत जनाउने शब्द भण्डार बोकेको छ । भाषामा विभेद भाषा सम्बोधनमा विभेद चाहिँ हुनुहुँदैन । ‘ए ! तँ काहाँको होस् रे ?” ‘हजुर कहाँको होइसिन्छ ? ’ यी र यस्ता वर्ग वाचक भाषिक शब्दको प्रयोग कुल घरना, खानदानी परम्परासँग जोडिएका शब्दले भाषिक विदेश गरेको छ । यस्ता विभेद हटाएर नेपाली, भाषा, संस्कृतिको जगेर्ना गर्नतर्फ लागौं । भाषाका विषयमा विवाद गर्नुअघि भाषा विज्ञ, भाषाविद्को राय सल्लाह लिने गरौं ।
सबैको जय होस् !