चौरजहारी घटनापछि ठूल्ठूला विश्लेषकहरुबाट समेत केही भ्रामक तर्कहरु आएपछि यति कुरा प्रष्ट पार्नुपर्ने कर्तव्य ठानेँ। अहंकारको बलमा कुतर्क गरिरहेका साथीहरू एकपटक विचार गरौँः
१. दलितभित्रै पनि विभिन्न उपजाति खडा गरेर छुवाछूत गरिन्छ। बाहुन क्षेत्रीले गरेको छुवाछूत मात्र देख्ने ?
यो आंशिक सत्य हो। पूर्ण सत्य बुझ्न अलि जरोमा पुग्नुपर्ने हुन्छ। कुनै पनि कार्यपछाडि कारण हुन्छ। उक्त कारणलाई लामो ऐतिहासिक प्रक्रियाले भरथेग गरेको हुन्छ। त्यो बुझ्नुपर्ने हुन्छ।
इतिहास हेर्ने हो भने नेपालमा जातीय विभेदलाई कानूनी रुपमै संस्थागत गर्ने र सामाजिक रूपमा थप कसिलो पार्ने काम जयस्थिति मल्लको पालामा मानव न्याय शास्त्र लेखेर भयो। त्यतिबेलाका प्रबुद्ध भनिएका पाँच/छ जना ब्राह्मणहरु लगाएर लेखेको उक्त कानून कतिसम्म अमानवीय छ, कतिसम्म अन्यायी छ भने पढ्दै गर्दा जिउ सिरिङ्ग हुन्छ। ब्राह्मणले गल्ती गरेमा सामान्य केश मुण्डन हुन्थ्यो तर शुद्रले सोही गल्ती गरेमा टाउको गिँडिन्थ्यो। उच्च जातीयविरुद्ध थोरै अपशब्द बोल्दा पनि उनीहरूको जिब्रो काटिदिने, फलामको सुइरो गाडिदिने, कानमा उम्लिएको तेल हालिदिने, हातमा फलामको तातो रातो डल्लो राखिदिने जस्ता अमानवीय काम गरिन्थ्यो। कतिसम्म भने बाहुनसँग छोइए मात्र पनि दलितलाई काटिन्थ्यो। धेरै लामो समय यही कुरा चलिरह्यो। कृपया, एकपटक नेपालको इतिहास, हाम्रा सामाजिक संरचना कसरी बने आफैँ पढ्नुस्। कम्तीमा मानव न्याय शास्त्र त पढ्नुस् पढ्नुस्। सबै कुरा यहाँ लेखिसाध्य छैन। नेपालीको एउटा हरामी बानी छ- नबुझेर प्वाक्क प्वाक्क बोलिदिने। अब यसो नगरौँ।
इतिहासमा हामीले कति ठूलो अन्याय गरेका रैछौं, पढ्दै गर्दा आफैंप्रति घृणा जाग्नेछ।
इतिहासदेखि समतामूलक समाज निर्माण गरेर सबैलाई पढ्न लेख्न दिएको भए, सबैलाई चेतनाको ज्ञान-गंगामा डुबुल्की मार्न दिएको भए, सायद आज नवराज अर्कै चेतनाको स्वाभिमानी जगमा उभिइरहेका हुन्थे। उमेर नपुगी केटी भगाउन जाँदैनथे। हुलहुज्जत गर्ने गल्ती गर्दैनथे। अर्कै तरिकाले यो अग्नि परीक्षामा खरो उत्रिन्थे।
त्यतिले मात्र नपुगेर पछि जंगबहादुर राणाको पालामा मुलुकी ऐन ल्याएर जातीय छुवाछूत थप कस्ने काम भयो। दलितभित्र पनि विभिन्न उपजाति खडा गरियो। उनीहरूभित्रै छुवाछूत राखिदिएर उनीहरूलाई नै भाँड्ने काम भयो। यहाँसम्म कि कसको जुठो कसले खानुपर्ने सम्म लेखियो। नखाएमा कारबाही गरिने भयो। उक्त अमानवीय र अन्यायी कानून कुनै दलितको हातले लेखेको थिएन। उक्त व्यवस्था कुनै दलितले सिर्जेको थिएन। कुनै दलितले मागेको पनि थिएन। उच्च जातीयहरुले नै यो व्यवस्था दलितमाथि जबर्जस्ती थोपरिदिएका थिए। त्यसैले तिमीहरूभित्र पनि छुवाछूत छ नि भन्नु ठूलो अपराध हो। देखिहाल्यौँ, आजको स्थितिमा त दलितको हालत यस्तो छ भने उतिबेला कस्तो थियो होला ? अहिले त हाम्रा तर्क यस्ता छन्, दुई सयदेखि छ सय वर्ष अगाडि कस्ता थिए होला ?
त्यसैले जबर्जस्ती थोपरिएको उक्त व्यवस्था दलितहरुले चुपचाप स्वीकार्नबाहेक के नै गर्न सक्थे र ? जबरजस्ती थोपरिएको उक्त व्यवस्था शनैशनै जब्बर तरिकाले संस्थागत भयो र आज अहंकारी धूर्तहरु यही कमजोरी देखाएर दलितविरुद्ध विष वमन गर्दै आफूलाई फेरि पनि चोख्याउन पाउने भए। ओहो, इतिहास कतिसम्म क्रूर र अन्यायी ?
२. आरक्षण पनि माग्ने दलित भनेकोमा दुःख मनाउ पनि गर्ने ?
समाजशास्त्र र आरक्षणका आधारभुत सिद्धान्त बुझेको मान्छेले यस्तो कुतर्क गर्दैन। बुझेको छैन भने यति गम्भीर कुरामा कम्तीमा हचुवा तालमा बोल्दैन। सीमान्तकृत र उत्पीडित समुदाय, जो विविध कारणले आफैँ पूर्ण प्रतिस्पर्धामा उत्रिन सक्दैन, उसका उपर राज्यको आधारभूत दायित्व हुन्छ। अतिरिक्त सहुलियत दिनुपर्ने जिम्मेवारी हुन्छ। लोक कल्याणकारी अझ समाजवाद उन्मुख भनिएको हाम्रो जस्तो देशमा त यो पहिलो सर्त हुन्छ।
दलितले पढेनन् होइन, पढ्नै दिइएन तर बाहुनलाई घर-घरमा धुलेपाटी राखेर अक्षर सिकाइन्थ्यो। बाहुनको काम नै पढ्ने लेख्ने थियो। दलितले वेद छोएमा टाउको काटिन्थ्यो। आज पनि पनि वेद छुन निक्कै कर्मकाण्ड पूरा गर्नुपर्छ भने ऊ बेला त्यो पनि दलितले वेद, किताब छुन पायो होला ? सहजै अनुमान लगाउन सकिन्छ।
हलो जोते बाहुनको जात जाने भयो तर झुक्किएर पनि किताब छोए दलितको माथ जाने भयो।
यसरी हेर्ने हो भने श्रमजीवी, शिल्पी समुदाय दलितलाई आरन, हलो, फाली, खेती, किसानी र निर्माणका क्षेत्रमा लगाएर गर्नुसम्म दोहन गरियो। दलितको श्रम, सीप र पराक्रमको चरम दोहन गरेर तथाकथित उच्च जातिका मान्छेहरुले इतिहासदेखि लिनुसम्म आरक्षण लिए।
जबकि हामी अहिले दलितले लिएका २/४ वटा आरक्षण सिट देख्छौँ तर इतिहासदेखि पुरै सिट कसको नाममा आरक्षित भए कहिल्यै बुझ्दैनौँ। बुझ्नै चाहन्नौँ।
एकाधिकारवादी, उच्च जातमुखी संरचना निर्माण गरेर, पढ्न लेख्न नदिएर, चेतनाको बिर्को लगाइदिएर इतिहासदेखि आरक्षण लिएको बाहुन क्षेत्रीले हो, दलितले होइन।
तथाकथित मानव न्याय शास्त्र र मुलुकी ऐनहरुले दलितलाई पढ्न लेख्न पाउने अधिकारबाट बन्देज नगरेको भए आज उनीहरू लिने र कोही दिने स्थितिमा हुनै पर्थेन। ठूल्ठूला गफ ठोक्ने हाम्रो चेतना सामाजिक सञ्जाल दुरुपयोगमार्फत अझै पनि यस्ता कुतर्क गर्न उद्यत छ भने दुःख साथ भन्नुपर्छ, हामी आदिम गुफामा लाप्पा खेलिरहेका कबिला हौँ। एक्काइसौं शताब्दीको मान्छे होइनौँ।
होइन भने “आरक्षण पनि माग्ने दलित भनेकोमा दुख मनाउ पनि गर्ने” कसरी भन्न सक्यौँ ?
इतिहासदेखि अछुत बनाएर मानव सभ्यतादेखि पर लखेटेर अमानवीय जिन्दगी जिउन विवश पारिएका दलितहरुले इतिहासदेखि भएको अन्यायको सावाँ ब्याज एकएक भुक्तान लिन खोजे भने हाम्रो ‘चौरासी लाख जुनी’ले पनि थेग्न सक्नेछैन।
सीमान्तकृत, उत्पीडित र शोषित समुदायलाई सानोतिनो चित्त बुझाउन राज्यले दिएका दुई चार आरक्षणको यति निर्लज्ज र यति सस्तो हिसाब ?
हे तथाकथित महात्मा, एकपटक सोचौँ- जन्ममा हाम्रो कुनै नियन्त्रण हुँदैन । फलानो घरमा जन्म लिने भनेर पूर्व योजनाअनुसार हामी कोही पनि जन्मिएका होइनौँ। ती दलित भनिएका घरमा तपाईं हामी पनि त जन्मिन सक्थ्यौँ !
आरक्षणका आफ्ना सिद्धान्त हुन्छन् । कम्तिमा ती कुरा बुझ्ने प्रयास गरौँ। सामाजिक विभेदको चिरफार गर्ने कुरा घिनलाग्दो नेपाली राजनीतिको भुइँफुट्टा विश्लेषक बनेजस्तो सजिलो कुरा होइन ।
आजको चौरजहारी घटना सदियौँदेखिको विभेदले संस्थागत गरेको उच्च जातीय अहंकारले निम्त्याएको परिणाम हो। सो कुरा बुझ्न इतिहास र हाम्रा सामाजिक संरचनाको गहिरो अध्ययन चाहिन्छ। ढिला भैसक्यो, रातारात समाज परिवर्तन गर्न नसकिएला तर उक्त दिशातिर थोरै भए पनि वाञ्छनीय र सकारात्मक कदम चालौँ। विभेदको जगमा टिकेको यो रुढ समाज रुपान्तरण कसरी गर्न सकिन्छ, त्यतातिर सोचौं। थोरै भए पनि सहिष्णु बन्दै जाने हो भने, आजको भोलि नहोला तर एकदिन अवस्य पनि समतामूलक समाज निर्माण हुनेछ।
३. लकडाउन उल्लंघन गर्ने ? हुलहुज्जत गर्दै १८ जना आउने ? उमेर नपुगेकी केटी जबर्जस्ती भगाउन खोज्ने ?
लकडाउन बाजेका गुप्त मालमत्ता छोप्ने लगौँटी हो। सिधा हेरे छोपेजस्तो, दायाँबायाँ बाट हेर्दा ह्वाँग्गै !
लकडाउन कहाँ पालना भएको छ ? यसो भनौँ, कहाँ उल्लंघन भएको छैन ? मेरै ठाउँको कुरा गरौँ। स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, दुई गाउँका बासिन्दाले अस्ति भर्खरै धुइरी, पुत्तेल मेला लगाए। ठाउँठाउँमा यस्तो भइरहेकै छ। सिंहदरबारअगाडि, काठमाडौँका गल्लीगल्लीमा अस्तिसम्म भैलो खेलिँदै थियो। खासमा लकडाउन बाजेको गुप्तांग छोप्ने लगौँटो हो। रूपमा परिपालन गरेजस्तो तर सारमा नगरेको स्थिति छ। यसलाई देखाएर मानव हत्याको घिनलाग्दो दृश्य छोप्न सकिँदैन।
जहाँसम्म १८ जनाको हुलहुज्जत को कुरा छ, यो साह्रै सस्तो तर्क भयो। यहाँ हामीले कार्य देख्यौँ, कारण देखेनौँ। कुनै पनि घटनालाई कम्तिमा कार्य र कारणको युगल दृष्टिबाट हेरिनुपर्छ।
नवराज दुलही ल्याउन गएको यो दोस्रो पटक हो भन्ने कुरा बुझियो। यदि उनी दलित नहुँदा हुन् त पहिलो पटक नै काम फत्ते भैसक्थ्यो। उनी दोस्रो पटक साथीहरू लिएर जानै पर्थेन। उहिल्यै उनीहरू घरजम गरेर आरामदायी जिन्दगी जिइरहेका हुन्थे।
उमेर नपुगेको कुरा कानूनी रूपमा उपयुक्त तर्क हो तर जात मिलेको भए उहिल्यै सत्र वर्षीयालाई रातारात बीस बर्ष पुर्याइसकिन्थ्यो। दुःखका साथ भन्नुपर्छ, हाम्रो कानून पनि त बाजेका मालमत्ता छोप्ने लगौँटिको टालो हो!
नयाँ कानूनी व्यवस्था आइसकेपछि पनि मै हुँ भन्नेहरुकै घरमा पन्ध्र वर्ष नपुग्दै सानदार बाल विवाह भएका एकसे एक रेकर्ड छन्। यो मामिलामा कसै कसैले त पूर्णांक पनि प्राप्त गर्लान् । पछिल्लो समय सरकार, विभिन्न क्लब, सामाजिक संस्थाको पहलमा यस्ता घटनामा केही कमी आएको छ तर अझै व्याप्त छन् ।
रुकुम-जाजरकोटलाई काठमाडौँबाट पर्फेक्सनको चस्माले हेरियो भने, अपुरो हुनेछ। रुकुम, जाजरकोट मात्र होइन, हाम्रो जस्तो कागजी साक्षरता भएको मुलुकमा बाल विवाह ठूलो समस्याको रूपमा रहेको छ। खासमा अहिले जजसले बाल विवाहको कुरा उठाइरहेछन्, खोज्दै जाने हो भने उनीहरूकै घरमा पन्ध्र सोह्रमै घरजम गरेका जोडी भेटिने छन्। यतातिर सोह्र सत्रमै विवाह गर्नु सामान्य चलन मानिन्छ।
खासमा समाजमा जे चलेको छ, नवराजले त्यही गर्न खोजे । यद्यपि बाल विवाह हुनुपर्छ भन्ने मेरो मान्यता होइन तर व्यावहारिक रुपमा हेर्ने हो भने बिहेबारी बीसपारि कसको लागि बनाएको होला भन्नुपर्ने स्थिति छ।
कानुनी दृष्टिले नवराजको कदम गलत देखियो। यसमा पनि हाम्रै दोष छ। इतिहासदेखि समतामूलक समाज निर्माण गरेर सबैलाई पढ्न लेख्न दिएको भए, सबैलाई चेतनाको ज्ञान-गंगामा डुबुल्की मार्न दिएको भए, सायद आज नवराज अर्कै चेतनाको स्वाभिमानी जगमा उभिइरहेका हुन्थे। उमेर नपुगी केटी भगाउन जाँदैनथे। हुलहुज्जत गर्ने गल्ती गर्दैनथे। अर्कै तरिकाले यो अग्नि परीक्षामा खरो उत्रिन्थे।
तर, हे छुत मानव !
इतिहासमा न्याय, तर्क र तथ्यको भाष्य यति सम्म पेण्डुलम हुन्छ ? कि जसले जता मन लाग्यो उतै हल्लाउन मिलोस् ! अझ, आफ्नो साइडमा पुरा खिँचेर, पुरै शक्ति भरेर ताकेर उतै प्रहार गर्न सकियोस् !
कुतर्कहरु भेला पारेर इतिहासकै नृशंस हत्याकाण्ड तोडमरोड पार्न खोज्दैछौँ हामी। जातीय छुवाछूत गर्न नपाउँदा निम्त्याइएको नृशंस हत्याकाण्डलाई हामी जातीय रुप नदिऊँ भन्दैछौं !
हे छूत मानव, कसैको झूटो अहंकारमा लागेको चोटको बदला कसैको ज्यान हुन सक्दैन। यो कुरा बुझ्ने कसले ? यो कुरा बुझ्ने कहिले ?
कमजोरलाई हिर्काउन क्या मज्जा आउँछ हामीलाई ?!?
कवि विनोद विक्रम केसी ठीकै भन्छन् –
सत्ते, धरोधर्म
ओलम्पिकमा हामी पनि जित्थ्यौँ यस्ता नाथे गोल्ड मेडल
तर, दलितलाई ताकेर तारो हान्ने खेल राख्दै राखेनन् बैरीहरुले
जेमा थियौँ हामी पारंगत !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।