साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

शरीर पहिला कि भाषा ?

विचार

भूपिन

दर्शनशास्त्रमा एक महत्त्वपूर्ण प्रश्न छ, पदार्थ पहिला कि चेतना ? यहीँबाट मोटामोटी दर्शन प्रतिको हाम्रो बुझाइ र पक्षधरता छुट्टिन्छ । ब्रम्हाण्डमा पहिला पदार्थको अस्तित्व स्वीकार गर्नेहरू भौतिकवादी भए । उनीहरूले विज्ञानलाई माने । चेतनालाई प्राथमिक मान्नेहरू अध्यात्मवादी भए । उनीहरूले ईश्वरलाई माने ।
यति मात्र त काफी छैन दर्शन बुझ्न, यसका अरु अनेक आयाम र तन्तुहरू छन् । दर्शनजस्तो गहन र जटिल विषयलाई सापेक्षित सरल र वस्तुगत रुपमा बुझ्न सजिलो हुने अर्थमा यस्तो व्याख्या हुने गर्छ ।
यसरी नै मानवशास्त्रमा एक महत्त्वपूर्ण प्रश्न छ, शरीर पहिला कि भाषा ? अर्थात पहिला मानिस जन्म्यो कि भाषा ? तपाईंहरूलाई के लाग्छ ?
यदि तपाईं विज्ञानमा विश्वास गर्नुहुन्छ भने तपाईंको उत्तर हुनेछ, पहिला त शरीर नै हो जन्मेको । मानव उद्विकासलाई बु्झ्दै जाँदा हामी लामो यात्रा तय गरी पुच्छर नभएको बाँदरबाट विकसित भएर अहिलेको विकसित मानव बनेका हौँ । जीवविज्ञानले स्वीकारेको अझसम्मको सर्वाधिक बलियो तथ्य यही हो । तर प्रारम्भमा मानिससँग संवादका लागि भाषा थिएन । सञ्चारको आवश्यकताले गर्दा मानिसले भाषाको आविष्कार गर्यो । भाषाले कथा रच्यो, जुन सबैभन्दा बलियो बनिदियो । फ्याक्टभन्दा पनि फिक्सन बलियो हुन्छ भन्ने कथनले कथाको शक्तिलाई अभिव्यक्त गर्छ ।
यही भाषा हो जसले मानिसको जीवनलाई साह्रै सहज बनाइदियो, मानिसलाई अन्य प्राणी भन्दा अलग क्षमता सम्पन्न पनि । तर यही भाषा हो, जसले असमानता र विभेदका भाष्यहरू पनि जन्मायो । जस्तै: गोरो सुन्दर, कालो असुन्दर । पुरुष मालिक, महिला दासी । नाजी महान, यहुदी खराब र दक्षिण एसियाको सन्दर्भमा कथित छूत महान्, कथित अछूत तुच्छ । ब्रम्हाको पैतलाबाट सुद्र जन्मे आदि ।
भाषाले एकै उद्विकासबाट आएका मानिसमध्ये एकथरिलाई छूत र अर्कोथरिलाई अछूत बनाइदियो । जुम्ली धाराजस्तो जहाँ आएर ट्याङ्कीको उही पानी एकातिर पवित्र, अर्कोतिर अपवित्र । शरीरमा समान मानिसहरूलाई, भाषाले अलग बनाइदिने ठूलो षडयन्त्रको रचना गरियो । विश्व एक परिवार हो र हामी एउटै आमाका सन्तान हौँ भन्ने दर्शन मान्नेहरू बीचबाटै एकथरिलाई जन्मकै आधारमा समाजबाट अलग थलग पार्ने घिनलाग्दो षडयन्त्र मौलायो । कतिसम्म भने कम्मरमा मयुरको प्वाँख राखेर आफ्ना पदचिन्हहरू समेत मेट्दै हिँड्नु पर्ने अवस्थामा दलितहरूलाई फँसाइयो । कानुनले समेत समान अपराधमा छूतलाई कम र अछूतलाई बढी सजाय तोक्यो । कानुनले नै छूट दिएपछि मानिसहरूले झन् बढी अश्पृष्यताको अभ्यास गरे र एक सांस्कृतिक कलंकको रुपमा छुवाछुत हाम्रो सभ्यतामा रहिरह्यो । जुन सर्वाधिक धृणास्पद छ ।
भाषाले कोरिदिएको यही विभेद हो, जसको कारण हाम्रो समृद्ध पूर्वीय चिन्तन प्रणालीमा ग्रहण लगाइदिएको छ । बुद्ध, गान्धी, अम्बेडकरदेखि सर्वजित विश्वकर्माहरू यस ग्रहण पन्छाउनतिर लागे । बुद्ध दर्शनले यस अमानवीय भाष्यलाई सम्पूर्णत: खारेज गरिदियो । तर कतिपयले उनलाई अनुसरण गर्यौँ, कतिपयले खिसिट्युरी गर्यौँ ।
यहीँबाट प्रष्ट हुन्छ, तपाईं समतावादी कि विभेदकारी ?
आफैँले आफैँलाई सोध्नुस्, तपाईं केलाई पहिला मान्नु हुन्छ ?
शरीरलाई कि भाषालाई ?
शरीरलाई पहिला मान्नुहुन्छ भने भाषाले बनाएको अछुतपन वा अश्पृष्यतालाई आजैदेखि त्यागिदिनुस् । यो दलनबाट मुक्तिका लागि हामी कथित छुतहरूले बोल्नु अत्यन्त जरुरी भैसक्यो ।
पूर्वीय चिन्तन प्रणाली अत्यन्त महत्त्वपूर्ण छ, तर त्यसमा ग्रहण लागेको छ । अश्पृष्यताको यो खग्रास ग्रहण नहटेसम्म तपाईं हामीले जति गफ दिए पनि हाम्रो संस्कार र सभ्यता गर्व गर्न लायक बन्दैन । नवराज बिकहरू मारिइरहन्छन् । रुपन्देहीमा जस्तै नानीहरूको बलात्कारपछि हत्या भइरहन्छ ।
सोच परिवर्तन गरौँ ।
#म_छुवाछुतको_बिरुद्धमा_छु
अनि तपाईं ?

सम्बन्धित पोस्टहरु

(कवि र निबन्धकारसमेत रहेका भुपिनले दलितका विषयमा लेखिएकाे उपन्यास ‘मैदाराे’ प्रकाशन गरेका छन् )

प्रतिक्रिया
Loading...