कुरा सुरू गर्नुअघि यो गीत हेर्नुस्ः अनि हामी बात मारूम्लाः

“यो दाजुको मिर्मिरे आँखा, कस्तो मेरो बिगार्‍यो दिमाख…..यो नानीको सुरिलो भाकाले, छाति चिर्‍यो गाजलु आखाँले.., करिमैमा नभाको कुरा, बल गरेर हुँदैन हजुर… करिमैले लाएको डोरो, डोरो छिन्यो मन भयो एकोरो,… नरोऊ मायालु” यो कालजायी गीत अहिले सामाजिक सञ्जालभरि छरपष्ट छरिएको छ । सामान्यतः लोकगीत वा लोकसाहित्य कुनै समाजको आत्माको प्रतिबिम्ब हो । कुनै पनि देशको जातीय, सामाजिक, ऐतिहासिक, राजनीतिक, धार्मिक, आर्थिक अवस्थालाई बुझ्न लोकगीतले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । कुनै पनि देशका जनस्तरबाट गाइने यस्ता खालका कालजयी गीतहरुले नै सो देशको संस्कृतिको परिचय दिएको हुन्छ ।

लोकगीत सामान्यतः कल्पनामा आधारित गीत नभै दैनिक जीवनका कर्महरुमा आधारित भोगाइ हुनाले यसले मानव मनमस्तिष्कमा नराम्रोसँग दबाब पारेको पाइन्छ । लोकगीतमा प्रयोग हुने शब्दहरु सामान्यतः ग्रामीण भाषाका शब्दहरु हुने हुनाले पनि यी गीतहरु बढी आनन्ददायी हुने गरेको हो। लोकगीतको इतिहासलाई कोट्याउँदा यसको सुरुवात आदिकालबाट भएको किंवदन्तीहरु पाउन सकिन्छ । आदिकालमा जब मानिसहरु गुफा, ओढार, जगंलहरुमा बस्ने गर्थे, उनीहरुमा सामाजिकता बिस्तारै पलाउने क्रममा थियो । उनीहरुमा बिस्तारै सुख, दुःख, आनन्द, माया, प्रेमका भावहरुको चेतना विकास हुने क्रममा थियो । सोही समयमा उनीहरु आफूले जे भोगे, सो नै लयबद्य रुपमा उच्चारण गर्न थाले । यसले नै पछि लोकगीतको रुप लिएको पाइन्छ । सो समयमा उनीहरु आफ्ना भावना लयको माध्यममा त लयबद्ध रुपमा गाउन सुरु गरे तर यसलाई उनीहरुले लिपिबद्ध भने गर्न सकेनन्, त्यसैले आजसम्म पनि लोकगीत यो समयबाट सुरु भएको हो भनेर यकिन गर्नलाई कुनै मिति नभएको हो।

अर्पण तिवारी

समयसँगै मानिहरुको जीवनयापनहरु परिवर्तन हुँदै गयो । तिनका दैनिक कार्यहरु बदलिएसँगै बिस्तारै आधुनिकतातिर समाज परिवर्तन हुन थाल्यो र बिस्तारै पुराना लोकगीतहरु लोपोन्मुख अवस्थामा आउन थाले । विकसित संगीतका साधनहरु र विकसित जीवनयापनमा थपिएका आधुनिक शब्द सञ्जालहरुले बिस्तारै लोकगीतहरुको भाव गलत दिशातिर लान थाल्यो । यही अवस्थामा पुराना गीतहरुलाई नयाँ पुस्ताले आफूसँग भएका आधुनिक संगीतका साधनहरुले सजाउँदै आफ्नो स्वरबाट पुनः त्यसमा प्राण भर्न लागे, जुन रुप नै आजको “कभरगीत” हुन पुगेको छ । यसलाई हाम्रो लोकगीत सरंक्षणको एकदमै सकारात्मक पक्षको रुपमा लिन सकिन्छ । यसले हाम्रो समाजमा विलय हुनै लागेको संस्कृतिलाई पुनः जागृत गर्ने कुरामा कुनै दुविधा छैन ।

बढ्दै गएको “कभरगीत” संस्कृतिले पुराना स्थापित कलाकारहरुको भावनामाथि तुषारापात गरेको तर्क लोकसृस्टाहरु राख्छन्। अचेल सर्जकको बिनास्वीकृति “कभरगीत” बनाउने होड पनि ह्वात्तै बढेको छ जुन सरासर गलत हो । “कभरगीत” आफैँमा गलत नभए पनि यस्ता बिना स्वीकृति “कभरगीत” बनाउने प्रवृत्तिले यसको महत्त्वलाई दुविधामा पारेको छ र कयौँ केस पनि अदालतमा दर्ता भैसकेका छन् । सामान्यतः कुनै पनि गीतसंगीत सर्जकको बिना इजाजत गाउन नपाउने कानुनी आधार सृजना भैसकेको छ । सर्जकको इजाजत बिना कभर गीतहरु गाइएको पाइएमा सर्जकले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयअन्तर्गत, नेपाल प्रतिलिपि अधिकार रजिष्टरको कार्यालयमा गएर कानुनी रुपमा उपचार लिन सक्छ । प्रतिलिपि अधिकार व्यवस्थाले सर्जकको मौलिक रचनालाई संरक्षण दिने काम गर्छ । यसले कला, संस्कृति, साहित्य, ज्ञानविज्ञान क्षेत्रमा रचनाहरुको प्रतिलिपि अधिकारसँग सम्बन्धित ध्वनिअकंन, प्रस्तुति तथा प्रसारणको अधिकारको सुनिश्चितता गर्दै यसको संरक्षण र संवर्धन गर्छ । यससम्बन्धी महत्त्वपूर्ण प्रतिलिपि अधिकार ऐन २०५९, र प्रतिलिपि अधिकार नियमावलि २०६१ बनेसँगै पुराना गीतसंगीतको संरक्षणमा “कभरगीत” ले थप महत्त्वपूर्ण भूमिका खेल्ने आधार सृजना भएको छ । यसको उदाहरणमा हालै प्रसारणमा आएको “नरोऊ मायालु” भन्ने कभरगीतलाई लिन सकिन्छ ।

नेपालमा फेसबुक प्रयोगकर्ता एक करोड भन्दा बढी रहेको पाइन्छ । सोही हाराहारीको अनुपातमा टिकटक प्रयोगकर्ताहरु रहेको अनुमान गर्न सकिन्छ । हाल पछिल्लो हप्तामा फेसबुक वालहरुमा र टिकटक एकाउन्टमा नरोऊ मायालु बोलको गीत अपलोड भएको छ, जसले केही मात्रामा भए पनि हामीलाई कोरोना कहरले अत्तालिएको मानसिकताबाट टाढा राख्न सफल भएको छ । यो गीत सुरुमा बीमाकुमारी दुरा र प्रवीण गुरुङले २०४६ सालतिर रेकर्ड गरेका हुन्। अहिले चेतन गोतामे र निरु शिरिस मगरले यो कभरसङ गाएका छन् । यो कभर गीत गत साता मात्रा मात्र युट्युवमा अपलोड भएको छ । एक हप्ताको हाराहारीमा यो गीत युट्युबमा नौ लाख पटक भन्दा बढी हेरिइसकेको छ । यही लोकप्रियता भजाउँदै टिकटक प्रयोगकर्ताहरुले पनि प्रयोग गर्न थालेका छन्।
कोरोना कहरमा सामाजिक सन्जाल फेसबुकमा पनि अति क्रियाशील डा. कल्याण सुवेदी, जसको फेसबुकमा मात्र पाँच लाख पचास हजार भन्दा बढी फ्यान फलोइङ छ, उनी चाइल्ड एण्ड एडल्ट साइक्याट्रिक मेन्टल हेल्थ डाक्टर हुन्। यिनले कोरोना कहरमा कोरोना टिप्स मात्र दिइरहेका थिए, हाल आएर उनी पनि यो गीतबाट अछुतो छैनन्। त्यस्तै अहिले पछिल्लो समय नेपाली लोकपारखीहरुमा निकै प्रिय बनेका प्रकाश सपुतले पनि यो गीत टिकटकमा अपलोड गरिसकेका छन् । त्यस्तै आधुनिक लोकपप विधामा आफ्नो नाम अब्बल स्थानमा राखेका नयाँ पुस्ताका सेलिब्रिटी दुर्गेस थापा पनि यो गीतमा आफ्नो टिकटक गराइसकेका छन् । यो गीतबाट अहिले नेपाली समुदाय एकतमासले लयबद्ध भएको छ ।
यो कालजयी भाका आफैँमा मन बहलाउने खालको छ । यस्ता खालका कभर गीतहरुले समाजमा लोपोन्मुख हुँदै गएका भाकाहरुको त संरक्षण गरेको नै हुन्छ, यसको अवाला हाल यस्तो विपतको बेलाको घाउ मेट्न यो गीत निकै सफल पनि भएको छ । कोरोना कहरले बिस्तारै समाजलाई डिप्रेसनको अवस्थातिर लगेको बेला योग तथा यस्ता कालजायी गीतहरुले महत्त्वपूर्ण स्थान खेल्न सक्छन् । समाजमा बढ्दै गएको असन्तुलित मानसिकतालाई बहलाउन यी र यस्तै खालका लोकभाकाहरु, योग अभ्यासहरु आउन जरुरी छ। यसले समाजमा अवश्य सकारात्मक प्रभाव पार्नेछ ।